हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

घिमिरे र त्रिपाठीसँग-एक कार्यक्रममा,(हरि घिमीरे )


प्रेमदत्त गोमा त्रिपाठी स्मृति प्रतिष्ठानको वार्षिक कार्यक्रममा सहभागी हुने मौका मिल्यो। सुप्रसिद्ध समालोचक
, कवि,लेखक तथा प्राध्यापक डा. वासुदेव त्रिपाठी संरक्षक रहेका यस सँस्था उनकै माता-पिताका नामबाट खोलिएको रहेछ। दिवङ्गत माता-पिताका चिरस्मृतिमा भाषा-साहित्य,सँस्कृति र नेपाली सामाजिक जीवनका विविध फाँटका अनि आफ्नो जन्मस्थानको सामाजिक-शैक्षिक स्तरलाई माथि उठाउन सक्दो सहयोग गर्ने उद्देश्यले २०६५ साल असोज १९ गते डा. त्रिपाठीद्वारा स्थापना भएको सँस्था रहेछ। यस वर्ष पनि विविध क्षेत्रमा ख्यातिप्राप्त गरेका विशिष्ट प्रतिभाहरुलाई सम्मानपत्र र नगद पुरस्कार प्रदान गरियो भने डा. वासुदेव त्रिपाठीको कविता,काव्य र गीतिको कृतिकुञ्ज रचनाकुञ्जको राष्ट्रकवि माधव घिमिरेद्वारा विमोचन गरियो। यो एउटा औपचारिक कार्यक्रम भए पनि यसको महत्व चाहि वासुदेव त्रिपाठी जस्ता मूर्धन्य समालोचक-कवि-लेखक-प्राध्यापकको सक्रिय जीवनको उपलव्धिको थियो भने अर्कातिर चौरानव्वे वर्ष टेक्न लागेका राष्ट्रकवि माधव घिमिरेको सशक्त सक्रियताले बोकेको थियो। उनको उपस्थितिले सगौरव प्रेरणाको अनुभूति सबैले गरेका थिए। माधव घिमिरेसँग अझै पनि त्यही जोश छ जुन जोश बाइस वर्षे उमेरमा थियो। अभिव्यक्ति पनि त्यही सौन्दर्यले भरिएको छ जुनबेला कवि –“आई कैल्यै पनि नसकिने चैत वैशाख मेरो, लाई कैल्यै पनि नसकिने प्रीत नौलाख मेरो......भनेर कुर्लन्थे। साङ्गितिक थर्थराउँदो शैलीमा बोल्ने कविको पीडा देशको वर्तमान स्थितिले राष्ट्रनिर्मातामा व्यक्त पीडाभन्दा फरक थिएन-यो राष्ट्र मृगको मासु होइन जो धार्नी-बिसौली भनेर भाग लगाएर खाने। इतिहासका पात्र दलमर्दन शाह र वहादुर शाहको चरित्र वर्तमानाका राष्ट्रनिर्माताभित्र पनि कवि खोजिरहेका छन् र कवि भन्छन्-ईतिहासबाट पाठ सिकौं-नेपाली हामी रहुँला कहाँ नेपालै नरहे। वियोग र वेदना बोकेर सौन्दर्य चेत छर्दै एउटा युग बोकेर हिडेका तरुण तपस्वी कवि घिमिरेभित्र जुन सम्वेदना छ त्यो सम्वेदनाले सबैलाई छोयो;सन्नाटा छायो,स्तव्ध बनायो। चौरानब्बेमा पनि मुटुमा माटाको माया साँचेको छ। ढल्कदो उमेर र फक्रदो विचारबीचको सन्तुलनमा पनि गौरी र पापिनी आमाको दर्शन बाँचेको छ। महाकाव्य लेखेर सक्न लागेका कवि घिमिरेले अन्तर्भावना पोखे-समय थोरै भएकाले दिनभरि महाकाव्य लेखेर बस्थें तर आज यो कार्यक्रमको लोभलाई संवरण गर्न सकिन र आएँ।\" लगभग छ: घण्टा बिताएका कविको महाकाव्य लेख्ने समयको क्षति भए पनि धेरैले आशीर्वचन सुन्ने मौका पाए।   

डा. वासुदेव त्रिपाठी मूलत: नेपाली समालोचना क्षेत्रमा डा. नगेन्द्र भनेर चिनिने सुप्रसिद्ध समालोचक हुन्। तर कविताका क्षेत्रमा बामे सर्दै गरेका त्रिपाठीको कवि-प्रतिभाको मूल नै फुटेछ र अहिले सम्झनाकुञ्ज, जीवननिकुञ्ज, सृजनकुञ्ज अनि रचनाकुञ्ज गरी चार विशालकाय कृति प्रकाशित भएका छन्। महाकवि लक्ष्मीप्रसाद देवकोटाले स्वच्छन्दतावादी प्रवृत्तिबाट धाराप्रवाह कविता लेखेर सबैलाई चकित बनाए जस्तै डा. वासुदेव त्रिपाठीले पनि यही धारामा टेकेर कविता लेकेको पाइन्छ। प्राध्यापन पेशामा बसेर कक्षाकोठामा धाराप्रवाह बोल्न सक्ने त्रिपाठीको पछिल्लो दशकको काव्यशैलीलाई त्यसैले सघाएको जस्तो लाग्छ। बोलेकै कुरा टिप्ता पनि गद्यकविताको उच्च नमूना बन्ने उनका कविता झन् ज्यादा कविताबनेकाछन्।मुख्यत: मेरो सँस्कृत र अङ्ग्रेजीलगायत पाश्चात्य साहित्य तथा साहित्यसिद्धान्त र समालोचनाको अध्यनका साथै २०१७-१९ साल बीच टुसाई २०२० सालदेखि विशेष अङ्कुरित भई २०२३-२४ सालदेखि फस्टाउँदै मेरो साहित्यिक समालोचनाको साधनाले पनि मेरो द्रष्टालाई ब्युँझाई मेरा कविता सृजनामा मौलिक, निजत्व,परिष्कार र गुणस्तरीय साधनाको अपेक्षातर्फ मलाई उत्प्रेरित गर्न थालेको कुरा मेरो अविराम साहित्य यात्राको एक खास सन्दर्भ हुँदै हो। डा. त्रिपाठीको यो स्वीकारोक्तिले उनका काव्यसाधनाको परिचय छर्लङ्गसँग पाइन्छ। रवीन्द्रनाथ ठाकुर र माधव घिमिरेका कविताबाट आफू ज्यादै प्रभावित भएको कुरा उनले बताउँदा नजिकै बसेका माधव घिमिरे मुस्कुराउँदै थिए। उनले भनेका थिए-२०४५ सालतिरै सुरु भएको मधुमेह रोगको शारीरिक नाकाबन्दी र प्रारम्भिक ग्रीवास्थिभ्रंशको पीडा र शारीरिक अतिशीतसंवेदिताका संयुक्त चापप्रतिचापको बीच मिताहारविहार तथा ओखती-उपचारले जिउँदै दुइ दशकका बीच कविता सृजनमा म सक्दो लागिरहें र विशेष गरी लगभग चालीस वर्ष त्रि वि प्राध्यापन सेवा (२०२४-२०६३) बाट निवृत्त अपेक्षाकृत फुर्तिलो तर स्वास्थ्यप्रतिकुल उत्तरवयका वार्धक्यका बीच कवितालाई प्रथम प्रेय तुल्याउँदै म यतिखेर आफ्ना कविता र काव्यका सृजन, परिमार्जन र प्रकाशनतर्फ विशेष उन्मुख हुदैछु  डा. त्रिपाठीका प्रवचन सुन्दा पट्यार लाग्दैन, समय गएको थाहा पाइदैन अनि खोक्रा-आदर्शका कुराहरु भेटिदैन। एउटा अद्भूत क्षमताको बोलीभित्रको सम्मोहनमा सबै पर्छन्। मैले उनको गतसाल प्रकाशित किताब सृजनकुञ्ज हातमा लिएको थिएँ। यसो पल्टाएर हेरें। आँखा पर्यो एउटा पङ्तिमा-

उनै हुन् किराती उही लिच्छवित्व

खसानी जहाँ छन् उही भोट तत्व

यही मैथिली यै पहाडी छ योग

महाजाति नेवार आफै प्रयोग॥

उनका कविताका बारेमा फेरि चर्चा गर्ने प्रयास गरौला तर यस दिनका कार्यक्रमले डा. वासुदेव त्रिपाठीको अद्भूत प्रतिभालाई चिन्ने मौका एकातिर मिल्यो भने अर्कातिर युगपुरुष राष्ट्रकवि माधव घिमिरेसँग सामान्य अन्तर्क्रिया गर्ने र उनका आशीर्वचन सुन्ने मौका पाइयो। यो सौभाग्यलाई अविष्मरणीय बनाउन सामान्य टिपोटमात्र गरेको हुँ।

 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |