हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

समयको बिम्ब ,(निकुञ्ज तिवारी)

     सरस्वती लालचन नेपाली साहित्य वाङ्मयमा सरस्वती प्रतीक्षा का नामले चिनिने कवि प्रतिभा नारी हस्ताक्षर हुन् । उनले नेपाली कविता विधामा आफ्नो नाउँ सुस्पष्ट रुपले बनाइ सकेकी छन् । पोखरेली सहित्य परिवेशमा मात्र नभई सम्पूर्ण नेपाली साहित्यभर प्रतीक्षा उपनामले चिनिने नारी हस्ताक्षर हुन् ।

            नेपाली साहित्यको उथ्थानको लागि पोखरामा स्थापित विभिन्न संघ संस्थामा क्रियाशिल कवि प्रतिभा प्रतीक्षाले यद्यपि प्रश्नहरु (२०६२) कविता कृति पछि नेपाली साहित्यको बाटिकामा अर्को कविता कृति बिम्बहरुको कठघरा (२०६६) फुलाएकी छन् ।

            नेपाली साहित्यको सर्बोप्रचिनतम् विधा कविता लयात्मक र कलात्मक भाषामा व्याक्त गरिने जीवन अनुभुति हो । जीवन अनुभूतिको अति शुष्म पक्ष देखि अति व्यापक पक्षसम्मको अभिव्यक्ति दिने, यथार्थ जीवन बोधको सुमधुर संगीत चाहे वियोग होस् वा संयोग, दुःख होस् वा सुख, स्वभाविक अभिव्यक्ति नै कविता हो । नेपाली जनजीवनको वर्तमान अवस्था झल्काउने अनेक विषयवस्तु बनाई सृजना गरिएका कविताहरुक यस कृतिमा पाउन सकिन्छ । संक्रमणकालीन समाजको पिडालाई काव्यमयी भाषाद्वारा प्रस्तुत गरेकी छन् । जनपयोगी दृष्टिकेन्द्रित, नेपाली ग्रामिण समाजका पिडा वेदना, छटपटी जस्ता दुःखित मौसमका कविताहरु जनताले बुझ्ने ग्रहण गर्न सक्ने, हृदय स्पर्शी पाराले कविता सृजना गरेकी छन् । यसो भनिरहदा कवि सरुभक्तले भनेका शब्दहरु कविता जनताले बुझ्ने ग्रहण गर्न सक्ने, जनउपयोगी हुनुपर्छ । विभिन्न विम्ब प्रतिक प्रयोग गरी अमूर्त शेलीले बाधिएका भएतापनि कवितामा समसामयिक परिवेश झल्किन्छ ।

            पर्ख !

            पर्ख, ए मुक्तिको कुरा गर्नेहरु हो !

            पर्ख,

            पर्ख, ए परिवर्तनको राग अलाप्नेहरु हो ।

            मलाइ वताइदेऊ

            आदिम कालदेखि नै हाम्रो वस्तीका मान्छेहरु

            किन वेहोसीमा खित्खित् हाँस्ने गर्छन् ?

                                                            (वालुवाको पुल)

            हो !

            यहीत दुर्भाग्य छ यो देशको

            धेरै जना

            ढुङ्गा पकाएर खाने बहादुरी कुरा गर्छन्

            ढुङ्गा पाक्ला र खाउँला भनेर

            उही पुरातन प्रतीक्षा गर्छन्

            खै केके हो सङ्क्रमित प्रतीक्षा गर्छन् ।

                                                (ढुङ्गा पाक्ला र खाउँला)

            नयाँ नयाँ चेतना, नविन भाव र बिम्ब युगिन आवाजको समिश्रण उनको वैशिष्टता हो । उनको कवितामा सङ्ला अभिव्यक्ति सरल र बोधगम्य प्रतीकहरुद्वारा कलात्मक बन्न पुगेका छन् । प्रतीकहरुद्वारा अभिव्यञ्जित कला भाव साधना र चेतनाको प्रस्तुती कलात्मक मात्र नभई, बढी संवेध पनि बन्न गएको छ । कवयत्रीका कलात्मक अभिव्यक्तिमा युग बोलेको छ । नेपाली साहित्य वाङ्मयकी नारी हस्ताक्षर प्रतीक्षाको प्रमुख मान्यता सर्वहारा पक्षलाई क्रान्ति गर्न आह्वान गर्दछिन् । सामन्ती शोषणबाट मुक्ति खोज्न गरिव दुःखी, निमूखाहरुको बोलि कवितामा पस्किएकी छन् । सदियौ देखि जेलिएको सामन्ती प्रथा जरैबाट निर्मुल पारी स्वच्छ, शान्त र विशाल नेपाल निर्माण गर्न आह्वान गर्छिन् ।

            ए योद्धा !

            तिमीले गरेको पनि युद्ध हो

            मैले गरेको पनि युद्ध नै हो

            तिमीले थालेको पनि आन्दोलन हो

            र मैले थालेको पनि आन्दोलन नै हो ।

                                    (तिमी, म अनि भिर)

            हो,

            एउँटा आदिम युद्ध

            लडेका थिएक आदिम मान्छेहरुले

            र लड्दैछन् आजका मान्छेहरु पनि

            जित्नेहरु को हुन् ? हार्नेहरु को हुन् ?

                                    (आदिम युद्ध र साक्षी)

            श्रष्टाले कवितामा सामन्ती उत्पीडन र शोषणको चरम भावको पर्दाफास मात्र नगरेर तिनीहरुले निम्न वर्गीय समाजमा गरेको दमन हत्या, हिंसा, आतंकले ग्रसीत नेपाली समाजमा पारेको चित्रण प्रस्तुत गरी जनमानसमा विद्रोही भाव उत्पन्न गराएकी छन् । स्रस्टा प्रतीक्षाले स्वच्छन्द भावमा केन्द्रित कवितामा क्रान्ति चेत, समसामयिक राष्ट्रिय भावना, प्रगतिको कामना गरेकी छन् । कवितामा व्यङ्ग्यात्मक चेतनाको प्रतिविम्वहरु घनिभूत रुपमा कृतिभित्र गुम्सीएका छन् ।

            मनका कुरा गन्थन गरेर व्यक्त गर्नुको सट्टा कुनै वस्तु व्यक्ति, दृष्य परिस्थिति आदिको वर्णनद्वारा मनका तरङ्गहरुलाई लक्षित गरि कविता सृजना गर्न सक्ने खुवी छ प्रतीक्षामा । यस्तै यस्तै वर्णन परक अभिव्यक्तिलाई कलात्मक बिम्बद्वारा प्रस्तुत गर्न सक्नु प्रतिक्षाको विशेषता हो । प्रतिक्षाले नविन बिम्ब प्रतिक प्रयोग ओजपूर्ण प्रतिकात्मक कविता समेटिएको कृतिमा देशकाल वा परिवेश परिस्थिति सुहाँउदा बिम्ब प्रतिकले बाधिएको कृतिभित्र कहिकतै मिथकिय शैलीको प्रभाव ग्रहण गरि रचिएका कवितामा समसामयिकता अधिक रुपमा भेटिन्छ । कविता पढ्दा यस्तो लाग्छ यिनमा युगबोधको गहन चिन्तन छ ।

            नेपाली साहित्यमा देखिएका विभिन्न प्रवृतिहरु स्वच्छन्द, प्रगतिवाद, जीवनवोध, राष्ट्रिय भावले ओतप्रोत, संक्रामणकालिन देश/परिवेश सुहाउँदा कविताहरु कृतिभित्र बोल्छन् । शिष्ट, सालिन, श्रृङगारिक कविताहरु पनि यस भित्र छन् ।

            मनदेखि मनसम्मको यात्रामा

            संवेदना देखि संवेदना सम्मको यात्रामा

            प्रेम देखि प्रेमसम्मको यात्रामा

            अनि

            समर्पण देखि समर्पणसम्मको यात्रामा

            थाहै भएन,

            कुनवेला एक अर्कामा रुपान्तरित भइसकेछौं ?

            कुनवेला एक अर्कामा समाहित भइसकेछौं ?

                                                (थप्दै प्रश्नहरु)

            बिम्बहरुको कठहरा भित्रका कविताहरु युगिन यथार्थ वोध, प्रगति उन्मुख नेपाली समाज, संक्रमणकालिन परिवेश, हत्या हिंसा आतंक जस्ता द्वन्द्वान्तम समाजको यथार्थ चित्रण, राजनीतिक अस्थिरताले निम्त्याएको नेपाली समाज, सामाजिक सांस्कृतिक वातावरणमा देखिने अराजक क्रियाकलाप, नेपाली समाजमा व्याप्त शोषण शामन्तिको दह्रो आलोचनाका साथमा प्रणयपरक शालिन शिष्ट श्रृगारिक कविता गरी लामा छोटा जम्मा एकाउन्नवटा कविता कृतिभित्र समेटिएको छन् ।

            कुनै पनि साहित्य आम जनजिब्रोले पचाउने स्वादका हुनुपर्छ भन्ने मान्यता बोकेकी सरस्वतीले जुनसुकै मानविय संवेदनाहरुले आस्वादन गर्न सक्ने खालका कविताहरु रचेकी छन् । कविता पढ्दा जुनसुकै मानिसले पनि यो मेरो साहित्य रहेछ, यो मेरो भोगाइ रहेछ भन्ने खालका बिम्बहरु समावेश गरेकी छन् ।

            अन्तमाः कवि सरस्वती प्रतिक्षाले सरल, सरस भाषा शैलीमा नयाँ नयाँ बिम्ब प्रतिकको प्रयोग गरि मार्मिक ढङ्गले कविता सृजना गरेकी छन् । यिनको कवित्वमा मधुरता, कोमलता, लयात्मकता एवम् ओजिलो शब्दचित्र स्पष्ट झल्किन्छ । बिम्बहरुको कठघराभित्र राष्ट्रियता, प्रकृतिप्रेम, जनमुखि मानविय सोच, सामाजिक सांस्कृतिक विषय, विद्रोही आवाज जस्ता भावका मिठा मिठा शब्दका गुच्छाहरु समावेश छन् । कवितामा कालजयी स्वरहरु गुञ्जाउन सफल बिम्बहरुको कठघरा एक समसायिक मूल्यवान कृति ठहरिएको छ ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |