हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

तारानाथ दाइले नलेखको संस्मरण,(सुस्मिता नेपाल)

स्कुल पढ्दादेखि नै मैले तारानाथ दाइका संस्मरणहरू पढ्ने मौका पाएकी थिएँ।

मैले पढ्ने स्कुलमा नेपाली भाषा पढाउने गुरुले तारानाथ दाइले लेख्‍नुभएको संस्मरण "घनघस्याको उकालो चढ्दा" पढाउनुभएको थियो। गुरुले पढाउँदा म पनि अनुभूतिले त्यही घनघस्याको उकालो चढिरहेकी हुन्थेँ। यति मीठो भाषामा हामीहरूको मन तान्न सक्ने त्यो संस्मरण मेरो हृदयको एक भाग नै भइसकेको थियो। त्यति बेलादेखि नै मलाई  नेपाली भाषामा  सिर्जना भएका त्यस्तै रचनाहरू पढ्न पाए पनि हुन्थ्यो भन्ने लागेको थियो, तर पाउने कसरी ....? 

म गाउँमा जन्मेकी थिएँ। त्यतिबेला हाम्रो गाउँमा छोरा र छोरी बीचको भेदभाव बारीका कान्लाहरूमा बसेर रून्थ्यो। घाँसका भारीहरूमा कसिन्थ्यो। त्यस्तै घरका कामहरूमा छरिन्थ्यो। भाइबहिनीहरूका आवश्यकतामा यतात्यता कुदिरहन्थ्यो । हो, त्यही समयमा स्कुल जान पाउने पहिली छोरी थिएँ म । सिधै स्कुल गएर घर फर्किनु मेरो काम हुन्थ्यो। दायाँ-बायाँ गरेँ भने मेरो स्कुल जाने काम बन्द हुन सक्थ्यो। त्यही डरले स्कुलको पढाइबाहेक आफ्ना मनका कुराहरू मनमै राख्थेँ। त्यतिबेला कोर्सका किताबहरू मात्र पढ्न पाइने थियो। कोर्सबाहिरका किताबहरू पढ्यो भने छोरा होस् या छोरी, बिग्रिन्छन् भन्ने धारणा समाजभरि फैलिएको थियो। यदि हामीले सिर्जनात्मक कृतिहरू पाइहालेम् भने पनि ती कृतिहरूको अनुहार लुकाएर पढ्नु पर्ने हुन्थ्यो। तर त्यस्ता कृतिहरूले हाम्रो गाउँमा अनुहार देखाउन खै कताबाट आउन सक्थे र ? 

कोर्सभित्रका हरेक रचनाहरू म खूब मन लगाएर पढ्थेँ। ती रचनाहरूका स्रष्‍टाहरूका बारेमा सोचिरहन्थेँ- यति राम्रा मन छुने कुराहरू लेख्‍ने स्रष्‍टाहरू कस्ता हुनुहोला ? के उहाँहरूलाई भेट्न सकिएला ? उहाँहरूले हामीसँग पनि कुरा गर्नु होला ? आदि अनेकौँ किसिमका तरङ्गहरूमा कुँदिरहन्थेँ म।
 

समयले मलाई गाउँको स्कुलबाट सहरको बोर्डिङ स्कुलमा ल्याइपुर्‍यायो। यहाँ आइपुग्दा मैले राम्रा-राम्रा कृतिहरूका अनुहारहरूले नुहाउन पाएँ। कृतिका स्रष्‍टाहरूलाई पनि भेट्ने अवसरहरू पाएँ। कति भाग्यमानी म ! मनले सोचेका कुराहरू ढिलै भए पनि मेरा लागि प्राप्‍त हुँदै गए।  

सुनेकी थिएँ – भोलिको कुरा कसलाई थाहा हुन्छ र ? साँच्चै मैले पनि थाह पाइनँ। समयले मलाई देशभरि नाम चलेको स्रष्‍टासँग लगेर भेट गराइदियो। ती स्रष्‍टासँग भेट्न पाउँदा मेरो खुसीको सीमा नै रहेन। मबाट अभिव्यक्त हुन लागेका शब्दहरू मैसँग टाँसिएर बसे। पटक्कै बाहिर निस्केनन्। नसोचेको कुरा झ्वट्ट बाहिर आफ्नै अगाडि उभिँदा मेरो अनुहार रातो भएछ। स्रष्‍टाले मानिसका मनका भावहरू कति सजिलै बुझ्दा रहेछन्। त्यही क्षण मेरालागि  सजिलो वातावरण बन्यो। साहित्यिक कृतिहरू पढ्ने मेरो रहर देखेर राम्रा-राम्रा बीस-बाईसवटा किताबहरू ल्याएर दिनुभयो। ती किताबहरू मध्ये बेलायततिर बरालिँदा  यात्रा-संस्मरणको किताब पनि रहेछ। त्यो किताब त तारानाथ दाइले नै पो लेख्‍नुभएको रहेछ। मेरो मन त उड्दै-उड्दै माथि-माथि आकाशमा पुग्यो। त्यति बेलाको मेरो कलिलो मानसिकताले आकाशको नीलो रङलाई छपक्कै समात्यो र मैले समुद्रको गहिराइलाई छुने गरी एकै सासले त्यो किताब पुरै पढेँ। किताब पढ्दा आफू नपुगेका ठाउँहरूमा दाइले मलाई लिएर जानुभयो। सपनामा पनि नदेखेका जीवनका चित्रहरूका रङ नै रङले मजाले रङ्गिएँ म। सुन्दर-सुन्दर दृश्यहरूले बाँधिएँ। मानिसहरूका सुखदु:खमा म पनि मजाले भिजेँ।
 

आफू जहाँ पुगे पनि देशको मायालाई बिर्सनुहुन्न भन्ने कुरा मैले यही किताबबाट सिक्ने मौका पाएँ। दाइले मानिसहरूलाई, प्रकृतिहरूलाई आफ्नो जन्मभूमिलाई गरेको माया देखेर म पनि त्यस्तै हृदयको हुन सके पनि हुने थियो, के म पनि त्यस्तै हुन सकुँला र भन्ने कुराहरू मनभित्र पलाउन थाले। उहाँलाई भेट्न पाए पनि हुन्थ्यो - जसले मलाई किताब दिनुभएको थियो उहाँलाई मैले मेरो मनको कुरा भनेँ। उहाँको मन्द मुस्कानले मलाई भेटाइदिने कुरातिर सङ्केत गर्‍यो।
 

केही समयपछि मैले मलाई मन पर्ने स्रष्‍टा तारानाथ दाइलाई भेट्ने मौका पाएँ। उहाँको हँसिलो, नम्र स्वभावले भित्र हृदयसम्म छोयो। मैले भाउजूलाई पनि भेटेँ। उहाँको पनि त्यस्तै हँसिलो र मिलनशील व्यक्तित्व रहेछ। दुवै व्यक्तित्वले मलाई आफ्नो स्नेहमा राखेको अनुभव गरेँ। पहिलो भेटमै मैले आत्मीय व्यवहार पाएँ उहाँहरूबाट। मैले उहाँहरूबाट साहित्यका बारेमा धेरै कुराहरू सुन्ने, सिक्ने मौका पाएँ। यसरी दाइ र भाउजूबीच हामी नजिकिँदै जान थाल्यौँ।
 

साँझ आकाशबाट पृथ्वीतिर अ‍ोर्लँदै थियो। बेलुकीको चीसो चीसो हावाले हामीसँग लुकामारी खेलिरहेको थियो। यही अवस्थालाई लिएर हामी तारानाथ दाइको घरमा पुग्यौँ। त्यतिबेला उहाँहरू बानेश्‍वरमा बस्नुहुन्थ्यो। हामीलाई देख्‍नासाथ दाइ र भाउजू दुवैको अनुहारमा खुसीका रङहरू पोतिए। आफूलाई मन पर्ने अग्रजहरूको माया कति शक्तिशाली हुने रहेछ भन्ने कुराको अनुभव सँगाल्ने मौका पाएँ मैले त्यो क्षण।
 

हामीहरूबीच जीवनका अनुभवहरूका बारेमा कुराकानी हुन थाले। ती कुराकानीका बारेमा सुन्ने म श्रोताको रूपमा थिएँ। साहित्य त मेरो जीवमा गाँसिसकेको थियो। नेपाली साहित्यको एउटा स्रष्‍टासँग नै मेरो विवाह भइसकेको थियो। त्यसैले मेरो पारिवारिक जीवन नै साहित्यमय बनिसकेको थियो। यसै हुनाले मैले विभिन्न स्रष्‍टाका रचनाहरू उहाँहरूकै आवाजबाट सुन्ने मौका पाएकी थिएँ। मैले तारानाथ दाइकै आवाजले भरिएका संस्मरणहरू पनि सुन्ने मौका पाएँ। उहाँको वाचन-शैलीले त मलाई हुरुक्कै बनायो। सरल शब्दहरूमा गहिरा-गहिरा विचारहरू व्यक्त भएका स्वदेश र विदेशका बारेमा सिर्जना गरिएका उहाँका संस्मरणहरूले नेपालीहरूको मुटु नै हल्लाइदिन्थ्यो। मेरो मुटु पनि थुप्रैचोटि हल्लिइसकेको छ।
 

दाइ र भाउजूहरूसँग भेटेपछि, हामीबीच हाम्रा पारिवारिक कुराकानीहरू पनि हुन्थे। एकचोटि भाउजूले हामीलाई दाइको बारेमा नलेखिएको संस्मरण सुनाउनुभयो- "दाइ लेख्‍न बस्दा आफ्नो विषयमा पूरै हराउनुहुन्थ्यो। उहाँले लेखिरहेको देखेपछि म उहाँलाई चिया लगिदिन्थेँ। चिया खाइसक्नुभयो होला भनेर कप उठाउन जान्थेँ तर उहाँले चिया खानुभएको हुँदैनथ्यो। त्यो चिया लिएर फर्किन्थेँ । फेरि अर्को कप चिया बनाएर लगिदिन्थेँ। त्यो चिया पनि चीसै भइसक्थ्यो। त्यो चिया पनि लिएर फर्किन्थेँ। यही क्रम फेरि-फेरि दोहोरिरहन्थ्यो। कहिलेकाहीँ त लाग्थ्यो तातो चिया खाँदै लेखे पनि हुन्थ्यो नि। जब उहाँ डुबिरहेको अवस्थाबाट बाहिर आउनुहुन्थ्यो अनि फेरि चिया माग्नुहुन्थ्यो। म उहाँलाई तातो चिया बनाएर दिन्थेँ। उहाँको मुड देखेर म छक्क पर्थेँ।"

भाउजूको कुरा सुनेर मलाई रमाइलो लाग्यो। स्रष्‍टाहरूको स्वभाव त कहाँ फरक हुने रहेछ र भन्ने कुरा मेरो मनभरि पनि खेल्न थाल्यो। मेरो पनि घरमा भाउजूले भन्नुभएकोजस्तै एउटा घटना घटेको थियो। मेरो श्रीमान्‌ले मृत्युको बारेमा कविताहरू लेखिरहनुभएको थियो। जब उहाँ कविताका भावहरूमा चुर्लुम्म डुब्नुहुन्थ्यो तब उहाँलाई चिया चाहिन्थ्यो। लेखिरहेको बेलामा उहाँले चिया माग्नुभयो। मैले चिया बनाएर लगिदिएँ। फेरि चिया माग्नुभयो, फेरि चिया लगिदिएँ। उहाँले तेस्रोपल्ट, चौथौपल्ट पनि माग्नु भयो, मैले लगिदिएँ। मनमा लग्यो उहाँ आज कविताको गहिरो भावहरूमा मजाले डुब्नुभयो। उहाँ साँच्चै नै कविताका भावहरूमा मजाले डुब्नुभएको रहेछ। उहाँले मन दुखाउँदै मलाई भन्नुभयो, "बाबू, तिमीले के गरेको यो ? लेखिरहेको बेलामा मैले एक कप चिया माग्दा पनि दिइनौ, हैन ? तिमीले लेख्दा मैले तिमीलाई चिया बनाएर दिन्थेँ नि।" म हेरेको हेरै भएँ। उहाँलाई जवाफ दिने मसँग कुनै शब्द नै थिएन। चुपचाप मैले उहाँको लागि अर्को कप चिया बनाएँ।  

अर्को दिन पनि उहाँ कविता लेख्दै हुनुहुँदो रहेछ। उहाँले हिजोको जसरी नै चिया माग्नुभयो। मैले चिया बनाएर लगिदिएँ तर चियाका कपहरू उठाइनँ, त्यहीँ छाडिदिएँ। चार पाँचपल्ट चिया लगेर दिएँ, सबै कपहरू त्यहीँ छाडिदिएँ। फेरि उहाँ रिसाउँदै भान्सातिर आउनुभयो र मलाई गुनासो पोख्‍न थाल्नुभयो, "तिमी चिया माग्दा किन दिदिनौँ हँ ?" मैले उहाँलाई चिया लगिदिएको प्रमाणस्वरूप चियाका रित्ता कपहरू देखाइदिएँ। उहाँ केही बोल्नै सक्नुभएन। मैले भनेँ, "हिजो पनि मैले तपाइँले जतिपल्ट चिया माग्नुभयो त्यतिपल्ट नै लगिदएकी थिएँ। तर रित्ता कपहरू भने ल्याएर माझिसकेकी थिएँ। त्यसैले म केही बोल्न सकेकी थिइनँ। आज त मैले तपाईँलाई देखाउन सबै कपहरू त्यहीँ छाडेकी।"

उहाँ केही बोल्न सक्नुभएन। असजिलो मान्दै भन्नुभयो, "हरे, मैले तिमीलाई त्यसै गाली गरेछु।" तर मलाई उहाँको त्यो बेलाको अवस्था साह्रै प्रिय लागेको थियो। उहाँले मृत्युसम्बन्धी एकसय आठवटा कविताहरू लेख्‍नुभयो। सम्झँदा पनि कति रमाइलो लाग्छ मलाई यतिखेर। भाउजूको कुरा सुनेर लाग्यो – स्रष्‍टाहरू सबै उस्तै हुँदारहेछन् । 

दाइको अर्को संस्मरणहरूको अर्को सुन्दर किताब प्रकाशित भयो। मैले सबै पढेँ र दाइलाई भनेँ। माया गरेर पढी भन्ने लागेर होला दाइ खुसी हुनुभयो। उहाँले संस्मरणहरूमा मानिसहरूले पाएका दु:खहरू, सङ्घर्षहरूको बारेमा बडो इमान्दार भएर लेख्‍नुभएको थियो। मलाई लाग्यो, उहाँजस्तो प्रतिभाशाली व्यक्तिलाई राष्‍ट्रले बुझ्न र आदर गर्न सकेन।
 

दाइ र भाउजू हाम्रालागि लेखनको मात्र अभिभावक नभएर घरव्यवहारको पनि अभिभावक भइसक्नु भएको थियो। मलाई आफ्नै बुवाआमालेजस्तै राम्रा राम्रा सल्लाहहरू दिनुहुन्थ्यो । ती सल्लाहहरूले हामीलाई दु:ख परेको बेलामा बलियो भएर उभिन सक्ने बल दिन्थ्यो। दु:खले कमजोर भएको बेलामा उहाँहरूले आफ्ना बलिया हातहरूले हामीलाई उठाउनुहुन्थ्यो।
 

एकपल्ट हामीलाई चरैतिरबाट दु:खले घेरेको बेलामा दाइ र भाउजू सात समुद्रपारि हुनुहुन्थ्यो। उहाँहरूले हाम्रो यो कुरा थाहा पाउनुभएछ । उहाँहरूका  शब्दरूपी बलिया हातहरू हामीलाई उठाउन सात समुद्रपारिबाट पनि हाम फालरे आए। मायाले भरिएका ती शब्दहरूको स्पर्सले हामी खूब रोयौँ र मनलाई हलुङ्गो पार्‍यौँ। दाइ र भाउजूको यस किसिमको बलियो आड पाएर हामी फेरि  उठ्यौँ। यसको प्रमाण उहाँले हामीलाई लेखेको इमेलबाट पनि स्पष्‍ट हुन्छ।
 

प्यारो मञ्जुलभाइ र स्नेहमयी सुस्मिता बहिनी:
 
तपाईँहरू दुक्खी हुनुहुन्छ, आँसुमा हुनुहुन्छ भनेको सुन्दा अति नै पीडा भयो। मञ्जुल र सुस्मिताजस्ता आँखामा राख्ता पनि नबिझाउने यति चेतनशील र मिलनसार दम्पतीसमेत दुक्खी हुनु वा आँसुमा डुब्नु हाम्रो दुर्भाग्य हो, देशैको दुर्भाग्य हो। मञ्जुलभाइलाई त मेरो प्रेरणा मैले मानेको छु। तपाईँले नै सम्स्मरणहरू लेख्‍नू भनेर स्नेहपूर्ण सल्लाह दिए बमोजिम मैले यहाँ सात समुद्रपारि बसेर पनि "चरी भरर" भन्ने सम्स्मरणात्मक सङ्ग्रह तयार पारिसकेको छु। त्यस्ता प्रेरक, सदा हँसमुख, सहयोगी र सबैका प्यारा कवि, निबन्धकार, गायक, चिन्तक र मिलनसार व्यक्तिका आँसुका कुरा सुनेर हामी दुवै रोयौँ।  

यो इमेल हामीले हृदयका पानाहरूमा जतनले साँचेर राखेका छौँ ।
 

उहाँहरूको माया कति शक्तिशाली रहेछ - उहाँहरूको मायाले हामीहरूको जीवनमा नयाँ मोड ल्याइदियो। हामी निर्भिक भएर अगाडि बढ्यौँ। हाम्रो जीवनलाई अगाडि  बढाउन सक्ने यस्तो महान् प्रतिभाको माया, दाइ र भाउजूका लेख्‍न बाँकी सुन्दर संस्मरणहरू नै त हुन् नि भन्ने लाग्छ मलाई।
 
 

Comments

Alaka

कस्तो राम्रो ! कस्तो रमाइलो संस्मरण! म पनि यस लेखका दुई नायकका रचनालाई अत्यन्त मनपराउने पाठक हुँ । आफूले मनपराउने लेखकहरूका बारेमा यसरी टाढा भएर पनि पढ्न पाउँदा कतिआनन्द आउँदो रैछ । 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |