हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मैले देखेको नियाग्रा !!!!,(शशांक लामा, न्युयोर्क)


(नियाग्रा फल्सलाई राति हेर्दा-स)

"
नियाग्रा अझै पुगेको छैनस"? "तेरो आधा जिन्दगीनै खतम भयो"! "तँ न्युयोर्कमै घोटिएर सिद्धिन्छस", "नियाग्राको टिकट हामी किन्दिन्छौँ ए मक्खिचुस" भनेर अमेरिकाका मेरा दौँतरिहरुले भन्नु नभन्नु त भने भने, नेपालबाट छोटो समयकोलागी भ्रमण गर्न आउने मुलङ्खरेहरुले पनि नियाग्राको बेपत्ता फुइँ देखाए, मेरो त हुर्मत नै लिए, पैसा खर्च नगर्ने लोभीमा म दरिएँ। कुरो पैसोको थिएन, समयको थियो। नियाग्रा जानलाई धेरै अघि पनि समय मिलाउन नसकिने पनि थिएन,त्यतिबेला चासो दिइएन,नजिकको तिर्थ भनी हेला गरियो,जिन्दगीको लहन तहनमा यस्तरी अल्झेका थियौँ कि नियाग्राबारे सोच्दै सोचिएन। अब नियाग्राबिना अमेरिकाको बसाइ नै अपूरो हुनेभएपछि जुलाई ४ को अमेरिकी स्वाधिनता दिवसको अवसरमा नियाग्रा घुम्ने निधो गरियो । ३ दिने लामो सप्ताहान्त बिदा पनि थियो । हामी जोइ पोइ र छोरी नियाग्रालाई नियाल्न चिनियाँ ट्राभल एजेन्सी मार्फत चिनियाँ महिला पथ प्रदर्शकको पछि लागेर नियाग्रातर्फ हान्नियौँ। वातानुकुलित बसभित्र अधिकाँश चिनियाँ र भारतेली पर्यटकहरु थिए। हामी नेपाली ३ परिवार थियौँ -केशव तामाङ्, लव मगर, शशांक लामा एण्ड परिवारहरु Pvt लिमिटेड। उहाँहरुसंग पनि त्यही बसभित्रै चिनाजान भएको थियो। पहाड र डाँडाकाँडा मधेश न्युयोर्कमा देख्ने कुरै भएन। न्युयोर्क शहरलाइ छिचोलिसकेपछि बसको झ्यालबाट चिल्ला फराकिला सडकहरु र बाटोका दुवैतर्फ आँखाले भ्याउन्जेलसम्म जंगलै जंगल भएका सुलुत्त मिलेका थुम्काहरु, भञ्ज्याङहरु, पहाडहरु देख्दा मनै आनन्द भएको थियो। प्रकृती संरक्षणको यो भन्दा अनुपम नमुना कहाँ पो भेटिएला र? ति महिला पथ प्रदर्शक चिनियाँ र अंग्रेजी भाषाहरुमा पालैपालो बिभिन्न सूचनामुलक जानकारी दिइरहेकी थिइन। एक झपक उँघेको मात्र के थिएँ, खाना खाने ठाउँ "मुग्लिन" आइपुगेछ। भोजनालय र शौचालयको नित्यकर्म सकेर हामी उर्दी बमोजिम बसभित्र बसिसकेका थियौँ। तर दुइजना भारतेली पर्यटकहरु बेपत्ता थिए। समयलाइ अनुसरण नगर्ने, सार्वजनिक पारवाहनहरुमा अरुलाई वेवास्ता गरी अनादार गर्ने दक्षिण एशियालीहरुको बानी कहिले पो सुध्रेला? बस रोक्दैपिछे तिनिहरुले दु:ख दिएका थिए।

हाम्रो भ्रमण सुचीमा नियाग्रा बाहेक बाटैमा पर्ने Corning Museum of Glass पनि थियो। नामसंग मिल्दोजुल्दो पार्न त्यस म्युजियमलाई जतिसक्दो सिसामय बनाउन खोजिएको रहेछ, भर्र्याङ् धरी सिसाका थिए। संसारभरिकै सिसाद्वारा बनाइएका मानव कल्पनाका अनुपम कलाकृतिहरु त्यहाँ सँग्रहित थिए। त्यही म्युजियमभित्र रहेको बिशाल हलमा सिसा पगाल्ने बिधी र त्यसलाई बिभिन्न ढाँचामा ढाल्ने तरिका सिसाविदहरुले प्रत्यक्ष रुपमा देखाएका थिए र त्यसको प्रत्यक्ष बर्णन एकजना गोरीले अंग्रेजीमा दिइरहेकी थिईन् भने अर्कातर्फ एकजना पाका गोराले त्यसको अनुवाद चिनियाँ भाषामा धाराप्रवाह दिइरहेको दृष्य आँफैमा मनमोहक थियो। कारण हलमा उपस्थित ७५% दर्शक चिनियाँहरु थिए। संयुक्त राज्य अमेरिकामा समाजका हरेक क्षेत्रमा मानवीय मुल्यको उच्च कदर गरिएको कानुनहरु र तिनलाई ब्यवहारमा कार्यन्वयन गर्न खोजिएका प्रयत्नहरु अतिनै सर्हानिय छ।

न्युयोर्कबाट चिनियाँ नास्ता खाँदै सखारै हिँडेका हामी नियाग्रा पुग्दा अपरान्ह भैसकेको थियो। नियाग्रा चिम्से र बल्ड्याङग्रेहरुले भरिभराउ थियो, भनाइको मतलव चिनियाँ र भारतीय पर्यटकहरुको घुइँचो थियो। अमेरिकामा सयौँ बर्षदेखि बस्दै आएका अफ्रो-अमेरिकी र दक्षिण अमेरिकाली पर्यटकहरुको संख्या नगण्य थियो, गोराहरु त जताततै हुने नै भए। नियाग्रामा मैले एउटा अचम्म देखें- संयुक्त राज्य अमेरिकाका बिभिन्न शहरहरुमा गोराहरुले तल्लो तहको कामहरु गरेको त्यति देखिंदैन, तर नियाग्रामा कुचिकारदेखि माथिल्लो तह सम्मका सबैखाले "कार" हरुमा गोराहरुकै हालिमुहाली देखियो। शायद नियाग्रामा अन्य जातिलाई ढिम्किनै नदिएको पो हो कि! अब म नियाग्रा स्थलको नभएर त्यस अजंग, बिशाल, बिहंगम र साथसाथै शान्त,शिष्ट र सौम्य नियाग्रा झरनाकोबारेमा आफ्नो गन्थनलाई एकोहोराउनु चाहन्छु। हाम्रो नियाग्रा अवलोकन MAiD OF THE MIST नामांकरण गरिएको बिशाल डुङ्गा यात्राबाट शुरु हुन्छ। यात्रुहरुलाइ बर्साती ओढाएर त्यस डुंगाले भिमकाय झरनाको छेउछाउ पानीको कुहिरोभित्र पर्यटकहरुलाई छिराउँदा सबैको मन भरङ्ग भएको थियो। बर्साती नहुंदो हो त निथ्रुकै भिज्ने कुरा सहजै अनुमान गर्न सकिन्थ्यो। टाढोबाट हेर्दा डरलाग्दो अजंग देखेपनि नजिक पुगेपछि नियाग्रा देवीले हामीसबैलाई आफ्नो जल-सप्कोले छोपेर मायालु स्पर्श गरेकी थिईन्। त्यस जल कुहिरोभित्र तिनको रुपलाई अझ राम्ररी हेर्ने प्रयत्न गर्यौँ | तिनको उन्मादी नृत्यले सबै छेलियो। जब हामी जलकुहिरोबाट निस्केर झरनाबाट टाढिन्दै थियौँ,नियाग्रा घरी उदास र घरी चिच्याएको भान हुन्थ्यो। छोरी र म एकार्कालाई थामेर मन्त्रमुग्ध भएर नियाग्राको बहुरुपलाई नियाल्दै भावबिभोर भएका थियौँ।

लामा लामा लेन्सहरु जडान गरेर क्यामारामा कैद गर्न सकिने दृश्य होइन नियाग्रा,न त काँचका पर्दामा हेरेर नै नियाग्रा थाहा पाईन्छ! नियाग्रा जान्न, बुझ्न र अनुभव गर्न आँफै सशरीर उपस्थित हुनु पर्दछ, त्यस अलौकिक बस्तुलाई आफ्नै चर्मचक्षुले हेर्नु पर्दछ, आफुसंग भएका मानवीय संबेदनाहरुलाई छताछुल्ल पोखेर नियाग्राको द्रिष्यावलोकन गर्नुपर्दछ, अलि अलि रोमान्टिक बन्नु पर्दछ। नियाग्रा निर्जिव हुँदै होइन, त्यसमा सजिवताका प्रशस्त लक्षणहरु छन्- शिष्ट, सौम्य, शालीन एकातिर छिन् भने अर्कोतर्फ सुन्दर, शान्त, बिशाल रुप भएकी नियाग्रा बेलाबेलामा रौद्र रुप धारण गरी अट्टाहास छोडछिन्। नियाग्रा बत्तिस लक्षणले युक्त छिन् भन्दा कुनै अतिशयोक्ती नहोला। नियाग्रालाई पानीमात्र देख्नेहरु पनि बग्रेल्ती छन्, तर तिनले आफ्नो मनलाई माझ्नुपर्छ, तालिम दिनुपर्छ; दृष्‍टिकोणलाई तिखार्नुपर्छ, सांध लाउनु पर्छ, उध्याउनुपर्छ; हेराइमा पाइन् चढाउनु पर्छ।

क्यानाडा र अमेरिका वा अर्को शब्दमा भन्ने हो भने उत्तर अमेरिकालीहरु नियाग्राबाट लाभावान्तीत छन्। नियाग्रा देवीले देश बिदेशका हजारौँ ब्यक्तिहरुलाई रोजगार दिएकी छिन्, दिइनै रहनेछिन्। राता भारतेलीहरुले नाम राखेको यस "नियाग्रा" को शाब्दिक अर्थ चैँ "ठुलो स्वर भएको पानी" रहेछ। अब यस ठाउंमा राता भारतेलीहरुको "र" पनि छैन। ३ जुलाईको साँझ नियाग्रामा अवस्थित पर्यटकहरुले गजबको दृश्यावलोकन गर्न पाउने रहेछ। अमेरिकी स्वाधिनता दिवसको उपलक्ष्यमा गरिएको आतिशबाजी र पारीपट्टी क्यानाडाबाट नियाग्रा झरनालाई फोकस गरी बालिएको प्रकाशको अपुर्व दृष्य देख्यौँ। आकाश आतिशबाजीले झलझलाकार थियो भने दिउँसो देखिएको सेताम्मे नियाग्रा त्यतिखेर सप्तरङ्गी वस्त्रमा अप्सरा झैँ देखिएकी थिईन्। पर्यटकहरु wow !!! भन्दै टवाँ परेर त्यस अलौकिक दृष्यको रसास्वादन गरिरहेका थिए। प्रकाशहरुको त्यो मिठो संयोजनले बातावरण नै रोमान्टिक भएको थियो। रातकी रानी नियाग्राले सबैलाई नजिक तुल्याइरहेको थियो, प्रेमको पुनर्नवीकरण भैरहेको थियो, पहिलो प्रेम प्रस्ताव राख्नेहरु पनि थिए होलान्, सँधै कटुतामा बाँचेको दम्पतिले पनि एकछिनलाई भएपनि एकार्कालाई अंगाले होलान्। त्यो मनमोहक, भव्य, रोमान्टिक र बिहंगम दृष्य फोटोमामात्र हेर्नु पर्याप्त छैन,जिउँदो नियाग्रालाई नै स्पर्श गर्नुपर्दछ।

नियाग्रालाई सबै कोणबाट हेरियो- फेदबाट, सतहबाट र I-MAX THEATER मा पनि हेरियो। क्यानाडा पुगेकाहरु क्यानाडाबाट नियाग्रा भब्य देखिन्छ भनेर धक्कु लगाउँछन्, कुनै दिन त्यहाँबाट पनि हेरौँला। तर जताबाट हेरेपनि नियाग्राको भब्यता, मनमोहकता र लचकतामा कुनै कमी रहन्न। नियाग्रा हाम्रो one way traffic जीवनसंग कती मिल्दोजुल्दो छ- निश्चल बच्चा झैँ शान्त, शिष्ट र सौम्य भएर पदार्पण हुन्छ, जवानीमा जिन्दगीको कठोर मोड छाँगोमा पुगेपछि यो पाखुरी सुर्कन्छ्, बटारिन्छ्, हुँकार्छ, गर्जन्छ् र बुढेशकालमा छाँगाबाट खसेर मैदानमा चिप्लिन्दै कहीँ कुनै सागरको फेदीमा समाधी लिन्छ। यो जलाशय, जलप्रवाह, जलभण्डार, जलकुण्ड मात्र नभएर मानव जातिलाई प्रकृतिले दिएको अनुपम उपहार हो, अन्नदाता हो। बिभिन्न देशमा उदेश्यबिहिन बगिरहेका नदीहरुलाइ नियाग्रा पाठ हो। नियाग्राको आकृतिलाई तमोर नदीको भित्तामा टाँसेर हेरँ, भोटेकोशी, सुनकोशी, दुधकोशी र काबेली नदीहरुका पाखामा सजाएर हेरेँ, नियाग्रै त नहोला, तर सानो तिनो जल-बिहार गर्ने ठाउँ यिनै नदीहरुको छेउछाउमा किन बन्न नसकेको होला? पानी र पहाड त हामीसितै , अठोट, हिम्मत र ब्यवस्थापना कहिले जुटने होला ? आज म यो यात्रा संस्मरण लेख्न बस्दा हाम्रो देशको तमोर नदीको झल्झली सम्झना आईरहेको छ्। धरानदेखि ओलाङचुङ गोलासम्म तमोरको तिरैतिर (गढतिरको बाटो) थुप्रैचोटी हिँडेको छु, हिँउँदताका तमोरसंग लाप्पा खेलेको छु, लाङलात्तीको त कुरै नगरौँ!! कहाँ म तमोर नदीको कुरो गर्दै थिएँ, लाङलात्तीतिर पो कुरो मोडिएछ। तिब्बतदेखी ओलाङचुङ गोला हुँदै सप्तकोशीमा मिसिने तमोर खोलाको धनकुट्टा मुलघाट क्षेत्रमा जल-बिहार गर्ने पर्यटक स्थलको प्रशस्त सम्भावना देख्छु। हामी पनि चिनियाँ र भारतीयहरुलाई मनोरन्जन दिन सक्छौँ। यो मेरो सपना हो, थुप्रै नेपालीको सपना हो। सपना देख्नुपर्छ, सपना बाँडनु पर्छ, सपनै देख्न छोडयौँ भने सपना कहाँ पुरा हुन्छ?

नियाग्रादेखी टाढिएर हजारौँ माइल दुर कंक्रिटको जंगलमा आएर फेरी हाम्रो ब्यस्त दिनचर्या शुरु भैसक्यो। तर नियाग्रा एउटा अमिट छाप भएर मन मष्तिष्कमा छाएको छ, एउटा नौलो अनुभुती यो मनले पाएको छ, अझ त्यसमाथि नियाग्रा जस्तै शान्त, सौम्य, शिष्ट र शालीन र् शुशिल ब्यक्तित्व भएका लव मगरले न्युयोर्क फ्लशिङमा छुट्टीने बेलामा भनेका कुराहरु अझै पनि मनमा तरंगित भैरहेको छ - "शशांक दाई ! नियाग्राबारे एउटा यात्रा संस्मरण लेख्नु होला है"। प्रशंसा, आदर र मायाले भरिएको उनको अनुरोध सुनेर म आत्मबिभोर भएँ। एकजना शिष्ट पाठकको अनुरोधलाई म कसरी नकार्न सक्छु र ? अन्तमा नियाग्राबारे मेरो निर्क्यौल यस्तो छ- नियाग्रा आँखाले हेरिने दृष्य होइन, सुन्दर मनले त्यसको अवलोकन गरिनुपर्छ, मनभरी फुलैफुल लिएर नियाग्रा छेउ आफु फक्रिनु पर्छ, तब न तिनले पनि मुस्कान साटछिन्। मनभित्र नैराश्य घोलेर नियाग्रा हेर्दा सुस्केरा, क्रन्दन र अट्टाहास मात्र सुनिन्छ। नियाग्रा मोनालिजा हो, जस्तो मनोभावले हेरिन्छ, त्यस्तै देखिन्छ। कसैले उनको मुहारमा अथाह पिडै पिडा देख्छन् त कोही उनको रहस्यमयी, जादुइ मुस्कानमा लट्ठिएर घण्टौँ मोनालिजालाई एकटक हेर्छन्। त्यस्तै नियाग्रालाई हेर्ने दृष्‍टिकोणमा पनि एकरुपता नहोला- आफ्ना कपासरुपी वस्त्रलाई फिँजारेर नियाग्रा छमछम नाचेको र मुस्काएको कसैले देख्लान त कसैले फगत पानी र बिशाल झरना देख्लान्। यहाँनेर कवी दुर्गालाल श्रेष्ठका पंक्तिहरु पैँचो लिन्दै म बिदा चाहन्छु:

फुलको आँखामा फुलै संसार
काँढाको आँखामा काँढै संसार

lama_sasang@yahoo,com

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |