हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सिरिजका सर्वोत्कृष्ट कविताहरू,(हिमाल खरेल)

झण्डै एकवर्षअघि नवराज सुब्बासित उनको साहित्यिक लेखन र साहित्यिक यात्राको परिवेशमा रहेर एउटा सम्वाद गरेको थिए । त्यसबेलासम्म उनका "जीवन मेरो शव्दकोशमा" कवितासङ्ग्रह र "मनको मझेरी" निवन्धसङ्ग्रह छापिएर बजारमा आइसकेका थिए । "बीच बाटोमा ब्यूँझेर" पुस्तकाकारमा आइसकेको थिएन । यही मंसिर पहिलो साता राजधानीमा विमोचन भएपछि सुब्बाले पुस्तकबारे केही लेखिदिन आग्रहसाथ "बीच बाटोमा ब्यूँझेर" थमाए । त्यो बेला यस्तो लाग्यो- मैले थेग्न नसक्ने भारी बोक्तैछु । तर, डराइन । ठूलो आयतनमा फैलिँदै रहेको नेपाली साहित्यलाई म पनि छेवैबाट 'वाच' गरिरहेको पाठक हुँ । जम्माजम्मी अखवार पढेर प्रतिक्रिया जनाउनु भन्दा अलि धेरै मात्र त होला नि साहित्यिक प्रतिक्रिया, मलाई यस्तो लाग्यो ।

२०६४ सालको अन्त्यतिर सुब्बाले सल्लाह पनि गरेका थिए- 'पछिल्लो पुस्तकको शुद्धाशुद्धि चाहिँ हेरिदिनुपर्ला है ।' मैले 'भइहाल्छ नि' बाहेक अरु केही भनिनँ । तर छुटेछ । पत्तै पाइएन । सुब्बासँगको दुइ-अढाइ वर्षे सङ्गतका कारणबाट म उनलाई एक किसिमले मज्जाले चिन्दछु । मानिसका चेतन र अवचेतन मनको सङ्गत र विकल्पको अध्ययनको सन्दर्भमा सुब्बा एउटा अद्भूतका उदाहरण हुन् । र, नेपाली साहित्य जगतको एउटा प्रभावशाली र 'मोस्ट पावरफूल' कवि हुन् । मैले यसरी नै बुझेको छु- उनलाई, अहिलेसम्म ।

"बीच बाटोमा ब्यूँझेर" भित्र सङ्गठित ७६ कविताहरू सरसर्ती पढ्दै जाँदा बीचबीचमा वोली अट्किन्छ । उनका जीवनदर्शनका कविताहरू साँच्चै मै मार्मिक र भावोद्वेलक छन् । जीवनभरि, सधैंभरि उपेक्षामा पारिएका अपहेलित आम नागरिकका अभिव्यक्तिहरू कविता हुन् सुब्बाका । हरेक आवश्यकताबाट बञ्चित निन्दितका बुलन्द आवाज बनेर कविताहरू आन्दोलित बनेको महसूस हुन्छ ।

साहित्यकार बालकृष्ण पोखरेलले भनेझैं साँच्चै फलदायी बनाउने हो भने साधकले ओथारे अवधिमा अदेखा रहन सक्नुपर्छ भन्ने सत्यमा विश्वास राखेर कोरलेका सुब्बाका ७६ चल्लाहरू हुन् । जसले आमनागरिकले भोग्दै आएका राजनीतिक, सामाजिक, आर्थिक, राष्ट्रिय आदि समस्याहरूलाई एक मानवतावादी कविका चस्माले हेरेका छन्- मा मेरो पनि सहमति छ । 'नवराजका कविता सीमान्तकृत 'मार्जिनल' जीवनका छन् । छेलिएका, दुःखी, वयोवृद्ध, कुष्ठरोगी, अपहेलित र निन्दितका आवाज हुन् । यो सरलताभित्रको सौर्न्दर्यले धेरैलाई तान्नेछ, बाटो देखाउनेछ, नवराजलाई राम्ररी स्थापित गराउनेछ । समालोचक डा.गोविन्दराज भट्टर्राई सुब्बालाई यसरी बुझ्दछन् ।

तर, त्यति मात्र होइन उनका ७६ कविता पढेर प्रत्येकलाई केलाउदै गइयो भने ७६ वटा मझौला आकारका अर्थपूर्ण र मनछुने उपन्यास बन्छन् । अर्थात् उनका एकएक कवितामा एउटा पुस्तकमा पाइने व्याख्या, अर्थ र चित्र लुकेको छ । शक्ति छ कवितामा । समकालीन नेपाली र्सजकहरू मध्ये अत्यन्तै सक्रिय र सफल, उर्जाशील र दृढ, धैर्य व्यक्तिमा सुब्बाको नाम एक नम्बरमा आउँछ भन्नु गलत हुँदैन । उनका कवितामा वर्तमान, भूत र भविष्यको सजीव चित्र छ । उसबेला र यतिबेलाको जीवनशैलीलाई उनले कलात्मक ढङ्गले वर्णन गरेका छन् । रीतिरिवाज र भविष्यप्रति अन्धोपन भएर धरतीमा नयाँ युगका मान्छे भएर ज्यूँदो रहनुको के अर्थ छ ? यदी हाम्रो विवेकको उदय, चेतनाको विकास हुदैन भने । सुब्बाले असाध्य दुःख छोडेर टाढा पुगेको, सुखको खोजीमा भौंतारिएको पात्र आज झन् दुःखले डुबेको महसुस गरेका छन् । "बीच बाटोमा ब्यूँझेर"मा बेजोड कविताहरू छन् । तिनले मानिसका विवशताहरू बोल्छन् । पीडमा जेलिएका निर्धोहरूको एकमुष्ठ प्रतिध्वनि हो त्यो ।

कविताहरूले बोकेका दुःख र दर्दका चित्रहरू न काल्पनिक छन्, न सपना, न स्वैरकल्पनाका कुरा, न दन्त्यकथाका, न धेरै टाढा परदेश भूमिका कल्पनाहरू हुन् । सबै यथार्थ छन् । सबै कविताहरू आफ्नै आँगनका छन् । कविताहरू सिरिजका सर्वोत्कृष्ट छन् । आफ्नै घरका, छिमेकका, वरिपरिका जीवनशैली, आफ्नै दाजुभाई-दिदीबहिनीले भोगेका दुर्दान्त कष्टका- यातनाका, पीडका प्रतिनिधि हुन् सुब्बाका कविताहरू । सुब्बाले कवितामार्फ दुःखलाई अत्यन्तै नजिकबाट सूक्ष्मचेतनाले छाम्न सक्छन्, सुँघ्न सक्छन्, हेर्न सक्छन् भन्ने बुझ्न सघाउँछ । यस्तै जीवन्ततालाई पाठकसमक्ष प्रस्तुत गर्ने ल्याकत राखेका छन् कविताले ।

यति लेख्तैगर्दा आत्मीय बहिनी अनिशा गौतमलाई सम्झनुपर्छ । दुःख-दयनीय अवस्थाबाट गुज्रिएकी यनको दैनिकीमा अचानक आएको सुनामी । १० दिनजति पूरै बोली ठप्प भएर 'पुनर्जीवन' पाएको उनको जीवन, बहिनी मनिषाले देखाएको त्याग र साथी रीनाले गरेको अमूल्य सहयोग । "बीच बाटोमा ब्यूँझेर" सित कताकता मिल्न जान्छ । त्यो मेरो अनुमान मात्र हो ।

"बीच बाटोमा ब्यूँझेर" भित्रका कुरा आज यत्ति मात्र । तर, पुस्तकको आवरणमा रहेको चित्र बुझ्न सकिँदैन । म आवरणमा तस्वीर हुनुपर्छ भन्ने पक्षमा छु यतिबेला । कभरको चित्रले कोही रनभुल्लमा परेर घनचक्करमा फसेको बेला लगाउने अनुमान जस्तो लाग्छ । कवि सुब्बाले कुन अर्थमा आवरण छाने उनैलाई थाहा होला । होइन भने लेखक कर्ण शाक्यको आफ्नो दोस्रो कृति 'खोज' मा आफ्नी छोरी त्रिशाग्नीले खिचेको स्वयम्भूबाट काठमाडौं उपत्यकालाई हेरेको खोजपूर्ण तस्वीर जस्तो कुनै विषयसँग मेलखाने सजीव तस्वीर "बीच बाटोमा ब्यूँझेर" मा राख्न सकिएको भए कृति अझ 'पावरफूल' हुने थियो ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |