हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

सिर्फ अर्को एकदिन भए ( वुवालाई संझिएर),(भारती गौतम )


"बालाई आज अस्पतालवाट घर ल्याउने भनेको थियो आईसक्नु भयो?"
"दिदी हजुरले अव धैर्य गर्नु पर्यो"।
आज भन्दा झन्डै वाह्र वर्ष अगाडीको भदौको झरीलो वेलुकी (नेपालको बिहान) बा अस्पतालवाट घर फर्किसक्नु भएको होला अनि ढुक्कले लामो कुरा गरौंला भनी त्यो समयको दूर्लभ कार्ड किनेर वल्ल वल्ल लागेको फोनको जवाफमा आएको अचला(मेरी भाईबुहारी)को त्यो वाक्यले मलाई छिनैमा टुहुरी वनाएको थियो। झन्डै डेढ दशकको परदेश वसाईमा कहिल्यै सुन्नु नपरोस् ठानेको समाचार सुन्नु परेको त्यो रात मेरो जीवनको सवै भन्दा कालो,घना, भयभीत र क्रुर रात थियो। त्यो एक वाक्यले परिवर्तित मेरो जीवन अनायास वर्षौं वृद्द हुन पुगेको थियो, मेरो टाउकावाट छानो, मेरो आंगवाट कपडा, मेरो भोकवाट भोजनको साथसाथै मेरो शरीरवाट आत्मा हराएको जस्तो हुनपुगेको थियो।एकातिर म निमेषमै वृद्द हुन पुगें भने अर्को तिर म मेलामा छुटेको वालक जस्तो समेत हुन पुगें।
एकहप्ता अगाडी सामान्य छातीदुखेर अस्पतालमा पुर्याईनु भएको मेरा बा भोलीपल्ट घर फर्किने हुनुहुन्थ्यो। हरेक महिना मैले गर्ने फोनको मितिले डेढ महिना नाघ्न आटेको भएपनि अस्पतालवाट फर्केपछि निर्धक्क कुरा गरेर केहि दिनमा भेट गर्न नेपाल जाने मेरो योजनाको प्रारम्भको अन्त्य विना सूचनाको प्रलय बनेर मेरो हृदयको पिंधैमा गाडियो।
भोलीपल्ट अस्पतालवाट डिस्चार्ज भएर घर फर्किने भनेको राति नै हृदयाघातका कारण अर्कै लोकको यात्रालाई वरण गरीसक्नु भएका मेरा वाले सुन्न नसक्ने गरी कहालिएको क्रन्दन मेरो मनको एकछेउमा ठोक्किएर अर्को छेउमा तरंगित हुन पुग्यो अनि वाहिरभने भक्कानिएर मेरो अन्तर्पीडा पोखिईरह्यो, वगीरह्यो भदौरे झरी वनेर। एकघन्टा भन्दा वढी कुरा गर्न भनेर किनेको २० डलरको फोनकार्ड, नेपालजाने टिकट बुझ्न ठिक्क पारेका ट्राभल एजेन्सीका नम्बरहरुसंग आंखा जुधाउन गाह्रो मेरो जीवन विखन्डीत टुक्रा टुक्रा छरिन थाल्यो।
मेरा वा मेरालागी एउटा अभिभावक,एउटा प्रशंसक, एउटा अस्तित्वबोध, एउटा संरक्षकमात्र नभएर मेरो सर्वस्व हुनु हुन्थ्यो। चावीले चल्ने खेलाउना जस्तो मेरो जीवनका तमाम आरम्भको आरम्भ मेरा वुवा मेरो जीवन खेलाउनाको एकमात्र चावी हुनु हुन्थ्यो।
हात्तीलाई अन्धाहरुले गरेको वर्णनजस्तो मेरा वा पनि थुप्रै व्यक्तित्वबाट आ-आफ्ना दृष्टीअनुसारले परिभाषित हुनु हुन्थ्यो। उहांको विद्द्वता रोचक प्रसंगहरुको घुईचोमा मेरा वा सहजै भेट्टिनु हुन्थ्यो।
"नौ भाषामा सिपालु विद्या सागर"- यज्ञेस्वर निरौला।
"काशीको विद्यार्थी जीवनमा एकैरातमा उहांले संस्कृतका चारसय श्लोक कण्ठ पार्नु भएको थियो अरे"-डा माधव पोखरेल।
"उनलाई महाकवि श्रीहर्षको नैषधिय चरित महाकाव्य समग्र कन्ठै थियो। चित्तधर हृदयको सुगत सौरभ नेवारी भाषाको महाकाव्य सुनाएकोमा प्रभावित भएर सत्य मोहनजोशीले भाजुरत्‌न कंशाकारकोमा प्रवचन गर्न समेत लगाएछन्।"    भरतराज पन्त
"१४ वर्षको वालकले अत्यन्त रोचक ढंगले चौतारामा वसी पुराण वाचन गरेको दृष्यले वटुवाहरु पनि चकित भए। १४ वर्षको उमेरमा पुराण भन्ने ती वालकको नाम हेम चन्द्र पोखरेल।"-----वालकृष्ण पोखरेल
"खास गरेर देवकोटाका कृतिहरुको अर्थ लगाउन र वास्तविक अभिप्राय पत्ता लगाएर व्याख्या गर्नमा उहां माहिर हुनुहुन्थ्यो"।-----काली प्रसाद रिजाल।
"काकाको छन्द गाउने स्वर असाध्य सुमधुर थियो। संस्कृत, नेपाली , हिन्दी(सिनेमाका गीत सहित),उर्दु, बंगाली सवै उत्तिकै सुमधुर स्वरमा गाउन सक्नु हुन्थ्यो"।---डा दुर्गा पोखरेल
"एउटा अद्दितिय प्रतिभाका धनी"------खेमराज केशव शरण
मेरा बाको नाम हेम चन्द्र पोखरेल, धनकुटा वहुमुखी क्याम्पसको परिधि उहांको कार्यक्षेत्र। उहाको असिम विद्दताले परिधि तर मुलुकभरी समाहित थियो। विद्दत व्यक्तित्वहरुले गरेका परिभाषाका मेरा वा दिंवगत भएको समाचार रेडियोले समाचारमा सम्मिलित गर्यो ,पत्रपत्रिकाले आफ्ना पानाहरुका कुनामा छापे।
"उहां अरु दश वर्ष वाच्नु भएको भए दुर्लभ कृतिको जन्म हुन्थ्यो होला" कसैले भने।
धनकुटाको सट्टा काठमान्डौ वस्नु भएको भए उहांको उचित कदर हुन्थ्यो होला, कसैले भने।
यसरी अप्रत्याशित ढंगले जीवनवाट मेरा वा अस्ताउदाका प्रतिक्रियाहरु देउरालीमा ढुंगा चुलिएजस्तै चुलिन थालेका थिए, आफन्तवाट आफन्तका आफन्तवाट आफ्नै तरिकाले आफ्नै अनुभवको सेरोफेरोमा सिमित।
तर मैले गुमाएका बा देशको विभुति हैन, एउटा प्रकान्ड विद्वान हैन, सात भाषाको ज्ञाता हैन, चार दशक भन्दा वढी उहाले भिरेको प्राध्यापनको पगरी हैन मैले मेरो अस्तित्वको आधार गुमाएकी थिएं, मैले मेरो हिजोको विश्वास र भोलिको आस्था गुमाएकी थिंए। मेरोलागि मेरो वा परदेश जांदा सुटकेस मिलाईदिने सहयोगी हुनुहुन्थ्यो, शरीरको कुन भागको दर्द मेट्न कुन औषधी खाने भनी कर गर्ने वैद्य हुनुहुन्थ्यो, तीजको दरखानेदिन आफूले जानेका मिठाई र हलुवा पुरी तयार गरिदिने भान्से हुनुहुन्थ्यो, मेरो हरेक सफलतामा सवैभन्दा वढी थपडी मार्ने भक्त हुनुहुन्थ्यो। आफ्ना गोजीमा जहिले पनि मेरो तस्वीर बोकेर हिड्ने एउटा कटिवद्द पुजारी हुनु हुन्थ्यो। तल वेल्हाराको फेदीमा खेती गर्ने मानवहादुर उसको छोरीको लागि जस्तै मेरा बा मेरो लागि सिर्फ एउटा सामान्य तर अद्दितिय बा हुनु हुन्थ्यो।
"नानी यसपाली त एक महिनै कटिसक्यो फोन नआएको किन हो ?" भनी मेरो फोनको प्रतिक्षामा दिन गनीरहने मेरा बा मेरोलागि त्यहि मीठो वाक्य हुनुहुन्थ्यो।
"किन फोन राखिहाल्न हतार गरीस् नि", घन्टौं कुराकानी गरेपनि फोन राख्‌न गाह्रो मानेर मेरा कुरा सुनीरहने एउटा अनुपम श्रोता हुनुहुन्थ्यो।
"अझै दस दिन वाकी तं आउन, त्यति वेला सम्म त म वांची रहौंला र"? मलाई देख्न वांकी दश दिन दश युगजस्तो लाग्ने एकजना अनन्य बात्सल्यको मुहान हुनुहुन्थ्यो मेरा बा मेरा लागि।
"नानी यसो भनेको यसो हो, को के चाहिं हो, ? आफूमा भएको अथाह विद्दतालाई भन्दा मेरो अनभिज्ञताको सिमितालाई ससम्मान विश्वास गर्ने हुनुहुन्थ्यो। मप्रतिको अगाध स्नेहको झरी मेरा सन्ततीमा समेत वर्षाएर ममतामयी भेलमा मेरा छोराछोरीलाई पनि निथ्रुक्क रुझाउने मेरा बा त्यो अमृत वर्षा हुनुहुन्थ्यो।
मेरा वा मेरो आफ्नै परिभाषा हुनुहुन्थ्यो, मेरो आफ्नै ऐना हुनु हुन्थ्यो, मैले चढेका साना साना थुम्का थुम्कीलाई सगरमाथा आरोहणको उत्सवका झंकारले हाम्रो घर आतेसवाजीको आकास उज्यालो पार्ने एउटा आज्ञाकारी कारिन्दा हुनुहुन्थ्यो।
जव जव यो समयमा वसन्त फक्रिएर लटरम्म हांगामा नुहुन थाल्छ, जवजव रुखहरु आफ्ना हराएका वस्त्र पुनः पहिरिएर हरियै हराभरा हुन थाल्छन्, जव जब यो भेकमा वजारहरु, दोकानहरु, दोकानका तखताहरु वावुहरुलाई मन पर्ने र पर्न सक्ने सुटटाई, जुत्ताकोट,कलमचश्मा, अत्तर आलमारी,टेलिफोन टेलिभिजनहरुले चुलिन थाल्छन्, जव जव सानासाना नानीहरुले वावुहरुको हातसमाएर उफ्रिदै नाच्दै पार्क, रेस्टुरेन्ट र सिनेमाहलहरुभित्र भर्खरै नयां देशमा आफ्नो झन्डा गाडेको नेता जस्तै गमक्क फक्रिएको देख्छु, आफूलाई एउटा पराजित योद्दा जस्तो अनुभव गर्न पुग्छु।
मेरा वालाई वेग्ला बेग्लै परिभाषाले संझिनेहरुको मानचित्रवाट मेरा बा पनि गृहयुद्दवाट हराएको सोभियतसंघ या चेकोस्लोभाकियाजस्तो भैसक्नु भएको हुनुपर्छ, उनीहरुको मानचित्रमा नयांनयां स्मृतिहरु जन्मिईसकेको हुनुपर्छ तर मेरो लागि मेरा वाको आकृति जति पुरानो भयो त्यति महत्व थपिदैजांने पुरातात्विक वास्तुकला जस्तो रहेको छ।
सारा शुभकामनाका अक्षरहरु, कृतज्ञताका कविताहरु, समर्पणका भावहरु मिलाएर मेरा वासंग सिर्फ अर्को एकदिन पाउन पाए मेरो जीवनको सारा अतित, वर्तमान र सम्पूर्ण भविष्य एकै निमेषमा समर्पण गरिदिन्थें। मेरा वासंग फगत एकदिन पाए म मेरो सर्वस्व एकै पलमा समर्पण गरिदिन्थें।
"मोटर चढेर घर्घर फर्फर उडाई झन्डा
मन्त्रीवनी अनेकौं सुख चैन गर्नु भन्दा,
मैला सवै बढारी पारीदिने पवित्र
च्यामे भएर जन्मु नेपाल देश भित्र"- स्वर्गीय हेम चन्द्र पोखरेल।
साथमा वुवा भएकाकालागि अनि मनभित्र बुवाको स्मृति कुंदिएका सवैप्रति " ह्याप्पी फादर्स डे ",

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |