हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

जीवन हुनु त चराको जस्तो पो,(कृष्ण प्रसाई)

 

कंक्रिटको सहर काठमाडौंलाई छोडेर उडेको केहीक्षणपछि एउटा कमलो कुइरोले झापड् हान्यो हाम्रो जहाजलाई । बोइङ्ग भनेको लरतरो जहाज होइन । उसलाई कुइराको झापड फिस्टाले पहाडलाई हिर्काए जस्तो मात्र भयो । ऊ टस्को मस् भएन । नेपाली भूमिमा साना र मझौलादारका जहाजबाट यात्रा गर्दा बादलसँगको ठोक्काइ सहेर आधासास मात्र लिएर उत्रिनु पर्दाका कैयौ अनुभवहरू छन् हामीसँग । घना पहाडी क्षेत्रका दूर्गम  उचाइहरूले आधामासु पारे पनि उड्नै पर्ने नियति छ हाम्रा आम पहाडे हवाइ यात्रुमा ।

विहिबार २० जुलाइ २०१० को हाम्रा यो यात्रा भने केही क्षणमात्र नेपाली आकाशमा उडेर भारत वंगलादेश, म्यानमार र चीनको आकाश हुदै हङकङ् उत्रिनु पर्ने सांगितिक/साहित्यिक यात्रा थियो । यात्रामा संलग्न मध्ये ६ जना कवि, ३ जना संगीतकर्मी, १ जना साहित्यिक पत्रकार, १ जना लेखक/समिक्षक, १ जना कथाकार/अनुवादक र एकजना समाज सेवी दोभाषे थिए । वंगलादेशको आकाश छिचोलेर निमेषभरमै म्यानमारको आकाशमा जहाज पस्यो । हङ्कङ्को हवाई यात्रामा सवभन्दा छोटो आकाश नै म्यानमारको आकाश हो । पस्न पाएको छैन निस्केको पत्तै नपाइने । निस्के पछि सोझै चीन । आकाशबाट भूइमा हेर्दा देखिने भौतिक पूर्वाधारले नै छुट्याउन सकिन्छ चीनको भूभाग । यो मेरो निजी अनुभव हो । यस्ता अनुभव मैले यही बाटो भएर अनगन्ती यात्रा गर्दा संगालेकोछु । जहाजबाटै पहिलो पल्ट चीन टेक्न लागेका धेरै साथीहरू थिए हाम्रो समुहमा । यसै क्रममा एक दुइृ साथीहरूले चीनिया बादलका फोटाहरू खिचे । नेपाल एयरलाइन्सको बोइङ् ४०९ जहाज भित्रको मेरो अघिल्तिर रहेको ३० नम्वरको सिटमा क्रमशः डा. गोविन्दराज भट्टराई, डा. ध्रुवेस रेग्मी र महेन्द्र गुरुङ हुनुहुन्थ्यो । अनि २९ मा महेश पौड्याल, जयदेव भट्टराई र म थियौं । महेशजी घरिघरि ल्याप्टपमा घोत्लिनु हुन्थ्यो कविताको अनुवाद सिर्जनाका लागि । जमिनको बाटो भएर यदि हामीले हङ्कङ् पुग्नु पर्ने हुन्थ्यो भने भारत, वंगलादेश, म्यानमार र चीनका सिमानामा हामीले पासपोर्ट र भिषा अनिवार्य देखाउनु पर्ने हुन्थ्यो । कस्तो भाग्यमानी हामी । आकाशले हामीलाई जुनै देशमा प्रवेश गर्दा पनि केही सोधेन । नत कतै रोक्यो नै । हामी निस्फिक्री उडिरह्यौं । कस्तो अचम्म ! मान्छेहरूले तेरो र मेरोको नाममा माटोलाई सिमानाहरूमा विभाजित गरे । र धेरै समय माटाकै लडाइमा करोडौको वलि चढाए । तर आकाश भनेको अर्कै अमूर्त आकार रहेछ । आकाश भनेको आकाशै रहेछ । मान्छेले माटोबाटै आकाशको सिमाना साँधे । माटोबाटै आकाशको भाग छुट्याए । तर आकाशको सिमानाबाट माटो कहिल्यै छुट्याएनन्, विभाजित गरेनन् र सीमा कोरेनन् ।

किन होला सवै नियम, कानुन र संविधान मान्छेकै लागि चाहिने र मान्छेले नै बनाउने ! किन होला संसार सबैको साझा भनिने तर एक देशबाट अर्को देशमा टेक्न प्रवेशाज्ञाको अनुमति लिनु पर्ने ! किन होला प्रवेश अनुमति लिन हुनेखानेलाई सजिलो र हुँदा खानेलाई फलामको चिउरा झै कठिन मानिने । किन होला कमजोरलाई कानुन लाग्ने र बलियालाई नलाग्ने ? अनि किन होला हाम्रो जस्तो गरिब मुलुकलाई चाहीँ जहाँ गए पनि नेपालबाटै भिषा लिनुपर्ने ! अनि धनी मुलुकका नागरिकले चै जहाँसुकैबाट जुनसुकै देशको भूमिमा उत्रनासाथ निस्फिक्रीसँग भिषा पाइहाल्ने ? धनी र गरिबको विभेदमा सासन चल्ने यो संसारको विभेदकारी नियम मेरो उन्मुक्त मनले पचाउन सकिरहेको थिएन । म सोचाइकै तन्द्रामा तल्लिन थिए । केही पर आकाशमा पत्रदार र तित्रापङ्खी वादलका पिण्डहरू देखिए । पृथ्वीमा पानी पार्ने कपास जस्तो वादलमाथि पत्रदार र तित्रापङ्खी बादल हुन्छन् भन्ने मैले सानैमा पढेको थिए । कपास जस्तो वादलभन्दा धेरै माथि आकाश मार्गमा देखिने पत्रदार र तित्रापङ्खी बादललाई म हेरिरहेको थिए । पत्रैपत्र परेको आकार र तित्राको प्वाख जस्तो भएर उड्ने आकार भएकाले नै ती बादलको नाम ठेट नेपाली पाराले राखिएको होला भन्ने मैले सम्झिरहेँ ।

निकै तल पहाड, जंगल र ठाउँठाउँमा झुरुम्म परेका वस्तीहरू देखिदै थिए । बाटाका आकारहरू पेन्सिलले कागजमा कोरेका रेखा जस्तै देखिन्थे माथिबाट । भैँसी र गाइगोरुका वथान जुम्रा जस्ता साना थिए । हामी उडिरहेको सतहभन्दा तल कपास जस्तो बादलका धब्बाहरू थिए । पानी पर्ने समय भएपनि ती गाढा थिएनन् । मात्र आकाशको गर्भमा आफ्नो अस्तित्व जोगाउनमा निमग्न थिए ।

वायुयानको सानो झ्यालबाट बाहिर एकाग्र भैरहेको मेरो ध्यान महेशजीको बोलाइले वायुयान भित्र मोडियो । झट्ट हेर्दा दिउँसोका लागि खाना ख्वाउने हतारो यानभित्रकै पारिचारिकाहरूको देखिन्थ्यो । उनीहरू फूर्तिसाथ यात्रुका मागवमोजिमका खानाहरू बाँडिरहेका देखिन्थे र ठ्याक्कै हाम्रै छेउ उभिएका थिए । मैले आफू अगाडिको खाना खाने ट्रे झाँरे र परिचारिकाले दिएको खानालाई आफ्नो अगाडि राखेँ । चिनीया आकाशमा बाँडिएका खानाका परिकारहरू मेरै देशमा पकाइएका थिए । ती मेरै देशका थिए र दिने हातहरू पनि मेरै देशका थिए । मात्रै सास लिइरहेको अक्सिजन, आकाश र तलको भूमि चिनीया थियो ।

खाना खाइसकेपछि म फेरि पुरानै झ्याल बाहिरको दृश्यावलोकनमा लागँे । घनाजंगल प्रसस्त देखिएनन् ।  कहँीकतै नदी नाला तर पानीका तलाउ भने बाक्लै । देखिए जति भूमि पुरै रातोमाटो । रातोमाटाकै पहाडे ढिस्काहरू । नेपालमा रातोमाटो धेरै कम पाइन्छ । रातोमाटो खोज्न जाने क्रममा ढिस्कोले पुरिएर मृत्यु हुने खबर बाक्लो सुनिन्छ । झन् दशै आउन पूर्व दिनै पिछे यस्ता खवर सुन्न पाइन्छ । रातोमाटोकै कारण अकालमा ज्यान गुमाउने जोखिम सायद चिनमा नहुँदो हो ।

खाएर सकिएका डिस्पोजेवल भाडावर्तन परिचारिकाहरू उठाइरहेका थिए । कोही भने चिया र कफी बाँड्न हतारिएका देखिन्थे । जे पिए पनि रोजाइ यात्रुको थियो । नेपालमा खाना खाने वित्तिकै चिया वा कफी पिउने चलन एकदम कम छ । चिया पिउने भनेर कसैलाई सोधिएको प्रश्नमा भरखर भात खाएको भन्ने उत्तर समेत आउने गर्छ । यस्को मतलव भात खाएकाले चिया पिउँदिन भन्ने नै बुझिन्छ तर विदेशमा खाना खाएर चिया पिउनाले पाचन शक्तिमा बल पुग्ने धारणा राखिन्छ र खाना लगत्तै चिया वा कफी पिउने गरिन्छ ।

मैले मेरा आखा पुनः बोइङ्गको झ्यालबाट बाहिर फ्याँके । धेरै तल समथर रातमाटे भूभाग लमतन्न सुतिरहेको थियो । केही माथि चिल जस्ता लाग्ने पंक्षीहरू निर्वाध रूपमा तलमाथि गरिरहेका थिए । पखेटा चलाउँदै हुन्निएर तिनीहरू केहीवेर हावामा उड्दथे र पखेटा नचलाई शरिरलाई सन्तुलनमा राखेर कावा खाइरहेका थिए । जहाज जन्मिनु भन्दा धेरै अघि जन्मिएका ती चराका पुर्खाहरूबाटै राइट दाजुभाइले जहाज उडाउने परिकल्पना गरेका हुँदा हुन् । लहर मिलाएर रमाइलो खाँदै गरेका ती पंक्षीहरू देख्ने बित्तिकै मलाई मेरो वाल्यकालको याद आयो । झापाको दक्षिण पूर्वी प्रवासबाट वर्षायाम लाग्नु भन्दा केही अघि यस्तै लहर मिलाएर भारतीय सुगाहरू चारोको खोजिमा विहान उत्तरतिर लाग्दथे र त्यसरी नै लहर मिलाएर बेलुका आफ्नो स्थायी बासतिर फर्कन्थे । यो प्रक्रिया म झापा हुँदा वर्षौवर्ष सम्म देखेको थिएँ । त्यसो त केही वर्ष अघिका हिउँदको कठ्याङ्ग्रिने कोरियाली जाडोमा बेलुकी पख त्यसरी नै मैले कागहरू लहर मिलाएर उडेको देखेर अचम्मित भएको थिए । माइनस १० को चिसोमा यसरी बाच्न र उड्न सक्ने काग वास्तवमै ज्याद्रो पंक्षी हुनुपर्छ । त्यस्तै ज्याद्रो प्रजातिमा गिद्ध, सुगा, चिल र हाँसका केही जात पर्दछन्  । यिनीहरू आकाशमा लामो समय सम्म उड्न र कावा खान सक्छन् । साइवेरियाबाट नेपाल छिचोल्ने हाँस हुन वा भारतबाट नेपालमा चारो खोज्न उडेका सुगाहरू हुन् । नेपालमा लोप हुन लागेका गिद्ध अथवा चिनमा पाइने चिल र कोरियाली कागहरू नै किन नहुन । मलाई चराहरू असाध्यै मन पर्छन् । किन भने चराहरू मन झै उडिरहन्छन् । चराहरू कुनै देशका हुदैनन् । चराहरूलाई उड्न जुनसुकै देशको धर्ती आकाशले भीसा खोज्दैन । न कुनै देशमा उड्नु पूर्व उड्ने अनुमति नै लिनु पर्छ । जीवन हुनु त चरा को जस्तै पो । म भनमनै चरा भएर उड्न पुगेँ 

यात्रुमहानुभावहरू, अब हामी केही क्षणपछि हङ्कङ् अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछौ । विमान पूर्णतयाः नरोकिए सम्म कम्मरको सिटवेल्ट नखोल्नुहोला । अन्य इलेक्ट्रोनिक डिभाइस वन्द गर्न तथा मोवाइल स्वीच अफगर्न अनुरोध गर्दछौ .........

विमानका तर्फबाट जारी परिचारिकाको रेडिमेड सूचना पछि भने म र मसँगैका साथीहरू उत्साहित भयौ । अव चाडै उत्रने कुराले पाँच घण्टे यात्राबाट थकान झै भएका हामी केही उत्सुक पनि देखियौं । यस्तो आभास सबैका अनुहारले ओकलिरहेको थियो । पाँचघन्टा खासै थकानको यात्रा होइन तर हवाइजहाज चढिसकेपछि भोग्नु पर्ने मानसिक तनाव, अक्सिजनको कमीबाट हुने कानको पीडा र त्यतिकै आइलाग्ने बेचैनीले मन त्यसैत्यसै थाकेको हुन्छ । शरिरलाई थकान नभए पनि मन र मस्तिस्क सिथिल हुन्छ । अनि त खेल खत्तम् ।

सोच्दासोच्दै तल समुद्रले पखाल्न र छाँद हाल्न विर्सेका ससाना पहाडहरू र बीचमा समुद्र देखिन थाल्यो । समुद्र भनेको त पहाडविहिन वा पहाडलाई छोएर बग्ने होला भन्ने ठान्नेहरूले हङ्कङ् पुग्नु भन्दा अघाडिको समुद्र हेरेर समुद्रलाई हेर्ने आफ्नो सोचाइमा परिवर्तन गर्नुपर्ने रहेछ । समुद्रैभरि पहाडका थुम्का ।  समुद्रैभरि साना मझौला र ठूला जहाजहरू कुदिरहेका । यत्रतत्र सर्वत्र फैलिएका सामुद्रिक यातायातको संरचना ।

यात्रा जल, थल र आकाशको हुने गर्छ जल र आकाशको यात्रा संरचना विहिन हुन्छ । समुद्र र आकाशमा हिड्ने वाहनका लागि संरचनाको निर्माण गरिन्न तर नियम र कानुन थल वाहनको भन्दा कम हुन्न । हवाइजहाजबाट मुनि हेर्दा मनै रमाउने मनमोहक, विकाशमुखी र विचित्र दृश्य । आकर्षक, रमाइलो र रोमान्चक ।

२० मिनेट भैसक्यो केहीक्षण पछि अवतरण हुने भनेको । केहीक्षण भनेको कति ? एक घण्टा ...,आधा घण्टा ...अथवा... ? साथीहरूले प्रश्न तेर्स्याए

समुद्र र पानीजहाजहरू देखिएकाले पक्कै पनि नजिकै हुनुपर्छ हङ्कङ् एयरपोर्ट । मैले छेउका साथीलाई सम्झाउन खोजेँ । कुरा गर्दागर्दै अरू पन्द्र मिनेट गुज्रियो । अनि मात्र जहाज तल ओर्लने गतिलिन थाल्यो । गगनचुम्वी महलहरू जताततै देखिन थाले । भन्दाभन्दै जहाजले आफ्नो चक्का झार्यो  । अव भने हामी ढुक्क भयौ । हङ्कङ् एयरपोर्टमा उत्रिन गैरहेका छौ भनेर । नभन्दै एकै क्षणमा समुद्रलाई पुरेर बनाइएको हङ्कङ् अन्तर्राष्ट्रिय विमान स्थलमा हामी उत्रियौं । हङ्कङे् समय त्यस्तै ५ वजेको थियो । नेपालबाट हिड्ने ९ बजेको समय दिएपनि झण्डै एक घण्टा ढिलो उडेको जहाज साविक समय भन्दा एक घण्टा ढिलो हङ्कङ् पुग्यो । नेपालको समय भन्दा हङ्कङ् पूर्वमा भएकाले हङ्कङ्मा नेपालको भन्दा २ घण्टा १५ मिनेट अगाडिनै सूर्य उदाउँदो हो मैले त्यस्तै बुझेको छु । ज्योतिषशास्त्र अनुसार नेपाल भन्दा मेष लग्न पहिले हङ्कङ्मा  आउँछ । हङ्कङमा मेष लग्न हुँदा नेपालमा मीन लग्न र हङ्कङ्मा वृष लग्न हुँदा नेपालमा मेष लग्न हुन्छ । ज्योतिषीय सिद्धान्त अनुसार एक दिनमा १२ लग्न हुन्छ र प्रत्येक २ घण्टाको एक लग्न हुन्छ । त्यसैले नेपाल भन्दा हङ्कङ्  समय र लग्नले छिटो छ ।

हामी जहाजबाट उत्रिएर हङ्कङ् अध्यागमनका सबै काम सकेर अध्यागमन बाहिर निस्कियौं । बाहिर हङ्कङ् नेपाल समाजका अध्यक्ष बुद्धि थापा र मित्र इन्द्र अधिकारी हामीलाई नै पर्खेर बसेका थिए । हामीहरू सबै थापाजी र इन्द्रजीले ल्याएको गाडीमा चढेर मुख्य हङ्कङ्तिर लाग्यौ । सन् ९० को दशक भन्दा अगाडि सानो विमानस्थलमा खुम्चिएको हङ्कङ्ले १९९३÷९४  पछि चेपल्यापकक् भन्ने ठाउँमा समुद्रलाई पुरेर नयाँ विमानस्थलको संरचना सुरु गरेर १९९७ तिर सकेको रहेछ । जसको निर्माणका लागि ५ हजार भन्दा बढी नेपालीले काम गरेका रहेछन् । चिम सा चुई भन्ने ठाउँको चुङ्गिक मेन्सनमा सानो पसल थापेर बसेका नेपाली मुलका हङ्कङ्का ज्वाइ दिपक खड्काले हङ्कङ् विमानस्थल बनाउने क्रममा लेवर सप्लाइबाट कमाएको अतुल सम्पतिको व्याख्या गर्ने मान्छेको संख्या अझ पनि कम रहेनछ हङ्कङ्मा । नेपाली मुलका नागरिकमै धेरै सम्पति जोहो गर्ने दिपकजी पछि अस्ट्रेलिया वस्न थालेका रहेछन् । अन्तर्राष्ट्रिय विमान स्थलबाट हङ्कङ् प्रवेश गर्ने क्रममा माबन गाउँ छेउको हङ्कङे समुद्रमा बनाइएको चिङ्मा ब्रिज सायद एसियाकै नमुना पुल हुनुपर्छ । जस्को निर्माणमा पनि हजारौ नेपालीहरूले आफ्नो परिश्रम बेचेका रहेछन् । त्यसैताका इन्स्योरेन्स एजेन्ट भएर पैसा कमाउने नेपालीको संख्या पनि कम थिएन रे । एक चिनीया र एक क्यानाडेली नागरिक बाहेक अरू कसैले ज्यान गुमाउनु परेन रे त्यो पुल निर्माण गर्दाताका ।

साँझ झमक्क परिसकेको थियो हामी वस्ने चिम सा चुई पुग्दा । हङ्कङ्ले साँझ बत्ति चारैतिर बालिसकेको थियो  । गाडीबाट उत्रने वित्तिकै हङ्कङ्को गर्मीले हामी सबै पसिनै पसिनामा भिजेका थियौं । त्यसमा पनि सामान बोकेर होटल सामु सार्नुपर्ने चटारोले हामी केही दिक्क पनि भयौं । हामी लखतरान भएर साँघुरो होटलको साँघुरो कोठामा पुगेर आफ्ना राखनघरन थन्क्यायाँै र केही उत्सुकता, केही थकान र केही कौतुहलता बोकेर रातिको रमाइलो हेर्न समुद्री तटतिर घुम्न निस्कियौं ।

म यत्ति भन्छु तपाईहरू कसैले साझको समुद्र तटीय हङ्कङ् हेर्नु भएको छैन भने मेरो अनुरोध छ एक पटक हेर्नुहोस । सायद हामी भन्दा पनि तपाई रमाउनु हुनेछ ।

२१ जुलाई २०१०को शुक्रबार विहान हामी सबै सहभागी साथीहरू चिम सा चुईका केही भागहरू घुम्न निस्केका के थियौ हामीले नसोचेको पानी पर्न शुरु भयो । धन्न हामीलाई एउटा डिपार्टमेन्टल स्टोरले शरण दियो । बाहिर भएको भए हामी भिजेको मुसो जस्तो हुने थियौं  । हङ्कङको मुसलधारे पानीलाई हामीले डिपार्टमेन्टल भवनका सिसाभित्रबाट अवलोकन गर्यौं । गगनचुम्वी हावासँग आएको पानी कम मापाको थिएन ।

दिउँसो हङ्कङ्मा कविता वाचन कार्यक्रम थियो हाम्रो । कवितामाथि सुकर्म समुहको संगित । कवितामाथि रङ्गकर्मीहरूको चित्रकला । यी तीनको संयोग सर्वथा अनौठो र नौलो थियो हङ्कङ् नेपाली साहित्यप्रेमीहरूका लागि । कविहरू  सरुभक्त, मोमिला, महेन्द्र गुरुङ्, विमल कोइराला, एसपी कोइराला, राजेश्वर कार्की, उषा शेरचन र मेरा कविता माथिका संरचना थिए । यी सबै रङ, रोगन र संगीत । सुकर्म समुहको ताजुव संगीत र रोगनकर्मी प्राज्ञहरूको अतुलनीय रङ् सम्मिश्रण । दुईजना भोजपुरे कोइराला कवि बाहेक सबैले आफ्नै आवाजमा कविता पस्के हङ्कङ्को आगनमा । श्रोता दर्शक अलि कम भएपनि प्रस्तुतिको नौलो स्वाद सबैले मन पराए । राग र रङ्गको भाका कवितामा निक्खर उत्रियो । यसरी हामीले कविता, रङ्ग र संगीतमय त्यो दिनको साझ भने हङ्कङ्ेली आमा समुहको अतित्थ्यको पोल्टामा बिसायौं ।

अघिल्लो दिन विहानको मुसलधारे पानीलाई विर्साउने गरी घाम लागेको थियो । २२ जुलाई २०१०को दिन कवि केवलपुरे किसानका छोरा कमल पौड्यालको निम्तो स्वीकारेर हङ्कङ्कै जोडार्न स्थित उनको कंगन भन्ने रेस्टुरेन्टमा दिउँसोको खाना खान चिम सा चुईबाट पैदल निस्केका थियौ हामी । नेपालगन्ज भन्दा गर्मी थियो हङ्कङ् । आधा घण्टा जतिको हिडाइमा हङ्कङ् घामले हामीलाई विस्कुन सुकाए झै सुकायो । लखतरान भएर हामी कंगन रेस्टुरेन्ट पुग्यौं । साहित्यका पारखी कमलजीले हामीलाई सर्वत र पानीले चिस्याउनु भयो । कमलजी कविता समेत लेख्नुहुँदो रहेछ । त्यसो त हङ्कङ् पुगेकै साँझ हामी सबै सहभागी सूर्य रेस्टुरेन्टका मालिक त्रिलोक विश्वकर्माको रेस्टुरेन्टमा पाहुना बनेर गएका थियौ । आतिथ्य सत्कारमा माहिर मानिनु हुने त्रिलोकजी हङ्कङे् नेपाली माझ इमान्दार, सहयोगी र पाहुनाप्रेमी मानिनु हुँदो रहेछ । हङ्कङ्मा हामीले यस्तै सुन्यौ । कंगनको खानापछि हामीलाई हङ्कङ्का नेपाली कन्सुलर विनोद उपाध्यायको निम्तो थियो । दुई दिन अघिकै हाम्रो कार्यक्रम हुबहु प्रस्तुत गर्न हङ्कङ् स्थित महावाणिज्य दुसावासले अनुरोध गरेको थियो ।

केहीक्षण अघिको घाम फेरिएर वादलभित्र कतै हराइसकेको थियो । एकैक्षणमा फेरि घनघोर कालो बादल हाम्रा माथि देखियो र निस्फिक्री हामीमाथि पानी वर्षाउन सुरु ग¥यो ।

 

महावाणिज्य दुताबासमा हिजो पस्केकै कार्यक्रम पस्केपछि हामी सोझै महावाणिज्यदुतको निम्तोमा सूर्य रेस्टुरेन्ट फर्कियौं । बाहिर पानी परिरहेको थियो । खानपिनमा व्यस्त हामी सबै सहयात्रीको २२ जुलाई २०१०को साँझ सूर्य रेस्टुरेन्टमै ढल्यो । हामीलाई थाहा थियो, भोलि सनिबारको सूर्य हाम्रालागि हङ्कङ्मै उदाउने छ । मध्यान्न पछि हामी कोरियाका लागि प्रस्थान गर्ने छौं र हाम्रो भोलिको सूर्य भने कोरियामा अस्ताउने  छ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |