हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

कोलोराडोको भानुजयन्तीः बरिष्ठ कविहरुलाई फुड प्वाइजन,(गीता खत्री)


हामी न्यृ् योर्कको कोलाहलबाट केही दिन भएपनि मुक्ति पाउनका लागि बिदाको योजना गर्दै थियौं । तार्तम्य त्यस्तै मिल्यो, पहिला कहिल्यै नगएको तर जान भने रहर लागिराखेको ठाउं कोलोराडो जाने सुर कस्यौं । नेपालको प्रत्यक्ष झझल्को आउने अमेरिकाको पहाडी राज्य कोलोराडोको बारेमा सुन्दासुन्दै, पढ्दापढ्दै जाने साइतै जुर्यो । जुलाई ९, २०११ शनिवारका दिन न्यूयोर्कबाट विहान ५.०० बजे नै म र मेरो श्रीमान् कोलोराडोका लागि प्रस्थान गर्यौँ । विमानको पूर्वनिर्धारित तालिका बमोजिम स्थानीय समय दिउंसोको २:३० बजे डेनभर एयरपोर्टमा हामीलाई लिन आउनुभएका मित्र श्री ज्ञानेन्द्र गदाल (म वहाँलाई आत्मियताका साथ 'ज्ञानु' भन्छु) र वहाँको ज्वाईं श्री रबि कार्की (साबुको श्रीमान्) संग सौहार्द्र्र भेट भयो । हामी वहाँहरुकै आतिथ्यमा कोलोराडो गएका थियौं । अनेसासद्वारा कोलोराडोमा मनाइने भानुजयन्तीकै सिलसिला थियो यो भ्रमण । नयाँ ठाउँ घुम्ने उदेश्यका साथ कार्यक्रमको एकहप्ता अघि नै हामी कोलोराडो पुगेका थियौ । ज्ञानुजीको घरमा आउने धेरै अतिथिहरुमध्ये हामी नै पहिलो थियौं । भेटघाटको सामान्य औपचारिकता पछि मोटरमा सामान राखेर एयरपोर्टबाट घरतिर लाग्यौं । रबिजीको सल्लाह बमोजिम डेन्भर डाउन–टाउन घुमेर मात्र घर जाने निधो भएकोले ज्ञानुजीले मोटर डाउनटाउनतिर मोड्नु भयो । घुम्न आएका हामी खुसी नै भयौं । बिहान ४:०० बजे देखि हिँडेको मान्छे, यात्राको थकाई त थियो नै तर पनि नयॉ ठाउँ घुम्न पाउने उत्सुकताले मेरा थकाईहरु बिर्सिएँ । 
डेनभर सहर झण्डै झण्डै काठमाण्डौं उपत्यका जस्तै रहेछ । तर क्षेत्रफलमा काठमाण्डौं भन्दा धेरै ठृ्लो । न्यृ्योर्कको गगनचुम्बी भवन वरिपरि बिछिएका मेरा आँखासामु डेनभर डाउनटाउनका केही अग्ला भवनहरुले मेरो मनलाई खासै आकर्षण गर्न सकेन । शहरमा पैदल हिडेका मान्छे नै नदेखिने, मोटरहरुको भिड पनि न्यूयोर्कको जस्तो नभएको । शायद सप्ताह अन्त भएर पो हो की ! सोध्न चाहिं कसैलाई सोधिनँ । डेनभर एकदम शान्तसँग पहाडहरुको बिचमा तपस्या गरेर बसिरहेको जस्तो लाग्यो । सन् १८५८ नोभेम्बर २२ मा यो क्षेत्रमा सुनखानी पत्ता लगाए पछि डेनभर सहरको स्थापन भएको रहेछ । यो कोलोराडो राज्यको राजधानी पनि हो । करिब एक डेढ घण्टाको डेनभर डाउनटाउनको दृश्यावलोकन पछि हामी ज्ञानुजीको निवास अरोरा पुग्यौं । खाना खाएर डेनभरको चर्चा र यात्राका गफ बाहेक अरु केही भएन त्यो साँझ ।
भानुजयन्ती सहित अनेसासको २०औं वार्षिक साधारण सभा कार्यक्रमको सबै तैयारी गर्नु पर्ने हुनाले भोलिपल्ट देखि दुई दिन तैयारी मै लाग्ने हाम्रो पूर्व निधारित सल्लाह बमोजिम काम शुरु गर्यौँ ज्ञानुजी र मैलै । विहानभरिको हाम्रो सांगठनिक कामपछि दिउँसोको खाना खाएर म ज्ञानुजीका दुई छोराहरु सरगम(९बर्ष) र सरल(४बर्ष) लाई लिएर नजिकैको पोखरीमा पौडी खेल्न गएँ । न्यृ् योर्कका पोखरीहरु त सबै विदाका दिनमा भिडले भरिएका हुन्थे, तर यहाँ त त्यस्तो भीड थिएन, लाग्थ्यो यो निजी पौडीपोखरी हो । एकघण्टाजति पौडी खेलेर हामी घर फर्कियौं । लता सप्ताहन्तमा काम गर्ने भएकोले हाम्रो भेट सोमबार मात्रै हुने जानकारी हामीलाई थियो । सबैलाई दिउंसोको नास्ता मैले नै बनाएर खुवाएं, बेलुकीको खाना साहित्यकार प्रभा आचार्य र केशव आचार्यजीको घरमा तय भएको रहेछ सपरिवार गयौं ।
फेसबुकको माध्यमबाट र साहित्यिक लेखहरुबाट चीर परिचित आचार्य, प्रभा र राम्रा गजलकार तर उति प्रचारमा नआएका केशवजीको परिवार र ज्ञानुजीको परिवारसंगको पारिवारिक सम्बन्ध वास्तवमा प्रशंसा योग्य हामीले पायौ । आचार्य दम्पतिका तीन छोरीहरु (दिप्ति, प्रिती र निती) असाध्यै फरासिला र कला क्षेत्रमा पोख्त रहेछन् । उनिहरु र सरगम, सरल बीचको प्रेम एक आदर्श परिवारको एकै दिदीभाई झैं लाग्ने थियो । कुनै औपचारिकता बिना यो दुई परिवारको आत्मीय सम्बन्ध देखेर मनमनै सोचें परदेशमा रहेका सबै नेपालीहरुबीच यस्तै पारिवारिक सम्बन्ध रहे कति सुन्दर हुन्थ्यो होला ! यो मेरो सोच वास्तविकतामा परिणत होस् भन्ने कामनासम्म गरेँ आजलाई । सांझ उज्यालै थियो, खाना खाई सकेर सबैजना नजिकैको इन्फिनिटी पार्कतिर केही बेर घुमेर घर फर्कियौं । जुलाई ११, १२ र १३ मा हाम्रो बेग्लै कार्यक्रम रह्यो, त्यसको बर्णन म बेग्लै सन्दर्भमा गर्नेछु ।
यस बर्षको भानुजयन्ती र अनेसास केन्द्रको २०औं साधारण सभा जुलाई १५ देखि १७ सम्म तीन दिने कार्यक्रम कोलोराडोमा भएकोले यो सम्मेलनमा सहभागी हुन जुलाई १४ का दिन नै वरिष्ठ साहित्यकार विश्वविमोहन श्रेष्ठ, वरिष्ठ पत्रकार तथा साहित्यकार गोविन्द गिरी प्रेरणा र वरिष्ठ कलाकार रामप्रसाद खनाल डीसीबाट एउटै विमानबाट रातको ११:४० बजे डेनभर आउंदै हुनुहुन्थ्यो । साहित्यकार चन्द्रकला नेवा कोलोराडो मै भएकोले आजै आउने कार्यक्रम रहेछ । वरिष्ठ कवि शैलेन्द्र साकार हिजो नै आइसक्नु भएको थियो । यी सबै साहित्यकारहरुसँगको मैत्रीपूर्ण भेटघाटसहित रात्रिभोजको आयोजना पुनः आचार्य परिवारले राख्नुभएको रहेछ । उहाँहरुको यस सदासयतालाई हार्दिकतासाथ ग्रहण गर्दै हामी पनि उक्त रात्रिभोजमा सामेल भयौं । विमानबाट आउने साहित्यकार र कलाकार पाहुनाहरुको प्रतिक्षा गर्दै आचार्य परिवारको आतिथ्यमा रमाइरहेका थियौं । गीत, गजल र कविता बाचन धेरैबेरसम्म चलिरह्यो ।  त्यत्तिकैमा ज्ञानुजीको फोनले 'ओम भृर्भृ्बस्वः' को रिङ टोन दियो ठृ्लो स्वरमा । फोन उठाएर, 'हलो' भन्नासाथ मुसुमुसु हाँस्दै — 'हो र !' भन्ने आवाज आयो वहाँको । अनि छिनभरमै उहांको मुस्कुराहट हरायो र भावुक देखिनु भयो । किन, के भो भन्ने हाम्रो प्रश्नका लागि ज्ञानुजी बोल्दै जानुभयो "दुई जना साहित्यकारहरुलाई जहाजमा चढ्न दिएन रे, उहांहरुको लागि एक घण्टा जति जहाजले ढिला गर्यो रे तैपनि पनि उहांहरुको अवस्था जहाज चढ्न योग्य नभएकोले जहाजबाट बाहिर निकालिनु भयो रे । आजको विमानबाट चाहिं कलाकार रामप्रसाद खनाल मात्रै आउंदै हुनुहुन्छ ।" हामी सबै छक्क पर्यौं । जहाजबाटै निकालिनु पर्ने किसिमको व्यक्तित्व त थिएन, के हुन गयो होला, हामी विचार विर्मश गर्दै थियौं । फेरि अर्को फोन आयो ज्ञानुजीलाई । हामी चुपचाप लाग्यौं र वहाँको अनुहारको प्रतिक्रिया नियाल्न थाल्यौं । गोविन्द गिरीजीको फोन रहेछ । “फूड प्वाइजन भयो रे !”  “केबाट फुड प्वाइजन भयो त... ? भोली बिहान....? ल..ल..” “हुन्छ... ! हुन्छ.. !!” भन्दै फोन राख्नु भयो । “हाम्रा वरिष्ठ कवि तथा पत्रकारहरुलाई फुड प्वाइजन भएछ एयरपोर्टको ट्रान्जिटमा । उहाँहरु भोलि मात्रै आउने रे । अब हामीले खाना खाए हुन्छ, पर्खनु परेन ।” ज्ञानुजीका यी वाक्यसंगै हामी सबैको एकाएक बोलि बन्द भयो । अनि कविता बाचन, गीत गायन त्यहीं विट मारे जस्तो भयो । हामी सबै कुराकानीतिर रमाउन थाल्यौं ।
साकार दाईले हाम्रा वरिष्ठ कविहरुलाई 'फुड–प्वाइजन' भएको खबर कोलोराडो निवासी अर्का कलाकार श्री कृष्णमुरारी ढुंगेललाई फोनबाट जानकारी गराउँदै हुनुहुन्थ्यो । उनले भने पत्याएनछन् । “नजिस्किनुस् न दाई” पो भनेछन् । बास्तविक गाँठी कुरा गर्नु पर्दा हाँसीहाँसी फोन गरिहरनु भएका साकार दाईलाई पनि अलिअलि “फूड प्वाइजन” शुरु भैसकेको थियो । आचार्य निवासको रात्रीभोजमा सबैखाले पेयपदार्थहरु उपलव्ध थिए । कोठाको माहोल सारै रोमाञ्चित भैरहेको थियो । अरुको फूड प्वाइजनमा रमाउने हामी त्यही फूड प्वाइजन आफुलाई हुंदा थाहै नभएकोले हामी पेट मिचिमिचि हास्दैं थियौं । उता फोन सुन्ने कलाकार ढुंगेलचाहिं साकार दाईलाई 'धेरै नहाँस्नोस्, कति हांसेको ?, गीता खत्रीको गीत/गजलले ततायो कि क्या हो ?” भनी सोध्दै रहेछन्, शायद उनलाई पनि फुड प्वाइजन लागिसकेको थियो क्यारे ! साकार दाई भन्दै हुनुहुन्थ्यो, “कलाकारले मेरो कुरै बुझेनन्” । फुड प्वाइजनले लरखराएको आफ्नो शरीरको भार आफैंलाई थाम्न मुस्किल भएका साकार दाईलाई साथीहरुले पुरै आडभरोसा दिएर निवासस्थानसम्म लैजानु पर्यो | उहाँलाई भने केही थाहा भएन ।
हिजो राती आएर च्याप्टर अध्यक्ष श्री पदम विश्वकर्माजीको घरमा बस्नुभएका रामप्रसाद खनालजी १५ तारिक विहानै ज्ञानुजीको घरमा आइपुग्नु भयो, सांझ वहां लगायत स्थानीय कलाकारहरुद्वारा प्रस्तुत गरिने सांस्कृतिक कार्यक्रमको आयोजना थियो । सबै माझ गफ चलिरहेको बेला फेरि प्रेरणाजीको फोन आयो । उहाँहरुको प्लेन फेरि डिले हुने भएछ, त्यसैले उहाँहरु सोझै कार्यक्रम स्थलमै आउने निर्णय गर्नु भएछ,। 
अपरान्हतिर सबैजना कार्यक्रमस्थल अरोरा कम्युनिटी कलेजको हलमा जम्मा भैसकेका थियौं । कार्यक्रम तोकिएको समय भन्दा केहीबेर ढिला भैरहेको थियो । करिब ५:०० बजेतिर गोविन्द गिरी प्रेरणा र विश्वविमोहन श्रेष्ठ टुप्लुक्क आईपुग्नु भयो । मैले गोविन्द गिरी प्रेरणालाई '"दाई, तपाईं त एकै रातमा दुव्लाएर पातलो हुनु भएछ नि !" भनि सोधिहालें । उहांले हांस्दै 'फुड प्वाइजन मलाई होइन, विश्वजीलाई भएको' भनी उत्तर दिनु भयो । मैले फेरि भने “हैन, कस्तो फुड प्वाइजन हो? प्वाईजन हुने विश्वदाइलाई असर चाहिं तपाईंलाई ?” सबै गलल हाँसे ।
तिनै दिन फुड प्वाइजन शव्द कालोराडोभरि व्यापक भयो, घरघरमै यसको चर्चा भएछ, कार्यक्रमभरी यसैको कुरा भयो । यसपटकको यात्रामा सुरुदेखि अन्त्यसम्म पनि फुड प्वाइजनले निकै चर्चा पायो । जुलाई १६ को औपचारिक साहित्यिक कार्यक्रम सकिएपछि बहिनी साबुको घरमा सबै साहित्यकार एवं कलाकार भेला भै चिया चमेना खाँदै अनौपचारिक कविगोष्ठी शुरु भयो । चन्द्रकला दिदिको गीत गायन सहित शैलेन्द्र साकार, होमनाथ सुवेदी, गोविन्द गिरी प्रेरणा, ज्ञानेन्द्र गदाल, रामप्रसाद खनाल, निर्मल प्याकुरेल, आचार्य प्रभा, कृष्णमुरारी ढुंगेल, साबु कार्की, मिना पौडेल, म स्वयं र विश्वबिमोहन श्रेष्ठ दाईको फुड प्वाइजन शिर्षककै कविताले जमघटलाई उल्लासमय बनायो फेरि एकपटक ।
फुड प्वाइजनले तीन दिने कार्यक्रममा हाँसो मिश्रित सकारात्मक/नकारात्मक दुवै कोणबाट चर्चा पाएकोले मैले मनमनै “हे ईश्वर, यसले जतिनै हांसो र चर्चा पाए पनि अब देखि हाम्रा प्रसिद्ध कवि, कलाकार, पत्रकार एवं साहित्यकारहरुलाई अरु जेसुकै होस्, तर फुड प्वाइजन चाहिं नहोस्” भनी प्रार्थना गरें ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |