हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

ओमानको छोटकरी यात्रा र मथ्रा सून्दरी,(बिनोद खडका )


बिहानको साढे ७ बजेको उडान भने पनि उठ्न त साढे चार बजे नै उठिएको थियो । तयार भएर एयरपोर्ट पुग्दा बज्यो साढे पाँच । चेक ईन र अध्यागमनको काम सकेर निक्लदा ६ जति बज्यो । अब खाली समय निकै नै थियो । विमानस्थलमा यताउता चहार्न थालियो । कोही हतार हतार अगाडीको उडानका लागी तोकिएको गेट खोज्दैछन कोही बाँकी बचेको समयलाई यताउता चहार्दै बिताउँदैछन । कोही ल्यापटपमा हराईरहेका छन त कोही आईप्याडमा इन्टरनेट सर्फिंगमा व्यस्त छन भने कोही हेडसेटमा संगितमा झुम्म छन । कसैलाई ड्युटी फ्रि मा सामान किन्ने चटारो छ भने कोही रेष्टुरामा कफी पिईरहेका छन । कोही हतार हतार गर्दै आफ्नो तोकिएको गेट नम्बर खोज्दै छन । बिहानीको समय साह्ै रमाईलो छ यो दोहा विमानस्थलको भित्री फेरोमा ।

 

गएका केही बर्षदेखि थुप्रै नेपालीहरु यो दोहा विमानस्थलका विभिन्न कार्यक्षेत्रहरुमा काम गरिरहेको भेटिनु नौलो होईन । त्यसैले यो मरुभूमिको विमानस्थल भएर अन्यत्र देशतिरको यात्रा गर्ने नेपालीहरुले आफ्नो नेपाली भाषा यो पराई मुलुकमा पनि सुन्ने मौकामात्र होईन बरु नेपाली भाषामा नै पीरमर्का पोख्ने मौका पनि पाउँछन । सायद त्यसैले होला यो विमानस्थल भएर यात्रा गर्ने नेपालीहरुको संख्या दिनानु दिन बढीरहेको छ । त्यसरी यात्रु नेपालीहरुसंग आफ्नै भाषामा बोल्न पाउँनु यी विमानस्थलमा काम गर्ने नेपालीहरुका लागी पनि पराई शहरमा काम गरिरहँदा एउटा विरानोपन मेट्ने राम्रो अवसर पनि हुँदो हो । तर विमानस्थलका कुरा गर्दा सधै सूखानुभुतीहरु मात्र हुँदैनन बरु यीसंग दूख र वेदनाहरु पनि गाँसिएका हुँन्छन । वैदेसिक यात्रा सबैका लागी फलदायी हुँदैनन बरु कसैका लागी दुर्भाग्यपूर्ण पनि हुँने गर्छ । यही विमानस्थलको आगमनकक्षमा कतिपय नेपाली दाज्युभाईहरु नियमित रुपमा अलपत्र भेटिने गर्छन । दलालहरुले बुनेको कल्पनाको संसार क्षणभरमै कठोर यात्राको शुरुवात बन्न पुग्दछ ।  दलालहरुको कल्पनाको संसारमा नक्कली कम्पनी वा नक्कली स्पोन्सर खडा भएको हुँन्छ । एयरपोर्टमा कम्पनी प्रतिनिधि आउँछ भनेर बताईएको हुँन्छ तर घण्टौ कुर्दा पनि हजारौ मान्छेहरु आवतजावत गरिरहने यो एयरपोर्टमा आफुलाई चाहिएको एउटा मान्छे भेटिदैन । देश हाँक्ने नेता तथा उच्च प्रशासकहरु सबैलाई समस्या के हो राम्रोसंग थाहा छ । समाधान के हो त्यो पनि थाहा छ । सम्बन्धित निकायहरुका दराज र कुना कन्तारामा अभिलेखहरुका खात परेका छन । यही बाटो भएर देशका थुप्रै नेता तथा उच्च प्रशासकहरु वैदेसिक यात्राहरु गर्ने गर्छन । हरेक पल्ट तीनिहरु भन्छन समस्याहरुको समाधान गरिन्छ । तीनका बोलीका ससक्त कार्यान्वयन भने भएको अझैसम्म महशुस गर्न सकिएको छैन । गलत काम गर्ने वा खुल्ला ठगी गर्ने ती दलाल र तीनका प्रतिनिधिहरुलाई कसले कारवाही  गर्ने कहिले गर्ने यी सबै प्रश्नहरु यहाँ खुल्ला आकासमुनि अनुत्तरित छन । के यसका लागी फेरी अर्को नयाँ बिहानीको नै प्रतिक्षा गर्नु पर्ला त ? एउटा प्रश्न तरोताजा बन्छ सबैका लागी केवल पीडितहरुका लागी मात्र होईन । आखिरमा ती पीडितहरु अरु कोही नभएर हामी मध्यकै हाम्रै नेपाली दाज्युभाई वा दिदीबहिनीहरु नै हुँन । सत्य कुरा यो हो कि यस्ता पीडाहरु पीडितका लागी कति दर्दमय हुँन सक्छ म स्वंय पनि अनुमान गर्न सक्दिन तर यो ज्यादै पीडादायक हुँन्छ भन्ने कुरामा म विश्वस्त छुँ तर पनि आजको सभ्य समाजमा पीडकहरु कारवाहीको घेरामा आउँन नसक्नु एउटा सभ्य समाजका लागी अभैm लज्जास्पद यथार्थ हो र यसका भागिदार हामी पनि हौ । किनभने हामी पनि ती पीडकहरुलाई तीनले गलत काम गरेर आर्जन गरेको सम्पत्तिको श्रोत के हो भनेर पहिल्याउन तर्फ कहिल्यै नलागी सायद समाजका कुनै सामाजिक कार्यक्रमहरुमा तीनैलाई चन्दाका मोटो श्रोत मानेर वाह वाह गरेर तीनकै अभिनन्दनहरुलाई ताली पीट्दै खुसी मनाई रहेका पो छौ कि । त्यसैले अझै थाहा छैन कहाँ पुगेर सकिन्छन पीडाका यी श्रृखलाहरु अनि कहिले सम्म बलिया रहनेछन ती पीडकहरु अनि कहिलेसम्म देशका अख्तियार दुरुपयोगी नेता तथा प्रशासकहरुले तीनीहरुलाई संरक्षण दिई रहने छन ।

 

सहयात्री सिभांका त पहिले नै दोहा विमानस्थलभित्र रहेको ओरेक्स लाउन्जको सुबिधा उपभोग गर्दै थिए । उनको डाईनर्स कार्ड क्रेडिट कार्डले उनलाई यो लाउन्जमा निशूल्क प्रवेश मिल्छ । यस्ता लाउन्जमा निशुल्क ईन्टरनेट वाई फाई प्रयोग गर्ने लगायत चिया कफी जुस र फलफुलको उपभोग पनि गर्न सकिन्छ । यात्रुहरुलाई यस्ता लाउन्जहरुले एयरपोर्टहरुमा समयलाई शान्तिमय र सुविधायुक्त बनाउन मद्धत गर्छ यद्यपी सबैलाई निशुल्क प्रवेस चाँही मिल्ने होईन । म भने बोर्डिग गेटको अगाडी बसेर आई प्याडमा नेट सर्पिmंग गर्दै थिए । फेसबुकमा स्टाटस अपडेट गर्दैथे । फेसबुक पनि आजभोली मान्छेहरुको अचम्मैको साथी भएको छ । कसैका लागी टाईम पास गर्ने साधन भएको छ भने कसैका लागी आफ्नो विज्ञापन गर्ने सजिलो माध्यम भएको छ । गलत बिचार राखेर प्रचार गर्न नखोजिए त विज्ञापन पनि नराम्रो होईन किनभने आफ्ना परिचितहरुको सर्कलमा कसैको अद्यावधिक जानकारी रहनु विभिन्न द्दष्टीले राम्रो पनि हुँन सक्छ ।

 

बाहिरको हल्का ठण्डा हावासंगै लठारिदै बिहानीको मलिन किरण जहाजको साना झ्यालहरुबाट जहाजभित्र पस्न आतुर भए झै भान हुनथ्यो । तर के गरोस झ्यालहरु त बन्द पो छन त । अरु समय जतिसुकै गर्मी भए पनि हिँउदका केही महिनाभर कतारको मौसम सार्है रमाईलो हुन्छ । घरभित्रको मलिनो चिसो अनी बाहिरको कलिलो घाम दुबै प्यारो हुन्छ । तर जे होस ती साना झ्यालहरुबाट भित्र पसिरहेको प्रभाती किरणले छुटृै आनन्द भने दिईरहेको थियो ।

 

झण्डै आधा घण्टा ढिला गरेर उडान भरेको यो एयरबस जहाजले दोहाको वेष्ट बे क्षेत्रमाथि एक चक्कर लगाएर पूर्वी दिशा समाउँदा तलतिर समून्द्रमै थपक्कै बसालेको क्यानभासमा कलाकारले कोरेको एउटा सजिव कला झै देखिने पर्ल कतार र यसको संरचनाहरु बिहानीको यो समयमा भने सोह् सिंगारले सजिएकी नवयौवना झै सून्दर देखिई रहेको थियो । खोई किन हो आजभोली मलाई मरुभूमीका यी ठाँउहरु असाध्यै रमाईलो लाग्छ । आफ्नो देशमा दिनको १४ घण्टा लोडसेडिंग हुन्छ यहाँ चौबिसै घण्टा बत्ति आईरहन्छ, जलश्रोतको धनी आफ्नो देशमा खाने पानीको अभाव छ तर यहाँ चौबिसै घण्टा बत्ति आईरहन्छ, नेताहरुको भीड भएको आफ्नो देशमा भ्रष्टाचार मौलाईरहेको छ तर यहाँ नेतागिरी होईन बरु देशको विकासले तीव्र गती लिईरहेको छ, आफ्नो देशमा सूरक्षाको सवाल निरर्थक छ तर यहाँ चौबिसै घण्टा आफुलाई सूरक्षित महशुस गर्न सकिन्छ ईत्यादि ईत्यादि । त्यसो त यी सूख सूबिधाका कारणहरुलेमात्र होईनन यो ठाउ रमाईलो लाग्न थालेको तर खोई किन हो किन हो रमाईलो लाग्छ । पहिले जस्तो अत्यास लाग्दैन । अझ पर के छ भनेर खोज्न मन लाग्छ । त्यसो त आफ्नो जन्मभूमि भन्दा अर्को ठूलो ठाँउ कल्पना गर्नु पनि बेकार हो । कसैको पनि जीन्दगीमा आफ्नो जन्मभूमि वा आफ्नो देश भन्दा अर्को ठूलो ठाँउ हुँनै सक्दैन । आफ्नो देश भन्दा पर पाईने कानुनी रुपमा प्राप्त नागरिकता र भौतिक सूखले केवल क्षणिक सन्तुष्टी दिन सक्छ तर पूर्ण सन्तुष्टी कहिले पनि दिन सक्दैन भन्ने मेरो मान्यता हो । सायद त्यसैले त होला जहाँ जतिसुकै सूख दूख गरेर बसिरहेका भए पनि प्यालेष्टिनीहरु विश्व मानचित्रमा आज पनि आफ्नो देश खोजिरहेका छन ।

 

आजको बिहानीमा मध्यपूर्वी आकाशमा एयरबस ३२१ जहाजमा उडिरहँदा मलाई यस्तो लाग्दैथियो कि सायद म पहिलोपल्ट मध्यपूर्वको मरुभूमिय सौन्दर्यतालाई नजिकबाट स्पर्श गरिरहेको छुँ जुन मैले बर्षौ यसै क्षेत्रमा भौतारिइरहदा पनि महशुस गर्न सकेको रहेनछु । साच्चै यो क्षेत्र रमाईलो रहेछ र रमाईलो अझै बढ्दै गयो जब जहाजले संयुक्त अरब ईमिरेट्सको दक्षिणी भागतिर गति बढायो । तल देखिने चटृानी पहाडहरु र कही कही आँखाले भेट्न गाहे मानिरहेका धागाका त्यान्द्रा जस्ता सडकका साना रेखाहरु जो तीनै चटृानी पहाडहरुका तलतल भएर तीनै पहाडीहरुमा मुश्किलैले ठम्याउन सकिने घरका आकृतिहरुसंग जोड्दिै अगाडी बढिरहेका हुन्छन । यो छोटो उडानमा जहाजका क्याप्टेनले जहाज अवतरणका क्रममा तल ओर्लन थालेको जानकारी दिंदा मन भने यात्रा सन्तुष्टीका नजिक नपुगेको भान हुनथ्यो । जति जति ओमानको नजिक नजिक पुगिनथ्यो त्यति त्यति धेरै नांगा चटृानी र फुस्रा पहाडहरु देखिन थाल्यो । लागथ्यो कि ओमानमा समथर जमिन नै छैन र दोहा र दूबईमा झै गगनचुम्बी टावरहरु पनि छैनन । यद्यपि निर्माणाधिन ठूला ठूला ओभेर हेड सडकहरु भने थुप्रै देखिनथ्यो ।

 

हामी मस्कट विमानस्थलमा अवतरण भइसकेका थियौ । हामीभन्दा पछि अरु जहाज अवतरण नगरेको भए पनि हामीहरु अन एराईभल भिसाका लागी लागेको लाईनमा धेरै पछि थियौ जसले गर्दा विमानस्थलभित्रको गतिविधि नियाल्ने राम्रो मौका मिलेको थियो । झण्डै डेढ घण्टासम्म लामो समयसम्म एयरपोर्टभित्र केवल भिसाका लागी अध्यागमन अगाडीको लाईनमा कुझिन पर्नु निश्चय पनि राम्रो कुरा होईन । त्यसमाथी एयरपोर्टभित्र अन एराईभल भिसाको स्पष्ट सूचनाको अभावका कारणले अलमलिएका यात्रुहरु यत्रतत्र भागदौड गरिरहेका पनि देखिँन्थे । यीनै भीडमा मैले एक हुल नेपाली केटीहरु पनि देखे । थाहा छैन तीनीहरु ओमानमै काम गर्न आएका हुन वा यहाँबाट ट्रन्जिट हुँदै अरु देश जान लागेका हुँन तर तीनिहरुलाई कसैले बोलाएर अर्कोतिर लिएर गयो । उनीहरु अत्तालिए झै यताउता गरिरहेका थिए । त्यसपछि मैले तिनीहरुलाई फेरी देखिन । मलाई यसपटक जब ती नेपाली चेलीहरु ओमानको एयरपोर्टमा यताउता भौतारिरहेको देखे तब मनभरि कता कता चस्स चस्स घोचे झै भयो थाहा छैन ती चेलीहरुको यो वैदेसिक रोजगारी सोचे वा बताईए अनुसार नै छ वा पीडादायक । देख्दामा लाग्छ तीनीहरु तीनका आफ्ना मनका हिसाबमा पनी खुकुला छैनन र त्यति खूसी पनि देखिएका थिएनन । परदेशको भूमिमा विमानस्थलमा घरी यता घरी उता कुदाईनु निश्चय पनि राम्रो कुरा होईन । ती केटीहरु साधारण गाँउले केटीहरु झै देखिन्थे । सरकारले प्रतिबन्धित गर्दागर्दै पनि गएका केही बर्षहरुमा हाउसमेड भएर गैरकानुनी बाटोहरुवाट मध्यपूर्वका देशहरुमा प्रवेस गर्ने नेपाली चेलीहरुको संख्या कम छैन रे भनिन्छ । ती कसरी त्यहाँ पुगे र तीनीहरुको त्यहाँ कस्तो अवस्था छ कसले बुझिदिने र । पछिल्ला समयमा ठूलो संख्यामा नेपाली चेलीहरु यीनै मुलुकहरुमा क्लिनिंग कम्पनीहरुमा पनि आएको बताईन्छ । खोई कसैलाई त रहर होला तर धेरै नेपाली चेलीहरु बाध्यताको सिकार भएर नै विदेसिएको बुझिन्छ । सरकारले तीनका रोजगारीलाई सुरक्षित बनाउन आवश्यक सहयोग गरिदिए सबैको भलो हुनथ्यो होला ।

 

विदेसमा काम गरिरहेका कतिपय मान्छेहरुका सन्दर्भमा पहिले पहिले कोही कोही तीनका बारेमा बताउनु पर्दा तीनीहरु भन्ने गर्थे द्धन्द्धकालमा कोही एउटा पक्ष त कोही अर्को पक्षको धम्की र त्रासका कारणले आफ्नो सूरक्षाका लागी वैदेसिक रोजगारीका नाममा देश छोडेका हुँन । तथ्यांक त मसंग छैन तैपनि निश्चित रुपमा म भन्न सक्छु त्यतिखेर कैयन मान्छेहरुले कमाई भन्दा पनि आफ्नो जीवनरक्षार्थ देश छोडेका थिए । मैले भेटेका कैयौ मान्छेहरुले मलाई यस्तै बताएका थिए । द्धन्द्ध त सकियो र द्धन्द्धकालका कतिपय नेताहरु सरकारमा पनि सामेल भैसकेको अवस्थामा देशले के पायो त्यो खोज्न त्यति सजिलो त छैन तैपनि अवस्था अलिकति भिन्न भने भाको महशुस हुँन्छ । अब जीवनरक्षार्थ होईन बरु बेरोजगारीका कारणले गर्दा देशको एउटा ठूलो जनशक्ति देशवाट विभिन्न रोजगारीका बहानामा विदेस पलायन भैरहेको छ । थाहा छैन यो श्रृखला कहाँ गएर कसरी रोकिन्छ । यसैगरी युवाशक्ति विदेस पलायन नै भैरहने हो भने देशको विकास कसले गर्ला यो सोचनिय बिषय हो ।

 

आगन्तुक यात्रुहरु त धेरै होईनन तर यो लाईन यात्रा डेढ घण्टामा भिसा संगै सकियो । अब्दुल्लाह हामीलाई लिन अघि नै विमानस्थल बाहिर आई सकेको थियो । उसले पाँच छ पटक त पहिले नै फोन गरिसकेको थियो । रोमिंगमा ईन कमिंग कलको समेत पैसा तिर्नु परेकाले मेरो मोबाईलको ब्यालेन्स निकै घटि सकेको थियो । त्यो देखि मलाई तब रिस उठ्यो जब उसले मेरो फोन एराईभल क्षेत्रमा मेरै पछाडी बसेर रिसिभ गर्यो अनि मेरो अघिल्तिर आएर खिस्स हाँस्यो र दाया हातको चियाको कपलाई देब्रे हातमा सार्दै हात मिलाउन मेरा अगाडी उसको हात पसार्यो । त्यसो त उसको र मेरो यो भन्दा पहिले भेट भएको थिएन र उसले मलाई चिन्न सजिलो पनि थिएन होला । सिभांका भने रेण्ट अ कारको अफिसमा कार रेण्टलमा लिने बारेमा बुझ्न गएको थियो । हाम्रो याजना थियो कि काम सकिने बित्तिकै मथ्रातिर दौड्ने । तर मलाई भने मथ्राको बारेमा केही थाहा थिएन । सिभांका भन्दै थियो कि मथ्रा शहरको एउटा आकर्षक र बजार एरिया हो र यो खासगरी मथ्रा सुकका लागी प्रख्यात छ । खोई कसो कसो मलाई भने मथ्रा भन्ने ठाँउ बजार नभएर बरु ओमानी सून्दरीहरुको संगमस्थल भएको अनायास कल्पनाहरु उर्लिएर पो आउन थाल्यो र त्यो ठाँउमा पुग्न रहरहरु बत्तिन पो थाले । 

 

अब्दुल्लाहको कारले एयरपोर्ट छोडेर हाम्रो गनतव्यतिर लागेदेखि नै सडकका छेउमा टन्नै हरिया ठूला ठूला रुखहरुले हरियालीको आभास दिलाईरहेको थियो र यो मरुभूमि र फुस्रा पहाडहरु मात्रको देश हो जस्तो भान पर्दैनथ्यो तर केही बेरमा नै सडक भने हल्का उचाईतिर लागी हाल्यो । वरिपरि ठूला पहाडहरु अनि नजिकमा साना डाँडाहरुले ओमानको मस्कटको यो भागको सून्दरतालाई झल्काईरहेको थियो । खुल्ला सडकहरु र तीनमा तीव्र गतीमा हुँईकिई रहेका सवारी साधनहरु अनि ओमान सम्बन्धी हाम्रा अनेक कौतुहलता र अब्दुल्लाहको जवाफहरु बाटो पार भैसकेको पत्तै भएन हामीहरु त केओएम क्षेत्रभित्र प्रवेस गरिसकेको रहेछौ । केओएम अर्थात नलेज अफ मस्कट जस्तो कि कतारमा कतार फाउण्डेशन दुबईमा नलेज भिलेज । सबैको एउटै लक्ष देशमा शिक्षा र सस्कृतिको विकास गर्नु । अब्दुल्लाह भन्दै थियो यो क्षेत्रमा एकातिर कलेजहरु छन रे अनेक अर्कोतिर केओएम एक केओएम दूई तीन यस्तै नाम गरेका दूई तिन तले केही भवनहरु । हाम्रो गनतव्य चाँही थियो केओएम दूई बिल्डिंग ।

 

के ओ एम दूई बिल्डिंगको दोश्रो तलामा कार्यरत हाम्रा विभिन्न सहकर्मी साथीहरुसग हाम्रो मिटिंग थियो । सबै अफिसियल मिटिंगहरु सकिंदा दिनको ४ जति बजेको थियो । हामीलाई एयरपोर्टसम्म पुर्याउनका लागी इम्तिहाज तयार भयो । हामी पून फुस्रा पहाडहरु हुँदै इम्तिहाजको स्पोर्टस कारमा एयरपोर्टतिर हानियौ यद्यपी हाम्रो दोहातर्फको उडान भने रातको साँढे एघार बजेमात्रै थियो । मेरो सानो जीज्ञासामा इम्तिहाज भन्दै थियो यहाँ करिबन ८ लाख जति विदेशी कामदारहरु छन । ओमानीहरु नै हरेक किसिमका साना ठूला कामहरु गरिरहेको अवस्था भएपनि उसको हिसाबमा यहाँ अझै पनि विदेशी जनशक्तिको आवश्यकता खासगरी दक्ष उच्च जनशक्ति र साना नपुग जनशक्तिको माग पुरा गर्नका लागी भईरहेको बताएको थियो । उसका हिसाबमा ओमानमा मध्यमवर्गिय परिवारको बाहुल्यता छ । टेक्सी चालकहरुमा ओमानी भन्दा अर्को नागरिकताको मान्छे एउटै भेटिएन । तेलको भाउ कतारकै जत्तिकै १ लिटरको १ रियाल नै भनेको हो कि जस्तो लाग्छ । हरेक प्रकारका काममा ओमानीहरु देखिँदा रहेछन ।

 

एयरपोर्ट पुगेपछि उही इम्तिहाजको सहयोगमा एक घण्टाको १० ओमानी रियाल कबुलेर एउटा टेक्सी लिएर हामीहरु मथ्रा सुक भएतिर लाग्यौ । सुक भन्नाले अरेबियन भाषामा बजार भन्ने बुझिन्छ । मध्य शहर, वरिपरि घना बस्तीहरु अनि फेरी डाँडाकाँडा र चटृानी पहाडहरुका कोख हुँदै तीव्र गतीमा हुँइकिरहेको टेक्सीमा ओमानी टेक्सी ड्राईभर वरीपरीका ठाँउ र तीनका विषेशताहरुका बारेमा बताईरहेको हुँनथ्यो । कतिपय कुराहरु बुझिनथ्यो भने कुनै कुरा बुझिदैनथ्यो । हामीलाई लागेको थियो सायद यो १घण्टाको यात्रा होला तर हामीहरु आधा घण्टामा नै मथ्रा पुग्यौ । आधा घण्टाको यो यात्रामा हामीले ओमानका केही बिषेशताहरु हेर्ने र सुन्ने मौका पाएका थियौं । ३०९५०१ वर्ग किमि मा फैलिएको यो देशका जम्मा जम्मी २८ लाख जति जनसंख्यामा झण्डै आठ लाख त विदेशी मात्रै छन रे । अरेबियन प्रायद्धिपको दक्षिणपूवी कुनामा अवस्थित यो देश संयुक्त अरब ईमिरेट्स, साउदी अरेयिबा र यमनले तीन तीरबाट घेरिएको छ भने एकतिरवाट अरेबियन प्रायद्धिपसंग जोडिएको छ । सुल्तानेट अफ ओमान भनिने यो ओमान देशको आफ्नै ईतिहास र आफ्नै बिषेशताहरु छन ।

 

हामीले टेक्सीलाई ५ रियाल दिएर त्यहीवाट बिदा गरिदियौ । झण्डै अर्को २ किलोमिटर जतिमा यो सडक मस्कट शहर पुग्छ रे । टेक्सीबाट ओर्लेर आफै उभिएको ठाँउमा एक फन्को मार्दा म त अच्चम्भित नै भए । म मनमनै खुसी भए वरिपरिको प्राकृतिक सून्दरता देखेर । एकापटि समुन्द्रको एउटा पाटो अनि त्यसमा विशालकाय पानीजहाजहरु । सम्भवत यति ठूला पानीजहाजहरु मैले मेरो जीवनमा पहिलोपल्ट यति नजिकबाट देखेको हुँला । अर्को साईडमा बस्ती र मथ्रा शुक र पृष्ठभूमिमा पुरै चटृानी पहाडहरु । समुन्द्रको किनार र शहर बजार तथा चटृानी पहाडहरुलाइ छुटृाउँँदै लमतन्न तन्किएको छ एउटा लामो फिजारिएको सडक । सफा देखिन्छ बजारको ओल्लो छेउ अनि यताउता हिँडिरहेका गोरा र अरु पर्यटकहरु । छेउमा आधुनिक रेष्टृृराका आँगनीहरुमा विदेसी पर्यटकहरुदेखि विभिन्न खाले मान्छेहरु साँझको मज्जा लिईरहेका छन । यस्तो लाग्छ प्रकृतिको यो सून्दरतालाई आआफ्नै तरिकाहरुबाट चुम्बन गर्न कोही पनि पछि परेका छैनन । जसरी हेरेर लेराए पनि मानवजाती यथार्थमा प्रकृतीका पुजारी त हुँन । प्रकृति पनि त उस्तै जति बढी चुम्यो झन उती बढी सून्दरी उती बढी आकर्षक र मनमोहक । मलाई यस्तो लाग्दै थियो कि म एक सोह् बर्षे लज्जालु युवा र प्रकृति पनि उही उमेरकी अवर्णनिय सून्दरी अनि एकान्तको हाम्रो मधुर मीलन उनी लज्जाउदै म लज्जाउदै एक अर्काको आलिंगनमा हराउँदै हराउँदै क्षणहरु भुल्दै छौ अगाडी बढदै छौ । मथ्रा एक सून्दरी हुँन अनी अरु थुप्रै प्रकतिका सून्दरीहरुसंगको सामिप्यताका कारणले उनको सून्दरतामा निखार बढेको छ । छेउको समून्द्र पनि सून्दरी अनि त्यसमाथि विराजमान पानीजहाज, पारी पटिृका चटृानी पहाडहरु सबै नै  प्रकृतिका सून्दरी त हुँन । त्यसैले मान्छेहरु सून्दरीदर्शनका लागी यहाँ आँउछन । 

 

वस्तीमा बत्ति बलिसकेको छ । केटाकेटीहरु बगलमा रमाउँदै खेल्दै छन । युगल जोडीहरु कार्नेसमा हिड्दै समुन्द्रको छालहरुलाई साथ दिदै छन । छेउकै मथ्रा सुकमा मान्छेहरुको भीड उस्तै छ । सुकमा काम गर्ने दक्षिण एसियाली कामदारहरु आफ्ना पसल अगाडीबाट हिड्दै गरेका पर्यटकहरुलाई पसलको पर्यटकिय सामानहरु बेच्ने प्रयास गर्दैछन भने केही ओमानी गृहणीहरु कोही भाँडा पसलमा त कोही कपडा पसलमा सामान खरिदारी गर्दैछन अनि कोही भने पसलका डीलमा बसेर यी सबै कुराहरु हेरिरहेका छन । समग्रमा मथ्राको यो साँझ रमाईलो छ । हामी पनि केही वेर मथ्रा सुकभित्रको बजारमा हरायौ । तमासा हेर्यौ । वल्लो छेउ पुग्यौ पल्लो छेउ पुग्यौ । फर्केर आएर सडक छेउमा बसेर यताउता नजर घुमाउँदै एक एक कप चिया पियौं । जता हेर्यो त्यतै राम्रा द्धष्यहरु । पहाड हेर्यो पहाडै राम्रो, समून्द्र हेर्यो त्यही राम्रो, बजार हेर्यो बजारै राम्रो सबैभन्दा राम्रो साँझको यो रमाईलो चहलपहल । मैले सायद पहिलो पल्ट देखेको हुँला यी क्षेत्रमा मनोरन्जनका खातिर आएका विदेशी र गोरा पर्यटकहरुको यति ठूलो संख्या ।

 

त्यहाबाट एउटा टेक्सी लिएर हामी अगाडी बढ्यौ । अबको हाम्रो गनतव्य थियो एउटा डाँडाको
टुप्पामा अवस्थित मुमताज महल रेष्टुरेण्ट जहाँ हामीले आजको साँझको खाना खाने निधो गरेका थियौं । तर मन भने अझै पनि मथ्राका सून्दरीहरुमै गढेको थियो । त्यहाबाट यति चाँढै हिड्ने मन थिएन साथै हामीसंग नहिड्नुको विकल्प पनि थिएन । हम्रो टेक्सीले सिधै ४५ डिग्रीमा उकालो चढ्यो । डाँडाको टुप्पामा थियो रेष्टुरेण्ट । गाडीबाट ओर्लेपछि पनि अझै उकालो चढ्नु पर्ने । कुरुम नेचुरल पार्कको पछाडी पटिृ अवस्थित यो हिल टप रेष्टुरा र वरिपरिको वातावरण साँझको यो समयमा शान्तप्राय महशुस भईरहेको थियो । रेष्टुरेण्टको अगिल्लो भागमा आधा अध्यारो र आधा उज्यालो पृष्ठभूमिमा रेष्टुरेण्टको नाम
मुमताज महलबत्तिको हरियो प्रकाशसंगै चम्किरहेको थियो । डाँडाको माथीबाट हेर्दा रात्रीकालिन यो  शहर बत्तिको उज्यालोमा रमाई रहेझै देखिनथ्यो त्यसमाथि लामो रेखा झै देखिने सडक र त्यसमाथि गुडिरहेका गाडीका बत्तिहरुले शहरको चहल पहल अझै ताजा भएको जनाउथ्यो । डाँडाको टुप्पामा बढो आकर्षक ढंगले तयार पारिएको यो रेष्टुरेण्टको संरचना निकै आकर्षक देखिनथ्यो ।

यो विशाल रेष्टुराको एउटा छेउमा मैले स्प्राईट र सिभांकाले ह्विस्की पिउन सुरु गर्दासम्म रेष्टुरा प्राय शून्य थियो । सिभांका जो एक क्रिस्चियन हो तर उसलाई हिन्दु परम्पराका धेरै कुराहरु थाहा छ अनि उसलाई यो पनि थाहा छ कि म किन बिफ खान्न । त्यसैले उ यो साँझको हाम्रो खानामा बिफको संसर्ग गराउन चाहँदैन । उसकी पत्नी बुद्धिष्ट । दुई फरक धर्माबलम्बीहरुबिचमा राम्रो मिलाप रहेछ । उनीहरु एक अर्कालाई असाध्यै माया गर्छन रे । त्यसो त उसले आफ्नी बुद्धिष्ट पत्नीका बारेमा पनि धेरै कुराहरु बताएको थियो र उ आफ्नी पत्नीलाई असाध्यै माया गर्छ ।

 


         (हिल टप बाट तल मथ्रा शहरको दृश्य)
हाम्रो कुराकानीको क्रम समयसंग छिप्पिदै थियो भने अर्कोतिर यो रेष्टुरेण्टमा ग्राहकहरु बढ्ने क्रम पनि उत्तिकै चलिरहेको थियो । तर यतिबेर सम्ममा यो भरिभराउ भैसकेको थियो र अगाडीको स्टेजमा कलाकर्मीहरु आफ्नो सुंरिलो श्वरलाई संगितको मलिनो धुनमा मिसाँउदै हलभरि फैलाउन थालिसकेका थिए भने ग्राहकहरु पनि त्यसैमा हराउँदै मज्जा लिईरहेका थिए । हाम्लाई रेष्टुरा छोड्न मन थिएन किनकि स्वर र संगितको समुन्द्रमा पुरा रेष्टुरा भर्खरै बयष्क बन्दै थियो तर हाम्लाई भने एयरपोर्ट पुगेर दोहातर्फको उडान भर्न हतार भैसकेको थियो । बहुसंख्यक विदेसी कामदारहरु भित्र रेष्टुरामा खाईरहदा बाहिर भने २ वटा टेक्सी लिएर ओमानी टेक्सी ड्रईभरहरु ग्राहकको प्रतिक्षामा बस्दा रहेछन । माथी डाँडामा २ र तल फेदीमा ४ गरेर एक पटकमा ६ टेक्सीहरु रेष्टुराका ग्राहकहरुका प्रतिक्षामा हुँदा रहेछन । माथी डाँडामा एक पटकमा २ भन्दा बढी टेक्सीहरु राख्न नपाईने उनीहरुको आफ्नै आन्तरिक सम्झौता रहेछ । एउटाले ग्राहक लिएर तल झरेपछि अर्को माथी उक्लदो रहेछ । माथी बसेका टेक्सी ड्रईभरहरुसंग एयरपोर्टसम्म जाने टेक्सी भाडामा कुरा नमिलेपछि हामी त्यत्तिकै टहली रहेका थियौ तर माथी बसेका तीनै ओमानी टेक्सी ड्रईभरहरुले हामीलाई हामीले खोजेकै भाडामा एउटा अर्कै टेक्सी उपलब्ध गराईदिए । यो आतिथ्य हो वा तीनको पेशागत दायित्व हो त्यो त मैले बुझन सकिन तर मलाई एउटा कुरा अनौठो लाग्यो त्यो के भने ओमानमा सबै टेक्सी ड्राईभरहरु ओमानी नागरिक नै थिए ।

 

निश्चय पनि ओमान ईतिहासको धनी देश हो प्रकृतिको मालिक पनि हो र आफ्नै प्रकारको विशेषताहरुले भरिपूर्ण पनि छ । मलाई ओमान देश र यहाँका मान्छेहरुको सरलपना र मिलनसारिता यहाँको प्राकृतिक सून्दरता जस्तै राम्रो लाग्यो । मथ्राका सून्दरीहरु त मैले सायदै बिर्सौला । बाँकी बचेको २ घण्टा एयरपोर्टको सुबिधासम्पन्न लाउन्जमा बसेर कफी पीउँदै बिताईयो । हामीले रातको साढे एघार बजे फेरी कतार एयरवेजको एयरबस-३२१ मा दोहा तर्फको यात्रा भर्यौ र कतार छोडेको झण्डै अठार घण्टामा हामी फेरी कतार नै आई पुग्यौ । समग्रमा सूखद र अबिस्मरणिय रह्यो यो छोटो यात्रा र मथ्राका सून्दरीहरुसंगको भेट ।

 

 

२७ डिसेम्बर २०११, मंगलबार,

Comments

Rabi Roshi

करिब २० बर्ष अघि ब्यशायी तथा नियात्राकार घनश्याम राजकर्णिकारको \" विदेशको यात्रा स्वदेशको सम्झना \" नामक पुस्तक पढेको याद ताजा तरोगा बनायो /  

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |