हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

“वसन्त श्रेष्ठका कविता” – बारे विचार,(विजय राज शर्मा)

वसन्त श्रेष्ठका कविता नामक कवितासंग्रहकाबारे आफ्ना केही विचार यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु। यो कवितासंग्रह अस्वीकृत विचार साहित्य २००७ पुरस्कारबाट पुरस्कृत भएको छ। गोविन्द गिरी प्रेरणाबाट सम्पादित र श्रीमती विद्यालक्ष्मी श्रेष्ठद्वारा प्रकाशित यो पुस्तकको मूल्य नेपालमा रू ७५ र अमेरिकामा ५ डलरमात्र राखिएको छ। कुल ७२ पानाभित्र संगृहित २० वटा कविताहरू सबै पठनीय छन। पुस्तक आकारमा सानो भएकोले हात पर्ने बित्तिकै म पढन प्रोत्साहित भइहालें। केही घण्टाको खर्चमा पढी सिद्ध्याउँदा पुस्तकबारे विचार लेख्न पनि मन लाग्यो।

 कवितासंग्रह पढनु भनेको यात्रा हो। कवि पथप्रदर्शक बन्दछ त्यस यात्रामा। ऊ पाठकलाई कविता-कवितापिच्छे डोर्र्याउँछ र आफ्नु अन्तर्मनको भ्रमण गराउँदछ। कुन किसिमको भ्रमण गराउने ? पाठकलाई रंगीन ईन्द्रेणीमा चिप्लेटी खेलाउने, वसन्तको बहार लुटन लाउने वा बन्दुक बोकाएर अन्यायका विरुद्ध लडन पठाउने ? पाठकको मनमस्तिष्कमा कस्तो छाप छोडने ? सम्भवत: त्यसले संग्रहमा समावेश गरिने कविताहरूको छनोट निर्धारण गर्दछ। त्यसकारण, पाठकले पठनयात्रा प्रारम्भ गरेर समाप्त गर्दासम्म मस्तिष्कमा कविको एउटा छवि निर्माण गर्दछ। त्यस अर्थमा कवितासंग्रह पढनु कविसित परिचित हुनु पनि हो। वसन्त श्रेष्ठसँग मेरो व्यक्तिगत परिचय त छैन, तर यो संग्रह पढेर मैले उनको काव्यिक व्यक्तित्त्व मस्तिष्कमा कोरेको छु। यसै व्यक्तित्त्वको बयान गर्नु यहाँ मेरो उद्देश्य हो।

 वसन्त श्रेष्ठ मातृभूमिबाट विदेशिएका संवेदनशील व्यक्ति हुन्। उनका कविताहरू प्रवासी नेपालीहरूको नैराश्यता, छटपटी, पीडा, र आकांक्षाका प्रतिबिम्ब हुन्। उदाहरणका लागि क्रम कविताको एउटा अंश यहाँ उद्धृत गर्दछु:

ऊ हरीश गौचनको सट्टा

अब ह्यारिस विल्सन बनेको छ

परिवर्तन उसको कुनै रहर होइन

यस ठाउँमा हुनुको बाध्यता हो

त्यसैले आज ऊ

स्वदेशीबाट विदेशी र

नागरिकबाट शरणार्थी बनेको छ

 सहज तर सशक्त शब्दमा भावलाई पोख्ने वसन्त श्रेष्ठको एउटा विशिष्ट शैली छ। कविको सुसुप्त चैतन्यलाई कसरी विषम परिस्थितिहरूले जगाइदिन्छन, सटीक बिम्बको प्रयोग र सुन्दर अभिव्यक्तिमार्फत उनी म युद्धको घोषणा गर्छु भन्ने कवितामा यसरी बताउँछन्:

पानीको अभावमा

जसरी धरती फाटिदिन्छ

आकाश र बादलको संघर्षमा

जसरी आँधीबेरी आइदिन्छ

पहाड रिसाएर

जसरी ठूलो पहिरो ल्याइदिन्छ

अनि

मौसमसँगको अन्तर्द्वन्दमा

जसरी सागरले

समुद्री तुफान ल्याइदिन्छ

त्यसरी नै

मभित्रको मान्छे

जीवित भएको छ

 वसन्त श्रेष्ठ राजनैतिक सचेतना भएका, परिपक्व, आफु जन्मेको ठाउँ र देशबारे चिन्तित र चिन्तन गर्ने व्यक्तिका रूपमा आफ्ना कविताहरूमा प्रस्तुत हुन्छन। देशकाबारे पाउने गरेका नराम्रो खबर, नेतृत्त्वको असफलता, क्रान्ति, युद्ध, असमानता, र यिनै विषयमा उनले अधिकांश कविताहरू कोरेका छन। कविता भाव हो र संवेदनाको अभिव्यक्ति हो। तथापी, उनको कवितामा लहड छैन, संवेदनाको अतिशयोक्ति छैन। कविताहरू विचार-प्रधान छन। ती सामान्यतया औचित्यताको कसी वा अनुशासनमा बाँधिएका छन्। सीमाबद्ध संवेदनाका उदगार भएका छन्।

 यस कविता संग्रहमा बादलको आवारापन, पवनको चञ्चलता, झरीको वीरह, भमराको मतवालीपन, प्रेमको पागलपन, वा भनौं हृदयको कोमलता दर्शाउने कविताहरूको अभाव छ। तेह्रथुममा जन्मे हुर्केका भएता पनि उनले जन्मस्थलको प्राकृतिक सौन्दर्य, त्यहाँका खोलाको कलकल, वा हिमालको भव्यताबारे यस संग्रहमा कुनै कविता राखेका छैनन। उनले अहिले आफ्नु वासस्थल बनाएका देश अमेरिकाको प्रकृतिबारे पनि केही लेखेका छैनन। पाठकलाई यो अभाव यसकारण पनि खटकिन्छ, जब ऊ बीसवटा कविताहरू संकलित यस संग्रहमा दुइटा अति मीठा रोमानी कविता पढन पुग्दछ। तिमी कहाँ छौ? कवितामा कवि मायालुलाई सोद्धैछन:

तिमी

पातको तरेलीमा छौ

या आँखाको परेलीमा

तिमी ढुङ्गामा छौ

या माटोमा

पहाडको कन्दरामा छौ

या बुकीका फूलहरूमा

तिमी कहाँ छौ?

 “याद कवितामा कवि मायालुका साथ सुनसान जुनेली रातमा सँगसँगै हिंडद्छन। तर, तिनीहरूबिच वांछित सानिध्य छैन, एउटा भावनात्मक पर्खाल तेर्सिएको छ। एकअर्कासँग बोल्न पनि सकेका छैनन। हेर्नोस, कवि प्रेमको भावलाई कसरी पोख्दछन:

जसै पाइला अघि

बढ्दै जान्थे

नजानी-नजानी मेरा आँखा पनि

तिमीसँगै जान्थे

मनका धेरै कुराहरू

मुखमा नै अडकिएर

माया गर्ने यी ओठहरू पनि

भावावेशमा फरफराइरहन्थे।

लामो यात्रा धेरै छोटो लागेको थियो

हेर्ने, बोल्ने

बोल्ने, हेर्नेमै

हाम्रो बाटो फाटिसकेको थियो

मैले आशा गरेको छु, आगामी कवितासंग्रहमा कविले आफ्ना भावुक कारुणिक व्यक्तित्त्वलाई उजागर गर्ने कविताहरूलाई प्राथमिकता दिनेछन्। इच्छुक पाठकले पुस्तक खरिद गर्न सम्पर्क गर्ने ठेगाना र फोन नम्बर पनि पुस्तकमा नै राखिदिएर यस संग्रहमा रहेको त्यो अभावलाई कविले आगामी संग्रहमा मेटने छन् भन्ने पनि आशा गर्दछु। कविलाई यस्तै स्तरीय कवितासंग्रहहरू प्रकाशित गरिरहने प्रेरणा आइरहोस् भन्ने शुभकामना छ। अस्तु।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |