हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

हेल्सेको रेडियो,(युवराज नयाँघरे)


टाइम्स स्क्वाएरमा बसिरहन पाइएन ।

'आज रातभरिमा तीन-चार कार्यक्रम नबनाई भएकै छैन !' सहदेवले भने ।

न्युयोर्कको मुटु टाइम्स स्क्वाएर । साँझ सकिएर रात ओर्लिएको छ । हुलका हुल मान्छेको घचारो । खास गरी एशियाली अनुहारको भीड भेटिरहेछु म बग्रेल्ती ।

अग्ला आलिशान घरहरु । सडकको झिलिमिली चौपट्टै । म अनुहार झलमल्ल बाल्दै मनका उत्तर दिइरहेछु आँखाले पढ्दै ।

मे महिनाको सुरुको साता । एकदमै मीठो मौसम छ । जाडो भाग्न खोजेको उज्यालो कालबेला । हिउँ नपर्ने हार्दिक याम छ न्युयोर्कमा । हामी उत्तरतिर पाइला सार्दैछौँ ।

छयालिस स्ट्रीट पुग्यौँ । कारका लस्कर छन् आँखाले नभ्याउने । मान्छेको हुल झन् उत्पातको छ छ ।

भाइलाई फुर्सद कम छ । उनी न्युयोर्कको नेपाली समाजलाई एक बनाउन खटिरहेका छन् । उनी अर्थात् सहदेव पौडेल

अनलाइन रेडियो 'हिमाली स्वरहरु' अमेरिकामा प्रसिद्ध छ यो । धेरै वर्ष भो यसले अमेरिकाली समाजमा नेपाली भावना सोच र परिचयका लागि समय खर्चेको ।

'यति ब्यस्त ठाउँमा कसरी मिलाउनु हुन्छ चाँजोपाँजो? ' मेरो सोधपुछ ।

'एकलो छु । धेरै कमाउने चाहना छैन । आठ घन्टा काम गर्छु ।'

'अनि यति कमाइले पुग्छ त ?'

'पुर्याउनु पर्छ । कम सुत्छु । अनि रेडियो बचाउन सकेको छु !'

'धन्य छ भाइ !'

निकै हिँडेपछि बन्द हुन तमतयार भएको सब वे भित्र पस्यौँ हामी । त्यहाँ ओखलढुङ्गाका टङ्क खड्का र बैतडीका राजेन्द्र भट्टसँग भेट भयो मेरो ।

मित्रहरुले बाह् इन्च लामो पाउरोटीमा मासु, सागपात, अनेक मसला र काँक्रा-गाजर कोचेर टुन्न फुलाएको 'सब हातमा थमाए ।

'दाइलाई न्युयोर्कको चौरासी व्यन्जन यही हो !' भट्टले मलाई मान गरे ।

खड्काले अमेरिकन डाइट मलाई थमाउँदै भने-'ओपसानी हाल्न यै जल प्रयोग गर्नु होला !'

अनि हामी सबै उही र उस्तै परिकारको स्वादमा रमाउँदै प्राइम पार्क पुग्यौँ । न्युयोर्कको सुन्दरता झन् उत्ताउलिएको थियो न्युयोर्कको बैँस झन् आलोकमय थियो न्युयोर्कको यौवन झन् आसक्तिपूर्ण थियो । मानिस मौसम र मन उस्तै लाग्थे, उही लाग्थे र उनै लाग्थे ।

स्नेही थिए सहदेव । आदर, प्रेम र श्रद्धा गर्न तिनी तत्पर भए झैँ मैले ठानेँ । शिष्टता र सरलता तिनको अमेरिकी समाजले दिएको उपहार झैँ व्यवहार थियो । हिँडिरहेका थियौँ हामी ।

जाडो लुगलुगाउँदो थियो । तैपनि अमेरिकाली गोरी युवतीका पिडुँला ह्वाङ्गै थिए । जाडो दाँत कटकटाउँदै थियो । तैपनि अफ्रिकाली अश्वेत सुन्दरीका बज्राँठ तिघ्रा उदाङ्गै थिए । हो, तिनका कान, कपाल र टाउकामा स्कार्फ, टोपी र रुमालको सजधज चैँ घटेको थिएन ।

टाइम्स स्क्वाएर छोडेको धेरै पर हो तैपनि त्यसको स्पर्शले छोडेको होइन । शायद सबै अमेरिकी शहरको परिचय त्यही हो ।

'भाइ बहाना त विद्याआर्जन नै होला नि अमेरिका भित्रिने ' भट्टलाई मेरो प्रश्न ।

'हो त्यही बाटो भएर अमेरिका आइयो । अहिले त्यो लक्ष्य कता पुग्यो, यतिखेर चैँ हातमा काम मात्र छ ।' उनको उत्तर सुनेँ ।

प्राइम पार्कमा एक सरो डुलियो ।

जिउ हल्लाई हल्लाई गफ गरिरहेको अश्वेतहरुको ठूलो हुल थियो ।

'यी ओबामालाई ज्यान दिने कुरा गर्दैछन् !'

'भनेपछि राजनीतिमा पोल्टिक्स्…………।!' मेरो उत्तर अन्तिम थियो त्यसले सबैलाई हँसायो ।

भट्ट छुटे । हामीले 'भी' मेट्रो चढ्न केही समय कुर्यौँ । भीड एकदम थियो । तैपनि रेल छोडेनौँ हामी तीनले ।

'याँ निकै नेपालीहरुको अनुहार भेटिन्छ । भेट्नु भएन ? ' टङ्कले भर्याङ झर्दा भने मलाई ।

'त्यस्तै लाग्दैछ मलाई !'

मैले कालो कपाल नेपाली वर्णका पहाडे जनजातिका रुपरङ्ग हिस्पानिकहरुको झुण्ड खुब देखिरहेथेँ । अझ रुपौला नारीको सङ्ख्या झन् उल्काको । हन के बिदी राम्रा यी !

'एल' रेल चढ्यौँ हामी ।

भारतीय, हिस्पानिक, कोरियाली र अश्वेत अनुहारका युवायुवतीको रौस उल्कापातको थियो मेट्रोमा । युवकका बलिष्ठ छातीमा आफ्ना सुडौल शरीर लिपिस्सै टाँसेर नाँचिरहेका हिस्पानिकहरु 'अमिगो' 'अमिगा' बोल्न पनि भ्याउँथे ।

न्युयोर्कमा रेलका सुरुङ त कति हो कति ! रेलको भूमिगत जालोले सारा न्युयोर्क मुस्कुराएको लाग्छ सगर्व । सारा न्युयोर्कको गर्भ त रेलैले भरिभराउ !

'भाइ, हिमाली स्वरहरुलाई खुराक कसरी जुटाउनु हुन्छ ?' मेट्रोबाट हेल्सेमा उत्रिएपछि मैले प्रश्न राखेँ ।

गहिरिएको छ रात । जाडो छ त्यही अनुसारकै ।

मेट्रो कार्ड घोटेर बाहिर आएपछि भाइ बोले 'इमेल बाहेक विकल्प छैन !'

'भनेपछि सबथोक यै भाँडो हो '

मैले खड्काले बोकेको ल्यापटप देखाएँ । उनी त्यसकै सहायताले ज्योतिषीको काम चिनाटिपनको काम गर्थे । भाग्य हेर्ने र ग्रहशान्तिको फुकफाक गर्थे खड्का । यसो मोडमा हामीले सोडा घुड्कायौँ ।

पश्चिम-दक्षिणतिरको रिजबुड ठाउँ रहेको सहदेवले सुनाए ।

'यहाँ नेपालीहरुको ठूलो उपस्थिति छ ।'

'सङ्ख्या कति छ '

'तीन-चार हजारको हुनुपर्छ !'

'ए !'

'यहाँ नेपाली मन्दिर बनाउने हाम्रो समाजको कुरा भइरहेछ ।'

'राम्रो !'

'हिमाली स्वरहरु मार्फत् मैले पनि सघाइरा'छु !'

पुरानो टोलजस्तो हेल्सेमा हामी पुग्छौँ ।

रातको एघार बज्यो-घर पस्दा । मधुरो बत्तीमुनि हिमाली स्वरहरुका निम्ति मेरा दुईवटा निबन्ध सहदेवले रेकर्ड गरे मेरै आवाजमा । बाँधिएका हात र भोटेताल्चा एकादेशमा हाम्रा अनुहार रेकर्ड गरियो अनलाइन रेडियोकालागि ।

न्युयोर्कको यो मध्य शहरको मध्य रात ।

संसारका सबै जातजाति दगुरिरहेको यो शहर । संसारका सबै मानिसले सम्भवतः नाम सुनेको यो शहर । संसारका सबै मानिसले आत्मविभोरसाथ हेरेको यो शहर । संसारका सबै मान्छेका खुट्टाले टेक्न चाहेको यो शहर ।

यस शहरमा निबन्ध वाचन गरिरहेको छु म ।

सहदेव भाइ नेपाली शब्दको प्रचारमा छन् । नेपाली भाव प्रसारमा अहोरात्र लागिपरेका छन् । नेपाली समाजको उकाली ओह्राली बिस्तार गर्न खटेका छन् । त्यस महानगरका अभावमा डलरको जोहोभन्दा पहिचानको प्राप्तिका निम्ति समर्पित छन् निरन्तर ।

'भाइ रेडियोको अझै भविष्य छ र ?' रातोदिन कुदिरहेका न्युयोर्कबासी सम्झेर मैले सोधेँ ।

'दाइ मानिसहरु बिस्तारै फर्किरहेका छन् यसको मूल्यतिर !'

उनको आशपूर्ण बोलीमा प्रतिबद्धता थियो ।

हामीले तातो कफी घुट्कायौँ ।

यस बीचमा पुलिस र दमकलको भ्यान चर्को आवाज ओकलेर गए । हामी एक छिन थामियौँ रेकर्डलाई बाधा परेको ठानी ।

भाइसँग केही दिन अघिदेखि सँगै छु म । पेन्सिलभेनियादेखि  भर्जिनियासम्म । फेरि वासिङ्टन डिसीदेखि न्युयोर्कसम्म साथै रहेको थिएँ म ।

निकै लामो त्यस उत्तेजित भावुक र अनुभूतिमय यात्रामा तिनले बढी प्रश्नहरु गरे साहित्यबारे । सङ्गीतबारे जिज्ञासु देखिए । गीतबारे उत्तर खोजे ।  नयाँ पुस्तक र लेखक सँधै तिनको केरकारमा पर्दा रहेछन् ।

'मैले देश छोडेकोमा दुःखी छैन । यसै रेडियोले देशभित्र रहेको आडभरोसा मलाई सँधै दिलाउँछ बुझ्नुभो दाइ !'

सहदेवले ल्यापटपमा रहेको हिमाली स्वरहरुको इमेल आइडीको पासवर्ड लगआउट गर्दै भने ।

न्युयोर्कको रात अझ मात्तिएको थियो । यो शहर नथाकेको देखेर म आफैँ गलेको थिएँ । उसको तरुन्याइँ देखेर उकुसमुकुस भएथ्यो मलाई । ओछ्यानमा भए नि मन पुगेथ्यो धेरै पर-पर ।

न्युयोर्कमा भावुक कवि भएँ म !

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |