हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अडगडयात्रा,(कमलमणि दीक्षित )


टिप्पणीकार: कमलमणि दीक्षित 
अङ्ग्रेजीका
एक जना कोही कवि थिए रे, उनी कवितालाई घोडा दौडेको जस्तो  या खोला बगेको आवाजमा पनि लेखिदिन्थे रे। हाम्रा रमेश खकुरेलले "अडगडयात्रा" लाई रेल कुदेको ध्वनि आउने गरी लेखेका छन्। ठट्टा गरेको होइन! कालिदास हुन खोजेको पनि होइन।

कालिदास उपमा दिन खप्पीस थिए रे उहिले। हाम्रा कविशिरोमणि पनि कम खप्पीस थिएनन्। उनका जवानीमा कविजी पनि स्वाभावत: निकै रसिक थिए, निकै निकै रसिक उपमा हाल्थे आफ्ना कृतिहरूमा। तर उमेर बढदै गएपछि आफूले त्यसरी जडेका उपमाहरू खोजी खोजी अफाल्न थाले। त्यो भिन्नै कुरो हो।त्यो ऐले यहाँ सान्दर्भिक पनि छैन। मलाई चाँही यो अडगडयात्रा कविशिरोमणिले १९६० सालतिरै जमाएको एउटा दइटा श्लोक जस्तो पो लाग्यो! यो देख्दा जे  त्यो हैन- भने जस्तो!

हुन हाम्रा आशुकवि यो यात्रा-विवरण हो भन्छन्। हुन पनि, रेलमा हिँडेका छन्, ठिक्कै रेलको आवाज पनि निकाल्दछन् श्लोकहरूमा, माथि नै भनेँ। भौतिकवादी यात्रुले झैँ यस्ता लौकिक कुरा पनि गर्छन्:


"खोली
जुत्ता मुन्तिर फाली, फुक्ने तकिया सिरान हाली,

खल्ती करले चप्प समाती, पल्टेँ पनि गईकन माथि।"

 

तर, त्यसो भनेर कहाँ हुन्छ ? यो काव्यको अभीष्ट भौतिक होइन, पूरा आध्यात्मिक पो देखेँ मैले ! यो हेरूँ:

जहाँ    जे जे, सबमा तिमी तिमी

तिमी विना अड्छ के जिमी?

शिवा स्वयम् हौ, शिव हौ स्वयम् तिमी

तिमी तिमी छौ भन्नु हौ तिमी।

त्यसैले मैले भनेको हुँ-- लेखनाथको उपमा स्वयम् हो यो 'अडगडयात्रा।

 

अँध्यारामा छर्रा हाने जस्तो लाग्यो होला यो मैले भनेका कुरा ऐलेसम्म। अब अलि कुरा खोलूँ। माधव धिमिरेले बयान गरे जस्तो "जूँघारेखी भरखर बसी मुस्कुराईरहेको" एक जना  कवि-हृदय तन्नेरी घरमा बालिकाबधू पत्नी छाडेर देश विदेश भौँतारिँदै सप्तरीको छपकी पुग्छ। अनि त्यहाँका जमिन्दारका केटाकेटी पढाउन पाएर  त्यही बसेको , छपकी गाँऊमा। फागुन महिनामा त्यहाँ आँपका गाछीहरूमा झपक्कै मुजुरा लागेको देख्छ। चैतमा पुग्दा तिनमा साना साना दाना लाग्छन्। त्यो देखेर उल्ले घरकी पत्नी सम्झन्छ। अनि उल्लाई कविता फुर्छ। कोर्छ-

"चोलीभित्र नयाँ साना बालाका स्तन झैँ गरी,

पातैमा आँपका दाना दबेका छन बेसरी।"

त्यहाँ  बगैँचामा थरीथरीका बोट बिरुवा छन्। बोटनिकल-बाग जस्तो त्यहाँ कदमका वृक्ष समेत छन्। तिनमा पनि फूल लाग्छन् आफ्नो ऋतु लागेपछि तन्नेरी कविले त्यो पनि देख्छ। उल्ले फेरि पत्नी सम्झन्छ। अनि लेख्छ--

"पहेँला भावका गोल फूले कदमका दल

रोमाञ्चवाला बालाका स्तन झैँ पुष्ट मञ्जुल!"

लेख्छ हो, तर पठाउन सक्तैन। कसरी पठाउने? मधेस, तराईमा उसकी प्रिया छन् टाढा, पश्चिम तीन नंबर अर्घौँ अर्चलेमा। कालीदास जस्तो उसको सन्देश लैजाने मेघ पनि छैन, मोतिरामको जस्तो पीक (कोइली) दूत पनि छैन! अनि, मन मारेर त्यसलाई आफ्नै ट्याङ्कामा कोचेर राख्छ।वर्षौँ पछि, १९७३मा, काठमाण्डूका सहृदयी अर्का कवि कुलचन्द्र गौतमले उसको ऋतुविचार छापिदिने भएपछि त्यो सुटुक्क ट्याङ्काबाट झिकेर ती जस्ता  अरू श्लोकहरूलाई पनि त्यसमा घुसाइदिन्छ!

अब भनौँ कविशिरोमणिको "ऋतुविचार" 'जे देखिन्छ त्यो होइन' भनेर मैले भन्न किन नपाउनु?  उनले कहाँ वसन्तको वर्णन गरेका हुन् त्यो? उनले आफ्नी पत्नीलाई सम्झेर कोरेका पो हुन् ती पंक्तिहरू! त्यस्तै हाम्रा आशुकविले पनि यो 'अडगडयात्रा' आफूभित्र उकुसमुकुस भैराखेका आध्यात्मिक भावहरु पोख्ने ठाउँ खोजिराखेका थिए, यस्तैमा यो "अडगडयात्रा" आइलाग्यो उनले पोखीदिए भन्न पाइन्न?

 

Comments

rohit gautam

Kamalmaniji kura haru asadhyai man paryo uhalai dhnyavad.

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |