हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

'गे'को घरमा एकरात,(बासु श्रेष्ठ)

 सन् १९९६ डिसेम्बरको शायद अन्त्यतिर हुनुपर्छ दिनभरी हिउँ परेको थियो । म त्यतिबेला रेष्टुराँमा कूकको काम गर्थेँ । ग्रीनकार्डकोलागी । सँगै काम गर्ने रबर्ट नामको एकजना वेटरपनि मसँगै राती रेष्टुराँ बन्द गर्नेमा थियो र उ कसरी घर जाने भन्ने समस्या तेर्सिएको थियो ।  

रबर्ट हँसिलो, फरासिलो र होचो होचो कदको थियो । उमेर यस्तै ४५-४६ हुँदो हो । तर उ समलिँगी थियो । अर्थात 'गे'  । तर यसमा उ कुनै सँकोच मान्दैन थियो । हाकाहाकी 'आई एम गे' भन्दै परिस्थिति अनुसार हावभाव सहित निर्धक्क भन्ने गर्थ्यो । अझ मसँग कूक भएको नाताले बढि नजिकिएको थियो । मलाई 'बाबा' भनेर बोलाउँथ्यो । किनभने रेष्टुराँको नियम विपरित खाना बनाएर खान दिन्थेँ । यसरी खाना पाउनेहरुमा रबर्ट एक्लो थिएन । ईथियोपियन, ईरित्रियन, अमेरिकन, मोरक्कन तथा ईण्डियन वेटरहरुपनि थिए भने डिसवासरको रुपमा मँगोलियाबाट डाक्टर बनेका व्यक्तिसमेत थिए । रेष्टुराँमा काम गर्नेहरुले खाना सित्तैमा पाउनुपर्ने भन्ने मेरो मान्यताको विपरित थियो रेष्टुराँको नियम । त्यसमाथि निम्नतम ज्यालामा काम गर्ने ति वेटरहरुले खानामै पैसा खर्च गरेभने उनिहरुको आम्दानी के भयो त भन्ने मेरो तर्क रहेकोले लुकिलुकि ति सबै कामदारहरुलाई म खाना खान दिन्थेँ ।

मसँग रबर्ट यति खुल्लम खुल्ला थियो कि अघिल्लो दिन कहाँ कोसँग, के गर्यो, कति पैसा कमायो यावत कुराहरु भन्थ्यो । अर्को अर्थमा उ एकप्रकारको रण्डोपनि थियो । यदाकदा कोहिसँग यौनजन्य क्रियाकलाप गरेर पैसा कमाउने उसको बाटो भएपनि यो नियमित भने थिएन । किनभने उसको आफ्नै पार्टनर माईक थियो । जो रबर्टकोलागी केटाको भूमिका निर्वाह गर्थ्यो

मेरो कामको शिफ्टमा रबर्टको शिफ्ट पर्यो  भने साह्रै दँग पर्थ्यो  । किनभने खाना खान पाउने भयो । मौका हेरेर पेट मुसार्दै 'बाबा, आई एम हँग्री' भनेपछि 'के खान्छस्' भन्ने मेरो प्रश्न तेर्सिहाल्छ भन्ने उसलाई थाहा थियो । बेला मौकामा ग्राहकले छोडेका खानाहरु भित्र आएर खाएको देखेर मैले  हकारेको थिएँ पनि । र मेरो शिफ्टमा त्यसरी खान छाडेकोपनि थियो ।

मसँग अन्य कामदारहरु रबर्टजस्तै मिलनसार भएपनि मलाई आज किन हो उसको बढि सँझना आईरहेको छ । शायद उसको खुलापन, मिलनसार र उन्मुक्त हाँसोको कारण हो कि ?

जे होस त्यसदिन रबर्टलाई घर जान समस्या परेको थियो । अरुले राईड दिन मानेनन् । बाँकि रहेको मैले 'नाई' भन्न सकिनँ । तर फर्किने समस्या थियो । त्योपनि उसैले समाधान निकाल्यो । उसैको पार्टनरको घरमा बस्ने । मैले 'हुन्छ' भनेँ ।

उसको घर पुग्दा रातको झण्डै एघार बजिसकेको थियो । कारणवश उसको पार्टनर आईपुगेको रहेनछ । उसले मेरोलागी कोठा देखायो । घरभित्र पस्नेबित्तिकै मेरो मन ढक्क फुलेर आयो । एक त 'गे'को घरमा पुगेको छुँ । त्यसमाथि लिभिँग रुमदेखि बेडरुमहरुमा सजाईएका विभिन्न अनौठा वस्तुहरु देखेर आँग जिरिँग भएको थियो । तर मैले कुनै  प्रतिक्रिया जाहेर गर्न चाहिनँ । किनभने रबर्ट काममा मबाट 'डोमिनेट' थियो । म उसको अगाडि काँतर देखिन चाहन्नथेँ । तर मनमा भने एकप्रकारको अशान्ति, उहापोह र हलचल भने मजैले उब्जिएको थियो ।

मलाई आफ्नो कोठा देखाएर उ आफ्नो कोठामा गयो । म ओछ्यानमा ओढ्नेभित्र गुँडुल्किएँ । तर निदाउन भने सकिनँ । भित्तातर्फ ढाड फर्काएर सुत्ने प्रयत्न गरेँ । निकै अबेरसम्म निदाउन सकिनँ । म 'छक्का'को घरमा छुँ, कतै यिनिहरुले मसँग जबर्जस्ती गरेभने मैले आफ्नो बचाव कसरी गर्ने आदि अदि तरँगहरु मनमा आईरहे । अर्कोतर्फ निदाउने प्रयत्न जारी थियो । कसैगरी आँखा लागीहालेपनि बिँउझिएर हत्त न पत्त भित्ता तर्फ ढाड फर्काई हाल्थेँ र फेरि निदाउने प्रयत्न गर्थेँ ।

'बित्थामा यो मोरोलाई राइड दिएछुँ' भन्ने पश्चातापपनि भईरहेको थियो । यसबेला आफ्नै घर जाउँभने पनि बाटो खराब छ । 'हत्तेरी' भन्ने जस्ता अनेक कुराहरु मनमा खेलिरहे । कहिलेकाहिँ 'यि गेहरु आफ्नो पार्टनरप्रति ईमान्दार हुन्छन्' भन्ने सुनेको भनाईले निदाउन मद्धतपनि गर्थ्यो । तर फेरि 'क्या हो, क्या हो' भन्ने आशँका र त्रासले बिउँझाई हाल्थ्यो र फेरि ढाड भित्तातर्फ फर्काउँथे ।

रात काट्न साह्रै मुश्किल पर्यो । कतिबेला बिहान होला र यहाँबाट टाप कसुँ जस्तो भईरहेको मनले घडिको घण्टा गन्न थालेको थियो ।  

बल्ल रातको दुई बजे छ । तर धन्न रबर्ट र उसको पार्टनर आफ्नै कोठामा छन् । केहि गरि दुबै मेरो कॊठामा आएभने ? भन्ने तर्कले 'के गर्ने होला?' भन्ने लाग्थ्यो ।

हत्तेरी, बल्ल चार बजेको रहेछ । यसबिच आँखाले केहि झिमिक्कमात्र गर्न पाएको रहेछ । पाँच-छ बज्नेबित्तिकै टाप कस्नुपर्छ भन्ने मनमनै निर्णय गरेको छुँ तर समय चाहिने बेलामा साह्रै ढिलो हिँड्दो रहेछ । जुनबेला एकछिन अडि दिए हुन्थ्यो भन्ने लागेको हुन्छ त्यतिखेर भने झिमिक्क दौडिहालेको हुन्छ । तर आज 'किन छ बज्दैन?' भन्ने प्रश्न बारम्बार आईरह्यो । बाहिर सारा सँसार सेताम्मे छ । सडकको बत्तिमा हिउँले सम्पुर्ण छोपेको हुनाले मात्र सेतो तर उज्यालो र चहकिलो देखिन्थ्यो तर चकमन्न ।  

बल्ल चराको चिरविरले बिहानको झलक दिन थाल्यो । घडिले साँढेपाँच बजाएको रहेछ । तन्द्रै तन्द्रामा, अर्द्ध निद्रामा घडिमा देखिएको समयले अलिकता सास आएको अनुभव गरेँ । अब त सँकटकाल टर्यो भन्ने ठान्दै बिस्तारै ओछ्यान छोडेर गाडिको साँचो लिएर टाप कसेँ र आफ्नो एपार्टमेण्टमा पुगेपछि मस्तसँग निदाएँ दिनभर ।

 

 

Comments

Mohan Khadka

akdmai ramro lagyo

yrnayaghare

एकदम मज्जाको लाग्यो संस्मरण !!!

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |