हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अमेरिकी वृन्दावनको यात्रा र विजुलीको समस्या ,(बासु श्रेष्ठ)

धर्म कर्ममा विश्वास गर्ने अध्यात्मवादी मेरी आमा दोश्रो पटक अमेरिका आउनु भएको झण्डै एक वर्ष हुनलागीसकेको थियो । भन्दा भन्दै नेपाल फर्किने दिन नजिकिँदै थियो । त्यसकारण फर्किनु अघि धार्मिक तिर्थस्थल भ्रमण गराउने रहरले आमालाई यस पटकपनि वेष्ट भर्जिनीयाको माउण्ड्सभिल भन्ने स्थानमा रहेको वृन्दावन जाने पटक पटकको प्रयासपछि बल्ल जुन ३० का दिन लगभग ६ घण्टा ड्रईभ गरेर त्यता जाने र भोलिपल्ट फर्किने निर्णय गरियो ।

वासिँगटन डिसीबाट झण्डै २७० माईल टाढा रहेको यस वृन्दावनलाई न्यु वृन्दावन या गोल्डेन टेम्पलको नामलेपनि चिनिन्छ । उत्तरी अमेरिकामा बस्ने हिन्दुजनहरुकोलागी एउटा असल तिर्थस्थलको रुपमा यसलाई लिन सकिन्छ । किनभने अमेरिकाका विभिन्न राज्यमात्र नभएर क्यानाडाका हिन्दुजनहरुपनि समुहमा होस् या एक दुईजना होस् आईपुग्ने गरेका छन् । हामी पुगेको दिन एउटा सिँगै बसमा न्यु योर्कबाट बँगाली मूलका मानिसहरु तथा क्यानाडाबाट आएका थुप्रै गाडीहरु देखिएका थिए । त्यस्तै केहि भर्जिनीयाबाट तथा केहि न्यूयोर्कबाट आएका नेपालीहरुपनि भेटिएका थिए । वेष्ट भर्जिनीयाको व्हिलिँग भन्ने बजारबाट झण्डै १५ माईल पूर्वमा अवस्थित यो वृन्दावन सानो उपत्यकामा रहेको त्यहाँ पुगेपछि अनुभव गर्न सकिन्छ । विहान ५ बजेदेखि बेलुका ८.३० बजेसम्म राधाकृष्ण आरती, राजभोग आरती, व्यायाम, गौरा आरती, गौ पुजा लगायत अन्य विभिन्न धार्मिक गतिविधिहरु भई रहनु यसको आकर्षण हो । वास बस्ने उदेश्यले टाढा टाढाबाट आउनेहरुकोलागी लजको व्यवस्था गरिएको छ । एउटा कोठामा चारवटा बँक बेड राखी आठजनासम्मकोलागी सुत्ने व्यवस्था छ भने भिन्दै कटेजकोपनि व्यवस्था गरिएको छ । बँक बेड भएको कोठा भाडामा लिन चाहनेले सार्वजनिक बाथरुम प्रयोग गर्नुपर्छ भने कटेज भाडामा लिनेले आफैँ पकाई तुल्याई गर्न मिल्ने गरी भाँडाकुँडाहरुको समेत व्यवस्था गरिएको छ । तर यो कटेजभने मन्दिरको परिसरभन्दा अलिक टाढा पर्छ । पहाडको खोँचमा अवस्थित भएकोले त्यहाँ पुगेपछि फोन या इण्टरनेटको सुविधा भने हरण हुनसक्छ । अर्थात उपलब्ध नहुन सक्छ । ब्रेकफास्ट तथा डिनर उपलब्ध गराउने गोविन्दाज रेष्टुराँपनि यहिँ छ जसलाई मन्दिर प्रशासनले सँचालन गरेको छ । शुद्ध शाकाहारी भोजनमात्र उपलब्ध हुने हुनाले एकछाक मासु छोड्न नसक्ने व्यक्ति त्यहाँ नगए हुन्छ । तर धार्मिक र पर्यटकीय ध्येयले त्यहाँ जानेले मासु एकछाक सजिलै छोड्न सक्छन् ।

यस पटकको यो यात्रा मेरो पाँचौ हो र पनि असाध्य श्रद्धा तथा जागरुक भएर गइयो । साथमा छोराको दोश्रो पटक अनि श्रीमतिको चौथो पटक थियो भने आमाकोपनि यो दोश्रो पटक नै थियो । जुन २९ का दिन दिनभरको प्रचण्ड गर्मीपछि राती ११ बजेतिर आएको आँधि बेहरीले घरमामात्र होईन ठुलै क्षेत्र ओगटेर बत्ति गएको थियो । रातभर त बत्ति आएन आएन, शनिवार विहान यात्राकोलागी निस्कने समयसम्मपनि विजुलीको अत्तोपत्तो थिएन । कहिले फर्किने हो कसैलाई थाहा थिएन । माछाको ट्याँकीपनि वत्तिविना उजाड देखिएको थियो । फर्किएर आउन्जेल माछा रहने नरहनेको चिन्ता, रेफ्रिजेरटरमा रहेको खानाहरु विग्रने नविग्रने चिन्ता लिँदै यात्राकोलागी प्रस्थान गर्यौं । अपरान्ह चारबजे चेकईन समय भएकोले सोहि अनुसार पुग्ने ध्येयले सवा दशबजे यात्रा थाल्यौँ । तीन घण्टाको गाडी यात्रापछि केहि खाने तथा शौचादि कार्यकोलागी रोकिँदा त्यहाँपनि विजुली नभएको थाहा पाईयो । र त्यहिँ केपनि थाहा भयो भने हाम्रो गन्तव्य स्थान वृन्दावनमापनि विजुली रहेनछ । वृन्दावनको लज प्रशासनले मेरो मोवाईलमा फोन गरेर त्यहाँ बत्ति नभएको र 'बत्तिकोलागी टर्चलाईट आदिको व्यवस्था गर्दै आउनु' भन्दै म्यासेज छोडेको रहेछ । जे होस् सम्पूर्ण यात्राको आधा बाटो तय भईसकेपछि थाहा भएको सो समाचारलाई उपेक्षा गर्दै हामीले निर्धारित गन्तव्यतर्फ यात्रा जारी राख्यौँ । भर्जिनीयाबाट मेरिल्याण्ड अनि पेन्सिलभेनिया हुँदै वेष्ट भर्जिनीयाको भित्री र पहाडी बाटोमा गाडी हुँईक्याउँदै बेलुका ठिक चारबजे मन्दिर परिसरमा रहेको लजको चेकईन काउण्टर अगाडि उभिन पुगेका थियौँ ।

बाटोमा पाएको समाचार सत्य रहेछ, बत्ति त त्यहाँपनि रहेनछ । अर्थात बत्ति अझै आएको रहेनछ । बत्तिको अनुपस्थितिमा नै चेकईन गरेरर कोठामा सामान राखेर त्यहाँको धार्मिक क्रियाकलापमा सक्रिय हुन थालियो । धन्न समरको समयमा राती नौ बजेसम्म घामकै उज्यालो हुने भएकोले यतिबेलासम्म बत्तिको अभाव अनुभव गरिएको थिएन ।

गोविन्दाज रेष्टुराँमा दश डलर प्रतिव्यक्तिका दरले बफे खाईसकेपछि आरती कार्यक्रममा सहभागी भईयो । 'हरे राम, हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे...' भन्दै ताली पिट्दै अलि पर रहेको तालसम्म पुगियो । जहाँ राधा कृष्णको मुर्तिलाई राजहाँसको आकृति रहेको डुँगामा राखेर तालको वरपर सयर गराईदो रहेछ । बाँकि हामीचाहिँ तालको छेउमा बसेर हरे राम, हरे राम...भन्दै ताली बजाउँदै भजनमा लिप्त भयौँ । सो कार्यत्रम सकिएपछि मयुर भेट्न गइयो । जहाँ मयुरले प्वाँख फैलाएर हामीलाई स्वागत गरेको भान दिएको थियो ।

अब भने अँध्यारोले आफ्नो साम्राज्य फैलाउन आरम्भ गरिसकेको थियो । शौचादिकोलागी बाथरुम जान चेकइन काउण्टरबाट पाएको सानो टर्चलाईट लिएर जानुपर्ने भयो । भित्र कोठामा गर्मीको साम्राज्य भएकोले राती ११ बजेसम्म भनौँ सकेसम्म बाहिरै चहुरमा गफ गरेर बस्यौँ । तर सुत्नुबाहेक अन्य विकल्प नरहेकोले कोठामा गएर सुत्ने उद्यम गर्दा के सुत्न सकिन्थ्यो र ? हामी चारैजना आआफ्नो ओछ्यानमा सुतेको बहानामा ओल्टेकोल्टे पर्ने बाहेक केहि गर्न सकिएन । एकार्काले अर्कोलाई विध्न होला भन्दै गर्मीको तापलाई पचाउन खोज्दै ओछ्यानमा छटपट गर्दा गर्दै झण्डै रातको एक बजिसकेको रहेछ । सुत्ने उपक्रममा गर्मीको ताप अनुहारमा परेको अनुभव गर्न सकिन्थ्यो । बल्ल बल्ल आँखा लागेपनि सुस्तरी मुहारमा तापको प्रभाव बढ्दै गएको अनुभवले बिऊँझाई दिने गर्थ्यो । निदाउने कुनै उपाय नदेखेर मैले बाहिर पार्किँग लटमा रहेको गाडीमा सुत्न जाने निधो गरेँ र लागेँ एउटा तकिया बोकेर । केहि पछि त्यहि गाडीमा सुत्न भनेर छोरापनि आईपुग्यो । उसकोपनि भित्रै सुत्ने उपक्रमपनि खेर गएछ । बिहान पाँचबजेमात्र कोठामा फर्किइयो । तर निद्रा गुमाउने कामभने प्रशस्तै भईसकेको थियो । ओछ्यान लिएर बाहिर सुत्ने अरुपनि देखिए । यहि कुरा चेक आउट गर्ने बेलामा काउण्टरमा बसेकी अमेरिकी महिला महालक्ष्मीलेपनि भनिन् । वृन्दावनमा वस्ने र कम गर्नेहरुमध्ये केहि अमेरिकीहरू पनि छन् र ति सबका नाम हिन्दु नै छन् | जस्तै राम, सिता, गीता, तुलसी, श्याम, नारायण आदि | बत्ति नभएको र गर्मीको कारणले महालक्ष्मीपनि बाहिर नै सुतिन् रे । महालक्ष्मीले हामीलाई परेको असुविधालाई ध्यानमा राखेर कोठाको भाडामा १५ प्रतिशत छुट दिईन् ।

जे होस् विहानको सम्पूर्ण धार्मिक गतिविधिमा सरिक हुँदै चियापान आदि सकेर बेलुका चारबजे आफ्नै घरमा पुग्ने विचारले १०.३० मा सो परिसर हामीले छोड्यौँ । अब बाटोमा आउने क्रममा जति जति घरको दुरी घट्दै गयो, घरमा रहेको विजुली र माछाको चिन्ता उति उति बढ्दै जान थाल्यो । 'घरमा अझैपनि बत्ति रहेनछ' भने के गर्ने होला, कसरी बस्ने होला, माछा के भयो होला, मर्यो या जिउँदै होला भन्ने चिन्ताले झन बढि सताउन थाल्यो । तर जब ठिक चार बजे घरमा प्रवेश गरियो तब सारा चिन्ता छुमन्तर भएर विलाए । किनभने घरमा कुन्नी कतिखेर बत्ति आएछ, माछाको ट्याँकी र माछा, अनि घरको वातावरण तापक्रम उस्तै र उत्तिकै । अनि बल्ल लामो शास लिएर आराम गरियो ।
यसरी यस क्षेत्रमा कहिल्यै नआएको अनौठो आँधिबाट गरेको नोक्सान र पारेका बत्तिविहिन रातहरुको अनुभव पहिलो पटक अनुभव गरियो । आफ्नो घरमामात्र होईन बाहिर पैसा तिरेर बसेको ठाउँमा समेत बत्तिविहिन रात विताइएको खटमैलो अनुभव सँचित गरियो ।

तपाईहरुपनि आफ्नो विदामा धार्मिक यात्रा गर्न उक्त वृन्दावन जाने रहर गर्नुभयो भने सो को जानकारीकोलागी यहाँ क्लिक गर्नुहोला ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |