हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

सम्झनामा स्ट्र्याटफोर्ड अपन एभन,(कुमारी लामा)


'टु बि अर नट टु बि'
विश्व साहित्यमा वास्तवमै हलचल मचाउन सफल मनोवाद । सम्झन्छु युनिभर्सिटिका ती दिनहरु जतिबेला शेक्सपियरका यी र यस्तै मनोवादहरुको इन्टरप्रिटेसनमा साच्चै दिमाग निकै बेरसम्म रन्थनिरहन्थ्यो । अनि एक प्रकारको कल्पनामा पनि डुबिन्थ्यो, यस्तो सर्जकको गाउं ठाउंमा पुग्न पाएपनि हुन्थ्यो ।

कुरा गर्न खोज्दै छु एउटा यात्राको मेरा प्रिय मित्रहरु लिला, उदय र फुर्पासंग भएको एउटा अविस्मरणीय यात्रा स्ट्र्याटफोर्ड अपन एभनको ।

लण्डन बसाइले त्यो कल्पनालाई यथार्थ उन्मुख गर्यो । आतुर मनलाई पोखिदिए साथीहरु माझ २०१२ को मार्च महिनाको शुरुवाततिर । सहजै सहमती जनाए यी तीन प्राणीले पनि अनि मभन्दा पनि अघि नै उदयले रेलको टिकट र होटलपनि बुक गर्न भ्याइसकेछन् ।

       
                                    (साथीहरुसँग)
यसरी तय भयो हाम्रो स्ट्रयाटफोर्ड अपन एभनको यात्रा २७ मार्च २०१२ मा ।

किताबमा सिमित ठाउमा आफै पुग्न पाउने उत्सुकताले गाज्दा केही हप्ता काट्न पनि कठीन भए जस्तो लाग्यो । अन्तत २७ तारिक आइनै हाल्यो निकै धेरै उत्साह बोकेर .......

लण्डन मार्लेबन स्टेसनबाट १०:४० को रेल समाउन पर्ने साथीहरु सबै ट्रेनमा चढिसकेका, ट्रेन हिड्न मात्र एक मिनेट बांकी छ म १०:३८ मा बेपत्ताले दौडदै छु । साथीहरु ट्रेनको ढोकामा उभिएर मलाई छिटो दौडिन हात हल्लाउदै छन् । हिल लगाएर अनि दुइटा गह्रौं ब्याग झुण्ड्याएर छुट्न लागेको ट्रेन समाउने मेरो दगुराइ हेर्न लायक थियो होला । अरु बेला भए त्यो हिलमा म त्यसरी कहां दौडन सक्दो हुं । अन्तत छुटिसकेको ट्रेन समाएँ । ठुलो राहत भयो नत्र फेरि पनि शेक्सपियरको गाउं किताबमै सिमित हुन्थ्यो ।

साथीहरुको करकर एक छिन सुन्नु पर्यो, ठिकै छ भन्ठाने अनि बल्ल निकै बेर पछि मात्र सामान्य सास फेर्न सुरु गरें ।

यात्रा शुरु भयो । डेढ घण्टे ट्रेनको यात्राभरि शेक्सपियर छाइरहे । उनका डेस्डिमोना, ह्यामलेट, ओथेलो लगायतका पात्रहरु कता कता दिमागभरि दौडिरहे । त्यही उत्सुकताले होला यात्रा लामो लागेन । त्यो घमाइलो दिनमा लण्डन छाडेको डेढ घण्टामा शेक्सपियरको गांउ पुगियो ।

त्यहाँ पुग्दा नपुग्दै मेरो मन भने भुवासरी उड्न थालिहाल्यो । म साथीहरुलाई वास्तै नगरी हतार हतार स्टेसन बाहिर निस्किएँ अनि लामो स्वास लिएँ । यही हावामा यही ठाउंमा यी महान लेखकले शास फेरेका थिए । यही माटोमा उनी खेलेका थिए, दौडेका थिए, हुर्केका थिए अनि उनका अजर अमर कृतिहरुको जन्म भएको थियो । मन एकछिन भावुक भयो ।

साथीहरु होटलको ठेगाना पत्ता लगाउन ब्यस्त रहँदा म भने आफ्नै धुनमा त्यही हावा, त्यही वातावरणमा हराउदै रहें । आइफोनको प्रविधिले गर्दा साथीहरुलाई ठेगाना पत्ता लगाउन धेरै समय लागेन । ६, ७ मिनेटको हिडाइ पछि पुगि हालियो होटल । जब होटलको नाम यिनै प्रिय लेखकको नाममा रहेको देखें खुसीले मन निकै उफ्रियो,  होटल शेक्सपियर मर्कयुर,  रमाइलो लाग्यो ।

मेरो भागमा रुम नम्बर १२८ पर्यो तर चेक इन टाइम नभइसकेकाले हामी त्यहीको टाउन सेन्टरतिर लाग्यौ ।

शान्त एभन नदी टाउनको छेवैबाट बगेको रहेछ । घमाइलो दिन भएकाले होला सायद निकै धेरै मान्छेहरु भेट्यौ एभनको किनार र छेउको पार्कमा सुस्ताइरहेका । स्कुले केटाकेटीदेखि बृद्धबृद्धाहरु आआफ्नै धुनमा मस्त भेटिए ।

एभनमा ग्राहक कुरेर बसेका निकै धेरै रंगीचंगी डुंगा र मोटरबोटहरु देखिए । मलाई शेक्सपियरको झझल्को लाग्यो । कल्पें उनी यही नदी किनारमा बस्थे होलान्, कहिलेकाही पौडन्थे पनि होलान् अनि पौडदा पौडदै टेम्पेस्टका अजीव पात्रहरु देखि मायालु डेस्डिमोनाहरु दिमागभरि भर्थे होलान् । यो सान्त सानो सहर र रमणीय वातावरण नै उनका श्रृजनाका जननी हुन् ।

दिनको १२ नाघिसकेकोले केही खाएर नै होटल चेकइन गर्ने सल्लाह भयो । अनि लागियो नजिकैको क्याफे इटालियामा पिच्जा र ग्रिल खान । १५ मिनेटको कुराइपछि मात्र खानेकुरा आइपुग्यो । सानो कदकी युरोपियन वेटरेस निकै फुर्तिली रहेछिन् । टिप छाड्न पनि आनन्द लाग्यो । खाइपिइ पछि होटलको चेकइन टाइम पनि भएकाले लागियो होटलतिर ।

साथीहरुको रुम १२५ र १२९ अनि मेरो चहि १२८ ।

एक छिनको थकाइ मराइ र रिफ्रेसमेन्टपछि हामी लाग्यौं एभन रिभरको बोटिड.मा । एक घण्टा बोटिड.को साढे पांच पाउण्ड तिर्दापनि कुनै गुनासो भएन । बोटिड.कै क्रममा प्रकाश सायमी दाइलाई सम्झिएँ एक पटक । अघि ट्रेनमा हुदा प्रकाश दाइसंग एकछिन स्काइपमा कुरा भएको थियो अनि म शेक्सपियरको गाउंतिर जादै छु भन्दा

"ए त्यसो भए रमाइलो गर्नु अनि जबरजस्त लेख्नु" भन्नुभएको थियो अनि मैले पनि पक्का लेख्छु भनेकी थिएँ । अघि त्यसै भनेकी भएपनि अहिले लाग्दैछ यो एभनको जलयात्रा अनि वरपरको मनोरम वातावरणले जो कोहीलाई पनि लेख्न प्रेरणा दिने रहेछ ।

बोटिड. सक्दा लगभग ५ बजेको थियो । त्यो सानो टाउनमा चहलपहलपनि निकै, अनि छेउछाउमा देखिएका पबहरुमा घुइचो बढ्ने क्रम पनि जारी....

हामी चार प्राणीहरुको एकछिन टाउन घुमाइ र भोलि हेरिने शेक्सपियरको घर ठेगाना पत्ता लगाएपछि हाम्रो बसाइ पेन एण्ड पार्चमेन्ट पबको घाम मज्जाले लागेको सडक छेउमा राखिएको कुर्सिमा भयो । साथीहरुले धमाधम बियर मगाए अनि त्यो थकाइ र घामलाई बिर्साउन आंखा चिम्लिएर पिइयो केही पाइन्टहरु....समरको सुरुवातीसंगै आनन्दित हुदै बियर पिउनेहरुको भिडमा उसै गरी निकै बेर सामेल भइयो ।

शेक्सपियरको बर्थ प्लेस, अन्य घरहरु अनि म्युजियम हेर्न भोलिलाई छुट्याइएकाले आजको साँझ राम्रो डिनरकोलागि तय भयो । साँझको सात बजेतिर एउटा इन्डियन रेस्टुरेन्ट भेटियो, थेस्पियन बाड.लादेसि एण्ड इन्डियन रेस्टुरेन्ट, हाम्रो होटलबाटपनि नजिकै । पसियो गरर । अनि अर्डर गरियो फेरि वियर, पापड, नान, करि अनि अन्य पनि धेरै.....

सोचे भन्दा पनि राम्रो र रमाइलो भयो हाम्रो डिनर । एक जना वेटर, भरखरका हसमुख केटोले हामीलाई सर्भ गरे । उनी निकै राम्रा र हँसिला थिए । साथी लिलालाई भनेको त त्यही वेटरलाई बोलाएर कुरा फुस्काइदिइ हालिन् । 'माइ फ्रेण्ड लाइक्ड यु ।' अलिकति लाजपनि लाग्यो । उनी हाँसे अनि म पनि । बाड.लादेशी म्यानेजर रहेछन् अलि पाका अनि बोलैया । हामी नेपाली भन्ने थाहा पाएपछि उनी हिन्दीमा बोल्न थाले अनि मित्रहरु पनि फटाफट हिन्दीमा गफिन लागे । म उनका कुरा सुनिरहें । निस्किने बेलामा मैले एक्स्ट्रा टिप्स छाडिदिएँ अनि ती वेटरसंग हात मिलाएर 'थ्याड. यु फर योर गुड सर्भिस' भनेँ । बाहिर निस्किए पछि यसो झ्यालबाट भित्र हेरेको उनी पनि हामी तिर नै हेर्दै थिए । म हांसिदिएँ अनि प्रतिउत्तरमा उनको मुस्कान आयो । हामी होटल तिर लाग्यौं । उनको हांसो सम्झनामा रहिरह्यो ।

२८ मार्चको बिहानी नित्य कर्म र चिया पछि हाम्रो कौतुहलताको ठाउं शेक्सपियर बर्थ प्लेस सेन्टरतिर लाग्यौं । होटलबाट मात्र लगभग आठ मिनेतजतिको हिडाइपछि पुगियो तर १० बजेपछि मात्र खुल्ने रहेछ | त्यसैले हामीसंग बांकी केही समय वरपरको घुमघामको लागि तय भयो । अनि लाग्यौँ एभन नदीको किनारैकिनार अलि पर रहेको बटरफ्लाइ फार्मतिर । बिभिन्न जातजातिका पुतलीहरुलाई संरक्षण गरि राखिएको फार्म । बिहानको कलिलो घाममा खुलेको सानो स्ट्र्याटफोर्ड टाउन, आफ्नै धुनमा सुसाउँदै गरेको एभन, बिस्तारै खुल्दै गरेका पसलहरु अनि बढ्दै गरेको मानिसको चहलपहल निकै रमाइला थिए ती दृश्यहरु । ती क्षणहरु क्यामेरामा कैद गरिए । सम्झनामा हामीसंगै सधै रहने बाचाहरु मनमनै कबुल भयो ।

       
        (शेक्सपियरको ओछ्यान)                   (शेक्सपियरको फूलबारी सहितको घर)
शेक्सपियरको घर, बगैचा हेर्ने कौतुहलता र रोमान्चकतालाई अब बढी समय थाती नराख्न १० बजेको घडीको सुइ घुमाइसंगै उफ्रिए पाइलाहरु १४ पाउण्डको महड.गो टिकट कटाइतिर । तर अफसोच केही भएन
, आखिर लामो समयको कौतुहलता जो मेटिदै थियो तुरुन्तै केही समय पछि ।

ती महान लेखकको घर हेरिहाल्ने उत्सुकतालाई दुइवटा टेलिभिजन प्रिजेन्टेसनले अलि बाधा पुर्याए जस्तो लागेपनि उनको बारेमा प्रि इन्फरमेसन दिने सिस्टम्याटिक तरिका भने बहुत सुन्दर र सर्हानीय थिए ।

पहिलो टेलिभिजन प्रिजेन्टेसनमा शेक्सपियरको जीवनको अघिल्लो समयका कुराहरु जो उनी लण्डन जानुभन्दा पहिले भएका थिए त्यसको बारेमा भिजुअल सहित जानकारी गराए । त्यत्ति सकेपछि अटोम्याटिकल्ली एउटा ढोका खुल्यो । हामी सबै भित्र पस्यौँ अनि ढोका बन्द भयो । त्यहाँ अर्को ठुलो स्क्रिनमा उनको लण्डन बसाई, सफलता पछि सफलता पाएका कुराहरु र अन्तमा उनका विश्व प्रसिद्ध नाटक र कविताका पड.तिहरुको भव्य वाचन.....

अनि हाम्रोलागि अर्को ढोका खुल्यो जो शेक्सपियर जन्मे हुर्केको घरको बगैंचातिर लाग्दो रहेछ । म एकछिन गम खाएँ यो अति नै सिस्टम्याटिक र डिसिप्ल्न्डि तरिका देखेर । मित्र उदयले पक्क बोले 'खै त हाम्रो देबकोटाको यस्तो म्युजियम र उनी बसेको घरको संरक्षण?' मन चसक्क भयो । हाम्रो राष्ट्र्ले खै त हाम्रा लेखकहरुलाई दिन सकेको सम्मान । के यो गरिवी नै हो त कारक? मन अलि आन्दोलित भयो ।

१६औं शताब्दीको त्यो घर जहां शेक्सपियर जन्मेका थिए, जुन झोलुड.गोमा उनी सुतेका थिए, जुन भोटो उनलाई लगाइए, जुन बगैचामा उनी दौडिए ती सबै सबै सुरक्षित..... म अवाक भए । आखांहरु रसाए जस्तो भयो ती खाटहरु स्पर्श गर्न पाउंदा, त्यो फायर प्लेस देख्दा, अनि डाइनिड. टेबल अनि उनलाई सानोमा लगाइदिने गरिएको केटीको जामा देख्दा । छोराहरुलार्ई इभिल स्पिरिटले लैजान्छ अथवा कसैले चोर्छ भनेर केटीको जामा लागइदिन्थिन् रे उनलाई उनकी आमाले ।

त्यो बिशाल घर अनि पुर्वतिर बगैंचापट्टि आधा उघ्रिएको झ्याल मेरो आखैमा बसिरह्यो । कल्पें बालक शेक्सपियर त्यही झ्यालबाट बिसाल बगैंचातिर हेर्थे होलान् । ढकमक्क फुलेका फूलहरु देख्दा रमाउँथे होलान् ।

घर सबै घुमिसकेर निस्कने बेलामा आखा पर्यो ढोका छेउको टेबलमा राखिएको एउटा मोटो खातामा । भिजिटरहरुले आफ्नो नाम र अनुभव पोख्न सक्ने खाता । मैले पनि आफ्नो नाम र देशको नाममा नेपाल लेखें अनि केही अनुभूति पनि । यो लेख्दै गर्दा आफुलाई एकपटक निकै भाग्यमानी ठानेँ , मेरो टाढाको देशलाई सम्झिएँ अनि सम्झिएँ मेरो देशका धेरै स्रष्टाहरुलाई जो शेक्सपियर जति भग्यमानी छैनन् ।

मैले नेपालको मेरो गाउँको सानो रातोमाटे स्कुलमा पढ्दै गर्दा सुनेको यी महान लेखक र युनिभर्सिटिमा उनका नाटकहरु पढ्दै गर्दा कल्पिएको उनको ठाउं आज यसरी प्रत्यक्ष देख्दा, मेरो क्यामेराभरि कैद गरी कहिले नमेटिने सम्झनाहरु मनभरि संगाल्दै फर्किन पाउंदा अनायासै अनौठो सुखको अनुभव भइरह्यो । 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |