हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

यात्राका प्रेमिल तरङ्गहरू’ का तरङ्गमा तरङ्गिदा,(शर्मिला खड्का (दाहाल))


यात्राका शृंखलाहरूको आकार हो जिन्दगी । जगत्का रङ्गहरूसँग तादात्म्यता कायम गर्दै अघि बढ्छ जिन्दगी । घाम र जून
, आकाश र धर्ती, प्रकाश र अँध्यारो त्यसमाझ छेडिने अनन्त यात्रा हो जिन्दगी ।

नियात्राकाकार दामोदर पुडासैनी किशोरका शब्दबाट सुरु भएको नियात्रा यात्राका प्रेमिल तरङ्गका यी माथिका शब्दबाट म जहिल्यै पनि मेरो यात्रामय जीवनमा तरङ्गित भइररहेको पाउँछु । वास्तवमा नै आजको विश्वका जिन्दगीहरूलाई दिइएको जिन्दगी नै यात्राका प्रेमिल धूनहरू हुन् । प्रागकालदेखि नै मानिसहरूले यायावर जीवन बाँच्यो ।  उसले जिन्दगीलाई यात्राको जिन्दगी ठान्यो । देशदेशान्तर घुम्दै जाँदा उसले अनेकौँ नयाँकुरा सिर्जने र अनुभूत गर्ने मौका पाउँदै गयो । मानवसभ्यताको एउटा बलियो जग नै यात्रा जिन्दगी बन्न पुग्यो । त्यसैले नियात्राकार दामोदर पुडासैनी भन्छन्— ‘बिरुवाले कहिल्यै यात्रा गर्दैन । हावा, घाम, जून र नदी अनवरत यात्राकै क्रममा हुन्छन् । बिरुवा उनीहरूकै सहारामा रङ्ग फैलाउँछ र जिन्दगीको आयतन बढाउने कोसिस गर्छ । गति अँगालेर बढनेहरू सधैँ आफू चम्किन्छन्, अरूलाई पनि चम्किलो पार्दछन् । गति नहुनेहरू त ढुङ्गा हुन, केवल ढुङ्गा । वास्वतमा नै मानिसको जीवन गति हो । प्रत्येक मानिसले आफूलाई गतिसँग समायोजन गर्न सके मात्र ऊ समय अनुसार बाँच्न सक्छ नत्र ऊ ढुङ्गा बन्छ । अझ यात्रामा प्रत्येक पल गतिसँगै अघि बढनुपर्छ । गतिमा नै उनी विचार देख्छन्, रङ्ग देख्छन् लालित्य देख्छन्, विवेक देख्छन् । गतिमा उनी पौरख देख्छन् पहाड फुटाउने, चम्काउने शक्ति देख्छन् । त्यसैले उनी आफना नियात्रामा पनि पाठकलाई गतिसँगै दौडाएको दौडायै गर्छन् । कही कतै एकमिनेट विश्राम नदिई उनी पाठकलाई नियात्राभरि लखेटाका लेखेटै गर्छन् ।

विश्वलाई आज साघुरो घेरामा ल्याएर बाँधिदिएको छ विज्ञानले । समयलाई पछार्दै उही यायावर मानवले आज बैज्ञानिक चमत्कारद्वारा प्रकृतिलाई नै चुनौति दिँदै अघि बढेको छ । भूगोल र प्रकृतिका अनेकौँ रहस्यमय जानकारी खोज्दै हिँडयो मानव । त्यही रहस्यको गर्भबाट उसले अनेकौँ कुराको सिर्जना गर्दै गयो । कल्पनालाई उसले यथार्थमा परिणत गर्दै गयो । आज मानिसको मन प्रकाशभन्दा चाँडो दौडने भएको छ र ऊ पुग्न सफल पनि भइरहेको छ । त्यसैले त यो मानवविकासलाई हामी  यात्राका प्रेमिल उपहार हुन् भनी भन्न सक्छौँ ।

लाग्छ नियात्राकार दामोदर पुडासैनीको जीवन नै यात्रा हो र यात्रा  नै जीवन हो । उनी आफनो जीवनलाई यात्रामा रूपान्तरण गर्न चाहन्छन् । उनको यही अभीष्टले नै मन फुलाउने र रमाउने मनमोहक दृश्य र अनुभूतिहरूलाई मनमा मात्र नराखी शब्दको खेती गर्न रुचाउँछन् अनि सिर्जनालाई अनुभूतिले सिञ्चित गर्न चाहन्छन् ।  नेपाल सरकारको निजामति कर्मचारी आजसम्म कैयौँ कर्मचारीहरू विदेश भ्रमणमा गइसकेका होलान् तर दामोदर पुडासैनीले झै जीवनलाई यात्रामा बदल्न कतिले पो सके होलान् < अनुभूतिलाई शब्दको भण्डारमा भण्डारन गर्न कति पो सके होलान् < किन की जीवनलाई यात्रा र यात्रालाई जीवन देख्ने स्रष्टा वा द्रष्टा कति पो होलान् र < जसले जीवनमा गति छर्न जान्यो वा सक्यो ऊ मात्र जीवनमा अमूल्य बाली थन्काउन सफल भयो दामोदर पुडासैनी झै ।

धेरै समयाअघि पाश्चात्य मुलुकमा  लेखकहरूलाई पैसा दिई भ्रमण गर्न पठाइने चलन थियो । त्यहाँबाट आएपछि लेखकहहरूले त्यहाँ देखेका भोगेका कुरालाई पुस्तकमा उतार्नु पर्दथ्यो । यसबाट विभिन्न देशका सामाजिक, राजनैतिक, आर्थिक र इतिहास सम्बन्धी रहस्यमय कुराहरू थाहा हुन्थ्यो । यो सैयौँ वर्षअघि चलेको चलन नेपालमा भर्खर भित्रिएको होकी झै लाग्यो मलाई नियात्राकार दामोदर पुडासैनीको नियात्रा पढेर । हुन त उनलाई यसरी यात्रा गर्नु भनेर पठाइएको त होइन तर पनि सरकारी कोटाबाट जाँदा उनले प्रत्येक ठाउँमा बस्ने, खाने, घुम्ने सहुलियत पाउँदा कतै यात्रा गर्न नै पठाइएको हो कि भनेझै लाग्दछ  पाठकलाई । यात्रा सम्बन्धी धेरै रोचक जानकारी, घोचक घटनाहरू, यात्राका विवरण लिएर हाम्रो सामू उपस्थित भएका छन् नियात्राकार । नेपाली यात्रा साहित्यलेखनमा  तानाशर्माका  यात्रासस्मरणले विशेषस्थान पाएको अवस्थामा दामोदर पुडासैनीको यो यात्रा सस्मरणले एउटा इँटा थप्ने काम गरेको छ । 

 

वि. स. २०१९ जेठ १८ गते काठमाडौँको जितपुर मा जन्मिएका दामोदर पुडासैनी विशेषतः कविको रूपमा सुपरिचित छन् । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका उनी नेपाल सरकारको निजामति कर्मचारीका रूपमा महालेखा परिक्षकको पदमा कार्यरत छन् । उनका आफन्तका अनुहारहरू २०४९ आँखाको खोजीमा २०६२, ‘आकारको खोजीमा २०६३, ‘आलोकित आयाम २०६३, कविता सङ्ग्रहहरू प्रकाशित छन् । यसबाहेक उनका हाइकू, मुक्तक, गजल, आर्थिक लेख, कथाहरू पनि पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । झन्डै आधादर्जन कृति प्रकाशोन्मुख रहेका सिर्जनशील र बहमुखी प्रतिभाका धनी पुडासैनी लगभग आधा दर्जन संघसस्थामा संरक्षक र सल्लाहकारका रूपमा क्रियाशील छन् । त्यस्तै उनी विभिन्न  संघसस्थाद्वारा सम्मानित भइसकेका छन् । आपफ्ना व्यक्तित्त्वलाई जीवनमा विभिन्न रङ्गले रङ्गयाउन सफल नियात्राकार दामोदर पुडासैनीको नियात्रा यात्राका प्रेमिल तरङ्गहरूमा प्रवेश गर्ने अनुमति अहिले म पाठकसँग माग्दछु ।

सर्वप्रथम वरिष्ठ समालोचक डा. गोविन्दराज भट्टराई उनको कृतिको भूमिकामा यसो भन्नुहुन्छ —‘धेरै यात्रा साहित्य प्रथम दृष्टिका, छोटो भ्रमणका, प्रथम प्रभावका छन् । यो लभ एट फस्ट साइट हो, प्रथम दृष्टिमा प्रेम । गहिरो गरी बसउठ गर्दै लाँदा संस्कृतिमा भिज्दै जाँदा, इतिहासमा पस्दै जाँदा भूगोलमा डुब्दै जाँदा प्रेमहरू घृणामा परिणत हुन सक्छन् । वेवास्तामा परिणत हुन सक्छन् । त्यसैले यो न भूगोल हो, न इतिहास हो, न संस्कृति तर एउटा इम्प्रेसन एउटा कला, कलाकारको प्रथम दृष्टि र प्रभाव । यो चित्र त्यसैले गर्दा अलिकति भूगोलको रङ्ग छ केही इतिहासको केही भाषाका, धर्मको अनि प्रकृतिको । यी सबै मिसिएको अत्याधुनिक महानगरीहरूमा पसेर एक संवेदनशील नेपालीले बुझ्न खोजेको दृष्टिकोण र प्रभाव । यो त्यसमा प्रभावकारी छ । पठनीय, सुन्दर, ज्ञान र सूचनालाई अनुभूतिसँग मिसाएर राखिएको, पढौँ पढौँ लाग्ने, पढ्नै पर्ने ।

प्रत्येक सिर्जनमा यात्रासँगै विभिन्न ठाउँका अथवा अवसरका चित्रहरू समावेश भएकाले यसको प्रामाणिकता बढेको छ र यसले पाठकीय रुचि पनि बढाउनेछ ।

वास्तवमा वरिष्ठ समालोचक डा. गोविन्दराज भट्टराईले भन्नुभएझैँ यो यात्राभरी विभिन्न देशसम्बन्धी जानकारीमूलक तथ्याङ्क छ, त्यस देशको इतिहास, सस्कृति, भूगोलको ज्ञान, सामाजिक रितिथिति छ । अझ त्यससँग जोडिएर जुरमुराएको राष्ट्रियता छ । कतै एउटा कवि हदृय भावसँग बगेर  ढुनमुनाउँदै टेम्स नदीमा बगेको पाइन्छ भने कतै अग्ला गगनचुम्बी भवनहरूमा आफ्ना महत्वाकाङ्क्षा साटतै हिँडेको पाइन्छ  । यस पुस्तकलाई नियात्रा भन्ने की यात्रा सस्मरण मात्र भन्ने दोधारे परिस्थिति यहाँ समालोचकहरूलाई सिर्जना हुन सक्छ । किनभने यात्रा सस्मरण मात्र भन्दा यसमा देखाइएको साहित्यिक कलात्मकता, जीवन दर्शन समबन्धीले लेखकको भावानामा ठेस पुग्न सक्छ  भने नियात्रा भन्दा यात्राका सम्पूर्ण वृतान्तलाई एकमिनेट पनि तल माथि नपारी विवरणत्मकरूपले प्रस्तुत गरिएको हुनले लेखकत्वको अपमान हुन सक्ने अवस्था मैले देखेको छु । भाषा सरल, बोधगम्य, हुनाका साथै सम्पूर्ण कुरालाई लेखकले यहाँ ऐनाजस्तै छर्लङ्ग, पारिदिएका छन् । पढ्दै जाँदा पाठकको हातै समाएर लेखकले यात्रामा लगेका हुनकी भनेझै लाग्दछ । अर्कोतिर यसलाई डायरी वा दैनिकी पो कि भन्ने हो कि भन्ने अवस्था आउँछ । प्रत्येक यात्रास्तम्भको अन्त्यमा मिति राखिएको हुनाले यो तर्क राख्न सकिन्छ ।

अमेरिका र युरोप भनेको नेपालीको लागि सपनाको देश हो । त्यहाँ जान पाउँदा मन त्यसै हर्षित हुन स्वभाविकै हो । लेखकले पनि आफू अमेरिका र युरोप जान पाउने हुँदा मनमा अनेकौ हर्षको फूल फुदाउँदै, कल्पनाका अनुभूतिमा तरङ्गित हुन पुगेका प्रसङ्गहरू राखेका छन् । पहिलो स्तम्भ यात्रारम्भबाट आफ्नो यात्रा आरम्भ गरका छन् उनले यात्राका प्रेमिल तरङ्गहरूमा । बत्तीसवटा स्तम्भमा आफना यात्राका सम्पूर्ण यात्रानुभूतिलाई उनले खारेर उतारेका छन् ।

पहिलो यात्रास्तम्भमा उनी कसरी यात्रामा जाने कुरा मिल्यो र कोसँग तादम्यता मिल्यो भन्ने कुरा राखेका छन् । जीवन घटनैघटनाको शृङ्खला हो । जीवनमा कुन समयमा कुन घटना घटछ कसैलाई थाहा हुन्न । गर्न खोजिएको कति काम थाति रहन्छ भने कति गर्न नजुरेको कुरा जुर्न आउँछ । जीवनलाई यात्रैयात्राको शृखला देख्ने लेखक दामोदर पुडासैनीलाई अचानक यो यात्राको संयोग मिल्छ । महालेखा परिक्षकको हैसियतले उनी संयुक्त राज्य अमेरिका, संयुक्त अघिराज्य, फ्रान्स,जर्मनी,  स्विजरल्याण्ड, बेल्जियम र रसियाको भ्रमणको लागि तादम्यता मिल्दछ । मनमा हर्ष, शरीरमा तरङ्ग बोकेर घरव्यवहार, इष्टमित्रको शुभेच्छा संगालेर उनी अमेरिकाका लागि उड्छन् । उनी जीवनलाई नै गतिमय देख्छन् । त्यसैले उनी यात्राभरि पाठकलाई हातै समाएर दृश्यसँगै भावना र अनुभूतिमा दौडाइरहन्छन् । चाहे त्यो हवाइजहाजमा उडेको बेला होस् चाहे त्यो मेट्रो टेनमा चढेको बेला होस् चाहे त्यो अमेरिकाको  एम्पाएर टावरमा बसेको बेला होस् । हवाइजहाजबाट केके देखियो, कता मोडियो, कसरी मोडियो यी सब कुराको बेलिविस्तार लाउँदै पाठकलाई समाएको समायै गरेर लान्छन् । अझ विदेश भ्रमण गर्न जानेहरूको लागि यो कृति अत्यन्त उपयोगी हुनसक्छ । अमेरिकाकी जीवन र स्थानबाट अनभिज्ञ हामी कतिपय जनालाई त्यहाँको रहनसहन र व्यवहार अनौठो लाग्न सक्छ । विशेषत भ्रमणको सस्मरण लेख्ने लेखकको एउटै विशेषता मैले के पाएको छु भने उनीहरूको विदेशी रहनसहन, विकास, नीति र सुव्यवस्थित राज्यव्यवस्थाको खुलेर प्रशंसा गरेर आफनो देशसँग तुलना गर्ने प्रवत्ति पाएको छु जुन कुराबाट लेखक दामोदर पुडासैनी पनि पृथक हुन सकेका छैनन् । उनलाई पनि विदेशमा राष्ट्रियताले पोलेको पाइन्छ । पहिलो यात्रा अमेरिकाबाट हुनु र विश्वमै शक्तिशाली राष्ट्रको रूपमा अमेरिकालाई चिनिनुले होला झन्डै दसौ स्तम्भसम्म लेखकले अमेरिकी भ्रमणको व्याख्या गरेका छन् । यात्रारम्भ, ‘उ्मङ्गित आकाश र उज्यालो सहर, ‘स्वतन्त्रताकी देवी र न्युयोर्कको सेरोफेरा, ‘एम्पाएर स्टेटवरिपरि, ‘म्यानहटनका झिल्काहरू, ‘न्युयोर्कदेखि आर्लिटनसम्म, ‘उडुसआतंक र बच्चाविहीन आमा, ‘वासिगनको रङ्गमा उमङ्गित मन, ‘आखिर हामी मात्र बाँकी रह्यौँ अन्तिम साक्षी , ‘बेकीसँग खोजेको मान्छे यी दसवटै शीर्षकमा लेखकले अमेरिकी भ्रमणमा रहँदाको अनुभवहरू राखेका छन् ।

यहाँ लेखकले न्युयोर्क भ्रमणमा रहदाको भ्रमणमा स्वतन्त्रताकी देवीको भ्रमण, एम्पाएर स्टेटबाट म्यानहटन शहर देखिएको रगीविरगी क्षण, ज्याक्सन हाइटको नेपाली तथा भारतीय बजारको वर्णन गरेका छन् । उनले यहाँ अमेरिकी सस्कृति, सभ्यता र ऐतिहासिक वर्णन गरेका छन् । अमेरिकाको भौतिक विकास देखेर अनेकौ आश्चर्यमा फसेका लेखक त्यस आश्चर्यलाई शब्दमा ढालेपछि मात्र यथार्थको धरातलमा आइपुगेका हुन् कि भनेझै लाग्दछ । हुन पनि हो विश्वको महाशक्तिशाली राष्ट्र अमेरिका संचारदेखि सबै क्षेत्रमा उल्लेखनीय विकास गरेको छ अझ भनूँ कल्पना नै नगरेको सफलता हासिल पारेको छ । विश्वमा नै कहिल्यै घाम नअस्ताउने राष्ट्र वेलायतलाई उछिन्दै थोरै समयमा अमेरिकाले विश्वमा ठूलो प्रभुत्व जमाउन सफल भएको छ । विश्वको आर्थिक, राजनैतिक, सामजिक र अन्य कैयौँ क्षेत्रमा अमेरिका उल्लेखनीय भूमिका रहेको हुन्छ । न्युयोर्कको विभिन्न ऐतिहासिक स्थल, पार्क, टावरहरूको भ्रमणपछि उनी वेलायततिर लाग्छन् । बेलायतमा उनी राजकुमारी डायनाबाट प्रभावित भएका देखिन्छन् भने बकिङ्घम राजदरवार, टावर अफ लण्डनमा म्याडम तुसादको कक्षमा बनेका मैनका मूर्तिहरू र भूतघरमा पस्दाको डरलाग्दो दृश्यहरू सचित्र वर्णन गर्दछन् । वेलायतबाट जर्मनको यात्रामा उनी जर्मनको जर्मनको बर्लिन पर्खालमा पुगेर कसरी त्यहाँको वर्लिन पर्खाल खडा भयो र कसरी ढालियो भन्ने कुराको इतिहासहित पाठकलाई विचरण गराउन पुग्छन् । वास्तवमा संसारमा आस्था, विश्वास र प्रेमभन्दा ठूलो कुरा केही छैन भन्ने कुराको साक्षी बोकेर  कसरी वर्लिन पर्खालका अवशेषहरू बाँचेका छन् भन्ने कुरा यहाँ देखाइएको छ । जर्मनमा थोरै समय बसेको भए पनि उनी जर्मनको ससद भवन, युरोपा सेन्टर, भिक्ट्री एन्जल विजयकी देवी) भ्रमण गर्न भ्याउनछन् ।अझ उनी हिटलरकालीन झयालखाना पुगेको प्रसग रोचकमात्र नभई त्रासदीय पनि छ । हिटलरले कसरी, कति मानिसको नरसंहार गरे भन्ने कुरा तथ्याङ्क सहित यहाँ राखेका छन् । यहाँ उनका शब्दमा — ‘अब हिटलरकालीन झयालखाना हेरौँ है प्रसाईजी ज्यूहरू (यहुदी)माथि हिटलरबाट गरेको ज्यादतीको नमूना देखाउन चाहानुहुन्थ्यो  । गाडी प्लोटजेन्से झयालखानाअगडि उभियो । सन्१८६८ देखि १८७९ सम्ममा तयार गरिएको २५ हेक्टर क्षेत्रफलमा फैलेको सो झयालखानाका भित्ताहरू अग्ला र मोटा छन् । एउटा कोठामा मान्छेहरूलाई मृत्युदण्ड दिने निसाना र फन्दा अहिलेसम्म झुण्डिरहेकै छ । कति मान्छेको ज्यान बिलायो त्यस कोठाबाट हिटलरको ज्यादतीले । सन् १९३९ पछि हिटलरदारा युद्धमा विजित कतिपय मान्छलाई श्रमिकको रूपमा जर्मनी प¥ुयाइयो । तिनीहरूलाई चोथो समूहको रूपमा त्यस झयालखानामै राखी काम लगाइयो । अपर्याप्त खाना, औषधि उपचारको अभाव आदिले उनीहरूको शारीरिक अवस्था दयनीय भयो । नेसनल सोसलिस्ट निरकुशताको सम्झना स्वरूप सेप्टेम्बर १४, १९५२ देखि यसलाई सार्वजनिक गरियो । सन् १९३९देखि सन्१९४५ को अवधिमा यस जेलमा २८९१ जना मारिए । कैयौँ मान्छेहरूको रगतले नुहाएको, क्रन्दन र चीत्कार सुन्न बाध्य प्लोटजेन्से कारागार अहिले सुनसान छ । फाँसीका फन्दाहरू र मान्छे काट्ने अचानाहरू पश्चात्तापले निःशब्द बनेका छन् । यो वाक्याशं पढेपछि हिटलरको ज्यादती पाठकको आँखामा नाच्न पुग्छ । सम्पूर्ण तिथिमितिसहितको तथ्याङ्कले यो देखाउँछ कि लेखक यात्राअवधिभर कति गतिमय रहेछन् भन्ने । नत्र भने झन्डै महिनादिन भ्रमण अवलोकन गरिएका दृश्यहरू यसरी पाठकको आँखामा कसरी सचित्र उतार्न सक्थे र <

जर्मनपछि बेल्जियमको यात्रामा ब्रसेल्स पुग्ने तयारी गर्छन् लेखक । ब्रसेल्समा वाटरलुको द पानोरमा नामको प्रदर्शनी कक्षमा वाटरलुको युद्धको झल्को दिने श्रव्य दृश्यमा आतंकित बन्दछन् । एउटा कविता वाटरलुको कुरुक्षेत्रबाट भन्ने कविता लेख्न पुग्दछन् ।

घोडचढीहरू ढलिरहेछन्

घोडाहरू मरिरहेछन्

भत्किरहेछ पर्खाल

मान्छे मारेर जोगाइरहेछन्

ढुगा, काठ र हतियारहरू

धूँवाको मुस्लामा खाजिदैँ छ अस्तित्व

 

ब्रसेल्सबाट नेदारल्याण्डस जाँदा बाटामा देखिएका प्राकृतिक सौन्दर्यमा यहाँ लेखक रमाएको पाइन्छ । नेदारल्याण्डसलाई नै पहिले हल्याण्ड भनिन्थ्यो । बेल्जियमबाट नेदारल्याण्डस प्रवेशगर्दा कुनै जाँच नहुँदा लेखक छक्क पर्दछन् । नेदरल्याण्डस समुद्रभन्दा निकै तल भएको शहर हो । यस्तो ठाउँमा भएको शहरले यति धेरै विकास गरेको देखेर लेखक छक्क पर्दछन् । नेदरल्याण्डको विभिन्न स्थल भ्रमणको क्रममा उनी यौनबजार पुग्छन् । नेदरल्याण्डस सरकारले नै खुला यौनव्यापार नीति लिएको हुनाले यहाँको यौन बजार निकै विकसित र व्यवस्थित रहेछ । यौनसम्बन्धी विभिन्न सामान पाइने यो शहर युरोपभरि नै चर्चित मानिदो रहेछ । यहाँ यौनव्यापारसँगै अरु किसिमको विकृति जस्तै चोेरी डकैत आदिको डर हुने कुरा लेखक बताउँछन् । आम्स्टर्डबाट ब्रसेल्स फर्कदा आन्ध्रमहासागरको भँगालो सहरभित्र पसेको फेला पर्छन् लेखकले र त्यही भगालोकै पानीमाथि घरहरूको निमार्ण गरे नेदरल्याण्डसवासीले अपार्टमेन्दको रूपमा । यसरी उनले नेदरल्याण्डसको बारेमा धेरै जानकारी पाठकलाई दिन्छन् । त्यसैले पनि होला भ्रमणमा उनका साथीहरू उनलाई हामी निदाए पनि तपाईँ जागै रहनुपछै है । भनेर घचघचाइरहन्छन् ।

लेखक भन्छन् फूलको वासना वरिपरि मानिसको वासना डाँडापारि हुन पनि हो फूलको वासना वरिपरि हुन्छन् तर मानिस देशविदेश पुगेको हुन्छ । उनी यही वासना पहिलाउँदै फ्रान्स पुग्छन् । फ्रान्समा भएको सन् १९८९ को क्रान्तिको इतिहास बताउँदै पानोरमामा पुगेर फ्रान्समा भएको राजतन्त्रको अन्त्यको तुलना नेपालका राजतन्त्रसँग गर्न पुग्छन् । यहाँ उनी नेपोलियनको सालिक हेर्दै युरापेली युद्धमा उनको वीरतको प्रशंसा गाउन पुग्छन् । युरोपियन देशमा फ्रान्सलाई निकै महत्वपूर्णरूपमा हेरिन्छ । यसको प्रमुख कारण फ्रान्सको कला, साहित्य, इतिहास र यसको विकासको परमसिमा हो । फ्रान्सको लुभ्र सग्रहालयमा रहेको लियोनान्द्रो द भिन्ची द्वारा तयार गरिएको मोनालिसाको तस्विर लेखक निकै समय हेरिरहन्छन् । उनी मोनालिसको सौन्दर्यबाट लठ्ठ पदैै उनीबारे धेरै जानकारी राख्न पुग्छन् । पेरिस भ्रमणमा भर्साइ दरवार र इफेल टावरले लेखकलाई रोमाञ्चकताको पल्लो छेउ पु¥याउँछ । फ्रान्सको मनोरम दृश्यहरू सँगाल्दै लेखक पहाडी सौन्दर्यले सजिएको देश स्वीजरल्याण्ड पुग्छन् । स्वीजरल्याण्डको विषयमा लेखक यसो भन्छन्— ‘स्विटजरल्याण्ड विश्वकै सुन्दर, शान्त र शीतल देश भएकाले सारा युरोपेलीहरूको गन्तव्यस्थल बन्न पुग्यो । कहिलेकाहीँ लडाकु र योद्धाहरूलाई पनि सुरक्षित नाम धन राख्ने थलाको आवश्यकता पर्छ । धनले पुल्पलिएकाहरूलाई पनि सुरक्षित स्थानमा धन राख्ने थलाको आवश्यकता पर्दछ । युरोपका ठुलाबडा, धनाढय र शासकहरूले समझदारी कायम गरे । धन राख्ने अधोषित स्विटजरल्यान्डलाई सबैको लागि सुरक्षित, मोजमस्ती र सौन्दर्यपानको थलाको रूपमा अधोषित समझदारी कायम गरे । उनीहरूले आफूले सङ्ग्रह गरेको कालो धन स्विटजरल्यान्डका बैकहरूमा जम्मा गर्ने तारतम्य मिलाए । स्विटजरल्याण्ड प्रणाली प्रजातन्त्र,  असल शासन र प्राकृतिक छटाको सदुपयोग गर्दै अब्बल दर्जामा अघि बढिरहयो बढिरहयो ।

 स्विटजरल्याण्डपछि लेखकको अन्तिम यात्रा गन्तव्य रसिया हुनजान्छ । रसियाको भ्रमणका स्तम्भहरूमा मस्कोमा भेटिएका मनहरू, ‘खाटा बसेको घाउ, ‘चिर्किजोभ्स्कीकी रानी, ‘अन्तिम अँगालो, ‘आकाशमार्ग वरिपरिका अवशेषहरू रहेका छन् ।

   साथीभाइहरूसँगको व्यवहारिक पेचिला संवादहरूबाट उनको मस्को भ्रमणको शुभारम्भ भएको छ । लेखकले खुलारूपमा आफ्नो साथीभाइहरूको  व्यवहार, स्वभाव र प्रवृत्तिको आलोचना गर्न पछि हटेका छैनन् ।  मस्कोमा राजदूतसँगको उठबस बाट धेरै कुरा थाहा पाउँछन् लेखक । साथै रसियन नागरिक गेन्नादिको सहयोगबाट मस्को शहर मजाले घुमेको प्रसङ्ग राखेका छन् ।  मस्को शहरको रेडस्क्वायर क्षेत्र क्रेमलिन पुग्दाको रोमाञ्चक क्षणहरूलाई कुशल शब्दशिल्पद्वारा व्याख्या गरेका छन् । मस्कोलाई उनले आफ्नो शब्दमा यसरी उतारेका छन् —‘मस्को सहर साँच्चै सुरम्य र शालीन लाग्छ । हिँउमा गुलाफको रङ्ग मिसिएझँै लाग्छ मान्छेको मुहारमा । मान्छेहरू चराजस्ता लाग्छन् र फूलझै कोमल पनि ।शहरका हरेक घर र गिर्जाघर सम्पन्नताका नमूना बनेर सजिइरहेको ।

साँच्चै मस्को शहरको सुन्दरता जस्तै सुन्दरभाषा शिल्पमा उनले मस्को शहरको सौन्दर्यको वर्णन गरेका छन् हाम्रा आदि कवि भानुभक्तले कान्तिपुरको गरेझैँ । 

विश्वमा नै प्रसिद्धि कमाएका साहित्यकार लियो टाल्सटायको उनले चर्चा यहाँ उघारेका छन् । अन्य धेरै नेपाली साहित्यकारहरूसँगको भेटघाट र आपसी आत्मीय व्यवहारको कलमी हाँगा यहाँ रोपेका छन् । उनीहरूबाट पाएको न्यानो मायासँगै मनोरम भ्रमणलाई मिसाएर ककटेल बनाइ पाठकलाई मादकताले लठ्ठ बनाउने कलाकौशल मैले यहाँ पाएको छु । मस्को भ्रमणका धेरै रोमाञ्चक र अविस्मरणीय सम्झनाको कुम्लो बोकेर अब आफ्नो वासस्थान आइपुग्ने बेलामा उनी यसो भन्छन् — ‘ससारलाई फरक ढङ्गले चाख्ने र जिन्दगीलाई अलिकति भए पनि उचाइमा थप्ने काममा लाग्दालाग्दै एक महिना बितेको पत्तै भएन । आँखाहरूले धेरै इन्द्रेनी देखे, कानहरूले असख्य मूच्र्छनाहरू सुने, पाइतालाहरूले धेरै अग्लाहोचा धरातलको स्पर्श गरे, मन ब्रद्माण्डभन्दा अझ परसम्म फैल्यो । घर र देश भनेको बेग्लै कुरो  रहेछ, जति बसेपनि नअघाइने । खुसीमा लहरिएको मनमा, फर्कन् खुसी थपिएकाले सुनमाथि सुगन्धको आभास भयो ।

वास्तवमा लेखकजति घुम्दा र डुल्दा हर्षित भएका देखिन्छन् त्यो भन्दा हजारौँ गुणा ती भ्रमणका क्षण सिलसिलावद्ध गरी पाठकका सामु पस्कदा लागेको हुनुपर्छ । किनभने जीवनलाई यात्रा र यात्रालाई जीवनदेख्ने आत्माहरूले यिनै यात्राका शब्दहरूमा आफनो जीवन बाँचिरहेको देख्छन् । नियात्राकार  दामोदर पुडासैनी किशोर यस्तै धेरै यात्राहरूमा बाँचिरहुन् उनलाई मेरो धेरैभन्दा धेरै शुभकामनाका शब्दहरू अर्पित गर्न चाहन्छु ।

 

shakhadasahitya@gmail.com

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |