हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

केरकार

कोलोराडो घुम्न जाँदा-२,(बासु श्रेष्ठ)

मे २५:


कोलोराडो भ्रमण पशुपतिको जात्रा सिद्राको व्यापार झै गरेको छुँ । खसखस डट कमकोलागी मित्र ज्ञानेन्द्र गदालजीले अन्य साहित्यकार मित्रहरुसँग टेलिफोनमार्फत सम्पर्क गराई दिनुभएपछि वहाँहरुको सहयोग  निरन्तर जारी रहेको छ । त्यसैले यो भ्रमणबाट एक त दाईको लामो समयदेखिको निम्ता पुरा गर्न पाईने अनि त्यस्तै सहयोगी साहित्यकार मित्रहरु आचार्य प्रभा, भुपेन्द्र महत, विजयराज शर्मा, प्रमिला शर्मा अनि ज्ञानेन्द गदाल स्वयँसँग भेट गर्ने धोकोपनि पुरा हुने । यहि कल्पना मनमा गुन्दै मख्ख पर्दै हिजो ओछ्यानमा लडेको म कति बेला निद्राको काखमा पुगेछु पत्तै भएन ।

बिउँझिएर घडी हेर्दा नौ बजिसकेको रहेछ । 'लौ मार्यो भुसुक्कै सुतिएछ' भनेर जर्याक जुरुक्क उठेँ, अनि फेरि घडि हेरेँ । अनि 'धत्, यो त डिसीकै समय हो नि ! यहाँ त भर्खर सात बज्यो लाटा !' आफैलाई भनेँ । म बसेको कोठाको झयालबाट हेर्दा पर पर सम्म केहि घरहरुका थुम्काकासाथ मैदान नै मैदान देखिने । सामुद्रिक किनारबाट समुद्र हेर्दा क्षितिज समुद्रमा आएर अँगालो हालेको जस्तो देखिन्थ्यो भने अहिले हेर्दा जमीन र क्षितिजको प्रेमालाप र प्रणय भईरहेको जस्तो लागी रहेको छ । यो क्षितिजले कतै समुद्रसँग पारपाचुके गरेर जमीनसँग प्रणय गाँस्न त आएको होईन ?

बिहानको पेट पुजा गरेपछि दाई, भाउजु, दिवस (दाईको माईलो छोरा) बुहारी स्मृति र नाति रकि माउण्टेनको भ्रमणकोलागी निस्क्यौं । रकि माउण्टेन एक पहाडी श्रृंखलाको नाम हो । यो मेक्सिकोदेखि अलास्कासम्म २७०० माईल लामो भएर फैलिएको रहेछ । यस श्रृँखलालाई उत्तर अमेरिकाको मेरुदण्ड पनि भनिँदो रहेछ । कोलोराडोमा रहेको यस श्रृंखलाको सबैभन्दा अग्लो भाग १२ हजार १८३ फिटको रहेछ । यस श्रृंखलामा पर्यटनकोलागी पहाडको उँचाईसम्म जान सडक बनाइएको छ । घुमाउरो र तल माथि हुँदै बग्ने सडकको दाँया बाँया हिउँदमा परेको हिउँ अझै पग्लन नसकेर जमेको देख्दा अनौठो अनुभूति भयो । जमेका हिउँ झण्डै ३५ देखि ३६ फिटसम्मको मोटो रहेछन् र पग्लिन आतुर देखिन्थे तर कमलो घाम अनि एकाएक मौसम बदलिएर चिसो न चिसो भैदिने यस क्षेत्रमा यो हिउँको पग्लने धोको शायद कहिल्यै पुरा नहुन सक्छ बरु चक्र घुमे झै घुमेर आउने अर्को हिउँदमा थप हिउँ जम्ने सम्भावना देखिन्छ ।

त्यस्तै पहाडको उँचाईमा जाँदैगर्दा कतिपय रुखहरु तालु खुईले झै एकातिर मात्र पात भएको देखियो । डाँडाको भीरमा अकास्सिएका ति रुखहरु हावा चल्ने दिशातर्फ ताछेको या तालु खुईल्याएको जस्तो देखिँदो रहेछ । पहाडको त्यो उँचाईमा रुखको एकापट्टि पात नै नहुने गरि कुन वेगले हावा चल्दो होला अनुमान गर्न सकिन्छ । मलाई ति रुखहरुको प्रशंसा गर्न मन लाग्यो जो हावाको जति ठक्कर खाए पनि भिरमा आफ्नो जीवन जिउन संघर्ष गरी रहेका छन । जीवन जिउनुको उदाहरण बनि रहेका छन ।

एकातिर ठाडो भीर र अर्कातिर हिउँको भित्ता छिचोल्दै हामी अल्पाईन भिजिटर सेण्टर पुग्यौ । पार्किंग लटमा गाडि पार्क गरेपछि त्यहाँबाट टुप्पोमा पुग्ने प्रयत्न गरियो दाई वहाँको जेठो नाति विराज अनि म । गोरेटोमा जमेका हिउँ छिचोल्दै उकालो चढ्ने जमर्काेमा विराज तिन पटक लड्यो अनि हार खाएर गाडी भएतर्फ लाग्यो । म र दाई भने स्वाँ स्वाँ गर्दै हिउँ छल्दै अलि अलि पग्लेर बगेको पानीले बनाएको छिपछिपे हिलोमा टेक्दै उकालो चढ्दै थियौ । चिसो हावा अनि लगाएको चप्पलबाट खुट्टामा सजिलै चिसो पसेकोले खुट्टा ठिहिर्याउन थालेकोले हिम्मत हारेपनि बहादुरीकासाथ माथि नगई बिचबाटै फर्कन बाध्य भयौ । र ओर्हालो लाग्यौ ।

रकि माउण्टेन जाँदा र आउँदा देखिएका श्रृँखला देख्दा यस्तो त मेरो देशमा पनि छ तर पर्यटनकोलागी यहाँको जस्तो व्यवस्था किन गरिँदैन भन्ने प्रश्न मेरो मनमा खेलिरह्यो । फेरि सबै कुरामा सरकारकोमात्र मुख ताक्नु हुन्न भन्ने उदाहरण हो रकि माउण्टेन पार्क । रकि माउण्टेनलाई राष्ट्रिय पार्कमा परिणत गराउने स्थानिय वासिन्दाहरु नै हुन जसले सरकार तथा सदनलाई घचघच्याई सन् १९१५ मा यस राष्ट्रिय पार्कको अवधारणा निर्माण गरायो ।

बाटोमा एस्टेस पार्कमा नेपालीकै रेष्टुँरामा मम खाईयो । एकछिन बसुँजेल  ग्राहकको आवत जावत देखेर र नेपालीको व्यवसाय फस्टाएको देख्दा खुशी लाग्यो । मम त्यत्ति मीठो नभएको अनुभव भएपनि यहाँ मम खाने रहर चाहि स्मृतिको थियो । त्यहाँ दिवसले मेरो केहि फोटो खिचेपछि घरतर्फ रवाना भइयो । यो एसटेस पार्क अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुकोलागी गर्मीको विदामा काम गर्ने थलोको रुपमा रहेछ । मेरिल्याण्डको ओसन सिटिमा विभिन्न राज्यबाट काम गर्न आउने जस्तै यहाँपनि विभिन्न राज्यबाट बिदाको समयमा आई काम गर्दा रहेछन् । र यहाँपनि नेपाली भनेपछि विश्वासको पात्र बनेका भएर सजिलै काम पाउँदा रहेछन् ।
आज झण्डै १६० माईलको यस यात्रामा दिवसलेमात्र गाडी चलाएका थिए । घरमा आईपुग्दा झण्डै आठ बजिसकेको रहेछ । ....क्रमशः

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |