हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजलनगरीमा एकवर्ष ,(प्रकाश सायमी )

सन् २००८ को अगस्ट २३ दिन मैले गजलका वारेमा दोस्रो भावभिनी परीक्षा दिएको थिएँ, गजलनगरी चित्तवनमा गएर, त्यो प्रिय दिवसलाई म आज पनि डरले सम्झिन्छु, प्रेमले विर्सिन्छु ।

कविता र गीतसितको मेरो सम्बन्ध रेडियो सुन्न थालेदेखि नै हो तर गजलसितको मेरो आत्मीयता त्यति परापूर्वकालीन होइन भन्छु म । गजल मैले पहिलो पटक पाकिस्तानी गायक मेंहदी हसनको स्वरमा एक परिचिताको निवासमा काठमाण्डूमै सुनेको हो ।

गजल भनेको मेरो निम्ति त्यतिवेला एक धीमा गतिको गीत मात्र थियो र, जब परिचिताले मलाई गजलको गायन, प्रस्तुति र संरचनाको वारे व्याख्या गर्दा म झन् टाढा भागेँ ।

संयोगले वा वाध्यतामा मैले पत्रकारिता कर्मको दौरानमा मेहँदी हसन, गुलाम अली, पंकज उधास, अनूप जलोटाको नेपाल आगमनका वेला अन्तर्वार्ता गर्न पाएँ, त्यसपछि साँच्चै गजल मेरा निम्ति चिरपरिचित विधा हुन पुग्यो । अनि गजल सुन्न होइन, पढ्न थालेँ ... गालिब, मीर, मोमिन, दाग हुँदै मजाज, शीरानी, फैज, साहिर, कतिल शिफाइ, नासिर काजमी, अहमद फराज, फरहत शहजादको हाराहारिमा आइपुगेँ । गजल केही बुझ्न थालेँ, अनि बुझाउन थालेँ । त्यसपछि म गजल पारखीका अगाडि कतआत के हो, मख्ता के हो, तखल्लुस कहाँ प्रयोग हुन्छ बोल्दै हिँड्न थाले ।

यति जानेको भरमा एकदिन साँच्चै मैले गजल सम्बन्धी कार्यक्रम चलाउनु पर्ने दिन आयो, त्यसलाई मैले शुरुमा सौभाग्य ठानेँ । त्यो सौभाग्य मेरा निम्ति विस्तारै चुनौति बन्दै गयो । शाम ए गजल नामको सो कार्यक्रम एफएम जगतको पहिलो गजल कार्यक्रम थियो र, दुर्भाग्यवश म त्यसको पहिलो प्रस्तोता ।

गजल जानेको र बुझेको आधारमा मैले काठमाण्डूलाई सानो सहर ठानेँ तर त्यो होइन थिएछ  । तर यहाँ गजल बुझ्ने मभन्दा भयानक योद्धा हातमा हतियार नलिई मैदानमा उभिएका रहेछन्, कार्यक्रम सकिएकै भोलिपल्ट कोही पत्र लेख्थे, कोही फोन गर्थे, कोही इमेल गर्थे । म ती सबलाई एकान्तमा लुकेर पढ्थे र मौनसाधना गर्थेँ, यिनै हुन् मेरा गुरु भनेर ।

ती सब गुरुवरलाई भेट्ने मौका मिल्यो एकदिन देवकोटा जयन्तीमा । डिल्लीबजारको सांस्कृतिक भवनमा । भेट आकस्मिक थिएन तय थियो अलि अलि भय पनि थियो । त्यो भेटमा तिनले मलाई  पालैपालो परीक्षण गरे । म त्यसदिन चकित भएँ , नेपाली गजल भनेर म जे गजल बजाउँदै थिए ती गजल होइनन् , ती त गजल भित्रका गुगल मात्र रहेछन् । हेर्नुस्, त्यो कालिप्रसादको गजल गलत छ, प्रकाश अधिकारीले लेखेको गीत हो, गजल होइन ...फलाना गजलको काफिया खोई, फलाना गजलको रदीफ मिल्दैन ... आदि इत्यादिको नाउँ लिँदै तिनले मलाई त्यो सभामा घेराबन्दी गरे । ती सबै ममाथि औँला उठाउनेको अनुहार हिसाब किताब मिलाएर म हेर्छु , ती कोही गजलकार होइन रहेछन् तर कसरी तिनले यतिविध्न जाने , कसरी दावाका साथ मलाई धर्ना दिँदैछन्, म चकित परेँ । म आत्तिन पनि थालेँ , यति लोकप्रिय भइसकेको कार्यक्रमलाई रोकूँ कसरी ? नरोकूँ आफै त्रासदीमा छु ।

चलचित्रकर्मीका रुपमा कमाएको अलिकति भएको ख्याति एउटा रेडियो प्रस्तोताको रुपमा नाश हुने हो कि ? डर बढ्दै गयो । तर ती सबै अभ्याक्रमी र आक्रोशी अनुहारभित्र मलाई अपार माया गर्ने भावकको तस्वीर साक्षात थियो । म विम्बित भएँ । ती विद्राही स्रोताले मलाई भोलिपल्टबाट राम्रा राम्रा गजलका स्रोतव्य सामग्री दिएर मलाई थप बल दिए । करीब एकवर्षको त्यो नैरन्तर्य यात्रामा मेरा स्रोता र मेरो वीचमा गजलको भूगोल बिग्रिँदै र  बन्दै गयो । मलाई काठमाण्डूमा हुने हरेक कार्यक्रममा गजलको गोताखोरको रुपमा व्याख्या र परिचय दिन थालियो । मञ्चमा उभ्याइने काम थालियो । यसवीच मिडिया चक्रमा थुप्रै  गजलप्रधान कार्यक्रम चल्न थालिसकेका थिए ।

म एउटा यस्तो गधा बन्न पुगेँ, जो घोडादौडमा घोडा दौडेर प्रथम भएको समारोहमा तक्मा थाप्ने त्यस्तै घोडसवार हुनपुगेँ जो अरुले गरेको मिहेनतमा छाति थाप्दै थियो । यहाँ नजानेर दिइने पपसम्राट, गजलकिँग यस्ता पदवीबाट म विस्तारै परिचित हुन थालेँ । काठमाण्डूको हरेक कार्यक्रममा  ती नै गजलकार भेटिन थाले जसलाई शुरुशुरुमा म गजलकार भनेर उनका गीत बजाउँथे, ती नै यसपालि यसो भन्दैछन्, “तपाइँले गरेर हामी शुद्ध गजल के हो बुझ्दैछौँ ।

विक्रमाब्द २०५६ र २०५७ का वीच मैले गजलका थुप्रै कार्यशाला, गोष्ठि र सभासमायोजन गरेँ, जसमा साँच्चैका गजल कस्ता हुन्छन् चर्चा मात्र भएनन् त्यही शिविरमा गजल लेखन प्रशिक्षण पनि आयोजन भो । जुन प्रशिक्षणबाट थुप्रै अपरिचित अनुहार गजलकारको नाउँमा मैदानमा आए । त्यसपछि मैले गजल कार्यक्रमबाट विदा लिएँ । यतिवेलासम्म पोखरा र चित्तवनका एफएममा गजल सम्बन्धी कार्यक्रमको विस्तारण भइसकेको थियो ।

गजलबाट विश्राम लिएकै समय म हुत्तिएर एकदिन चित्तवन पुगेँ, त्यहीँको एक व्यावसायिक एफएमको व्यवस्थापन मिलाउन । पेशाले र कर्मले यो मेरो चौथो मुकाम थियो ।

सन् २००८ को अगस्ट २३ का दिन चित्तवनको अग्रगामी समाज नेपाल र गजल मञ्च चितवनको आयोजनमा हुनगइरहेको १४३ औँ मोतिजयन्तीमा मलाई एक विशेष अतिथिका रुपमा मञ्चमा बोलाइयो । मोति हाम्रो स्मृतिमा नाम दिइएको सो कार्यक्रममा मलाई उद्घोषक मित्रले मञ्चमा बोलाउँदा गजलका ज्ञाता भनेर सम्बोधन गर्दा म फेरि दोस्रो पटक चुनौति र परीक्षाको परिवन्दमा परेँ । मसँगै प्रेमपूर्वक मञ्चस्थ प्रिय गीतकार प्रेमविनोदन नन्दनले दिएको मेरो परिचयलाई उद्घोषक विनोद अनुजले बारम्बार गजलकार भनेर परिचय दिईरहँदा मेरो नाउँमा जम्माजम्मी दुई गजल प्रकाशित थिए वा उनले दिएको त्यो तक्माको भागी थिएँ कि थिइँन झ्न अलमलमा परेँ । जेसुकै त होस् भनेर म मञ्चमा चढेँ ।

मञ्चमा बसेर त्यहाँका एकसयएक गजलकारको सुन्दै जाँदा मैले आफ्नो परीाक्षा अझै कठोर हुने अनुभाव्य क्षण देखेँ । स्थानीय तहका निकै लोकप्रिय गजलकार मिथिला प्याकु¥याल, भीम न्यौपाने, विमलप्रकाश देवकोटा, सुरेन्द्र अस्तफल, भूपिन व्याकुल, भावना पाठक, जीवन शर्मा प्रणय, सामना पहाड, विजयराज ज्ञवाली, प्रभाकर पण्डितका गजलले वाहवाही पाइरहेको वेला म चिन्ताका क्षणमा एक्लै दौडिरहेको थिएँ ।

गजलवाचनमा स्वरको उस्तै आरोह अवरोह, शब्दचयनमा उस्तै नवनीत खाका । हरेक प्रस्तुतिमा आवेश र संयम एकसाथ देखिन्थ्यो ।

मञ्चमा रहेका गजलकारहरुलाई एकसरो आँखा च्यातेर ती सबै आआफ्नो दम जमाएर बसेका हस्ति छन्, केशवराज आमोदी, गोविन्दराज विनोदी, धनराज गिरी, कपिल अज्ञात, प्रेमविनोद नन्दन... आदिआदि । म ती सबका सामू नामधाम गुमाएर बसेको थिएँ, एक अपरिचितजस्तै ।

नयाँ गजलकार मिथिला प्याकुरेलले

मेरो घरमा शङख बज्दा त्यसको तालमा नाँच्नु तिमी

म त मरेर माटोमा मिल्छु युगौं युग बाँच्नु तिमी

तिम्रो घरमा शंख बज्दा  भन्ने गजल वाचन गरिरहँदा बाटोमा उभिएर सुनिरहेका एक रिक्शावालाले वाह ! भनेको सुन्दा सारा मञ्च नै तरङ्गित भएको त्यो क्षण मैले आफूमा पनि त्यस्तै झस्का पसेको महशुश गरेँ । वरिष्ठ गीतकार प्रेमविनोद नन्दनले दिनमा एघारओटा गजल लेख्ने गजलकार भनेर चिनाएका प्रमिला कोइराला होस् वा घनश्याम परिश्रमीले तालिमी गजलकार भनेर चिनाएका भीम न्यौपानेलाई सुन्दाको क्षण अति प्रीतिकर र मधुर रहेको त थियो तर मेरा निम्ति त्यति नै अवसादपूर्ण बन्दै गयो । म यो गजलनगरीमा  अब गजलवारे फेरि कस्तो बयान दिऊँ ? मेरा चारैतिर गजलकार हैनन्, न्यायमूर्तिहरु बसिरहेको मैले महशुश गरेँ ।

गजलवारे मैले के बोल्ने, के वाचन गर्ने मेरा निम्ति दोस्रो परीक्षा थियो यो । गजलकारका साथी, गजलका सारथि पुष्प अधिकारी अञ्जलि मञ्चमा बोल्न उक्ले पछि उनले मतिर हेर्दै भने आज हाम्रा आगे गजलका विज्ञद्धय हुनुहुन्छ, डा. घनश्याम न्यौपाने र प्रकाश सायमी सर ... उनले मेरो नाममा दिएको ताउले म झन् विचलित भएँ । अब मलाई डरले भित्र भित्र र गजलले बाहिर बाहिर सुम्सुम्याउन थालिसकेको थिए । चितवन गजल क्षेत्रमा यति विध्न अगाडि र युवापुस्ता यतिविध्न सक्रिय होला भन्ने मलाई थाहा थिएन ।

गजल यतिवेला मेरा लागि नयाँ विधा नभएर म चैँ गजलका निम्ति नयाँ मात्रा बन्नपुगेको त्यतिवेला महशुश गरेँ जब पुष्प अधिकारी अञ्जलिले चितवन गजलको राजधानी हो भने ।

हुसैन खाँ, गोर्खे साइँलो, बालकृष्ण थपलियाले आफ्नो गजल सुनाएपछि म विस्तारै भारतका चर्चित गजलकार बशीर बद्रको उपकथाको नजीक पुगेँ । उनी भन्थे, गजल नजान्नेले यसवारे बोल्छन् , जान्नेले लेख्छन् ।

यस्तै एउटा घटना काठमाण्डूमा घटेको एउटा

हजुरले एउटा गजल पनि वाचन गर्नुपर्ला भनेर उद्घोषक अनुजले मलाई दोहोरो आग्रह गर्दा निकटवर्ती शहरबाट आएका अर्का अतिथिले  हा मा हा थपिदिएँ । म त्यसपछि उभिएँ, आफ्नो एउटा पुरानो गजल लिएर ।

मैले गजल वाचन शुरु गर्ने वित्तिकै गजलकार धनराज गिरीले लय मिलाइहालेँ , धनराजजीले मेरो पहिलो चितवन आगमनमा सायमी ए गजल सुनाएर मलाई पज्जल बनाएका थिए, ती त्यस्तै रहेछन् अहिले पनि । गजल वाचनको लगत्तै मैले  सन् १९७८ को सेप्टेम्बर ९ मा धर्मयुगमा प्रकाशित मोतिराम भट्ट र भारतेन्दु हरिश्चन्द्रको गजलको जुवारीको कथा र मोतिराम भट्टको कपडा फाड के को प्रसँग सुनाइदिएपछि ती गजलकारहरु विस्तारै मतिर आकर्षित भए । केही नेपालका, केही भारतका र केही पाकिस्तानका गजलकारका चर्चासितै मैले पहिलो पटक त्यहीँ भने गजल अरबी भाषाबाट प्रभावित भनिन्छ तर प्रख्यात गजलकार मीर तकी मीरले आफूले अमरोहका सैय्यद सआदत अलीसित गजल लेख्न सिकेको इतिहास उल्लेख गरेका छन् । तर स्मरणीय कुरा के छ भने सैय्यद सआदत अलीले सन् १७२२ पूर्व संस्कृत सिकेर मात्र गजलमा प्रवेश गरेको स्वीकारेका छन् ।

यो संक्षिप्त इतिहास जानेको कारणले त्यो दिन मलाई नवागत पुस्ताका निम्ति एउटा सन्देश दिने मौका मिल्यो जो त्यतिवेला सम्म गजल भनेको हिन्दी, उर्दू र अरबीभाषाको उपहार हो भनेर पीडित पोषित थिए ।

त्यो दिन सुनेका गजलले मेरो समस्यालाई नयाँ ध्वनि त  दियो नै तर एउटा थप तरङ्ग के दियो भने म नराम्रो गजल सुन्न यो गजलनगरीमा आएको होइन रहेछु , पछि सम्म ती गजलकारको स्वर मेरो कानमा गुञ्जिरह्यो जसले एफएम सुनेको भरमा त्यो दुरसुदुरमा बसेर कति राम्रा, शक्तिशाली गजल लेखेका छन् र त्यतिकै मधुर लयमा वाचन गर्न सिकेका छन् । विद्युतीय तरङ्गलाई यसअर्थमा हृदयतः सलाम गर्नैपर्छ ।

अरुको वेशभूषाले हामीले आफ्नो इज्जत ढाकेजस्तै अरुको विधालाई पनि हामीले यति पछि सिकेर पनि इज्जतसँग राखेकै छौँ त ?

म खुशी भएँ, यो गजलनगरीमा आएर । यसपछि म चितवनका पचासौँ गजल गोष्ठि र कार्यक्रम कहिले प्रमुख अतिथि, कहिले मुख अतिथि बोल्न मात्रै जाने), कहिले समीक्षक भएर सहभागी भएँ तर त्यो जस्तो उत्कृष्ट कार्यक्रम दोहोरिएर मेरो जीवनमा आएन ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |