हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

जहाँ बुडा र पेष्टको संगम हुन्छ ,(विनोद खड्का)

 

जुन २०१२ । केही समय अघिसम्म युरो २०१२ अन्तर्गत इंगल्याण्ड र फ्रान्स बिचको फुटवल गेम टेलिभिजनमा हेर्दै ककटेल रिसेप्सनमा रमाई रहेको झण्डै १७ जनाको हाम्रो समुह यतिखेर बुडापेष्ट सहरको गल्लीहरु हुँदै रातको खाना खानकालागी डिनर भेन्युतिर लागी रहेको थियो । बाहिर सिमसिमे बर्षा भैरहेको थियो । काला छाता बोकेका केही मानिसहरु ठाँउ ठाँउमा रोकिँदै संकेतात्मक भाषामा थुप्रै गल्लीहरु विच हाम्रा बाटोहरु बताई रहेका थिए । सिमसिमे बर्षाको तल तल हाम्रा पाईलाहरु अगाडी बढिरहेका थिए । थोरै अरु मान्छेहरु सडकमा पैदलयात्री देखिन्थे । हिड्ने बेलासम्म पनि हामीलाई हाम्रो डिनर भेन्युको जानकारी दिईएको थिएन । उनीहरुको भाषामा यो सरप्राईज हो रे । केही बेरको गुम्सिदो झै साँघुरा गल्लीहरुबिचको पैदलयात्राले हामीलाई एउटा खुल्ला ठाँउमा पुर्यायो जहाँबाट खुल्ला ठूला सडकहरु, विशाल नदी, र पारीपटृी भित्तामा हल्का उचाईका हरिया डाँडाहरु देखिन थाल्यो । मान्छेहरुको मुभमेन्ट पनि अलि बढी नै देखिन्थ्यो । अगाडी पटृीको त्यो पुरानो चेन ब्रिजमा ट्रफिक जाम भैरहेको थियो ।

 

युरोपका सात देशहरु भएर बग्ने डेन्युब नदीले हंगरीको बुडापेष्टलाईपनि आफ्नो मार्ग बनाएको रहेछ । डेन्युब नदीका दुबै साईडमा नदीको किनाराहरुसंग जोडिएर लमतन्न दौडिरहेका लामा काला सडकहरु र ती साना सडक श्रृखलासंग टाँसिएका साना हरिया रुखका आवरणहरुले सडक र नदी दुवैको आकर्षण बढाई रहेको महशुस हुन्थ्यो । नदी किनारामा अड्याईएका केही ठूला जहाजहरु जो पर्यटकहरुका लागी रेष्टुरेण्ट हुन भन्ने कुरा प्रष्टै बुझिन्थ्यो अनि थुप्रै मोटोरबोटहरु देखिन्थे जसले त्यहाका सून्दरताहरुलाई अझै उजागर गरिरहेको थियो । त्यसमाथी पारीपटृी बुडा साईडका हल्का उचाईका पहाडहरु र पहाडमा जोडिएका घरहरुले अझै सून्दरताहरु थपेको महशुस गर्न सकिन्थ्यो । केही क्षणमा नै हाम्रो समूह डेन्युब नदीमा तैरिरहेको एउटा ठूलो क्रुजमा प्रवेश गर्यो जो स्वयंममा नै एउटा रेष्टुरेण्ट थियो जहाँ हामीहरु अब डिनर खाने वाला थियौ । यहाँ पनि कार्यक्रमको सुरुवात रक्सी र वाईनहरुको बोतलहरु खोलेर नै भयो । भर्खरै होटेलमा डेड घण्टा लामो ककटेल सकेर आएको यो टोलीले यहाँ पनि कार्यक्रमको शुरुवात ककटेलबाट नै गर्यो । यहाँ पनि पिउने र पिलाउनेहरुको संयोग मिल्यो । पिउनेहरु त पहिले नै तैयार थिए । पिलाउनेहरु पनि के कम । पिलाउनेहरु त पहिले नै पेय र सित्तनहरु सहित तैयार थिए । कु्रजको छतमा मदिरापानको श्रृखला फेरी जोडियो । रक्सी सहितका गिलासहरु एक अर्काको शुभकामना सहित एक आपसमा जुध्न थाले । गफका श्रृखला फेरी जोडियो । व्यापारका कुरा, पारिवारिक कुरा, अनि अनुभव र जीज्ञासाका ओहिरो लाग्यो । कुराहरु कहाँबाट शुरु भयो कहाँसम्म पुग्यो बुझेर बुझिसक्नु नै थिएन । कहिले काही त मलाई यस्तो लाग्छ कि यो संसार त केवल पिउने र पिलाउनेहरुको लागी मात्रै, बाँकी सबै निस्सार । त्यसो त कतिपय मान्छेहरुले यही रक्सी पिउँदा पिउँदै आफैलाई, आफ्ना मूल्य र मान्यतामात्र होईन बरु आफ्नो जीन्दगीलाई नै पनि पिईसकेको पनि मैले देखेको छुँ । अभिवभावक वा परिवारका कुनै सदस्यको जड्यहा बानीले तीनका परिवारहरु नै वरवाद भएको पनि देखेको छुँ । यस्ता आफैलाई पिउनेहरुमा सामान्य जड्यहादेखि लिएर ठूला ठूला डाक्टर, वकिल, ईन्जिनियर नेता, हाकिमहरु पनि देख्न सकिन्छ । जस्तै कठोर मानिसहरु होस वा चाहे त्यो नेता होस वा ठूला प्रशासकहरु या त सामान्य कारिन्दाहरु ह्ुँन धेरै जसो मान्छेहरु पदिय मर्यादा नै बिर्सेर केवल रक्सीका बोतलहरुमा बिकेको प्रशस्त सुन्न सकिन्छ । आखिर के छ यसमा त्यस्तो जो धेरै मानिसहरु नपिई छाड्दैनन मैले अझै पनि बुझ्न सकेको छैन । यतै पिएको छ, उतै पिएको छ, हिजो पिएको छ, आजै पिएको छ, जति पिए पनि नपुग्ने । सबै देशका मान्छेहरु पियक्कड नै हुन कि क्या हो । गाँउको भटिृमा पिएर बाटोमा लड्खडउदै हिड्नेलाई त जड्याहा भन्छन तर यो वातावरणमा पिईरहने यी पीयक्कडहरुलाई पनि जड्याहा नै भन्छन या यसको अर्को कुनै नाम छ त्यो मलाई थाहा छैन । तर फैजा पिईरहेकी छैन । उ पिउन्न पनि । आफुलाई त त्यो चीजको स्वाद पनि पत्तो छैन । आजभोली त हाम्रातिर नवयुवतीहरुले पनि आधुनिकताको पगरी गुथेर रक्सी र वाईनहरुमा रम्न थालेको यत्रतत्र देख्न सकिन्छ । सही सिको हो जस्तो त लाग्दैन तर अहिलेलाई समय नै वलवान रहेछ भनौ, कसले कसलाई सम्झाउन सक्ला र ।

 

साँझको यो रमाईलो वातावरणमा यतातिर कु्रजको छतमा ककटेल पार्टी जमिरहदा यही कु्रजको छतबाट नै पारीपटृीको डाँडामा आकर्षक रुपमा प्रस्तुत भैरहेको बुडा क्यासेल र वरिपरिको सून्दरताको रसास्वादन पनि सजिलै गर्न सकिनथ्यो । पूरा क्रुजलाई हावाले घरि यता घरी उता हल्लाईरहेको थियो । यीनै हावाका झोक्कामा हराउँदै पीयक्कडहरुको पीउने कार्यक्रमले गति लिईरहेको थियो । कु्रजको कहिले यो छेउमा त कहिले अर्को छेउमा म र फैजा छुटृा छुटृै कहिले कोसंग त कहिले कोसंग बात मारिरहेका थियौ । सायद फैजालाई यो बाताबरण त्यति मन परेनछ क्यारे । उ म भएतिर आई । हामीले कु्रजको एक छेउमा कु्रजको बारलाई समातेर हल्ली रहेको कु्रजमा आफुहरुलाई सम्हाल्दै कुरा गरिरह्यौ कहिले यताको त कहिले उताको । बिषयको कुनै अभाव नै थिएन । हामी धेरैबेरसम्म कुराका श्रृखलाहरु भित्र हराएका थियौ । छतमा  पीउने क्रम अगाडी बढ्दै जाँदा र साँझ छिप्पिन थालेपछि क्रुज पनि चल्न थाल्दो रहेछ । करिबन एक किलोमिटरको दूरीमा यो कु्रज कछुवाको गतीमा झै पछाडी जाँदै अनी अगाडी आउँदै गर्दो रहेछ । केही घण्टापछि औपचारिक रुपमा नै पिउने कार्यक्रम सकिए छ । आआफ्ना गिलासहरु च्यापेर सबैजना कु्रजको तल्लो भागतिर लागे जहाँ हामीहरु डिनर खानेवाला थियौ । निकै ढिला गरेर डिनर शुरु भयो । डिनर शुरु भयो पनि के भन्नु, के छ र हामी सुहाउँदो खाना । सबै पश्चिमे खाना, नाम पनि के के हुँन के के हुँन । विफ र हयामलाई पँन्छाउँदै राईस र चिकेन मेनुमा खोज्दै गर्दा धेरै पटक मलाई शुन्य हात परेको छ । यहाँ पनि त्यस्तै भयो । जो थियो ग्रिन सलाद र केही टाकटुके खाना खाईयो न श्वाद भेटियो न पेट भरियो । फैजाको हालत पनि मेरो भन्दा फरक रहेन । कु्रजमा डिनर खाए भनेर के फुर्ती लाउनु । साँझको चीसो सिरेटोसंग बाटैभरी पौठेजोरी खेल्दै थकित शरिरका साथ होटेल फर्कदा झण्डै आधा रात भैसकेको थियो । कु्रजबाट फर्कदा बाटोमा नै हराउँदै कोही कता कोही कता पसेको त पत्तै भएन । होटेल पुग्दा त समुहमा पुरा संख्याको एक चौथाई मात्रै थियौ । कुरो भोलिपल्ट मात्र बुझियो कि कतिपय मान्छेहरु शुरा र सून्दरीको खोजीमा समूहबाट आफुखुसी हराई सकेका रहेछन ।

 

युरोपको सात देशहरु भएर बहने डेन्युब नदीले बुडापेष्टलाई २ किनारामा दूई भागमा बाँडेको रहेछ । १७ नोभेम्बर १८७३ मा पूर्वी किनाराको पेष्ट र पश्चिम किनाराको बुडा र ओबुडा एकिकरण भएर बुडापेष्ट बनेको ईतिहासले बताउछ । दूई किनाराका बुडा र पेष्टलाई जोड्ने थुप्रै पुलहरु मध्ये डाउन टाउनसंग जोडिएको १७० बर्ष पुरानो चेन ब्रिज, अनी सेतो रंगको लिबर्टी ब्रिज र पहेलो रंगको मार्गरेट ब्रिजहरु भने निकैै प्रख्यात पुलहरु रहेछन । यसै डेन्युब नदीको पूर्वी किनारामा हंगेरीको पार्लियामेण्ट भवन निकै आकर्षक देखिदो रहेछ । बुडातर्फ केही अग्ला भागहरु पनि रहेछन । तर पेष्टतर्फ भने समथर भूभागहरु रहेछन । पैदल यात्रा गर्दै हिँड्दै गर्दा शहरका हरेक कुनाहरुमा ऐतिहासिक महत्वका केही न केही कलात्मक संरचनाहरु भेटिई रहँदो रहेछ भने सहर बाहिरको प्राकृतिक सून्दरताको बयान गरेर नै सकिँदैन । ईतिहासमा पढेको हंगेरी र यथार्थमा पुगेको हंगेरी मलाई भने सपना जस्तै लागीरहेको थियो । सफा, चिटिक्क छ हंगेरी, त्यस्तै राम्रा यहाँका सून्दरीहरु, अनि त्यत्ति नै राम्रो तीनका आतिथ्य । तर आर्थिक अवस्था भने ओरालो लागेको छ रे । आर्थिक अवस्थाका कुराहरु वा रोजगारीका कुराहरु आजभोली जहाँ पनि उस्तै उस्तै हो कि जस्तो मलाई लाग्छ सबैतिर ओरालो लागे जस्तो । तर जे भए पनि डेन्युब नदीको पानी सफा रहेनछ । कि त बाँढी आएको हो, कि त यहाँको पानी नै फोहर छ । सफा पानी बगे जस्तो चाँही लागेन मलाई । डेन्युवसंग आर्थिक दूरावस्था तुलना गर्न खोजेको भने होईन ।

 

ईतिहासका थुप्रै आरोह अवरोहहरु पार गरेको हंगेरीसंग अटोमन एम्पाएर, हिटलरको कब्जा, र कम्युनिष्ट शासनसम्मका थुप्रै यथार्थहरु टाँसिएका छन । विविध कालखण्डमा विभिन्न खाले शासन व्यवस्थाको अनुभव गरेको हंगेरीको शहरी भौतिक विकास देखिए पनि मान्छेहरु भन्थे जनताको आर्थिक स्तरले भने खासै विकास गरेको छैन रे । आज आएर पर्यटन व्यावसायमा आश्रित यो देशमा पर्यटनले राम्रो विकास गरेको भएता पनि यहाँको राष्ट्र्यि विमानसेवा मालेभको आर्थिक असक्षमताका कारण देशको पर्यटन व्यवसायमा नराम्रो असर परेको हाम्रो टुर गाईडको ठहर थियो । उसका अनुसार त्यहाँको सरकारी विमानसेवा डेढ महिना अघिमात्र बैंकरप्ट भएको थियो । १९१० ताकाको औद्योगिकिकरणका समयमा यो शहर यूरोपका प्रमूख औद्योगिक शहरहरुमा एक थियो । भनिन्छ सन १९६० ताका यहाको औद्योगिक मजदुरहरुको संख्या करिब ६ लाख थियो रे । दोश्रो विश्वयूद्धमा अमेरिकन र ब्रिटिस सेनाहरुको हवाई आक्रमण र जर्मन सेनाहरुले यहाँका पुलहरु ध्वस्त बनाई दिए पछि यहाँको विकासमा प्रत्यक्ष रुपमा असर पर्न गएको थियो रे । यो देशको भौतिक संरचनाको ठूलो हिस्सा दोश्रो विश्वयूद्धले नष्ट गराईदिएको भन्ने टुर गाईडको भनाई थियो ।

 

प्राकृतिक सून्दरता र एतिहासिक धरोहरहरुले भरिपूर्ण हंगेरी देशका मान्छेहरु मेरा नजरमा सरल र सहयोगी देखिए । हरेक मान्छेहरु विदेशी पाहुनाहरुका प्रश्न र जीज्ञासाहरु मेटाउन तैयार झै देखिए पनि सबै हंगेरियनहरुका लागी भाषाका हिसाबले यो त्यति सहज भने रहेनछ ।

 

यात्राको अन्तिम दिन बुडातर्फको डाँडाको टुप्पोमा अवस्थित एउटा पर्यटकियस्थलको छेउमा रहेको फिसरमेन रेष्टुरेण्टको भित्र हाम्रो दिउसोको खाना खाने क्रम चलिरहदा त्यसै रेष्टुराको झयालबाट डाँडाको तलपटिृ भागमा लामो डेन्युबको धमिलो पानी बहिरहेको देखिन्थयो भने नदीदेखि पारीपटिृ यसै नदीको किनारामा अवस्थित यहाँको पार्लियामेण्ट भवन र परपर सम्म फैलिएको पेष्ट शहर असाध्यै सून्दर देखिनथ्यो । रेष्टुरेण्टभित्र वाईन यात्रा चलिरहँदा म भने रेष्टुरेण्टको झयालबाट परपरसम्म देखिने प्राकृतिक सून्दरताभित्र हराईरहेको थिए । रेष्टुरेण्टको अगाडी पटिृ भागमा पर्यटकहरुको भीड आफ्ना क्यामेराहरुमा वरिपरिका कलात्मक श्रृजनाहरुलाई कैद गर्दै थिए । त्यसपछि हाम्रो यात्रा सिधै एयरपोर्टतिर सोझिएको थियो । हाम्रा टुरगाईड बाटैभरी सडकका वरिपरि अवस्थित ऐतिहासिक महत्वका स्थानहरुको बयान गर्दै थियो । मैले सम्झे मध्य एउटा थियो कि त्यहाको मेडिकल कलेज जहाँ हंगेरियनहरु कम खर्चमा अध्ययन गर्न सक्छन तर विदेशीहरुका लागी भने महंगो छ रे किनभने विदेशीहरुवाट उठाईएको शूल्कबाट स्वदेशी विद्यार्थीहरुको समेत खर्च उठाउनु पर्छ रे । यो कुरा सही हो होईन त्यही गाईड जानोस तर एउटा कुरामा हंगेरियनहरु अझै गर्व गर्दा रहेछन । त्यो कुरा हो हंगेरीको विश्वकप फुटबलको यात्रा । त्यतिखेरका चर्चित फुटवल स्टार फेरेन्स पुस्कासको नाममा त एउटा ठूलो स्टेडियम नै बनाईएको रहेछ जहाँ केवल अन्र्तराष्ट्र्यि स्तरको फुटवल खेलमात्र हुँन्छ रे । फेरेन्स पुस्कासले १० नम्बरको जर्सी लगाएर हंगेरीको टिमलाई क्याप्टेनका रुपमा नेतृत्व दिँदै खेल्दाको समयको सम्झना अझै पनि हंगरियन र अरु फुटवलप्रेमीहरुको सम्झनाबाट हराएको छैन । लगातार ३२ अन्र्तराष्ट्र्यि खेलहरुमा अविजित भएर किर्तिमान कायम गरेको हंगेरीको टीमले सन १९५४ को स्विटजरल्याण्डको बर्नमा भएको पाँचौ विश्वकपको अन्तिम फाईनल खेलमा पश्चिम जर्मनीसंग पराजीत हुँन पुगेको थियो । पश्चिम जर्मनीले हंगेरीको अविजित श्रृखलाहरुलाई तोड्दै पाँचौ विश्वकपको अन्तिम खेलमा तीन दूईको गोल अन्तरमा पराजित गरेर विश्व कपको फाईनल खेल जितेको थियो । यसै विश्वकपको एउटा खेललाई साह्ै झगडिया अवस्थाहरुको श्रृजना भएका कारणले बेटल अफ बर्न पनि भनिन्छ जुन खेलमा हंगरीले ब्राजिललाई चार दूईको अन्तरले पराजित गरेको थियो । जे होस फेरेन्स पुस्कास एउटा त्यस्तो नाम हो जसलाई विश्वकप फुटवल पारखीहरुले एउटा राम्रो खेलाडीका रुपमा कहिल्यै पनि बिर्सदैनन भने हंगेरियनहरुले बिर्सने भन्ने त कुरै आएन । टुर गाईडका यी र यस्तै कुराहरुको वर्णन सकिँदा नसकिँदै हामीहरु सवार बस एयरपोर्टको डिपारचर लाउन्ज अगाडी रोकिई सकेको थियो । 

 

बुडापेष्टको यो सानो भ्रमणले मलाई समग्र रुपमा देशको आर्थिक विकासका लागी पर्यटन व्यावसाय कति महत्वपूर्ण छ र देशको प्राकृतिक, ऐतिहासिक, र सास्कृतिक धरोहरहरुको संरक्षण कति जरुरी छ भन्ने कुरा बुझ्नका लागी अझै मद्धत गर्यो । सबैभन्दा बढि त देशमा दिगो बिकासको महत्व अझै प्रष्ट भयो । पर्यटन व्यावसायलाई आर्थिक विकासका लागी मेरुदण्ड नै मान्दा पनि फरक नपर्ला जस्तो पनि लाग्यो । देशमा शान्ति भयो भने पर्यटन व्यावसाय आफै पनि फष्टाउन सक्छ । हामीसंग हाम्रा देशमा धेरै कुराहरु छन । देश तथा जनताको आर्थिक विकासका लागी धेरै कुरा गर्न सकिनथ्यो । हामीलाई प्रकृतिले प्रसस्त दिएको छ । पूर्वजहरुले संस्कार र संस्कृति छोडेर गएका छन । अहिले पो केही जोडिएन तर ईतिहासले धेरै कुराहरु छोडिदिएको छ । तीनै कुराहरुको संरक्षण र सम्बर्धन गर्दै अगाडी बढ्ने हो र बन्द र चक्काजामका राजनैतिक खेतीहरुलाई सधैका लागी अन्त गर्ने हो भने अझै पनि पर्यटन व्यावसायले हामीलाई राम्रो कमाई दिन सक्छ र हामी दिगो विकासतर्फ अगाडी बढ्न सक्छौ भन्ने मलाई लाग्छ ।  

 

आखिर जे भने पनि देश विकासका सवालमा देशमा एउटा सभ्य राजनैतिक माहौलको आवश्यकता त पर्छ पर्छ । राजनिती कहिल्यै पनि विकासका सवालहरुमा अलग्गिन सक्दैन । यी सबै कुराहरुलाई मध्यनजर गर्दा मलाई यस्तो लाग्यो कि देश विकास र नेतृत्वको जीम्मा लिन्छौ भन्ने राजनैतिक दलहरु र तीनका पदलोलुप नेताहरुको  स्वार्थको साघुरो किल्लाभित्र हाम्रो देश अझै बन्दी भैरहेको छ र थाहा छैन देशमा विकासको शुरुवात कहिले हुन्छ या हुँदै हुँदैन ।

 

हंगेरीको यो सानो यात्रा मेरा लागी ज्यादै अविस्मरणिय छ । संसारका हरेक ठाँउहरु त्यत्तिकै सून्दर छन । फरक यति हो कि हरेक यात्रीहरुले ती ठाँउहरुमा कस्तो अनुभव संगाल्छन । सबैका रहर र चाहनाहरु एकै हुँदैनन । कसैले आफ्नो रहरहरु भरपुर पुरा गर्लान भने कसैले त्यो गर्न नसक्लान । तर यसले ती ठाँउहरुको सुन्दरतामा फरक आउँदैन । जीन्दगीको अर्को कुनै क्षण आफ्नो सबैभन्दा प्रीय मान्छेसंग यो ठाँउमा जीवनको एउटा सानोमात्र समय बिताउने अवसर मिल्यो भने मैले त्यसलाई आफ्नो जीवनको एउटा उपलब्धिकै रुपमा लिनु पर्छ ।

 

९ नोभेम्बर २०१२, शुक्रवार 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |