हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

हर्ष र विस्मात दुवै बोकेर म काठमाण्डौबाट फर्किएँ,(केशु बिरही)


जीवनमा गरिने सवै खाले यात्राहरुलाई त्यति महत्वका साथमा नहेरिँदा रहेछन । यस्तै लाग्छ मलाई आजभोलि । यस्ता सवै घटनाहरु महत्वपूर्ण हुदैनन । महत्वहीन हुन्छन भन्ने मेरो आशय भने पक्कै होइन । सवै कुराहरुको महत्व आ -आफ्नै ठाउँमा हुन्छ । तर ती मध्ये केहीलाई हामी बढी महत्व दिन्छौ भने केहीलाई थोरै । मेरो आशय पनि यही हो । त्यसैले त्यस्ता बढी महत्व दिएका घटनाहरुलाई आफूसंगै राख्न हामी लालायित हुन्छौ । साहित्यिक वान्कीहरुमा भर्छौ । र पस्कन्छौ । ठीक आज म पनि केही महिना अघि मात्र भएको काडमाण्डौ यात्रालाई यहाँ तपाईहरु सामु पस्कने जमर्को गर्दैछु ।
 

लामो समयपछि मात्र म यसपटक काठमाण्डौमा केही दिन बस्नेगरी आउन भ्याएँ । स्पेसटाइम दैनिकको बन्द पछि म त्यति लामो समयसम्म वस्ने गरी काठमाण्डौ आउन भ्याएकै थिइन । जहिले पनि हत्तारोले नछोड्ने । कहिले जागीरको हत्तारो त कहिले समाज सेवाको । यस्तो हत्तारोले छाड्दै नछाड्ने । झन त्यसमा घरब्यवहारको हत्तारो पनि मिसिए पछि त कुरै छाडौ ।  

आज आयो एक दिन वस्यो । भोली वा पर्सि त फर्किहाल्यो । बस्छु भनेर पनि बस्न नपाइने वाध्यता कस्तो लाग्छ काठमाण्डौसंग घनिष्ठता नहुनुमा यी वाध्यताहरुको पनि केही हात छ । अझ ठूलै हात छ भन्दा पनि फरक नपर्ला । मलाई त यस्तै लाग्छ । यही कारणले गर्दा मेरो काठमाण्डौसंग त्यति घनिष्ठता हुन सकेको हो । यसरी भन्दा पनि गलत नहोला । म आफै काठमाण्डौसंग घनिष्ठ बन्नै चाहिनछु क्यारे । अर्थात काठमाण्डौको धुलो धुँवा धुम्रपान र कोलाहलले मलाई कहिलै लोभ्याउन सकेन क्यारे ।  

काठमाण्डौको धुलो पनि कति खाल खाल्को । महङ्गीको धुलो । राजनीतिको धुलो । अझ खुलेर भन्दा खोक्रो आडक्बरको धुलो । यो धुलो भने चुरोट तथा फ्याक्ट्रीहरुले फालेको धुलो वा धुँवा भन्दा पनि सयौ गुना हानिकारक हुँदो रहेछ । सुनेको छु शहरका मानिसहरु ज्यादै व्यस्त हुन्छन रे । एक छिन पनि समय नमिल्ने । गाउँबाट कोही आफन्त भेट्न आउँदा पनि उनीहरु भेट दिन सक्दैनन रे । अरु त के कुरा आफ्नै बाबु आउदा पनि भेट्ने समय हुन्न भने पछि अव के लाग्छ र । हुन सक्छ त्यो उनीहरुको वाध्यता हो । नत्र काठमाण्डौको महङ्गीको धुलोबाट कहाँ वच्न सकिन्छ र  मुखमा माड पनि लगाउनै पर्यो । त्यसै मुखमा आएर नपस्ने । परिवार पनि धान्नै पर्यो । छोराछोरीलाई पढाउनै पर्यो । नभाको फुस्रो आडम्बर पनि देखाउनै पर्यो । वावा ! आडम्बर पनि कति हुन कति । अनि त्यो सहरको आडम्बरलाई धान्नलाई के ठेका नै लिए जस्तो । त्यसैले म शहर प्रति त्यति झुकाव पनि वढाउदिन ।  

हुन त म जस्ता धेरै मानिस होलान । जसले काठमाण्डौलाई नचाहेर पनि स्वीकार्नु परेको होस । बाध्य र विवश भएर अर्थात निरिह भएर आफूलाई काठमाण्डौ बासी बनाएका वा चिनाएका होलान । खयर छाडौ यी कुरा । त्यो उनीहरुकै जिम्मा लगाऔ । नदुखेको टाउको किन दुखाउने । फेरि टाउको दुख्यो भने औषधी नै कहाँ पाहिन्छ र  अस्पताल छन डक्टर छैनन । डक्टर छन औषधी छैनन । यस्तै छ मेरो देशको नियती ।  नयाँ नेपालको लागि यो कुनै नयाँ कथा होइन ।  

भानुभक्तले उल्लेख गरेको कान्तिपुरी नगरी अर्थात हाम्रो राजधानी काठमाण्डौमा म केही महिना अघि छिरे । वर्षमासको महिना थियो । एक हप्ता जतिको योजना वनाएर त्यहा पुगे पनि गाडीको धङ्धङीले नै दुई दिन त त्यसै खाइदिइसकेको थियो । मसंग अव जम्मा पाँच दिनको मात्र समय वाँकी थियो । लामो समय लगाएर योजना बनाएर म त्यहाँ पुगेको थिएँ । धोको पुग्ने गरी काठमाण्डौ घुम्ने रहर पालेको थिएँ । लामो समय पछि डा. खगेन्द्रप्रसाद लुईटेललाई तेह्रथुम पुग्दा मन प्रफुल्ल भए जस्तो मलाई भने त्यस्तो केही भएन । त्यहाँ उनलाई प्रकृतिले स्वागत गरे झैं मलाई पनि त्यहा स्वागत गर्नेहरु थुप्रै थिए । धुलो, धुवाँ कोलाहल तथा दुर्गन्ध आदि आदि लाममा थिए । दुर्गन्धले काठमाण्डौको नाका पस्ने वितिकै स्वागत गरिरहेको थियो भने वसबाट ओर्लन नपाउदै फूलमाला लिएर कोलाहाल वसिरहेको थियो ।  

काठमाण्डौ गएर गर्नुपर्ने मेरा कामहरुको गतिलै पोको थियो । म ती पोकोलाई फुकाउन प्रयासरत थिए वसपार्क नजिकैको एउटा गेष्टहाउसमा वसेर । योजना आयोगले वर्षौँ लगाएर तयार पारे झैँ मैले पनि चार्टबाट एउटा एउटा गर्दै ती योजनाहरुलाई बाहिर निकाले । महत्वलाई ध्यानमा राख्दै मैले अलग अलग गरेर पुरा गर्ने समय सिमा पनि तोके । समय सीमा रहयो पुरा पाँच दिन । पहिलो किनमेल । दोश्रो पशुपतीनाथ मन्दिरको दर्शन । तेश्रो साहित्यिक भेटघाट | चौथो केन्द्रीय पुस्तकालयमा पुस्तक दर्ता गर्ने आदि आदि ।  

तोकिए वमोजिम ती योजनाहरु समय सिमामा पुरा हुने हुन कि होइनन । ती अज्ञात थिए । अर्थात भूमिगत जस्तै ।  

पहिलो दोश्रो र दिनको निर्धारित कामलाई सिध्याएर तेश्रो दिनको योजनाको चार्ट लिएर म डेराबाट बाहिरिएँ । विचार थियो तेश्रोसंगै चौथो योजनालाई पनि समापन गर्ने । राजधानीमा रहेका केही साहित्यिक नातेदारहरुलाई भेटघाट गरेर आफूले संचालन गरेको अनलाइन अभियान गजल सम्बन्धी बहसको बारेमा जानकारी गराउने उद्धेश्यका साथ आफ्ना पोका पन्तुरालाई कोठामै राखेर म गंगवुस्थित भाडाको कोठाबाट बाहिर निस्किएको थिएँ । नयाँ वसपार्क पुगे एउटा ट्याक्सी समातेर । म भेटघाटलाई कताबाट अगाडि वढाउदा बेस होला भनेर सोचिराखेको थिएँ । त्यसैवेला मेरो मोवाइलको घण्टी वज्यो । सायद घनेन्द्रको होला भन्ठानेको थिएँ । तर होइन रहेछ । मैले अघिल्लै दिन देखि नै उनलाई भेट्न चाहिरहेको थिएँ । त्यसैले पनि सायद घनेन्द्रले नै गरेछन जस्तो लोगेको थियो । यदि घनेन्द्रले गरेको भए पहिला उनीसंग भेट गर्नु पर्यो अनि मात्र वाँकी यात्रा तय गर्ने सुरमा थिएँ । तर फोन त वेलवारी घर भई हाल बल्खुमा डेरा लिएर किर्तिपुरमा अध्ययन गरिरहेका भाइ सुन्दर भट्टको पो रहेछ ।  

घनेन्द्र ज्यादै व्यस्त मान्छे रहेछन । दुई तीन पटक प्रयास गर्दा पनि म भेट्न सफल हुन सकिएन । हुन त हाम्रो यस भन्दा पहिला भेट भएको पनि थिएन । काठमाण्डौ छिरे पछि गजलमा जमेरै लागेका छन रे भन्ने सुनेको थिएँ । साच्चै रहेछ । केही साल अघि मैले पत्र पनि पठाएकै हुँ । पाए पाएनन त्यो म भन्न सक्दिन । पत्रका साथमा मैले मेरो गजल सङ्ग्रहपनि वुकपोष्ट गरेर पठाइदिएको थिएँ । अनाममण्डलीको नाममा । नेपाली हुलाक सेवाको के कुरा गर्नु । कुरा गर्यो कुरैको दुःख भने भैँ । वुबा विरामी हुनुहुन्छ औषधी गर्न आउनु होला भनेर गाउँबाट श्रीमतीले पठाएको पत्र बुबा मरिओरी तेह्रदिने पनि वित्छ । मासिका पछि छोरो औषधी लिएर टुप्लुक्कै पुगे झैँ । त्यसैले म हुलाकको त्यति विस्वास नै गर्दिन । पत्र पठाउनु परे इमेल जिन्दावाद । सायद त्यही कारणले मेरो पत्र नपाएको पनि हुन सक्छ । मैले त्यही निस्कर्ष निकाले । म गल्ती पनि हुन सक्छु ।   

प्रसङ्ग वदलौ । सुन्दर भाइले 'दाइ म अहिले डेरामै छु आउनुहोस न भेटघाट गरौ' भने पछि घनेन्द्रसंगको भेटलाई अधुरै राखेर म बसपार्कबाट बल्खुसम्मको यात्राकालागि निस्किएँ । उनको डेरा कहाँ छ भन्ने कुरा मलाई थाहा थिएन । त्यसैले भाइ म आइहालें तपाई वाहिर सडकमा निस्कनु होस है भनें । नभन्दै उनी बल्खुमा मलाई पर्खिरहेका रहेछन । उनको डेरा पनि त्यति टाढा रहेनछ । नजिकै पाँच दश मिनेट जति समय लाग्यो । सुन्दरले नाम झैँ कोठा पनि सुन्दर ठाउँमा छानेका रहेछन । चारैतिर हरियाली धुलो र धुम्रपानबाट टाढै । सिर्जनशीलतालाई प्रश्रय दिने खाल्कै कोटेरो रहेछ । उनी पनि कोलाहललाई त्यति मन पराउदा रहेनछन । त्यस बिहान भाइकैमा खाना खाइयो । कुराकानी कै शिलसिलामा उनले भने- 'दाइ कृष्णहरि बरालको घर यहि बल्खुमै पर्छ भेटेर जानुभए वेश हुन्छ ।' मलाई उनको कुरा मुनासिव लाग्यो । आजको भेटघाटको उद्घाटन दाइबाटै गर्नु पर्यो भन्ठाने । उनी संग दाइको फोन नं. पनि रहेछ । मैले तुरुन्तै फोन सम्पर्क गरिहले । दाइ घरमै हुनुहुँदो रहेछ । उहाँले पनि अति सहजताका साथ भेटेरै गफ गरौन त भाइ भन्नु भयो । घर आइपुग्ने बाटो पनि भनिदिनु भयो । तर सु्न्दर भाइलाई बाटो थाहा रहेछ । पुग्नलाई कुनै समस्या परेन । छोटो समयमै दाइसंग धेरै कुराकानी हुन भ्याए । मैले दाइलाई आफ्नो अभियानका साथै मेरा केही गजल पनि सुनाउन भ्याएँ । हामी वीच कुराकानी हुँदा हुदै भुवन सुवेदी मेरा पुरानो साथी एकजना अर्का सहकर्मीका साथमा टुप्लुक्क आइपुग्नु भयो । उज्यालो नेटवर्कको फुँदो वोकेर । त्यस पछि त झन त्यहाँ एउटा साहित्यिक गोष्ठी झैँ भयो । दाइसंग मात्र नभएर उज्यालो नेटवर्कसंग समेत साक्षत्कार भयो । त्यो वातावरणमा मिसिन पुगे गजलकार तथा संगीतकार गैरे सुरेश । झन दाइकी छोरी द्धारा गाइएको गजलले भेटघाटलाई सांगीतिक वातावरणमा परिणत गरिदियो । उनका गजलका समेटिएका शब्द तथा बिम्ब सुन्दा पछिल्लो पुस्ताको गजल प्रतिको समर्पणको वारेमा प्रष्टै हुन्थ्यो । वहिनीको श्वर पनि उतिकै मिठो रहेछ ।   

लामो समयको भलाकुसारी पछि हामी किर्तीपुर तिर उक्लियौ । मैले केन्द्रीय पुस्तकालयमा गएर त्यहाँ केही पुराना रेकर्ड हेर्नु थियो । नयाँ कृति पनि दर्ता गराउनु थियो । तर त्यहाँको दर्ता प्रणाली देखेर म त तीन छक्क परे । लथालिङ्ग भताभुङ्ग । अब्यवस्थित पनि उतिकै । ९- १० बर्ष अघि दर्ता गरेका मैले मेरै पुस्तकको पनि दर्तासुचीमा नाम पाउन सकिन । ठ्याक्कै नेपाली राजनीति जस्तो । नेपालको बर्तमान सरकार जस्तो । देशको यति ठूलो पुस्तकालयको त यस्तो हालत छ भने अरुको के हालत होला भन्ठानॆर मन अमीलो भएर आयो । पुराना कृति रेकर्ड नपाए पनि मैले मेरा पछिल्ला कृतिहरु दर्ता गराउन भने पछि परिन । त्यस पछि हामी त्यहाँबाट निस्कियौ ।  

त्यसै दिन मैले रेडियो नेपालमा पनि पस्नु पर्ने थियो । गजल गंगाका प्रस्तोता एवम् गजल सर्जक नविन दहालसंग अपरान्हमा भेट्ने पक्का पक्की भएको थियो । त्यो सवै कुरा फोनबाटै भएको भएको थियो । मैले रेडियोमा जाने भए पछि ललिजन रावल, रमेश पौडेल र नवराज लम्साल तिनै जनासंग सम्पर्क गरेको थिएँ । आफू रेडियोमा आउदै गरेको खुसुक्कै भन्न भ्याएको थिएँ । रमेश पौडेलले आफू केही दिन देखि विदामा बसेको जनाइसकेका थिए भने नवराज लम्सालसंग सम्पर्क हुनै सकेको थिएन । ललिजन दाइसंग मात्र भेट हुने पक्का भएको थियो ।  

समय अपराह्न तिरकै हुँदो हो । गर्मीको पारो पनि ह्वात्तै माथी पुगेको थियो । सागुरो बाटो अवस्थित घरहरुका कारणले काठमाण्डौको गर्मीलाई झनै बढवा दिइरहेको थियो । यस्तै गर्मी विचमा हामी कहिले गर्मी संग त कहिले गाडी संग लड्दै किर्तीपुरबाट एउटा माइक्रो बसमा चढेर सिहदरवारको यात्रा तय गर्यौ । त्यस विचमा भएको गाडीको कुरा भने नगरौ । दिक्क लाग्दो । सिट भन्दा तीन गुना वढी मान्छे कोचेर हिडाए पछि माइक्रो नभएर ट्रक भने पनि अनर्थ नलाग्ला । भैंसीलाई कोचेर हाले झैँ गरेपछि । तर के गर्ने । जसरी पनि जानै पर्ने । चेपिएर होस वा कोचिएर जसरी होस ।  

रेडियो नेपाल पुग्नु भन्दा अगावै कृषि विकास संस्थान आउने हुनाले सुन्दर भाइले सर अनिल पौडेललाई भेट्ने हो कि भने । मलाई उनको कुरा मुनासिव लाग्यो । हामी सिंहदरवारको उत्तर ढोकालाई वायाँ पार्दै नजिकबाट पैदल हिड्न थाल्यौ । त्यहाँबाट अनिल दाइको कार्यालय नजिक पर्दो रहेछ । हामी पुग्न नपाउँदै अनिल दाइ त निस्किसक्नु भएको रहेछ । हुन त हामी गेटबाट पस्दै गर्दा पश्चिम गेटतर्फ जाँदै गरेको त मैले देखेको थिएँ । आइहाल्नुहुन्छ होला भन्ने ठानेको थिएँ । तर वहाँ त छुट्टि भएर घर पो गैसक्नु भएको रहेछ । फोन सम्पर्क गरेपछि पो थाहा भयो । त्यस पछि हामी रेडियो नेपाल तर्फै हानियौ ।

अहिले कार्यक्रम रेकर्ड गरौला । आगामी हप्ता प्रसारण गरौला भन्ने नवीनजीको सल्लाह बमोजिम म अल्ली ढिलै गरेर रेडियो तिर हानिएको थिएँ । रेडियो नेपालको दक्षिण ढोका त पुगियो तर नवीनजी भेटिनु भएन । उहाँको मोवाइलमा पनि सम्पर्क हुन सकेन । रिङ् जान्छ तर उठ्दैन । अव पर्यो फसाद । त्यतिका समयलगाएर काठमाडौको धुला धुँवा खादै आइयो भेट भएन भने त नमजा हुने भयो भन्ने सोच्दै थिएँ । नभन्दै त्यस्तै भयो । त्यसैवेला मलाई झल्यास्स लालिजन दाइको संझना आयो । फोन गरेर दाइ म त बाहिर छु । नवीनजीले रेडियोमा बोलाउनु भएको थियो । उहाँको फोन उठ्दैन भनेर जनाकारी गराएँ । एकछिन पर्खनुहोस है म आइहाले भन्दै उहाँ केही मिनेटमै वाहिर आउनु भयो । रेडियोमा छिर्नलाई पहिला नै पास लिनु पर्दो रहेछ । पास विना भित्र जान नपाइने रहेछ । पास भए पनि नविनसंग होला । उनी त एउटा विशेष बैठकमा छन । तपाईलाई जानकारी गराएनन भने पछि मात्र नवीनजीको फोन नउठेको रहस्य पत्ता लाग्यो । एक मनले त रिस पनि उठ्यो । नभ्याउने भए फोन गरेर भनिदिएको भए पनि त हुन्थ्यो नि भनेर । तर अपर्झट काम आइपर्यो होला भनेर चित्त बुझाएँ । रिसलाई मनभित्रै दवाएँ ।  

त्यसपछि ललिजन दाइसंगै लामो कुराकानी भयो । एउटा पसलमा बसेर चिसो पिउदै हामीले गजलको बारेमा गफ छाँट्यौ । दाइले छोटो समयमै नेपाली गजलको बारेमा इतिवृतान्त बताउन भ्याउनु भयो ।  

विचार र लयलाई एकै साथमा लैजानु पर्छ । विचारले मात्र गजललाई माथी उठाउन सकिदैन भन्ने उहाँको यो विचार त मैले पहिलै देखि नै सुन्दै पढ्दै आएको थिएँ । झन उहाँकै मुखबाटै सुन्न पाइयो । गजलमा विचारको मात्र वकालत गर्नेहरु प्रति उहाँको ठूलो आपत्ती रहेछ । त्यस्तो प्रवृत्ति प्रति खरैभएर उत्रनु भयो ।  

अलिकति अगाडिको प्रसङ्गलाई जोड्न चाहन्छु । कॆही महिना अघिको विभोर वराल संगको भेटमा पनि मैले गजलको पछिल्लो अवस्थाको वारेमा जानकारी वटुलेको थिएँ । एउटा होटलमा वसेर गरेको कुराकानीमा विभोरले मलाई राजधानीको फष्ठाएको अलग अलग प्रबृतिको वारेमा वताएका थिए । उनले अरु पनि थुप्रै कुराहरु वताएका थिए । भेटमा मैले उनीबाट उनकै 'उड्दै गए सपनाहरु' र 'सप्रेम अर्चनाको सपना कहाँ छुन सक्छु' नामक दुई गजल सङ्ग्रह पनि कोसेली स्वरुप पाएको थिएँ । त्यस भेटमा भने मेरी अर्धाङ्गिनी सुजा शर्मा अर्थात चिन्तादेबी उप्रेती पनि साथमै थिइन । मम खाँदै हामीले गफ गरेका थियौं ।  

फेरि प्रसङ्ग जोडौ । त्यस पछि हामी पूर्व निधारित कायक्रम अनुसार पुरानो बानेश्वर तर्फ हानियौ । त्यहाँ शर्मीला दिदी पर्खिरहनु भएको थियो । शर्मीला दिदी भन्नाले शर्मीला खड्का दाहाल । सुनसरी घर भै हाल काठमाण्डौलाई कर्मथलो वनाउदै आएकी शर्मीला खड्का दाहाल । उहाँ अघि देखि नै भाइ कहाँ हुनुहुन्छ  कति खेर आइपुग्नु हुन्छ भनेर सोधिरहनु भएको थियो । दक्षिण ढोकाबाट पुनः हामी उत्तर ढोका तर्फ लाग्यौ । बाटोमा आउदै गर्दा कृष्ण धरावासी दाइको सम्झना आयो । फोन गर्दा म कार्यालयमै छु आउनुहोस न भेटेर गफ गरौला भनेकोले हामी पुनः कृषि विकास संस्थान भित्र छिर्यौ । दाइलाई उहाकै कार्यकक्षमै भेट्यौ । ख्याल ठट्टा र साहित्यिक गफ गाफ केहीवेर चल्यो । शर्मीला दिदीलाई पर्खाइराखेको र समयले पनि नेटो काटी सकेको हुनाले हामीले त्यहाँबाट जति सक्दो चाँडो निस्कनु थियो । दाइसंग फेरि भेट्ने वाचाका साथमा छुट्टियौ । केशुजी यहाँ आएपछि त केही कोसेली नलिई जान पाइदैन भनेर दाइले दराजबाट केही थान पत्रिका निकालेर दिनु भएको थियो । दाइको कोसेली च्यापेरै हामी बानेश्वर पुग्यौ । त्यहाँ पुग्दा शर्मीला दिदी अघि देखि नै पर्खिराख्नु भएको रहेछ ।  

समयको सीमालाइ सम्झदै हामीले त्यहाँ केही बेर मात्र गफ गर्न सक्यौ । शर्मिला दिदी संग मेरो लामो समय देखिको चिनजान हो । दिदी पूर्वान्चलमा हुँदा विराटनगरका केही कार्यक्रममा भेट भएको थियो । अनलाईनमा प्राय दिनहुँ जसो भेट भैरहन्थ्यो । तर त्यसरी आमने सामने भएर गफ गरेको भने त्यो पहिलो समय थियो । दिदी मैले सोचे जस्तै फरासिलो स्वभावकी हुनुहुँदो रहेछ । उतिकै मायालु पनि । छोटो समयमा पनि दिदीले आफूले भोगेको थुप्रै अनुभवहरु बताउन भ्याउनु भयो । मोफसलमा त्यसमा पनि एउटी नारी भएर आफूले भोगेको पिडा मात्र नभएर अरुको प्रगति देखिनसहने आफ्नै सहकर्मी तथा सहपाठी प्रति उहाँको आक्रोश रहेछ । आक्रोशमै भए पनि ज्यादै घत लाग्दा कुरा पनि गर्नु भयो उहाँले । हुनत दिदीले त्यस्ता प्रवृति भएका ब्यक्तिहरुलाई नामै तोकेर भन्नु भएको भए पनि म दिदी भाइ वीच भएको गोपनीयतालाई भङ्ग गर्न चाहन्न । कसैको गोपनीय कुरा खोलीदिनु यो मेरो धर्म भन्दा बाहिरको कुरा हो । यही विचारमा म अडिग रहने मान्छे म । हिड्ने वेलामा दिदीले कोसेली स्वरुप उहाँको पछिल्लो कृति 'समयको क्यानभासमा' दिनु भयो । दिदीको लघुकथा सङ्ग्रह 'संवत अफिस' भने मसंगै थियो । दिदीसंगको विदाईले मन नमिठो भएको भए पनि कोसेली तथा धेरै महत्वपूर्ण अर्तिहरु पाएर मन फुरुङ्ग पार्दै हामी त्यहाँबाट छुट्यौ ।  

त्यसवेला साँझ परिसकेको थियो । झण्डै आँखा देख्न पनि कठिन हुनेवाला भैसकेको हुँदो हो । सुन्दर भाइले वल्खु जानु थियो भने मैले गोगँवु वसपार्क । भाइलाई वल्खु जाने बसमा चढाएर म पनि आफ्नो गुँड तर्फ फर्किएँ ।  

अघिल्लो दिन भएको विक्रम तिमल्सेना संगको भेटघाट झनै यादगार थियो । उनीसंग रेडियोमा गरेको  गजल संवन्धी बहस विशेषको कार्यक्रम झनै महत्वपूर्ण रह्यो ।  

त्यस्तै ज्ञानुवाकर पौडेकहाँ जादाको त एउटा कहिल्यै नभुल्ने क्षण वनेको छ मेरो लागि । भन्न पनि लाज लाग्ने । वसपार्कबाट गौसाला हिडेको मान्छे फर्किर झण्डै वसपार्क नै आइपुग्न लागेपछि मात्र थाहा भयो । गाडीमा निदाएको निदाई भएछ । फेरि फर्किर जानु परेको थियो दाइलाई भेट्न ।  

छोटो समयमै मैले यस पटक काठमाण्डौबाट धेरै कुरा लिन सकें । हुन त यो काठमाण्डौको यात्राको वारेमा एउटा ठूलै कृति पनि जन्मिन सक्थ्यो । गजल सङ्ग्रह कविता वा तथा जे पनि हुन सक्छ । एउटा खण्ड काव्य वा महाकाव्य नै वनाउन सक्छन वनाउले त । कुन्ती जस्तो अर्को गजल काव्य नै पनि वनाउन सक्थे होलान यस्तो क्षण यदि शीव 'प्रणत'ले भेटेको भए अझ शर्मीला दिदीले त परिचयको क्यानभाषमा मिलनको क्यानभाषमा र विदाईको क्यानभासमा जस्ता कथा समेटिएको एउटा कथोपन्यास पनि तयार गर्न सक्नु हुन्थ्यो होला । तर मैले भने यस ती घटनालाई यही एउटा संस्मरणमा मात्र अटाउन सकें ।  

समग्रमा भन्दा यसपटकको काठमाण्डौको यात्रा अवस्मिरणीय वन्यो । भलै त्यहाँ रहेका अन्य अग्रज तथा समकालीन स्रष्टाहरुसंग भेटेर गफ गर्ने आफ्नो अभियानको वारेमा वताउने रहर भने अपुरै रहे पनि । फोन सम्पर्क गरेरै भेट हुने भनिएका धुर्व मधिकर्मी, रामगोपाल आशुतोष, दीपक कथित, रमेश पौडेल, हेम भण्डारी, घनेन्द्र ओझा, एकादेशको गगनराज र गरिमा सम्मान थाप्न वेलवारीबाट काठमाण्डौ आएकी रेखा सुवेदी र इरान राई सेवक लगायतकासंग भेट नभए पनि । समग्रमा भन्दा फलदायी नै रह्यो यो यात्रा मेरो लागि । हर्ष र विस्मत दुवै हाता लागॆ भन्दा पनि वेठीक नहोला । यसरी म हर्ष र विस्मात दुवै बोकेर म काठमाण्डौबाट फर्किएँ ।  

 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |