हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

नेपाली टोपी र जर्मनीमा एक रात,(बासु श्रेष्ठ)

कुरा सन् १९९४ मे ४ को हो । अनिश्चित समयकोलागी म अमेरिका जान नेपाल छोड्दै थिएँ । शायद यसैले होला देशले म बाहिर नजाओस् भनेर त्यस दिन नेपाल बन्दको आयोजना गरेको थियो । तर खाने मुखलाई जुँगाले छेक्दैन भने झैँ भाईको मोटरसाईकलमा ठुलो सुटकेश दुई भाईको बीचमा र सानो सुटकेश हातमा झुण्ड्याएर एयरपोर्टतर्फ हुँईकिईएँ । नहुँईकिने कारणपनि थिएन । नेपाल वायुसेवा निगमको कर्मचारी भएको नाताले लुफ्थान्साले काठमाण्डौदेखि अमेरिकासम्म र काठमाण्डौसम्मको फिर्ति टिकट दुईशय दश डलरमा उपलब्ध गराएको थियो । तर सीट खाली छ भनेमात्र उड्न पाईने अवस्थाको थियो त्यो टिकट । सँयोगले नेपाल बन्द भएको कारणले प्रशस्त सीट पाईन्छ भन्ने अनुमानका साथ एयरपोर्टतर्फ मोटरसाईकलमा गईयो । घरबाट टिकाको साईत गरि नेपाली ढाकाको टोपी लगाई हिँडेको थिएँ ।

अनुमान गरे जस्तै जहाजमा पर्याप्त सीटहरु उपलब्ध थिए र मेरोलागीपनि एक सीटको सजिलै बोर्डिङ्ग पास लिएर जर्मनीको फ्र्याँक्फ़र्ट  हुँदै अमेरिकाको वासिङ्गटन डि.सी. कोलागी यात्रा शुरु गरेँ । त्यहि दिन साँझको चारबजेतिर फ्र्याँक्फ़र्टको एयरपोर्टमा अवतरण भएपछि भोलि बिहान ८ बजे अमेरिकाकोलागी फ्लाइट  समाउनु पर्ने थियो । एयरपोर्टबाट बाहिर निस्केर होटेलमा बस्नुभन्दा बरु एयरपोर्टमा नै रात विताउने मेरो योजना थियो । त्यसैले रातभरको साथीको रुपमा मैले मनग्गे पत्र पत्रिकाहरु साथमा ल्याएको थिएँ । 

डिपार्चर लाउँज़को एक छेउमा निर्धक्क नेपाली ढाका टोपी शीरमा र निधारमा अझै बिदाईको टिका र हातमा नेपाली पत्रपत्रिका लिएर त्यो रात विताउने निधो गरेँ । साथमा भएका केहि खानेकुरा खाएर पत्रपत्रिकाहरु पढ्न थालेँ । यत्तिकैमा छ सातजनाको एक हूल केटाहरु डिपार्चर तर्फ जान लागेको देखेँ । ति केटाहरु म बसेकै छेउबाट मलाई एकदम घुर्दै गए । मैलेपनि 'नविराउनु नडराउनु' भने झै उनिहरुलाई हेरें । उनिहरु मसँग चार आँखा गर्दै मलाई त्यहिँ छोडेर आफ्ना गन्तव्यतर्फ लागे । मैले मनमनै 'तातो रगत भएका केटाहरुको चालढाल नै यस्तै हुन्छ चाहे जुनसुकै देशमा होस ' सोचें ।

म आफ्नो समय विताउने ध्याउन्नमा थिएँ । 'आजकोलागी रात नपरि स्वात्त विहान भैदिए हुन्थ्यो' भन्ने निरर्थक आशा गर्दै पत्रिकाहरु पढने क्रम जारी राखेँ । करिब एकघण्टा पछि अघि गएका तिनै केटाहरु फर्के तर अघिका भन्दा सँख्यामा केहि कम । शायद कोहि कतै जाँदै थियो र यि केटाहरु बिदाईको काम गरेर फर्किंदै छन् । जे होस् यि चार पाँच जना केटाहरु म बसेको सीटलाई चारैतिरबाट घेरेर उभिए । अनुहारले नेपाली जस्तै देखिने यि केटाहरुको के नियत हुन सक्छ भन्ने कुरामा अब भने मेरो मनमा चिसो पस्यो । विदेशको ठाउँ । म मनमनै कुरो के हुन सक्ला भन्ने ठम्याउन कोशीश गर्दै थिएँ । अघि यिनिहरु डिपार्चर तर्फ जाँदा मैले चार आँखा गरेको यिनिहरुलाई मन नपरेर चुनौतिको रुपमा त कतै लिएनन् ? र त्यसको बदला लिन आएका त होईनन् ? या कतै यिनिहरु सोझासाझा यात्रीहरुलाई अनेक प्रलोभन दिएर ठग्ने ठगहरु त होईनन् ? यदि यस्तो हो भने मैले आत्मरक्षाकोलागी के कस्तो बोल्नु या कदम चाल्नु पर्ला भन्ने कुरा मनमा गम्दै थिएँ । तर पनि अन्तर्राष्ट्रिय एयरपोर्टमा यसै कसैले मलाई ठगी या हानी नोक्सानी गर्ने आँट गर्न सक्दैन भन्ने आशाले आफुलाई बलियो पनि बनाउँदै थिएँ ।

"तपाई नेपाली हुनुहुँदो रहेछ ।"  मेरा मनका शँका र उपशँकाका तरङ्गहरुलाई चिर्दै एउटा केटाले बोल्यो । मैले लगाएको ढाकाको टोपी देखेर तिनिहरुलाई म नेपाली हो भन्ने अनुमान गर्न कुनै कठिनाई परेनछ  ।

"हो, म नेपाली नै हो तपाईहरुले राम्रै चिन्नुभयो"  विदेशको ठाउँमा आफ्नै राष्ट्रिय भाषामा कसैले बोलेको सुनेर मनमा हर्ष जागे तापनि भित्रका आशँकाहरुलाई यथावत राख्दै अलि दह्रो र निडर स्वरमा मैले जवाफ फर्काएँ ।

अर्काले फेरि प्रश्न गर्यो "कहाँबाट आउनुभयो र कहाँ जान लाग्नु भयो?"

अब भने मेरा शँका उपशँकाहरु शनैःशनै विलिन हुँदै गए । 'अब नडराए हुन्छ । नेपाली भाषा बोल्ने यि भाईहरु भलाद्मी नै हुनुपर्छ' भन्ने मनमनै ठम्याएँ । र नेपालबाट आएको र भोलि विहान अमेरिकाकोलागी उड्दै छुँ । त्यसकोलागी रात एयरपोर्टमै विताउने आफ्नो उद्देश्य भएको कुरा सबै भनेँ ।

"ल दाई त्यस्तो कसरी हुन्छ ? आज हामीसँगै बस्नोस् र भोलि एयरपोर्ट आउनु होस् । हामी तपाईलाई ल्याईदिन्छौं ।"  अर्को केटाले हक़ अधिकार जताउँदै भन्यो ।

मैले टार्ने कुरा गरेँ । 'एकै रातको कुरा त हो फेरि तपाईहरुलाई किन दुःख दिनु' जस्ता कुरा भनेँ । तर तिनिहरु मानेनन् । एउटाले मेरो ठुलो सुटकेश बोकि हाल्यो र भन्यो "ल हामीसँग आज राती बस्नोस् । नेपाली भएर अर्को नेपाली एयरपोर्टमा बसेको हामी हेर्ने सक्दैनौ । भेटघाट नभएको भए बेग्लै कुरा ।"

अर्को केटाले 'हो दाई त्यसै गर्नुपर्छ' भन्दै मेरो अर्को सानो सुटकेश पनि उठायो । म उनिहरुको प्रेम र ममताको अगाडि मनमनै लज्जित भएँ र उनिहरुको पछि लाग्न बाध्य भएँ ।

एयरपोर्टबाट रेलको टिकट उनिहरुले नै काटेर घरमा पुर्याए । मेरो सत्कारमा जानेको र भ्याए जति रातीको खाना मीठो गरि बनाए । जर्मनी वियरले स्वागत गरे । म एक नितान्त अन्जान व्यक्तिलाई निस्वार्थ भावले आतिथ्य प्रदान गरे । उनिहरुको ओछ्यान मलाई दिए । राती मेरो आरामी र मीठो निद्राको कामना गर्दै निद्रादेवीको काखमा लुटपुटिए । म पनि यो एक सपना हो या विपना भन्ने सोचमा 'ओहो लौ मैले त जर्मनीमा पनि रात विताउने मौका पाएँ । मैले टेकेका विदेशी माटोमा यो देशको नामपनि थपियो' भन्दै यि भाईहरुको आतिथ्य प्रति दङ्ग पर्दै कुनबेला निदाएछुँ पत्तै पाईन ।

भोलि तिनै भाईले मलाई समयमै एयरपोर्ट जानकोलागी उठाए अनि एयरपोर्ट जाने रेलमा चढाएर मेरो शुभ यात्राको कामना गर्दे मलाई विदा गरे । मैले सक्दो धन्यवाद दिएँ । यो वाहेक मसँग अरु केहि थिएन पनि । केहि डलर या फ्र्यांक दिएर ति भाईहरुको मानहानी गर्ने या आत्मसम्मानमा चोट पुर्याउने मेरो हिम्मत भएन । तसर्थ अमेरिका पुगेपछि पनि सम्पर्कमा रहने वाचा गर्दै म एयरपोर्ट तर्फ लागें । उहि नेपाली ढाका टोपी शीरमा राखेर ।

यहाँपनि सीट प्रशस्त उपलब्ध रहेकोले बोर्डिङ्ग पास तुरुन्तै पाईयो । अमेरिका तर्फ उड्ने उडानको समय बाँकि नै थियो । भोक लागेको जस्तो भयो र केहि खानकोलागी रेष्टुरेण्टको खोजीमा साईन बोर्ड पछ्याउँदै म्याकडोनाल्डको काउण्टरमा लाईन लाग्न पुगियो उहि नेपाली ढाका टोपी शीरमा ढल्काउँदै । लाईनमा आफ्नो पालो नआउँजेल मेनुमा हेरेर के खाने निधो गर्दै फ्याङ्क हातमा ठिक पारीसकेको थिएँ । बल्ल मेरो पालो आयो । क्यासियरलाई मैले केहि भन्नुभन्दा पहिले नै एक महिलाको आवाज आयो 'ओहो भाई त नेपाली हुनुहुँदो रहेछ ।'  मैले चिताउँदै नचिताएको यस आवाजले मलाई आश्चर्य चकित तुल्यायो । आवाज मलाई खाना बेच्न बसेकि त्यस म्याकडोनाल्डको क्यासियरको थियो । तिनले म कहाँ जान लागेको, कहाँबाट आएको, नेपालमा मेरो घर कहाँ आदि ईत्यादि सोध्न भ्याईसकेकि थिईन् । यसको साथै मैले के खान खोजेको हो त्यो पनि सोधिन् । म आश्चर्य र चकित भावमा तिनको जवाफ दिँदै आफ्नो रुचिको खानाको नाम लिएर पैसा उनितिर बढाएँ । तर उनले 'होईन होईन यो मेरो तर्फबाट भाई ! तपाईलाई देखेपछि माईति नै पुगे जस्तो भयो । त्यो टोपीले तपाई नेपाली हो भनेर चिनाएकोले नेपालीमा बोल्न एकदम सजिलो भयो' भन्दै मेरो हातमा खानाको ट्रे राखिदिईन् । लामो कुरा गर्न मनासिब थिएन । किनभने मेरो पछाडि अन्य ग्राहकहरु पनि आफ्नो पालोको प्रतिक्षामा थिए । तिनको पनि समयको विचार गर्नुपर्छ भनेर तिनलाई धन्यवाद दिँदै लाईनबाट हटेँ र खाना खाई सकेपछि एकपटक फेरि तिनिकहाँ गएर 'धन्यवाद' भन्दै विदा मागेँ । तिनको हतार र व्यस्तताको माझबाट पनि एक अपरिचित भाईलाई 'शुभयात्रा' भनिन् । अनि म डिपार्चरको ढोका हुँदै जर्मनीसँग विदा माग्दै हवाईजहाजमा प्रवेश गरेँ ।

नेपाली टोपीको कारणले मैले अपरिचित नेपालीबाट विदेशमा पाएको आतिथ्य म कहिल्यै बिर्सन  सक्दिन । मलाई एक रात वास दिने ति भाईहरुको टेलिफोन नम्बर अमेरिकाको बसाईको क्रममा मैले हराएँ अनि अमेरिका आएपछि एकपटक फोन गरौंला भन्ने मेरो वाचा कहिल्यै पुरा भएन । शायद ति भाईहरुको मनमा म कृतध्न ठहरिन सक्छु । अथवा मैले सोचे जस्तो तिनले नसोचेको पनि हुन सक्छ । तर जे होस् ति भाई र दिदिसँग एक पटक भेट गर्ने रहर बेला बेलामा मभित्र पलाई रहन्छ र प्रत्येक पटक तिनको आतिथ्यताप्रति कृतज्ञ बन्दै नेपाली टोपीको गाथा गाउन मन लाग्छ ।

ति भाई र दिदिले यो लेख पढेर यदि त्यस घटनाको सम्झना गरायो भने कृपया निर्धक्क मेरो ईमेलमा सम्पर्क गर्नुहोला ।
basushrestha@gmail.com

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |