हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मान्छेको सहरमा जनावरको बजार,(कृष्ण प्रसाईँ)

हङकङ्गे ट्याक्सी चालकको कुरा सुनेर पहिलो गाँसमै ढुङ्गा लागेझैँ भयो मलाई । 'नजाने गाँउको बाटै नसोध्नु' भन्छन् तर बेला न कुबेला पारेर हङकङबाट चीनको सेन्जेन सहर जाने बस चढ्नका लागि हामी दम्पती सवार ट्याक्सीको चालकले सोधिहाल्यो । कति प्रश्नहरु नसोधिदिए पनि हुन्थ्यो जस्तो लाग्ने खालका हुन्छन् तर सोध्नेहरुले पर्खिरहँदैनन् सोधी त हाल्छन् । त्यसमा पनि विदेशमा रहँदा आफ्नो  राष्ट्रलाई आघात पर्ने वा आफ्नो राष्ट्रियतालाई असरपर्ने खालका कुराले त झन बढी नै छुन्छ । केहि क्षण अघिमात्रै आफ्नो राहदानी देखाउँदा नेपाल भन्ने कहाँ पर्छ भन्ने चिनियाँ अध्यागमन विभागको कर्मचारी र बिहान यात्रागर्दा भेटिएको जिज्ञासु ट्याक्सीचालकमा आकासपातालको फरक थियो । 'देश गुणाको भेष टाउको गुणाको केश' भनेझैँ अध्यागमन जस्तो अन्तराष्ट्रिय चासो र महत्व राख्ने कार्यालयको कर्मचारी त्यसमा पनि आफ्नै देशको दक्षिणतिर सिरानी हालेर सुतेको छिमेकी मुलुकको नाम नसुन्नु उस्का लागि जति कठीन थियो मेरा लागि त्यति नै दुर्भाग्य र हास्यास्पद थियो । अध्यागमन कर्मचारीले नजानेरै नेपाल भन्ने देश चिन्न अनभिज्ञता गरेको देख्दा त्यही देशको राहदानी बोकेर यात्रा गर्ने जुनसुकै मनुवालाई उदेक लाग्नु अस्वाभाविक थिएन ।

'भदौको घाम र माइतीको बचन सहिनसक्नु हुन्छ' भनेजस्तै कटु थियो मेरा लागि उसको बोली । मसँग ऊ पक्कै पनि जिस्किरहेको थिएन किनभने मर्यादित ठाउँमा बसेकाले नियमकानूनको पूर्णपालना नै गरिरहेको हुनुपर्छ उसले । तर मलाई उसको सांसारिक ज्ञानदेखि दया लागेर आयो । छेउकै छिमेकीले आफूलाई चिन्नमा अस्वीकार गर्नुको पीडा कम विस्मयकारी थिएन । तर म गर्न नै के सक्थेँ र ? उसले आफूभन्दा माथिको हाकिमलाई सोध्यो नेपालको कुनै अस्तित्व छ÷छैन भनेर,  मेरो राहदानी नै लगेर उसलाई देखायो यद्यपि म कैयौँ पटक त्यही बाटो भएर चीन पसिसकेको थिएँ र राहदानीले पनि प्रमाणको रुपमा त्यही भनिरहेको थियो । मैले यो दृश्य एकटक भएर हेरिरहेको थिएँ । राहदानी हेरिसकेपछि उसको हाकिमले हाँसेर उसलाई केही भन्यो । हाकिमले उसलाई गिल्ला गरेजस्तो ठानेँ मैले । त्यसपछि मात्र उसले मेरो राहदानीमा अध्यागमन छाप लगाएर चीनभित्र जाने प्रवेश अनुमति दियो । मैले भोग्दै गरेको चीन र अलिपरको हङकङ मानचित्र र सामान्य ज्ञानको हिसाबमा पनि आकास पातालकै फरकमा भएजस्तो मलाई लाग्यो । यसको प्रत्यक्ष प्रमाण बिहान पारिपट्टिको हङकङमा भेटेको ट्याक्सी चालक नै थियो । जसले एकाबिहानै पानीसमेत नपिएको मुखलाई बाध्यात्मक बोली बोल्न कर लगाएको थियो । राज परिवारको हत्या काण्डको बारेमा ठ्याक्कै उसैले भनेजस्तै गरी कसरी उत्तर दिनु मैले तर अन्तिम उसको प्रश्न चाँहि मनलाई नै तरङ्गीत पार्ने खालको थियो । ऊ भनिरहेको थियो "विष्णुको अवतार मानिने दैवीशक्ति भएका राजा कसरी मानव शक्तिबाट हठात् मारिए ?"

दरवार हत्याकाण्डको धङ्धङी नगएकै भाषाको उसको प्रश्नको उत्तर मसँग थिएन । त्यसैले मैले उसको प्रश्नलाई ऊ आफैँतिर मोडिदिएर उल्टै प्रतिप्रश्न गरेको थिएँ "हङकङको शासकीय बागडोर चीनले लिएपछि तिमीलाई हङकङ कस्तो लागिरहेछ ?"  हल्का रुपमा मन पराएझैँ कुरा गर्यो उसले । तैपनि विकासको तीव्रतर मोडमा हिँडिरहेको चीन कुनै दिन हङकङको दाँजोमा आउने कुरामा ऊ विश्वस्त थियो । एक शासन भए पनि दुई प्रणाली गरेर चीनले हङकङे मन जितेको पनि उसको तर्क थियो । "एक देश दुई प्रणाली र दुई मुद्रा नभएको भए त शुरुमै विद्रोह हुन्थ्यो नि हामी कहाँ मान्ने थियौँ र ?"  उसले आफ्नो कुरा बिसायो । सामान्य ट्याक्सी चालक भए पनि ऊ अन्तराष्ट्रिय चासो र सामान्य ज्ञानको परिचय दिइरहेको थियो । तर मलाई थाहा थिएन ऊजस्तै ज्ञान र जिज्ञासा बोकेर हिँड्ने ट्याक्सी चालकहरु हङकङमा कति छन् भनेर । तर चीनमा भने छँदैछैनन् भन्ने अनुमान गर्न सकिन्थ्यो । यात्रानुभवबाट मैले थाहा पाइसकेको थिएँ चीन सामान्य ज्ञानमा कमजोर छ भित्रको काम गर्दागर्दै बाहिरको कुरो बुझ्ने आवश्यकता नै परेन चीनलाई । कुराकानीको क्रममै हामीले ट्याक्सीबाट उत्रने बेला आइसकेको थियो । नभन्दै हामीलाई उतारेर पैसा असुलेपछि ट्याक्सी चालक पनि अर्कैतिर बेगले बत्तियो ।

सन् २००३ अक्टोवरको ४ तारिक सेन्जेन त पुगियो अब त्यहाँबाट पनि ग्वान्जाउ जानु थियो हामीलाई । प्रति घण्टा १३० किलोमिटरको गतिमा चल्ने रेलबाट हामीले हाम्रो यात्रा तय गर्यौँ ग्वान्जाउको । ग्वाङडोङ प्रान्तको राजधानी ग्वान्जाउमा हङकङमा बोलिने क्यान्टोनी भाषा नै प्रयोगमा छ । केन्द्रीय चिनियाँ भाषा र क्यान्टोनी भाषामा भिन्नता पक्कै छ । तर सरकारी भाषाको रुपमा केन्द्रीय भाषा बोलिए पनि प्रान्तै पिच्छेका फरक भाषाहरु पनि रहेछन् चीनमा । ग्वान्जाउ सहर सेन्जेन भन्दा पुरातात्त्विक महत्व बोकेको सहर जहाँको इतिहास डा. सनायात सेनसँग पनि जोडिएको छ ।

पूर्वयोजना अनुसार सेन्जेनबाट ग्वान्जाउ टेनबाट उत्रिएर सिधै लु जिन लो मा रहेको इन्द्रजीको फल्याटमा हामी दम्पत्ती पुगिसकेका थियौँ । ग्वान्जाउ पुगेपछि हाम्रो योजना ग्वान्जाउकै एनिमल मार्केट हेर्न जाने पक्कापक्की भयो । सबै कुरा सुनेरै मैले अन्दाज लगाइसकेको थिएँ एनिमल मार्केटको बारेमा । हाम्रो आजको यात्रामा भने ग्वान्जाउमै फल्याट लिएर बसेका इन्द्र अधिकारीको जोडी र हाम्रो जोडी रहेको थियो । केहिक्षणमै हाम्रो यात्रा ट्याक्सी भएर एनिमल मार्केटमा पुगिसकेको थियो । त्यसो त एनिमल मार्केट भन्ने बित्तिकै हौसिने त्रिलोक विश्वकर्माजीले पनि हङकङबाट एस.एम.एस. गर्न थालिहालेछन् इन्द्रजीलाई । इन्द्रजीको एस.एम.एस. पाएर गुलेलीजस्तो बत्तिएर हिँडिहालेछन् त्रिलोकजी पनि ट्रेन चढ्न । खानाका असाध्यै शौखिन त्रिलोक विश्वकर्माको शालिनता र भलाद्मीपन सारै वर्णनगर्न लायकको छ । साथीभाइ भने पछि हुरुक्कै हुने त्रिलोकजी मासुका परिकार बनाउनसमेत पोख्त छन् । पाकविद्या राम्रो भएकैले उनको हङकङजस्तो ठाउँमा तीनवटा रेष्टुरेण्टहरु छन् । इन्द्रजी वहाँको पुरानो साथी भएकाले दुवैमा हँसीमजाक पनि खुबै चल्छ । अरु कसैसँग नटेर्ने इन्द्रजीलाई कँज्याउन त्रिलोकजी मात्र सफल छन् । यो मैले सन् २००१ को पहिलो हङकङ यात्राबाटै थाहा पाई सकेको थिए ।

एनिमल मार्केट निकै ठूलो भएकाले हामीले पहिलो यात्रा कुन ठाउँबाट सुरु गर्ने भन्ने सोचिरहेकै बेलामा हामी गुडिरहेको ट्याक्सीले हामीलाई सर्पहरुको बजार छेउ ल्याएर छोडिदिएकाले हामीलाई यात्रा कताबाट सुरु गर्ने भन्ने कुराको झंझटै परेन । हामीले सर्प भएतिर बाटै एनिमल मार्केटको शुभारम्भ गर्यौँ । सर्पहरुको परिकार चीनभरि नै प्रसिद्ध रहेछ । चाहे सामुद्रिक सर्पहरु हुन् वा जमिनमा बस्ने नै किन नहुन् दुवैको खानामा उत्तिकै महत्व रहेछ चीनमा । तर चीनका प्रायः बाहिर देखिने सामुद्रिक खाना (Sea food) भएका पसलहरुमा रहेको एक्युरियममा सजाएर राखिएका सर्पहरु भने सामुद्रिक सर्पहरुनै हुन् । जुन सहरै भरिका रेष्टुरेण्ट र सामुद्रिक जलचर बेच्ने पसलहरुमा छ्याप्पछ्याप्ति भेटिन्छन् । यो पनि मैले सन् २००१ को पहिलो चीन यात्राबाटै थाहा पाइसकेको थिएँ ।

ग्वान्जाउको एनिमल मार्केट चीनभरि नै प्रसिद्ध रहेछ । त्यहाँ पाइने पशुपंक्षी किटपतङ्ग जलचर र थलचर सायदै अरु कतै पाइँदो हो । निकै ठूलो ठाउँ ओगटेर रहेको एनिमल मार्केटमा सर्पहरु भएठाउँको बजार पनि निकै ठूलो रहेछ । चारैतर्फ जता हेरे पनि सर्पैसर्पको संसार । टोकरीमा. एक्युरीयममा. पानी सहितका भाँडाहरुमा र जालीलगाएका खाजरहरुमा जताततै सर्पहरु कोचिएका थिए । जुनसुकै जात वर्ग र वजनका सर्पहरु सल्बलाइ रहेका देखिन्थे । बाफ रे बाफ ! टाउकै भाउन्न हुनेगरी बिक्रीका लागि सजाइएका थिए सर्पहरु । मैले सबैभन्दा धेरै सर्पहरु कलकत्ताको चिडियाखानामा देखेको थिएँ । खानाका लागि नभएर हेर्नका लागि राखिएका ती बिषालु सर्पहरुको तुलानामा ग्वान्जाउका सर्पहरु त कति हो कति धेरै देखिन्थे । तर ग्वान्जाउमा भएका सर्पहरु बिषविहीन वा अल्पविषधारी थिए । कलकत्ताका जस्ता डस्नेबित्तिकै ठहरै पार्नेखालका बिषालु थिएनन् र तिनीहरु मान्छेको बारम्बार सम्पर्कभित्रमा थिए । बिष नभएकैले साहस हुने ग्राहकहरुले ती सर्पहरुलाई छुन सक्थे, तौलन सक्थे र सौदा गर्न सक्थे । कलकत्ते सर्पहरुलाई त्यसो गर्न कसैको हिम्मत हुँदैनथ्यो । त्यस्तै अमिल्दा सर्पहरुलाई देखेर नै हाम्रा पुर्वजहरुले 'बिषविनाको सर्प र ईखविनाको मान्छे’ काम लाग्दैन भनेर तुक्का फड्कारेका होलान् । जमिनमा पाइने सर्पहरु झैँ पानीसर्प विशेष गरी ढोडिया नामको सर्प म सानो छँदा तराईका मुख्य राजमार्गका दुवै किनारमा रहेका राजमार्ग बनाउँदा जन्मिएका पोखरीमा प्रसस्तै देखिन्थे । तर ती हिउँदको समाप्तिसँगै हराएर जान्थे । बिष नभएका ती सर्पहरुसँग कोही पनि डराएको मलाई थाहा छैन । पाटा धुने मौसम भाद्र महिनातिर छिमेकी बङ्गाल राज्य र बिहारतिरबाट आएका सनपाटको कामगर्ने मुसलमानहरुले तिनीहरुलाई हातैले समाएर गाडी कुद्ने मुख्य राजमार्गतिर मिल्काएको म झल्झल् सम्झिरहेको थिएँ । एककिलोको अधिकतम नेपाली सातसय रुपैयाँसम्ममा बिक्ने चिनियाँ सर्पहरुको तुलनामा तिनीहरुको कुनै मूल्य थिएन ।

भएजति सर्पको समुदाय हेरेर बाटो र समय छिचोलिसकेपछि हामी क्रमशः अरु जीवजन्तु हेर्दै बिस्तारै अघि बढ्यौँ । त्रिलोकजी पनि हङकङबाट अढाइ घण्टाको बाटो छिचोलेर हामी भए ठाउँमै टुप्लुक्क आइपुगे । भोजनकै लागि भनेर कालीज र दुम्सी खाने योजना अनुसार उनी त्यसैको सौदातिर जुटिपनि हाले ।
एनिमल मार्केटमा कुकुर र बाँदर पनि बेच्न राखिएका थिए । भेडा र खच्चर पनि सौदाकै लागि सजाइएका थिए । मुसा, बिराला, कुकुर र कानुनले प्रतिबन्ध नलगाएका जङ्गली जनावर माछा, कछुवा, सिपीकिरा, शङ्खेकिरा, अक्टोपस, झिँगेमाछा, गङ्गटा, बट्टाई, भंगेरा, खरायो, परेवा, ढुकुर, गाई, गोरु, भैसी, राँगा सबका सब सौदाका लागि तैनाथ थिए एनिमल मार्केटमा ।

चिनियाँहरु संसारमा भएका सबैकुरा मान्छे मात्रका लागि हुन् भन्ने मान्यतामा विश्वास राख्छन् । ज्यादै थोरै मान्छेहरु मात्र चीनमा शाकाहारी छन् । जे जति शाहाकारी छन् तिनीहरु धेरैले माछा र अण्डालाई पनि शाहाकारी कोटीमा राख्दछन् । तर अचम्म के छ भने जो शुद्ध शाहाकारी छ उसले पनि मासुसँगै पकाएको सागलाई मासुभित्रैबाट झिकेर खाने चलन छ । नेपालमा शाहाकारीले जस्तो चुलोचौका समेत छोइछिटो नगर्ने र डाडु पन्युमा लसपसै नगर्ने चलन छैन चीनमा । खानेकुराको माम्लामा कोरियाली र चीनियाँहरु निकै नजिक छन् । दुवै समुदायलाई तातो पिरो र चर्को भण्डै समान रुपले चल्छ तर जापानीहरु कोरियन र चिनियाँ भन्दा केही भिन्न छन् । उनीहरु पिरो र चर्को त्यति रुचाउँदैनन् । कुकुर र बाँदर चिनियाँको मनपर्दो खानामा पर्छ भने कोरियनहरु चाडपर्वमा कुकुर खान्छन् । तर जापानीहरु भने कुकुर र बाँदर दुवै खाँदैनन् । भेटिएसम्मका सबै थलचर खाने चिनियाँहरुले मान्छेको मासुबाहेक सबैको स्वाद लिइसकेका रहेछन् । किरा फट्याङ्ग्रा र कुनै जीवजन्तु बाँकी राखिँदैन रहेछ चीनमा । मान्छेबाहेकका अरु सबै जीवजन्तु मान्छेकै लागि बनाएका हुन् भन्ने मान्यता पालिएको रहेछ संसारको सबैभन्दा बढी मानवबस्ती रहेको देश चीनमा ।

ग्वान्जाउको एनिमल मार्केट ज्यादै थोरै मान्छेहरुले मात्र घुम्न सक्छन् । किनभने बजारमा सिङ्गो र सग्ला जनावर वा थलचर मात्र बेचिँदैनन् तिनीहरुको सोही ठाउँमा बध पनि हुन्छ । जनावर हेर्ने मात्र त ठिकै हो तर बध गरेको हेर्न भने सारै कठीन हुँदोरहेछ । बजारका भेटिए र देखिए जति ठाउँमा बध गरिँदै गरेका दृश्यहरु मात्र देखिन्छन् ।

त्रिलोकजी र इन्द्रजी बेलुका खाने परिकारका लागि कालिज र दुम्शीको बधमा जुट्नु भयो । दुम्सीकै छेउमा बध भइरहेको कुकुर देखेपछि मलाई भने दिग्मिग् लाग्यो त्यसैले जमिनाजी र सावित्रालाई लिएर म भने अन्तैतिर मोडिएँ ।

एक घण्टाको पैदल घुमाइपछि एनिमल मार्केटको अन्तिमतिर हुनुपर्छ एउटा किलामा बाँधिएको गधा घाँस खाएर उग्राइरहेको थियो । नेपालमा चौरी. जोक्पे. भेडो र खच्चर झैँ गधा पनि भारी बोक्नमै प्रयोग गरिन्छ । हामीले एनिमल मार्केटमा हेरिरहेको गधा पनि कतै भारी बोकेर थाकिसकेको गधा हुनुपर्छ । काम नलाग्ने भएपछि नै बेचिँदा हुन् यस्ता सवारी र भारवहनका सारथी गधाहरु । गधालाई बेच्न बसेको उसको कसाई मालिक छेउमै बसेर घाँस मिलाइरहेको थियो । गधालाई थाहा थिएन कसाईसँग उसको नाता । जीवनभर भारी बोकेको गधा अघिल्लो मालिकबाट बेचिएर कसाईकोमा भित्रिएको हुनुपर्छ । ऊ कसैका लागि भोजनमा अनुवाद  हुँदैथियो । मान्छेजस्तो हाँस्न नसक्ने गधा कसाईका अघिल्तिर रुनुको पनि कुनै अर्थ थिएन । किनभने गधालाई मायाँ गरेर कसाईको पनि गुजारा कसरी चल्थ्यो र देख्नमा एक अर्काको मित्रझैँ देखिने कसाईले हाम्रै अघितिर गधालाई पानी दिएर सुम्सुम्याउन थाल्यो । कसाईको नजरमा हामी गधाकै सौदा गर्न आएझैँ लागेको पनि हुनसक्छ । गधालाई सुम्सुम्याउनुका कारणहरु अरु भए पनि छेउमै रहेका हामीले भने यस्तै सोच्यौँ। तर संयोग नै भनौँ एकैक्षण पछि हामीले हेर्दाहेर्दै गधाको सौदागर्न एकजना चिनियाँ आयो र गधालाई मोलतोल गर्न थाल्यो । उसले गरेका कुरा सावित्रा र मैले नबुझे पनि क्यान्टोनी भाषा बुझ्ने जमिनाजीले बुझ्नु भयो । जमिनाजीबाटै हामीले गधाका बारेमा सबै कुरा थाहा पायौँ । नभन्दै कुरा मिलेछ ग्राहकले कसाईसँग गधाको सौदा गर्यो र आफैँ बध गर्न अन्तै कतै लिएर गयो । मैले हेर्दाहेर्दै नयाँ कसाईसँग जानुअधि गधाले एकपटक जीउ थर्थरायो र खुट्टा फड्कार्यो ।

मैले गधालाई साँझसम्म पनि सम्झिरहेँ ।

Email:krishnaprasai@yahoo.com      

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |