हालसालैका लेखहरु : लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ ) दशैँ ,(सुशील शाह)

'यात्राको बङ्गलादेशमा' यात्रा गर्दा,(रजनी ढकाल)


यात्रामय जीवनको यात्रा यत्तिकै पनि कौतूहलपूर्ण हुन्छ । किनकि यात्राले मानसिक आनन्द दिन्छ । ज्ञान दिन्छ । यात्राको नितन्तरतामा जीवनमा नयाँ नयाँ स्वादहरू भेटिन्छन् । त्यसैले मान्छेलाई यात्रा प्रिय लाग्छ । अनि बारम्बार यात्रा गर्न हौसिन्छ मान्छे ।

यात्रा जति चुनौतिपूर्ण हुन्छ, त्यत्तिकै रोमाञ्चक पनि हुन्छ । यात्रामा पाएका हण्डर, दु:ख र अप्ठ्याराहरू अनि सु:ख, सुविधा र सुन्दरताहरू नै जीवनका एकएक खुट्‌किलारूपी पाठहरू हुन् भन्ने लाग्छ मलाई । ती अनुभवबाट नै धेरै कुरा सिक्ने र जान्ने अवसर प्राप्त हुन्छ । त्यसैले यात्रारत रहनु जिज्ञासु मानवीय स्वभाव हो । घुमेर र हेरेर धेरै कुरा सिक्न खोज्नु, मनोरञ्जन लिन खोज्नु अनि ती अनुभवहरू अरूलाई साट्न खोज्नु मानवको मौलिक स्वभाव हो ।

हुन त मैले आफ्नो जीवनमा उतिधेरै यात्राका अवसरहरू प्राप्त गरेकी छैन । तर यात्राले दिने आनन्दानुभूतिबाट पूर्णरूपमा वञ्चित पनि छैन । फेरि अरूका यात्रामय जिन्दगीहरू पढ्दा निकै छटपटी र उत्साह लागिरहन्छ यात्रा गर्न । लामो यात्रा गर्न । परदेशको यात्रा गर्न । कत्ति पनि नचिनेको नजानेको ठाउँको यात्रा गर्न । सायद मानवभित्रको यायावरीय स्वभाव ममा पनि छ । तर समय र परिस्थितिले जुराउन नसकेको साइतलाई मेरो मनको कुनै रहरले पनि सजिलै बाटो खुलाउन सक्दैन झैं लागिरहन्छ ।

त्यसैले आजभोलि कोठाभित्रै बसीबसी जिन्दगीका यस्ता यात्राहरूलाई छाम्ने कोसिस गरिरहेकी छु । त्यसैले नियात्राका पुस्तकहरू मेरो जीवनका सहयात्री बनेर आउन थालेका छन् । केही दिन अगाडि मात्रै यात्राका प्रेमिल तरङ्गहरूमायालु बतास अनि रङहरू पढ्ने मौका पाएकी थिएँ । ती पुस्तकहरूमा यात्रारत मेरो पाठक पश्‍चिमी मुलुकका विभिन्न देशमा रमायो । यो आनन्द बेलायततिर बरालिंदाले पनि निकै अगाडि दिइसकेको हो ।

यस्ता कृतिहरूको लर्कोतिर लाग्दिनँ म । तर कोठैमा बसीबसी ती लेखक यात्रीहरूसँगै मेरो यात्रा अगाडि बढ्यो । माध्यम बने पुस्तकका जीवन्त हरफ र अनुच्छेदहरू । ती पुस्तकहरू पढिसकेपछि मलाई के लागेको थियो भने यात्रीहरूले गरेका वास्तविक यात्राभन्दा पुस्तकका अक्षरहरूका माध्यमबाट गरिएको मेरो यात्रा अझ बढी फलदायी र आनन्दायी छ । किनकि म आफैं ती यात्रामा गएको भए सायद यति धेरै जानकार हुन सक्दिनँथें किनकि मेरो यात्रामा मेरो व्यक्तित्वको परिधिले म बाँधिएकी हुन्थें । आफूभन्दा फरक सोच र अनुभव भएका व्यक्तिहरूका यात्रासंस्मरणले मलाई धेरै जान्ने र बुझ्ने अवसर दिएका छन् । फरक बौद्धिक र मानसिक क्षमता अनि संवेदनशीलता भएका पात्रबाट ग्रहण गरिएका यात्रानुभवले कसलाई फाइदा नभएको होला र ? एउटै भौगोलिक परिवेश र स्थान किन नहोस् प्रत्येक व्यक्तिको नियात्राले फरक फरक कला, शिल्प र ज्ञान दिन्छ भन्ने कुरामा म विश्‍वस्त छु । त्यसैले ती पुस्तकहरूमा व्यक्त लेखकीय विचार, अनुभूति र सौन्दर्यको रसपानले म अझ बढी लाभान्वित भएकी छु ।

यसक्रममा आज म अर्को कृति यात्राको बङ्गलादेशमा छु । यो नौलो यात्रामा नगेन्द्र न्यौपानेले आफ्ना शिल्प र अनुभूतिले आफ्नो यात्रालाई रङ्गाएर म पाठकलाई नियात्राको रोचकतामा औपन्यासिक स्वाद दिन सफल भएका छन् । मेरो पाठकीय मन आख्यानात्मक स्वाद लिंदै यात्राको कौतूहल सिंढीहरू लगातार चढिरहन्छ चढिरहन्छ ।

केही दिन अगाडि मेरा आदरणीय व्यक्तित्वको हातबाट उपहारका रूपमा प्राप्त यो पुस्तकले मलाई मेरो शयनकक्षमा बसीबसी यति रोमाञ्चक तरिकाले बङ्गलादेशको यात्रामा लैजाला भन्ने कुराको अनुमान मैले गरेकी थिइनँ । अझ यस पुस्तकको सामान्य भूमिकाले त्यति उत्साहित बनाउन नसकेको मेरो मन पुस्तकभित्र पस्दा यति रोमाञ्चक रूपमा रूपान्तरित होला भन्ने त धेरै परको कल्पना हो । एकैपल्ट उपहारका रूपमा पाएका दुई पुस्तकमा यसले दोस्रो स्थान पाउनु पनि यसको सामान्य परिचय नै हो । तर अकबरी सुनलाई कसी लगाउन पर्दैन भनें झैं जब मेरो पाठक मन पुस्तकको पहिलो भागतिर विचरण गर्न थाल्यो तब उसले विश्राम नलिने निर्णय गर्‍यो । दुई शब्द लेखक राजेश्‍वर देवकोटालाई जस्तै मलाई पनि लाग्यो, विषयलाई प्रस्तुत गर्ने र वर्णन गर्ने शैली नै रोचक भएकाले लेखकले सुरुदेखि अन्त्यसम्म पाठकलाई उत्सुकतापूर्वक पढ्न लगाएको छ । यो रोचकता मलाई मात्रै लागेको हैन मेरा परिवारका साहित्यिक इतर सदस्यले पनि यसलाई उत्तिकै रुचिपूर्वक पढेपछि यसमा केही शब्द लेख्‍ने जमर्को गरेकी छु ।

यात्रा गरेको धेरै समयपछि मात्रै पुस्तक लेखिएको कुरा भूमिकामा पढ्दा लागेको थियो, पुस्तक कति जीवन्त होला ? अझ पुस्तक लेखिएको स्थान बङ्गलादेश वा नेपाल नभएर अमेरिका हुनाले पनि पाठकको मन एक किसिमले विरक्तिन सक्छ । जुन मलाई भएको थियो । तर मेरो अनुमानलाई मेरो रोमाञ्चक यात्रु मनले लोप्पा ख्वाइदियो । यसपछि मेरो पाठक मनले भन्यो भूमिकामा यस्तो लेख्‍नु लेखकीय इमान्दारिता र सत्यता हो । अनि वास्तविक यात्रामा मेरो पाठक मनलाई तान्न सक्नु लेखकीय सफलता हो ।

प्रथम पुरुष कथन ढाँचा र सामान्य वर्तमानका वाक्यहरूमा अगाडि बढेको यात्रा नगेन्द्र न्यौपानेको मात्र नभएर आफ्नैझैं लाग्यो । हिंड्दा हिंड्दै म पाना पानामा यसरी बगें, मानौं यात्रामय जिन्दगीको औपन्यासिक कलाले मलाई मोहित बनायो । यहाँका पात्र र घटनाहरूसँग यति तादात्म्य बढ्यो, तिनलाई टुङ्गोमा नपुर्‍याई छोड्न मन लागेन । फेरि पढिसकेपछि पनि मनमा एकप्रकारको आनन्दानुभूति भइरह्यो ।

यहाँ यात्रु यात्रारत छन् वा कुनै सुन्दर आख्यानको समाख्याता पात्र, मलाई बेलाबेलामा दुबिधा भइरह्यो । तर यात्रुसँग यात्रारत मेरो मनले यति धेरै चरित्रको वास्तविक चित्र, यात्रारत भूगोलको प्राकृतिक परिवेश, रहनसहन, वेशभूषा, र संस्कृति एकैपल्ट मेरो मनमा चित्रमय कोलाज बनाएर हालिदेला भन्ने न मेरो पूर्वानुमान थियो न कल्पना ।

लेखनको कसीमा खरो उत्रनेहरू सामान्य कुरोलाई पनि सुन्दर र विशिष्‍ट ढङ्गले उतार्छन् । यो लेखकीय सफलता हो । यस पुस्तकमा पनि यात्रुले यात्रा गरेका बाटो, परिवेश, समाज, भेटिएका पात्र र तिनका मनस्थिति निकै सुन्दर र आकर्षक तरिकाले केलाएका छन् ।

बाह्र भागसम्म फैलिएको यो नियात्राको प्रत्येक भागहरू सामान्य लम्बाइका छन् । डिमाइ साइजको पुस्तकमा जम्मा ११३ पृष्‍ठमा फैलिएका भागहरू पहिलोदेखि बाह्रौंसम्म क्रमश: ७,  ८, ९, ९, ९, १०, १७, १३, ८, ३, ८, १२ पेजमा फैलिएका छन् । दशौं भाग सबैभन्दा छोटो ३ पेजको छ भनें सातौं भाग सबैभन्दा लामो १७ पेजको छ ।

काठमाडौंमा बालाजु बसपार्क बन्नुभन्दा अगाडिको कुनै एक दिन अपरान्ह दुई बजे रत्‍नपार्कबाट सुरु भएको लेखकको यात्रा काँकडभिट्टा, सिलिगढीबाट कलकत्ता हुँदै बङ्गलादेश पुगेको छ । अनि बङ्गलादेशका राजशाही र ढाकाजस्ता शहरहरू फन्को मारेर आफ्नै भूमिको प्रेममा रमाउन आइपुगेको छ ।  

भाग एकमा रत्‍नपार्कबाट सुरु भएको उनको यात्रा स्थलमार्ग हुँदै बङ्गलादेश जाने क्रममा काँकडभिट्टासम्म पुगेको छ । वसपार्कका टिकट बेच्ने मान्छेहरूको गैरजिम्मेवारीपन, उनीहरूको व्यवहारमा देखिएको व्यापारिक मानसिकता, नेपालभित्रको लामो यात्रामा गाडीभित्रको असजिलोपन, यात्राका क्रममा भेटिएका विभिन्न पात्रका चारित्रिक विशेषता, सामाजिक समस्या, शैक्षिक क्षेत्रका विकृति (आफैले बोर्डिङ स्कुल चलाएको मान्छेका छोराछोरीहरू दार्जिलिङमा पढाएको र विद्यार्थीहरूलाई एकै महिनाको फिस दुई पटक असुलेको प्रसङ्ग) मुगलिङका होटेलको अवस्था र रात्रिबसमा यात्रा गर्दाको असुरक्षित मानसिकतालाई यस भागले समेटेको छ ।

भाग दुईमा लेखको यात्रा काँकडभिट्टादेखि सिलिगुढीसम्मको छ । काँकडभिट्टाको भारतीय रूपैयाँ साट्ने नेपाली बैंकमा बैंकका कर्मचारीले सोझासिधा जनतालाई गर्ने ठगी, अनि भारतीय चेकपोष्‍टमा भारतीय पुलिसले नेपाली यात्रुलाई दिने गरेको नचाहिने सास्तीको वर्णन पाइन्छ ।

तेस्रो भागको यात्रा सिलिगुडीबाट कलकत्ता हुँदै भारत र बङ्गलादेशको सिमाना बेनापाल पुगेको छ । सिलिगुडीबाट कलकत्ताको स्यालदहसम्मको रात्रिबस यात्रामा दर्जिलिङेसाथी भेटिएको र उसँगको नेपाली भाषाको कुरोको वर्णन यसमा छ । बसमा पकेटमारको त्रास, बसस्टपबाट कलकत्ताको रेलवेस्टेसनसम्म पुग्दा घोडालेझैं मान्छेले तानेको रिक्सामा चढेको कारुणिक प्रसङ्ग, बेनपालसम्मको रेल टिकट, केही समय आराम गर्दा कलकत्तामा नेपालीद्वारा झन्डै ठगिएको प्रसङ्ग र बोर्डरमा भारतीय पुलिसले दिएको दु:ख अति रोचक रूपमा आएका छन् । भारतीय भूमिमा पाएको सास्तीले लेखको मन यतिसम्म दु:खेको छ, आफ्नो पीडा व्यक्त गर्ने आवेशमा लेख्छन्- म गरुङ्गो मन बनाउँदै घिनलाग्दो मान्छेले बास गर्ने भारतको भूमि छोड्छु । (पेज २४) तर कुनै सीमित व्यक्तिहरूले अभद्र व्यवहार गरे भन्दैमा देशलाई नै गाली गर्ने लेखकको मनस्थिति अलि चर्को हो कि झैं भान हुन्छ ।

चौथो भागमा यात्री बङ्गलादेशको न्यानो स्वागतमा प्रवेश गर्छन् । आकाशमा मडारिएको कालो बादल र सिरसिरे हावाका बेगहरूसँगैको पानीका थोप्लाले बङ्गलादेशको सम्भावित प्राकृतिक प्रकोपको सङ्केत गरेको हुन्छ । बङ्गलादेशको इतिहास सम्झिंदै आफ्नो स्वतन्त्रताको लागि यसले गर्नुपरेको सङ्घर्षको कथा पनि लेखकले भावनात्मक रूपमा वर्णन गरेका छन् ऐतिहासिक विश्‍लेषणअनुसार बङ्गलादेशको जन्म यस पृथ्वीमा दुईपल्ट भएको हो । (पेज २५) बङ्गलादेशप्रति अलि बढी भावुक र पक्षपाती देखिएका लेखकलाई त्यहाँका अध्यागमन विभागका कर्मचारीले पनि राम्रो व्यवहार प्रदर्शन गरेका हुन्छन् । त्यसदिन आँधीबेहरी आउने कुरो भएको हुनाले त्यहीं बास बस्न आग्रह गर्छन् । तर दिन बाँकी नै रहेकाले स्वाभिमानी लेखक आफ्नै यात्रामा अगाडि बढ्छन् । दिउँसो आएको आँधीले उनले राजशाही जाने बस पाउँदैनन् र अन्तै कुनै सामान्य लजमा बासबस्न पुग्छन् । राति आँधी आउँछ र सबैको उठीबास गराउँछ । लजका मालिक सहित उनी कुनै सुरक्षित घरको सिंढीमा बसेर रात बिताउँछन् । यसभागमा मनवीय भावना र सम्बन्धका कुराहरू अत्यन्तै मिहिन रूपमा आएका छन् । ...खान बालकलाई छातीमा टाँस्छन्, म झोला काखीमा च्याप्छु । म्याँ म्याँ ढोकाबाट बाहिर निस्किनै लाग्दा बाख्राको यो कराइले मेरो मुटु चसक्कै घोच्छ । मानिस कति स्वार्थी ! आफू सुरक्षित भए पुग्यो । .....कठिनाइमा नै निमुखालाई बिर्सिने हो भने धर्मको सार नै के रह्‍यो र ? म बाख्रा पनि आफूसँगै लैजाने सल्लाह दिन्छु खानजीलाई, ...। (पेज ३२)

रातभरिको आँधीबेहरीबाट ज्यान जोगाउन सफल भएपछि भोलिपल्ट बिहानै लेखक राजशाहीका लागि बसपार्कतिर लाग्छन् । आँधीले जतासुकै गरेको विनासको कारुणिक चित्रण यसमा छ । आँधीले बिगारेको सडकमा कुनै सबारी साधन नपाएपछि बल्लबल्ल एउटा ट्याम्पोले एक घण्टाको बाटो पाँच घण्टा लगाएर जेसोर बसपार्क पुर्‍याउँछ । त्यहाँ लेखकलाई भारतीय पैसा साट्ने चक्करले सताउँछ भने बङ्गलादेशीहरूको हार्दिक व्यवहारले अचम्भित बनाउँछ । भाग पाँचमा बङ्गलादेशी प्रकृतिको ताण्वनृत्य र त्यसबाट भएको धनजनको क्षतिको कारुणिक चित्रण छ ।

जेसोरमा रेलको प्रतीक्षा, धेरै समयसम्म रेल नआएपछि एकजना बंगालीसँगको भेट र मित्रता अनि उसैको घरमा पुगेर आराम गर्नु, सहर घुम्नु, उसका जीवनका विभिन्न सुखदु:ख सुन्नु र रात त्यहीं बिताउनु जस्ता घटनामा छैटौं भाग अगाडि बढेको छ । बङ्गलादेशमा हिन्दूमाथिको अत्याचारको कथा अत्यन्त कारुणिक रूपमा यो भागले देखाएको छ । एउटा बङ्गाली मित्रको संवादले यसलाई देखाउँछ प्राकृतिक घटनालाई त कसले रोक्न सक्छ र ? दु:ख त मानवीय घटनाको बढी हुन्छ जहाँ आस्थाकै आधारमा एउटा मानवले अर्को मानवलाई तहसनहस गर्न डर मान्दैन । (पेज ५१) विशेषगरी बङ्गालीको हार्दिकता र सहृदयी भावनालाई पनि यसले चित्रण गरेको छ । बङ्गाली साहित्यकार मदुसूदन दत्तको चर्चा गर्दै यो भाग सकिएको छ ।

सातौं भाग जेसोरबाट बङ्गाली मित्रसँग इसुर्दी पुगी त्यसपछि राजशाहीको छात्राबास पुगेको घटना छ । झिसमिसेमै रेलस्टेसन हिंडेका यात्रीहरू समयमा रेल नआएर हैरान हुन्छन् । जेसोरको रेलस्टेसन वरिपरिको अवस्था, अघिल्लो दिनदेखि रेलको प्रतीक्षामा बसिरहेका यात्रुको बेहाल, स्टेसन वरिपरिनै झुन्ड झुन्डमा दिसापिसाब गरिरहेका मान्छेहरूको असभ्यता, रेलको यात्रा र नेपालमा पनि रेलमार्गको सपना, रेलभित्र पनि पाहुनालाई आदर गर्ने बङ्गालीहरूको सभ्यता आदिको चर्चा छ ।  रेलयात्राकै क्रममा अर्को साथी रसिदको साथ लागेर उनको सुराली इसुर्दी पुग्छन् । त्यसपछि रसिदका ससुरालीमा खानपिन र आतिथ्य ग्रहण गरी रसिदकी पत्‍नी र छोराका साथ राजशाही पुग्छन् । मुश्‍लिम महिलाको बुर्काभित्रको प्रसङ्गलाई नुरसँगको कुराकानीमा केही कोट्याउन पुगेका छन् लेखकले । रातको बाह्रबजे राजशाही पुगेका लेखक साथीसँग छुट्‌टिई रिक्सा लिएर छात्राबासतिर लाग्छन् । यस भागले पनि बङ्गालीहरू भद्र र सहृदयी व्यवहारबाट यात्रीको मन आश्‍वस्त बनेको छ । तर जेसोरमा त्यति धेरै सहयोग गर्ने व्यापारी मित्रको नामसम्म पनि लेखकले नलेख्‍नु र राजशाहीका छात्राबासमा भेटिएका मित्रहरूका बारेमा केही नभन्नुले यो भाग अलि खल्लो जस्तो लाग्छ ।

आठौं भागले राजशाहीको केही दिनको भ्रमण गरी ढाका पुगेको छ । यसक्रममा लेखकले राजशाहीको प्राकृतिक सौन्दर्य, यसको मौलिकता र बदलिंदो समय र राजनीतिक खिचातानीसँगै राजशाहीले गुमाउँदै गएको मौलिकताप्रति चिन्ता व्यक्त गरेका छन् । आजको आर्थिक कठिनाइ र पश्‍चिमी सभ्यताबाट निसासिंदै आएको राजशाहीले त्योभन्दा ठूलो पीडा त धार्मिक र भाषिक कचिङ्गलबाट भोगिसकेको छ ।.... पाकिस्तानबाट स्वतन्त्र बङ्गलादेशको घोषणा गर्दा निकै राजशाहीबासीहरूले रगतसँग खेल्नुपर्‍यो । राष्‍ट्रिय भाषालाई उर्दूबाट बङ्गाली कायम राख्‍न निकै राष्‍ट्रसेवक र भाषाप्रेमीहरू बलिदान हुनुपर्‍यो । (पेज ७०-७१) त्यहाँको शहीद स्मृति सङ्ग्राहालयमा पुग्दा पाकिस्तानी सैनिकहरूले गरेको ज्यादतीका नृशंसताका तस्बीरहरूले लेखकको अभ्यन्तर काँपेको छ । त्यहाँका शहीदप्रति सम्मान प्रकट गरेका छन् लेखकले । राजशाहीको यात्राको क्रममा होस्टेल नजिकै भेटिएका बालकको जिज्ञासु र निश्छल व्यवहारले अर्को आख्यानात्मक चरित्रलाई उतारेको छ । केही दिनको राजशाही बसाइपछि लेखक ढाकातिर लाग्छन् । यो भागमा रातको यात्रा, जमुना नदीको किनार, फेरीले गर्ने कामको शब्दचित्र, बिहानीमा ब्युझेको ढाकाको प्रकृति, ढाका बसपार्कको परिवेश, साथी तारिकको प्रतीक्षा, समयको अन्तरालमा भेटिएको मित्रसँगको खुशी, ढाकाका तारिकका आफन्तसँगको मीठो भेटघाट र स्वागत, तारिककी आमाको ममत्व, ढाका शहरको भीडभाड, रम्ना पार्कको यात्रा, त्यहाँको जनसङ्ख्याको चाप, रिक्सावालहरूको दयनीय जीवन, बक्सिसको संस्कृति, त्यहाँका बासिन्दाको धर्मको कडा अनुसासन र आर्थिक रूपमा कमजोर हुँदाहुँदै पनि निरन्तर बच्चा जन्माइरहने चलन तथा सामाजिक आडम्बर आदिका बारेमा लेखकको रोचक प्रस्तुति छ ।

नौ भागमा तारिकको गाउँको घर घुम्न पुगेको, उसकी युवती तर चञ्चले बहिनी लिपिसँगका उत्सुकतामय वार्तालापहरू तथा नेपाल घुम्न जाँदा तारिक र लेखक स्याङ्जाको आँधीखोला घुम्न गएको सम्झना पनि गरिएको छ । त्यसैगरी यो भागमा नेपालमा झैं गरिब मुलुकहरूका कर्मचारीहरू सरकारी ओहोदामा पुगेकपछि आफूले पाएका सुखसुविधाको भरपुर उपभोग गरेर समाजमा धाक रवाफ देखाउने प्रवृतिको व्यङ्ग्य पाइन्छ । ढाकाको गाउँ नारायणगन्जसम्मको यात्रामा तारिककी युवती बहिनी लिपिसँगका कुराकानी, उसको आधुनिक सोचको युवाजन्य व्यवहार र त्यसबाट लेखकलाई पर्न गएको अप्ठ्यारो, नेपालका बारेमा अनभिज्ञ लिपिका नेपालप्रतिका विभिन्न जिज्ञासाहरू र तुरुन्तै नेपालको सौन्दर्यको रसपान गर्ने उसको चाह, तर छोरी भएकै कारणले सजिलै नेपाल घुम्न जान आमाबाबुबाट अनुमति नपाउने लिपिको नाजुक अवस्था, विदेशी भन्ने वित्तिकै खैरो कपाल र गोरो छाला सोच्ने आम एसियाली सोचाइ, नेपालको प्राकृतिक सौन्दर्यको वर्णन आदिले यो भागलाई जीवन्त र रोचक बनाएको छ ।

दशौं भागमा लिपिकी साथी आस्था (हिन्दू) को घरमा लेखकको लागि निम्तो आउँछ र उनी त्यता जान तयार हुन्छन् । संवादात्मक अभिव्यक्तिले यो भागलाई रोचक बनाएको छ ।

आस्थाको घरमा पुगेर हिन्दू परिवारलाई भेट्दा लेखकलाई जति रमाइलो हुन्छ, गोविन्द श्रीवास्तवका चारजना बढेका छोरीहरूलाई योग्य वर नमिलेको र लेखक स्वयम्‌लाई उनीहरूको ज्वाइँ बनाउने चाहनाले लेखकलाई अत्याउँछ । यहाँ बङ्गलादेशमा बस्ने सीमित हिन्दूहरूको नाजुक अवस्थालाई देखाइएको छ । भारतमा हिन्दू मुसलमानको दङ्गा हुने बित्तिकै बङ्गलादेशका हिन्दूहरू अत्याचारमा पर्छन् । त्यहाँका सीमित हिन्दूहरूको धार्मिक सचेतताले लेखकलाई मज्जाले छुन्छ । बढेका छोरीहरूलाई विवाह गर्न नसकेका श्रीवास्तवको हिन्दू मानसिकतालाई एघारौं भागमा लेखकले राम्ररी टिपेका छन् । अनि आफैंलाई ज्वाइँ बनाउन चाहेका श्रीवास्तवलाई आफू विवाहित भएको कुरो गरी नाटकीय रूपमा उम्किन पुगेकाछन् । यहाँ लेखकको नारीप्रतिको स्वन्त्रचिन्तन पनि छ । तर उमेरदार अविवाहित लेखकको श्रीवास्तवकी सुन्दरी छोरी शोभाप्रतिको आकर्षण पनि उत्तिकै औपन्यासिक ढंगमा प्रस्तुत गरिएको छ ।

बाह्रौ भागमा लेखको यात्रु मन आफ्नो देशको मायामा चुर्लुम्म हुँदै नेपाल फर्किएको छ । केही समयका लागि भए पनि एउटा घरको आत्मीय सदस्य बनिसकेका लेखकलाई त्यो घरबाट छुट्‍‌टिन गाह्रो हुन्छ । तर तारिककी बहिनी लिपिको अनुरोधलाई बेवास्ता गर्दै लेखक आफ्नो यात्रामा अडिग हुन्छन् । फर्किंदा लेखकले हवाइमार्ग रोजेका छन् । ढाकाको अन्तर्राष्‍ट्रिय जिया विमानस्थलको अत्याधुनिकता, नेपालका व्यापारीहरूको भन्सार चोरी गरी गर्ने व्यापारिक मानसिकता र नेपालीहरूलाई भरिया बनाएर गरिने उनीहरूको नौलो व्यापारको अनौठो कथाले यो भागलाई अझ रोचक बनाएको छ । यसको एउटा उदाहरण - सबैको शरीरमा दुदुइवटा ज्याकेट, तीनचार जोर जिनका पाइन्टहरू, चारपाँच जोर मोजा, स्पोर्ट जुत्ता, गोजीमा तिनचारवटा महँगा कलम, टाउकामा टोप, हातमा डायरी, नाडीमा दुदुइटा घडी, सुनको सिक्री, औंठी, कम्मरमा पेटी देख्छु । ती पहिरनले भक्क फुलेका युवाहरू मुस्किलले हिंड्दै मेरै सामुन्नेको बेन्चमा ताँती लागेर उभिन्छन् । म वास्तविक संसारमा छु वा कुनै दोस्रो ग्रहमा ? (पेज १०८) भन्सार छलेर देशको आयस्रोत टेबुलमुनिबाट भागबन्डा लागिरहेको देख्दा लेखकलाई दुख्छ । अनि उनी ठहरमा पुग्छन् जहाँ इमान्दारिताको खडेरी लागेको छ, त्यहाँ जस्तोसुकै कानुनहरू पनि ढलेका छन्, जस्तोसुकै नीति पनि खिया लागेको हुन्छ ।

वास्तवमा यो पुस्तक एउटा यात्रावृत्तान्त मात्रै नभएर मानवीय स्वभाव र चरित्रको विश्‍लेषण गर्ने एउटा सुन्दर औपन्यासिक रचना हुन पुगेको छ । लेखकको विषयलाई प्रस्तुत गर्ने कला र वर्णन गर्ने शैलीले पाठकमा अत्यन्त कौतूहलताको सिर्जना हुन पुग्छ र त्यही उत्सुकताले पाठकलाई टुङ्गोमा पुर्‍याउँछ । अर्कातिर लेखकले आफ्ना तर्फबाट भनौं वा बङ्गलादेशीका तर्फबाट नेपालका प्राकृतिक सौन्दर्यको बखान गरी आफ्नो मनभित्रको देशप्रेमी भावनालाई उद्‌घाटित गरेका छन् ।

सरल, स्पष्‍ट, उक्तिमय सूक्तिहरूको प्रयोग गरिएको भाषाले कृतिमा सुगन्ध थपिदिएको छ । आधुनिक नेपाली नियात्रा साहित्यको शिखरमा यात्राको बङ्गलादेश अर्को नौलो खुट्‍‌किलो हो भन्ने ठहरमा पुगेको छ मेरो पाठक मन ।

 

२०६५/१०/२४

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |