हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

कोलोराडो घुम्न जाँदा-४,(बासु श्रेष्ठ)

एयरफोर्स एकेडेमी

अमेरिकाको सुरक्षा विभाग अन्तर्गतका जल, स्थल र वायु सैनिकको तालिम, अध्ययन अध्यापन गरिने मध्ये वायु सैनिकहरुलाई प्रशिक्षण दिईने यो एयरफोर्स एकेडेमी घुम्न जाने दाईको विचारसँग सहमत नभई रहन सकिएन । डेनभरबाट कोलोराडो स्प्रिङ्ग जाने बाटोमा पर्ने यो एयरफोर्स एकेडेमीको मूल प्रवेश व्दार लगत्तै पछि रहेको एक ठुलो चौरमा भियतनाम लडाईमा प्रयोग गरिएको हवाईजहाज प्रदर्शनीमा राखिएको रहेछ । यस विमानले कति मानिस मारेको होला हगि भन्दै त्यसको पृष्ठभुमिमा केहि फोटोहरु खिच्यौ म र दाई मिलेर । त्यहाँ अध्ययन गर्न्रे सैनिक शिक्षार्थीहरुको त्यसै दिन दिक्षान्त समारोह र राष्ट्रपति बुशको आगमनको कारणले सुरक्षा निकै कडा भएकोले अरु बढि घुम्ने आँट नगरी घरोन्मुख भईयो । बाटोमा पर्ने आउटलेट मलमा केहि भोजन र भ्रमण पछि घर पुगियो । बेलुका दाईले मेरो आगमनलाई रमाईलो र साहित्यिक साँझ बनाउने उदेश्यले स्थानिय साहित्यकार विजयराज शर्मा, भुपेन्द्र महत, प्रभा आचार्य, निर्मला अधिकारी लगायत अन्य मित्रहरुलाई निम्ता गर्नुभएको थियो । आगन्तुक कसैसँग पनि मेरो प्रत्यक्ष चिनजान थिएन । खसखस डट कममा वहाँहरुले कविता पठाएर या फोनमा कविता वाचन गरेको आधारमा स्वरीय चिनजानमात्र थियो । त्यसलाई साकार गराई दिनुभयो दाईले । आपसी चिनाजान पछि कविता सुनियो अनि सुनाईयो । वहाँहरुको साहित्य र म प्रतिको सह्दयताको राम्रो उदाहरण र सम्झना साँचेको छु मैले । रमाईलो साहित्यिक त्यो साँझ अविस्मरणीय रह्यो । पाहुनालाई खाना पकाउँदा मलाई भाउजुले भान्सामा ढिम्किन पनि दिनुभएन । म भने मेरो कारणले वहाँहरुले गर्नुभएको यस काममा केहि हात दिन चाहन्थे । यो भाउजु र बुहारी स्मृतिको म प्रतिको स्नेह र श्रद्धाको नमुना थियो । म मनमनै कृतकृत्य भईरहेको थिएँ ।

भोलिपल्ट डेनभरको डाउनटाउन घुमाउने जिम्मा लिए भाई गौरव (स्मृतिको भाई) ले । उनको आधा दिनको विदाको मौका पारेर डेनभर शहर घुमाउन लगे । आफ्नै गाडीमा गए डाउनटाउनमा पार्किंगको समस्या पर्ने भएकोले गाडीलाई पार्क एण्ड राईडमा पार्क गरि सार्वजनिक बस चढि डाउनटाउन घुम्न गइयो । त्यहाँ 'सिक्स्टिन्थ स्ट्रीट  मल' भन्ने लामो सडक र त्यसका दाँयाबाँया विभिन्न पसलहरु रहेछन् । यस सडकमा आर टि डी को बसमात्र चल्दो रहेछ र यसमा चढ्न पैसा तिर्न नपर्ने रहेछ । एकपछि अर्को गरेर आई रहने बसमा यस सडकको लम्बाईमा जहाँबाट चढेपनि हुने र जहाँ ओर्लिएपनि हुने रहेछ । यो बस दुई विपरित दिशामा चल्ने सडकको विचमा भने केहि साना साना पसलहरु मेचहरु राखिएका छन् । सडकको समानान्तर दौडिने यस किसिमको व्यवस्थाले अनौठो प्रकारको अनुभूति दिएको छ । सडकको पेटी पेटी हिँडदै जाँदा माउण्ट एभरेष्ट ईम्पोरिएम पनि देखियो जुन नेपालीव्दारा नै झण्डै दशवर्षदेखि सँचालन गरिँईदै आएको रहेछ । त्यसैगरि अझ अगाडि बढ्दै जाँदा कोलोराडोको क्यापिटल हाउसपनि देखियो तर समयाभावले भित्र भने गइएन । र मलाई घुम्न पुगेको थिएन तर भाई गौरवको काममा जानुपर्ने भएकोले अब अर्को पटकलाई भनेर फर्कियौ । फेरि बेलुका लामो समयदेखि फोनमामात्र कुरा भई रहेको मित्र अनि गीतकार ज्ञानेन्द्र गदालको निम्ता मान्न जानु थियो । म कोलोराडोमा भएको बेलामा सानो एक साहित्यिक भेटघाट गर्ने वहाँको जमर्को  अनुसार हामी ३६ माईलको यात्रा तय गरि वहाँको घरमा पुग्यौ । अचम्म त्यहाँ त साहित्यकार शैलेन्द्र साकारपनि आउनु भएको रहेछ । अनौठो र आश्चर्यजनक किसिमले वहाँसँग भेटघाट भयो । साहित्यिक साँझ त झन रमाइलो हुने भयो । कविता सुनाउन वहाँले नै शुरुवात गर्नुभयो । ज्ञानेन्द्रजीको नयाँ राष्ट्रिय गीत वहाँले आफ्नो मोबाईल फोनबाट सुनाउनु भयो भने हामी चार पाँचजनाले आआफ्नो कविता सुनायौ । रमाईलो त्यो साहित्यिक वातावरणबाट छुट्टिन या टुङ्ग्याउन मन थिएन तर भोलि बिहानै समाउनु पर्ने उडानको चिन्तामात्र होईन कि मलाई पुर्याउन आउने समेतको विचारले नचाहँदा नचाहँदै विदाकोलागी कुराको उठान गरेँ अनि भोजन मिठो भोजन गरि फर्कियौ ।

घरतर्फः

बिहान ४.३० बजे उठेर दिवस स्मृति मलाई एयरपोर्ट पुर्याउन आए । एकछिन अघि मात्र दाईले मलाई उठाउन आउनु भएको थियो । वास्तवमा म विउँझनु र वहाँले उठाउनु भएको एकैपटक परेको थियो । हामी बाहिर निस्कन तयार होउन्जेल भाउजु उठेर चिया पकाई बेगल र केरा हातमा दिँदै यो बाटोमा खाँदै जानु भनेर दिनुभयो । भाउजुको यो स्नेह र सद्भावबाट अझ कृतकृत्य बन्दै गएँ । 'धन्यवाद' बाहेक अरु केहि शब्द जुरेन र विदावारी भई एयरपोर्ट हान्नियौ । ठिक समयमा जहाजले कोलोराडोको भूमि छोड्यो । डेनभर अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको डेल्टा ८२० को यो उडान क्यानसासको दक्षिण पश्चिम, अरकान्सास राज्यको उत्तर पुर्व, अलाबामाको मध्येभाग हुँदै एटलाण्टामा भनेको समयमा भुइँ छायो । विहान ६ बजे आरोहण गरिएको ल्पेनबाट ११ बजे मात्र अवतरण गरियो । तीन घण्टाको उडानमा यसपटक चाहि दुईघण्टा नोक्सान भयो । जे होस् मेरो अर्को उडान २.२० मा मात्र भएकोले मेरोलागी एयरपोर्टमा मनग्गे समय थियो र यात्रा सस्मरण लेखनलाई निरन्तरता दिन थाले त्यहिँ एक कुना खोजेर । इण्टरनेट चाहिए किन्न पाईने, ल्यापटप या सेलफोन चार्ज गर्नुपरे ठाउँ ठाउँमा त्यसको व्यवस्था रहेछ । म पनि ल्यापटपलाई चार्ज गर्दै अति व्यस्त व्यवशायी झै कि बोर्डमा ट्याक्क ट्वाक्क हान्न थाले । कति छिटो दुई बज्न लागेछ । जहाजमा पस्दा ठिक दुई बजेको थियो । २.२० मा उडने भनेको ल्पेन तीन बजेतिर उड्छ होला भन्ने घोषणा गरे चालक दलको नाईकेले । डिसीमा मौसम असाध्य खराब छ रे । झण्डै तीनबजे ल्पेनलाई टर्मिनलबाट त छुट्यायो तर ट्याक्सीमा लगेर अर्को दुईघण्टा अड्याएर राख्यो । बल्ल पाँचबजेमात्र जहाजले एटलाण्टाको भूमि छोड्यो । डीसीमा ओर्लिँदा मौसम घमाईलो र एकदमै छ्याँग थियो । नाईकेले ढाँटेर विना काममा ढिलो गरेछ जस्तो भान भयो । एक हप्ताको रमाईलो यात्रा यो तीनघण्टाले झण्डै झण्डै खराब गर्न खोजेको थियो । तर मैलॆ त्यसो हुन दिईन । एयरपोर्टको ट्याक्सीमा बसुँजेल कोलोराडोको मीठा सम्झनाहरुमा बगीरहँदा त्यो नाथे तीनघण्टा त छोटो पो रहेछ । जे होस् छोरा समीरले लिन आएको गाडीमा बसेर घरतर्फ लाग्दापनि कोलाराडोको धँगधगी बाँकि नै थियो भनेपनि हुन्छ र यो सदा रहि नै रहनेछ ।

 


Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |