हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

भवानी दाई सम्झँदा ,(गोविन्द गिरि प्रेरणा )


भवानीप्रसाद घिमिरे अर्थात् भवानी दाईको सम्झनालाई म कुन कोणवाट शुरु गरुँ यतिखेर असमन्जसमा छु ।

वास्तवमा २०३६ सालमा राजा वीरेन्द्रले जनमत संग्रहको घोषणा गरेपछि शुरु भएको एक महिना लामो सडक कविता क्रान्तिका कारण नै भवानी दाईसँग सम्वन्ध चुलिएको हो ।

मलाई सम्झना छ, त्यतिवेला नेपाली कवि लेखकहरुले साहित्यिक भेटघाट गर्ने चौतारो वनाएको न्यूरोडको मोती महल रेष्टुँरामा भवानी दाइले उद्घोष गर्नु भएको थियो, भोलिदेखि सडकमा कविता क्रान्ति गर्ने ।

र भोलिपल्ट न्यूरोड पीपल वोट मुनि सडक कविता क्रान्ति भयो । मैले पनि सहभागिता जनाएको थिएँ कविता पढेर ।

अनि भवानी दाइकै आग्रहमा समाचार दिन लव गाउँले र म केही पत्र पत्रिकाको कार्यालय गएका थियौं ।

काठमाडौं, भक्तपुर, ललितपुर, वनेपा, तनहुँ तथा कास्कीमा समेत सडक कविता क्रान्ति सम्पन्न भएको थियो करिव एक महिनासम्म । म एकाध ठाउँमा छाडेर सवै ठाउँमा सहभागी भएकाले भवानीदाईसँग वढी हिमचिम हुनु स्वाभाविक थियो ।

त्यसैले होला एक पल्ट उहाँले झोंक्कैले भन्नुभएको थियो, के कुरा गर्छौ तिमी सडक कविता क्रान्तिले जन्माएको कवि, भनेर । आफूभन्दा अग्रजको गाली पनि आशिर्वाद हुन्छ भनेर म चूप लागें । तर वास्तवमा सडक कविता कान्तिले मलाई साहित्यको शुरुवात गरेकै वेला यस्तो मञ्च दियो कि मैले मेरो प्रतिभा छिट्टै प्रदर्शन गर्न पाएँ । मलाई सडक कविता क्रान्तिले जन्माएको भने थिएन । कुनै पनि कविलाई कुनै पनि आन्दोलनले जन्माउँदैन ।

झोंककै सिलसिलामा उहाँले एकपल्ट वढो नराम्ररी झपार्नु भएको सम्झना छ, नगेन्द्रदाईले घरमा खान डाक्नु भएको थियो, मित्रपार्कको घरमा । त्यहाँ भवानी दाई, जगदीश घिमिरे , नगेन्द्रदाई र म थियौं ।

साहित्यिक कुराकानी हुँदै साहित्यिक पत्रकारितामा कुरा पुग्यो । निरन्तरताको विषयमा चर्चा चल्यो । मैले प्याच्च भनेछु , "भानु त आजकाल निस्कनै छाड्यो ।"

यो सुन्ने वित्तिकै भवानी दाई जँगिनु भयो, "गोविन्द भाई, तिमी जे सुकै कुरा गर तर भानुको विषयमा क्यै नवोल, भानु मेरो सन्तान हो ।"

साँच्चै भवानी दाई र भानु पर्यायवाची नै वने उहाँको जीवन कालमा र आजपर्यन्त पनि ।

भवानी दाईको व्यक्तित्व सम्पादकको रुपमा अग्लो र उँचो भए पनि उहाँ कविको रुपमा पनि प्रख्यात हुनुहुन्थ्यो । सडक कविता क्रान्तिताका उहाँको कविता महिनौंसम्म सुन्न पाइएको भएर होला, उहाँको कवि व्यक्तित्वको छवि मेरो मानसपटलमा आजपर्यन्त उस्तै छ । विशेषत उहाँको कविता भन्ने शैली विशेष खालको थियो, अत्यन्त रोवदार । आवाज पनि उस्तै रोवदार थियो र प्रायः उहाँलाई कविता कण्ठस्थ हुन्थे ।

२०३६ साल ताका उहाँ वानेश्वरमा डेरा गरेर वस्नुहुन्थ्यो । त्यो डेरा एक तल्ला माथि थियो । उहाँले त्यो कोठामा कफि वनाएर आफ्नै हातले खुवाउनु भएको थियो । यो म यसकारण पनि सम्झन्छु कि त्यो नै मैले जीवनमा पहिलोपल्ट कफि पिएको घटना थियो ।

२०३६ सालको भानु जयन्तीमा उहाँकै सुझ वुझमा चुँदी रम्घामा सडक कविता क्रान्तिका कवि टोलीलाई निम्तो प्राप्त भएको थियो ।

चुँदी रम्घाको कार्यक्रम सकेपछि हामी दमौलीमा पहिलो वास वसेका थियौं र रातीको खानापछि पैदल हिंड्दै गएर मादी नदीको पुलमाथि लहरै वसेर मुक्तक भन्ने, गीत गाउने तथा क्यारिकेचर गर्ने जस्ता कार्यक्रम गरेर झण्डै आधारातसम्म हामीले त्यहाँ समय विताएका थियौं ।

त्यसपछि भोलिपल्ट दुले गौंडामा कविता क्रान्ति गरेर खाना पनि त्यहीं खाएर पोखरा पुगेका थियौं ।

भवानी दाईकै साथमा पहिलोपल्ट पोखरा नगरीमा पाइला राख्न पाएको हुँ मैले २०३६ सालमा । यो वेग्लै कुरा हो, पछि मैले पोखरामै विहा गरें र पोखरा मेरो शसुराली घर भयो । तर पहिलो पल्ट मलाई पोखरा पुर्याउने श्रेय भने भवानी दाईलाई नै छ ।

पोखरामा हामी एकजना सह्ृदयी थकाली व्यापारीको घरमा वसेका थियौं । ती समाजसेवी व्यापारीले हामी पोखरा वसुन्जेल खानवस्नको पूरै भार लिइदिए । अझ साँझ हरिभक्त कटुवाल लगायतलाई पेयको समेतव्यवस्था थियो ।

यो सव गर्नसक्ने खुवी भवानीदाईमा थियो । उहाँ यसरी प्रस्तुत हुन सक्नुहुन्थ्यो कि कसैले उहाँको कुरा नाई भन्न सक्ने अवस्थानै हुन्नथ्यो, त्यस्तो व्यक्तित्व थियो उहाँको ।

सडक कविता क्रान्ति एक महिनासम्म चलेर समाप्त भएपछि भानुको सडक कविता क्रान्ति विशेषाँक प्रकाशित भएको थियो जसमा मेरो पनि कविता समावेश थियो । यति ठूलो विशेषाँकमा रचना छापिएको त्यो नै पहिलो घटना थियो ।

भवानीदाई लामो समयसम्म साझा प्रकाशनको संचालक समितिको सदस्यमा रहनु भयो । २०३६ साल ताका साझा प्रकाशनवाट पाकेट वुक साइजमा केही पुस्तक सुलभ मूल्यमा प्रकाशनको थालनी भएको थियो । यो भवानी दाईको सुझवुझकै परिणाम थियो । उहाँमा नयाँ प्रकारले काम गर्ने रुचि थियो ।

२०३६ सालको सडक कविता क्रान्तिमा हामीले कविता पढेपछि पैसा उठाउन थालियो । त्यसैले ह््याण्ड माइक किनियो र सडक कविता क्रान्तिभर त्यसको उपयोग भयो । वांकी रहेको पैसालाई उहां वारम्वार, यो वोझ मसंग छ, म यसलाई विसाउन चाहन्छु, म यसलाई साहित्यिक पत्रकार संघलाई हस्तान्तरण गर्न चाहन्छु भनेर तत्कालिन सापसका अध्यक्ष नगेन्द्रराज शर्मालाई भन्नु भएको पनि मलाई सम्झना छ । तर शायद त्यो मौका जुरेन । साहित्यिक पत्रकार संघको अध्यक्षवाट नगेन्द्रदाईको पदावधि समाप्त भएपछि के कसो भो थाहा भएन ।

जीरीमा सर्वनामको नाटक लिएर गएको टोली दुर्घटनामा परेपछि वीर अस्पतालमा ल्याइएको थियो र भवानी दाई र म संगै अस्पताल गएका थियौं । अशेष मल्ल, किशोर पहाडी लगायत थुप्रै दुर्घटनामा परेका थिए ।

०००

२०४६ सालको जन आन्दोलनपछि भवानीदाई एक पल्ट विरामी पर्नु भयो र उहाँलाई भेट्न प्रधानमन्त्रीसम्म पुगेको समाचार पढें । तर म भने भेट्न जान सकिंन । उहां सामाजिक सेवा राष्ट्रिय समन्वय समितिमा पनि राजनीतिक नियुक्तिमा जानु भयो । पछि राजनैतिक कारणले उहांलाई हटाएपछि उहांले मुद्दा पनि गर्नु भएको तथा मुद्दा जितेको पनि सुनें तर उहांसंग सम्पर्क पातलिएको थियो । उहां साहित्यिक भन्दा वढी राजनैतिक माहौलमा वढी पर्नु भएको झैं लाग्यो ।

यसैवीच भानुको हरिभक्त कटुवाल विशेषांक , महानन्द विशेषांक तथा सिक्किम विशेषांक निस्केको थियो । यी विशेषांकहरुको गन्ती भानु विशेषांक, देवकोटा विशेषांक आदिमै पर्नेमा म ढुक्क छु ।

भानुको हरिभक्त कटुवाल विशेषांकमा मैले सडक कविता क्रान्तिमा हरिभक्त कटुवाल शिर्षकको संस्मरण लेखेको छु । त्यहां हरिभक्त कटुवाल र भवानी दाइको झगडाको विषयमा लेखेको छु । वास्तवमा भवानीदाई साहित्यकार कुनै वन्धनमा रहनु हुंदैन, साहित्यको शैलीमा पनि भन्ने मान्यता राख्नुहुन्थ्यो । यसैले उहांहरुवीच झगडा परेको थियो ।

म सन् २००४ देखि अमेरिकामा वसोवास गर्न थालेपछि नेपाल जांदा म भवानी दाइको अन्तरवार्ता लिन कुमारी गालको घरमा गएको र अन्तरवार्ताको क्रममा उहांकी छोरीले चिया ओसारेको सम्झिन्छु । उहांकै निवासमा भएको त्यो भेटनै मेरालागि उहांसंगको अन्तिम भेट हुन पुग्यो ।

२६ जुलाई २०११

अमेरिका ।   

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |