हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

बजगाईंको "हिउँको तन्ना" हेर्दा,(प्रा. डा.रामकुमार पाँडे)


 साहित्यकार बजगाइँ

"हिउँको तन्ना
कुष्णको बाँसुरीमा
पानीको रेखा ।"

हाइकु जापानी शैलीको छोटो कविता हो । यो ५-७-५ अक्षरीय शब्द संयोजनमा रचना गरिन्छ । प्रकृति दर्शनमा केन्द्रीत रही तीन हरफमा रचना हुने हाइकु सघन दर्शन परिदर्शनको उच्चकोटीको काव्य हो । प्रकृतिको विम्बबाट जीवनका गाँठा फुकाउन हाइकु सक्षम रहन्छ । यसैले हाइकु पढ्ने बुझ्ने जो कोहीलाई यो आकर्षणको केन्द्र रहन्छ । जापान पुगेर फेब्रुअरी ११ सन् १९६१ साहित्य राजदूतको रुपमा शंकर लामिछानेले हाइकुलाई नेपाल भित्र्याए । सर्वप्रथम २०१९ र सम्भवत: दोस्रो २०२२ मा दईवटा हाइकु नेपाली भाषामा देखापर्यो । हाइकु ट्वाक्क परेको काव्य चटनी हो जसले स्वादको रमरम निकै पछिसम्म दिने क्षमता राख्दछ । विम्बको सटिक प्रयोगबिना हाइकुको प्राणप्रतिष्ठा हुन्न । आफ्नो हाइकुको प्रयोगका अतिरिक्त जापानी हाइजीनका हाइकु उल्था गरेर २०२७ मा शंकरले नेपाली साहित्यमा भित्रुएका थिए । हाइकुलाई छोटो कविता मात्र बुझ्नेले छोटा कविता सिर्जना ध्यान दिए तर गतिलो हाइकु ल्याउने प्रयास साँच्चै भन्नुपर्दा लामो अवधिसम्म हुन सकेन । शंकरले पनि प्यासै मेटिने प्रकारले हाइकु अगाडि बढाउन सकेनन् । यसको मूलकारण हाइकु सिर्जना संरचनाको व्याख्या-विश्लेषणपछि मात्र भयो । ऋतुविम्ब हाइकुको ज्यानै मानिन्छ जसलाई नबुझ्दा नेपाली हाइकु आकारप्रकार र रुपरङ्ग दुरुस्त भए पनि निष्प्राण रहेका धेरै उदाहरण पाइन्छन् ।

हाँस्यव्यङ्ग्यकै महत्व बोकेर मध्यकालमा हाइकाइ वा हाइकाइ-नो-रेङ्गाबाट उद्भित हाइकुलाई जापानी कवि माचुओ बासो १६४४-१६९४ ले स्थापित बनाए । एदोकाल १६०३-१८६७ मा साहित्यको उच्च कालका रुपमा जागेको हाइकु छिटै व्याप्त बन्यो । संरचना स्वरुपमा अक्षर गन्ती र अन्तरभावमा ऋतुविम्ब -किगो को फिलिङ्गोले जीवनका अन्तरकुन्तरका निष्पट्ट खजाना उजागर गर्ने हाइकु कवितापछि निकै विकसित बन्यो । यसलाई नयाँ रुपरङ्ग लिपपोत गरेर चिरिच्याट्ट व्यक्तित्व-निर्माण गर्नमा मासाओका सिकी १८६७-१९०२ ले नयाँ हाइकु नाम दिएर जापानी छोटो शैलीको कवितालाई व्यापकता दिए । छोटो यस्तै यत्तिकै अक्षराङ्कन हुने व्यङ्ग्य बोधका हाइकुलाई सेन्यूका रुपमा प्रस्तुत हुने गर्दछ ।

नेपालमा व्यङ्ग्य चेतको हाइकु निकै पर्गेलिएका छन । जेन दर्शन दिने स्मरणीय र उदाहरणीय हाइकु कमै छन् । नेपालमा साँच्चै भन्नुपर्दा हाइकु विजारोपण लामो समयअघिनै भए पनि मलजलको अभावमा राम्ररी हुर्कन सकेन । आज आएर साहित्यमा हाइकुको जग बलियो हुँदैगएको छ । ठूलठूला पुस्तक र तिनमा विश्लेषणात्मक भूमिका गोष्ठी र कार्यपत्र विमोचन कार्यक्रमहरुले बलियो आधार तयार भएको छ । राष्ट्रिय गोष्ठीहरुले निश्चित दिशानिर्देश गर्न सघाएको छ । नेपाल राज्यका विभिन्न जिल्लाका कर्मठ भावुक युवा कविलाइ यसले राम्ररी छोएको छ । यसैले एकपछि अर्को हाइकु सङ्कलन नेपाली वाङमयमा थपिँदैछन् । आजको हाइकु-विस्फोट हेर्दा नेपाली साहित्यमा काव्य समृद्ध हुँदैजाने लक्षण सुस्पष्ट छ । यस लहरमा "हिउँको तन्ना" हाइकु सङ्ग्रह अगाडि आएको छ । कुष्ण बजगाईं साहित्यका सिद्धहस्त कवि हुन् भन्ने प्रमाण यस हाइकु सिर्जनाले प्रमाणित गरेको छ । कथाकार र नियात्राकारसमेत बजगाईं हाइकुकारमा उठेका छन् । बजगाईंका थोरै हाइकु सपाद देखिन्छन् भने धेरै हाइकु इमान्दारीसाथ बुनेर बजगाईंले बुलन्द बनाएका छन् । केही सेनरयो प्रकारका हाइकुले व्यङ्ग्य बलियोसँग बजारेका छन् ।

बुद्धको देश
बाघ भालु कुर्सीमा
मान्छे जेलमा ।

उभिई हेरेँ
सर्वाङ्ग नाङ्गै तिमी
संसदभित्र ।


मीठो हाइकु पस्किन साजिस झैँ देखिन्छन् बजगाईं । सौन्दर्यचेतले ओतप्रोत हाइकु छरपस्ट पार्छन् हिउँका तन्नामा ।

तिम्रो स्पर्शले
हिउँ समुद्र भयो
म काकाकुल ।

निर्मल पानी
धमिल्यायो हलीले
खेत बाँझै छ ।

पोखरी देख्यो
गहिराई नापेन
नामर्द रै' छ ।

कुलोको पानी

सुकेर गई हाल्यो
माछा फत्रक्कै ।


कवि कृष्ण बजगाईँमा सफल हाइकुकारको सुगन्ध मगमगाउन सुरु भइसकेको छ ।


तल भन्ज्याङ्ग
माथि साँगुरी डाँडा
साँघुरो बाटो ।

कसरी भयो
उसको आगमन
बन्द बाटोमा ।

निश्चल मन
ज्वारभाटा के उठ्यो
आयो सुनामी ।

थकित सूर्य
हिउँदमा चिढियो
बरफसँग ।

सल्लेरी वन
उकालो चढ्नु मािथ
चिप्लिँदै तल ।


साँगुरी डाँडा
तल चिउरीबास
ठिङ्ग धरान ।


हाइकुकार कृष्ण बजगाईँ नेपाली विम्बहरु पक्डेर मनका भावलाई गहिराईसम्म डुबुल्की मार्न सक्षम छन् भन्ने कुरा उनका निकै हाइकुले व्यक्त गर्छन् । प्रवासमा बसेर परिवेशलाई उन्न पनि उनी पछि परेका छैनन् ।

नाङ्गिए मान्छे
तातो घाम देखेर
प्यासी समुद्र ।

कालीको नाक
बेल्जियमको हिरा
घरै झलल

कविको दृष्टि सबैतिर पुग्छ तर विम्ब समाउन सक्नु खूबीकै कुरा हो । अनुभूतिकै कुरा हो ।

थकित सूर्य

रोकियो एक साँझ
क्षितिजमाथि ।

जादुको छडी
तिमीलाई नै सुम्पेँ
सम्हाली राख ।

हिउँका तन्नामा पानीका रेखाहरु छन् । बाँसुरीको धून छ । यस्तै मीठामीठा मोतिका दानाजस्ता सग्ला चमकदार हाइकुको माला बुन्दै जाने शुभकामनासाथ कृष्ण बजगाईंलाई प्रवासमा बसेर अन्तरराष्ट्रिय नेपाली साहित्य समाज र यसको बेल्जियम च्याप्टरमा पनि वातावरण हाइकुमय बनाउने सफलतामा शुभेच्छा प्रकट गर्दछ । कतिपय पत्रिकाका सम्पादक र नेपाली कविताका पारखी पनि रहेका बजगाईंलाई सफल हाइकुकार भएकामा बधाई ज्ञापन गर्दछु । ऋतुचक्रमा हिउँको तन्ना सिर्जना भइरहोस् । हाइकुको प्यास मेटिरहोस् ।
 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |