हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

कवि बिक्रम सुब्बाको 'निरँकुश जुँगाबिरुद्ध',(राजव)


नेपाली कविताको आधुनिक कालको अमुर्तबादी शिल्पचिन्तनको भ्रम र आग्रहबाट समकालीन नेपाली कवितालाई मुक्त गर्ने महत्वपूर्ण जिम्मेवारी तीसको दशकका कविहरुको लेखनमा आईपुगेको थियो । कवितामा अमुर्तताको मजा लिने र सत्यताबाट विमुख सौन्दर्यको पक्षपोषण गर्न खोज्ने नेपाली कविताको त्यस्तो पिँढीलाई विस्थापन गर्ने काम तीसको दशकका महत्वपूर्ण युवा कविहरुबाट भएको छ । देशज सम्वेदना,शिल्प र सम्प्रेषणमा जोड दिने यी कविहरुले नेपाली कविताको पुरानो अमुर्त बान्की  र शिल्प पूर्णत: त्यागेर नेपाली कवितालाई समकालीन जीवनसँग प्रत्यक्ष सरोकार राख्ने नयाँ शिल्प र विम्वको मौलिक खोज गरे । कविताको पुरानो अमुर्तताको आग्रहको रुढीलाई यी कविहरुले विस्थापनमात्र गरेनन् त्यस्तै रुढी बन्न खोज्ने समकालीन ढोँगलाई पनि धपाउन  सफल भए । त्यसकारण आज नेपाली कविताको त्यही धार प्रखर छ । र, अगुवा छ । तीसको दशकबाट निर्माण हुन थालेको त्यही धारका प्रमुख कवि हुन बिक्रम सुब्बा । 'शान्तिको खोज' नामक खण्डकाव्यको प्रकाशनबाट आफ्नू काव्यलेखनको इतिहास रच्न थालेका विक्रमको त्यसपछि, 'कविको आँखा: कविताको भाका' ,'सगरमाथा नाँगै देखिन्छ', 'बिक्रम सुब्बाका कविता र गीतहरु' र 'निरँकुश जुँगा बिरुध्द'जस्ता चार कवितासँग्रह र जातीय मिथकमा आधारित 'सुम्निमा पारुहागँ' नामक मुन्धुम काव्य प्रकाशित भएका छन् । सँख्यामा जम्मा छ वटा काव्यकृति प्रकाशित गरेका बिक्रमको कविता लेखनको 'आज सगरमाथा नाँगै देखिन्छ'को प्रकाशनपछि खुल्न थालेको थियो । बिक्रमको यस सँग्रहका कविताहरुमा नेपाली कविता लेखनको नयाँ स्वरुप, दिशा, कथ्य र शिल्पको चमक देखिन्छ । समकालीन नेपाली कविताको स्वरुप निर्माणमा बिक्रमको यस सँग्रहका कविताहरुको राम्रो योगदान छ । यसै सँग्रहबाट बिक्रमको कविता लेखनको शिल्प र दिशा पनि निर्धारण भएको देखिन्छ । तर, यस टिप्पणीमा बिक्रमको पछिल्लो कवितासँग्रह 'निरँकुश जुँगा बिरुद्धका' कबिताहरुको पाठ प्रभावको बारेमा केही लेख्दै छु।

तीन दशकदेखिको काव्य लेखनको शिल्प, कथ्यग्रहण र परीवेश चिन्तनको निखार भेटिन्छ बिक्रमको यस नयाँ सँग्रहमा । समकालिन राजनीति र त्यसले बुनिरहेको दिशाहीन भविष्यबाट आक्रन्त छन् बिक्रम । यसमा भएका उनका प्राय: सब कविताहरु समकालीन त्यही मानसिक उथलपुथलको इमान्दार सम्प्रेषणमा जुटेका हुन। बिक्रमका यी कविताहरु कविता लेखनको कलात्मक उचाइकासाथ प्रस्तुत भएका छन् । त्यसकारण उनका यी कविताहरु खरो चिन्तनबाट मात्र प्रभावितभएका हैनन् भन्न् करै लाग्छ । वास्तवमा समकालीन कविताको  आश्वादनको कलात्मक सन्तुलनमा निर्माण गरिएका यी कविताहरुले चिन्तन र कलालाई कवितामा कसरी जोगाएर कविता लेखन अगाडि बढाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्छन् । त्यसकारण यो सँग्रहले बिक्रमका कविताहरुका आस्वादकहरुलाई निराश पार्दैन । बिक्रम आफ्नू चिन्तन र पक्षधरतामा कत्ति द्ढ छन् भन्ने खरो उदाहरण पनि हो यो सँग्रह ।  वास्तवमा यस सँग्रहका कविताहरुले बिक्रमको प्रतिबद्धताको झन् बढी प्रतिनिधित्व गर्छन् । शिल्प र चिन्तनको सन्तुलित आग्रह गर्ने बिक्रम देशको राजनीतिक स्वरुपको भविष्यप्रति चिन्तित देखिन्छन् । तिनै इमान्दार चिन्तनका समकालीन सँवेदनात्मक काव्य बान्कीहरु हुन 'निरँकुश जुँगा बिरुद्ध'का कविताहरु ।

कविताको अत्यन्त सरल प्रतिमान रच्न सिपालु कवि बिक्रम सुब्बा भूपि शेरचनपछिको त्यही सरल काव्य ओजको  आग्रहमा उभ्भिने कवि हुन् । आफ्ना पूर्ववर्ती सँग्रह सगरमाथा नाँगै देखिन्छ ,बिक्रम सुब्बाका कविता र गीतहरुका कविताहरुमा झैँ यस सँग्रहका कविताहरुमा पनि बिक्रमले कुनै विम्वको आयात गरेका छैनन् । आफ्ना अनुभूतिका आबेगलाई अत्यन्त कलात्मक र समचिनविम्वमा बाँधेका छन् । बिशेषत: आफ्ना अघिल्ला सँग्रहका कविताहरुमा झैँ सद्द्य  प्रकाशित यो सँग्रहका कविताहरु बिक्रमका सहज,सरल शिल्प चिन्तनका प्रतिमानहरु हुन् । नेपाली कवितामा यत्ति सादा र कलात्मक उचाइको कविता भूपि शेरचन यताका एकाद कविबाहेक कमै भेटिन्छन् । तिनै विरल कविमध्ये एक हुन बिक्रम सुब्बा ।

कवितालाई शाश्वत बनाउने जुक्तीमा छैनन् बिक्रम सुब्बा । त्यसकारण पण्डितहरुलाई उनको कविता ठाडो र खरो लाग्लान् । तर, जीवन सुधार्ने जुलुशमा भिडेको मान्छेलाई बिक्रमका तिनै कविता तिक्खर र आक्रमक लाग्छन् । त्यसकारण तिनलाई बिक्रमका यी पँक्ति स्वादिला र आफ्नो पक्षका लाग्छन् :

“हरेक दरबारका
बदमाश बिरुद्ध
कविताले राजनीति गर्छ  “  

यो बिक्रम सुब्बाको कविताको मात्र सत्य हैन समग्र समकालीन नेपाली कविताको सत्य हो जसले दवार खडा गरेर महाराज बन्न खोज्ने छद्महरुको निहित स्वार्थमा प्रहार गर्छ । गणतन्त्रको खेती शीर्षक कवितामा उनी लेख्छन :

“संबिधानको पन्ना - पन्नामा फलेका
गुलिया,चिल्ला र धारिला अक्षरहरु

भोक मार्ने मकै - भटमास बन्न सकेन्
तसर्थ शुरु भएको छ गणतन्त्रको खेती “

यो चिन्तनलाई सार्थक रुप दिने आमचिन्तामा सँलग्न हुँदै बिक्रम घडी शीर्षकको कवितामा लेख्छन् :

“अर्थात सुतेकाले जाग्ने समय
जागेकाले जुलुस लगाउने समय
र जातजातका तानाशाहालाई
घोडाबाट खसाल्ने समय   “ 

वास्तवमा अहिले हामीले भोगिरहेको समय सँक्रमणको समय हो । यो सँक्रमणको मौका छोपेर गद्दारी नहोस् भन्ने सचेततामा उनका हरएक कविताका पँक्तिहरु यसरी नै बोल्छन्,जस्तो उनी एक अर्को कवितामा लेख्छन् :

“क्षण क्षण लुटीएको छ सिरिफ यौवन शान्तिको
जस्तो कि पार्टी कार्यालयहरुमा
दिउसै नँग्याएर लुटिँदै छ जवानी लोकतन्त्रको “

सरल र सुगठित प्रस्तुति बिक्रमका कविताको शौन्दर्य र ज्यान हो । कवितामा समकालिन राजनीतिक बोधको ज्यान हाल्न उनी शिपालू छन् । त्यही शीप र शौन्दर्यको तिक्ष्णताले भरिएका कविताहरु छन्  निरँकुश जुँगा बिरुद्धभित्र । कविता लेखन र चिन्तनमा तीन दशक बिताइसकेका बिक्रम आफ्नू प्रतिवद्धताको लिकबाट झरेका छैनन् । आफ्नो त्यो प्रतिवद्धता फेरि दरपिठ गर्दै उनी लेख्छन् :

“यमराजको निरँकुश जुँगाबिरुद्ध पनि
बिक्रम सुब्बाले कविता लेखिरहेको
धेरै भयो यो शहरमा .... धेरै भयो “

लेखनको यो लामो काव्ययात्रामा बिक्रमले नेपाली कवितालाई सार्थक मार्ग दिएका छन् । त्यो मार्गमा फेरि अघि लागेको छ निरँकुशजुँगाबिरुद्ध    ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |