हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

१०२ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती ,(गीता खत्री )

१०२ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती
तथा
उत्कृष्ट पुस्तक पुरस्कार बितरण समारोह,
आर्लिङटन, भर्जिनिया

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रले अनेसास डि.सी. च्याप्टरको सहयोगमा भर्जिनियास्थित आर्लिङटन केन्द्रीय पुस्तकालयको सभा कक्षमा अक्टोबर ३०, २०११ आईतबारका दिन १०२औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ती तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक दुई दुई बर्षमा प्रदान गर्ने उत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोहको आयोजना गर्यो ।संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदुत महामहिम डा. शंकरप्रसाद शर्माले पानसमा बत्ती बालेर समारोहको विधिवत् उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन पश्चात् महामहिम राजदूत लगायत कार्यक्रममा उपस्थित साहित्य स्रष्टाहरु तथा साहित्यप्रेमी सहभागीहरुले स्वर्गीय महाकविको तस्वीरमा माल्यार्पण तथा फूलका गुच्छाहरु अर्पण गर्दैं महाकवि प्रति आआफ्नो  भावपूर्ण श्रद्धान्जली अर्पण गर्नुभएको थियो । अनेसास डि.सी च्याप्टरका अध्यक्ष श्री प्रकाश नेपालले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरे पश्चात दोहरी गीतका प्रसिद्ध कलाकार श्री रामप्रसाद खनालले महाकविको रचना— "कुन मन्दिरमा जान्छौ यात्री........" गीत गाएर श्रोताहरुलाई भावविभोर बनाउनु भयो  । तत्पश्चात अनेसासका पूर्व अध्यक्ष तथा बर्तमान सल्लाहकार श्री बसन्त श्रेष्ठले महाकविको संक्षिप्त जीवनीको विभिन्न रोचक प्रसंगहरु उल्लेख गर्दै महाकविको लेखनकला र बाकचार्तुयको चर्चा गर्नु भयो । त्यसपछि बरिष्ठ साहित्यकार तथा अनेसासको संस्थापक अध्यक्ष तथा बर्तमान बोर्ड अफ ट्रष्टीका अध्यक्ष श्री होमनाथ सुवेदीले डायस्पोरामा नेपाली भाषा, साहित्य कला र संस्कृतिको विकास र अनेसासले यसमा पुर्याएको योगदानको विस्तृत बिबेचना गर्दै १८ ओटा पुरस्कारको स्थापनाको ऐतिहासिक सिहांबलोकन गर्नु भएको थियो ।

त्यसपछि प्रमुख अतिथि डा. शंकरप्रसाद शर्माले सर्बोत्कृष्ट नारी हस्ताक्षरका लागि डिल्लीराम तिमसिना स्मृति पुस्तक पुरस्कार अमेरिकी डलर ४०० र सम्मानपत्र बोष्टन निवासी श्रीमती भारती गौतमलाई प्रदान गर्नु भयो । त्यस्तै सर्वोत्कृष्ट नेपाली गीती कविताका लागि अनेसास हरिभक्त कटुवाल स्मृति पुस्तक पुरस्कार अमेरिकी डलर २०० र सम्मान–पत्र श्री नर बहादुर बिसीलाई प्रदान गर्नु भयो भने सर्वोत्कृष्ट धवलागिरि अञ्चलका पुस्तकका लागि अनेसास रोहिणी शर्मा सर्वोत्कृष्ट पुस्तक पुरस्कार अमेरिकी डलर २०० र सम्मान–पत्र श्री भुपिन व्याकुललाई प्रदान गर्नु भयो । त्यस्तैगरी तृतीय अनेसास डायस्पोरा नृपध्वज कार्की नेपाली साहित्य पुरस्कार अमेरिकी डलर ५०० र सम्मान–पत्र बेलायत निवासी श्री कृष्ण बजगाई उपस्थित हुन नसक्नु भएकोले उहांको आदेश अनुसार श्रीमती नन्दादेवी सुबेदीलाई प्रदान गरियो । पुरस्कार विजेताहरु क्रमश भारती गौतम, नरबहादुर बिसी र भूपिन व्याकुलले पुरस्कार ग्रहण गर्दै आआफ्नो मन्तव्य दिनु भएको थियो ।

अमेरिकी भ्रमणमा रहेका नेपालका साहित्यकार श्री बालकृष्ण भटराईलाई खादा ओढाएर सम्मान गरियो । त्यस्तै अनेसासका बोर्ड अफ ट्रष्टीका सम्पृ्र्ण सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम थियो, तर सबै ट्रष्टीहरु उपस्थित हुन नसक्नु भएकोले उपस्थित ट्रष्टीहरु सर्बश्री होमनाथ सुबेदी, शिव प्रसाद सत्याल, तिर्थराज पाण्डेलाई सम्मान गरियो ।

तत्पश्चात, महामहिम राजदुत डा. शंकरप्रसाद शर्माले होमनाथ सुबेदीले लेख्नु भएको प्रेम दिवस कवितासंग्रह र डा. मोहनप्रसाद जोशीको  'कहां छ ठाउं' कवितासंग्रहको लोर्कापण गर्नु भयो भने साहित्यकार गंगा लिगलले लेख्नु भएको पत्र मन्जुसा  चिठीपत्रको संगालो पुस्तकको विमोचन अबैतानिक नेपाली बाणिज्यदुत श्री प्रेमराजा महतले गर्नु भएको थियो । 'कहां छ ठाउं' र 'पत्र मन्जुसा'को समिक्ष्या बरिष्ठ साहित्यकार श्री होमनाथ सुबेदीले गर्नु भएको थियो भने प्रेमदिवसको समिक्ष्या गीतकार श्री नरबहादर बिसीले गर्नु भएको थियो ।

प्रमुख अतिथि डा. शंकरप्रसाद शर्माले आफ्नो मन्तव्य राख्दै अनेसासले प्रवासमा बसेर नेपाली भाषा र साहित्यको लागि गरेका कार्यहरुको प्रशसा गर्नु भएको थियो ।

अनेसासका आजिवन सदस्य तथा १०२ औ देवकोटा जयन्ती समारोह समितिका सदस्य श्री खेम भट्टचनले उपस्थित पाहुनाहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

समारोहको अध्यक्षता अनेसास केन्द्रीय कार्यसमितिका महासचिव श्रीमती गीता खत्रीले गर्नु भएको थियो । अन्तमा प्रमुख अतिथि लगायत नेपालबाट र बोष्टनबाट पुरस्कार ग्रहण गर्न आउनु भएका साहित्य स्रष्टाहरुलाई बधाई दिदै, पुरस्कार प्रायोजकहरुलाई सिर्जनात्मक कार्यका लागि पुर्याउनु भएको योगदानको लागि धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन गर्नुभएको थियो ।

कार्यक्रमको संचालन अनेसास डि.सी च्याप्टरका महासचिव श्री बिजय थापाले गर्नु भएको थियो ।

समयको अभावले गर्दा दुई बजे देखि चार बजेसम्म उक्त पुस्तकालयकै विशेष अध्ययन कक्षमा १० जना साहित्यकारहरुले विभिन्न विषयहरुको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यपत्रहरुको संकलन गरेर छ महिनाभित्रै एउटा पुस्तक प्रकाशन गरिने लक्ष्य राखिएकोछ ।

त्यसैगरी कविता बाचन पनि औपचारिक कार्यक्रम शुरु हुनुभन्दा अगाडि नै सम्पन्न गराइएको थियो ।



गीता खत्री, प्रमुख संयोजक,
१०२औ देवकोटा जयन्ती तथा उत्कृष्ट पुस्तक पुरस्कार समारोह समिति
महासचिव, केन्द्रिय कार्य समिति
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
अक्टोबर ३१, २०११

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |