हालसालैका लेखहरु : लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ ) दशैँ ,(सुशील शाह)

नेपाली साहित्यको ऐतिहासिक दस्तावेज– ‘सम्झनामा फक्रिएका थुँगाहरू’,(शर्मिला खड्का (दाहाल))


निबन्धकार रोचक घिमिरेको जन्म वि.स. १९९८ भाद्र ३ गते मन्थलीको गहिराथोकमा पिता सोमनाथ घिमिरे र माता मोहनकुमारी देवीको कोखबाट भएको हो । नेपाली साहित्य इतिहासको धरोहरका रूपमा रहनुभएको निबन्धकार रोचक घिमिरेले आफ्ना निबन्धसङ्ग्रह
सम्झनामा फक्रिएका थुँगाहरूमा नेपाली साहित्यको एउटा इतिहास नै खोतलेका छन् । इतिहासको पृष्ठभूमिमा नउभिई वर्तमानले भविष्यको शिलान्यास गर्न सक्दैन । भन्नुको अर्थ आउने भविष्यले इतिहासको प्रत्येक शब्दसँग खेल्नुपर्छ र नयाँ मार्गदर्शनको डोरेटो पक्रनुपर्छ अनि मात्र भविष्यले नयाँ मार्गदर्शन पाउन सक्छ । त्यस्तै नयाँ मार्गदर्शक बनी डोर्याउने काम अब आउने साहित्यकारलाई यस निबन्धसङ्ग्रहले गर्न सक्छ । नेपाली साहित्यिक क्षेत्रका विभिन्न रोचक र घोचक घटनाहरूले पाठकलाई इतिहासको नौलो संसारमा पुर्याउने शक्ति यस निबन्धसङ्ग्रहमा रहेको छ । आज इतिहास बनेका ती घटनाहरू अत्यन्तै रोचक, ज्ञानवर्द्धक र कौतुहलमय छन् । नेपाली साहित्यमा लामो समयदेखि साहित्यमा समर्पित रही रचना जस्तो स्तरीय साहित्यिक द्वैमासिक पत्रिका वि.स. २०१८ सालदेखि आफ्नै निजी प्रयासमा निरन्तर प्रकाशन गर्दै आउनुलाई उनको साहित्यप्रतिको निष्ठा, त्याग र समर्पणको एउटा अलौकिक उदाहरण मान्न सकिन्छ । हालसम्म प्रकाशित उनको एउटै निबन्धसङ्गहमा यही सम्झनामा फक्रिएका थुगाहरू रहेको छ भने विभिन्न पत्रपत्रिका हास्यव्यङ्ग निबन्ध, संस्मरणहरू रहेको छ । सम्पादनकार्यमा उनको निकै दखलका साथै निकै क्रियाशीलता पनि देखिन्छ । उनले सम्पादन गरको कृतिहरूमा  अनुसन्धान भित्रको अनुसन्धान (२०५१), ‘भैरव पुरस्कार गुठी स्मारिका (२०४६)। प्रेस काउन्सिल वार्षिक प्रतिवेदन (२०५२-२०५५) कविवर माधव घिमिरे अभिनन्दन ग्रन्थ (२०६०) ध.च. गोतामे सम्झनाका पाइलाहरू (२०६४), रहेका छन् । उनी दर्जनौ साहित्यिक संघसस्थाबाट पुरस्कृत तथा सम्मानित भएका छन् । उनको परिचय रचना दैमासिक पत्रिकाको सम्पादकमात्र नभई साहित्यिक पत्रकारितामा पनि उच्च रहेको छ । उनी विभिन्न संघसस्थामा आवद्ध रहेका छन् ।

अहिले यहाँ उनको विस २०५६ सालमा प्रकाशित निबन्धसङ्ग्रह सम्झनामा फक्रिएका थुँगाहरू को समव्याख्या गर्न खोजिएको छ । चौधवटा शीर्षकमा बाँडिएको निबन्धसङ्ग्रह सम्झनामा फक्रिएका थुँगाहरू नेपाली साहित्यको इतिहासमा एउटा साहित्यिक शीलालेख मान्न सकिन्छ । पारिवारिक पृष्ठमूमि साहित्यमय भएको निबन्धकार रोचक घिमिरेले यस निबन्धमा बाल्यकालदेखिको संस्मरण, साहित्यमा लाग्दा संगत गरिएका साहित्यकारहरूको आनीबानी र उनीहरूसँग घटेका घटनाहरूलाई उनले कलात्मक ढङ्गले पाठकलाई साहित्यिक रसास्वदन गराउँदै व्यक्त गरेका छन् । छर्लङ्ग एउटा घाम लागेको आकाशजस्तो गरी पाठकलाई सबै कुरा देखाइ दिएका छन्सरल र मिहिनपाराको भावव्यक्तिमा । यस निबन्धसग्रह प्रमुख विशेषता भनेको विभिन्न स्वनामधान्य व्यक्तिहरूको असल बानीवेहोराका साथसाथै तिनीहरूमा भएका अवगुणलाई पनि सुक्ष्मरूपले केलाइ पाठकलाई जानकारी दिनु हो । यस्ता अवगुणहरू ती स्वनामधान्य पुरुषहरुको प्रखर व्यक्तित्वले छोपिन गएको यथार्थतालाई पनि निबन्धकारले प्रस्टयाउनु सक्नु उनको लेखनको विशेष सफलता मान्न सकिन्छ । यस निबन्धसङ्ग्रहमा घटनासँगै कतिपय ठाउँमा साहित्यकारहरूको आआफ्ना अस्वाभाविक र अव्यवहारिक घटनाहरू उद्भासित भएको हुनाले कतिपय ठाउँमा पाठकलाई एउटा कौतुहलता र जिज्ञासाले उफार्दै पछार्दै गर्छ । यस्ता कुरालाई निबन्धकारले तिथिमितिका साथ सविस्तार घटनासहित व्याख्या गरेका हुनाले अविस्वास हुने र अपत्यरिलो हुने शंका पाठकको मनमा अलिकति पनि पैदा हुँदैन । साहित्यिक इतिहासको गर्त लुकेका कतिपय कुराहरू जुन कुरा त्यही समयका साहित्यकारले पनि थाहा नपाएका हुन सक्छन् भने अब आउने पुस्ताले थाहा पाउने कुरै हुन्न, त्यस्ता कुराहरूको जानकारीका लागि यो पुस्तक अत्यन्त महत्वपूर्ण बनेको छ । प्रकाशन भएताका निकै चर्चामा आएको र उत्तम शान्तिपुरस्कारजस्तो गरिमामय पुरस्कार हात पार्न सक्षम यो पुस्तकमा रोचक घिमिरेको साहित्यिक शैलीले पनि पाठकलाई तानिरहन्छ ।  साहित्यिक इतिहास जान्ने जिज्ञासामा यो पुस्तकले पाठकलाई अहिले पनि उत्तिकै प्रभाव पार्नसक्छ भने अब अझै आउने पछिल्ला पुस्ताका लागि यो पुस्तक अत्यन्त महत्वपूर्ण हुँदै जान्छ भन्ने कुरामा दुईमत हुनसक्दैन ।

नेपाली साहित्यको इतिहासमा हास्यव्यग्यकार भैरव अर्यालको आत्महत्यालाई एउटा ठूलो दुर्घटनाको रूपमा लिइन्छ । आफ्नो हास्य शिल्पीले दूनियाँलाई हँसाउने शिल्पीकार आफ्नै जीवनको कति ठूलो आँसुको दहमा डुबेका रहेछन् भन्ने कुरा उनको निबन्धको पहिलो शीर्षक हास्य व्यङ्गयको शाश्वत शिल्पी भन्नेमा पाइन्छ ।  उनी एक ठाउँमा भन्छन्– ‘भैरव अतिमानव, महामानव, महापुरुष वा अरू यस्ता कुनै विशेषण लगाइरहनुपर्ने पात्र थिएन । गरिव नेपालका लाखौँ निमुखा सन्तानझँै सोझो, सरल र सामान्य गाईप्राणी नागरिक थियो ।  आफूले वुई चढाएर टुप्पोमा पु¥याएका कैयौँ लाटाबुङ्गाहरूले आफैलाई लात हान्दा पनि प्रतिकार नगरेर बरु चोट खप्तै सहीदिनु निको मान्थ्यो  ऊ ।

वास्तवमा भैरव अर्याल बाल्यकालीन जीवन निकै कारुणिक र दयनीय थियो ।  उनले वि. स. २०३३ असोज १९ गते मध्यरातमा बाग्मतीमा हामफालेर आफ्नो दैहिक लीला समाप्त गरे । यसो गर्नुको पछाडि धेरै कारणहरू थिए । यसअघि पनि उनले धेरै चोटि आत्महत्याको प्रयास गरेको कुराहरू पढन पाइन्छ यस संस्मरणमा ।  निबन्धकार उनीसँग वि. स. २०१६ सालदेखि संसर्ग र संगतमा परेका थिए । लामो समयसम्म संगतमा परेका आत्मीयमित्र गुमाउनुपर्दा निबन्धकारले निकै दुःख लाग्नु स्वभाविक थियो । सामान्य व्यक्तिबाट प्रसिद्ध हास्यव्यङ्गयकार बनुञ्जेल निबन्धकारले उनलाई धेरै नजिकबाट चिनेको र बुझेको पाइन्छ । भैरव अर्यालले आफ्नो व्यक्तित्व विकास गर्न धेरै दुःख गरेको पाइन्छ । उनी अर्काको घरमा भात पकाएर गुरुकहाँ पढ्न जाने गर्दथे । पछि मध्यमाको पढाइको लागि भारु दस रुपैयाँ नहुँदा उनले तत्कालीन युवराज म.वी.वी. शाहलाई कवितामा पत्र लेखी फर्म भर्न पैसा माग्न निवेदन लेखेका थिए । पछि घोडचढी सैनिक पैसा बुझाउन आउँदा पक्रन आयो भनी भैरव अर्याल लुकेको प्रसङ्ग निकै रोचक छ । पछि उनले धेरै ठाउँमा जागिर खाएर निकै सङ्घर्ष गरेर स्नातक्तोतरको पढाइ सके । तर पनि उनी जीवनमा अनेकौ हन्डरसँग जुधिरहे । सबैभन्दा बढी उनको जीवनमा तनाव दिने कुरा उनको सुकेको स्वर थियो । जसले गर्दा उनी आफूले सोचेजस्तो काम गर्न सक्दैनथे । त्यसैले पनि उनी जागिरको लागि धेरै भौतारिनु पर्यो । उनी हाकी र निडर पनि थिए । निबन्धकारसँगको यो घटनाले उनी कतिको हकी थिए भन्ने कुरा थाहा हुन्छ । निबन्धकार लेख्छन्– ‘वि.स. स २०१४ सालमा प्रधानमन्त्री टंकप्रसाद आचार्य साँखुमा कृषि प्रदर्शनीको उद्घाटन गर्न गएका थिए । उनले आफ्नो भाषणमा गाउँ र देश विकासको आदर्श र उपदेश छाँटे । भैरवले पासीखेल स्कुलका तर्फबाट बोल्न आफ्नो नाम पनि लेखाए । अनि आफ्नो भाषणको क्रममा ऊ यसरी पडकियो– ‘यस्तो प्रदर्शनीको यो गाउँमा के मतलव जहाँ शिक्षा छैन, चेतना छैन, एउटा भएको स्कुलसम्मको पनि महादुर्गति छ, कटेरोमा विजोगतालले पढाइएको छ , खाली मुखले विकास भन्दैमा विकास हुन्छ ? इमान्दारीसँग लागि परेर विकास गर्नुपर्छ । तव पो विकास हुन्छ , यस्ता फजुलका कुराले देश बन्दैन र देश विकास पनि हुँदैन ....। भैरवले प्रधानमन्त्रीकै सामुन्ने यस्तो रोषपूर्ण भाषण छाँटेको मात्र होइन प्रधानमन्त्री फर्कन लाग्दा बाटोमा विद्यार्थीहरूलाई घेर्न लगाएर हामीलाई स्कुल भवन चाहियो  भनेर नारा समेत घन्काउन लगायो । प्रधानमन्त्रीले स्कुल बनाइदिन्छु भनेर कबोल गरे । भोलिपल्ट आवश्यक रकम पठाए पनि । यो कुरा त्यस भेकमा चर्चित भयो र नामका अगाडि विशेष थपेर भैरवलाई कम्युनिस्ट भैरव भन्न थाले । यसरी यो घटनाबाट उनी कतिको निडर थिए भन्ने कुरा थाहा हुन्छ ।

यस निबन्धमा निबन्धकारले भैरवका निजात्मक कुरादेखि लिएर रचना प्रकाशन थाल्दा सम्मका ऐतिहासिक दस्तावेज छन् । जुन पढ्दा पाठकलाई इतिहास जान्ने उत्सुकताले तानिरहन्छ । हास्यव्यङ्गयकार भैरव अर्यालले त्यससमय हास्यव्यङ्गयक्षेत्रमा र पत्रकारिता क्षेत्रमा ठूलो योगदान दिएको कुरालाई निबन्धकार यसरी व्यक्त गर्दछन् – ‘हास्यव्यङ्गयको शिष्ट संयोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विसंगति र विरोधाभासप्रति कठोर प्रहार, आफ्नै उखानटुक्का र उदाहरणको स्वाभाविक तथा चमत्कारिक प्रयोग, आफ्नै वरिवरिका वास्तविक पात्र, सत्य घटना अनि परिवेशको यथार्थ चित्रण र कहिल्यै असंगत नठहरिने विषयहरूको सफल चयन नै भैरव अर्यालका हास्यव्यङ्गयका विशेषता हुन् । यसरी यस शीर्षकमा निबन्धकारले भैरव अर्याले आत्महत्या गर्नुको अनुमानित धारणासहित उनको विसंगतग्रस्त बनेको जीवनलाई खोलिदिएका छन् ।

सिद्धान्त र व्यवहारमा प्रगतिशील भनाउँदा साहित्यकारहरू कसरी फरक हुन्छन् भन्ने कुरा उनले दोस्रो शीर्षक सिद्धान्त र व्यवहारमा फरक व्यक्तित्व भन्ने शीर्षकमा राखेका छन् । नेपाली साहित्यमा लोकप्रिय गीतका रचयिता युगकवि सिद्धिचरण श्रेष्ठ हुन् । यहाँ निबन्धकारले तिनै सर्जकसँगको आफ्नो भेट र उनीसँग घटेका घटनालाई रोचक र घोचक पाराले प्रस्तुत गरेका छन् । सिराहाको अर्ने भन्ने ठाउँमा निबन्धकारको भेट कवि सिद्धिचरण श्रेष्ठसँग वि.स. २०१८ मा भएको थियो । रचना पत्रिकालिएर उनी कविवरलाई भेट्न जान्छन् । यसरी कविवरसँग निबन्धकारको संसर्ग बढ्दै जान्छ । कवि सिद्धिचरणलाई सबैले काजीदाइ भन्ने हुनाले निबन्धकार पनि उनलाई काजीदाइ भनेर सम्बोधन गर्ने गर्दछन् । काजीदाइ साहित्यका साथसाथै त्यससमयको राजनीतिमा पनि निकै सक्रिय रहेको बुझिएको छ । त्यसबेलाको एकेडेमीमा उनी सदस्यरहेको र साहित्यलाई पनि माया गर्ने र राजालाई पनि खुसी पार्नेजस्ता काम गरेको बुझिएको छ ।  उनको सक्रियतामा वि.स. २०२२ सालजेष्ठ २८ गते प्रथम कविता उत्सव गरेका थिए । रेडियो नेपालबाट प्रत्यक्ष प्रसारण भएको यो उत्सवमा कवि लीलाध्वज थापा र प्याकुरेलले असन्तुष्ट व्यक्त गरेपछि कवि सिद्धिचरण निकै डराएको कुरा निबन्धकारले उल्लेख गरेका छन् ।  यसरी निबन्धकारले काजीदाइसँग सम्बन्धित विभिन्न साहित्यिक ऐतिहासिक घटनाहरू यहाँ पस्केका छन् । यहाँ कविसिद्धिचरण सँगसँगै त्यसबेला साहित्यलाई प्रेम गर्ने र लेख्ने साहित्यकार केदारमान व्यथित, रमेश विकल, उपेन्द्र श्रेष्ठ अािदसँगका विभिन्न घटनाहरू उल्लेख गरेका छन्  र ती घटनाहरू साहित्यको इतिहासमा निकै महत्वपूर्ण मानिन्छन् । त्यससमय राजा महेन्द्रले  साहित्यलाई निकै माया गर्ने हुनाले उनकै सक्रियतामा भएको साहित्यिक कार्यक्रमहरू यहाँ तिथिमितिका साथ उल्लेख गरिएका छन ।

निबन्धकारले कवि सिद्धिचरणलाई सिद्धान्त र व्यवहारमा फरक व्यक्तित्व भनेर भनेका छन् । निबन्धकार काजीदाइलाई भेट्न अर्नेमा पुग्छन् । नेपाली साहित्यको क्षेत्रमा काजीदाइले धेरै ठूलो योगदान दिएका छन् तर व्यवहारमा उनले आफ्नो सिद्धान्त परिपालन नगरी एउटा निरंकुश सामन्ती शोसक बनेको घटना देखेर त्यो घटनालाई यहाँ यसरी निर्धक्क राखेका छन् – ‘वि.स. २०२५ पुस २६ गते ब्रद्मपुरीबाट काजीदाइलाई भेट्न म अर्नेमा गएँ । उनी खलियानमा नै घाम तापेर बसेका थिए । एकजना गरिव किसान धानको दाँई गरिरहेका थिए । उनले काजीदाइको खेत अधियामा कमाएका रहेछन् । त्यसै खेतको धानको दाइँ भैरहेको थियो । दाइँसकियो धान उडाइबताइ सकियो । एकठाउँमा थुप्रो लगाइयो । हट्वे (जोख्नेमान्छे ) बोलाइयो । तिनले जोखेर बराबरका दुइटा थुप्रा लगाइदिए । यसपछि काजीदाईले ती किसानलाई भने – ‘तैँले खाएको कर्जा तिर्नुपर्छ, तेरो भागको त्यो थुप्रो पनि यतै मिसा, ती किसानले हात जोड्दै भने, मालिक हमार धियापुता भोखले मरजातै, तनिक दया करु ! (मालिक मेरा छोराछोरी भोकै मर्छन् केही त दया गर्नुहोस्  ।) काजीदाइले कट्किएर हप्काउँदै भनेसावाँ व्याज सबै गर्दा यतिले त पुग्दैन, अझ त माथि दुइमनजति बाँकी नै रहन्छ । त्यसको कागज गर धानसान पाउँदैनस् ।  बिचरा ती गरिव किसान हात जोरेर बिन्तीभाउ गर्दै रहे , तर काजीदाइका मनमा कतिपनि दया पलाएन । उनको यस्तो निर्दयी सामान्तीरूप त्यसअघि कहिल्यै मैले देखेको थिइनँ । मलाई घोर अचम्म लाग्यो र भने काजीदाइ , यतिसारो त गर्नु भएन नि, विचारालाई केही त दिनोस् । यसबाट त तपाईँको सिद्धान्त र व्यवहारमा फरक पर्छ नि ।

काजीदाइले भनेहेर्नोस् न यसलाई केही दिएभने अवथा कर्जा माफ गरिदिए भने अरू आसामीले पनि यस्तै खोज्छन् त्यसो गरेर कहाँ साध्य हुन्छ र ? मेरा भाइ छोराहरूले पनि यस्तो मन पराउँदैनन् । सारा व्यवस्था नै भताभुङ्ग हुन्छ । तपाईँ हामी चाहेर पनि उदार बन्न सक्दैनौ । आफ्नो सामन्ती छवि राख्न सकेनौ भने यहाँ हाम्रो मान्यता र महत्व नै खतम हुन्छ यो परम्परा हो यसलाई नाघ्न मिल्दैन । सिद्धान्त भन्ने कुरा व्यवहारमा उतार्न कहाँ सकिन्छ र ! काजीदाइका यस्ता कुरा सुनेर म वाक्क भए उनले गरेका समाजवादी र प्रगतिशील कुरा त देखावटी स्वाङ पो रहेछन् भन्ने मलाई लाग्यो । संवेदनशील, सहृदयी, भावुक र प्रगतिशील भनिएका कविमा त्यसदिन देखिएको क्रुर निष्ठुरता मैले कहिल्यै बिर्सन सकिनँ । पछि पनि काजीदाइले कहिलेकाहीँ प्रगतिशीलताका कुरा गर्दा म उनीबाट भएको त्यो अप्रिय घटना सम्झने गर्दथे ।

निबन्धको तेस्रो शीर्षकमा सम्झनामा फक्रिएका थुँगाहरू  भन्ने सङ्ग्रहको नाम नै रहेको छ । यस शीर्षकमा चर्चित गीतकार हरिभक्त कटुवालको बारेमा निकै चर्चा गरिएको छ । उसो त नेपाली साहित्यिक क्षेत्रमा हरिभक्त कटुवालको जीवनी तथ व्यक्तित्व विभिन्न विवादस्पद घटनाहरूले गर्दा चर्चामा रहने गर्दछ । जीवनमा सधै अव्यवहारिक र असामान्य बनेका हरिभक्त कटुवालले स्वयम् आफूले आफ्नो जीवन जहिले पनि विवादस्पद र दयनीय बनाइरहे । नेपाली सांगीतिक क्षेत्रमा चर्चित गीत मलाई नसोध कहाँ दुख्छ घाउ जस्ता जीवन्त गीत लेखी चर्चामा आएका उनी  उनको वास्तविक जीवन अत्यन्त पीडादायी, असन्तुलित र विचलित बनिरह्यो । यस शीर्षकमा निबन्धकार यिनै कुराहरूलाई आफूले प्रत्यक्ष भोगेका घटनासँग तारदाम्यता मिलाउँदै व्यक्त गरेका छन् । आसाम निवासी हरिभक्त कटुवालसँग निबन्धकारको भेट रचना प्रकाशित गर्नेक्रममा भएको थियो । आसामबाट हरिभक्त कटुवाल काठमाडौँ जागिरको सिलसिलामा आएका थिए । यहाँ उनी विभिन्न साहित्यिक संघसस्थामा कार्यरत रहे । यस निबन्धमा हरिभक्त कटुवालसँग भएको भेटको केही सामान्य प्रसङ्गमात्र उल्लेख गरेका छन् । विशेषतः हरिभक्तलाई पियक्कड भएको कुरा र आर्थिक कारोवारमा कमजोर भएको कुरा राखेका छन् । हरिभक्तसँगको एउटा अत्यन्त रोचक घटना बालाजुको पिकनिकको राखेका छन् भने अर्को नयाँसडकको एउटा घटनामा प्रस्तुत गरेका छन् । नयाँसडकको घटनामा हरिभक्त कटुवालले मदिरा निकै पिएर लडखडाउँदै नयाँसकडको पेटीमा उभिएका हुन्छन् र के के बरबराउँदै हुन्छन् । उनका वरिपरि मानिसहरू झुम्मिएका हुन्छन् । निबन्धकार साथी विनोद दिक्षितसँग त्यही बाटो हिँडदै गरेका हुन्छन् । हरिभक्त कटुवाललाई यो अवस्थामा देखेपछि तर्कन खोज्छन् तर पनि हरिभक्तले देखिहाल्छन् र भाग्ने अवस्था नभएपछि उनलाई ट्याक्सीमा हाली डेरा पुर्याउने विचार गर्छन् तर कुनै ट्याक्सीवालले लान नमानेपछि उनले एउटा ट्याक्सीवाललाई भाइ म पोखिएर घामको झुल्को गीत लेख्ने गीतकार हुँ भनेपछि लान मानेको रोचक प्रसङ्ग यहाँ उल्लेख गरेका छन् । यसरी हरिभक्तले आफ्नो जीवन आफूलाई मात्र बोझिलो नबनाई परिवारलाई पनि बोझिलो बनाएका थिए । अन्तमा उनी टिवीरोगबाट ग्रस्त भई यो संसारलाई नै छोड्न पुग्छन् ।

चौथो शीर्षकमा महापन्डित ख्यातिप्राप्त अन्तर्राष्ट्रिय विद्वान राहुल साङ्कृत्यायनको विषयमा रहेको छ । भारतको उत्तरप्रदेश राज्यस्थित पन्दहामा अप्रिल १९९३ मा उनको जन्म भएको हो । उनी बौद्धभिक्ष बनी विभिन्न देशदेसान्तर ज्ञानका लागि घुमिरहन्थे । उनमा असिमित ज्ञानको भन्डार थियो । उनले आफूले जानेजति लेख्न गारो हुन्छ भनी टेपरिकर्डरमा बोलेर रेकर्ड गरेर चेलालाई लेख्न लगाउँदथे । उनै प्रकाण्ड विद्वानको नेपालसँग गाँसेको विभिन्न रोचक विषयका घटनाहरू निबन्धकारले यहाँ प्रस्तुत गरेका छन् । उनलाई महामना मदनमोहन मालतीयले महापन्डितको उपाधि दिएका थिए जुन सार्थक र सटीक थियो । राहुल साङ्कृत्यायनले नेपालसँग निकै लगाव रहेको र नेपाललाई निकै माया गरको उनको कृतिहरूमा पाइन्छन् भनेर उनको कृति र जीवनी बारे गहिरो अध्ययन  गरेका निबन्धकार रोचक घिमिरे बताउँछन् । यसरी नेपाललाई माया गर्नुमा उनको जीवनमा एउटा ठूलो महत्व राख्ने घटना नेपालसँग घटेका कुरालाई लेखकले यहाँ राखेका छन् । राहुल साङ्कृत्यायन पन्ध्र सोह्र वर्षको हुँदा उनले एकजना नेपाली बाबा जसको नाम परमहंस बाबा थियो उनलाई आर्दश पुरुष मानेका थिए । उनी नेपालको पहाड, खोला, आदि मनोरम दृश्यबाट मोहित हुँदै तिनै साङख्य दर्शनका ज्ञाता बाबाको संगतले उनको कानमा वेदान्त र वैराग्य को मन्त्रहरू पर्न थाल्छ । यसरी उनी वैरागी र यायावरी भएर देशदेशान्तर घुम्न थाल्छन् ।  यस निबन्धमा महापन्डितबारे विभिन्न खोजमूलक जानकारी घटनाहरू छन् र त्यससमयको नेपालको राजनीतिको झलकहरू पनि छ । राहुल साङ्कृत्यायनको जीवनीको बारेमा छोटकरीमा सम्पूर्ण महत्वपूर्ण कुराहरू राखिएका छन् । यसबाट एउटा सन्त अथवा तपस्वीले नेपाललाई कसरी माया गर्दोरहेछ र उसको निजी जीवन कसरी बितेको हुँदो रहेछ भन्ने सम्पूर्ण कुरा यस निबन्धबाट पाठकले थाहा पाउन सक्छ । सम्झनाको पोकोभित्र भन्ने शीर्षकमा उनले नेपाली साहित्यका खरो समालोचक, कवि र अनुसन्धानकर्ता ईश्वर बरालको सम्झनालाई पोको पारेर राखेका छन् । नेपाली साहित्यमा त्यससमयमा विभिन्न विवादमा मुसिएका कवि ईश्वर वराल बेलायत पढ्न जानुअघि र पछिको उनीसँग सम्बन्धित साहित्यिक क्षेत्रमा घटेका महत्वपूर्ण घटनालाई यहाँ उनले उल्लेख गरेका छन् । साहित्यलाई निकै माया गर्ने कवि ईश्वर बराल आफूलाई मन नपरेको भाषा, शैली र व्याकरणको उछित्तो काढेर लेख्ने र बोल्ने गर्दथे । यसरी नेपाली साहित्यमा ईश्वर बरालको आफ्नै विशिष्ट किसिमको योगदान र स्थान रहेको कुरा लेखकले यहाँ बताएका छन् । औतारी व्यक्तित्वका धनी शीर्षकको निबन्धमा निबन्धकार साहित्यकार बासुदेव लुइटेलको व्यक्तित्वबाट निकै प्रभावित भएको प्रसंङ्ग राखेका छन् । उनले एक ठाउँमा भनेका छन् – ‘वासुदेवलाई आत्मप्रशंसा पटक्कै मन पर्दैन । तिनलाई मन नपरेपनि धक फुकाएर कैयौले तिनको तारिफ गरेका छन् मरिमेटेर आफ्नो तारिफ लेखाउन तम्सने कैयौँ महापुरुष हाम्रो समाजमा छन् । सम्मान, पद र प्रतिष्ठाका निम्ति हुने गरेको लुछाचुडी हामीले देखेका छौँ ।  यस स्थिथिमा बासुदेव नै यस्ता एक्ला वृहस्पति हुन् जसलाई आफ्नो तारिफ ठ्याम्मै मन पर्दैन । ठूलठूला पुरस्कार दिन खोज्दा जहिले उनी पन्छिएर बसेका छन् । सभासमारोह गरेर बासुदेवको सम्मान गर्न चाहनेहरू तिनको तस्विरमा माल्यार्पण गरेर चित्त बुझाउनु परेको छ । स्वयम् सशरीर उनी कतै कुनै पनि सभा गोष्ठी आदिमा जाँदैनन् । यति मात्र कहाँ र ? उनको सगतमा आएको कुनै व्यक्ति अथवा चेलो शक्तिकेन्द्रमा पुग्यो  र हैकमी बन्यो भने त्यस्ता निम्ति बासुदेवको घरको ढोका नै बन्द हुन्छ । झन्डा, डन्डा, सिपाही, बन्दुक र मोटर छुटेपछि चाहिँ त्यससँग उनको सम्बन्ध फेरि पहिलेकै जस्तै हुन्छ । त्यस्ताहरू निम्ति उनले यस्तो सूचना ने छपाए

डन्डा, झन्डा, सिपाही

बन्दुक लिएर

मकहाँ नआउनु

माडसाप

यसरी निबन्धकारले  बासुदेव लुइँटेलबारे आफ्नो भनाइ राखेका छन् भने उनीसँग भएका रोचक विभिन्न घटनाहरू पनि उल्लेख गरेका छन् । भैरव अर्यालले आत्महत्या गर्दा उनी र बासुदेव लुइँटेल कैयौदिनसम्म मणि हराएको नाग भएको बताएका छन् । बासुदेव लुइँटेलले जगदम्बा प्रेसमा जागिर खाइ भित्तेपात्रो निकालको र अन्य साहित्यिक संस्मरणको झलकहरू यहाँ पढ्न पाइन्छ ।

यो निबन्धसग्रहको प्रमुख उद्देश्य भनेकै लेखकले हास्यव्यङ्गयकार भैरव अर्यालसँग सत्रवर्ष लामो साहित्यिक यात्रामा गरेका उठबसलाई उद्बोधन गर्नु हो । यो लामो इतिहासलाई भैरव अर्यालसँग सत्रवर्ष भन्ने शीर्षका लिपिबद्ध गरेका छन् लेखकले । भैरव अर्याललाई दिल्लीमा उपचार गराउन लैजादाको रोचक प्रसङ्ग र अन्य धेरै घटनाहरू यो निबन्धमा पढ्न पाइन्छ ।

अन्त्यमा भैरव अर्यालले निबन्धकारसँग पोखरासँगै जान्छु भनेको तर बस चढ्न नआइपुगेको प्रसङ्ग राखेका छन् । निबन्धकार पोखरा पुगेर आएपछि मात्र भैरव अर्यालले त्यहीँ राति  बाग्मतिमा हाम्फालेर आत्महत्या गरेको कुरा थाहा पाउँदा विक्षिप्त बनेको कुरा व्यक्त गरेका छन् । यस निबन्धबाट पाठकहरूले त्यससमयको सञ्चारको अवस्था र विभिन्न सामाजिक जनजीवनको अवस्थाबारे थाहा पाउन सक्छन् । किनभने तीस वर्षअघिको नेपाली समाजको जनजीवन आजको जस्तो नभएको कुरा यो निबन्ध पढ्दा थाहा हुन्छ । साहित्यिक पत्रकारिताको विनयी सेवक शीर्षकमा उनले निबन्धकारले नेपाली भाषासाहित्यका अथक साधक तथा सेवक काशीबहादुर श्रेष्ठको बारेमा व्यक्त गरेका छन् । लामो समयसम्म प्रवासमा बसेर उदयका सम्पादक काशीबहादुर श्रेष्ठले नेपाली भाषाको ठूलो सेवा गरेका छन् । काशीक्षेत्रबाट नेपाली भाषालाई गरेको सेवाका विभिन्न घटनाहरू लेखकले यहाँ राखेका छन् । केही तीता र केही मीठा प्रसङ्गमा लेखकले कथाकार भवानी भिक्षुसँग घटेका एउटा मीठो घटना प्रस्तुत गरेका छन् भने असाधारण बिर्साइमा बालसंगठनले मनाउने भनेको  अन्तर्राष्ट्रिय बालदिवसलाई बिर्सेको रोचक प्रसङ्ग छ । त्यस्तै राष्ट्रका प्राज्ञिक सम्पत्तिमा योगी नरहरिनाथले राष्ट्रको लागि गरेको योगदानको चर्चा छ । जुन कुरा राष्ट्रले कहिल्यै बिर्सन हुँदैन भन्ने प्रसङ्गहरू प्रस्तुत भएका छन् । यस निबन्धमा योगी नरहरिले राष्ट्रको राजनैतिक क्षेत्रदेखि लिएर सामाजिक, शैक्षिक र स्वास्थ्यक्षेत्रमा गरेको योगदानको उल्लेखनीय चर्चा गरिएको छ । अन्त्यमा निबन्धकारले योगी नरहरि नाथका कमीकमजोरीहरूलाई पनि यहाँ औल्याइदिएका छन् । अन्तिम निबन्ध भौतिक कमाइको तुच्छतामा उनले आफ्नो मनका कुरालाई मनोवाद शैलीमा व्यक्त गरेका छन् । उनले आफू कसरी साहित्यमा लागे र उनलाई कुन कुराले प्रेरित गर्यो भन्ने कुरा यहाँ राखेका छन् । उनको घरको वातावरण साहित्यमय  भएको बुबाका साथीहरू सबै साहित्यकार भएको र उनीहरूको संगतमा  लेखक आफूपनि साहित्यतिर ढल्केको विचार व्यक्त गरेका छन् ।

यसै क्रममा उनी रचनाको प्रकाशनमा लागेको र यस पत्रिकाका लागि विभिन्न हन्डर दौडधुप गरेको प्रसङ्गहरू छन् । आफ्नो लगानी डुबाएर लामो समयसम्म रचनालाई प्रकाशन गर्नुमात्र नभई स्तरीयतामा पनि लान सक्नुलाई निबन्धकार रोचक घिमिरे ठूलो साहस, धैर्यता र लगनशीलता भएको मान्नु पर्दछ । दिनको दुना र रातको चौगुना कमाउने मानसिकता बोकेको हाम्रो समाजमा कुनै आम्दानीको आशा नगरी रातदिन साहित्यको मलजलको लागि नवीन साहित्यकारहरूलाई स्थान दिई उच्चस्थानमा पुर्याउने रचनाका पयार्य बनेका रोचक घिमिरेको ठूलो आत्मलगानी हो । उनले रचनाबाट पाएको आफ्नो परिचयको अगाडि अन्य सबै भौतिक सम्पत्तिलाई तुच्छ मान्न पुग्छन् । यहाँसम्म कि रचनाप्रतिको उनको समर्पित भावले आफ्नो निजी सिर्जनालाई पनि तिलाञ्जली दिएका छन् । आफ्नो सन्तानभन्दा प्यारो गरी उनले रचनालाई महत्व दिएर धेरै माथि पुर्याएका छन् । रचनाबाट नै आज देशका धेरै स्वनामधन्य साहित्यकारहरू आफ्नो स्थान र परिचय बनाउन सफल भएको छ । यही रचनाका विशेषतासँगै निबन्धकारले आफ्नो नीजि जीवनलाई यस निबन्धमा लिपिबद्ध गरेका छन् । नेपाली साहित्यिक क्षेत्रमा जति रचनाको महत्व छ त्यति रोचक घिमिरेद्वारा लिखित यो निबन्धसङ्ग्रहको महत्त्व छ । यस निबन्धसङ्ग्रहलाई चनाको रचनागर्भ मान्दा कुनै अत्युक्ति नहोला भन्ने यस पंक्तिकारको भनाइ रहेको छ ।

 

Comments

ram

ramroo chh ni 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |