हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

उत्तरी इजराएलको रमाइलो घुमघाम,(दीप्स शाह)


१८ अप्रिल २०११

ओहो फेरी सनग्लास  छुटेछ! हुत्तिएर घरभित्र पसेँ, कालो ढ्याब्रे चश्मा समातेँ र एकै श्वासमा बाहिर हुत्तिएँ। घुम्घामको दिन मेरालागी सँधै हतारोको लतारो हुन्छ। अरुको नुनपानी जो खाएकोछु, आफु मात्र नभएर अन्नदाता चिपोरा जसलाई म SOD(source of dollor)  भन्छु र मेरा सबै साथिहरुलाई पनि ठिकठाक पार्नै पर्‍यो। उत्तरी इजरायलको एक असाध्यै रमणिय स्थलको केही दिने भ्रमणको योजना मुताबिक हामी तम्तयार थियौँ।

दिनको त्यस्तै ११:३० बजेको हुँदो हो हाम्रो कार बेनगुरियन बिमानस्थलको छेउबाट कफारसेवातिर बत्तियो। प्राय यात्रामा खासगरी चिपोरा र रामिको साथमा हिँड्दा कानमा एअरफोन कोचेर गीतमा मग्न हुन्छु म। कारमा बस्नासाथ यि काकी भतिजाको गफ जो सुरु हुन्छ जुन मेरो रुची र बुझाई दुबै हुँदैन त्यसैबाट भाग्नकागी। तर यसपाली त्यसो भएन। अप्रिल महिनाको इजरायली आकाश निक्कै नक्कल पारेर कतै बादलको धर्साधर्सी हल्लाउँदै कतै सफा निलो च्यादर झैँ  अनन्तता ओढेर गमक्क गम्केको थियो। कारको बेगसङै दाँयांबाया कतै हरिया कृषि जमिन त कतै रमाइला अरबी वस्तीलाई पछाडि पार्दै  मेरा आँखा कुदिरहेका थिए। सडक अत्यन्त खचाखच थियो। यहूदीहरुको प्रमुख चाड 'पेशाख' भोलीबाट सुरुहुँदैथ्यो । अलिक अगाडी दाँयातिर भिमकाय तर अलिक पुरानै लाग्ने भवन जो तारैतारको बारले घेरिएको र ठाउँठाउँमा सेन्ट्री पोस्टहरु समेत देखिनाले जेल होकी!! अनुमान गरेँ। मेरो अनुमान सही थियो। इजरायल प्यालेस्टाइन द्वन्दसमयका हजारौँ प्यालेस्टाइनी युद्द बन्दिहरु राखिएको उक्त भिमकाय बन्दिगृह सँगै पछाडि छोडिँदै गएको 'वेष्ट ब्याङ्क' यानेकी इजरायली यहूदिहरुको प्रमुख समस्या ईलाकामा आँखा बिछाउँदै गर्दा लामो समयको जनयुद्दकालिन आफ्नै नेपालको आक्रान्त अनुहार मेरो मानस पटलभरी छाइरह्यो। यिनिहरुको अन्तरदेशिय द्वन्द हाम्रो आन्तरिक द्वन्द । यिनिहरु देशकोलागी लड्छन हामी केकालागी लड्छौँ आफ्नैलागी ? मेरो सोचाइको भंगालो भुल्भुलिँदै गर्दा कारले उत्तरी इजरायलको 'हारा वादी'(हिब्रु भाषामा भ्यालीलाई वादी भनिन्छ) छिचोल्दै थियो। अगाडिको सिटमा रामी र चिपोरा अझै गफिँदै थिए। निकै पहिलेदेखी याद गर्दै थिएँ ठाउँठाउँमा ट्राफिक पुलिस तैनाथ थिए, किन ? सर्बसुलभ विद्युत् सेवा देशैभरी चौबिसै घण्टा उपलब्ध हुनेहुँदा यातायात आवागमनमा ट्राफिक बत्तिले नै अधिकांश ट्राफिक काम फत्ते गर्ने मुलुकमा सडकमा छ्याप्छ्याप्ती ट्राफिक पुलिस देखिनुभनेको केही खास हुनुहो । जिज्ञासा मेट्न चिपोरालाई सोधेँ । उनको अनुसार भोली देखिको एकहप्ते लामो चाड 'पेशाख' का कारण आजैदेखी लग्भग सबै इजरायली देशको एक भागबाट अर्को भाग, एक शहरबाट अर्को शहर ओहोरदोहोर गर्न थाल्छन्। इजरायल पर्यटक ब्यवसायको आधाभन्दा बेसी हिस्सा आन्तरिक पर्यटकले ओगटेको छ। यसो हुँदा आवागमन निक्कै भारी रहँदा कहिँपनी कुनैपनी बेला केही घटना घट्न सक्छ र आवागमन नै अवरुद्द हुनसक्छ। त्यसैले त्यसो हुन नदिन र भैहाल्यो भनेपनी समस्या समाधान तुरुन्तै गर्नलाई यसरी पूर्वतयारीका साथ ट्राफिक प्रहरी तैनाथ गरिएका हुन् रे। ओहो!! कत्रो पूर्वतयारी!!! कत्रो सजगता !!! कत्रो होसियारी!! म इर्ष्याले जलेँ अलिकति  । धादिङ्गको धार्केबाट काठ्माण्डौ जानलाग्दा नागढुङ्गामा दुईओटा ट्रक जुधेर सडक अबरुद्द हुँदा आधादिन पानी समेत पिउन नपाइ गाडीभित्रै पसिनामा नुहाउँदै झ्याप्ले खोलाको मोडमा बिताएको समयको याद झलक्क आयो, हामी कति अभागि! कति पछाडि!!! कस्तो प्रशासनिक कमजोरी ? घटना घटेको केही किलोमिटरका दुरिमा रहेको प्रहरीलाई समेत घटनाको खबर बेलैमा पुर्याउन सकिन्न या पुर्याएको अर्थ रहन्न? तुलनाको त्यस क्षण म साँच्चैनै इर्ष्याले  जलेको थिएँ, आँफैँलाई धिक्कारेको थिएँ।  मेरो मनभित्रको रुवाबासी नसकिँदै कारले 'हारा' भ्याली छिचोलेर 'इजराएली' भ्याली पसिसकेछ । ओहो! कति  बिशाल! कति  सुन्दर र अनन्त हरियाली यो भ्याली!! इजरायलमा रहेको प्राकृतिक सुन्दरताले भरिएको अति रमणिय भ्याली 'हुला' भ्याली पछिको यो दोस्रो सुन्दर भ्याली रहेछ। जहाँ लगभग सबै भाग खेतियोग्य जमिन रहेकोले यसलाई इजराएलको भकारी पनि भनिदोरहेछ । दाँयाबाँया तरकारी र फलफुलका हरिया फाँट छिचोल्दै गर्दा पर दाइनेतिर पसारिएको 'गिल्बोवा हार'(हिब्रु भाषामा पहाडलाई 'हार' भनिन्छ) देखियो। चिपोराले त्यता हेर्नै मानिनन् , कारण निकै बर्ष पहिले त्यही पहाड घुम्न जाँदा दाहिने खुट्टो परक्कै भाँचिएकोरे 'द्याट्स माइ ब्याड मेमोरी' भनेर नाक मुख खुम्च्याउँदा हामी भने मज्जाले हांस्यौँ।  त्यसपछि  हाम्रो कार समुन्द्री सतहमा ओर्लेर गूड्न थाल्यो। हरिया फाँट, थुम्काथुम्की, गाईका बथान-बथान आँखाबाट ओझेल पार्दै जोर्डन नदिको किनारैकिनार हामी गुडीरह्यौं गुडीरह्यौं । पारी दाहिनेपट्टी जोर्ड्नियन झुरुप्प बस्ती मुस्कुराइरहेको थियो। प्लास्टिकका छाप्रो मुनिका पट्टेर केराघारी छिचोल्दै हठात् सुन्दर ताल 'किन्नेरेत' देखियो । किन्नेरेतको किनारैकिनार हाम्रो कार सुलुत्त चिप्लिँदै दिउसो लगभग १:३० बजे 'लियोनार्दो क्लब होटेल' को प्राङ्गणमा पुगेर रोकियो। पहिले त सर्सर्ती बाहिरैबाट त्यो भिमकाय होटेल नियालेँ। मैले नेपालमा यति ठुलो बिल्डिङ्ग देखेकै छैन, हेर्न मन त लागिहाल्छ नि। फेरी कस्तो भिड्भाड!! रिसेप्सनको चेक-इन मै लाग्यो आधा घण्टा भन्दा बढि । त्यतिन्जेल बेल्ब्वाइले हाम्रो झिटिगुन्टी लगिसकेको थियो। चेक्-इन सकेर लाग्यौँ दोस्रो तल्लामा रहेको हाम्रो केहीदिने गुँड तर्फ। सामान थान्कोमुन्को पारेर आ-आफ्ना बिस्तारामा पल्टिएको हामी त भुसुक्कै निदाएछौँ सम्साँझसम्म । अबेरतिरै रामिले ढोका ढक्ढक्याउँदापो थाहा लाग्यो निकैबेर भुस भैएछ । त्यसपछि  तयार भएर झर्यौँ डाइनिङ्ग हलतिर। मेरी बास्सै कति  धेरै भिड्भाड!! कत्रो ठुलो डाइनिङ्ग हल! स्वभाबैले हरेक खिच्रिङ्गमिच्रिङ्ग सोधिहाल्नुपर्ने मलाई। इन्ट्रान्समै स्वागतार्थ उभिएको किचेन म्यानेजरको ब्याज हेरेर पक्का भएपछि  सोधिहालें," क्यान यू टेल मि हाउ मेनी गेस्ट डु यु ह्याभ हियर फर फेस्टिभल??"मुस्कानका साथ भन्यो,"हम्म एराउण्ड २५०० राइट नाउ" धन्यवाद भन्दै लाग्यौँ आफ्नो नम्बरको टेबल घेर्न । विविध स्वादमा विविध परिकारले च्यापु हल्लाएपछि  (युवराज नयाघरे दाइको 'घामको चुम्बन' बाट थाहा लाग्यो च्यापु हल्लाउनु भनेको खानु) निकैबेर अल्मलिएर उक्लियौँ कोठामा । थकित रामी सरासर पस्यो आफ्नै कोठामा भने चिपोरा र म आफ्नै कोठामा  भित्रियौँ। त्यसैबेला राजाको फोन आयो घरदेखी, केहीक्षण आत्मीय भलाकुसारी पछि केहीछिन 'घामको चुम्बन' मा रमाउदै थिएँ कतिबेला निन्द्रादेवीको काखमा सुटुक्क घुस्रिएछु।

१९ अप्रिल २०११

बिहान ७ बजेतिर आँखा उघ्रेछन । सँधैझैँ चिपोराले पहिलो कप कफी सुर्क्याइसकिछन। फटाफट तयार भएर लाग्यौँ ब्रेकफास्ट लिन डाइनिङ्ग हलतिर। हिजोका सबै पाहुना अझै सपना देख्दै रहेछन क्यारे अहिले त निकै होलो रहेछ । ब्रेकफास्टको काम सकिए पछि लाग्यौँ आजको हाम्रो गन्तब्यतिर। आजको प्रमुख योजना थियो तिबेरियामा रहेको प्रसिद्द मिनरल बाथ सेन्टर 'खमे तिबेरिया' (जो किन्नेरेत तालकै किनारामा अवस्थित छ।) जाने र धित मरुन्जेल मिनरल वाटरमा डुबुल्की मारेर फर्किने। प्लास्टिक क्याप, स्विम सुट, टावेलको पोको बोकेर गेटमा पुगेपछि  चिपोराले प्रवेश टिकट किनिन् अनि छिर्यौँ भित्र। इन्डोर पूल, आउटडोर पूल, जाकुजी, साउना बाथ सबैसबैको ब्यबस्था रहेको अत्याधुनिक मिनरल बाथ पूलमा पसेपछि त बाहिर निस्किन मन कहाँ लाग्थ्यो र! घरछेउको सोप्याङ्ग खोला र महेश खोलाको स-साना दहमा डुबुल्की मारे बाहेक घरदेशमा हुँदा पौडी खेलेको कुनै सम्झना यो मानसपटलमा छैन तर परदेशको बसाइमा कहिले पूलमा गएर त कहिले समुन्द्रको नुनिलो पानीमा आक्कलझुक्कल पौडिँदापौडिदै जानेको कौशलता जो प्रयोग गर्नुथियो मैले । केही घण्टासम्मको मिनरल डुबाइ पछि  जीवनको पहिलो 'साउना बाथ' को अनुभब पनि लिइहाल्नुपर्‍यो भनेर 'ड्राइ साउना' लेखेको रुममा पसेको त ओहो!! के सारो हपक्कै तातो!! एक्छिनकोलागी त सकिन्न कि झैँ भयो तर कोशिस गरिहेरें र बसेँपनी करीब १५ मिनेट जति । त्यतिन्जेल चिपोरा बाहिर पर्खिरहेकी थिइन। मन त थियो फेरी मिनरल पूलमा झ्वाम्म पसुँ तर समयले नेटो काटिसकेको थियो। फेरी नुहाइ धुवाइ गरेर तयार भएर त्यहिँको स्न्याक बारमा एक एक कप कफी सुर्क्याएर होटल फर्कियौँ र दिउसोको खाना बजाएरै मात्र कोठामा पस्यौँ तर धेरैबेरका लागि होइन। किनकी त्यसपछिको हाम्रो कार्यक्रम थियो अर्को रमाइलो ठाउँ दृश्यावलोकन गर्ने। ठाउंको नाम थियो "हमात गदेर" । हिब्रु भाषामा 'गदेर' भनेको बार अथवा पर्खाल। जोर्डनसँगको सिमाना छुटिएको बार/ पर्खाल रहेको खमात भन्ने ठाउँलाई हमात गदेर भनिएको रहेछ। सिरियाबाट छुट्टीएको इजरायली भूमी 'गोलान हाइट' को फेदी जोर्डन नदि मा टुँङ्गिदा त्यही फेदिमै रहेको सानो सुन्दर ठाउँ जहाँ गोलान हाइटको आधाआधी भिरालोबाट हेर्दा बिभिन्न आकारमा पसारिएको अनगिन्ती माछा पोखरी, सिँगारिएका फूलबारी,अलिक पर जोर्डन नदि  अनि नदिदेखी पारी मुस्कुराइरहेको झुरुप्प झुरुप्प जोर्डनियन बस्ती कति मनमोहक !! अझै त्यहि माथी अस्ताचलमा पुगिसकेको घामको पहेंला बैजनी किरणको दोछायाँमा नुहाइरहेको प्रकृतिको टुक्रा आहा!!! यि घाम, छायाँ, हरियाली, खोला, खुल्ला आकाश भूगोलको जुनसुकै कुनामा किन नहोस् मानवमनलाई उतिकै चुम्बकिय बलले तानेकै हुन्छ । म निकै बेर हावामा कपाल उडाउँदै माथि माथि हात उचालेर खुशीले आल्हादित बनिरहेँ जसरी गाउँको खर्कमा उभिएर मुस्कुराउँदै डुब्न लागेको घाम नियाल्थेँ त्यो नित्तान्त आफ्नै हो भनेर। सन्ध्यापूर्बको सिर्सिरे बतासमा इत्रींदै खुशीले अवाक भएर केही स्न्याप फोटोपनी खिच्न भ्याइहालेँ। प्रकृतिको काखमा पुलकित मेरो उद्दिप्त अनुहार हेर्दै चिपोराले भनिन्," दीप्स! इज दिस मोर ब्युटिफुल प्लेस देन योर नेपाल?" तुरुन्तै भनेँ," लूक्स लाइक सेम बट फर स्योर माइ नेपाल इज क्विन अफ न्याचुरल ब्युटी" । तबसम्म अघिको सुनौलो घाम क्षितिजबाट पाताल पसिसकेको थियो। हामी फर्कियौँ होटल र छिट्टै नै बेलुकिको खाना पनि भकुर्यौँ । किनकी इजरायमै प्रथम पटक प्रदर्शन थालिएको 'दी सो अन वाटर फाउन्टेन' हेर्ने अर्को काम त बाँकिनै थियो। किन्नेरेत तालको पानीमा फोहोराको माध्यमबाट संगीतको धूनसङ्गै करिब १५ मिनेटको लामो सो देखाइने रहेछ जुन  यहूदिहरुको प्राचिन जीवनदेखी आजसम्मको सारांश कथा सर्सर्ती चलचित्रझैँ देखाइने रहेछ। यस्तो खाले सो पनि मेरोलागी नौलो नै थियो र त पुरै सोलाई भिडियो अन गरेर क्यामेरामा कैद गर्नपनी भ्याएँ। सांझ अघीनै उम्केर तन्नेरी रात छिप्पिनेक्रममा थियो। सिङ्गो जून पर किन्नेरेत तालको छातीमा टल्केको प्रतिबिम्ब केहीक्षण नियालेपछि  फर्कियौँ होटेल र तुरुन्तै आ-आफ्ना ओछ्यानमा दिनभरीको थकित शरीर लडायौं । पल्लो बेडमा चिपोराको रिदमिक घुराइ सुन्दै 'घामको चुम्बन' भित्र जोगमाइको छालमा उछालिँदै थिएँ कतिबेला फुस्सै निदाएछु।      

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |