हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

अविस्मरणीय क्षणहरूको सम्झनामा ताप्लेजुङ,(डा. गोविन्दराज भट्टराई)


अघिल्लो हिउँदमा हामीले ताप्लेजुङ साहित्य समाजको गठन गरेका थियौ । एक सीमावर्ती
, दुरस्थ पहाडी जिल्ला साहित्य संस्कृतिको उन्नतिमा पछि परिरहेको छ भन्ने चिन्ताले हामीले त्यो गरेका थियौँ । यसमा ताप्लेजुङसँग अतीत जोडिएका काठमाडौँबासी र ताप्लेजुङका स्थानीयहरू छौँ । यसको स्थापनालाई प्रेरित गर्नेकारक तत्व चाहिँ एकपल्ट ताप्लेजुङलाई ब्यूँझाएर आफ्नो शक्ति र गौरवले आफूलाई हेर्न सक्ने बनाऔँ भन्ने भावना थियो । त्यसैले सर्वप्रथम एक वृहत् साहित्य सम्मेलनको प्रस्तावना ग¥यौँ; त्यसबाट नै हाम्रा भावनालाई प्रकाशित गर्न सकियोस् भन्ने थियो । २०६९ साल कार्तिक दुई र तीन गतेको मिति तय गयौँ ।  त्यो दशैँ आरम्भ हुने समय थियो । तथापि त्यो मिति तय गरेर हामी शक्ति जुटाउन थाल्यौँ । असोजको  अन्तिम हप्ता समाजलाई सुम्पेर म साहित्य अकादमीको निम्तामा कार्यपत्र लिएर दिल्ली उडेँ ।  यता काठमाडौँबाट हरि गौतम (संयोजक) तथा लेखनाथ गौतम (सचिव) को अग्र भूमिकामा डा. तुलसी भट्टराईले विशेष संयोजनकर्म गर्नुभयो । सल्लाहकार भएको चिन्ताले मैले पनि केही समय अर्पण गरिसकेको थिएँ ।

असोज २९ गतेका साँझ काठमाडौँबाट एक बस स्रष्टायात्री छुटे । म भने साहित्य एकादेमीको कार्यक्रम सकेर अञ्जनासँग सिधै भद्रपुर पुगेँ । एकबस स्रष्टा अघिल्लै दिन फुङ्लिङ पुगेको खवर आयो । हामी पनि झापाबाट अरू सहभागी टिप्तै एक गते राति फुङ्लिङ बजारस्थित होटल जरा रेष्टराँमा बास बस्न पुग्यौँ । नेपालका सम्पूर्ण पहाडी राजमार्गमा ताप्लेजुङसँग तुलनीय अर्काे कुनै छैनयति सुन्दर, मोहक र आनन्दकर; प्रकृतिले नै रोजेको यो भूमि । हाम्रो मन आनन्दले भरियो । त्यो आनन्दको स्रोत अर्को पनि थियो । हामीमध्ये कतिको जीवनको उषाकाल ताप्लेजुङको माटोमा बितेको थियो । ताना शर्मा चालीस वर्षपछि आफ्नो जन्मभूमि पुग्दा मेरो प्यारो बरबोटेमा  अति भावुक भएझैँ हामीले आआफ्ना मनका डायरी पल्टाएर हेयौँत्यहीँ पढेबढेका तुलसी भट्टराई, खेम कोइराला, हरि गौतम, होम गौतम, हेमराज अधिकारी, त्यहीँ घुमेको म, किम्वदन्ति भएको लक्ष्मण गाम्नागेले एकपल्ट खुसी हुँदै स्मृतिडायरी पल्टायौँएल्डौस हक्स्लेले भनेझैँ प्रत्येक व्यक्तिको स्मृति त्यस्तो डायरी हो जो जहाँ पुगे पनि साथैमा हुन्छ ।

पैँतीस वर्षपछि मैले त्यो स्मृतिडायरी पल्टाएँ तर त्योभन्दा पहिल्यै कार्यक्रमको उत्साहले हामीलाई थामिनसक्नु पारेको थियो । उद्घाटनको दिन शुभकामना, विचार मन्तव्य, कृति विमोचन तथा कार्यपत्र वाचन राखिएका थिए । वास्तवमा ताप्लेजुङका एक प्रशिद्ध विद्वान्, समाजसेवी बहुभाषी प्रतिभा पं वृहस्पति गौतम (हर्राबोटे) को शतवार्षिकी मनाउने अवसरमा यो कार्यक्रम आयोजित थियो । सम्पूर्ण पूर्वले चिनेजानेका पण्डित वृहस्पतिको व्यक्तित्व र योगदान आजसम्म अन्धकारमा थियो । उहाँका सन्तति र आफन्तले पण्डित वृहस्पति गौतम स्मृतिग्रन्थ (२०६९) तयार पारेका थिएत्यसको प्राज्ञ डा. बेञ्जु शर्माबाट विमोचन भयो । उक्त पुस्तकको ब्लर्बमा प्रकाशित मेरो मूल्याङ्कन यस प्रकार छः पं. वृहस्पति गौतम हाम्रा मावलीहरूका एक कुलभूषण हुनुहुन्छ । त्यो शुभनाम हाम्रो पारिवारिक चर्चामा पनि सुन्थेँ  तर प्रत्यक्ष भेट्ने दिन आएन । अहिले प्रस्तुत ग्रन्थ पढेपछि मलाई  हर्ष र पश्चात्ताप दुबै भएको छ । महाकविले भेडा चराइरहेका पिकासो, कोदालो खनिरहेका वाग्नर भनेको एक प्रतीक रहेछ । वृहस्पति गौतम जस्ता प्रतिभा आफ्नो जीवनकालमा त्यसको प्रकाश नदेखी बिते तथापि उहाँका सन्तति र इष्टमित्रले गरेको यस  सत्कर्मले ताप्लेजुङ जिल्ला मात्र उज्यालो होइन, यो राष्ट्र्लाई नै एक उदाहरणीय कर्म भएको छ ।

सो अवसरमा अरू दुई कृति पनि विमोचित भएखेम कोइराला बन्धुले २०२७ सालमा आरम्भ गरी ४२ अङ्क पुर्याएपछि रोकिएको चारदशकपछि पुनः प्रकाशित 'नौलो नेपाली'को नव प्रवेशाङ्क तथा साहित्यकार रविमान लमजेलको कथासङ्ग्रह आस्थाका पदचापहरू ।

डा. वेञ्जु शर्माको प्रमुख आतिथ्यमा बसेको त्यो सभा एक ऐतिहासिक घटना थियो । ताप्लेजुङ जिल्लामा पहिलोपल्ट प्रज्ञाप्रतिष्ठानको उपस्थितिमा यत्रो कार्यक्रम आयोजित हुनु सानो कुरा थिएन । हामी सबै नेपाल प्रज्ञाप्रतिष्ठानप्रति आभारि छौँ । यता काठमाडौँदेखि संस्कृतिकर्र्मी श्री माधव श्रेष्ठ पुगेका थिए । फुङ्लिङको सिटीहलमा अतिथि, स्रोता र सहभागी भरिभराउ थिए । कार्यक्रमलाई सङ्गीत तथा नृत्यले जीवन्त बनाए  । एकजना संचारकर्मीले सुनाएविगत तेह्र वर्ष यता यहाँ यत्रो कार्यक्रम कहिल्यै भएन । अरूले थपेयत्रो व्यापक साहित्यिक कार्यक्रम, ताप्लेजुङ्मा यति विशिष्ट व्यक्तिको आगमन कहिल्यै भएको थिएन । दशैँ लागिसकेको थियो तर टाढाटाढादेखि एक दिनको बाटो हिँडेर पनि सहभागिहरू आएका थिए ।

कार्यक्रमको एक महत्वपूर्ण खण्डमा कार्यपत्र प्रस्तुत भए । हेमराज अधिकारीले ताप्लेजुङको साहित्यिक इतिहास प्रस्तुत गरे । यस अनुसार ताप्लेजुङको लिखित साहित्यिक इतिहास वि.सं. १९१० देखि आरम्भ भई आज अत्यन्तै व्यापक  भएको देखिन्छ भने मेरो पत्र अलिक भिन्न थियोस्वप्नभूमिको दर्शन यात्रामा पैँतीस वर्षपछि शीर्षक आलेख जसको सारांश थियोहामी कतिका लागि यो पुनर्मिलनको यात्रा हो, नवजागरणको घडी हो । विलियम फौकनरले एकठाउँ भनेका छन्अतीत काहिल्यै मर्दैन, वास्तवमा त्यो अतीत नै होइन । (अ पाष्ट इज नेभर डेड, इट्स् नट इभन पाष्ट) । त्यसैले मैले वाल्यकालको अमर सम्झना भण्डारमा प्रवेश गर्दा हुने अनुभूतिचित्र पनि लेखेँ साथै ताप्लेजुङका स्रष्टालाई आफूले बुझेको मार्ग बताएँ । तेस्रो कार्यपत्र डा. तुलसी भट्टराईकोयस विचारपत्रमा पनि ताप्लेजुङको अतीतसँग जोडिएका स्मृति र वर्तमानचित्र थिए । एल्डौस हक्स्लेले प्रत्येक व्यक्तिको स्मृतिलाई निजी साहित्य हो भनेका छन्; हामीले तिनै स्मृतिसाहित्य र वर्तमानलाई जोड्यौँ र आआफ्ना साहित्य बोल्यौँ । डा. बेञ्जु शर्माको लागि यो प्रथम साहसिक यात्रा थियो । त्यो अति सुन्दर भूमिको अवस्थिति एवम् मानिसको शिष्टता अनि त्यो कार्यक्रमको गरिमामय संयोजन देखेर उहाँ भावविह्वल हुनुभयो र ताप्लेजुङका उज्ज्वल दिनको कामना गर्नुभयो ।

पं. वृहस्पति गौतमबारेका अनेक संस्मरण सुन्यौँ, केही कविता सुन्यौ, नृत्य र सङ्गीतका दर्शक र स्रोता भयौँ । जिल्लाका सबै प्रमुख र गण्यमान्य व्यक्तित्व उपस्थित भएको पहिलो दिनको कार्यक्रम एक ऐतिहासिक कर्मको रूपमा टुङ्गियो । त्यो समापन गरी भवन बाहिर निस्कँदा साँझ परेको थियो । बजार डुल्दै जता पुग्यौँ त्यतै अतीतप्रेमी आफन्तहरू, उत्साही साहित्यकारहरूको गोलो थियो । जरा लजमा नपुगिन्जेल हाम्रा पितापुर्खाका अतीत भन्नेहरूले एकपल्ट घेरे । म वर्तमानमा छु भन्ने कुरा विस्मृत थियो । यो साहित्य  सम्मेलनले हाम्रो जीवनमा गहिरो प्रभाव पार्नेछ, उत्साही स्रष्टाले व्यक्त गरे ।

भोलिपल्ट वृहत् कविगोष्ठी एवम् सांस्कृतिक कार्यक्रम थियो । बिहानदेखि सन्ध्यासम्मै ठूलो उत्साहले आएका कविहरूले प्रतियोगितामा भाग लिए । घाम अस्ताएपछि बिजुली गएपछि पनि स्रष्टा र स्रोता त्यतिकै थिए । फेरि अर्काेपल्ट आउँला भनी त्यो तिर्खा बाँकी राखेर हामी बिदा भयौँ । त्यस महोत्सवमा भाग लिन दैलेखकी निर्मला गिरी, लम्जुङकी अनुपमा रेग्मी, काठमाडौँका सुधा भट्टराई, अरुणा रेग्मी, डा. अञ्जना भट्टराई, बसन्त बस्नेत,  फोटोपत्रकार नरेश श्रेष्ठ, बलराम अधिकारी, सुनिता बराल, गीता भट्टराई, हेमन्त गौतम, दोलखाका सगुन श्रेष्ठ, सिरहाका सजनकुमार, धरानका शरण राई, धनकुटाका गोपाल गुरागाईं, झापाका प्रकाश आङ्दम्बे, होम गौतम, इलामका धर्मेन्द्रविक्रम नेम्वाङ, पाँचथरका रमेश शुभेच्छुक र निकटवर्तीहरू थिए ।

ताप्लेजुङ साहित्य समाजको प्रमुख उद्देश्य ता साहित्यिक सांस्कृतिक जागरणको निम्ति सबैलाई उत्प्रेरित गर्नु थियो । यसको निमित्त विविध कार्यक्रम भएर हामी प्रस्तुत भयौँ । परिचालित ग¥यौँ । उल्लेख्य कार्यमध्ये (क) कृति विमोचन (ख) कार्यपत्र÷गोष्ठीपत्र विचार प्रस्तुति (ग) सङ्गीत/नृत्य तथा कविता प्रस्तुति (घ) पुस्तकालयलाई पुस्तक र विद्यार्थीलाई पोसाक वितरण थिए । पं. वृहस्पति गौतम स्मृतिग्रन्थ प्रकाशन समितिका तर्फबाट श्री होम गौतमको सक्रियतामा सङ्कलित ६५ हजार मूल्य बराबरका पुस्तक चार ठाउँमा बितरित भएझापा, इलाम तथा फिदिमका कारागार अनि ताप्लेजुङको पाथीभरा क्याम्पस तथा सुभाङ पुस्तकालय । त्यसैगरी सोही समितिले स्थानीय विद्यार्थीलाई १२ जोर सूट (वस्त्र) वितरण गर्यो ।

काठमाडौँदेखि त्यहाँ पुगेर प्रमुख भूमिका खेल्ने संस्कृतिकर्मी माधव श्रेष्ठ, हरि गौतम, लेखनाथ गौतम थिए भने स्थानीयहरूमध्येका अग्रणी, वृहस्पति गौतमका परिवारजन तथा मातृका भट्टराई, भरत गुरुङ,  रामचन्द्र नेपाल, कमला गौतमहरू थिए ।

दोस्रो दिन वाचन गरिएका ३५ वटा प्रतियोगी कवितालाई दुई समूहमा बाँडी पुरस्कृत गरिएको थियो । बालसमूहतर्फ पवन गौतम, बुद्धराज लामा, टामन गौतम र नवीन खतिवडा अनि युवातर्फ लेकाली कान्छा, सवु सुधा, खगेन्द्र पोमु र गोपाल राना क्रमशः प्रथम द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्रापक विजयी भए । टाढाका अतिथि बाहेकका कवितावाचकहरूमा रमेश पौडेल, भवानी खतिवडा, रोम भण्डारी, चूडामणि निरौला,  लक्ष्मीप्रसाद अधिकारी, उदय भट्टराई, रविन सिक्देल, पुण्यप्रसाद न्यौपानै, विरही कान्छा, जितेन्द्र चेम्जोङ, अमृता भट्टराई,  राजेन्द्र चाम्लिङ, देवी अधिकारी, चन्द्र बराल, चन्द्रमणि पौडेल, चन्द्रमणि भण्डारीहरू थिए ।

अन्त्यमा, अत्यन्तै सुन्दर मार्गले जोडिएको ताप्लेजुङ, देश विदेशका पर्यटकको निमित्त एक अपरिहार्य गन्तव्यस्थल बन्दैछ । पाथीभरा माताको दर्शन प्रेमले तथा कञ्चनजङ्घा परिवेशको अनन्त आकर्षणले हजारौँ स्वदेशी एवम् विदेशीलाई आह्वान गरिरहेका छन् । पर्यटनसँगै यस बहुसांस्कृतिक स्वर्गको साहित्य र संस्कृति पनि अब जागेर उठोस भन्ने कामना गर्दै आजलाई यही रोकिन चाहन्छु ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |