हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मेरो बाजेका उपदेशहरु

डा. हरिकुमार श्रेष्ठ, (ताइपेई, ताइवान)

केही चिज लिन  

केही गुमाउनु पर्ने त  

साधारण अर्थशास्त्रको नियम नै रहेछ ।

 

त्यसैले

मैले पनि यसलाई ग्रहण गरी प्रयोग गर्ने

निकै प्रयासहरु जारी राखें

तर

समयको बहावले त कता कता हुत्याइदियो  

आफ्ना इच्छा र आकांक्षालाई भताभुङ्ग पारिदियो  

अनि त

कालो बादलको घुम्टोभित्र रुमल्लि उड्ने  

गतिहीन हुंदै गएका चरा जस्तो डुल्न बाध्य बनाइदियो ।

 

ता पनि

म हतास मनस्थितिमा थिइन

किनकि मेरो बाजेले  

म सानो छंदा दिनु भएका उपदेशहरु

लगनशिलता, धैर्यता र सहिष्णुता  

मेरा दिमागी नक्शाहरु बन्न पुगेका छन्

अनि त

जतिसुकै हण्डर खांदा पनि
ती मान्यताहरु आज पनि ताजै छन्

र दिन प्रतिदिन मेरा लागि  

अनुकरणीय र व्यवहारिक बन्दैछन् ।

 

अझ सांचो अर्थमा भन्ने हो भने

ममा त दिन प्रतिदिन धैर्यता र सहिष्णुताको बांध बलियो हुंदैछन्

त्यसैले होला

समयको अन्तरालमा  

ममा घुम्टो हाल्न आईपुगेको कालो बादलको मुस्लो पनि  

सुस्त गतिमा सुस्ताउन थाल्दैछन् ।

 

अनि त

सदाबहार खुशीयालीमा हांसिरहेको जस्तो देखिने  

कन्चनजङ्घाको स्वच्छ सिरेठोले स्पर्श गर्न आइपुगे जस्तो लाग्दैछ

कताकता कुहिरोको काग झै रुमल्लिन पुगेको  

यो मानसपटलमा फेरि एकाएक बसन्त आउन थाल्दैछ ।

 

त्यसैले त  

मेरा बाजेका उपदेशहरु झन् लोकप्रिय बन्दैछन्

आज मलाई लाग्छ

मेरो बाजे अनपढ नै भए तापनि

उनका उपदेशहरु ठूला ठूला दार्शनिकहरु र

वैज्ञानिकहरुले प्रतिपादन गरेका सिद्धान्तहरु जस्तै

महत्वपूर्ण लाग्न थाल्दैछन् ।


डिसेम्बर २९ २०१०

दिउंसो ४ बजे

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |