हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सान फ्रान्सिस्कोको यात्रा र अमेरिकी लफंगाहरु,(बिनोद खडका )


अमेरिकाको पश्चिमी पाटोमा अवस्थित सान फ्रान्सिस्को शहरमा बिहानीको कलिलो घाम ओर्लिसकेको थियो । होटल ईन्टरकन्टिनेन्टलको यो २१ औ तलाको कोठाबाट बाहिर परपर सम्म बिहानीको कलिलो घामसंगै शहर झर्लंगे उज्यालो देखिनथ्यो । रमाईलो देखिनथ्यो । घाम लागिसकेको भएपनि बाहिर भने हल्का चिसो नै थियो । आफुलाई भने बिहानैदेखि बेस्सरी भोक लागिरहेको थियो ।  होटेलमा खानु त्यति सजिलो थिएन । मेनु पनि त्यत्तिकै कठीन । त्यसैले खानेकुरा खोज्ने बहानामा बाहिर जानु उपयुक्त थियो किनभने बिहानीको समयमा नयाँ शहरमा निक्लनुको मजा नै अर्कै हुन्छ । बिहानीको शहर हेर्दैमा लालिमय हुन्छ अनि श्रृजनसिलताले श्रृगारिएको हुन्छ
, जाँगरिलो हुन्छ जुन रातको कृतिमता भन्दा नितान्त फरक हुँन्छ । रातमा घुम्नेहरुलाई बिहानीको घुमाईको मजा बिरलै थाहा हुँन्छ । यो मेरो व्यक्तिगत अनुभव हो । त्यसैले बाहिर जाने बिचार आयो । म होटेलबाट निक्ले ।

 

अघिल्लो दिनको लामो यात्रा मध्यपूर्वको शहर दोहाबाट शुरु भएको थियो । दोहादेखी वासिंगटन डि सि सम्मको  बोईग ७७७ जहाजको १४ घण्टाको अविरल उडान अनि त्यसपछि फेरी वासिंगटन डि सि देखि सान फ्रान्सिस्को सम्मको अर्को ६ घण्टाको उडान र कनेक्टींग टाईम समेत सबै मिलाएर पहिलो जहाज प्रवेश गरेको समयदेखि करिबन २३ घण्टाको लामो यात्रापछि म अमेरिकी वेष्टकोष्ट शहर सान फ्रान्सिस्को पुगेको थिए । बोईग ७७७ जहाजको बिजिनेस क्लासको सुबिधासम्पन्न यात्रा भएकाले अघिल्लो १४ घण्टाको लामो यात्रा सहज र रमाईलो भएको थियो । तर वासिंगटन डिसि देखि सान फ्रान्सिस्को सम्मको झण्डै ६ घण्टाको अमेरिकी घरेलु सेवाको पछिल्लो हवाई यात्रा निकै कष्टप्रद भएको थियो । न त बस्ने सिट सुबिधाजनक थियो न त विमानभित्रको सेवा नै । झण्डै झण्डै कुझिँए झै यात्रा गर्नु परेको थियो । तर पनि वासिंगटन डिसि स्थित अमेरिकी अध्यागमन सेबा भने राम्रो लाग्यो । अध्यागमन अधिकारीहरुको सहयोगी भूमिका निश्चय पनि त्यति पर देखि लामो यात्रामा आएका यात्रुहरुका लागी निकै महत्वपूर्ण पक्ष हुने गर्दछ । भिसा नदिनु नै छ भने सम्बन्धित कन्सुलर अफिसले भीसा माग गरिएकै स्थानमा पहिले नै अस्विकार गर्नु राम्रो हो तर लामो यात्रा गरेर आईसकेको यात्रुलाई सूरक्षा सवालका हिसाबले जोखिम हुन सक्ने बाहेक अन्य अवस्थामा कुनै पनि देशको आगमनस्थित अध्यागमन कार्यालयले प्रवेशाज्ञा नदिनु निश्चय पनि उपयुक्त होईन । जे भए पनि हरेक यात्रुहरुले त्यो देशको नियमहरुको पालना गर्नै पर्छ त्यसमा कुनै मत मतान्तर हुने सवाल नै उठ्दैन ।

 

सान फ्रान्सिस्को पुग्दा झमक्कै अँध्यारो भैसकेको थियो । बाहिर जताततै बत्ति बलिसकेको थियो । तर एयरपोर्टको चहलपहल भने उस्तै वयष्क थियो जस्तो कि दशैका बेलाको बोडेलीको चीउरा मिल । भित्र बसिरहँदा त यस्तो लाग्छ कि अझै दिन ढल्केकै छैन । एयरपोर्टदेखि शहरसम्म जानको लागी म चढेको भ्यानमा अरु पनि यात्रुहरु थिए । भ्यानले विभिन्न यात्रुहरुलाई शहरका विभिन्न ठाँउहरुमा ओराल्ने क्रममा कहिले यता कहिलो उता गर्दा नै साँझको १० बजिसकेको थियो र मेरा लागी अनौठो लाग्दो कुरा के थियो भने यतिखेर नै यहाँका ९० प्रतिशत भन्दा बढी बजार बन्द भैसकेको झै देखिनथ्यो । शहरमा रातको सन्नाटा ओर्लिसकेको भान हुन्थ्यो ।

 

होटेलमा चेक ईन गरेर कोठामा पसेर रिफ्रेस भए लगत्तै मलाई बाहिर निक्लन मन लाग्यो । मेरो बिचार थियो कि नजीकमा केही फास्टफुड पाए खाई हालु भन्ने तर लामो यात्राले पेटमा हावा भरिदिएकाले भोक नै भने लागेको थिएन । होटेलबाट बाहिर निक्लेपछि कुन दिशातिर जाने भन्ने सोच्नु अघि नै एउटा दिशातिर मेरा पाईलाहरु बढी हाले । परपर पुग्दा पनि पसलहरु खुलेको भेटिएन । बरु केही लफंगाहरु शराबको नसामा फुटपाथमा यता उता हल्लिदै हिँडेको चाँही देखिनथ्यो । अलि ओझेल परेका ठाँउमा त डर महशुस हुनथ्यो । ती बर्बराई रहेका जड्यहाहरु यथार्थमा डरका पात्र बनेका थिए । फाटृफुटृ हिँडिरहेका यात्रुहरुलाई तिनीहरुले बर्बराउँदै गाली गरिरहेका थिए अझै भनौ एक प्रकारको आक्रोस पोखिरहेका थिए । खाना खानका लागी नजिकमा कुनै रेष्टुरेण्ट भेटिएन न त सुपरमार्केट नै खुलेको देखियो । होटेलमा नै खानुपर्ला भन्ने सोचे तर यी ठूला होटेलका रेष्टुरेण्टका मेनुहरु बुझ्न मलाई अझै पनि हम्मे हम्मे नै पर्छ । महंगो त्यत्तिकै । त्यसमाथि यो होटेलको त कुरै अर्को किनकी अमेरिकी राष्ट्र्पति बाराक ओवामा पनि उनको कुनै भ्रमणका क्रममा कुनै समय यसै होटेलमा बसेका थिए रे । ठूला मान्छेहरुसंग जोेडेर विज्ञापन गर्ने चलन यहाँ पनि रहेछ । तर जे होस होटेल चाही ठुलै रहेछ । होटेलको रेष्टुरेण्टमा त छिरे तर खाने मन त्यसै मरेर गयो । मैले खोजे जस्तो वा मेरो आत्माले मागे जस्तो मैले केही भेटिन । समग्रमा भन्दा खाली पेट नै सुतेको थिए । त्यसैले आज बिहान मलाई चाढै नै भोक लाग्नु स्वभाविक नै थियो ।

 

होटेलको २१ तल्लाको कोठावाट बाहिरतिर हेर्दा पुरा शहरमा घाम ओर्लेको प्रष्ट देखिनथ्यो । तर घाम भने मलिनो नै थियो । बाहिर घाम नै लागिसकेको भए पनि बाहिरको चिसोले नसमातोस भनेर ज्याकेट लगाएको थिए । बाहिर हल्का चिसो नै थियो । फुटपाथमा अगाडी बढ्दै जाँदा ठाँउ ठाँउमा बहुलाहरु जस्ता वा लफंगाहरु जस्ता केही झुत्रे मान्छेहरु देखिन्थे जो आफ्नो शरिरको नियन्त्रण भन्दा बाहिर भए झै देखिन्थे । उनीहरु यति बिहानै पनि रक्सीको नसा भित्र कैद झै देखिन्थे । तीनका हाउभाउले तिनीहरु कतै बहुलाहरु पो हुन कि भन्ने संकेत पनि गथ्र्यो । तर मलाई भने तिनीहरु प्रति अनौठो ध्यान खिचिएको थियो कि ती अमेरिकनहरु किन त्यस्तो बेहाल भएर हिडेका होलान । मैले सुनेको र बुझेको अमेरिका भन्ने देश थोरै आदिवासीहरु र बढी विदेशी आप्रवासीहरुको संयोजनले बनेको देश हो । विभिन्न देश र समाजका मान्छेहरुको संयोजन र योगदानले यो पातालको देश आज संसारभरी समग्र रुपमा बलियो देशको रुपमा चिनिन्छ र यो देशको राजनितिक, सामाजिक, र आर्थिक संरचनाले संसारभरी प्रभाव पारेको छ । संसारभरीको जनसंख्याको एउटा ठूलो हिस्सा सधै अमेरिका जान र त्यही घरजम गर्न लालायित हुँन्छ यसका लागी उ आफ्नो जन्मभूमि र त्यहाँको नागरिकता नै त्याग्न पनि तयार हुँन्छ । हाम्रै देशका पनि कैयौ मान्छेहरु कोही सरकारी कोटाका वैदेशिक छात्रवृत्तिमा, त कोही आफ्नै खर्चमा अध्ययन गर्न भन्दै अमेरिका पसेका तर अध्ययन सकिसकेपछि पनि स्वदेश नफर्कनेहरु छन । सास्कृतिक कार्यक्रमका लागी भनेर गएका कैयौ कलाकारहरुले उतै घरजम गरेका छन । अनेक श्रोतवाट जाने बाहेक ठूला भ्रष्ट पदाधिकारीहरु र नवधनाढ्यहरुको सन्तानको एउटा हिस्सा या त उच्च शिक्षाको नाममा या अरु नै बहानामा अमेरिका पुग्ने र यो वा त्यो बहानामा उतातिर नै अड्किने क्रम सामान्य हुँन थालेको छ । केही मध्यम वर्गिय समुदाय तथा धेरै नवधनाढ्य वर्गहरुमा आजभोली आफ्ना सन्तानलाई अमेरिका पठाउने होड नै चलेको छ । पहिला पहिला सन्तानले डाँडा काँडा ढाँकुन भन्ने बढाहरुको आर्सिवाद साथ परिवारमा जुटेर रहने चलन थियो जुन पछिल्लो समयमा गएर एक वा दूई सन्तानमा सीमित हुँन थाल्यो । ती सन्तानलाई पनि विदेस पठाउने होड चलेपछि त देशमा मध्यम तथा उच्च धनाढ्यहरुको एउटा वर्ग आफै चोईटिन पुगेको छ र सामाजिक बिखण्डन तिव्र रुपले बढिरहेको छ । यदि यो क्रम यसैगरी बढ्दै जाने हो भने बेलैमा देशमा थप बृद्धाश्रमहरुको आवश्यकताका बारेमा सोच्नु जरुरी देखिन आउँछ । आफ्नो सन्तान अमेरिकामा छन भन्ने कुरालाई समाजमा गर्वका साथ लिने प्रवृत्तिले उनीहरु आफैमा टुक्रिएका छन । एक बारको जीन्दगी जता बिताए पनि बिताउनु त हो भन्नेका लागी भने यो सहज नै हुने गर्छ । देशमा तिव्र रुपले बढ्दै गएका आर्थिक तथा सामाजिक समस्याहरु, जीवनका आधारभुत आबश्यकताहरुको आपूर्तीमा दिनानु दिन बढ्दै गएका समस्याहरु, आर्थिक असमानता र बेरोजगारीका समस्याहरु, तथा असन्तुलित र अस्थिर राजनैतिक अवस्थाले गर्दा अमेरिकन बन्न खोज्ने रहरहरु पलाउनु स्वभाविक मान्न सकिन्छ तर मुलुकले सामाजिक र पारिवारिक बिखण्डनको समस्यालाई आगामी दिनहरुमा कसरी पार लगाउँछ त्यो भने देख्न बाँकी नै छ ।

 

अब फर्कौ तीनै विभिन्न चेहराहरुतिर जो सान फ्रान्सिस्कोको सडकपेटीमा असरल्ल परेका छन सायद ती पनि कुनै दिन अमेरिकन बन्ने चाहनाका साथ आएका विदेशीहरु नै थिए होलान र सायद अब त अमेरिकी नागरिक पनि बनि सकेका होलान । सायद कस्ता हुँदा हुँन तीनका उस समयका अमेरिका हेर्ने नजरहरु जब उनीहरु अमेरिकातिर हुँइकिने योजना बनाइरहेका थिए । निश्चय पनि यस्तो जीन्दगी तीनले सोचेका थिएनन होला । त्यसो त केही नवअमेरिकावासी नेपाली दाज्युभाईहरु पनि भन्ने गर्छन अमेरिका भनेको काम गर्नेहरुका लागी स्वर्ग हो यहाँ काम नगर्नेहरुका लागी कुनै स्थान छैन र यहाँ काम के हो संग मतलब गरिदैन बरु सबैखाले कामलाई सम्मान गरिन्छ । यो कुरा निश्चय पनि सत्य हो र यो तथ्य केवल अमेरिकामामात्र होईन संसारभरी नै उसैगरी लागु हुँन्छ । काम नगरी कही पनि खान पाईदैन । फरक यति हो कि हाम्रो देशमा कसैले बटुलेको अकुत सम्पत्तिको कुनै श्रोत खोजिदैन र भ्रष्ट आचरणले वा अख्तियार दुरुपयोग गरेर पैसा बटुल्न पल्केकाहरु अझै उत्साहित हुँन्छन । तिनीहरुको सम्पत्ति समाजमा गलत कामहरुमा खर्च भई समाजमा अनावश्यक रुपमा प्रतिस्पर्धा श्रृजना गरिदिएको हुँन्छ र सामाजिक उच्श्रिृखलताहरु ब्ढिरहेको हुँँन्छ । उनीहरुलाई काम गर्नु पर्ने जरुरत हुँदैन । पैसाकै कारण देशका नेता तथा उच्च प्रशासकहरु तीनका सम्पत्ति वरिपरी आशेका रुपमा रुपान्तरित हुँन्छन । हो तीनका लागी काम काम नभएर लाजका कारण बन्न जान्छ र केवल फोस्रो आडम्वरमा बाँचिरहेका हुँन्छन अरु बाँकीका लागी जीवनसैली जहाँ गए पनि उही र उस्तै हो, बिनाकाम माम मिल्दैन ।

 

ती अमेरिकन लफंगाहरुका बारेमा अनेक कुराहरु सोच्दै गर्दा मैले जानु पर्ने ठाँउ नै बिर्सेछु कि क्या हो । मेरा नजरमा खानेकुराका कुनै पसल नै अगाडी परेनन । एक पटक रोकिएर परसम्म नै हेर्नु पर्यो कतै ब्रेकफास्ट खान पाईने रेष्टुरा पो देखिन्छ कि भनेर म रोकिए र परपरसम्म नजर दौडाए । तर त्यसो गर्दागर्दै एउटा लफंगो मेरो अगाडी उभिएर मलाई सोध्दै थियो कि कतै मलाई मद्धत चाहिएको छ कि । म अचम्ममा नै परे । मैले मलाई मद्धत चाहिन्न भन्दा पनि उ मेरै पछिपछि लागिरहेको थियो र मलाई गाली गर्दै थियो । धन्य अमेरिकन महोदय, आफु आफै मद्धत चाहिने अवस्थामा भए पनि अर्कालाई मद्धत गर्न तयार । मद्धत चाहिन्न भन्दा उल्टै गाली पो सुन्नु पर्ने । म त्यो मोरातिर नहेरिकनै फटाफट अगाडी बढे ।

 

भोलीपल्ट । यो प्रकृतिको रानी शहर जति पर हेर्यौ त्यती धेरै सून्दरी । हेरेर र घुमेर त मन नै नअघाउने । जति हेर्यो त्यति हेरौ हेरौ लाग्ने । प्रशान्त महासागरको कोखमा फक्रिएको सेतो गुलाफ जस्तो यो शहरको प्राकृतिक सून्दरताको बयान गरेर सकिँदै सकिँदैन । त्यसैले आफ्नो यो छोटो भ्रमणको व्यस्त कार्यक्रमहरुका बाबजुद पनि केही समय निकल्यो कि कुनै एक दिशामा लगातार पाईलाहरु बढाई हाल्थे । दिउँसोको समयको खाना खाने समयलाई साँचेर म हत्तपत्त कार्यक्रमस्थल बाहिर शहरको घमाईलो मज्जा लिन भनेर निक्लेको थिए । यसै मौकाको फाईदा उठाउँदै म एउटा पसलको ठेगाना ईन्टरनेटमा गुगलले बताए अनुसारको नक्सा अनुसारको दिशा खोज्ने प्रयास पनि गर्दै थिए । तर मैले सही दिशा पहिल्याउन नसकेपछि एक एसियन झै देखिने एक बटुवालाई रोकेर सहयोग मागेँ । उसले मलाई त्यो ठाँउको बाटो बताई रहुन्जेल एउटा कालो ठूलो मानव आकृति मेरो अगाडी देखियो र त्यो मान्छेलाई भन्दै थियो कि कतै मलाई मद्धत चाहिएको छ यदि चाहिएको छ भने उसलाई फुर्सद छ रे र उ मलाई सहयोग गर्न सक्छ रे । उसले त्यति भनुन्जेलमा मलाई बाटो बताउने मान्छे त पर पुगीसकेको थियो तर त्यो कालो आकृति भने मद्धत गर्ने बहानामा मेरो बाटोमा तगारो सरह उभिईरहेको थियो । मैले पनि त्यो अमेरिकनलाई सजिलै पछाडी पारेर आफ्नो बाटो नापी हालें । त्यो भने मलाई गाली गर्दै अझै मेरै पछाडी पछाडी आउँदै थियो । धन्य हो अमेरिकी सहयोगी भावना । साँझमा फेसबुकमा यो कुरा अरुलाई सुनाउँदा एउटी सीष्याले फेसबुक मार्फत नै तत्कालै सल्लाह दिईन कि यो शहरमा कसैलाई पनि आफु सहयोगको खोजीमा रहेको जस्तो नदेखाउनु । यस्तो त मैले आजसम्म भ्रमण गरेको कुनै ठाँउमा पनि देखेको थिईन, अमेरिकाकै मियामीमा पनि देखेको थिईन जहाँ मैले गत बर्षमात्र भ्रमण गरेको थिएँ । किन हो कुन्नी यहाँ मात्र सहयोगी अमेरिकनहरुको भीड लागेको रहेछ । शहर जतिसुकै विकसित भए पनि यहाँ बस्ने मान्छेहरुको संस्कार विकसित हुनुपर्छ भनेको सायद यही होला नत्र शहरकै बदनाम पनि हुन सक्छ । थुप्रै विकसित देशका मूख्य रेल्वे तथा लामा दूरीका बसहरुका स्टेसनहरुमा जड्यहा र लफंगाहरुको भीड त देखेको हो तर यो सान फ्रान्सिस्को शहरमा भने शहरको अन्य सामान्य भागहरुमा पनि यीनका भीड लागेको देखियो ।

 

अर्को दिनको कुरा थियो । कार्यक्रम नचलिरहेको बेलामा म फुत्त कार्यक्रमस्थल बाहिर निक्लेको थिए । होटेलको बाहिर चिसो थियो र पनि त्यो चिसोलाई मतलब नगरेर म सडकका पल्ला पटिका पसलहरुलाई हेरिरहेको थिए । हाईगरेर कसैले मेरो ध्यान खिच्यो । मेरो अगाडी उभिन आईपुगेकी त्यो केटी अरु कोही नभएर डल्लासकी क्रिस्टिन नै थिई । टिमिक्क कसिएका ज्याकेट र प्याण्टमा उ सानी केटी झै राम्री देखिएकी थिई । बाहिरको चिसो हावाले हानेर उसका सेता गालाहरु लाल देखिदा उसका सून्दरतामा अझै निखारता बौरिएको प्रष्ट देखिनथ्यो । हलुका लज्जाउदा र हलुका मस्किदा उसका नारीसुलभ सून्दरताहरु अझै प्रष्टिएका थिए । उ बाहिरतिरबाट भर्खर आईरहेकी थिई र मलाई देखेर उ त्यहाँ उभिएको हुनुपर्छ । उ पनि म जस्तै यही कार्यक्रममा भाग लिन आएकी मेरो यो कार्यक्रमकी सहकर्मी साथी थिई । साहै राम्री मात्र होईन त्यत्तिकै रमाईली पनि थिई । उसले आफ्नो ब्यागबाट चुरोटको एउटा प्याकेट निकालेर मेरो तर्फ बढाई । मैले क्षमा माग्दै अस्विकार गरे पनि उसले पनि क्षमा माग्दै एउटा चुरोट निकालेर आफ्नो गुलाबी ओठमा च्यापेर फेरी ब्यागतिर लाईटर निकाल्न हात के घुसारेकी थिई एउटा लफंगोको हात उसको मुखको नजिक लाईटर बाल्दै पुगीहाल्यो । क्रिस्टिनले नचाहँदा नचाहँदै त्यही लाईटरमा उसको चुरोट झोस्नु पर्यो । जसै उसले उसको लाईटरमा चुरोट के सल्काएकी थिई अब त मेरै हक लाग्छ भनेझै गरी गफ शुरु गर्न थालि हाल्यो त्यो अमेरिकी पट्ठो । बिचरी डराई कि क्या हो चुपचाप होटलभित्र छिरीहाली ।

 

नापा भ्यालीको यात्रा र सपनाको गोल्डेन गेट ब्रिज

 

सान फ्रान्सिस्को शहरको उकाली ओराली परेका सडकहरुमा कहिले माथि कहिले तल हुदै हामीहरु सहरबाट बाहिर निक्लने तर्खरमा थियौ । कार्यक्रमका ईच्छुक प्रतिनिधिहरुको कुरा गर्दा नै पनि ३ वटा ठूला बसहरु भरिएका थिए । कार्यक्रम अनुसार यो यात्रा गोल्डेन गेट व्रिजमा सूर्यास्तको द्धष्य क्यामेरामा उतार्न केही समय रोकिने थियो र त्यसपछि नापा भ्यालीतिर प्रश्थान गर्ने थियो र यात्रा त्यहाँको प्रसिद्ध र पुरानो वाइन बनाउने ठाँउ O'Brien Estate मा गएर रोकिन्थ्यो र त्यहाँ वाईन बनाएको हेर्दै वाइन चाख्ने कार्यक्रम थियो । मलाई भने गोल्डेन गेटलाई नजिकैबाट देख्न पाईने र त्यसको फोटो समेत उतार्न पाईने कुराले त्यसै त्यसै भित्रभित्रै रमाईलो महशुस भईरहेको थियो । मनभरी कौतुहतला जन्मी रहेका थिए । त्यसमाथि नापा भ्यालीको प्राकृतिक सून्दरतालाई नजिकैवाट चुम्न पाईने कुराले अझै उत्ताउलो बनाईरहेको थियो । हाम्रो बसले बिस्तारै शहरको मध्य भागलाई छोडेछ । अव परतिर गोल्डेन गेट ब्रिजको ठूलाठूला पोलहरु स्पष्ट देख्न सकिनथ्यो । मेरो मन भित्रभित्र देखि नै कुतकुतिएर आयो मानौ कि म मेरो सपनाको संसारमा आईपुगेको छुँ वा मेरो जीवनको एउटा लक्ष पुरा भएको छ । यस्तै सोच्दै गर्दा हाम्रा बसहरुले यो पुललाई पार गरिसकेको थियो । मैले लिएका एक दूई फोटोहरु पनि लाईटका कारणले स्पष्ट देखिदैनथ्यो । मलाई आयोजक प्रायोजकहरुसंग रीस पनि उठ्यो । उनीहरुले नै त भनेका थिए कि यहाँ गोल्डेन गेट ब्रिजमा सूर्यास्तको द्धष्यहरुको फोटो उर्तान केहीबेर रोकिन्छ । तर बसहरु भने पुललाई पार गरेर अगाढी बढी सकेका थिए । हाम्रो देबे्रपटि विशाल पहाडहरु देखिन्थे । पहाडका बिचमा कोरिएका काला धर्सा सडकहरुले मलाई हाम्रो नागढुंगाको पहाडी द्धष्यहरु र परपरवाट विस्तारै घिस्रेर आईरहेझै देखिने मोटर गाडीहरुको याद दिलायो ।

 

हाम्रो बस परबाट फनक्क घुमेर दायातिर लाग्यो । ए लौ बसले त पार्किंगमा लगेर रोकिहाल्यो नि । मेरो मन फुरुंग भयो । पहाडी डीलको पार्किग क्षेत्रमा रोकिएको बसबाट ओर्लिने बित्तिकै अब देखिनथ्यो बीचमा सान फ्रान्सिस्को बे र त्यसको पारीपटृी सेतो रंगमा देखिने सान फ्रान्सिस्को शहरको अति राम्रो द्धष्य अनि दायाँ पटि चाँही हाम्रै चाहनालाई प्रतिबिम्बित गर्दै विस्तारै साँझको बत्तिहरु बल्दै गरेका गाडीहरुलाई खुल्ला छाती फैलाईरहेझै देखिने गोल्डेन गेट ब्रिज र क्षितिजमा डुव्दै गरेको घामका राजा सूर्यदेवको सुन्दर प्रकाशहरु । अहाँ कति मनमोहक यी द्धष्यहरु जसको बर्णन गरेरै सकिदैन । निश्चय पनि सान फ्रान्सिस्को शहरको गोल्डेन गेट ब्रिजमा यति चाडै पुगौला र यो सून्दर द्धष्यहरुको साक्षी बन्ने मौका यति सहजै मिल्ला भनेर त मैले कल्पनासम्म पनि गरेको थिईन । तर भयो यी सबै चाहनाहरु पुरा र म मेरो चाहनाको यो स्थानमा उभिईरहेको थिए । म आफैलाई यो केवल सपनामात्र हो कि जस्तो लागिरहेको थियो । तर म यतिखेर मेरो जीवनको एउटा यथार्थको नजीक उभिईरहेको थिए । मलाई यहाँसम्म पुग्न मद्धत गर्ने सबैलाई म यहीबाट धन्यवाद दिन चाहन्छु । धेरै ठाँउहरु देखियो टेलिभिजन तथा चलचित्रका पर्दाहरुमा तर किन हो किन सान फ्रान्सिस्कोमा अवस्थित गोल्डेन गेट ब्रिज जब जब देख्थे तब तब त्यहाँ पुग्ने रहरहरु पलाउथ्यो । मैले सोचेको थिईन कि म त्यती सजिलो गरी त्यहा पुगौला ।

 

मलाई यस्तो पनि लागेको थिएन कि म त्यो ठाँउमा नपुगौला र मसंग त्यस्ता योजनाहरु पनि थिएनन कि म त्यहाँ कसरी र कहिले पुगौला । तर जब जब टेलिभिजन र फिल्मका पर्दाहरुमा सान फ्रान्सिस्कोको त्यो गोल्डेन गेट ब्रिज देख्थे किन किन मलाई त्यहाँ पुग्ने रहरहरु पलाउँथे र मलाई लागथ्यो कि म एक दिन त्यो ठाँउमा पुग्छु । जीवनको एउटा अनौठो संयोग, आज म त्यही ठाँउमा थिए र यो ठाँउ फिल्महरुमा देखे भन्दा र मैले सोचे भन्दा अझै बढी सून्दर थियो । म आज यति हर्षविभोर थिए कि जुन कुरालाई सही बर्णन गर्न मसंग सही शब्दहरुकै अभाव परिरहेको थियो । मेरा लागी सान फ्रान्सिस्कोको त्यो गोल्डेन गेट ब्रिज एउटा अनौठो लक्षबिन्दु बनेको थियो र म आज यसै लक्षबिन्दुको काखमा बिराजमान भए झै भाको थिए ।

 

दोहादेखी वासिंगटन डिसि सम्मको अत्याधुनिक सुबिधा सहितको बोईगं ७७७ जहाजको विजिनेस क्लासको आरामदायी सिटमा बसेर यात्रा गर्न सकिएकोले करिब १४ घण्टाको त्यो लामो उडान सहज भएको थियो तर युनाईटेड एयरलाईन्सको बोईगं ७७७ जहाजमा नै वासिंगटन डि सि देखि सान फ्रान्सिस्को सम्मको ६ घण्टाको उडान भने मेरा लागी कष्टप्रद सावित भएको थियो । ती सबै कष्टहरु मैले यो सून्दर गोल्डेन गेट ब्रिजको नजिकमा पुग्दा चटक्कै बिर्सेको थिए । मलाई त लागथ्यो संसारमा अरु पनि थुप्रै सून्दर ठाँउहरु होलान तर यो ठाँउ देख्दा यस्तो लाग्थ्यो कि यो भन्दा सून्दर ठाँउ विरलै भेटिएला । तर त्यसो होईन । निश्चय पनि सान फ्रान्सिस्को सुन्दर ठाँउहरु मध्ये एक हो तर सबैभन्दा सुन्दर ठाँउ भनेर मलाई अरु ठाँउहरुको अवमूल्यन गर्ने अधिकार छैन । विभिन्न राष्ट्र्यिता र संस्कृतिहरुको संगमस्थल अमेरिकाले पाएको प्राकृतिक सुन्दरता र अमेरिकनहरुले गरेको भौतिक विकासको मुक्त कण्ठले प्रसंशा नगरी रहनै सकिन्न । त्यसैले होला अमेरिका दूनियाभरिका धेरै मान्छेहरुको चाहनाको लक्षस्थल भएको । त्यसो त अमेरिका भन्दैमा कामै नगरी र थोरै काम गरेर बाँच्न सकिने देश त होईन भन्ने मेरो ठम्याई हो ।

 

पारीपट्टि सेताम्य देखिएको सान फ्रान्सिस्को शहर, तलपट्टि परसम्म फैलिएको सान फ्रान्सिस्को बे, दायापट्टि देखिने पहाडी थुप्राहरु अनि तीनमा अवस्थित सून्दर घरहरु, अनि अगाडीपट्टि विशाल पहाड र त्यसको छेउमा गोल्डेन गेट ब्रिज र साँझको बत्ति बालेर दुवै दिशातिर कुदिरहेका गाडीहरुका ताँतीले यो ठाँउको वर्णन गरेर साध्य नै छैन । विस्तारै साँझ अध्यारोमा परिणत हुँदै थियो । यो चिसो साँझमा रोजर र अरुहरु आआफ्ना क्यामेरामा यहाँका सुन्दर द्धष्यहरुलाई कैद गरिरहेका थिए । जता फर्केर फोटो खिचेपनि सून्दर द्धष्यहरु नै भेटिनथ्यो । यही गोल्डेन गेट ब्रिजको एक भागवाट संसारकै सबभन्दा ठुलो महासागर प्रसान्त महासागरको एउटा पाटोले पृथ्वीको जमिनलाई नजिकबाट छोईरहेको हुन्छ ।

 

 हाम्रा बसहरु नापा भ्यालीका लागी प्रश्थान गर्दा पुरै अँध्यारो भैसकेको थियो र सबैतिर बत्तिहरु बलिसकेका थिए । सडकका वरीपरी वस्तीहरुका सट्टा केवल बत्तिहरु मात्र देखिन्थे तर डाँडा पाखा भने देखिदैनथे । तीन चार लेनका एकतर्फी सडकहरु दूवै साईडमा मोटर गाडीहरुले खचाखच देखिन्थे । कही कही त लामो ट्रफिक जाम पनि देखिनथ्यो । यस्तो लाग्छ कि सडकमा सवारी जाम अब यहाँमात्र होईन हरेक देशमा नै समस्या बनेर आएको छ । फरक यति हो कि कुनै ठाँउमा सवारी जाम कानुन मिच्ने दूष्कार्यले हुन्छ भने अरु ठाँउहरुमा ट्रफिक जाम सवारी साधनहरुको अत्यधिक चापले नै हुने गर्छ । सडक वरीपरी र परपरसम्मको बत्तिहरु तलमाथि भएर बलेको हिसावले यो हल्का पहाडीभाग हुँदै अगाडी बढिरहेको अनुमान गर्न सकिनथ्यो । त्यसो त पछिल्लो दिन हवाईजहाजबाट यो ठाँउ पहिल्याउँदा यो हल्का पहाडी भूभाग नै भएको महशुस हुँनथ्यो । जे होस निकै ढिला गरेर हाम्रा बसहरु हाम्रो लक्षस्थल रेष्टुरेण्टको प्रांगणमा पुगेर रोकियो । रेष्टुरेण्टको मूलद्धारमा नै रेष्टुरेण्टका सहयोगी सून्दरी यूवतीहरुले वाईन सहितको ग्लास दिँदै हाम्रो समूहलाई स्वागत गरेका थिए । हरेक पाहुनालाई रेष्टुरेण्टको मूलद्धारमा नै एक एक ग्लास वाईन दिईएको थियो । त्यो उनीहरुले चाख्नका लागी दिएका रे । म आफु वाईन नपिउने भए पनि तीनको आतिथ्यको सम्मानका खातिर केही वाईनका साथ एउटा ग्लास हातमा लिएको थिए । आतिथ्यको पनि त सम्मान गर्नै पर्यो नि ।

 

विभिन्न खण्डहरु र कोठाहरुमा विभाजित रेष्टुरेण्टको हरेक भागले वाईन उत्पादनका केही न केही पक्ष झल्काउथ्यो । हरेक खण्डलाई छुट्टा छुट्टै कामका लागी छुटृईएको महशुस हुनथ्यो । सबैभन्दा भित्री भागमा विभिन्न तहमा मिलाएर राखिएका ठूलाठूला ठेकीहरुजस्ता काठका डिब्बाहरु देख्न सकिनथ्यो । त्यसको एक भागमा ठूलो भकारी जस्तो सायद स्टिलको झै देखिने केही ठूला ठूला टयांकीहरु पनि देखिन्थे । तीनै काठका ठूला ठूला थुप्रै डिब्बाहरुमा १८ महिना भण्डारण गरेपछि पक्का वाईन बन्छ रे । १८ महिना पछि ती वाईनहरु स्टिलका ठूला ड्र्महरुमा स्थानान्तरण गरिने रहेछ अनि यसैवाट बोतलहरुमा प्याक गरी वजारमा बिक्रिका लागी पठाईने रहेछ । आफ्नो वाईन उत्पादनका लागी आफै फलफुल उत्पादन गर्ने यो रेष्टुरेण्टको अगाडीको भागमा पुरा फलफुलकै बगैचा छ रे तर रातको समय भएका कारणले फलफुलका बगैचा भने प्रष्ट देख्न सकिएन ।
अंग्रेजी गीतको मधुर धुनमा पाहुनाहरु ताजा वाईनको मज्जा लिईरहेका थिए भने रेष्टुरेण्टका ती सून्दरी यूवतीहरु एक पछि अर्को खानाका आईटेमहरु लिएर आईरहन्थे । उनीहरु ईच्छुक पाहुनाहरुलाई प्रत्येक नयाँ खानाको बारेमा बताईरहेका हुन्थे । कोही पाहुनाहरु आपसमा नै गफ गर्दै वाईनको चुस्की लिईरहेका थिए भने कोही चाही रेष्टुरेण्टका तीनै सून्दरीहरुसंग वाईन उत्पादनका विभिन्न पक्षमा जानकारी हासिल गरिरहेका थिए । एउटै ठाँउमा रेष्टुरेण्ट पनि चलिरहेको थियो र वाईनको उत्पादन बिक्री तथा बजार प्रबर्धनपनि भैरहेको थियो । पाहुना पल्काउने यो एउटा तरिका हो वा वाईन उत्पादन गर्ने उद्योगको अर्को उद्योगका रुपमा रेष्टुरेण्ट पनि साथसाथै चलाउन सक्नु श्रृजनसिल मान्छेको सफल प्रयोग हो छुट्टयाउनै गाह्रो पर्ने रहेछ । तर जे होस दुबै व्यावसाय राम्रैसंग चलेको रहेछ ।

 

म भने अघिदेखि नै क्यारेबियन द्धिपकी एउटी सहभागीसंग गफ मारिरहेको थिए । उसलाई नेपालको बारेमा यहाँको सुन्दरताको बारेमा बताईरहेको थिए र वैदेसिक रोजगारीका कारणले त्यो स्वर्णिम भूमि मिस गरिरहेको बताईरहेको थिए भने उँ चाही उपनिवेसवाट भर्खरै स्वतन्त्र भएको क्यारेबियन सागरमा अवस्थित आफ्नो देशमा व्याप्त भ्रष्टाचार र कुशासन व्यवस्थावाट दिक्क भएको बताईरहेकी थिई । उ भन्दै थिई नेता तथा प्रशासकहरु सबै भ्रष्टाचारी छन । यो भन्दा त बरु उपनिवेस नै राम्रो थियो रे किनकि सबै सुबिधाहरु थियो रे । देश स्वतन्त्र भएपनि जनता खुसी नभएको उदाहरण भेटेको मेरो लागी यो पहिलो उदाहरण थियो । सायद ज्यादै पिएर हो कि उ क्रमस वाईनको नसामा मदहोश हुदै गएको मैले महशुस गरेको थिए । उ पटक पटक लड्खडउदै लड्न खोज्दा मैले भर दिनु परेको थियो । टुरमा हिडेकी केटी बाहिर पटिृ गह्ुगो ज्याकेट लगाए पनि भित्र पट्टि पारदर्शी पातलो कपडा लगाउन पछि परेकी थिईन । रेष्टुरेण्टभित्रको तातोपन बाट बच्न पहिले नै ज्याकेट उतारेकी त्यो यूवती झण्डै अर्धनग्न झै भैसकेकी थिई त्यसमाथि वाईनको नसाले कैद गरेपछि कुनै कुनै बेला त सम्हाली नसक्नु भएकी थिई । म उसलाई छोडेर यताउता लाग्न खोज्दा पनि उँ मलाई छोडिरहेकी थिईन । साच्चै नै त्यो युवती सार्है राम्री थिई । रेष्टुरेण्टभित्रको मधुर प्रकाशमा त उ अझै सुन्दरी देखिईरहेकी थिई । उसको शरिरबाट ताप पैदा भैरहेको महशुस हुँनथ्यो वा अर्को अर्थमा भँन्नु पर्दा उ रापिलो हुँदै गए झै लागथ्यो । जीन्दगी पनि एउटा अचम्म लाग्दो संयोग हो र एउटा अनौठो यात्रा पनि । यात्राका विभिन्न पाटाहरुमा विभिन्न थरीका मान्छेहरु भेटिन्छ क्षणिक वा सानो समयकालका लागी मात्रै भए पनि आत्मियता बढ्छ नजिक हुन्छ अनि बिस्तारै बिस्तारै त्यो मेटिदै जान्छ हराउँदै जान्छ जस्तो कि विशाल समून्द्रमा परपर गईरहेको पानी जहाज जो नजिकमा विशालकाय संसार झै हुँन्छ तर क्षणभरमै क्षितिजमा नै बिलाई जान्छ । तर अरु कुराहरु जे भए पनि केही त्यस्ता क्षणहरु पनि हुन्छन जुन विविध कारणले अविस्मरणिय बन्छ । त्यस्तै थियो ती युवती र सान फ्रान्सिस्को शहरको त्यो रेष्टुरेण्टको त्यो क्षण मेरा लागी ।

 

बाहिर चिसो त छदै नै थियो तर भित्रको तातोमा वाईन टुरको यो श्रृखला आधा रात हुनुभन्दा पहिले नै सकिएको जस्तो त लाग्दैन । फेरी हातमा एउटा एउटा वाईन बोकेर पाहुनाहरु चार्टर गरेको बसमा पसेका थिए । कतिपय पाहुनाहरु लड्खडाउदै बसतिर लाग्दै थिए । कोही अझै पनि आफ्नो व्यापारिक गफमै व्यस्त थिए । सबै पाहुनाहरुको गन्ती मिलेपछि आधा रातमा हाम्रो यात्रा फेरी सान फ्रान्सिस्को शहरतर्फ प्रश्थान भएको थियो ।

 

समग्रमा भन्नुपर्दा सान फ्रान्सिस्कोसम्मको मेरो यो छोटो भ्रमण ज्यादै सूखद र अविस्मरणिय रह्यो । सायद मैले मुश्किलैले बिर्सौला सान फ्रान्सिस्को बे, लमतन्न समून्द, वरिपरिका पहाडीहरु र तीनै पहाडीहरुमा सडकयात्रा, गोल्डेन गेट ब्रिज, रमाईला साथीहरु र तीनिहरुसंगको साँझको भेट, अनि ती सेता देखिने सून्दर बस्तीहरु । अनि कसरी बिर्सिएला र ती अमेरिकन लफंगाहरु जो नसामा नै भएपनि र आफु सिधा उभिन सक्ने स्थितीमा नभए पनि नवागन्तुकहरुलाई भने सहयोग गर्न तयार र तीनका सहयोगका प्रस्तावहरु ।

 

३० नोभेम्बर देखि ३ डिसेम्बर २०१०, कोठा नं २१२१  (२१ तल्ला) होटल ईन्टरकन्टिनेन्टल, सान फ्रान्सिस्को, यु एस ए, 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |