हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

कार्निभलको त्यो मेला,(शर्मिला खड्का (दाहाल))


           
साहित्यमा मेरो जन्म पुनर्जन्म भएको हो म भन्छु । त्यसो हो भने अहिलेको मेरो साहित्यिक सक्रियतालाई वाल्यावस्था हो भनेर भन्दा दुई मत नहोला । यही भनाइलाई साक्षी मान्दै म अहिले बालक नै रहेछु र थिएछु पनि ।

            यो कुरा अझ बढी बिम्बात्मक बनेर मेरो बेलायत यात्राभरि मसँगै यात्रा गरिरह्यो । साँच्चै नै बेलायतको यात्राभर बालकझथिएँ म । किनभने मैले अरूबाट अभिभावत्वको व्यवहार पाएकी थिएँ ।  वास्तवमा बालक हुनुको  मजासँग  मैले बेलायतको यात्रामा अनुभूतिको सिँगौरी खेलेर खूव मज्जा लिएकी छु । कहाँ जाने ? के खाने ? कसरी जाने ? अब के गर्ने केही चिन्ता थिएन । नेपालमा हरदम उठेदेखि दायित्वको भारी बोकेर हिँड्नुपर्ने मानसिकता ! जहिले पनि अभिभावत्वको खरो आरनमा पोलिएको फलामजस्तो मस्तिष्कलाई व्यवहारको हथौडीले हान्दाहान्दा प्रत्येक पल आफ्नो रूप बदलिएको पनि आफैले थाहा नपाई बूढो गोरु जोतिएझैँ जोतिएकोजोतियै । कहाँ पाउनु उन्मुक्ति ? कहाँ पाउनु निस्फिक्री हाँसो ? शान्ति र स्वतन्त्रता त कुन चरोको नाम भनेझ जप्नुपर्ने परिस्थितिबाट कहाँ यो स्वर्गमा आइपुग्दाको झैँ आनन्द ! आफैलाई विश्वास नलाग्ने ! यही अविश्वासको घडी, पला जोड्दै मेरा बेलायतको यात्राले संस्मरणको घडा भर्दै थियो । यस्तो अवस्थामा त्यो बाल्यपन जुन लाखौँ रुपैयाँ पनि किन्न नपाइने आनन्द ! यो आनन्दलाई दुवै हातमा लड्डु भनेझैँ गरेर म स्वाद लिन हरदम तल्लिन रहन्थेँ । म मात्र नभएर सबै अतिथिहरूलाई बेलायतका साथीहरूले आतिथ्यताको उत्कृष्ट नमूना देखाइरहनु भएकोथ्यो । हामी त अबोध र अनभिज्ञ बालकझैँ थियौँ । त्यहाँको परिवेशले पनि हाम्रा परिस्थितिलाई भरणपोषण गरेझैँ लाग्दथ्यो । त्यसमा पनि अझ म विशिष्ट श्रेणीमा पर्दथे । कति आनन्द हुँदोरहेछ त्यो अबोधतामा, त्यो निश्क्रियतामा, साँच्चै बालक हुनपाए हुने नि !

            अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा भएको  दोस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तेस्रो दिनको कार्यक्रम सफतापूर्वक सम्पन्न भएपछि हामी होटलतिर लागेका थियौँ । भोलिपल्ट होटलबाट विदावारी लिएर ब्रेकफास्ट सकेर थेम्स एकेडेमीतिर लाग्यौँ । होटलमा बेलुकाको तीतो संस्मरणले मन नै तीतो बनाएको थियो । भएको के थियो भने मैले कोठाको चाबी विकलजी, हरिहरमामा र यज्ञजी सुत्नु भएको कोठामा बिहान गफको सुरमा छोडेको रहेछु । कार्यक्रम सकेर बेलुका कोठामा आउँदा मसँग चाबी नै थिएन । कोठामा छोडेको चाबी कर्मचारीले कोठा मिलाउँदा लिएर गएछन् । बेलुका गीताजी र मलाई सुत्न समस्या प¥यो । अब कहाँ सुत्ने ? होटलको कर्मचारी पनि अफिसमा थिएनन् । त्यहाँ सबैकुराको व्यवस्थापन गर्ने विकलजी हुनुहुन्थ्यो । उहाँ पनि दिनभरको कार्यक्रमको दौडधुपले थाकेर हैरान देखिनुहुन्थ्यो । त्यससमय अर्को कोठाको साथीहरूलाई कोठा सेयर गर्न अनुरोध ग¥यौ  । तर उहाँहरू यो समस्यामा सहभागी भई समाधान गर्ने भन्दा बरु समस्या अझ बढाइदिनेमा अग्रसर देखिनुभयो । परदेशमा यसरी साथीहरूलाई परेको समस्यामा समाधान गर्नुको बदला अलिकति पनि संवेदनाको सुस्केरा पनि नलिने साथीहरूको असली परिचय यसरी चिनिदो रहेछ भनेर परदेशमा नयाँ पाठ पढ्ने मात्र नभई कन्ठस्थ पार्ने संयोग जुराइदिएकोमा ती साथीहरू धन्यवाद नदिन रहन सकिनँ ।

            यो अवस्थामा म र गीताजीले विकलजी र हरिहरमामाको कोठामा नै जेजस्तो गरि भएपनि एडजस्ट हुने निर्णय ग¥यौ । सबै कपडा र अन्य सामान कोठामा थिए । अब साडी लगाएर कसरी सुत्ने होला मलाई ठूलो समस्या प¥यो । विकलजीले भुईँमा ओछ्यान लगाएर सुत्नुभयो । गीताजी र म चाहि माथि डबल बेडको ओछ्यानमा सुत्ने सल्लाह भयो । साडी लगाएर सुत्न निकै समस्या परेको अवस्थामा विकलजीले मेरो ट्राउजर लाउनुहोस् भनेर दिनु भयो । पुरुषहरू भएको कोठामा ट्राउजर र व्याउजमात्र लगाएर सुत्नु अर्को हास्यस्पद र लज्जाजनक हुन्थ्यो । यस्तै कठिन अवस्थामा कुनै निर्णय लिन नसकेको अवस्थामा अचानक होटलको कर्मचारी आएर हाम्रो कोठाको चाबी दिएर जाँदा ठूलो कष्टपार गरेझै लाग्यो मलाई त्यसबेला । त्यो अव्यक्त पीडा यसरी सजिलै समाधान भएकोमा ईश्वरलाई मैले लाखलाख धन्यवाद दिएकी थिएँ ।  यसरी अघिल्लो दिनको सबै तिता संस्मरणका सँगालो बोकेर हामी थेम्स एकेडेमीतिर लागेका थियौँ । विकलजी हरिहरमामालाई फ्रान्स पठाउन युरोस्टारको रेलस्टेशनतिर लाग्नुभयो । म गीताजी र अन्य साथीहरू थेम्स एकेडेमीतिर लाग्यौँ । केहीबेर बसेपछि गोविन्ददाजु, सुष्मादिदी र जयाजी आउनुभयो । अरू नेपालबाट जानुभएको पाहुनाहरू पनि आइपुग्नुभयो । अघिल्लो दिनको घोषणापत्रमा केही थपघट गर्नुपर्ने भएको हुनाले सबैजना त्यसैमा लाग्नुभयो । मलाई चाहिँ गोपीजीले केही खानुभएको छैन भनेर केही खुवाउन म्याक डोनाल्डमा लिएर जानुभयो । म्याक डोनाल्डमा हामीले चिकन वर्गर खायौँ । फर्केर आउँदा थेम्स एकेडेमीको गेटमा नै केदार सङ्केत भाइसँग सपरिवार सशरीर भेट भयो । उहाँका दुई राम्रा छोरी र मृदभाषी पत्नीसँग परिचयको नयाँ डोरीले आत्मीयताको अर्को गाँठो बेलायतमा गाँसिएको भान भयो मलाई । केदार भाइले जसरी भएपनि उहाँ बस्ने ठाउँमा पुग्नुपर्ने उर्दी नै जारी गर्नुभयो । समयलाई साक्षी राख्दै मैले विवसताको विस्कुन उहाँको सामुन्ने फिजाइदिएँ । तर पनि उहाँ जुनसुकै विवसतालाई निफनेर आतिथ्यता स्विकार गर्नुपर्ने अभिव्यक्तिमा दृढ देखिनुहुन्थ्यो । यो समीपताको सम्भावनालाई समयको धारलाई जिम्मा लगाएर हामी बिछडियौँ ।

            थेम्स एकेडेमीभित्र गोविन्ददाजु र अन्य साथीहरू घोषणापत्र मिलाउँदै हुनुहुन्थ्यो । घोषणापत्र तयार भएपछि मात्र दोस्रो अन्र्तराष्ट्रिय नेपाली साहित्य सम्मेलनले वैधानिकताको पाएको ठहरिन्थ्यो । घोषणापत्र तयार भएपछि हामी कार्निभल मेला जाने कुरा भइरहेको थियो । यही समय मेरो मनमा यो ऐतिहासिक कार्यक्रमलाई शब्दमा अभिलेख गर्ने विचार प्रकट भयो । यो मेरो अभिलेखलाई अहिले तयार गरेको घोषणापत्रले अझ सबुत प्रमाण साक्षी बक्नेछ भन्ने कुरामा म विश्वस्त भए र सबिस्तार यस घोषणापत्रलाई यहा राख्न रुचाएँ 

१) डायस्पोरा शब्दलाई नेपाली भाषामा आगन्तुकशब्दको रूपमा लिई शब्दकोशमा यसको प्रविष्टि गराउने ।

२) नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन विविध प्रकारका प्रयत्न गर्ने । यसका उद्देश्य प्राप्तिका लागि निम्न बमोजिमका कार्यहरू गर्ने ः

            २) क. हरेक नेपाली डायस्पोराले त्यस देशमा श्रष्टाहरूसंग सम्पर्क बढाई साहित्यिक आदनप्रदान गर्ने ।

२)ख.सम्बन्धित देशका विद्यालय, विश्वविद्यालय, पुस्तकालय तथा साहित्यिक संस्थाहरू, संचारमाध्यमहरू सँग सम्बन्ध स्थापित गर्न प्रयत्नगर्ने ।

२) ग नेपाली भाषा पठनपाठनको निमित्त स्थानिय निकायहरूसँग सम्बन्ध बढाउने ।

२)घ हरेक डायस्पोरामा नेपाली भाषा र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण र त्यसको निरन्तरताको लागि उपयोगी पाठ्यसामाग्रीहरू (दृश्य, श्रव्य, र छापा ) को निर्माण गर्ने ।

२) नेपाली साहित्य सिर्जनाका अभिवृद्धिका लागि हरेक नेपाली डायस्पोराले अनुवादका माध्यमलाई प्रोत्साहन गर्ने ।

२) च सम्बन्धित देशका नेपाल विषयमा अनुसन्धान गर्ने विद्वत तथा विदुषीहरूको पहिचान गरी वहाँहरूको कार्यलाई अभिलेख गर्ने, प्रोत्साहित गर्ने र सम्मान गर्ने ।

३) आगामी सम्मेलनहरूको निभित्त कार्यपत्रका विधाहरूको विस्तार गर्दै यथा समयमा प्रस्तुत हुने विषय तथा शीर्षकहरूको सुनिश्चित गर्ने ।

४) विश्वकै जननी भाषा तथा पूर्वीय सभ्यताको सम्बाहक संस्कृत भाषामा अभिलिखित सम्पदालाई विश्वसामु परिचित गराउने ।

५)विविध भाषा र संस्कृतिबीच अन्तरसम्बन्ध स्थापना गरी सन्वय र सहअस्तित्वको स्थापनाको लागि प्रयत्न गर्ने ।

६)अनेसास केन्द्रले विविध डायस्पोरामा आयोजित कार्यक्रमप्रति आफ्नो भूमिका र उत्तरदायित्वलाई स्पष्ट परिभाषित गरी अन्तर सम्बन्धलाई सुदृढ गर्न गम्भीरताका साथ लिने ।

७) अन्तर राष्ट्रिय जगतमा फैलिएको अनेक नेपाली डायस्पोरा केन्द्र र ती केन्द्रसँग सम्बन्ध स्रष्टा, सृजना र संस्थाहरूको विषयमा संक्षिप्त जानकारीमूलक डाइरेक्टरी निमार्ण तर्फ विशेष पहल गर्ने ।

घोषणापत्र तयार गरेर बाहिर निस्किदा झन्डै दिनको एक बजिसकेको थियो । आयोजकले कता, कसरी, कहाँ लाँदैछन् हामीलाई केही थाहा हुँदैनथ्यो । यो थाहा दिएर साध्य हुने कुरा पनि थिएन । समयअनुसार कार्यक्रम बनाउनुपर्ने बाध्यता आयोजकलाई थियो । अहिले कताकता  नेपाली मेलामा जाने गाइगुइ हल्ला सुनेकी थिएँ । फेरि जान नभ्याइने कार्निभल मेला पो जाने होकि भन्ने हल्ला चल्यो । त्यसो भए सामान सबै नबोकौ भन्ने सल्लाहको गुइँठा बाल्न थाल्यौँ । अहिले पुरै माहौल यही हल्लाले तातियो । यसरी आयोजकले  कार्निभल मेला लाँदैछन् भन्ने चाहिँ प्रष्ट भयो । अब यो कति टाढा छ ? कसरी जाने भन्ने विषयमा चाहिँ अनभिज्ञता । अहिलेसम्म लन्डन आइकन हामी बाहिर घुम्न टे«न वा बसमा चढ्न पाएका नै थिएनौ । यसपटक हामी सबै अन्डरग्राउन्ड ट्रेनबाट जाँदैछौ भनेर साथी जयाजीले बताउनुभयो । यो अन्डरग्राउन्ड टे«न भन्ने एकादेशमा चाहिँ सुनेको तर अरू कुरा चाहिँ  थाहा थिएन मलाई । इलिङ्ग बोर्डवेको रेलस्टेशन लगेर हामी सबैको टिकट काट्नुभयो रुपकजीले । यो सेवा शायद रुपकजीको सौजन्यतामा थियो क्यार । हामी गोपीजी, गीताजी, डम्बरजी, अस्मीताजी, यज्ञजी, गोविन्द दाजु,  जयाजी माया क्यालेन्डर भाइ स्टेशनमा पस्यौँ । अचम्म एउटा सानो रिचार्ड कार्डजस्तो  कार्ड छिराउँदा ढोका आफै खुल्दो रहेछ अनि मात्र टे«नमा चढ्न  पाइदो रहेछ । हामी रेलभित्र पस्यौँ । रेल भनेको कस्तो हुन्छ भनेर भन्ने विषयमा धेरै नेपालीलाई थाहा नहुन सक्छ ।  तर म चाहिँ दक्षिण भारत जाँदा रेलमा भ्रमण गरेर अनुभव बटुली सकेकी छु । त्यो पनि अब जिन्दगीमा कहिल्यै रेल चढ्न नपरोस् भन्न पुगेकी  छु । मैले इन्डियाको रेल स्टेशन यति फोहर र अव्यवस्थित देखेकी थिएँ कि रेल चढ्नु भनेको कुनै सजाय पाउनु हो भनेर मेरो अन्र्तमनले नयाँ मन्त्र आविष्कार गरिसकेको थियो । तर यहाँको रेल देख्दा त चढिरहुँ जस्तो र गुडिरहुँ जस्ता । सफा र आधुनिक रेल हेर्दै आकर्षक थिए । प्यासेन्जर चढ्ने बेलामा आफै ढोका खुल्दथ्यो र चढेपछि आफै बन्द हुन्थ्यो । लाग्थ्यो यो कुनै जादु हो ।

            फेरि सबै कुराको सूचना रेलस्टेशनका भित्ताहरूमा दिइएको हुन्थ्यो ।  रेलभित्रको भित्तामा पनि ठाउँको नक्सा हुन्थ्यो भने कुन ठाउँ हो भन्नेकुरा आवाजमा दिइरहेको हुन्थ्यो ।  यसो गर्दा मानिसलाई कुनै असुविधा हुँदो रहेनछ । सबै कुरा व्यवस्थित भएपछि दुःख भन्ने कुरा धामीले भूत भगाएझैँ भाग्दोरहेछ । पहिलो अनुभव बेलायतको अन्डरग्राउन्ड रेल जसलाई ट्युब पनि भनिदो रहेछ, यसमा चढ्दा निकै रमाइलो भयो । रेलमा मानिसहरू प्रायः पत्रिका पढिरहेका, मोबाइल खेलाइरहेका कि त आइप्याड खोलेर काम गरिरहेका हुँदा रहेछन्, कोहीकोही मात्र विनाकाम टोलाएका जस्ता देखिन्थे ।

            हामी केही समयपछि कार्निभल मेला जाने ठाउँ नाइटिङ्गल हिल स्टेशन आइपुग्यौँ । स्टेशनमा ओर्लेर इलेक्टिक सिढी चढेर माथि निस्किएपछि हामी बजारको मध्य भागमा आइपुग्यौँ ।  भीड यति ठूलो थियो कि एक अर्काकाको हात नसमाए हराउने अवस्था थियो । बिहान दसबजे गोपीजीले खुवाउनु भएको चिकन वर्गरले आफ्नो ड्युटी पुरा गरेको घोषणा गरिसकेको थियो । मानिसको भीडमा ठेलमठेल गर्दै हामी मेला भए ठाउँमा लाग्यौँ । वास्तवमा मलाई यो मेलामा जान इच्छा नै थिएन । नजान पाएपनि हुनेजस्तो लागिरेहको थियो । नेपालतिरको पनि कुनै मेलामा नजाने मान्छे मलाई होहल्ला भनेपछि किन हो किन रिस उठेजस्तो हुन्छ । सामुहिक रूपमा गरिने यस्ता कार्यमा आफ्नो इच्छाहरूलाई तिलाञ्जली दिनुपर्ने बाध्यता हुन आउँदो रहेछ । यस्तै परिवेशको दासको रूपमा म नियुक्ति भएँ । साथीहरूसँग रमाइलो गर्नुपर्ने ड्युटीले आफ्नो सम्पूर्ण अनिच्छालाई बन्दी बनाएर कृत्रिम हाँसोलाई लोकार्पण गरिरहेँ । बेलायत यात्रामा कार्निभल मेला मलाई अनिच्छा र अरुचीको कष्टकर र अपाच्य खुराक भएर रही रह्यो । जतिसुकै गरेपनि यो यात्रामा म रमाउन सकिनँ । हुन त कालाकाला हब्सीहरू विभिन्न रूपरङ्ग र आकृति भएका मानिसहरू थिए । विशेषतः उनीहरूको कपाल देखेर मलाई हेरिरहुँजस्तो लाग्थ्यो । स्टेशनबाट कार्निभल मेला लागेको ठाउँमा हिँडेर जाँदा झन्डै एक डेढ घन्टा लाग्दो रहेछ । मेरो ट्रली भएको व्याग गोपीजीले डो¥याइदिनुभएको थियो ।  बिशेषतः ठुला सडक र छेउमा अति सुन्दर ऐतिहासिक घरहरू हुँदै हामी मेला भए ठाउँतिर लाग्यौँ । निकै तल होचो ठाउँमा मानिसहरू कमिला गुजुल्टिएका हुन् कि झैँ गरेर चहलपहल गरिरहेका थिएँ । गीतको आवाज यति ठूलो थियो कि कानमा नै बजेको होकि झँै लाग्दथ्यो ।  मेरो त मुटु नै हल्लेको जस्तो भएको थियो ।  साथीहरू निकै उत्साहित हुँदै मेलातिर लाग्नुभयो । मलाई त जति मेलातिर लागुँ भन्छु उति रिंगटा लागेजस्तो भयो । एकातिर भोकले गाँजेर थाङ्थिलो पारेको थियो भने अर्कोतिर त्यस्तो चर्को आवाजले मेरो मुटु नै बाहिर निस्केलाजस्तो भएको थियो । मलाई मुटुको विमार लागेपछि आवाज सुन्न नहुने भएको थियो यदि आवाज सुन्नुप¥यो भने म झर्कने र रिसाउने गर्दछु । डाक्टरहरूले कुनै रोग प्रमाणित नगरिदिनाले मलाई अझ रोगको वेथामा अर्को बेथा थपिएको छ । डाक्टरले प्रमाणित गरेको रोगलाई मात्र हाम्रो समाजमा रोग मान्ने प्रचलन छ । जसरी नेपाली राजनीतिलाई भारतले प्रमाणित गरिदिने गर्छ हो त्यस्तै नेपालमा धेरै कुरा अरूले प्रमाणित नगरिदिए सम्म प्रमाणित हुँदैन । अहिले म यसैको शिकार भएकी छु । आफूलाई अप्ठेरो परेको अवस्थामा आफै जोगिने गर्दछु । तर अहिले त जोगिने सबै उपायहरू असिना बिलाएझै बिलाइसके । परिवेशसँग सम्झौता गर्नुको विकल्प थिएन । अलिक पर हब्सी केटीहरू अश्लील पारामा नाच्दै थिए । मानिसहरू हुलका हुल ताँती लागेर ओरालो झर्दैछन् ।

            हामी बसेको अलिक परबाट ट्रकमा गीत बजाउँदै घर नै हल्लाउने हुनकी झै गर्दै ओरालो लाग्दैछन् । जयाजी र गोविन्ददाजु, खै फोटो खिच्न भन्दै कता लाग्नुभयो कता ? अरू साथीहरू पनि धेरै छरिनुभयो । म गीताजी र गोपीजीसँगै थियौ । मैले गोपीजीलाई हामीलाई छोडेर नजानु है भने । डम्बरजीले उहाँलाई फोटो खिच्न भीडमा जाऔँ भन्दै हुनुहुन्थ्यो । उहाँहरू एकछिन पछि जानुभयो । गीताजी पनि मलाई सामान जिम्मा लगाएर अनुमति लिएर जानुभयो । मलाई त त्यो भीडले किचेर मर्छु कि त्यो आवाजले बेहोश हुन्छु कि जस्तो भयो । आवाज यति चर्को थियो कि मेरो त मुटु नै बाहिर निस्केलाजस्तो भएको थियो । म सडकको छेउमा पर्खाल माथि चढेर बसेको छु । ओहो साथीहरू मेरो मनोबिज्ञान बुझनुहुन्न ! म त के गरौँ के गरौँ यही मर्छु कि जस्तो भयो । त्यो नचिनेको ठाउँमा आफू त त्यसै रिंगटा लागेर ढल्छुजस्तो भयो । भोक र प्यासले छिनछिनमा गलाएको गलायै थियो । छेउछाउमा हब्सीबाहेक अरू केही देख्दिनँ । ती हब्सी त म यमराजले पठाएको दूतजस्तो पो देख्छु ए गाठे ! के हुन आट्यो हँ – ‘हे पशुपतिनाथ म मरे पनि मेरै देशमा मरु है । ईश्वरसँग प्रार्थना गरेँ । एक छिन पछि एउटी हब्सी

केटीको पुतला लट्ठीमा राखेर नचाउँदै ल्याए । छेउछाउमा ठूलठूला सेता मुर्कुटाका पुतला पनि नचाउँदै ल्याए । मेरो मुटु त फुटलाजस्तो भयो । हे भगवान् अब मुकुर्टाहरू नाच्न थालेँ मलाई खेद्ने भए म कता भागूँ ? मुख छोपेर घोप्टो परेर पर्खालमाथि बसिरहे । एकछिनपछि गीताजी र गोपीजी आउनुभयो । साथीहरूको रमाइलोलाई आफूले के बिथाल्नु ? केही बोलिनँ । मैले मात्र घर जाऔँ भनिरहेँ । अब अरू साथीहरूलाई पर्खन पर्दथ्यो । एकछिन पछि जयाजी रुपकजी र गोविन्ददाजु भेला हुनुभयो । मैले जतिसक्दो चाँडो घर जाऔँ भनेर रटन लगाईरहे बालकले जस्तो । पछि जयाजीले कुरा बुझ्नुभएछ । मैले पहिला मलाई केही खुवाउनुहोस् भने । जयाजीले मलाई आत्मीयभावमा भन्नुभयो मेरो साथीलाई भोक लागेछ । त्यसपछि खानेकुरा कता पाइन्छ भन्दै आँखा दौडाउनुभयो । मानिसहरूले पोलेको मकै दारेर खाएको देख्दा मलाई खोसेर खाऊँ जस्तो लागिरहेको थियो । मैैले मकैको कुरा निकालँे । मकै त्यहाँ भन्दा निकै वर पाइदोरहेछ । हामी वर आयौ र पोल्दै गरेको मकै एउटाको पाँच पाउन्डमा किनेर खायौँ ।  मकै खाएपछि मेरो अवस्था निकै ठीक भयो । अहिले अघिको चर्को आवाज पनि थिएन । म निकै सामान्य बनेँ ।

वास्तवमा यात्रामा तीतामीठा घटनाहरू घट्छन् । यात्रा अनुभूतिका शृङ्खला हुन् यहाँ जे जस्तो अवस्था पनि भोग्नुपर्छ  । त्यो परिवेश त्यो परिस्थितिमा म फेरि आउँछु भनेर पनि पाउँदिनँ । जीवनमा मीठा घटनामात्र होइनन् तीता घटनाहरू पनि भोग्नुपर्दछ अनि मात्र यात्राको वास्तविक अर्थ लाग्छ । कार्निभल मेलामा देखेको दृश्य, भोगेको भोगाइ म जीवनमा अरूबेला कुनै हालतमा लिन सक्दिनँ । यो यात्रामा मैले तानाशर्माको बेतायततिर बरालिँदाका शब्दहरूमा आफूलाई जीवित भएको पाएकी छु ।

            नाइटिङ्गहिल स्टेशनबाट मेला भएतिर जाँदादेखि नै म ताना शर्माको बेलायततिर बरालिँदाको यात्रासंस्मरणमा हराउन थालेकी थिएँ । ताना शर्मा पनि मजस्तै मेनाइ साँधुको मेला अनेकौ दुःख हण्डर खाएको र अचम्मलाग्दा दृश्यहरू देखेको मैले पढेकी थिएँ । मैले आफू र तानाशर्माको त्यो बेलाको बेलायतलाई मनमनै तुलनात्मक विवेचना गरिरहे ।  के ताना शर्माले म जन्मेको साल सन१९६६ मा वर्णन गरेको बेलायत र अहिले मैले देखेको बेलायत एउटै छ त ? मानिस तिनै हुन् घर तिनै हुन्  तर समयले एउटा ठूलो नदी पार गरिसकेको छ । जहाँ धेरै परिवर्तनका धारहरू बगिसकेका छन् । त्यो समयको नेपाल र अहिलेको समयको नेपालमा धेरै परिवर्तन आइसकेको छ भने विज्ञानको अनेकौँ चमत्कारिक अविष्कारको पिता हुने सौभाग्य पाएको युरोप र युरोपको मुटु मानिने बेलायतमा कति परिवर्तन भएको होला ? ताना शर्माले वर्णन गरेका  द्रुतगतिमा हिँड्ने इलेक्ट्रोनिक रेल त्यसबेलाको बेलायतले विज्ञान क्षेत्रमा गरेको ठूलो उपलब्धि थियो भने नेपालको  कतिपय ठाउँ त्यससमयमा सडक पनि बनेको थिएन । मेरो बुवाले भन्नुहुन्थ्यो म जन्मेताका विराटनगरबाट धरानजाँदा बाटामा जङ्गलमा बास बस्दै जानुपर्दथ्यो रे र बाटो अति नै कच्ची थियो रे । त्यसताका धरानमा पहिलो चोटि गाडी भिक्र्याउने मेरो बुबा र बुवाका समकक्षी साथीहरू हुनुहुन्थ्यो । नेपालको पूर्वी विकसित सहर धरानको यो हातल थियो भने पश्चिम र अन्य पहाडी क्षेत्रको अवस्था कस्तो थियो होला ?

            अहिले म कार्निभल मेलामा होइन तानाशर्माको बेलायततिर बरालिँदामा हराइरहेको छु । म मेलाको गुदीमा पसेको नै थिइनँ बाहिर बोक्रा पट्टि मात्र थिएँ । त्यसैले मैले मेलाको सम्पूर्ण दृश्यहरूलाई हृदयमा छायाकंन गर्न नै पाइनँ । मेलाको वास्तविक भोगाइ भोग्न नै पाइनँ । तर मलाई लाग्छ  मानिसहरूमा मनोरञ्जन लिने साधन स्रोत र विचारहरूमा परिवर्तन आइसकेको छ । अहिले यस्ता मेला र भेलाहरू भन्दा मानिसहरू सूचनप्रविधिले द्रुतगतिमा विकास गरेको इन्टरनेट, मोबाइल, नाइटक्लवहरूबाट लिन चाहन्छ ।  मानिसहरूको शौख मेलामा जानेभन्दा कुन मोडलको गाडी चढ्ने, कुन मोडलको मोबाइल बोक्ने, कुन कम्पनिको आइपड र ल्यावटप किन्ने भन्ने तिर गइसकेको छ ।  प्रत्येक क्षेत्र प्रतिस्पर्धात्मक बन्दै गएको अवस्थामा मानिसहरू आफूलाई प्रत्येक  दिन कसरी अपडेट राख्ने भन्नेतिर ध्यान दिन्छन्  । कतिपय मानिसहरू त यस्ता मेलामा आउन पनि रुचाउँदैनन् । तर मेलाको वास्तविक आनन्द लिने र यस्को साँस्कृतिक महत्व बुझ्नेहरू उत्साहका साथ मेलामा भाग लिइएको देखिन्थ्यो ।  जात्रा हुने ठाउँमा पस्ने ठाउँमा नै मानिसहरूको भीड लाग्ने गीत गाउने र सुन्ने देखिन्थ्यो । ठाउँठाउँमा प्रहरीहरू सुरक्षाका लागि तैनाथ देखिन्थे । एउटी बूढी आमै हातमा सानो बुकलेट जस्तो हल्लाउँदै जात्रामा आउनेहरूलाई लिन आग्रह गर्दै थिइन् । मलाई ती आमै ताना शर्माको बेलायततिर बरालिँदाकी मेनाइको साधुँमेलामा दर्शकलाई लट्ठ पार्न नाङ्गै (सानो पेन्टीमा लगाएकी) तरुनी हुन्की जस्तो लाग्यो किनभने त्यो बेलाकी तरुनी पक्कै अहिले यो उमेरको हुनुपर्छ भन्ने मेरो कल्पनाले मनमनै विनिमार्णको खीर पकाउन थाल्यो । मलाई ती महिलालाई सोधूँसोधूँ लाग्यो – ‘आम्मै ४४ वर्षअघि हाम्रा एक जना नेपाली ताना शर्मा भन्ने लेखक बेलायत आउनुभा थियो त्यो बेला मेनाइको साधुँको मेलामा तपाईँलाई भेटेर पुस्तकमा एउटा युवतीलाई जीवित पात्र बनाउनुभएको थियो सायद तपाईँ त्यही तरुणी हुनुपर्छ ।

            मेरो विनिर्माणको खीर विरवलको खीर जस्तै अधकल्चो भयो । त्यो पाक्दैपाकेन र पाक्ने सम्भावना पनि थिएन । मनले मनको संवादलाई संस्मरणको ढुकुटीमा भन्डारन गर्न थाल्यो । यस्ता अरू धेरै  पात्रहरूसँग भेट भयो तर ती सबै विरबलको खीरझँै मेरो मनको ढिकुटीमा काँचै भएर भन्डारन भइरह्यो जस्को कुनै अर्थ नै हुँदैनथ्यो ।

            बाटामा जात्राको अघिल्लो दिन भएको रमझमको अवशेषहरू प्रशस्त देखिन्थ्यो । बाटाभरि अघिल्लो दिन खाएको वियरका खाली क्यानहरू बाटामा प्रशस्त देखिन्थे । जात्रामा धेरै जसो आप्रावासी हब्सीहरू विभिन्न भेषभुषामा थिए । यो पर्व नै आप्रवासीहरूको सांस्कृतिक पर्व रहेछ जो वर्षको एकपल्ट धुमधामका साथ मनाइदो रहेछ ।

            फर्कदा बाटोमा राखिएको घुम्ति शौचालयमा हामीले शौच ग¥यौ । बाटामा एउटा उन्नाईस बीसकी राम्री युवती परीको भेषमा लडखडाउँदै आउँदै थिई । उसँग उसकी एउटी साथी पनि थिई । ऊ चाहिँ साधारण भेषमा थिई । त्यो केटीले निकै मादक पदार्थ खाएकी होकि झैँ लाग्दथ्यो । एकछिन पछि त्यो केटीलाई पुलिसले बोलाएर केरकार गरेको देखियो । हामी फर्कने क्रममा थियौँ । फर्कदा साँझ पर्न लागेको थियो । बाटामा उत्तिकै भीड थियो । बेलायतमा आएको बेला वर्षमा दुईदिन मात्र लाग्ने मेलामा आउन पाउन ठूलो संयोग थियो । यो संयोगलाई सौभाग्यको तोक्मा बनाएर मेरो मनले मस्तिष्कभित्र अभिलेख गरिसकेको थियो । अघिका कष्टहरू धेरै निर्मुल भइसकेका थिए ।

            तीजको अघिल्लोदिन विकलजीकोमा दर खाने कार्यक्रम राखिएको जानकारी विकलजीको परिवारले धेरै अगाडि दिईसक्नुभएको थियो ।  मेला हेरिसकेपछि विकलजीकामा जाने कार्यक्रम छँदैथियो ।  योजनामुताविक हामी विकलजीको घरतिर लाग्यौँ । सबैजना डवलटेकर बसमा चढेर विकलजीको घरतिर लाग्यौँ । विकलजीकोमा लाराबहिनी, शशीजी र अन्य साथीहरू पनि आउनुभएको थियो । रेस्टुरेन्टका मालिक विकलजीकोमा खानाको परिकारका लागि अन्य कुनै सम्झौता नगरिएको होकि झैँ लाग्दथ्यो । विकलजीको हार्दिकतासहितको आतिथ्यले हामी धन्य भयौँ । यो ऐतिहासिक भोजलाई पनि समयले आफ्नो पोल्टामा लिएर अभिलेख गरिसकेको थियो ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |