हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

स्मृतिको कुनामा अनुभूतिको एक पहाड ,(विद्या सापकोटा)


म संस्मरण लेखौं भनेर बसेकी छु । स्मृतिको कुना
कुना अनुभूतिका थुम्काहरुले चुलिएका छन् । कतै ती कोमल बालअनुहारहरु एक्क टाँकाएक्क टाँका भन्दै पछ्याउदैछन् त कतै चुरोटको सर्को आनन्दले उठाइरहेकी विकासे कार्यकर्ताको रवाफ झ्याम्मिरहेको छ । विद्या ! तिमी त के सारो निष्ठुरी, कमसेकम एककल फोन त गर विचरालाई, मेरो नभएको प्रेमी सम्झिरहनुहुने/सम्झाइरहनुहुने बिपि दाजु र साधना दिदीहरु एकातर्फ हुनुहुन्छ नै । अर्कोतर्फ, झिङ्गे माछा भनेर प्लेटभरी सजाइएका गंगटाजस्ता पक्वानको गन्ध हो कि बास्नाले नाकलाई छोडेकै हैन । कृतज्ञ त हुने नै भए, त्यो अन्जान आत्माप्रति जसले नेपाली र भारुसहित झण्डै एकसय पचास डलर उदारतापूर्वक छोडेर पर्सको भित्रिकुनाको सय डलर मात्र टप्काएछ (जुनकुरा फर्केको भोलिपल्ट बैंकमा पुगेर मात्र थाहा पाउने हुस्सुप्रसाद मै हुँ ) । खोइ के लेखौं
/के चाहिँ नलेखौं, लेखौं कि लेख्दै नलेखौं अल्छीका दुविधा बढ्दा छन् । खैं कुन अन्तरप्रेरणाले हो अक्षरहरु पोखिन लागे । त्यसो त डायरी लेख्ने बानि नभएपनि घर बाहिर रहदा वा यात्रारत हुदाँ दुइ हरफ नै सही, लेख्ने गर्छु । अहिले तिनै पानाहरु पल्टिरहेछन् सरर..... ।

'राम्ररी जा है, पुगेर फोन गर् नि ।

रुखो मिजासको मेरो ठूलो भाइ म निस्कनै लाग्दा बडो मायालु बनेको थियो । किनकिन मनै भारी भएर आयो, बोल्न लाग्दा शब्दै घाँटिमा अड्किए झैं भयो । लौ यो त रुन लागी मोटरसाइकल स्टार्ट गरेर पर्खिरहेको सानो भाइले जिस्क्याउन भ्याइहाल्यो । केही नबोली ड्याडमम, भाइबैनी र बरपरका सबैलाई टाटा गरेर हुइकिएँ म, विमानस्थलतिर ।

हतार भएको बेला ट्राफिक जाममा फस्नु , आवश्यक परेको बेला फोन नलाग्नु त हाम्रा दीर्घ रोगहरु नै हुन् । त्यस्तै भयो, गंगबुदेखि नै शुरु भएको जाम एयरपोर्ट सम्मै जारी थियो । एनटिसिको नेटवर्क ब्यस्तताको भो कुरै नगरौं । उसै त चिसो झन् पानीका सिर्काहरु पनि खस्न लागे । लगातारको जाम र ढीला भयो भन्ने अत्यासले आँखाबाट बर्षन लागेको झरी भने बीचैमा रोकियो । त्यसो त म कुनै दूरदेशको यात्रामा वा लामो समय अबधिको लागि पनि जादै थिइनँ । तरपनि त्यो मेरो पहिलो अन्तराष्ट्रिय भ्रमण थियो । South Asia Social Forum को ढाका सम्मेलनमा सहभागी हुन जादै थिएँ म । पर्यावरणीय लोकतन्त्रमा लागी दक्षिण एसियाली संवाद (South Asian Dialog for ecological Democracy -SADED) को प्रतिनिधीको रुपमा, भ्रमणलाई ब्यबस्थित गरिदिने जिम्मेबारी बोकेको संस्था एक्सनएड नेपाल (Action Aid Nepal) को टिमसँग ।

सात बज्नै लाग्दा एयरपोर्ट त पुगे, मान्छे यत्ति कि म त हेरेको हेर्यौ भएँ । अनि पो ज्ञात भयो, किन विमानस्थलभित्र तीनघण्टा पहिल्यै छिर्न भनिदो रहेछ । सुनिन्छ, दैनिक तीनसयको हाराहारीमा श्रम बेच्न बिदेसिन्छन् रे नेपालीहरु । दिन दुइगुना रात चारगुना बिदेसिनेको संख्या बढिरहेको परिपे्रक्ष्यमा मलाई पनि कतिन्जेल बाबाआमाको काखमा लुपपुटिदै कुपुकुपु खाइरहन शरम नलाग्ला र ? खैर....यो पटक केही सिक्न, हेर्न र बुझ्नको लागि जादैं थिएँ म । ल ल साढे आठ बजेको कतार एयरवेजका यात्रुहरु अगाडी पठाइदिनुनौ बजे मलेसिया जानेहरुको प्लेन छुट्यो है ?’ हाहाकार नै हाहाकारमा दुइघण्टा चिप्लिसकेको थियो । धन्य मेरा शुभेच्छुकहरु, जसको फोन र एसएमएसले त्यो उकुसमुकुसमा भेन्टिलेसनको काम गरिरहे, गर्दै रहे । 

बल्लबल्ल भीडबाट उछिट्टिएर युनाइटेड एयरवेजको जम्मो विमानमा पुग्यौ हामी । हाम्रा रात्रिबसभन्दा कम्ती आँक्न नमिल्ने त्यो,‘जुन सिटमा बसे नि हुने रे ल निर्धारित समयभन्दा दश मिनेट ढिलो नौ पच्चिसमा काठमाण्डौंलाई किनारा लगाउदै क्षितिजमा उक्लियो । कृण्णभिरमा बस अड्के झैं घ्यार्याक्क.. कुलिर्दै बतासियो त्यो माथीमाथीमाथी  । रातको अन्धकारले छोपिसकेको थियो, त्यस्तोमा देख्नु हेर्नु के थियो र ? यताउता चियाएँ । पाका र परिपक्अनुहारदेखी म जस्तै र म भन्दा पनि कलिला अनुहारहरु यात्रारत थिए,महिलापुरुष झण्डै बराबरी । अचम्म त तब लाग्यो जब थाहा भयो, ती सबै मलेसिया जादै रहेछन् ।  खाडी मुलुकमा घरेलु कामदार भएर जानु सहज कुरा हैन, सुनिदै आएको कुरा हो तर सुनेर के गर्नु ? पापी पेट छ, परिवार छ । सायद भविष्यका सपना पनि हुदो हो ती निश्चल आँखाहरुमा जो लुक्दै बगिरहेका थिए । उफ्........ चिमोटिएँ भित्रैदेखी ।

घत्याक्क..... सोच्दासोच्दै झकाएछु क्यार, जीवनमोहले कक्रक्कै पार्यो । तल पिलपिल जुनकिरी झैं बलिरहेको ढाका शहर थियो । मौसम अपेक्षाकृत सफा नभएकोले केहीबेर आकाशमै फन्को लगाउदै विमान ओर्लियो । भर्खरै पानी रोकिएको रहेछ । स्वागतार्थ उपस्थित थिए,भिजेका भूई र बंगाली हावाको नुतन स्पर्श । अध्यागमनका सानातिना कारबाही पछि होटल प्यासिफिक इनको प्ले कार्ड लिएर उभिएका खान दाजुसम्म पुग्यौ हामी । यतिबेलासम्म हाम्रो एघारजनाको टोली एकिकृत भैसकेको थियो, होटलको प्राइभेट गाडी केहिबेरमै गुड्यो सररर... ।  झिलिमिली बत्ती, सानाठूला बगैचाहरु, तुलनात्मक सफा सहर आफ्नै पूर्वी शहर धरानको याद आयो मलाई  । हाम्रो भन्दा बीस मिनेट छिटो बंगलादेशको घडीमा बाह्र बज्नै लाग्दा बनानीस्थित होटल प्यासिफिक इनमा भित्रियौ हामी ।

दोश्रोदिन बिहान अबेर गरी आँखा खुल्यो । घामको किरणले चुम्दा जीवनले नयाँ रङ्ग पायो । सम्मलेन त भोलिपल्ट (-Nov 18 _) देखि थियो, हामी टिकटको समस्याले गर्दा दुइदिन अघि (Nov 16) नै त्यहाँ पुगेका थियौ । बीचको यो दिन हाम्रो लागि फुर्सदी दिन, बिहानको नास्तापछि घुमघाममा निस्कियौ (कपिल काफ्ले जो नेपाल समाचार पत्रसँग आबद्ध हुनुहुन्छ बाहेक) हामी दशजना । होटलका मार्केटिङ मेनेजर बाटैमा भेटिए, बाटैमा छुट्टिए । बाँकि हामी मनमौजी पाराले यतायता रल्लियौ । यात्रामा पारङ्गत दाजुदिदीहरु यो ठाउँ त दिल्ली जस्तो, यो कलकत्ता जस्तो, यो कहाँ जस्तो... भन्दै तुलना गर्दै हुनुहुन्थ्यो । हुदाहुदा, हाम्रा बाग्मती र बिष्णुमती किनारालाई मात दिने फोहरी र अस्तब्यस्त बस्तीहरु पनि भेटिए । अनि रुद्र दाइहरु भन्न थाल्नु भो, यो जनकपुर जस्तो पो रछ । आआफ्नै अनुभूतिका पुन्तुरा कस्दै हिडिरहेथ्यौ हामी, केही किन्दै र केही किनेजस्तो गर्दै । त्यस्तैमा आइपूग्यो, बनानी सुपरमार्केट । बिपि दाजु र गणेश दाजु  कुन्नी के किन्न भित्र छिर्नु भो, हामी परिबेश नियाल्न । एक्क टाँका, एक्क टाँका को स्वर लहरी गुन्जियो कतैबाट । हेर्छु त, हाम्रोतिर गोरा छालाका मान्छे देख्नासाथ बुझ्नु न सुझ्नु पछ्याउनेहरुको ताँती लागेजस्तै, त्यहाँ एक्क टाँका भन्नेहरुको लर्को लागिसकेछ । आफूसँग खुल्ला टाँका भए न दिने हो (?), थियो त भर्खरै साटिएको हजार र पाँचसयका नोटहरु । त्यही दिएर तिनहरुसँगै हिड्न पनि नसकिने उफ्..... कत्रो समस्या ।  न आफूले बोलेको बुझ्छन् तिनीहरु, न त तिनले बोलेको आफू बुझिन्छ । नेपाली पैसा देखेर आफैं पन्छिएलान् की ? जुक्ति निकाले तर पासा उल्टियो । हेर्दाहेर्दै, बोली नफुटेकादेखी कपाल पाकिसकेका पचासौ माग्नेहरुको घेरामा फसेँ म । अनि त सुपरमार्केटका सिभिल सेक्युरिटी, स्थानीय बासिन्दा र हाम्रो टिमै भएर खेद्नुपर्यो । मलाई दुःख छ, त्यो बिचरी एउटी बच्चीप्रति, जो आफ्नो झुण्डसहित होटलसम्मै आइरही, अन्ततः ल्याम दाजुको पिटाइ पाएर फर्की । 

यसरी अन्धाले हात्ति छामेजस्तो नजरनजरमा ढाका बदलिदै गयो । साँझ गुल्सन बजारतिर लाग्यौ हामी । गुल्सन एक र गुल्सन दुई त्यहाँका स्थानीय, केही चलेका बजारहरु । बजार नीति भने हाम्रै पाराको । बार्गेनिङ गर्न सके सक्यो, सकेन चुलुम्मै ।

तेश्रोदिन ढाका युनिभर्सिटीमा सम्मेलन शुरु हुने दिन । कार्यक्रम त साँझ शुरु हुनेवाला थियो तैपनि त्यहाँको ब्यबस्था के रहेछ बुझौं न त भनेर लाग्यौ हामी (अघिल्लो साँझ मात्र आइपुग्नुभएका एक्सनएडका राजकुमार त्रिखत्री दाजुसहित बाह्र जना) । के अचम्म हो, अघिल्लो दिन हाम्रो जनकपुर जस्तो लागेको ढाका शहर त्यो दिन पुरै अर्को पो थियो । दुरदर्शी पाराले बनाइएका फराकिला सडक, चोकचोकमा कुदिँएका बंगाली सभ्यता र विरतामा मानक चित्रहरु, माथीतिर आँखा उचालेर हेर्नुपर्ने भब्य भवन । कसो ढाका भन्नु त जनकपुरजस्तो रहेछ भनेर फेसबूकमा लेखिएन वा ट्विट गरिएनछ है ? एकअर्काको मुखमा हेर्दै हास्ने क्रम रोकिएकै थिएन, हाम्रो गाडी रोकियो । सहिद मिनारको आडैमा रहेछ युनिभर्सिटी । भारतीय, पाकिस्तानी, फ्रान्सेली, श्रीलंकन, बंगाली, नेपाली ........ असमान र अपरिचित अनुहारहरुको ब्यस्ततत् संगम ।

संसारमा सबैले बुझ्ने साझा भाषा मुस्कान, साटफेर हुदैं गए, उत्सुक नजरहरु छरिए यत्रतत्र । लौ, कार्यक्रम शुरु हुने दिन भएर पनि केही सुरसारै छैन । न स्टेज बनाइएको छ, न ब्यानर नै आइपुगेका छन् । बस्...स्टल राखिएको छ, सहभागिता फर्म भर्न । 'ब्यबस्थापन चाहिँ फितलै हुदोरहेछ है तिमीहरुको पनि' मनोबादमा अल्झदै पाँचपाँच डलरको फर्म भरेर फर्कियौ हामी होटल प्यासिफिकतिर । यतै खाना खाएर जाउ न हुन्न ?’ प्रस्ताव हामीमध्ये कसैको थियो । स्विकृतीको लाहाछाप स्वरुप बसुन्धरा सुपरमार्केट नजिकै ब्रेक लाग्यो गाडीको । खाना त त्यहाँ पनि त्यस्तै थियो जस्तो बसेको होटल, अन्य होटेल वा युनिभर्सिटीक्यान्टिनको । बिचित्रको काइदा, म भेज खान चाहन्छु भनेपनि (मौसमी तरकारी हुनसक्छ लौका र मूला) लौकामूलामा मासुको रस मिसिएर आउने, म मासु खाना खान्छु भनेपनि मासुमा लौका,मूला मिसिएर आउने । माछाको त आफूलाई (सु)गन्ध पनि मन नपर्ने । फेरी हाम्रोमा जस्तो थालमा पस्किएर कसले देओस् ?आफू अघिल्तिर आफूभन्दा ठूला बाटाभरी राखिएका भातका रास, जति मनलाग्छ लियो खायो । मन चंगा भए लोटाँ गंगा भनेजस्तो जूठोचोखो बाल मतलब । त्यति नै बेला कसैले जिस्क्याइदिन्थ्यो, ‘विद्या मासु त गाईको हो रे ।अनि त के चाहियो ? खादाखादै पेट बटारिएर आउथ्यो ह्वाक्क। म त अझ साहाकारी हैन, साहाकारीहरुको हालत ... (?) । खाना चाँहि खाइन्न अब, तेश्रो साँझदेखी प्रतिज्ञा नै गरे मैले ।  ब्लडप्रेसर घटेर टाउको फुट्न खोज्दाको पीडा पनि त राम्रै भोगेँ नि ।

१८ नोभेम्भर साँझ उद्घाटनपूर्वको र्यालीमा मिसिदै सम्मेलनमा सहभागी भयौं हामी । १९, २० र २१ मा त्यहाँ खास कार्यशालाहरु भैरहे । अन्य राष्ट्रसगै नेपालबाट पनि दलित, महिला, अल्पसंख्यक, सामाजिक न्याय र रुपान्तरणका पक्षमा काम गर्ने संस्थाहरुको ठूलो समुह त्यहाँ पुगको रहेछ । थोरै सख्या विमानबाट, धेरै बस र ट्रेनबाट । बिश्वभरबाट २०,००० सहभागीको अनुमान गरिएको त्यो सम्मेलन बिशेष त "Democracy for Social Transformation in South Asia: Participation, Equity, Justice and Peace" नारामा केन्द्रित थियो । नेपाली संस्थाहरुका तर्फबाट पनि प्रशस्तै कार्यशाला,गोष्ठिहरु भए । Gender & Equality/ Globalization, Justite & development/Responsive Governce/ Human Right & Dignity/ Food Sovereignty and Livelihood Security/ Socialism vs Communism लगायतका छलफल,गोष्ठिहरुमा रह्यौ हामी । जुन विषयको दायरा विश्व सामाज हुदैं दक्षिण एसियाली समाजसँग सबन्धित थियो । यहाँ रहदा हामीले जतिसुकै केही गर्न सकिएन र भएन भन्दा पनि हाम्रोमा पनि तुलनात्मक रुपमा केही न केही त भैरहेकै छ । सामाजिक रुपान्तरणका पक्षमा कतै न कतैबाट पाइला त बढाउन थालिएको रहेछ भन्ने लाग्यो । त्यो भन्नका लागि मात्र भनिएका कुरा हुन् भने त सबन्धितलाई मात्र थाहा होला ।

कार्यक्रमकै दौरानमा यताउता गरिरहदा भर्चुअल दुनियाँबाट बास्तविक दुनियाँमा पर्दापण भइदिएर यात्राभरीकै दामी सप्राइज दियो पुरानो भएर पनि नयाँ/नयाँ भएर पनि पुरानो साथी प्रविणले । आफ्नोपनको आभास छरिदिए, निर्मल र योगेशले । आफूले चाहेर पढ्न नपाएको विषय मेडिकल साइन्स, तिनीहरु त्यसैका बिद्यार्थी कताकता लोभ लाग्यो नै । त्यहाँको बिद्यार्थी मैत्री शिक्षा प्रणाली, मिहिनेत गर्नेहरुका लागि उपलब्ध अतिरिक्त सुबिधा आदीको बारेमा परिचित हुदैँ आँखाले एकैचोटि टेक्न नसक्ने त्यो बिश्वबिद्यालय क्षेत्र राम्रै चाहरियो । विश्वविद्यालयका भिन्न कुनाका भिन्न हल सेनेटबाट टिएसटि, टिएसटिबाट मुकरम भवन..........गर्दैमा २२ नोभेम्बरको साँझ ढल्कियो । त्यतिन्जेलसम्ममा हाम्रा पाइलाहरुले राम्रै चक्कर लगाइसके थे बेङ्गो मार्केट, न्यू मार्केट, मोतिजान, बसुन्धरा मार्केट लगायतका बजार क्षेत्रको । हा..हा.. हु.. हु.. र फोटोसोटो त के कुरा गर्नु र? निःसन्देह म आफैंमा फोटोप्रमी त्यसमा पनि एक मुस्कान बराबर एक क्लिक नियमै जस्तो बन्यो कतैकतै । पछि पो एसके दाइको स्वअध्ययन प्रतिवेदनले, मैले सदैब सहज र छरितो मानेको पहिरन टिसर्टपेन्टलाई दोषी देखाइदियो (अन्दाज गलत पनि त हुनसक्छ ) । हुनपनि, ढाका राजधानी शहर भएर पनि कुर्ता सलवार र सारी मात्र पहिरिदाँ रहेछन् केटीहरु । बुर्का भने केही हदसम्म कम भएको हो रे । बैंकमा भेटिएका एकाध बाहेक अन्य क्षेत्रमा महिला सहभागिता शुन्य प्रायः । उदेकलाग्दो कुरा, त्यो राष्ट्रको स्टेरिङ महिला कै हातमा छ ।

२३ नोभेम्बर, त्यो एक बिहान किन खेर फाल्नु? आयौं, न्यू मार्केट । साँझ ४:१५ को फ्लाइट, १ बजेतिर निस्कन परि गो । लगेजहरु मिलाउन प्रयाप्त सहयोग गरे होटलका स्टाफहरुले । हुन त, हामीमध्ये कति जनाको तिनीहरुका प्रति थुप्रै गुनासा थिए , मेरो भने ती घनिष्ठ । अझ भन्नैपर्दा,समवयका साथीहरुको अभाव पुरा गर्ने पनि तिनै । शुरुमा त मलाई पनि जंगली लाग्थे ती,‘मेरो नभएको पतिको बारेमा सोध्ने पनि, छैन भन्दा सन्देशसूचक नजरले हेर्ने पनि । पछि पो थाहा भयो, बंगाली संस्कृतीमा फूली/नत्थी ले हाम्रो सिन्दुरपोतेको समानान्तर अर्थ राख्छन् रे ,कुरा बुझेर एक मेलो हाँसेथ्यौ हामी । अब कहिले पो भेट होला र ?’ छुट्टिनुको नमीठोपन बोध गर्दै हल्लिए हातहरु बाइबाइ.............. । मेरो नाक देखाउदै पुरानो याद पनि स्मरण गर्न भ्याए डलर र आफताफले ।

फराकिला सडक हुनुको बाबजु(रिक्सा, टेम्पु, टाङ्गा लगायतका तिनपाग्रे साधन र तिनको पत्याइनसक्नुको दादागिरीको करामत हुनुपर्छ ) सधैं नै जाम खेप्ने सडक कसरी हो अलि खुल्ला नै रहेछ । दुइतल्ले बस, कार, फाट्टफुट्ट मात्र देखिने मोटरसाइकल....सँग कहिले लय मिलाउदै ,कहिले अघिपछि हुदै गाडी गुड्दै गयो । पछाडी छुट्दै गयो, आफ्नो भाषा र संस्कृतिप्रती बडो बफादार त्यो समाज, अग्रेजी र हिन्दी मोहबिना नै मुस्कुराएका अनुहारहरु, बंगाली भाषाको सगर्व उपस्थिती दर्शाइरहेका सभ्य साइनबोर्ड/होडिङबोर्डहरु,लामालामा दारीजुङ्गाधारी प्रहरीहरु ...... । संयोग नै मान्नुपर्छ, त्यतिबेलै हाम्रै सम्मुख भएर ओझेल पर्यो एउटा रातो रेल ।

बिमानस्थल आउनु नै थियो, आइपुग्यो । न हाम्रोमा जस्तो कोचाकोच ,न त ढिलासुस्ती । सामान्य जाँचपडतालपछि अध्ययागमन कक्ष गफगाफ सेन्टर बन्न बेरै लागेन । ममता दिदीको हसिमजाक, रघु लामिछाने दाजु (जो नागरिक दैनिकमा आवद्ध हुनुहुन्छ)को बौद्धिक/अपत्यारिलो तार्किकशैली, म फुच्ची भएकोले (संख्या) जनामा गन्नै तयार नहुने गणेश दाजुको चतुर बाककौशल पुनः मज्जाले उछालिए । ड्युटी फ्रिबाट सहयात्रामा मिसिए, थुप्रै लब्धप्रतिष्ठित मदिराबोतलहरु । बंगलादेशमा पो रात्रीजीवन र मदिरा प्रतिबन्धित छ,हाम्रोमा थोरै छ र ?

विमानको धर्म उड्नु, उड्यो निर्धारित समयमै उही शिल्पी मुस्कानवाली एयरहोस्टेजसहित । उड्यो मन, जहाजको टुक्रेझ्याल हुदैं कताकता । लाग्यो, क्षितिजमा कोरिएको इन्द्रेणी रेखा पछ्याउदैं सयररत नजरहरु टाढा भनेर जान नसकिएको कल्पनातीत समुद्र्र (देखिएको क्षेत्र समुद्र नभएर समुद्रको कल्पना मात्र पो थियो कि?) मा चोपलिए । जेजे देखिए, जस्तोजस्तो देखियो, देखिन्जेल हेरियो । निष्पट्ट भएपछि जहाजभित्रै कैद भए उत्सुकताहरु, तर चिसिन नपाउदै भेटिए केहि आक्रोशका राँकाहरु । जसलाई दलालले मनग्य ठगेछन् र कामको करार पनि असमय मै सकिएछ । आवेगका झिल्काहरु झलमलाउदै गर्दा देखा पर्यो, घर्लम्म साँझको घुम्टो ओडेको मेरो काठमाण्डौं । बालाचतुदर्शीको महाजाममा बन्दी रहेछ शहर । दुःस्वप्नहरुले कायल म भाइ आइपुग्नासाथ टाप कसे।

अहिले, संस्मरणका टाकुराबीच अदबकासाथ अग्लिएको छ पहाडविहीन (त्यहाँ कुनै टाकुरा नै थिएनन् वा गगनचुम्बी महलले छेकिए, त्यो म जान्दिन)¬ ढाका यात्रा । तमाम यादमा बीच उसैगरी उभिइरहेको छ एउटा जिज्ञासा, ‘अरु त अरु, नेपालीले समेत किन मलाई पाकिस्तानी ठाने/सोचे ?’

 (पुनश्च:सम्पूर्ण सहयात्री मनहरुमा मीठो सम्झना, संस्थाहरु SADED +Actionaid Nepal हाद्धिक आभार )

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |