हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

समुद्री किनारदेखि कञ्चनजंघासम्म ,(प्रकाश सायमी)

 

 

बम्बई: फेब्रुअरी १९८६

 

व्यस्त जीवन र त्यसका बीचमा अनौठो निम्तो आइपुग्छ कानपुरको अखिल भारतीय नाट्य महोत्सव मा पर्यवेक्षकका रुपमा सहभागी हुनुपर्ने ।

रुचि असाध्य भए पनि मेरो निम्ति यो सुयोग्य अवसर थिएन । यतिबेला म प्रगतिशील नाट्यसंघ इप्टा को बम्बईको सदस्य छु र यो निम्तो त्यही कारण र हैसियतमा कानपुरकी रंगकर्मी मित्र रञ्जना गौडले पठाएकी हुन् ।

रञ्जना गौडलाई यो निम्ता अस्वीकार गर्नाका कारणहरु पनि बताइदिएँ । पहिलो, म एउटा नेपाली फिल्ममा काम गर्दैथिएँ, , दोस्रो, कानपुर जान आर्थिक रुपले मलाई लाभदायी थिएन ।

त्यो नेपाली फिल्म, जसको छायांकन सुन्दर ठाउँ सिक्किममा हुँदै थियो । र त्यो ठाउँ, मेरो वचपनदेखिको आकर्षण रहिआएको छ । अनि नेपाली फिल्म हुनुका कारण आफ्नो भाषाप्रतिको मेरो स्नेह र लगाव अमmै बढी थियो । प्रमुख सहायक निर्देशकको रुपमा पाएको यो काम व्यवसायिक सम्मmौतामा मेरो पहिलो करार थियो । जानुपर्ने दिन, २२ तारिख फेब्रुअरी १९८६ का दिन ।

बम्बई: फेब्रुअरी २२, १९८६

बिहानीको उज्यालाको भाखा नखुल्दै म आफ्नो झोलागुण्टा बोकेर बम्बईको भी.टी.स्टेशन पुगेँ । बाहिर अभेद्य अन्धकार भए पनि चार बजेको बिहान पनि स्टेशनभित्र उज्यालो थियो । कोही चिच्याउँदै थिए, कोही बिदाइमा रुँदै थिए । रेलवेको ट्याकमा विभिन्न प्रान्तमा गुड्न तयार रेलहरु सांकेतिक धुन दिँदै थिए । त्यसबीच चिया बेच्ने ठिटाहरुको पाश्र्वस्वर अक्कासिएर कोरसमा बदलिँदै थियो ।

म हतारिँदै आत्तिँदै हरेक वर्थको भित्तामा टाँस्सिएको सूचीमा आफ्नो नम्बर मिलाउन र आँखा दौडाउन खुट्टा कुदाउँदै थिएँ ।

"सायमी साहब" त्यस्तो हतारमा मलाई कसैले बोलायो र फर्केर हेरेँ देखेँ, मदन चोपडा । उनी यस प्रोडक्सनका बम्बई म्यानेजर थिए । उनी हाम्रो टोलीलाई अन्तिम निर्देशन दिन यहाँ आएका थिए । त्यसैबेला उनले राजा आकारको चुरोट मेरा अगाडि तेर्स्याए र भने 'यु विल नट् फिल् वोरड्'

चुरोट अस्वीकार गर्दै मैले सोधेँ हवाई ? मेरो प्रश्नको क्यु नै नसकिँदै पूर्वाभ्यासमा उत्रेका अभिनेताजस्तै बोले चोपडा 'बिकज देअर इज मुरली जी विद् यु'

लामो यात्रामा एउटा प्रिय मान्छे आफ्नो साथमा हुनु नैतिक रुपमा गौरवपूर्ण कुरा हो । चोपडाको साव सचेतपछि म ट्रेनभित्र पसेँ र मुरलीधरलाई खोज्न थालेँ । उनी आफ्नो वर्थमा पर्खिरहेका थिए किन

ढिलो हो ? उनको गर्जदार आवाजमा नेपालीपनको नम्रता पनि छ, गोर्खालीपनको कठोरता पनि ।

यतिबेला दार्जीलिडको गोरखाल्याण्ड आन्दोलनले भारतलाई तर्साइरहेको थियो गोर्खालीको कठोरता त्यस अर्थमा ।

लगभग सवा पाँचमा भिक्टोरिया टर्मिनलबाट रेल छुट्यो । बम्बईबाट कलकत्तातर्फ गुड्ने रेलमा गीताञ्जली एक्सप्रेस सर्वप्रिय र विश्वसनीय मानिन्छ । हामी त्यसैमा थियौँ निर्माण कम्पनीको कृपाले । सधैँ कोलाहलको कोलाजमा रमिरहने बम्बई यतिबेला शान्त थियो । रेलको पटरीबाहेक केही सुनिँदैन । दादर, अन्धेरी, विरार काट्दै गएपछि बम्बईको परिचित ध्वनि कानबाट विलीन भयो । ठानाको उकालोमा एकछिन चिसोपनले गाँज्यो ।

कल्याणको डाँडा कटेपछि हाम्रा सामु श्याम वर्णका दुई टी.टी. खलनायकका रुपमा देखापरे आफ्नो चिरपरिचित पोशाकमा । उनका पछाडि असंख्य यात्रुहरु थिए, असहाय रुपमा सिट आरक्षण गरिदिने याचिकाका साथमा । हामी संयमित रुपमा सिटमा बस्यौँ र आ आफ्नो टिकटको विज्ञापन गर्यौँ सत्यताका साथ । यतिबेला थाहा भयो यो ट्रेनमा हाम्रो युनिटका अन्य पन्ध्रजना अझै रहेछन् ।

टी.टी. आफ्नो परीक्षणकार्य सकेर गएपछि चिया बेच्ने, गीत सुनाउने, अखबार बेच्ने विभिन्न किसिमका मान्छेहरु मञ्चस्थ भएर गए । हामी आपसमा घरी अंग्रेजी, घरी हिन्दी, घरी नेपालीमा कुरा गर्दै यात्रालीन थियौँ । हाम्रो कम्पार्टमेन्टमा अन्य जातिका मान्छे पनि थिए तर सम्वादहीन अवस्थामा ।

दिन उज्यालिँदै गयो । खुला र घमाइलो । बाटोभरि नीलो आकाश र सानोतिनो पहाड हामी सँगसँगै कुद्दै थियो अघिको, पछिको हुनेजस्तो दौड चल्दै थियो । कहीँकहीँ जंगलको बाक्लोपन, कहीँ सुख्खा जमिन । त्यस्तै उदास एवम् खिन्न मान्छेहरु पेन्टिडजस्तै ।

रेलको रफ्तार अघिभन्दा तेजिलो हुँदै गयो । अब लय छैन । एकनाशे संगीत । अब कानमा त्यो ध्वनि छन्दोबद्ध भइसकेको थियो । छोटो मिटरको कविताजस्तो । झ्यालबाहिरको सुन्दर दृश्यावली र त्यसको रुपशक्तिको सामु थकान र अनिदोपनले मेरो एस्थेटिक लालसामा विजयान्तर गर्यो । बाटोभरि म सुतिरहेँ ।

कलकत्ता:२३ फेब्रुअरी साँझ ६ बजे

छत्तीस घण्टाको रेल यात्रापछि कलकत्ता हावडा स्टेशन पुगियो । बम्बई र कलकत्ताका बीचमा कैयन् नगर, उपत्यका, महानगरहरु आँखाको पर्दामा प्रकट भए । ओझेल भए । ती त दैनिक अखबारका व्यापारिक पृष्टजस्तै भए देखिने तर नपढिने । कानपुर, लखनऊ, झांसी, मुगल सराय र अन्य कति अज्ञात ठाउँहरु.....।

बम्बई छोड्नेबेला मेरो मनमा एउटा गहन उदासी छाइरहेको थियो । अनि जब म त्यसलाई याद गर्छु तब त्यस्तै लाग्छ, जस्तो मैले उसँग बिदाइ मागिरहेको थिएँ मौन रुपमा । त्यो असामयिक बिदाइ थियो । अहिले हालैमात्र उसका लागि मेरो लगाव फैलँदै थियो, अचानक छुट्टिनु पर्यो । म त्यहाँ एक किसिमको आनन्दले थिएँ, पारिवारिकताको नवांकुर बढ्दै थियो । र आफै भिज्दै गइरहेको थिएँ त्यो अपरिचित दुनियाँसित । तर बिछोडिनु पर्दा मात्रै मलाई आफ्नोपनको महसुस भयो ।

जसले जीवनमा एकपटक बम्बईमा भोकभोकै संघर्ष भोगेको होस्, त्यसले मात्र उसँगको आत्मीयता महसुस गर्नसक्छ । नभए, त्यो मौन अभिव्यक्तिको नाता छैन । तर कलकत्ता त्यस्तो सहर लाग्दैन मलाई , यहाँ पोप जोन पललाई पनि धेरै शान्ति छैन भन्छन् । राजीव गान्धी यसलाई डेड सिटी घोषणा गर्न चाहन्थे । बंगाली प्रहरी अधिकृतलाई अतिरिक्त रकम छुट्याएर शुटिडका सामानहरु निष्काशन गर्यौँ, त्यहाँबाट ।

अब अर्को ट्रेन पक्डिन सियालदह गयौँ ।

सियालदह: २३ फेब्रुअरी राति ८.००बजे

न्यु जलपाइगुडी जान ट्रेनको टिकट काट्यौँ । ट्रेन गुड्न समय बाँकी भएको भएर आआफ्नो कामतिर लाग्यौँ । कोही माटोको भाँडामा भात खाँदै थिए । भारु सात रुपियाँमा । कोही दाँतमा दतिउन दल्दै थिए । म आफ्नो जिम्मामा परेका सामानहरुसित एक्लिँदै थिएँ इलेस्ट्टेड विक्ली अफ इण्डियाको नयाँ अंक हातमा लिएर । नयाँ ठाउँ र कोलाहल । तर बम्बईभन्दा पृथक । असजिलो ।

भोलिपल्ट बिहान पश्चिम बंगालको न्यु जलपाई गुडी आइपुग्यौँ ।

 

एन.जेपी: २४ फेब्रुअरी, बिहान १०.००बजे

त्यहाँ हामीलाई लिन ग्यांग्टोकबाट बस लिएर चव्हाण आएका थिए । चव्हाणका बारेमा बम्बईमै मदन चोपडाले जानकारी दिइसकेका थिए । उनी सिक्किममै पलायन भएका एक नेपाली रहेछन् तर अनुहारले मात्रै । पन्जावीका धर्मपुत्र भएका रहेछन् ।

स्टेशनबाहिर ठूलो बस हाम्रो प्रतीक्षामा रहेछ । चालकको समकक्षी सिटमा मुरलीधर बस्नुभयो । त्यसको ठीक पछाडि म । मेरा पछाडि अरु पन्ध्र सोह्रजना साथीहरु थिए हाम्रो युनिटका । प्रायः सबै भारतीय नागरिक ।

चह्वानले उनलाई प्राप्त भएको सूची अनुसार नामको पुनः परीक्षण गरे । त्यसमध्ये मेकअप म्यान, लाइटम्यान, साउण्ड रेकर्डिष्ट, ड्रेसम्यानबाहेक हामी दुई पनि रहेछौँ । सबैको एक आपसमा बसमा परिचय भयो । कतिसित त बम्बईमा भेटघाट भएको पनि हो ।

चह्वाणले बस चालकलाई सिलिगुडी जान दिशा निर्देशन गरे । उनले गाडीलाई पूर्वबाट पश्चिम फर्काए । ओठको चेपमा खैनी घुसारेका ती चालक रसिक मिजासका दार्जीलिड निवासी रहेछन् ।

बस ६० ६५ प्रति कि.मि. को दौडमा तीव्रता लिँदै थियो चालकीय सुसाइमा । अग्रभागमा हेर्नुको साटो घरीघरी आफ्नो देब्रेतिर बसेका कलाकार मुरलीधरतिर दृष्टिपात गर्दै थिए ।

खतरा है भाइ खतरा....। मुरलीधरले उनलाई सतर्क बनाए पनि उनी चैँ अटेरपूर्वक उनलाई नै हेर्दै थिए र भन्दै थिए हन् दाज्जू सम्झना फिलेमको टिका ज्यू, हैन र ?

यसबाहेक उनले मुरलीधरको अनेक परिचय मागे, केही थप समाचार पनि सुनाए । जसमध्ये प्रमुख थियो मुरलीधरसित सम्झनामा अभिनय गर्ने नारी कलाकारको सोनादहमा भएको विवाह ।

बस गुड्दै गर्दा सोचिरहेँ । एन.जे.पीे. सोचेजति भीडभाड रहेनछ तर अपेक्षाकृत व्यस्त र सुन्दर चैँ थियो । यस ठाउँमा आउने लोभ पहिलोपटक रुपनारायण सिंहको भ्रमर पढेताकादेखि नै थियो । भ्रमरका नायक शेखरको रोमान्सेली भूमि थियो त्यो ।

 

सिलिगुडी: २४ फेब्रुअरी, पूर्वान्ह ११:०० बजे

 

हामी सिलिगुडीको मूलसडकमा पसिसकेका रहेछौँ । सिलिगुडी सोचेभन्दा बढी व्यस्ततम् र तनावपूर्ण । अव्यवस्थित भीड । अपरिचित र असमान अनुहारहरुको सम्मीलन । ट्राफिक साउण्ड, त्यस्तै अनौठो बस, कार, रिक्सा, टांगा, साइकल, समसाइकल एकसाथ कराइरहे पनि एकरसता थिएन । हामी कतिबेला मुक्त हुन्छौँ होला यो ध्वनि प्रदुषण र कर्कशाबाट....? भन्ने चिन्ता बढ्दै गर्दा बस एउटा होटलको गलैँचा आकारको प्रांगणमा शरणागत हुन पुग्यो ।

नुहाइधुवाइ गरेर लञ्च गर्नोस् । अब यो थर्कमान आवाज थियो चह्वाणको, उनले आदेशकै स्वरमा हिन्दी र नेपालीमा यो वाक्य दोहोर्याए र थप अगाडि नयाँ सूचना दिए ए साँच्चै, यहाँ सपिड् गर्नतिर नलाग्नुहोला । धेरै ढिला भयो भने यहाँबाट निस्किन गाह्रो हुन्छ। फेरि तीन बजेपछि पहाडको बाटो हुस्सु लाग्छ । त्यो हुस्सु नलाग्दै उकालो चढिसक्नुपर्छ ।

अब साँच्चै सबैजना सतर्क भए र धमाधम होटलतिर लागे । होटल कल्पना मुताविक राम्रो र उच्चस्तरको रहेछ ।

होटल मैनाकामा शरीरको फोहोर मैला र थकान फ्याँकेर हामी एक बजेतिर पुनः अघिकै बसमा चढ्यौँ । सबै आ आफ्नो अनुहारमा तज्जन्य आकर्षण बोकेर पुनरागमनभ ए । अब पो एक आपसमा परिचय गर्दा चिनिने र सम्झिनेजस्तो देखिन्थ्यो । बसमा आ आफ्नो आसन जमाए तर बस गुढ्ने बेला मुरलीधरले आफ्नो सिट फेरेर भने 'यो भाइले मलाई हेर्या हेर्यै गर्छ । कतै दुःखद् घटना भयो भने ? दोष त मै अभागीलाई पर्छ ।' यो उनको मैत्रीय व्यंग्य बसचालकप्रति लक्ष्यित थियो ।

बसले बिस्तारै सिलिगुडीको कोलाहर र जनसागर छोड्दै गयो र सिभोक रोडबाट पहाडतिर यात्राभिमुख भयो । सिभोक रोड छोडेपछि चिसोपनले बिस्तारै स्पर्श गर्दै ल्यायो । यतिबेला हामीमध्ये धेरैलाई आफ्नो झोलामा तातो लुगा नभएकामा पछुतो छँदै थियो । त्यसमाथि चह्वाणको निषेधाज्ञाले गर्दा सिलिगुडीमा केही किन्न नपाएकामा व्यापक छट्पटी र ग्लानि झन् थपियो । सिभोक रोड नछोडुञ्जेल सुरक्षाकर्मीको कडा जाँच जारी थियो । गोरखाल्याण्डको आन्दोलनले गर्दा । शुटिडको गाडी ...न् अलमल । सबै लुगाका ट्रंक, बत्ती, बत्तीका तारहरु सकेट देखाउनुपर्ने र बुझाउनुपर्नेले गर्दा थप समय खर्चियो । फेरि उनीहरु चेकिड गरिसकेपछि मुड भएमा जिस्किँदै सोध्छन् हिरो कौन है ? जवाफ एउटै हुन्थ्यो डैनी उनी यस इलाकामा बंगाली फिल्म लालकोठीले गर्दा अत्यन्त लोकप्रिय पनि छन् ।

वास्तवमा डैनी यस फिल्मका नायक मात्र नभएर कथाकार, गीतकार, गायक र एक प्रमुख निर्माता पनि हुन् । यो उनकै निर्माण कम्पनी ट्रिपल जेम्स मुभिजबाट बन्दैछ र उनकै भान्जा उगेन छोपेल यसका निर्देशक पनि हुन् । बसले हामीलाई तराईको भूभाग हुँदै लग्यो । माटीगाडी, सालगाउँ, काली मन्दिर, डाक बंगला हुँदै बाघपुल आइपुग्यौँ । बाघपुल कटेपछि विभिन्न किसिमका घुम्तीहरु आए सिटबाटै सल्किने गरी पल्लो सिटमा पुग्ने शक्तिमा गाडी मोडमा घुमिरहेको थियो । बायाँतिर भीमकाय पहाडहरु र दायाँतिर निक्कै तल विशाल नदी । जसमाथि इन्द्र सुन्दास, असित राई, प्रकाश कोविद, भगीरथ रावतले उपन्यास लेखे, कविवर माधव घिमिरेले गीत लेखे उहिले हामी टिस्टासम्म पुगेथ्यौँ र गाए जनार्दन सम, तारादेवीजस्ता साधकले "गाउँछ गीत नेपाली ज्योतिको पड्ख उचाली ।"

बस शान्त भएर ठूलो पहाडमुन्तिर रोकियो ।

यो टिस्टा पुल हो । चिया नास्ता गर्ने भए र्नु भए हुन्छ । भाषाको मितव्ययिता अपनाएर चह्वाणले हिन्दीमै भनेको भए पनि बुझ्ने नबुझ्ने सबै झर्न तयार थिए । मौकाको फाइदा उठाएर ड्ेसम्यान मोहनले भने अपन तो कट टु ट्वाइलेट सबैको हाँसोको फोहोरा नछुट्दै मोहन बसबाहिर कुँदिसकेका थिए । कट टु मोहनको थेगो रहेछ । कट टु पटकथामा प्रयोग हुने प्राविधिक भाषा हो । कट टु को अर्थ पटकथामा दृश्य परिवर्तन गर्दा एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन वा भनौँ दर्शकलाई छिटो र सीधा त्यहाँ पुर्याउने निर्देशकीय भाषा कट टु हो । सबै बसबाट ओर्लेर आफ्ना निजी काममा हिँडेपछि म पनि खल्तीमा रहेको एक रुपियाँको सिक्का बोकेर टिस्टा पुलमा पुगेँ । सिक्का ढोगेर खोलामा हुत्याइदिएँ हरर टिस्टाको हावामा हुइँकिदै सिक्का जलराशिमा खस्यो । हठात् सम्झन पुगेँ इन्द्रबहादुर राईको उपन्यास आज रमिता छ का नायक जनक र सहनायिका यमुनाको रुमानी दृश्य यही पुल माथिको ।

सन् १९५८ मा लिखित यो उपन्यास छापिएको छब्बीस वर्षपछि म यो पुलमा छु ।

बीसौँपटक पढिसकेको यो उपन्यास जहिले पढ्दा पनि यो पुलमाथिको दृश्यमा आएर अडिग हुन्छु कहिले तर्ने होला त्यो पुल ? आज त्यही पुलमा उभ्भिएको छु । त्यस किताब र किताबका पात्र पात्रालाई सम्झिदैछु । कल्पनातीत रुपमा रमाइलो रहेछ यो पुल । प्रेमको निशानी ।

यो संसारको सबैभन्दा पुरानो ब्रेल ब्रिज हो अरे, सर चह्वाणले पुल छर्दै गर्दा बसमा थप जानकारी दिए तर के कुरा गर्नु सर यो इतिहासको निशानी चारपाँच वर्षपछि नरहने भो । ग्रेफले भत्काएर नयाँ पुल बनाउने भएको छ पक्की पुल ।

कन्ट्रयाक्ट लिइसक्यो तिनेरुले ।

अब यो पुल तस्विरमा र उपन्यासमा मात्रै सीमित रहने भो । त्यो पनि नेपाली बुझ्नेका निम्ति यो इतिहास जीवित रहला, नबुझ्नेका लागि ! एक किसिमको दुःखानुभूति मनमा गडिरह्यो टाढा नआइपुगुञ्जेलसम्म ।

मल्ली बजार आइपुग्यौँ यो पनि खोलाको छेउमै अवस्थित छ । यहाँबाट दाहिने चढेको उकालो कालिम्पोङ्ग पुग्छ र बायाँबाट सिक्किमकै जोरथाङ्ग, किताम बजार जाँदोरहेछ । हामीलाई पूर्व जानुपर्ने रहेछ ग्याङ्गटोक, सिक्किमको राजधानी ।

मल्ली बजारमा बिहान र दिउँसो भात र माछा मीठो पाउँदोरहेछ । साँझमा चैँ जाँडरक्सी लोकप्रिय रहेछ यहाँ । यसबारे थाहा पाएर ड्रेसम्यान मोहन कट टु रेष्टुराँ भइसकेछन् । उनका साथमा एक दुई अरू साथी पनि कट टु भएछन् । मोहन र उनका टोली धेरैबेर हराए । मल्ली छोड्दा पाँच बज्यो ।

सिक्किम राज्यभित्र पसेको पूर्ण ज्ञान चैँ रम्फू आइपुगेपछि हुँदोरहेछ । यो सिक्किमको प्रमुख द्वार हो यहाँ हामीलाई एस.पी. ले स्वागत गरे । एस.पी. यहाँको पुलिसको संक्षिप्त नाउँ । यहाँ हामीले आफ्ना बारेमा सबै जानकारी टिपायौ, रहने समयावधि र स्थानका बारेमा पनि ।

यहाँ हामीलाई स्वागत गर्न तीनपाते सुटमा याप्ला जन्तरे आएका थिए । उनी डैनी डैन्जोङ्पाका जन्तरे दाजु रहेछन् । याप्लाको अर्थ सिक्किमे भाषामा काजी वा मालिक हुँदोरहेछ ।

रम्फू एउटा सानो तर गतिशील बजार । काठका घरहरू लहरै । त्यहाँ नेपाली, बङ्गाली र कैँया व्यापारीहरू बढी रहेछन् तर मीठो नेपाली बोल्ने । नेपाली भाषालाई भारतीय संविधान मुताविक आठौँ अनुसूचिमा अन्तर्युक्त गर्ने कोसिस र कसरत भइरहेकोमा सिक्किमका मुख्यमन्त्री भण्डारीको विशेष भूमिका रहेछ । उनको फोटो अङ्कित रङ्गीन क्यालेण्डर यहाँका प्रायः रक्सी दोकानहरूमा देख्न पाइयो । उनको एउटा महावाणी अत्यन्त लोकप्रिय रहेछभण्डार खनेर आँगन पुर्नेप्रति सावधान ! यो नबुझिने महावाणी धेरै ठाउँमा पढ्न पाइयो । उनी महाकवि देवकोटा र स्व.श्री ५ महेन्द्रबाट अत्यधिक प्रभावित रहेछन् । एउटा बगैँचामा फूलको बारेमा उनको उपदेश यस्तो छईश्वरको हाँसो पाएका फूल छुनु पाप हो । त्यस्तै भण्डारीको अर्को सन्देश यस्तो छम मरे पनि मेरो देश बाँचिरहोस् ।

भारतीय समयअनुसार छ बजेर बीस मिनेटमा हामी सिङ्गताम आइपुग्यौँ । नेपालको दोलालघाटजस्तै देखिने सिङ्गताम बजारमा अधिक मात्रामा नेवार व्यापारीहरू रहेछन् तर नेवारी भाषाप्रति अनभिज्ञ । हामी यहाँ आइपुग्दा झमक्क साँझ परिसकेथ्यो । अँध्यारो यस्तो थियो बत्तीको चहलपहलबाहेक केही नदेखिने । तर यहाँको हल्लाखल्लामा नेपालीपन र बोलाइमा पहाडे शैलीको मिठास काफियोजस्तै सुन्न्थ्यिो । हाम्रो बस यहाँ रोकिएपछि चहलपहल झन् बढ्यो । यो बजार समथर भूमिमा छ । यहाँबाट सिक्किमको जुन भागमा गए पनि उक्लिनुपर्छ । पुल तरेर बजार पस्नेबित्तिकै बायाँ गयो भने राभाङ्गला, दायाँतिर चढियो भने ग्याङ्गटोक । हाम्रो फिल्मको सम्पूर्ण शुटिङ हुने राभाङ्गलामा र मुहूर्त हुने भोलि ग्याङ्गटोकको टासी डे ले होटलमा ।

हाम्रो शुटिङ गर्न कहिले आउने, अङ्कल ?” एउटी बच्चीले यो प्रश्न गर्दैगर्दा म झसङ्ग भएँ । कलाकार मुरलीधर त्यस्तो निख्खुर कालो अँध्यारोमा पनि आफ्ना फ्यानहरूलाई अटोग्राफ दिँदै हुनुहुँदोरहेछ ।

शुटिङ कहाँ हो नै मलाई थाहा छैन । मुरलीधर आफ्नो अज्ञानता ज्ञानी प्रशंसकहरूलाई बाँड्दै थिए । यो सुनेर चह्वाणले स्पष्टीकरण दिएहामी जानुपर्ने राभाङ्गला हो । तर भोलि मुहूर्त हुनेचैँ ग्याङ्गटोकमा । कता जाने हो अलिकति मिलेको छैन । कुन्नि चह्वाण के मिलाउन खोज्दै थिए, कसैलाई थाहा छैन । उनी फेरि फोन गर्न गए र फर्केर आएपछि याप्ला जन्तरेलाई कम्मरको विन्दुसम्म झुकेर अभिवादन गरे । याप्ला केके भन्दै थिए, चह्वाण ला, ला, ला भन्दै थिए । लाचैँ सिक्किमको विनम्र भाषामा हजुर भनेको रहेछ ।

यसपछि याप्ला जन्तरेले हात हल्लाएर बिदा मागे ग्याङ्गटोक जान । अन्ततः हाम्रो यात्रा राभाङ्गलातर्फ मोडियो । बस गुड्ने बेलामा ड्रेसम्यान मोहन सिटमा रहेनछन् । उनी त कट टु गड्डी भइसकेछन् । गड्डी सिक्किम रक्सीदोकान अर्थात् भट्टी । मोहन बस रोक्यो कि आफूलाई कट टु गड्डी पु¥याइहाल्दारहेछन् । अरूबाट थाहा भएअनुसार उनी रम्फूमा पनि कट टु गड्डी भइसकेका रहेछन् ।

मोहन आइपुगेपछि बस राभाङ्गलातिर गुड्यो । माङ्गले खोला तरेर बिस्तारै उकालो सुरु भयो । अँध्यारोको सुरुङ चिर्दै बस अघि बढ्यो । चारैतिर हुस्सु र अँध्यारो । सर्वत्र निर्जन र निष्क्रियता । जता हेरे पनि नजरको विपन्नता महसुस हुन्छ । खोलाको आवाज तलै छुटिसक्यो । हावाको वेगले मात्र गाडी गतिमान छ भन्ने थाहा हुन्छ । स्टान्ढालको ब्रुनर्डको जिन्दगी पढ्दै यस्तै सजीव अनुभूति भएथ्यो मलाई । पहाडी झरनाको सफा र शीतल पानी पिएजस्तो ।

धेरैपटक कट टु गड्डी भएका कारण मोहन झुलिसकेका थिए । कलाकार मुरलीधर मुहूर्तमा आफ्नो उपस्थिति महत्त्वपूर्ण नमानिएकाले मुडअफ थिए । दिनभरिको दौडधूपले चह्वाण थकित थिए । बाँकी पात्रहरूको उपस्थिति अगिदेखि न्यून थियो ।

बसले आफ्नो रफ्तार छोडेको छैन । हेडलाइटको उज्यालो बाहिर केही देखिन्न । बेलाबलामा सेतो माइलोस्टोनमा कालो मसीले लेखेको पढ्न भ्याइन्थ्यो

राभाङ्गला १५ कि.मि. ।

राभाङ्गला १० कि.मि. ।

राभाङ्गला ० कि.मि. । बस उच्चा स्वर निकालेर शान्त भयो । त्यो एउटा पूर्णविराम थियो त्यसको । त्यति ठूलो आवाजले पनि त्यो शान्त गाउँ ब्यूँझेन । यस्तो लाग्थ्यो त्यहाँ भर्खरै एउटा युद्ध सकिएको छ ।

हुस्सुभित्र कठ्याङ्ग्रिएर राभाङ्गला मस्त निद्रामा थियो । ल्याम्पपोस्टहरू नावालिगझैँ टोलाइरहेका । बस रोकिएको देब्रेपट्टि पहाडको थुम्को, दायाँपट्टि लामो बाटो उकालो चढेको । त्यो बाटोको दायाँबायाँ जमिनमा आधा गाडिएका लहरै काठका घरहरू । बसको ठीक अघिल्तिर अर्को गाउँ क्युजिङ्ग जाने बाटो ।

एउटा अव्यक्त सङ्केत लिएर बसेको त्यो गाउँमा हामीले स्कुले कान्छालाई खोज्नुथियो । टर्चलाइट बोकेर चह्वाण मेरा अगाडि हिँडे । सुत्न तर्खर गरिरहेका स्कुले कान्छासित भेट हुनेबित्तिकै उनी हामी आएको देखेर आश्चर्यचकित भए ।

स्कुले कान्छाले बन्दोबस्त गरेको कोठामा सबैलाई पु¥याएर हामी होटल सरिता फर्कियौँ, जहाँ हाम्रा (मुरलीधर र मेरा) निम्ति कोठाको व्यवस्था गरिएको थियो । होटलमा आएपछि मैले स्कुलेकान्छालाई जिस्काएर सोधेँतपाईं स्कुले जेठा किन हुनुभएन ?”

भद्र स्कुले कान्छाले हाँस्दै भनेहैन हैन, सायमीजी ! मेरो वास्तविक नाउँ यो होइन, टी.सी. वाङ्गदी हो । यो गाउँबाट स्कुल पढ्न गएको पहिलो केटो म, त्यो पनि दार्जीलिङमा । त्यसैले मान्छेहरू मायाले मलाई स्कुलेकान्छा भन्छन् ।

यस फिल्ममा लियाजो अफिसरका रूपमा काम गरिरहेका वाङ्गदीसँग कुरा गरिरहँदा सामान्य अवस्थाका कारण मुरलीधर सुत्न गइसकेका थिए । उनको अनुपस्थितिमा पनि स्कुले कान्छासित लगभग एक घण्टा गफगोष्ठी भयो । कान्छाका अनुसार मुहूर्त सकेर भोलि सम्पूर्ण कलाकार ग्याङ्गटोकबाट आउने रहेछन् । त्यसपछि पर्सिदेखि धारावाहिक रूपमा पचास पचपन्न दिन सम्पूर्ण छायाङ्कन यहीँ हुने योजना रहेछ । त्यसका निम्ति रातो, सेतो घोडा, ओपनहुट जिप, डाकबङ्गला सबै उनले मिलाइसकेका रहेछन् ।

तर काम पो हुन्छ कि हुँदैन, यो ठाउँ त सिक्किमको चेरापुञ्जो हो । मौसमले कत्तिको साथ दिन्छ ?” आश्चर्य र चिन्ता, आशा र आक्रोश व्यक्त गर्दै स्कुलेकान्छा दश बजेतिर बिदा भए । मैले पनि सहयोगको अपेक्षा राख्दै धन्यवाद भनेँ ।

स्कुलेकान्छा गएपछि म पनि भोलिबाट भेट हुने नयाँ मित्रहरूसँग राम्रोसाथ बितोस् भनी कामना गर्दै पलङभित्र घुस्रेँ । नीरव रातमा धेरै वर्षपछिको मेरो पहाडी बास हो ।

राभाङ्गला ः २५ फेब्रुअरी १९८६

 

बिहान उठेर झ्याल खोलेँ । म जुन कोठामा सुतेको थिएँ, त्यसको झ्याल सीधा नदीतर्फ खुल्दोरहेछ । नदी नजिकै देखिए पनि निक्कै गहिराइमा रहेछ । नदीको अनुकरणीय ध्वनि नदीलाई नहेरेसम्म ज्ञात नहुँदोरहेछ किनकि भररात मलाई यता नदी छ भनेर ज्ञानै भएन । नदीसँग यो गाउँका मान्छेको कुनै लेनदेन र सांस्कृतिक जीवन छ जस्तो देखिएन । नदीको पारिपट्टि एउटा ठूलो हरियाली मैदान रहेछ, थिएटरजस्तो । त्यो थिएटरको बीचमा मात्र एउटा एकतल्ल्े घर रहेछ । त्यो थिएटरको पाश्र्वभूमिमा विश्वप्रसिद्ध कञ्चनजङ्घा हिमाल मुस्कुराइरहेको थियो । यो हिमालमाथि महान् फिल्मकार सत्यजित रेले बनाएका सिनेमा दुईपटक हेर्ने अवसर पाएको छु । त्यो फिल्ममा हिमाल एउटै एङ्गलबाट मात्र देखाइएको छ तर यतिबेला यहाँ यो हिमाललाई हरेक कोणबाट हेर्न सकिने देखेर म खुसी छु । मानौँ, त्यो हिमाल पो मलाई हेर्न आँगनमै आएजस्तो छ, विना सूचना ।

पाश्र्वसङ्गीतसहित गायक मुरलीधर आफ्नो नव्यतम् रचना गाइरहेका थिए, आफ्नै कक्षमा

झस्किदियो मुटु मेरो बिहान बिहानै

मायाले नै गिज्यायो मलाई बिहानबिहानै

मुरलीधरलाई साथमा लिएर स्कुलेकान्छासित केही लोकेशनहरू घुम्न जानुछ । हामीलाई लिन स्कुलेकान्छा आइसकेका थिए रिसेप्सनमा ।

बाहिर निस्कियौँ । आज मङ्गलबार, यहाँ हाटबजार रहेछ । हामीलाई हाटबजारले प्रथमतः राभाङ्गलामा स्वगत ग¥यो सुमधुर बोली र जीवन्त मुस्कानका साथ । टासी डेले, स्कुले कान्छा ! टासी डेले !हाटमा सक्रिय आमाले स्कुले कान्छालाई अभिवादन गर्दै थिए । उनी पनि जवाफमा टासी डेले भन्दै अग्रगामी कदम चाल्दै थिए किनकि हामीलाई पचाससाठी दिन काम गर्न एक दुई घण्टामै केही ठाउँहरू छान्नु छ, जसलाई फिल्मी भाषामा लोकेशन हन्टिङ् भनिन्छ । प्रिय ड्रेसम्यान मोहनको भाषामाकट टु लोकेशन हन्टिङ् !बिहानैदेखि ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |