हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

परखी पहाडहरुसँग…,(कृष्ण प्रसाई)


"हेलो मिसेस रान !"

"इज दिस रान मोवाइल नम्वर  ?"

उतावाट सहज उत्तर आयो

"यस  अफकोर्स !"

"मे आइ नो हु आर यू  ?"लगत्तै अर्को प्रश्न पनि उतैवाट आयो  |

मैले अंग्रेजीमै उत्तर दिएँ जसलाई नेपालीमा अनुवाद गर्दा यस्तो हुन्थ्यो  "म कृष्ण हुँ ! कृष्ण प्रसाई नेपालवाट !"

"कस्तो अचम्म यो त एउटा सरप्राइज जस्तो भयो कमसेकम इमेल त गर्नु पर्थ्यो । आउने जानकारी पहिला नै दिएको भए कति राम्रो हुन्थ्यो । श्रीमती रानले अंग्रेजीमै शब्दहरु पोखिन !

मैले पनि लगातार आफ्ना कुराहरु मोवाइलवाट भन्न सुरु गरें "म अस्तीको दिन मात्र आएको हुँ"

मोवाइल लिने वित्तिकै तिमीलाई पहिलो फोन गर्दैछु । मेरो मोवाइलमा मैले सुनेको कोरियाको पहिलो आवाज तिम्रै हो । कति मिठो आवाज छ तिम्रो ! मैले शिष्टाचार प्रयोग गरें । मोवाइल फोनमै म आवाजसँग अधि वढ्दै गएँ । "अहिले म सुवानमा छु । सुवानमै वस्दैछु अझै केहीदिन कोरिया वस्छु । केही खुस खवरी छ भने सुनाउनुस श्रीमती रान" मैले अनुरोध गरें । श्रीमती रानका शब्दहरु पनि मेरै शब्दहरु झै मोवाइलमा अधि वढ्दै गए ।

"कस्तो भाग्यमानी रहेछौ तिमी । ठिक्क बेलामा फोन गर्यौ । समय छ भने तिमी भोलिनै बुसान आऊ । म ट्रेनको टिकट पठाइदिन्छु । पर्सि शनिवार बुसानको संस्कृति भवनमा एउटा भव्य समारोह छ । जापानका कोरियाभाषी प्रसिद्ध कवि र चिनिया प्रोफेसर क्जबल जो वेइजिङ्ग विश्वविद्यालयको स्कुल अफ फरेन स्टडीका प्राध्यापक हुन् उनीहरु दुईजना हाम्रा पाहुना छन् । तिमी मिसिदा तीनजना हुन्छन् । वुसानका अरु कविहरुसँग परिचय पनि हुन्छ । यो एउटा परिचयको सुनौलो मौका हुनेछ तिम्रो लागि । " एकै सासमा वोलिन रान ।  

रान फेरि थप्दै गइन "जापानी सासकहरुवाट १९४२ मा जापानको जेलमा हत्यागरिएका कोरियाका प्रखर राष्ट्रवादी कवि Yeong Thong जू को सम्झनामा आयोजना हुनलागेको कार्यक्रम हो त्यो । यदी तिमी भोलि वुसान आयौ भने तिमीलाई वुसानको समुद्र र पहाडसँग परिचय हुने मौका पनि हुनेछ ।" रानले फेरि अनुरोधको भाषा वोलिन ।  
मेरो पनि फुर्सद नै भएकाले के खोज्छस काना आँखो भने झै भयो । मैले सहर्ष स्वीकारे रानको निम्तोलाई  " हुन्छ म पक्का आउछु"  भने । उतावाट बोलिको पर्रा छुटिरहेको थियो ।

" तिमी भोलि ६ वजे पछि वुसान स्टेसनमा आइपुग । म अथवा कुनै कवि साथी तिमीलाई लिन आउनेछन् । त्यो समय भन्दा अघाडि म अलि व्यस्त छु । " 

मैले त्यो पनि 'हुन्छ' भनें । 

म पनि के कम शुक्रवारको दिन अर्थात सन् २००९ नोभेम्वर ६ को विहान ११ वजे सुवान ट्रेन स्टेशन पुगें । टिकट काउन्टरमा गएर सोध्दा ६ वजे पुग्ने ट्रेन पनि फेला परॊ तर मैले त्यसका लागि झण्डै २ घण्टा कुर्नुपर्ने भयो । अगाडि पुगेर कसैलाई कुरिरहनु भन्दा २ घण्टा ट्रेन स्टेशन भित्रै बसेर निशुल्क इमेल इन्टरनेटको सुविधा भएको  साइवरको दुनियामा रमाउन मन लाग्यो ।

कोरियाको राजधानी शोलवाट वुसान जाने ट्रेनहरु मध्ये कै कुनै ट्रेन समाउनु थियो मैले । सिओल काटेर बुसान जादा सुवान भन्ने ठाँउ वाटामै पर्ने भएकाले मलाई सजिलो भएको थियो । त्यसो त कोरियामा चौविसै घण्टा यातायातको सुविधा छ । स्थानीय स्तरका रेल र वसहरु विहान ५ वजे शुरु भएर राती १२ वजेसम्म सेवाका लागि जुटिरहने गर्दछन् भने राति १२ वजे पछि ट्याक्सी र पैसा दिए अनुसारका अन्य सुविधा सम्पन्न क्यावहरु पाइन्छन् । कोरियामा लामो दुरीका टे्रन र वसहरु भने चौविसै घण्टा गुडिरहेका हुन्छन् ।

कोरियामा पाइने रेलहरु चार किसिमका हुन्छन् । पहिलो सहरी क्षेत्रमा कुद्ने रेलहरुको शुल्क एउटै हुन्छ भने लामो दुरीमा गति अनुसार फरक भाडा लिइन्छ । रेलहरु अति महंगा मध्यम र केही सस्ता हुन्छन् । जति धेरै भाडा असुल्यो उतिनै छिटो आरामदायी र सुविधायुक्त सेवा दिएका हुन्छन् । अति द्रुत गतिमा दौडिने केटिएक्स मध्यम स्तरको सेमिओल र तेस्रो स्तरमा मुगाडग्वा (कोरियाको राष्ट्रिय फूल)  को नामले चिनिन्छन ।   

सुवानवाट वुसान पुग्न पहिलोले तीन घण्टा दोस्रोले चार घण्टा तेस्रोले पाँच घण्टा लगाउदा रहेछन् । भाडा पनि पहिलाको झण्डै नेपाली ३५०० रुपैया दोस्रोको २२०० रुपैयाँ र तेस्रोको १५०० रुपैयाको हाराहारी पर्ने रहेछ । 

मैले २५१०० कोरियन वान हालेर अन्तिम दर्जा अर्थात मुगाङ्गग्वाको टिकट काटें । ठिक १२.५५ मा छुटेर वुसानमा बेलुकाको ५वजेर ५९ मिनेटमा पुग्ने रेल थियो त्यो । ६ वजे पछि आउनु भन्ने श्रीमती रानको उर्दी र महंगोमा चढ्नु भन्दा सस्तै पैसाले समय गुजार्नु पर्ने नेपालीहुनुको नियतिलाई मैले आत्मसात गरेको थिए । फेरि कवयित्री रान र मेरो परिवेश र्याङमा ठ्याङ् मिले जस्तै मिलेको थियो ।  

कोरियामा समयको अत्यन्त ख्याल गरिन्छ । वस रेल र भूमिगत मेट्रोहरुले एक सेकेण्ड मात्र पनि फरक पारे भने भीषण दुर्घटना वेहोर्नुपर्ने हुन्छ । हजारौं मान्छेको ज्यान जान सक्छ । त्यसैले आउनु पर्ने र पुग्नु पर्ने समयमा रत्तिभर तलमाथि हुँदैन । सुन तौलिए जस्तै समय तौलिइन्छ कोरियामा । वसहरु पनि ठिक ठिक समयमा हिड्ने र रोकिने गर्दछन् । नेपालमा जस्तो यात्रुहरुलाई आधा घण्टासम्म वाटोमा कुराएर सालाको विहे भोजमा रमिने ड्राइभरको कल्पना नै गर्न सकिन्न कोरियामा ।  

छ तल्लासम्म फैलिएको सुविधा सम्पन्न वजार बैंक सिनेमाहल र डिपार्टमेन्टल स्टोर वोकेको सुवान स्टेशनमा बसेर २ घण्टाको समय इन्टरनेटमा आँखालाई हेर्न दिएर विताएपछि ठिक समयमै मुगाङ्ग्वा रेल आयो स्टेशनमा । सातौं क्याविनको २६औं नम्वरको सिटमा गएर झण्डै पाँच घण्टाको लागि मैले मेरो शरीर मुगाङ्ग्वा रेल भित्र बिसाएं ।  

'चल जोगी फड्कार छाला जाहा जाला उँही खाला'
आखिर जोगी जस्तै थिएँ म । तर कमण्डलुको नाममा झोलाभित्र केही आफ्नै कविताका कितावहरु थिए । जसलाई कवयित्री रानले कोरियाली भाषामा भरखरै मात्र उल्था गरेकी थिइन । अनि कवयित्री रानका लागि कोशेली वापत उनबाटै अनुवादित पुस्तक र केही हिमालका फोटाहरु थिए मसँग । नेपालबाट एक्लै परदेशिएका सवै यात्रु जोगी जस्तै त हुन्छन् नी विदेशमा । घर विनाका नितान्त एक्ला ।  

मुगाङ्वा हुइकिएको पत्तै भएन । कुद्नु छ उस्लाई । ५ घण्टामा झण्डै पाँचसय किलोमिटर छिचोल्नु छ उस्लाई । उस्को पनि गति त कहाँ कम हुनु र  हेर्दाहेर्दै रेल त ढेइजन भन्ने ठाँउमा पो रोकियो । कस्तो अचम्म  म वीस वर्षसम्म हुर्केको, पढेको, वढेको र वात्सल्य भोगेको याद पो दियो ढेइजनले । खाली खुट्टा स्कुल गएको नाङ्गै भेलिएर  खोलामा पौडी खेलेको र चिचिला आँप चोरेर खाएको मेरो झापाको धाइजन एकाएक कसरी परिवर्तन भएर ढेइजन भयो म अचम्ममा परे । Dhaijan को ठाँउमा Dhejan भएर आएको थियो मेरो झापाको धाइजन । झन्डै उस्तै नाम त्यसमा पनि मेरो आफ्नो गाँउ कता कता मन फुरुङ् भएर आयो । किनभने मेरो धाइजन ५० बर्षपछि पनि कोरियाको ढेइजन हुन सक्दैनथ्यो विकासमा । प्रविधि र सुविधाले पत्याइनसक्नु पाराले नेटो छिचोलिसको थियो यो ढेइजनले  । तर मेरो धाइजन भने देशलाई शासित पुराना मदारीहरुको धङ्धङी बोकेर अझै हल नमिलेको गोरु नारेर हलो जोतिरहेको थियो । आदिम खेतको बाँझो फोरिरहेको थियो र गराहरुका आदिवाशी  कोदाली करौती र कचियाका विङहरुवाट ठेला उठाइरहेको थियो हातभरी । अनादि गाउको चिसोमा कठ्याङगि्रएको ढेइजनले अफै प्रविधि फलाएर न्यानो तापिरहेको थियो । मेरो अघाडि लम्वेतान रेलहरुका लिगहरुमा फूलेको थियो उ अविरल गतिमा हुइकिरहेका हजारौ हजार सवारी साधनहरुमा सासित थियो ऊ । तर धाइजन नितान्त फरक मुद्रामा भविश्य तापरिहेको थियो । उर्जाशक्ति वायूयान चढेर विदेश लागेको पिडामा आफ्ना घरभित्र उमेर पाकेका बुढाबुढीहरु मात्र पालेर उग्राइरहेको, ऒइलिरहेको र अल्छि मानिरहेको थियो मेरो धाइजन । जमिनको भाउ वढेको कुरामा गर्व गरिरहेथ्यो ऊ । मन अमिलो भएर आयो आफ्नै माटाको व्यथा सम्झेर । रेल फेरि हावा जस्तै बेगियो । धाइजनलाई छोडेर म काठमाण्डौ वेगिए जस्तै ढेइजनलाई छोडेर बुसानलाई भेट्न । मान्छे जस्तै कस्तो गतिशिल हुन सकेको रेल ! एउटै लिगमा वारम्वार लगातार हिडे पनि ऊ कहिल्यै थाक्दैन मान्छे जस्तो । जीवनको गति पनि रेल जस्तै नथाक्ने भए कस्तो राम्रो हुने थियो । अघाउन्जेलसम्म बाँच्नै नपाई मान्छेले सँसार छोड्नु पर्ने नियतिसँग रेलको नियति मिल्दैनथ्यो सायद ! अमन भइन्जेल हास्न नपाई सकिने मानव जीवनको इहलिलाको टिकट रेलको जस्तै निश्चित ठाँउ र समयमा ओर्लनेमा सिमित थिएन सायद !  
मान्छेको जन्म बोक्ने नामधारी यात्री छन् यहा । जसरी म छु । मृत्यु चेतको झझल्कोको संकेत समेत कोहीमा देखिदैनथ्यो । सायद सवै अमर बाँच्नु भन्ने आसामा हिडेका छन् यो परम संसारको यात्री भएर  यात्रा भरिरहेछन् ।  

गन्तव्य आफ्नै छ ।  

उद्देश्य आफ्नै छ । ।

गति सोच र विचार आफ्नै छ …

इतिहास भन्छ कोलम्वस, भाष्कोडिगामा, ह्वान हुएन चे र हुएन चाङले यात्राबाटै धेरै बुझे र धेरै प्रमाणहरु छोडेर गए । हिन्दु शास्त्र भन्छ िसंहहरु महापुरुषहरु र हात्तीहरु सधै यात्रारत हुन्छन्  र यात्राबाट सिकिरहेका हुन्छन् । तर मानव पूर्वजहरुले गरेको कठिन यात्राका सामु मेरो यो रेलको यात्रा सुखमय आरमदायी र सुविधा सम्पन्न थियो । इतिहास हिन्दु शास्त्र र उखान झै बस्तुपरक थियो र मैले भोगिरहेको दृष्यमा ससाना पहाड र पहाडकै फेदीमा गरिएका अत्याधुनिक पाराका कृषिकार्यका लागि वनाइएका कृषि गृहहरु थिए । मान्छे वा जनावरलाई भन्दा स्याहार गरिएका ती कृषि उपजका लम्वेतान याक्साहरु (Farm House) जाडो हिँउ र तुसारोवाट वचाउन वनाइएका प्लस्टीकका कटेरा थिए । कोरियाली गाउँहरुमा सन् ८० को दशक पछि कृषि क्रान्तिनै भएको प्रमाणका जलन्त उदाहरणहरु थिए ती । अत्याधुनिक प्रविधिको सहयोगले सामान्यतया नेपालमा ६ महिनामा परिपक्क हुने वालीनालीलाई २ महिनानै पूर्णता दिएर खानयोग्य वनाइन्थियो ती प्लस्टीकका कटेरामा । ती कटेराहरुभित्र विजूली वालिएको थियो । गुलुपहरुले विरुवालाई ताप प्रत्यारोपण प्रक्षेपण गरिरहेका थिए । ठिक यति नै बेला नेपालले मान्छेका लागि विद्युत नभएर लोडसेडिङ्ग खेपिरहेको थियो । तर कोरियामा भने तुलफुल र अन्न पातलाई समेत विद्युतबाट हुर्काइदै थियो । नेपालमा मान्छेले पाउन नसकेको बिद्युतीय उज्यालो कोरियामा बोट विरुवाहरुले पाइरहेका थिए  

कस्तो अचम्म !  

कस्तो भिन्नता !!  

कस्तो नियति !!!

जंगलको छेउभरि लटरम्म फलेर पाकेका हलुवावेद जाडोमा जिङ्गरिङ्ग भएका हाँगामा अखि्रएका थिए । अर्वुद रोग लागेर उपचार गर्दा गर्दै सम्पूर्ण कपाल झरेको मान्छे झै थिए ती । रुखहरुमा गति भने पटक्कै थिएन । मात्र जाडोले खाएर झरेका पातहरु विसाएर गर्मीयाम रुघेर वसिरहेका हागाहरु थिए । नेपालमा झै जंगली जनावरहरु एक किसिमले हुँदैै हुदैनन् भने पनि हुन्छ कोरियामा । कस्ले खाने पाकेको फलफूलहरु  जताततै लटरम्म । सार्वजनिक ठाउँमा समेत कसैले नटिप्ने कस्तो राम्रो समाज !! 

वुसान शहर भन्दा झण्डै डेढ घण्टा अधि वाटामा आउने थेगु शहर देखिनु अघाडि मेरो यात्राले धेरैवटा पहाडभित्रका सुरुङ्गहरु छिचोलिसकेको थियो । साना भन्दा साना सुरुङ्ग देखि लिएर ५/६ किलोमिटर सम्मका पहाड छोडेर वनाइएका सुविधामय सुरुङ्गहरु प्रसस्तै देखिए बाटामा । नेपालमा त्यस्ता सुरुङ्ग भएका बाटाहरुको औचित्य र महत्व प्रसस्त भए पनि एउटा पनि बन्न नसकेकोमा मन खिन्न समेत भयो मेरो । त्यस्ता सुरुङ्गहरु बनिन्थे भने काठमाण्डौबाट १० दिनको यात्रा गर्नुपर्ने भोजपुरलाई ३ घण्टाको अन्तरालमा २० वटा पहाड छेड्दा भेट्न सकिन्थ्यो । १५ दिन लाग्ने ताप्लेजुङ्गलाई २५ वटा सुरुङ्गले काण्ड पुर्याइदिन्थे । ५दिन लाग्ने गणेशहिमालको  फेदीलाई डेढ घण्टाको पहाडी निर्माणले नै छिचोलिदिन्थ्यो । पानी पर्यटन र पहाडको सौन्दर्यले नेपालको नाम विश्वमै चम्किन्थ्यो ।  

तर कस्तो होला त्यो दिन जव मैले देखे र सोचे जस्तै साकार भएर आउछ ।  

मैले र मेरो देशले कहिलेसम्म कुनुपर्ला त्यो शुभ समय ।

बसान पुग्न झन्डै आधाउधी नेटो काटीसकेको थिएँ मैले । ससाना पहाडै पहाडका जमात थिए यात्राभरि । पहाड भनेपछि हुरुक्क हुने वर्गको मान्छे थिएँ म । किन चुक्थें  र साना र परखी पहाडहरुलाई पर्गेल्न । भनिहालें "भनत ए फुच्चे पहाडहरु हो ! तिमीहरुले मलाई अभिवादन गर्नु पर्छ बुझ्यौ !" म त्यस्तो देशवाट आएको हुँ जुन देशमा तिमी शासित देशको सर्वोच्च उचाइ लिएको पहाड भन्दा पनि उच्च पहाडहरु प्रसस्त छन् । त्यस्ता त मेरो  देशमै हजारौ पहाडहरु छन् जस्लाई तिमीहरु आफ्नो देशको सर्वोच्च भन्छौ ।"

मैले फुर्ति गर्दै मनमनै भन्न खोजें !  

"खुव गर्व गछौं ! वडो फुर्ति लगाउछौ अर्काको गाउमा आएर । धक्कु लगाउने कुरै नगर । त्यतिका विध्न पहाढ भएर पनि के गर्न सकेका छौ ? पहाडमा  राम्रो बाटो हिडाउन सकेका छैनौ । पहाडका राम्रा फलफूलहरु तह लाउन सकेका छैनौ । सानातिना कुराको मेसो समेत मिलाउन सकेका छैनौ ।" छेउकै पहाडले उतावाट मलाई झापट हाने जस्तो लाग्यो ।  

मैले पनि उत्तर दिएँ "मेरो देशमा तिम्रा सगोत्री हजुरवाहरु तिमीहरु भन्दा अचाक्ली अग्लिएकैले हामीलाई विकाश गर्न गारो भएको छ । तिमीहरु जस्तै स-साना ववुवाहरु  मात्र हुन्थे भने हामीलाइ पनि थाहा थियो तिम्रा गोत्रीयाहरुलाई कसरी तह लगाउनु पर्छ भनेर । तर पनि हामी प्रयासरत छौ । भविश्यको मिठो फल हाम्रै पोल्टामा छ  बुझयौ" 

"भो भो धेरै वास्नै पर्दैन"

हाम्रा जिवाहरुको स्थिति हामीलाई राम्ररी थाहा छ । हाम्रा मौन संम्वादहरु हावाको गतिसँगै वहिरहेका हुन्छन् । हाम्रै वा काकाहरुको अनुहार देखाएर पर्यटकसँग राम्रो व्यापार समेत गर्न नसकोको तिम्रो  दुखेसो हामीलाई राम्ररी थाहा छ । त्यति राम्रा र सुन्दर हाम्रा अग्रजहरुका अनुहारमा तिमीहरुले जावो लाली पोत्न पनि सकेका छैनौ । तिमीले गर्छौ भन्ने कुरामा हामीलाई अझै पनि शंका छ ।" मानौ झम्टेला झै पो गरे यी लिलीपुटेहरुले त मलाई । 

"हाम्रो देशमा त कुमारी पहाडहरु छन् । प्रविधिको कुनै दुष्ट छायाँ पर्ने वित्तिकै तिनीहरु विटुलिन्छन् यसर्थ कुमारी रहनुमा नै तिनीहरु रमाएका छन् ।" मैले भनिमात्र सकेको थिएँ -ती ससाना पहाडहरु त एक-एक गरी एकोहोरो म माथि पो खनिए ।

"खुव सोच्दा रहेछौ । भावनाको खेलमा ज्यादा पस्ने कुरै नगर । यो जमाना भावना संगसंगै यथार्थ र आधुनिकताको पनि हो । कुनै कुरा सधै कुमार वा कुमारी रहनै सक्दैनन । अपवाद वाहेक मानव जीवनले वात्सल्य भोगेपछि मात्र पूर्णता पाउछ । के आमा कुमारी हुन सक्छिन ? प्रशव प्राप्ति प्राण हुनेहरुको पूर्णताको पकटिकरण हो । प्रशव पीडा नभोगेका पहाडहरुले कसरी अरुका लागि बाँच्न सक्छन्  ? हामी परिपक्क विचारका धनी जातिका बंशजहरु हौ "

 ठूला-ठूला आँखा पारेर निलुला झै गरे मलाई त कोरियाली पहाडहरुले ।  

"हाम्रा सगोत्री सगरमाथा शिखर जस्ता सफास्वच्छ र सुक्सुकाउदा सद्मार्गी सन्तलाई सातपत्रे सोत्तर थुपार्ने चै को हो नी ? त्यो कस्को देशमा भएको करामत हो ?"

"आफ्नो आङ्गको भैसी नदेख्नेले अर्काको टाउकाको जुम्रा मार्न खोज्ने तरिकाले अव चल्दैन अतिथि ! हामीलाई अझ बोल्न दिएर आफै लज्जित हुने काम नगर । पहिला  आफ्नो देश वनाउ पहाड वनाउ  बाँकी कुरा आफै खुल्ने छन् । खुल्दै जानेछन् ।"

एक्लो देखेर होला छाट्नसम्म उपदेश छाँटे  यी पुर्वेली पहाडहरुले ।

मलाई पनि भन्न मन लागेको थियो  "मान्छेको परचक्री हातले तिम्रा छातिहरु छेडेर कोशौ सम्म प्वाल पारेर भित्रभित्रै रेल हिडाउदा ऐया सम्म नभन्ने तिमी के को ध्वाक दिन्छौ ?"

ओठे जवाफ जाइलाग्न मन लागेको थियो तर पाहुना भएकाले मुखमुखै जवाफ फर्काइन मैले । मौन नै रहें तर नियाली रहेँ टाढा टाढासम्म यिनै पराई पहाडहरुलाई । जो मध्ये केहीलाई सुरुङ्ग वनाउने नाममा थिलथिलो पारेर छेडिएको हिर्काइएको र कोपिएको थियो । सायद मान्छेहरुका खुसीकै लागि त हौ नी हामी भनेर तिनीहरु पनि रमाएका हुँदा हुन् मैले त्यस्तै सोचे । सोचिरहेँ यात्राभरि ।  

प्रकृतिले दिएका यी सुन्दर उपहारहरु आखिर मान्छेकै खुसीमा थिए । मैले उनीहरुका अघाडि आफुमा गर्व गर्न लायक वस्तु नै भेटेको थिइन  आखिर लिलिपुटे भने पनि अफ्रिकी भने पनि अमेरिकी भने पनि यूरोपियन भने पनि पहाड पहाड नै हो । उचाइ आयतन र अटलपनको सिङ्गो प्रतिनिधित्व गर्छ पहाडले ।  

संसारभरिका पहाडहरुको जात धर्म र गोत्र एउटै हुन्छ । पहाडहरु संसारभरकै असल नागरिक हुन् । जीवन हुनु त पहाड जस्तो पो जस्लाई जस्ले पनि जतनसाथ मनपराउछ र छातीमै टाँस्न खोज्छ । आफ्नो नाममा वाचेको हुन्छ पहाड  तर मान्छे जस्तै वदनाम कहिल्यै हुदैन । मान्छे जस्तै छिटो पनि मर्दैन पहाड । उ दिन्छ मात्र वदलामा केही लिदैंन । एउटै उचाइमा बाँच्छ पहाड । मान्छे जस्तो उचाइ फेरिरहदैन । पहाडको पवित्रता पारदर्शिता र प्रेम पत्याइनसम्नुको हुन्छ । पहाडमा प्रणय गर्ने हरुले जीवनको महत्व वुझेका हुन्छन् । अटल अमुक र आलिसान भएरनै पहाड महान हुन्छ महत्वकांक्षा हुन्छ र माननीय हुन्छ । जीवन खोज्नेहरुले पहाडसँग सोद्नु पर्छ वचाइका कुरा उचाइ खोज्नेहरुले पहाडसँग सिक्नु पर्छ नपाईका कुरा । सहन नसक्नेहरुले सुटुक्क छिर्नु पर्छ पहाडको खोकिलामा । आफै फुल्छ पहाड कसैले फुलाइरहनै पर्दैन । आफै वशन्त ल्याउछ पहाडले उ कसैलाई पर्खिरहर्दैन । मानौं पहाड प्रकृतिले मान्छेका लागि उठाइदिएको त्यस्तो पिरामिड हो जस्को पोल्टामा मान्छे मस्तसँग निदाउन सक्छ र युगौयुगसम्म जस्ताको तस्तै रहेर वाच्न सक्छ ।

झन्नै झन्नै झमक्क साँझ पर्यो । वुसान पुग्नु आधा घण्टा देखि देखापरेका सवै ठाँउहरु वेलुकाको बत्तिले झलमल्ल अन्मिएर वेहुली जस्ता उज्यालिएका थिए । चारैतिर जता हेरे पनि विजुली नै विजुलीको उज्यालो । यती नै वेला नेपाली समाचारहरुले नेपालमा दिनमा १४ घण्टा लोडसेडिङ्गको समाचार प्रकाशन गरिरहॆका थिए । विश्वको प्रकृतिक सम्पदा र जलासयमा धनी देशले भाग्नु परेको पिडा थियो यो ।  

हेर्दा हेदै मुगांङ्वा रेल ठ्याक्कै ५ वजेर ५९ मिनेटमा वुसान स्टेशनमा रोकियो सवै यात्रूहरुझै मपनि आफ्नो सामान बोकेर बाहिर निस्किए । मेरा आखा श्रीमती रानका अनुहारमा ठोक्किन खोजिरहेका थिए तर एक्कासी अलि होचो कदकी एक जना महिलाले मलाइ सोधिहालिन "कृष्ण इस्सयो"  कोरियाली भाषामा कृष्ण हो  ?

मैले पनि भनिहाले "हो म कृष्ण नै हुँ ।" हत्तपत्त उनले मेरो व्याग आफुले बोक्न खोजिन तर मैले आफै बोक्न सक्छु भनेर दिन इन्कारें । उनले आफ्नो मोवाइल फोन कवयित्री रानलाई लगाइन र मलाई कुरा गर्न भनिन् । कवयित्री रानले भन्दै थिइन "मैले मेरो अति मिल्ने र मलाई मनपर्ने मेरी कवयित्री साथी तिमीलाई लिन पठाएको छु । म विश्व विद्यालय र भोलिको मेसो मिलाउने कुरामा अलि व्यस्त भएर उनलाई पठाएको छु । अंग्रेजी बोल्न उनलाई पटक्कै आउदैन । मात्र तिमी उनको कारमा वसेर भोलीका पाहुनाहरुले खान लाग्दै गरेको रेष्टुरेण्टमा जाउ र सँगै परिचय सहित खादै गर । म काम सक्ने वित्तिकै आउछु ।"  

मैले हुन्छ भने । नभनेर उपाय पनि थिएन । मलाई लिन आउने कवयित्री साथी सिष्ट नम्र र भलाद्मी थिइन् । अंग्रेजी फिटिक्कै नजान्ने भएपनि मैले कामचलाउ भाषामा कोरियाली शव्दहरु कनिकुथी उनको कानमा भर्दैगए । ट्राफिक जामको व्यस्ततालाई चिरेर उनले पनि मलाई आफ्ना कुरा राख्दै गइन् । हामी दुवै कविता मनपराउने वर्गका मान्छे थियौ । तर भाषिक बेमेलले हाम्रा धेरै कुराहरु बुझाइमा ओझेल भए । भाषगत बेमेल भोगाइको अनुभव मैले विदेशमा बस्दा प्रसस्तै भोगेको छु । झन पूर्वी एशियाका मुलुकका सहित्यकारहरुमा यो समस्या अझ धेरै छ । सोचे भन्दा पनि धेरै । पाँच प्रतिशतले मात्र पनि अंग्रेजी वोले भने भाग्य ! सवै सुविधा आफ्नै भाषामा विकाश गरेकाले पनि यस्तो भएको हुनु पर्छ । भाष प्रेम, देश प्रेम र नागरिक प्रेम एक किसिमले कोरियालीहरुको विशेषता नै हो । मलेशिया, चीन,  सिंगापुर वा अन्य उष्ण प्रदेशीय एसियाली मुलुकहरु जस्तो मौशमले साथ दिएको मुलुक होइन कोरिया । जाडोमा अति जाडो  यहासम्मकी वाह्य वतावरणमा कुनै जनावर बिशेषको बाच्ने कल्पना पनि गर्न सकिन्न र गर्मीमा निकै गर्मी हुने मुलुक हो कोरिया । सन् ४० र ५० ताका एक किसिमले युद्ध र भोकमरीले सताएको मुलुक थियो कोरिया । नेपाल र भारत जस्ता गरिव मुलुकले समेत अन्नपात दिएर भोकमरीबाट बचाएको देश थियो कोरिया । तर लगन र जाँगर भए पछि कस्को के लाग्दो रहेछ र  जनता जागे र चम्काएरै छोडे कोरियालाई । जनता जुर्मुराए र बनाएरै छाडे कोरियालाई । जनता जोशिए र जगाएरै छाडे कोरियालाई ।  

मैले यात्राभरि नेपाल र कोरियालाई विकास र प्रविधिका प्रत्येक सन्दर्भलाई दाँजीरहे । कुनै कुरामा पनि समानान्तर वनाएर दाँज्न सकिने ठाँउ थिएन दुई देशलाई । 

जल, थल, आकाश, हिमाल कुनै पनि हिसावमा कोरिया भन्दा समुन्नत नेपालको अवस्था दिनहुँ जर्जर र जीर्ण हुँदै थियो  भनॆ हामीले म्लेक्ष देश मानेको यो पराइ भूमि रात दुई गुणा दिन चौगुणाका हिसावले विकासको फड्को मारिरहेको थियो । उन्नति गरिरहेको थियो । हाम्रो देश लाचार भएर कटौरो थापिरहेको थियो कॊरियासँग । सहयोग मागिरहेथ्यो कोरियासँग र दिनदिनै ऋण माथि ऋण वोकाइ रहेथ्यो गरिव नेपाली जनतालाई ।

Comments

jitman

krishna ji , tapai ko sansmaran lekha nikai sashakta chha .sachchi na bideshama dekheka akalpaniya bikash le najanido bhaka ma ersya lagchha ani gahiro pida bodha hunchha .sansarle katro phadko mari sakyo hami bhane ajhai adim yugma jhai ban jangalma tarul bhyakur khoji raheka chhau. aasa 6 bhabisha ma pani nirantar stariya rachana aaunechhan..

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |