हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

कुन समुद्रले छुनसक्छ सगरमाथालाई ?,(कृष्ण प्रसाईं)

 

जीवनलाई निफनिरेछु नाङ्लामा

भुसहरू छन्, उडाउनु छ

फब्लेटा र बियाँहरूछन्, टिप्नु छ

मसिना कनिकाहरूपनि छन्, चालेर किनारालाउनु छ ।

साना ढुङ्गाहरू छन्,फ्याल्नु छ ।

कहींकतै फोहोरमैला भए तह लगाउनु छ ।

कतै घुनहरू बचेभने पकाउनुको अर्थ नै रहन्न भान्साको ।

छान्दाछान्दै र सोझ्याउँदा सोझ्याउँदै धेरैपटक पसाङ्गिएको छ जीवन ।

सोझ्याउनु पनि छ  जीवनलाई ।

XXXXXXXXXXXXXXX

      २००९ नोभेम्बर ७ को बिहान मलाई ब्युँझाउन मेरो सूर्य दक्षिण कोरियाको बुसान शहरमा उदायो । यस्ता धेरै सूर्यको उदाइबाट म ब्युँझिएको छु विदेशमा । सहस्र सूर्यको अस्ताइबाट थकित भएर निदाएको छु विदेशमा । धेरै औंसी, पूर्णिमा, एकादशी, सङ्क्रान्ति र मसान्तीहरू आएर गएका छन्विदेशमा । त्यो ब्युँझाउने बिहानलाई सलाम गर्दै अघिल्लो साँझको उर्दीलाई समेत पालना गरेर आठबजे होटलकै लबिमा निस्कनु पर्नेछ मैले । मसँगै निस्कनेमा चीन र जापानका लेखकहरू पनि छन् । उनीहरू दुवै कोरियाली मूलका हुन् । म मात्रै काग्ताली पारेर पुगेको छु बुसान । कोरियाली भाषामा पूर्ण दखल नभएको म जस्तो अपूर्ण मान्छेले कोरियाली भाषामा हुने सभासम्मेलनमा भाग लिनुले कुनै तुक राख्दैन, तर पनि अगाडि नै श्रीमती रानको Cheo Jeang Ran निम्तोलाई मैले सहर्ष स्वीकार गरिसकेको छु,। अरुको भाषणमा ताली लगाउने र अरू हाँस्दा हाँस्नु बाहेक मसँग अर्को उपाय छैन सम्मेलनमा । चीनियाँ र कोरियाली लेखकहरूको कार्यपत्र प्रस्तुत गर्ने समय २ बजे पछि मात्र छ । २ बजे अघिसम्मको समय हामी korea maritime university  of Busan या Gu Mo-Ryong का अन्तर्राष्ट्रिय अध्यायन विभागका प्रोफेसर Gu Mo-Ryong सँग बिताउँदैछौं । प्रोफेसर गु कोरियाकै प्रसिद्ध समालोचक हुन् भन्ने कुरा मैले अघिल्लो दिनै सुनिसकेको थिएँ । मझौला कदका, खाइलाग्दा र गोरा वर्णका प्रो. गु गम्भीर मिजासका छन् । आवश्यकताभन्दा बढी बोल्दैनन् र बोलिहाले भने काण्ड पुर्याएर बोल्छन् । परिवर्तनका हिमायती प्रो.गुले नेपालको १२ वर्षे आन्दोलनका बारेमा सुनेकारहेछन् र आन्दोलनका पक्षधर पनि रहेछन् । आफू परिवर्तनको पक्षमा रहने प्रगतिशील मान्छे रहेको कुरा उनले मसँगको पहिलोभेट मै भनेका हुन् । उनीसँगको मेरो पहिलो भेट २००९, नोभेम्बर ६ मा बुसान शहरको प्रशान्त महासागरीय तटमा अवस्थित सामुद्रिक खाना पाइने एउटा रेस्टुरेण्टमा भएको हो । उनीसँगै सामुद्रिक परिकारहरू खानुहुने कोरियाली मूलका जापानी पाहुना कवि kim YEE PARK र कोरियाली मूलकै चिनकी Professor Ms. seoun र अन्य चारजना  बुसानका कविहरू प्नि थिए । श्रीमती रान भने हामी खाँदै गर्दा आएकी थिइन् र ढिलो भएकोमा माफी पनि मागेकी थिइन् ।

श्रीमती रानले आफ्नो कुरा राखिन्

 बुसान सामुद्रिक शहर हो । समुद्रसँग जोडिएको यसको नाताले नै हामी कोरियाको ठूलो औद्योगिक नगरका नागरिक हुन पाएका छौँ । यो शहर सामुद्रिक बन्दरगाह र निकासीपैठारीका लागि प्रसिद्ध छ । त्यस्तै सामुद्रिक खानाका लागि पनि । त्यसैले हाम्रा पाहुनाहरूलाई आज हामी समुद्रकै खानाले स्वागतगर्न चाहेका छौँ ।

 सामुद्रिक खानाखाने बानी त्यति नभएपनि बारम्बार समुद्रसँग नाता जोडिएका देशहरूको भ्रमणले मेरा लागि नौला थिएनन् । पहिलोपटक यस्ता खानामा सहभागी हुँदा  हाम्रो जस्तो भूपरिवेष्ठित मुलुकका मान्छेकालागि अलि असजिलो र अनौठो नै हुन्छ । जुन अनुभव मैले अगाडिनै भोगिसकेको छु । भोग्दै गएपछि केही असजिलो भए पनि कहिलेकाहीँ मेरो भूपरिवेष्ठित मनले आफ्नो माटाको जात जनाइहाल्छ र कताकता दिग्मिग् लाग्न थाल्छ । विशेष गरेर समुद्रको गन्ध ह्वास्स नाकमा पसेपछि काण्ड पुगिहाल्छ मलाई । यो पालीको सामुद्रिक खानाको विशेषता त झन् विचित्रको थियो ।

सामुद्रिक खानाका यति धेरै परिकारहरू पनि हुँदारहेछन् भनेर पहिलोपल्ट अनुभव गरिरहेको थिएँ बुसानमा । झिँगेमाछा र अरू साधारण माछामाथि मात्र मैले  काँटा चलाएको देखेर अरू साथीहरू अनौठो मानिरहेका थिए । मौका छोपेर बुसानकै अर्का समालोचकल Mr. Park ले मलाई सोधिहालेखानेकुरा खान किन कन्जुस्याईँ गर्नुभएको ? खानामीठो लागेन कि क्या हो ? तपाईंको देशमा यस्ता परिकारहरू हुँदैनन् कि कसो ?”

        मैले भनेँ – “माछाका परिकारबाहेक अन्य परिकारहरूसँग म खासै परिचित छैन । हामी सामुद्रिक खानाका विरोधी होइनौँ । तर हाम्रो देशमा समुद्र नभएकाले यसमा अभ्यस्त छैनौं । जहाँसम्म मेरो प्रश्न छ मलाई कोरियनखानामा सामुद्रिक लेउ (कोरियाली भाषामा किम) असाध्यै मन पर्छ । बानी नभएकाले बाँकी परिकारहरू ठिकै लाग्छन्

इमान्दार भएँ म । मीठो मानेर सब चाट्चुट् पारेर खानै मुस्किल । तर उनीहरू सफाचट् पारेर खाएको मन पराउँछन् । बिदेशी पाहुनाहरूले  सिनित्तै पारेर खायो भने थप्नुपर्ने खानाको पैसामा पनि भरसक छुट दिन्छन् । मीठोमानेर खानु र सिनित्तै सक्नु रेस्टुरेण्टलाई गरिने सम्मान मानिन्छ कोरियामा । मीठोमानेर खानु परिकार बनाउने मान्छेको इज्जत गरेको ठानिन्छ कोरियामा । त्यसो त कोरियनहरू खानाका अत्यन्तै सौखिन हुन्छन् । भेटघाट हुँदा नेपालमा आरामै छ भनेर सोधिने गरिन्छ  तर कोरियामा खाना खाइस्” ? भनेर भलाकुसारीको पहिलो शुरुवात् हुन्छ । कोरियाली खानेकुरामा जरा,बुटा, पातपतिङ्गरदेखि गिट्ठा भ्याकुरसम्म छोडिएका हुँदैनन् । सन् चालिस र पचासको दशकमा कोरियाली प्रायद्वीपमा चरम खाद्य सङ्कट परेको थियो रे । भयानक युद्ध र अनिकालमा होमिएका कोरियनले खान लायक भेटेसम्मका जे पनि खाए रे ।

 जापान कोरियाली युद्धकालमा भोकमरी धान्न नसकेर अमेरिकी सैनिकले खाएर फालेका खानेकुरा पखालेर खाने कोरियनहरू अहिले पनि कोरियामा छन् । कहिल्यै चुइगम् नदेखेका ग्रामिण कोरियालीहरूले अमेरिकी गोराले खाएर फालेको चुइगम टिपेर खानकोलागि कोशौँ पछ्याएर  हिड्दाको सत्यकथालाई अहिलेको पुस्ताले कसरी विश्वास नगर्ला र ! जापानीहंरुले कोरियामा आफ्नो अधिपत्यजमाएर आफ्नो भाषा लदाउन जापान लगेका कोरियनहरूको कमी पनि कहाँ छ र कोरियामा ।  सन् ७०८० को दशकमा गरिबीकै कारण साउदी अरेबियामा ड्राइभरी र अन्य मजदुरी गर्नजाने कोरियनलाई तपाई के भन्नु हुन्छ । जसको संख्या अहिले पनि कोरियामा जीवित नै छ । त्यो भन्दा पनि नेपालमा समेत नभएको अचम्म र उदेकलाग्दो कुरा बोका, रागा र बहरलाई  नेपालका ग्रामिण क्षेत्रमा पुरानो शैलीबाट गरिने  परिवार नियोजन स्थानीय ठेट भाषामा (खसी पारिने) चलन त्यहाँका राजाहरूले राम्रा स्त्रीहरूका विवाहित लोग्ने मान्छेलाई गर्ने गरेको पुरानो इतिहासको दृश्य कोरियाली टेलिसिरियलहरूमा अहिले पनि देख्न पाइन्छ ।

        सन् ६० को दशकमा नेपालले समेत धर्मढिकुटीबाट जम्मा गरेर एकहजार क्वीन्टल गहुँ  सहयोग स्वरुप दिएको थियो कोरियालाई । अहिले यस्तो कुरा भन्नसमेत लाज लाग्छ उनीहरूसामु । विश्वासै गर्न गाह्रो छ त्यतिबेलाको यथार्थ र अहिलेको वास्तविकता । हामीले गहुँ दिएर सहयोगगरेको मुलुकमा रोजगारी गरेर गौरवान्वितहुनुपर्ने समय आयो अहिले । जति धेरैको सङ्ख्यामा रोजगारी प्राप्तहुन्छ, त्यति नै मात्रामा खुसी हुने नेता, महानेताहरू आए अहिले । सामानको निकासीपैठारी गर्नुपर्नेमा श्रमका लागि मानिस निकासीगर्ने नीतिनियम फस्टायो नेपालमा । मान्छेको पैठारीका लागि विश्वमै चिनियो नेपाल । नेपालका धेरै मान्छेलाई रोजगारी दिएबापत सर्वोत्कृष्ट मानपदवी र तक्मा थापे विदेशी राष्ट्रप्रमुखले । सुन्दै कस्तो लाजमर्दो कुरा !

      सामुद्रिक खाना खाइसकेर झण्डै ३० मिनेटको यात्रापछि हामी प्रशान्तमहासागरीय किनारको बासबस्ने होटलमा आइपुगेका थियौँ । बाटामा हामी समुद्रमाथि बनाइएको पुलमा समेत यात्रारत भयौँ । एक शहरबाट अर्को शहरमाजाने समुद्रमाथि लामो र आकर्षक पुलपनि उभ्याइएको रहेछ बुसानमा । रातीको मनमोहक दृश्यमा अन्मिएको बिजुलीले सारा बुसानलाई बेहुलीघरझैँ सिँगारेको थियो । लहरमिलेर उभिएका बिजुलीका गुलुपमाथि आँखा फ्याँक्दै श्रीमती रानले भनिन्

 तिमीले समुद्रकोकिनार मनपराउँछौ भनेरनै हामीले समुद्रकिनारकै चौधतले Castle beach होटललाई रोजेका छौँ । राती तिम्रो कोठाबाट अघाउञ्जेल प्रशान्त महासागरलाई हेरेर उसँग कुरा पनि गर्नसक्छौ ।

       गाडी चलाइरहेकी रानको सदासयतालाई केही नबोलिकनै मैले मनमनै स्वागत र अभिवादन गरेँ । सोचे, शिष्टाचारमा कोरियनहरू कतै चुक्दैनन् ।

 होटलको कोठामा गएर आराम गर्छौ कि मसँग बाहिरघुम्न जान्छौ ?”

गाडीको पाउदान थिचिरहेकी रानले फेरि अर्कोप्रश्न तेस्र्याइन् । मौकामा चौका हान्न उचित ठानेँ मैले । फेरि यस्ता मौका म जस्तो उमेरढल्कँदै गरेका मान्छेको जीवनमा आउलान्नआउलान् । मैले उत्तर दिएँ

तिमी फुर्सदमा छ्यौ र थाकेकी छैनौ भने ठीक छ । म त सँधै तयार नै छु ।

      कस्तो अभिब्यँजना मिसिएको ध्वनि बोल्छौ तिमी ! तिम्रा बोलाइले धेरै अर्थहरू लगाउछन् । हेर्दा सोझाजस्ता देखिएपनि मापाका छौ तिमी । तर तिम्रा कुरागराइ किनकिन मलाई असाध्यै मन पर्छ

     कुरा हुँदैगर्दा अर्कोगाडी हाकिरहेका बुसानकै आफ्नो कविसाथीलाई अरू विदेशी साथीहरूलाई होटल छाडिदिएर घरजान मोबाइल फोनबाटै अनुरोध गरिन् रानले । त्यसपछि भने उनले मलाई एउटा प्रशान्तीय क्षेत्रको पाँचतारे होटल छेउको सामुद्रिक किनारमा लिएर गइन् र भनिन्

    बुझ्यौ,यो Westin Chosun hotel हो । यहाँको Haeundae Beach संसारमै प्रसिद्ध छ । अमेरिकी राष्ट्रपति जर्ज बुस पनि उनको अन्तिम कार्यकालताका कोरिया आउँदा यसै होटलमा बसेका थिए । यहाँबाट देखिने सामुद्रिक अनुहारको विशेषता नै बेग्लै छ ।

     समुद्रको छेउमै रहेको होटलबाट समुदीकिनारातिर झर्दै रानले गर्वबोध गरिन् । विकासले भनेसम्म फड्को मारिसकेको कोरियामा गर्वगर्न लायक विकासका धेरै संरचनाहरू छरिएररहेका छन् । त्यसमा कोरियनहरू प्रशंसागर्न कहिल्यै चुक्दैनन् । हामीले उनीहरूलाई चुकाउने अस्त्र भनेकै हाम्रो हजारौँवर्षदेखि हिमालय संस्कृतिमा उन्नतठानिएको हाम्रो पूर्वीयवैदिक दर्शन र अध्यात्मिक अमरत्व प्राप्तिको आत्मज्ञान नै हो । जसलाई मैले नेपाली हुनुको अर्थमा सँधै गर्व गरें । जस्तै मै हुँ भन्नेलाई आफ्नो तर्कसामु नतमस्तक बनाएँ । ममा रहेको गर्वबोध नै मेरा पुर्खाले सिकाएको पूर्वीय चिन्तन हो, जुन कुराको प्रभाव मैले प्रत्येक भ्रमणमा उनीहरूसामु पोखेर नेपालीहुनुको मेरो अस्तित्व बचाएको छु ।

      सत्य यही हो कि मेरा हिमालयका घाँटीमा पाइने प्रत्येक ढुङ्गामा शिवत्व छ । म तिनीहरूलाई टेकेर सत्यकुराको आत्महत्या गर्न चाहन्नँ र चाहन्छु सर्पझै खुट्टा नभएको मान्छे बनेर दक्षप्रजापतिका भोलेज्वाइँको गलाकोमाला बन्न । मलाई तिनै शिवत्वसँग गर्व छ, जसको कर्मभूमि नेपाल हो । जसको उँचाई नेपाल हो र जहाँको चिन्तन र संस्कृतिले संसारका कुनैपनि चिन्तन र संस्कृतिको उँचाईलाई पांैठेजोरी खेल्दा सहजै हराउँछ । मलाई थाहा छ, विकास कसरी मित्थ्या हुन्छ । निर्माण कसरी आततायी बन्छ र प्रविधिले कसरी मान्छेको मनोदशालाई खग्रास बनाउँछ । मलाई योपनि थाहा छ , मेरो देशको दर्शनसामु कोरिया कुन कुरामा कल्पिन्छ । जापान कसरी जिब्रोनिकालेर जिज्ञासु हुन्छ, हंङ्कङ कसरी हतासिएर हच्किन्छ र  चिन कसरी चकमन्न चुपचापसुनिरहन्छ । मलेसिया मोहित हुने, नर्वे नतमस्तक भएर निहुरिने अनि अफ्रिका, अस्ट्रेलिया र अमेरिका आच्छुआच्छु भएर अन्योन्यास्रित हुने दर्शन मेरै देशमा छ ।

      किन समुद्रलाई हेरेर मौन बसेका ? यहाँको समुद्रले मन नजित्ने मान्छे नै हुँदैनन् ।

 उनको शरीरबाट छुटेको फ्रान्सेली अत्तरको बासनासँगै बोलिन् रान् ।

   समुद्रछेउको भुभागैभरि लहरमिलाएर सयौको संख्यामा मानिसहरू नाचगान र खानेपिउनेमा मस्तथिए । समुद्रमाथिबाट कुदेको आकाशेपुल हेर्दै हामीले समेत रमाइलो मनायौँ । मान्छेको मेंला उदेकै लाग्दोगरी ओइरिएको थियो शहरसँगै जोडिएको त्यो समुद्री किनारमा । जाडोले छोडिसकेपछिको  हल्का चिसो थियो मौसम । संगीतको धुनसँगै कोरियन रक्सी सोजुका बोतलहरूमा रमाउन निमग्न थियो सहर । सायम समुद्र पनि रमाएर यसैको गन्धमा आनन्द उठाइरहेको थियो । केही माथि समुद्रसँगै जोडिएका पहाडमा गाडीहरू लस्करै कुदिरहेका थिए । लहरमिलाएर घुइँकिने गाडीहरूलाई जुन हतारो थियो त्यस्तो हतार थिएन प्रशान्त महासागरलाई । ऊ शान्त थियो, निदाएको थियो र लमतन्न सुतेको थियो । नाङ्गै, उदाङ्गै र निर्वस्त्र भएर ।



आफू बसेकै होटलकोलबीमा विहान ८ बजे भेट्ने उर्दी अघिल्लैदिनको थियो । जापानी कवि, चिनकी प्रोफेसर र म एउटै होटलका पाहुना भएर बसे पनि उनीहरू कसैको पनि कोठा नं. मलाई थाहथिएन । थाह भए पनि हामीहरूले एक आपसमा भेट्नु झण्डै संवादविहीन क्षण हुनसक्थ्यो । चिनीया प्रोफेसरलाई म कोरियाली भाषामा नमस्कार अभिवादनमात्र गर्नसक्थे भने जापानी कविसँग दुईचार कुराको आदानप्रदान पछि मौन रहनुभन्दा अरू उपाय हुन्थेन । कुनैपनि भाषाको चुरो नबुझिकन गफिन मजापनि  आउँदैन । फेरि साहित्यको त कुरानै फरक छ । भाषामा राम्रो दखल नभै लन्ठसन्ठ कुरामा फस्नु पनि सुहाउने कुरा भएन ।

         समय र ठाउँको पक्का भैसकेकाले ७ नवेम्बर २००९ को  बिहान आठैबजे म होटलकोलवीमा पुगे । लबी सुनसान र चकमन्न थियो । Castel beach hotel को लवीमा म मात्र लिङ्ठिङ्ग उभिएको थिए । नाकै अघाडि समुद्र सुतिरहेको थियो । मानौ उसलाई बिहानको सूर्योदयसँग कुनै पर्वाह छैन । लवीमा कोही नदेखिएकाले म निस्कन चाहे लवीबाहिर । तर फेरि सोचे निस्कनु सायद ठिक नहोला । त्यसैले एक्लै बसे सोफामै, बुसानको बिहानी समुद्रलाई हेरेर ।

      मात्रै पाँच मिनटको अन्तरालमा सवै भटाभट् लबीमा देखापरे । म पहिल्यै लबीमा आइसेकको देखेर सबैले आआफ्नो घडी पो हेर्नथाले । मानौ मैले समयमा उनीहरूलाई उछिने र प्रायस्चित को भागिदार बनाएँ । तर कुरा त्यसो थिएन । मेरोलागि त्यो मात्र एउटा संयोग थियो । लाटोदेशमा गाडो तन्नेरी हुने अवस्थापनि थिएन त्यहा । म कसरी हुनसक्थे र गाडो तन्नेरी त्यती टाडाको सुदुर पूर्वी मुलुकमा ।

समुद्रबाट छुट्टिएर लगातार एकघण्टासम्म विभिन्न बाटा र रोमान्चकस्थलहरू पार गरिसेकपछि हामी सबैले एउटा ग्रामिण परिवेश बोकेको होटलमा ब्रेकफाष्ट खायाँै । सही समय थिएन यो ब्रेकफास्टका लागि । किनभने सातसाढेसातको हाराहारीमा कोरियालीहरूले ब्रेकफाष्ट निखारि सकेका हुन्छन् । हाम्रो ब्रेकफाष्ट भने कोरियन नभएर पाश्चात्य समयको थियो सायद । तर खानाका शैली भने कोरियन परम्पराकै थिए । कोरियामा पाहुनाहरूलाई गर्ने सम्मानमा खाना र दृश्यावलोकन प्रमुख मानिन्छ । खाना पनि भरसक साविक शहर वा ठाउँबाट जति टाढा लगेर खुवाइन्छ त्यति नै धेरै मान मनितो गरेको ठानिन्छ । यस्ता धेरै मान मनितोबाट म आफू धेरै पटक लाभान्वित भएको छु । पहिला पहिला त अचम्मै लाग्थ्यो । आफू बसेकै सहरमा पाइने खानाको परिकारकालागि यति लामो यात्रा किन तयगर्नु परेकोहोला भनेर । बिस्तारै म पनि यात्राको लतमा  अरू विदेशीझै थेत्तरो हुँदैगएपछि  सामान्यझै लाग्न थालेको थियो मलाई । एकठाउको होइन सबैठाउँका पाहुनालाई गरिने सत्कार उस्तै छ कोरियामा । मुख्य सहर भन्दा आसपासका साना सहरमा हुने जमघटमा अझ गाढाप्रेम झल्किन्छ आतिथ्यमा । कहिलेकाहीँ काठमाडौँले बाहिरकालाई खासै वास्तानगरेझैँ सिओलले पनि बाहिरकालाई हत्तपत्त नगन्ने चलन कोरियामापनि छ । त्यसो त साहित्यिक लविङ्, ग्रुपिजम् र खिसिट्युरीमा काठमाडौँ जस्तै छ कोरिया । दशौँपटकभन्दा बढी कोरियाली कविगोष्ठीमा भाग लिइसकेको भुक्तभोगीले यस्तो गुप्त कुरा किन लुकाउनु र ?

होटलभित्र भूँइमा बसेर परंपरागत कोरियान खाना खाइसकेपछि हामीले फेरि बाटो ततायाँै । कोरियाली प्रोफसर समालोचक गु, चिनीया प्रोफेसर Shan, जापानी कवि Kim yee park र म सहितको समूहलाई हाँंकेकी थिइन् कवयित्री रानले । उनको गाडी कुन गन्तव्यबाट कुन दिशातिर बढिरहेको छ म पूर्णतया अनभिज्ञ थिए । बस् , मैले मात्र यदाकदा रानसँग साहित्य सम्बन्धीका आफ्नै संवादहरू बालेको थिए यात्रामा । तर ठाउँ वा गन्तव्यका लागि कुनै प्रश्नहरू सोधेको थिइन मैले  । अरू सबैसँगभने मौनयात्रा जस्तै थियो यो । असहज भएकैले मैले कठिन मान्दै सोधे रानलाई

 हन तिम्रा खुट्टाले पाउदान थिचेकाथिच्दै छन् र चक्काहरूलाई गुडाएका गुडाएकै छन् । पुग्न चै हामी कहाँ पुग्दैछौँ । कतै साहित्यिक अपहरण त होइन  नि यो ? ”  शब्दले नै सेकँे मैले ।

मेरा भनाइलाई उनले जस्ताकोजस्तै अरुसबै साथीहरूलाई कोरियन भाषामा भनिन् । सबै एकैसाथ मज्जाले हासेँ । अनिमात्र प्रोफेसर गु खुले

 हामी जुनबाटो आएका थियौँ त्यो बाटो नफर्केर धुमाउरो र गोलाकारबनाउदै पुरानै ठाउँतिर फर्किदैछौ  । फरक कतिभने पुरानै होटलमा चै होइन, त्यसैको नजिक रहेको बुसान सास्कृतिक हल हाम्रो लक्ष हो ।

अनि मैले बुझिहाले कुरो । बिहानको यात्रा खानेकुरा सहितको गोलचक्कर यात्रा रहेछ । यद्यपि दृश्यावलोकन सहतिको यात्रा समयकटाउनी मात्र थिएन । विकाश मनग्गे पसिसकेको देहातलाई पाहुनासामु पस्किनुपनि थियो । पस्किन सम्म पस्के उनीहरूले । देहात सुध्रिनु पर्यो भन्ने कस्तो अपत्यारिलो पाराले सुध्रिएर फुल्छ यात्राका साक्षी सबै संरचनाहरूले भनिरहेका थिए । यस्ता यात्राको पहिलोपटकको यात्रु म हुन्थेभने फूलबुट्टा भरेर भन्नसम्म भन्थेहोला । तर जापान, कोरिया, मलेसिया, चिन र हङ्कङ्का दर्जनौ यात्राबाट गुज्रिसकेको थिएँ म । यस्ता सबै देखेर, भोगेर र महसुसगरेर म केवल कल्पिन्छु  मात्र । बाहिरी विकाशको भारी बोकेर मेरो ब्रम्ह बोदो भैसकेको छ । म मात्र चाहान्छु , त्यो सब मेरोदेशमा कहिले पुराहोला । कहिले म समुन्नत र सुखी मुलुकको नागरिकभएर भीषाको सुन्य प्रतिशत झण्झट बेहोरेर संसार घुमौला । कहिले मेरा देशका असंख्य नागरिकले गरिबीको छापबोकेको र हेपिएको राहदानीको कोटीबाट पार पाउलान् ! के हाम्रो पुस्ताले मैले सोचेजस्तो दिन देख्न पाउलान् त ? “ मनमनै भाउन्न भएर आफ्नै देशतिरको सम्झनामा फर्किन चाँहे । मनको लड्डु घिउसँग खादै के के पो सोच्न थालेछु म त ।

हन तिमी कताडुल्दै हो ? यत्रो बिशालसमुद्र तिम्रै आँखाअघाडि छचल्किरहँदा समेत अत्तोपत्तो नभएर कहाँ हराएका ? के तिमीलाई यो समुद्र मनपरेन ?”

हत्तेरिका ! म झसङ्ङ भए । सपना जस्तैगरी हराएछु  आपैmभित्र । आफ्नो देशभित्र ।

 रानले फेरि थपिन

यो समुद्र हिजोकै समुद्रको पूर्वी भंगालो हो । हिजो राति हामी मूख्य सहरमा थियौँ । आजको यो भाग बुसानको देहातीभाग हो तर समुद्र हेर्न हिजोकोभन्दा धेरै मान्छेहरू यहा आउँछन् । यहाँको सामुद्रिक झाँकी र पानीको पहाडसँग ठोक्किने काईदा नै विचित्रको छ ।

नभन्दै मैले निलाकार प्रसान्तमहासागरको मुहार हेरे । साच्चै नै हिजोकोभन्दा फरकमुद्रामा महासागर मुस्कुराउदै पहाडसँग जिस्किरहेको थियो ।

       लन्च प्याक् कतिखेर हाम्रो गाडीमा पसेको थियो त्यसको सुइकोसम्म मैले पाएको रहेनछु । गाडी रोकिने बित्तिकै रानले सबैलाई रेडिमेड एकएक थान पोको हातहातमा पस्किएपछि पो म झस्के । थाहैनदिइ सुटुक्क निस्किएको पावरफूल पोकाको करामतसँग । अनि रानको व्यवस्थापकीय कलासँग । हाम्रो गाडीलाई छेउकै पार्किङ्गस्थलमा रोकेर समुद्रहेर्दै हामीसबैले उभिएरै  लन्च प्याक् खायौँ र कार्यक्रम २ बजेबाट शूरुहुने भएकाले हामी पुनः हतारिदै लक्ष्यतिर गुडिहाल्यौँ । प्रोफेसर गु ले भने

 कार्यक्रम सकिएपछि हामीफेरि सोजै यतैतिर आउनेछौँ र रातिको खानापनि मित्रताको नाममा समुद्रलाई साक्षीराखेर खानेछौँ 

धित्मरुन्जेल समुद्र हेर्न नपाइकन फर्किनेभइयो भन्ने चिन्तालाई सञ्जिवनीको काम ग¥यो प्रोफेसर गु को बोलीले । पुनः समुद्र फर्किने कुराले एकपटक मन गद्गद् भयो ।   

संस्कृति भवनभित्र पसे पछि १ मिनटपनि ढिलो नगरी कार्यक्रम सुरु भयो ।

जापानी शासकहरूबाट सन् १९४२ मा जापानको जेलमा हत्यागरिएका कोरियाका प्रखर राष्ट्रवादी कवि Yeong Thong Aoo को सम्झनामा आयोजितकार्यक्रममा  जापानी र चिनीया पाहुनाहरूले २५÷२५ मिनेट आफ्ना भनाइहरू राखे । आफ्ना भाषणमा उनीहरूले जापानी ज्यादतिको कडाशब्दमा भत्सर्ना गर्दै पुरानो इतिहासको पुनर्ताजगी सम्झना गरेका होलान् । दुवैजनाले Yeong Thong Aoo को मार्ग अनुसरण गर्ने प्रतिवद्धता जनाएका हुदा हुन् । दुवैले बोलिसकेपछि छुटेका तालीको गड्गडाहटले मैले त्यही बुझे । जसमा रानले तालीबजाएको देखेर  मैलेपनि ठोकेको थिए । पाहुनाको कार्यपत्रपछि प्रोफेसर गु ले सामान्य टिप्पणीगरेर सभा सकिएको थियो । दिवङ्गत् कवि ब्ययका तस्वीरहरू बुसान सांस्कृतिक केन्द्रका हल वरिपरि टासिएका थिए ।

भोगवादी शैली र प्रविधिको जापानी मूल्यलाई नयाँपुस्ताले केही हदसम्म मनपराए पनि पुरानोपुस्ताले अझैसम्म पनि जापानीहरूलाई पूर्णरुपमा स्वीकारी सकेको अवस्था छैन कोरियामा । पुरानो निरंकुसताको रिसराग अझै छ कोरियनहरूमा । हुनपनि त्यतिवेला जापानीहरूको ज्यादतीको सिमा नै थिएन । चिन र कोरियालाई त गर्नसम्म गर्यो जापानले । मलाया, बर्मा र सिँगापुर सम्मलाई छोडेन जापानले । सन् १९४७ मा हिरोसिमा र नागासाकिलाई लिटल ब्वाइले खरानी नबनाएको हुन्थ्योभने एसियामा जापानको दादागिरी र रजाई पछिसम्म चल्ने निश्चित थियो । हिरोसिमा र नागासाकीको संघारपछि मात्र जापानीहरूले मानवतालाई महत्व दिए । तेसैले भनिन्छ हिरोसिमा र नागासाकीको संघारपछि सिस्टता, सिक्यो जापानले । संवेदना  र मानवीय मूल्यमा संसारलाई पछार्यो  जापानले । नत्र कोरिया माथि आततायी कोर्रा लाउने जापान ,चिनका चेलीहरूलाई यौनदासी बनाउने जापान र बर्मामाथि बर्बरता बर्साउने जापानका करतुतहरू एसियाभरि कम खेदका विषय थिएनन् ।

अहिलेपनि कोरियाको सोउल संग्राहलयमा जापानी शैनिकहरूले कोरियाली नागरिकलाई दिएका चरम यातनाका झाँकी सचित्ररुपमा देख्नसकिन्छ । हेर्दै आङै् सिरिङ्ग हुने निकृष्ट यातनाका ती दृश्यहरूले मानवअधिकारको वकालतगर्ने जोसुकैलाई एकपटक सोच्न बाध्य पार्छ ।

         बुसान सास्कृतिक  केन्द्रमा भएको स्मृतिसभा सकेर हामी साविककै समूह समुद्रको सफरमा सहीसलामत सरर्र सुल्किसकेका थियौँ । बिहानका जस्ता धेरै भङ्गालाहरू रहेछन् बुसानमा । कोरियामा  उधोग र बन्दरगाह पालेर तेसै बसेको होइनरहेछ बुसान सहर । पहाड पनि कति चिटिक्कका । मिलाएरै बनाए जस्ता । कोपेर ,खनेर र तासेर विकास फलाउन सजिला ।

भनिन्छ प्रसान्त महासागर संसारकै गहिरो  सागर हो । कति पानी होला यस सागरमा ? कसरी नुनिलो भएको होला पानी ? सागरमा नुन कताबाट आएको  होला ? बलशाली रावणका तीनवटा महत्वकांक्षी इच्छा मध्ये एउटा योजना यो पनि थियो रे । संसारभरिको सागरको नुनिलो पानीलाई गुलियो पानीमा बदल्ने । तर रामबाट हठात् मारिए पछि त्यो पुरा हुन पाएन । सायद रावण मारिनु पनि यस पृथ्वीकालागि एक अर्थमा नोक्सान सावित थियो । सागरको पानी यदि गुलियो भएको हुन्थ्योभने उखुखेती गरिरहनु पर्ने आवश्यकता थिएन । चिनीको आकासिदो मूल्य नुनकोभाउमा झर्नेथियो । यसो भएकोभए गुलिया मिठाइहरू सस्तिने थिए । तर होइन , मेरो मनले फेरि अर्कोतर्क उब्जायो । चिनी नभएपनि फरक पर्दैन तर नुन नभै हुँदैहुँदैन । समुद्रको पानी गुलियो भएकोभए नुनको भाउ चिनीको भन्दापनि महंगो हुनेथियो । किनभने चिनी बनाउन उखुकोखेती गर्नसकिन्थ्यो तर नुनकोखेती कसरी गर्ने ?  नुनको कच्चापदार्थ कुनै बोटविरुवामा हुनेकुरा कल्पना बाहिरको थियो । पहाडमा कहिँकतै भेटिने बिरेनुन र सिधेनुनले सारासंसार कसरी धान्ने ?

यस अर्थमा मैले आफ्नै पहाडसँग चित्त बुझाएँ । कमसेकम मेरो देशमा समुद्र नभए पनि जरुवा पानी  छ । बिरेनुन र सिधेनुनको खानी छ । किन चाहियो समुद्र मलाई  ? मेरो पहाडमा बग्ने कलकल खोला र झरनाको मुहानले कमसेकम म तिर्खा मेट्नसक्छु । जुन साागरबाट सम्भव हुँदैन ।

मेरोे  पहाडको चौतारोमा उभिएको ढाकरलाई तोक्माको टेकोलगाएर एकबान्की भारी बिसाउँदै म खुइय गर्नसक्छु जुन सागरमा असम्भव छ । मेरो हिमालयको बाटोभएर बहने अनन्त आयुबोकेको अग्र्यानिक हावाको झोकालाई कुन समुद्रले चुनौति दिनसक्छ ? के यार्सागुम्बा जस्तो  औषधि सागरसँग छ ? मेरा यस्ता हजारौँ प्रश्नहरू छन् समुद्रलाई । जसको उत्तर न समुद्रसँग छ न त मेरा सहयात्रीहरूसँग नै ।

समुद्री तटबाट मैले अघाउन्जेलसम्म महासागरमा उर्लिरहेका असंख्य प्रसान्ति छालहरू हेरेँ जसले वरपरको पहाडका फेदीलाई हिर्काईरहेका थिए । मानौ उनीहरूमा पनि पहाडहुने रहर छ । पहाडहुने इच्छा  कसलाई हुँदैन । झन् सगरमाथाहुने चाहना कसलाई हुँदैन र ? तर को हुनसक्छ सगरमाथा ? कुन समुद्रले छुनसक्छ सगरमाथालाई ? कुन सागरले भेट्टाउनसक्छ सगरमाथालाई ?? कुन महासागरले चुम्नसक्छ सगरमाथालाई  ???

    जतिसुकै आयतनमा अटाए पनि, जस्तोसुकै आकारमा उछल्किए पनि र जुनसुकै शक्तिशाली समायोजनमा समेटिए पनि सागरले सगरमाथालाई कहिल्यै भेट्नसक्दैन र सक्नेछैन । जति गम्किएपनि, जसरी लम्किएपनि र जति तन्किएपनि,समुद्रले सगरमाथालाई कहिल्यै  छुनसक्दैन र सक्नेछैन । यही सास्वत सत्य नै मेरो महानदेशको सनातन, शालिन र सर्वमान्य सार हो ।

                                   

 

 

Comments

Narendra kunwar

krishna ji sahrai ramro lageo tapaiko lekha ra nepal des ko gaurab. agadi pani aasa gardachu. 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |