प्रेमबन्धन
सङ्गीत आयाम, (चितवन)
समयको एक अँगालो स्पर्शसँगै
सुस्तरी कोही चिहाएको छ
पक्कै पनि मेरो शाश्वत प्रेम हुनुपर्छ
जीवनरुपी प्रेमको मौसम हुनुपर्छ ।
सहरका यी कर्कश गल्लीहरुमा
नाराहरुको विशाल जुलुसभित्र
वर्षौंदेखि एक्लो थिएँ म एक्लो
प्राणहीन चोकहरुमा छरिएर
लड्दालड्दै उनीहरुका विरुद्ध
थकित भएको थिएँ असाध्यै
मेरो प्रेम
तिम्रो आगमनले
लड्ने शक्ति दिएको छ मलाई
मेरो प्रेम
तिम्रो उपस्थितिका कारण
उत्सर्गित भएको छु बलिदान हुन ।
उनीहरु
जो प्रेमको अनुसरण गर्नुभन्दा
भाषण गर्न बढी मन पराउँछन्
उनीहरु
जो जीवनमा सुन्दर रङ भर्नुभन्दा
आदर्श फलाक्न निको मान्छन्
मुलायम संवेदनाहरुमाथि
निरन्तर शासन गर्नेहरुका विरुद्ध
चक्रव्यूहका तीखा तीरहरु छोड्दै
मन मस्तिष्कलाई कैद गर्नेहरुका विरुद्ध
प्रेम-सत्ताका लागि
युद्ध उद्घोष गर्ने बेला हो यो
मेरो प्रेम
तिमी समाहित भयौ ममा
अब म पनि समाहित हुन्छु तिमीमा ।
मेरो प्रेम
तिमीलाई पाएर
म बलशाली भएको छु यतिखेर
मेरो प्रेम
तिम्रो न्यानो अँगालोमा
म शक्तिशाली भएको छु यतिखेर ।