हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

\'घर\'

दीप्स शाह, ()


मलाई सम्झनाहुँदा हामी मुलघरको बाहिरपट्टी छेउमा जोडिएको  सानो पखेटे पालीमा बस्थ्यौँ। त्यसलाई सबैले ग्वागल भन्थे। तराइको लामो समयको गृहस्थी बोकेर बाबाआमा हामी दुई बच्चा च्यापेर मुलघर पहाड फर्केदेखी त्यही ग्वागलमा बस्न थालेको रे। भित्ताको काउलेलेक माथिबाट दिउँसो मध्यान्हमा एकैछिन एकझुल्को घाम पोखिएपछी तुरुन्तै देउरालीको डाँडाले छेको पारीहाल्थ्यो। त्यै एकछिनको न्यानो घाम अनी बाँकीको सेपिलो त्यही पखेटे ग्वागललाई मैले जीवनमा प्रथमपटक घर भनेर चिनेँ।
खोइ  किनहो कुन्नी! मलाई बुझ्ने भएदेखी नै 'घर' शब्दसँग निकै आकर्षण थियो, आत्मियता थियो । उसो त घर नरुचाउने कुन प्राणी होला तर मलाई अलिक बेसी नै आत्मिय लाग्थ्यो  शायद। अँ म ग्वागलको कुरा गर्दै थिएँ , त्यो सानो पखेटे ग्वागल, सांघुरो ग्वागल तर मेरो प्रिय ग्वागल। त्यो मेरो थियो। हाम्रो थियो।
अंशको मामिलामा के खट्पट परेछ भाईभाइमा कुन्नी! एकदिन बाबाले हामी सबैलाई घिच्याउँदै बेसी फाँटमा झार्नुभयो। म निक्कै रोएँ त्यसबेला। "बाबा!  ग्वागलपनी बोकेर लैजाउँ न! बेसिमा!!" भन्दै रुन्थेँ भनेर आमा अझै पुराना दिन सम्झाउनुहुन्छ  कहिलेकाहीँ। बेसी झरियो सङै हाम्रो घर पनि झर्यो। उसबेला अभाबले उन्मत्त पखेटा हालेको थियो शायद | मकैको ढोडले बारेको झुपडिमा लगभग दुई साल हामीले टाउको लुकायौँ । त्यही झुपडी फेरी मेरो अर्को घर बन्यो। घर त के थियो ,,गतिला चारओटा बाख्राका पाठा सजिलै हलचल गर्न नसक्दाहुन तर हामी चार मानव प्रानी भएभरका झिटिगुन्टा सहित त्यही झुपडीमा अट्यौँ । बाबा भन्ने गर्नुहुन्थ्यो,"मजबुरिका नाम माहात्मा गान्धी"। हिन्दी सिनेमा उहालाई मन पर्थ्यो उखान पनि उतैको थियो। सुरुमा म निक्कै रिसाएँ झुपडी देखेर जसले मलाई बार बार प्यारो ग्वागल सम्झाउँथ्यो। तर बानी निरन्तरताको उपज हो शायद  मलाई बनी पर्दै गयो। भनुँ पार्दै गएँ। अन्तत: मलाई त्यै ढोडे झुपडी प्रिय लाग्न थाल्यो। त्यो त हाम्रो घर थियो नि! कहिलेकाहीँ बाबालाई सोध्थेँ ,"ग्वागल पनि घर हुने, झुपडी पनि घर हुने, बिल्डिङ्ग पनि घर हुने, कसरी यस्तो हुन्छ बाबा??" बाबा भनु हुन्थ्यो," मान्छे जहाँ आड लागेर बस्छ त्यही घर हो। घर ढुङ्गा माटो या ढोडले बन्ने हो तर महत्व मायाले दिने हो। जस्तो कि हामी स्बै एकर्कालाई माया गर्छौँ। " म बाबाको सबै कुरा बुझ्दिन थेँ तर 'घर' शब्दलाई बिशेष जोड दिन्थेँ, जुन मेरो अति प्रिय आत्मिय थियो । अलि पछि  ढुङ्गामाटा र काठको जोडजाममा अलि पक्की घर बनाउनुभयो बाबाले। मलाई अझै सम्झना छ, त्यो घर बनाउदा राती अबेरसम्म पनि म ससाना काठका टुक्रा ढुङ्गा बटुल्दै यताउती गरिरहन्थेँ निक्कै काम गरेजस्तो। सबै खुशी थिए नयाँ घर बन्दै गरेकोमा । म अलिक बेसी उछालिएकी थिएँ खुशीले। घर सबैलाई चाहिन्छ बस्नको लागि नत्र रात पर्दा, पानी पर्दा हुरी आउँदा कहाँ जानु!! म यस्तै बुझ्थेँ तर कहिलेकाहीँ बाबाले अरुसँग भनेको सुन्थेँ," आफु गइयो भनेपनी केटाकेटीकालागि ओतलाग्ने ठाउँ हुन्छ नि!" 'गैयो भनेपनी' यो शब्द सुल झैं गड्थ्यो मनमा। बाबा नहुंदा हामी यही घरमा बस्नुपर्छ यस्तै सोचेर मैले बाबा र घरलाई एकार्काको पर्याय मान्थेँ शायद। अनी उतिकै प्यारो पनि।
छोरीले  जात जनाउँछे भन्ने भनाइ थियो/ छ अझैपनी। म पनि घर लिपपोत गर्न खुब मन गर्थेँ सानोमा। दसैं तिहारमा टोलका काकी दिदीहरु सँग पारी खाँडीको खोल्चीसम्म पुग्थेँ रातो र सेतो माटो लिन त्यै प्यारो घर रङाउन भनेर। सक्ने भन्दा बेसी माटोको पोको बोकेर कन्दै कन्दै हात पाउ टेकेर घर फर्किन्थेँ तर किन्चित दु:ख लाग्थेन। किनकी त्यो सब मेरो प्यारो घरको लागि हुन्थ्यो।
समयको पांग्रा घुम्दै गयो, हामी ठुला भयौँ ,घर पुरानो र झन प्यारो हुँदै गयो। सबै आ-आफ्ना काम, अध्यनतिर लागियो | तर घर सदा झैँ सबैको केन्द्रबिन्दु थियो। आस्थाको, आश्रयको  र आफ्नोपनको मियो थियो। मेरो उमेरले उकाली लागेको हेर्दै बस्यो  घरले। त्यो बिचमा मैले घर परिवार बाहेक अर्को कोहिलाई माया गरेँ । मेरो बिहे भयो  त्यही मायालुसँग ।  त्यसपछि म पुनः बेघर बनेँ। बिहेको कार्यक्रम समाप्तीसँगै त्यो घर जुन मेरो अती प्रिय थियो मेरो रहेन। मेरो अधिकार रहेन। त्यो त मेरो घरबाट बदलिएर 'माइती' पो बन्यो। यता म साँच्चैको बेघर बनेँ। मेरा श्रीमानको पुर्ख्याउली घर बेचिएको रहेछ र उसैकारण हामी डेरामा बस्नु पर्ने थियो। निकै समय म जिन्दगीको नयाँ सुरुवात, नया जिम्मेवारी र मायालुको साथको खुशी र 'घर' आफ्नो नरहनुको पिडामा उचालिँदै पछारिँदै रहेँ। डेरा पनि त घर हो! बाबाको कुरा याद आउँथ्यो," मान्छे जहाँ बस्यो त्यैं घर हुन्छ माया र आफ्नोपनले बाँध्न सके" मैले निकै कोशीस गरेँ त्यो डेरालाई 'घर' स्विकार्न तर सकिनँ । समय समयमा आत्तिँदै 'घर' पुग्थेँ आमाबाबालाई भेट्न। वरपरकाले भन्ने गर्थे,' पल्लो घरमा पाहुना आएकाछन्"। म किन पाहुना?? कसैले सोध्थे," कती दिनलाई आयौ माइत?" किन माइत?? मलाई कहिल्यै पाहुना र माइती शब्द मन परेन जुन शब्दले मलाई मेरो घरसंगको सम्बन्धबाट बिरानो महसुस गराउँथ्यो। आक्कलझुक्कल 'घर' जाँदा हेर्थेँ आफुले कति रहर गरी लिपपोत गरेको भित्ता, फलैँचा, बाहिरको अम्बाको बोट, चोटामा मेरो सुत्ने ओछ्यान, मेरो पुरानो सन्दुक, खाना खाँदा मैले बस्ने पिर्का, मलाई मन पर्ने अंखोरा सबै सबै त्यस्तै हुन्थ्यो, मायाले मुसार्थें। त्यो घरसँग एक खालको अब्यक्त, अवर्णणिय आत्मियता थियो अझै , न्यानो, तातो मीठो खोइ के के असाध्य आफ्नो लाग्थ्यो। फेरी झलक्क 'माइती' र 'पाहुना' शब्दले मन कटक्क खान्थ्यो। तर म दुखेर के हुन्छ? सत्य त त्यही थियो कि त्यो घर अब मेरो रहेन। मैले त अब आँफैले मेरो घर बनाउनुपर्छ।
समयसँगै जिन्दगीको मान्यता बदलिँदोरहेछ। आदर्श बदलिँदोरहेछ। रहर र चाहना पनि उलट पालट  हुँदोरहेछ!! समयले खोइ कस्तो कस्तो लुकामारी खेल्दै रह्यो जीवनमा, अभाब र अप्ठ्याराको झाङमा अल्मलिँदै अल्मलिंदै बाँच्दै त छु तर मेरो "घर" अहिले सम्म बनेन। मैले नचाहेको कहाँ हो र! तर खोइ के मिलेन, घर अहिले सम्म बनेन।
सत्य त यो  पनि  हो  कि मलाई उहिलेको झैँ 'घर' प्रति मोह पनि छैन। घर हुनैपर्छ भन्ने केही छैन । मैले देखेँ यो बिचमा उति मेहनतले नङ्रा खियाउदै घर बनाउने बाबा जाँदा खाली हात जानुभयो। त घर किन यती बिघ्न मोहको कुरा?? कहिलेकाहीँ लाग्छ आ!! होस् म कहिले घर बनाउदिन। तर फेरी आत्मा छाम्छु, भेट्छु घर बनाउने तृष्णा कतै मनको नेपथ्यमा अझै पो जिवितै छ! तर किन?? अहिले त म उहिलेको झैँ केटाकेटी रहिन जस्तो कुनैबेला थिएँ र घरलाई  बाबाको पर्याय मान्थेँ। आँखा चिम्म गरेर सोच्छु। बाबा आउनुहुन्छ मनको आँखामा र भन्नुहुन्छ,"आफु गैयो भने पनि केटाकेटिकालागी ओत त रहन्छ नि!" हो त! घर मान्छेको लागि अति मोहको कुरा रहेछ। आकाँक्षा रहेछ अनी तिब्र आवश्यकता रहेछ तर आफ्नालागी कम् र 'केटाकेटी' का लागि बेसी रहेछ!!  कहिलेकाहीँ मेरो चुल्बुले केटो   लाडिँदै  भन्छ," आमा!! म मेरो घर आँफैँ बनाउछु नि मेरो लागि त!"  त्यसबेला उसका बाबा मक्ख हाँस्नुहुन्छ। तर मलाई   भन्न मन लाग्छ," छोरा!! घर आफ्नालागी कम केटाकेटीका लागि बेसी बनाइन्छ! तिमी पनि आफ्नैलागी बनाउँदैनौ। त्यो घरको हकदार तिम्राकेटाकेटी हुन्छन्।" तर म  उसले सुन्ने गरी भन्दिन। मनमनै भन्छु "आफु गैयो भनेपनी केटाकेटिकालागी ओत रहन्छ नि!"

Comments

Bipul Sijapati

जब शब्द हृदयबाट ओर्लन्छ तब त्यसमा कुनै खोट हुँदैन, सत्यु सुन्दर हुन्छ । लेखले धेरैपटक नोस्ट्याल्जिक बनायो ।

Devendra KC

sarai man parne lekh, shabda ra lekhan shaili ma tapai ko lekh rachana praya padne garchhu.madhya purba ko aagan bata tapai le garnu bhaeko sahitya shrijana sansar bhari ko pathak haru le ruchi ka sath padhi rahanu bhaeko chha. safalta ko dherai -dherai shuvakamana.

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |