हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गरिब नागरिक हुनुको पीडा,(डा.विद्याराज सुवेदी)


सोच्दै नसोचेका घटनाहरु जीवनमा आइपर्दा रहेछन् घट्तारहेछन् । ठूला-साना जे-जस्ता होऊन् सबै घटनाहरुले आ-आफ्नो ठाउँमा महत्व राख्छन् । तिनलाई केलाउनु र मूल्याङ्कन गर्नु विशेष कुरा हो । यस्तै एउटा घटनाले मेरो जीवनमा गहिरो महत्व राख्ने भएको हुँदा यहाँ प्रस्तुत गर्ने अनुमति मागेको छु ।
हामी सपरिवार श्रीमती र दुई छोरा अमेरिका फ्लोरिडा राज्यमा सन् २००० देखि बस्दै गरेका हौं । सन् २००४ को मध्यतिर मेरो पी.एच.डी. समाप्तिसँगै हामी फ्लोरिडा टालाहसीबाट साउथ फ्लोरिडाको वेस्ट पाम वीच बस्दै आएका छौं । अक्टोबर २९, २०१० मा म, मेरी श्रीमती विजया र अर्को एकजना नेपाली बहिनी समेत परिवार भेट्न मायामी (हामी बसेको ठाउँबाट डेढ घण्टाजति दक्षिणमा पर्दछ) बाट लस एन्जेल्स-हङकङ हुँदै काठमाडौंकोलागि क्याथे प्यासिफिक एयर लाइन्सको टिकट लियौं । हामीले टिकट एकजना नेपालीसँग न्यूयोर्कस्थित ट्राभल एजेन्सीबाट किनेका थियौं । हामी तीनैजनासँग अमेरिकाको ग्रीनकार्ड भएको हुँदा ट्राभल एजेन्सीले यूएस ग्रीनकार्ड होल्डरलाई एकदिन हङकङ ट्रान्जिटमा बस्दा ट्रान्जिट भीसा नलाग्ने कुरासहित क्याथे प्यासिफिक एयरलाइन्सको इन्स्ट्रक्सन पठाएको थियो ।
हामी जहाज चढ्नको लागि मायामी इन्टरनेशनल एयरपोर्टमा पुग्यौं । लाइन अलि लामो भएको हुँदा चेक-इन गर्न सीमित समय मात्रै बाँकी थियो । अमेरिकन एयरलाइन्सको फ्लाइट एजेन्टले हाम्रो आइटीनरी, पासपोर्ट लगायतको इन्फरमेसन कम्प्युटरमा राखेर हेर्यो । अनि त्यसपछि उसले भन्यो "हङकङ भएर जाने भएकोले तपाईंहरुलाई हङकङको ट्रान्जिट भीसा चाहिन्छ । त्यसकारण म तपाईंहरुलाई वोर्डिङ पास इस्यू गर्न सक्दिन ।" त्यसपछि मैले ट्राभल एजेन्सीको बहिनीले दिएको इन्स्ट्रक्सन जसमा नेपाली नागरिक र यूएस ग्रीनकार्ड होल्डरलाई ट्रान्जिट भीसा नलाग्ने कुरा लेखिएको थियो देखाएँ । उसले त्यो हेर्न इन्कार गर्दै भन्यो "तपाईंको यो तीन-चार दिन पहिलेको इन्स्ट्रक्सन हुनसक्छ, तर मेरो कम्प्युटरमा प्रत्येक २४ घण्टामा अपडेट भइरहन्छ ।" अनि हाम्रो केहीबेर वाद विवाद पर्यो । हामीले सुपरभाइजरलाई बोलाऊ ऊसँग कुरा गर्न चाहन्छौं भन्यौं । सुपरभाइजरसँग कुरा गर्दा पनि उही जवाफ आयो । यस बीचमा हाम्रो त्यो फ्लाइट छुटिसकेको थियो । यसै बीच फ्लाइट एजेन्टले लस एन्जेल्ससम्मकोमात्र वोर्डिङ पास इस्यू तथा त्यहींसम्मकोलागिमात्र लगेज चेक-इन गर्न सक्ने बतायो । त्यहाँबाट हङकङ उड्न नपाए मायामी फर्कने खर्च आफै व्यहोर्नुपर्ने कुरा पनि बतायो । म निरास भएर ट्राभल एजेन्सी र क्याथे प्यासीफिक लस एन्जेल्स दुवैलाई फोन गर्न थालेँ । बेलुका ६-७ बजिसकेको हुँदा ट्राभल एजेन्सी बन्द भइसकेको थियो । फोन उठेन । तर क्याथेमा फोन गर्दा उसले यूएस ग्रीनकार्ड होल्डरहरुलाई एकदिनकोलागि ट्रान्जिट भीसा नचाहिने बतायो । र उक्त अमेरिकन एयरको फ्लाइट छुटेपनि अर्कोमा आएदेखि त्यसपछिको क्याथेमा हङकङ जान मिल्ने बतायो । त्यसपछि मायामीको फ्लाइट एजेन्टलाई 'अर्कोमै भएपनि वोर्डिङ पास इस्यू गर, हामीलाइ क्याथेले ट्रान्जिट भीसा नचाहिने' भनेको कुरा भन्यौं । अनि हामीले हाम्रै रिस्कमा लस एन्जेल्ससम्मको मात्रै वोर्डिङ पास देऊ भन्यौं । तर उसले पुनः कम्प्युटरमा चेक गर्दा त्यसपछिको फ्लाइटमा सिट सबै बुक भइसकेको बतायो । अनि त्यसपछिको फ्लाइट भोलिपल्ट बिहान मात्रै भएको र त्यसमा सिट उपलब्ध भएको उसले बतायो । यस बीचमा निराशाको उच्चत्तम बिन्दुमा पुगिसकेको मैले फेरि क्याथेलाई लस एन्जेल्समा फोन गरेँ । तर उताबाट जवाफ आयो "भोलिको प्लेनमा सिट छैन |" अझ त्यो भन्दा निराशाजनक त 'एक हप्ताभरी लस एन्जेल्सबाट हङकङ जाने सिट छैन' भनी उनले बताइन् । त्यसपछि हामी निरास भई घर फर्कने र भोलि ट्राभल एजेन्सीसँग कुरा गर्ने सल्लाह गरी मेरो साथीलाई राति फोन गरी 'राइड' मागें ।
भाग्यवस भोलिपल्टै उही रुटमा उस्तै समय तालिकामा टिकट मिल्यो । ट्राभल एजेन्सीको बहिनीले हाम्रो पासपोर्ट नम्बर लगायतका इन्फरमेसन कम्प्युटरमा राखिदिनुभयो । हामी फेरि मायामी गयौं । फेरि हाम्रो आइटीनरी पासपोर्ट लगायतको इन्फरमेसन राखिसकेपछि अमेरिकन एयरलाइन्सको एजेन्टले भन्यो "कम्प्युटरले हङकङ हुँदै जाने नेपालीलाई ट्रान्जिट भीसा चाहिन्छ भन्छ । तपाईंहरुको नागरिकता नेपाली छ । यहाँ यूएस ग्रीनकार्ड होल्डरलाई वोर्डिङ पास दिन हुन्छ भनेको छैन । त्यसैले म दिन सक्दिन ।" तर हामीले हिजो लस एन्जेल्ससम्मको मात्रै वोर्डिङ पास दिएकोले त्यो मात्रै भए पनि देऊ भनेर सुपरभाइजरसँग लामो कुरा गरेपछि उनीहरुले डिस्कनेक्टिङ फ्लाइट बनाएर वोर्डिङ पास इस्यू गरे । जसमा मैले तीनवटा सुटकेसको ७५ डलर तिर्नु पर्यो । जुन कनेक्टिङ फ्लाइटमा तिर्नुपर्ने थिएन ।

हामी लस एन्जेल्स आयौं । क्याथे प्यासिफिकले केही भनेन । सजिलैसँग वोर्डिङ गर्यो । हङकङ ट्रान्जिटमापनि कुनै समस्या भएन । मैले यो संस्मरण हङकङ एयरपोर्टको दस घन्टे ट्रान्जिटको कुराईमा लेख्ने अवसर पाएँ र जीवनमा एउटा ठूलो शिक्षा पनि पाएँ । त्यो शिक्षा हो- हामी नेपाली नागरिकले विश्व भ्रमण गर्दा पाउने पीडा । सच्चा राष्ट्रियता बोकेको म जस्ताले अब सजिलोसँग विश्व भ्रमण गर्ने उपाय खोज्न अन्य देशको नागरिक बनेर समस्याबाट उम्किनु भन्दा हामी नेपालीहरुले विदेश भ्रमणमा पाउने दुःखसास्ती किन पाइयो र यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने हो । यी सबै कुरा गम्भीर रुपमा मनन गर्दा हामीले दुःख पाउनुको प्रमुख कारण हाम्रो आर्थिक विपन्नता र हाम्रो गरिबीले हेपिनु हो । देशमा आर्थिक विकास र जीवन स्तर सम्पन्न भएको भए अरुले नेपाली नागरिकलाई यसरी हेप्ने थिएनन् । हाम्रो गरिबीले गर्दा धेरै युवाहरुलाई विभिन्न मुलुकमा आफ्नो लिगल स्टाटस बिना लुकिचोरी काम गर्न बाध्य बनाएको छ र हाम्रो 'नागरिकता' ब्ल्याक-लिस्टेड भएको छ । हामी जति नै मै हुँ भनेर फूर्ती गरेपनि विदेशमा हाम्रो 'नागरिकता' को स्तरको पहिचान माथिको सत्य घटनाले छर्लङ्ग्याउँछ । त्यसकारण मैले पनि भविष्यमा नेपाली नागरिकता त्यागेर समस्याबाट पन्छिनु भन्दा नेपालमै फर्केर केही गर्ने, आर्थिक रुपमा देशलाई युद्धस्तरले कसरी अगाडि बढाउन सकिन्छ भन्नेतर्फ समर्पित बन्ने र देश सेवामा लाग्ने सोच राखेको छु ।

 

 

Comments

Bidya Raj Subedi

Thank you all for sharing your thoughts and experiences. I felt sorry to hear Bhogendra Khanal\'s situation in past. It is a big pain for the travelers, especially when they have limited days in travel schedule. In near future, I plan to discuss this issue with related person of American Airlines.

Bhogendra Khanal

I an not surprised at the Idiots of american airlines. I had the exact sittuation except with a american passport going to nepal through Bairan, I was told i Needed a visa for Bairan when the travel agency said not. The airline officer refused to speak to the travel agent even though i had her on the phone. 
I finally had to fly to paris clear customs and check in again. I never needed a visa to Bairan in fact i spent a night at the hotel provided by the airlines. When will the Idiots at AA Miami 
learn the real world travel instead of looking at the computer.

Krishna Shrestha

A very sentimental positive outcome from a unnecessary boring situation.I really appreciate your final decision .Janani Janma Bumishya sworgadapi gariyasi.
Thank you for sharing such a sadden feeling which you received just being a Nepali.

पुरुशोत्तम गौतम

खुशी लाग्यो तपाईंको कमिटमेन्ट पढेर । आफ्नो देश बिर्सेंर पराया भुमिमा बिना अर्थको जीवन जिउनु भन्दा आफ्नो मुलुकको लागि जीवन अर्पित गर्नु महान कार्य हो भन्ने लाग्छ मलाई पनि । म पनि २ बर्ष नेपाली पासपोर्टको दयनियता भोगेर फर्केको हुँ । आफ्नै देशमा ज्यान फालेर लाग्ने असल बिचार ले नै म काम गरी रहेको छु । 

Dr. Hari Pandey

I am shocked to read the touching and highly sentimental but a true story from my friend Dr.Subedi.I am also highly impressed on his commitment to return back to Nepal and develop Nepal financially so that all Nepalese passport holders while travelling may not have to face such a shame situation

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |