हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

ह्वागंपु नदीका छालहरु ,(बिनोद खडका )


अक्टोबर २०१२
, संघाई, चाईना । सबैका आआफ्नै सोचाईहरु हुन्छन । एउटाको सोचाई अर्काको सोचाईसंग मिल्नुपर्छ भन्ने जरुरी छैन । सायद यीनै सोचाईहरुका विभिन्नताहरुले होला हरेक मान्छेहरुको जीन्दगीका आआफ्ना रोडम्यापहरु तय हुन्छन । तर सोचाईको मूल कहाँ हुन्छ कसरी सोचाईहरु निर्माण हुन्छन र यो कसरी व्यक्तिको आआफ्ना रोडम्यापहरुमा समाहित हुन्छन त्यो नितान्त रुपमा बृहत विश्लेषणको बिषय हो तर यो लेखनको लक्ष्य होईन । त्यसैले यस बिषयलाई यही नै बिट मार्छु । त्यसैगरी भोगाईहरु एकै हुन सक्छन तर सबैका भोगाईका अनुभवहरु पनि एउटै हुनुपर्छ भन्ने छैन । एउटै भोगाईलाई पनि विभिन्न व्यक्तिहरुले हेर्ने दृष्टिकोण तथा गर्ने अनुभवहरु फरक फरक हुन सक्छन । यस अर्थमा कुनै पनि यात्राका सन्दर्भमा निक्लने मेरा सोचाईहरु र भोगाईहरु अरुका सोचाई तथा भोगाईहरुसंग नमिल्न सक्छन । यसका लागी क्षमाप्रार्थी छुँ ।

 

ईटालियन साथी फ्रान्सेस्काका सोचाईमा बिबाहपूर्वका विदाहरु सबैभन्दा रमाईला हुन्छन । ती समयका रमाईलाहरुको अरु समयका रमाईलाहरुसंग कुनै तुलना नै गर्न सकिदैन । ती अतुलनिय रमाईलाहरुलाई उसकै भाषामा भन्नु पर्दा विदा मनाउन घरदेखि धेरै पर गईएको होस, घमाईलो दिन, साथमा प्रेमी, बिकिनीमात्र लगाएर समुन्द्री किनाराका बालुवामा उत्तानो परेर बिन्दास सनबाथ गर्नुमा जत्ति आनन्द बीरलै अरुमा होला । उ मलाई भन्थी त्यही किसिमको आनन्दी परिवारजनका अन्य सदस्यहरुका साथ मनाईदै गरेको बिदामा पूर्ण रुपले असम्भव नै हँुन्छ । परिवारकासाथ बाहिर गएर मनाउने विदाहरुमा रमाईलोका रहरहरु मेट्न सकिन्न । जीम्मेवारीले जेलिएर पनि कही बिदामा रमाईलो मनाउन सकिन्छ र? उ प्रश्न गर्छे । उसका बिचारमा जब जीम्मेवारीको सवाल आउँछ, मनोरन्जनको कुराहरु पर भाग्छन । मैले उसको कुरा यदी सही बुझेको हो भने बच्चाहरु लिएर समुन्द्री किनारामा सनबाथ लिन जानुको कुनै औचित्य नै छैन किनभने पुरा ध्यान बच्चाको हेरविचार र सूरक्षामा नै खर्चिनु पर्ने हुन्छ । परिवार वा साथीभाईहरुका साथ मनाईने बिदाका अवस्थाहरु फरक फरक तरिकाका हुन्छन जसमा कसले कसको सोचाई अनुसार अगाडी बढ्ने भन्ने कुरा प्राय अप्ठयारो बिषय बन्न जान्छ । समग्रमा भन्दा हरेक व्यक्तिले अर्काको सोचाई अनुसार अगाडी बढ्नु पर्ने भएपछि स्वभाविक रुपमा उसले पाउने सन्तुष्टी पनि कम नै हुन्छ भनेर भन्न सकिन्छ । एउटा कार्यक्रममा भाग लिन सान फ्रान्सिस्को पुगेको डच मित्र जान जाप औपचारिक कार्यक्रम सकिएपछि अरु एक हप्ता त्यतै बिदा मनाउने सुरसारमा रहेछ । उसको भनाईमा यो उसको उत्कृष्ठ विदा हुँनेछ रे । किन? भन्ने मेरो प्रश्नको उत्तरमा उसले भन्यो कि उ यो बिदा एक्लै मनाउँदै छ । मेरा सात बच्चाहरु यो बिदामा मसंग छैनन । तर दूर्भाग्य मेरी पत्नीलाई यतिखेर बहुत जीम्मेवारी थपिएको छ । तर अर्की ईटालियन मित्र एन्जेलाको कुरा अर्कै छ । अफिस कम्युनिकेटरमै पनि उ भन्छे बिदाका ती दिनहरु जब उ पुरा परिवारका साथ हुँन्छे र त्यहा खानापिना नाचगान हुँन्छ त्यतिखेरको रमाईलोको बयान गरेर साध्य नै छैन । त्यसैले त उ हरेक बिदा र पर्वहरुमा रोमबाट ईटालीको आफ्नै गृहनगर पुगिहाल्छे । मेरा आफ्नै कुरा गर्दा, मेरा साथीहरु भन्छन तैले त धेरै घुम्ने मौका पाईस तलाई त रमाईलो छ । मलाई रमाईलो छ वा म रमाईलो मनाउन सक्छु वा सक्दिन त्यो आफ्नै ठाँउमा छ तर कतिपय मान्छेहरु अर्काका घर परिवारमा भार दिएर पनि बिदा मनाउन निक्लेका हुँन्छन । कतिपय उच्च पदस्थ कर्मचारीहरु, वा प्रशासकहरु र राजनैतिक नेता तथा तीनका कार्यकर्ताहरु पनि अफिसियल कामको बहानामा भनौ वा मौकामा चौका भन्दै सरकारी खर्चभित्रै परिवारका साथ मनोरन्जन गर्न निक्लेका हुन्छन । तीनले अफिसका खर्चमा पारिवारिक बिदा मनाउन खोजेको हो वा अरु नै के हो यो सहजै बुझन सकिन्छ । भ्रष्टाचारको परिभाषाभित्र यस्ता कुराहरु आउँछन आउँदैनन त्यो पनि भगवान नै जानुन । तर जे होस फ्रान्सेस्का भन्थी विदा मनाउन गएका समयमा होटेलमा लिईने सावर र त्यहाँको बिहानीको बुफे ब्रेकफास्ट र होटेल बाहिरको सुरक्षित स्थानमा लिईने मसाजको त जवाफ नै छैन । यो कुरा पनि सही हो । बिदा मनाउने क्रममा मान्छे थाकेको हुन्छ । थाकेको बेलामा लिईने मसाज सेवा पक्कै पनि राम्रै हुने होला । फ्रानसेस्काका यी कुराहरु चाँही मैले तब सम्झे जब मैले संघाईमा मेरा नजरका सामु लाईननै खडा भएका मसाज पार्लरहरु देखे । म यहाँ विदा मनाउन आएको होईन बरु आफनो जीम्मेवारीभित्रको खास कामका लागी आएको थिए र मेरा लागी मनोरन्जन यहाँ गौण बिषयमात्रै हो । यथार्थ के हो भने म मसाज पार्लर खोज्दै हिडेको होइन बरु मसाज पार्लरहरु नै मेरो बाटोमा परेका हुँन जुन पूर्ण रुपले संयोग मात्र हो ।     

 

केही समय होटेलको आफ्नो कोठामा आराम गरेपछि साँझको समय म होटेलबाट बाहिरतिर निक्लिए । होटेलको मूख्यद्धारमा पाहुनाहरुका स्वागतका लागी बसेका होटेलका केही कर्मचारीहरुलाई बजार कता छ, सपिंग सेन्टरहरु कता छ भनेर सोधेको उ उसका मुखमा उ उसको मुखमा हेरेर अलमल्ल पर्न थाले । मानौ यो साह्ै कठिन प्रश्न हो र भरसक जवाफ दिने जिम्मेवारी अर्काले लिई हालोस । एउटाले दौड्दै गएर परतिर भएको उसको अर्को साथीलाई बोलाएर लेरायो । मानौ उसले जवाफ दिन सक्नेछ । तर त्यो पनि त्यस्तै निकल्यो । समस्या भाषाको रहेछ । अंग्रेजी नै बोले पनि बोल्ने तरिका वा चाईनिजहरुले गर्ने अंग्रेजी शब्दको उच्चारण बुझन त्यति सजिलो रहेनछ । उसले भन्ठानेछ कि मैले सुपरमार्केट खोज्दै छु । जे होस त्यसले कम्तीमा होटेलको पछिल्लो साईडतिर जाने बाटो देखाई दियो । म त्यतै लागेँ । नभन्दै त्यतापटिृ एउटा सुपरमार्केट रहेछ । सुपरमार्केटभित्र केही ताता ताता खानेकुराहरु पनि बेच्न राखिएका रहेछन । सुपरमार्केटभित्र एक फन्का मारेपछि म बाहिर निक्लिएँ । म बसेको होटेल चौबाटोको एउटा कुनामा थियो । म यही चौवाटोको एउटा कुनाबाट आफु बसेको होटेललाई नियाल्दै थिए । ओहो यो त गगनचुम्बी होटेल पो रहेछ । तलबाट माथितिर हेर्दा आफनो टाउकाको टोपी नै भुईतिर झर्ला जस्तो । त्यसो त म आफु नै यो होटेलको ३६ औ तलामा बसेको थिएँ र मेरा कोठाका झयालहरुबाट हेर्दा तल सडकमा गुडिरहेका गाडीहरु निकै साना देखिन्थे । मैले होटेललाई आफुसंग टाँसेर आफ्नै सामसुंग ग्यालेक्सी एस ३ मोबाईलको क्यामेराबाट केही तस्विरहरु खिच्ने प्रयास गरँे तर मेरा प्रयासहरु मेरा चाहना अनुसार तस्विर बनाउन सफल भएनन । सँन्ध्याले रात्रीकालिन रंगहरु भर्न थालिसकेको थियो । बिजुली बत्तिले नभेटेको ठाँउतिर अँध्यारो अँध्यारो नै थियो । पैदलयात्रीहरु पनि आआफ्ना गनतव्यतिर पाईलाका गतिहरु बढाईरहेका थिए । ठूला ठूला टावरहरु रंगिन बिजुली बत्तिहरुको उज्यालोमा चम्किला र अझै सून्दर देखिन थालिसकेका थिए । बाहिरको मौसम अलि चिसै थियो । तर पनि मलाई भने आफ्नै ज्याकेटभित्र आफैलाई गुम्सिरहेको आभास भईरहेको थियो । मैले होटेलको पछाडी भागलाई लक्ष गरेर आफ्ना पाईलाहरु बढाए । म मूख्य सडकलाई छोडेर दाँयातिर लागे । चौबाटोलाई जोड्ने मूख्य सडकबाट छुटिृएको यो सानो सडकको वल्लो फुटपाथ करिब करिब शून्य र केही अध्यारो थियो भने पल्लो पटिृ रंगिन संसार तैरिरहेको महशुस हुनथ्यो । त्यो साईडमा सडकको वल्लो छेउदेखि पल्लो छेउसम्म पुरा रंगिन बत्तिहरुमा मसाज पार्लर र बारहरु चम्किरहेका देखिन्थे । केही सून्दरीहरु ग्राहकका स्वागतका लागी बाहिर नै उभिईरहेका थिए । मसाज पार्लर र बारका सून्दरीहरुले पारिबाट नै हात र आँखाका तीरहरुले मलाई पनि निम्ताई रहेका थिए भन्ने बुझन मलाई गाहे परेको थिएन । यद्यपी तीनका आँखाका तीरहरु मलाई सडकको वारीसम्म ठम्याउन त्यति सजिलो भने थिएन । त्यहा त्यत्ति धेरै मसाज पार्लर र बारहरु थिए तर ग्राहक शुन्य नै भए झै महशुस हुँनथ्यो । मैले परसम्म पुगेर ट्रफिक सिंग्नल नगिचैबाट सडक पार गरेर पल्लो लाईनमा पुँगे । अर्थात यतिखेर म त्यही बार र मसाज पार्लरहरु भएतिरकै फुटपाथमा हिँड्दै थिए । बारका भित्रपटिृ कतै पश्चिमे संगित त कतै चाईनिज संगित घन्किरहेका थिए । अँध्यारो भित्री भागमा मसिना मधुरा बत्तिहरु बालेर सायद बारभित्र एकान्तपन श्रृजना गर्न खोजिईरहेको थियो । छोटा छोटा लुगामा सजिएका सून्दरीहरु भित्रैबाट पनि पैदल यात्री र बारतिर हेर्नेहरुलाई बोलाईरहेका थिए । मलाई पनि बोलाईरहेका थिए । तर मसाज पार्लरहरु भने भित्रदेखि बाहिरसम्म उज्यालो थियो र यहाँ पनि  छोटा छोटा लुगामा सजिएका सून्दरीहरु बाहिर फुटपाथसम्म नै निक्लेर पैदल यात्री र बारतिर हेर्नेहरुलाई बोलाईरहेका थिए । मसाज पार्लरभित्रको उज्यालोमा सेता ब्लाउज र काला स्कर्ट लगाएका ती चाईनिज सून्दरीहरु साँच्चै नै हेरिरहुँ लाग्ने झै नै देखिएका थिए । मलाई पनि तीनका बोलावटले मसाज गराउने रहर नचढेको त होईन तर एक्लै परदेशको भूमिमा जहाँ पायो त्यहाँ छिर्नु सूरक्षाका हिसाबले सम्बेदनसिल हुँन सक्छ भनेर मैले मेरो आफ्नै मनलाई मारेर अगाडी बढेको थिए । अनौठो कुरा के थियो भने त्यत्रा सेवा केन्द्रहरु देखिए तर सेवाग्राही भने पटक्कै देखिएनन । यदी यस्तै नै हो भने यीनको यो व्यापार कसरी पो चल्दो हो । तर जे होस तीनका खुल्ला निम्तोले म साह्ै लज्जाएको थिए भन्ने कुरा मलाई तब मात्र थाहा भयो जब तीनै मध्यकी एक षोड्सीले अनायासै सडकको वल्लो किनारामा मेरा सामुन्ने परेर उसका एक जोडी आँखाहरुले मेरा आँखाहरुलाई निल्न खोज्दै थिई तर म भने उसका आँखामा आँखा मिलाउन नसकेर नराम्रोसंग खुम्चिएको थिए ।

 

बार र पाार्लर लाईनको यात्रा गर्दा देखि नै भोक लागिरहेको थियो । अझै भनौ जोड जोडले लागिरहेको थियो । के खाने कता खाने अझै प्रष्ट भैसकेको थिएन । संगैको पछिल्लो लाईनमा रेष्टुराहरु त देखियो तर भित्रै पसेर हेर्दा पनि तीनका मेनुमा मैले बुभ्mने खालका खानेकुराहरु भने देखिएनन । म ती रेष्टुराहरुमा पस्दै खानेकुराहरु खोज्दै हेर्दै फेरी बाहिर निक्लेको देख्दा कतिपय पसलेहरु अनौठो मानेर मलाई हेर्थे । अब आफुले खानेकुरा नै नबुझेपछि र चाईनिजमा बोल्न पनि नसकेपछि र उनीहरुले मैले बोलेको अंग्रेजी भाषा नबुझेपछि कसको के लाग्छ र । अहा, मिल्यो एउटा रेष्टुरामा मटन सुप, अण्डा फ्राईड राईस र चिकेन मिल्यो । ढुंगा खोज्दा देउता मिले जस्तो । म दंग परेर ज्याकेट फुकालेर मेच पछाडी राखेर खाना खान तयार भई हालेँ । चीसो साँझमा त्यो मटन सुप कति मीठो भाको थियो बयान गरेर साध्य नै छैन ।  सबैभन्दा रमाईलो त मलाई त्यो रेष्टुराको ढोकाको भित्रपटिृबाट ढोका माथि नै राखिएको त्यो विशाल तस्विर लाग्यो जुन माउत्से तुंगको थियो । उनको तस्विर यस्तो थियो कि मानौ माउत्से तुंग तस्विरबाट ओर्लिएर मैसंग खाना खान अहिले आउलान झै लाग्ने । तस्विर नै त्यस्तै प्रकारले सजाईएको थियो । सरल स्वभावका चाईनिजहरु र उनीहरुको आतिथ्य रहर लाग्दो नै हुँदो रहेछ तर भाषाको समस्या त कसले पो टार्न सक्छ र । पेट टन्न भयो । बिल तिरेर बाहिर निक्ले । शहर रात्रीका लागी बयष्क हँुदै थियो । ओहोर दोहोर बढि रहेको थियो । मलाई छिटृै गएर ओछ्यानमा सुती हाँलु जस्तो पनि लागेको थिएन । त्यसैले मैले मान्छेहरुको अलिक भीड लागेको ठाँउ पछ्याउँदैै त्यतै लाग्न थालेँ । मलाई मान्छेहरुको भीड किन लागेको रहेछ भनेर बुझ्नु थियो । तर धेरै जसो भीड सुपरमार्केट, अरु फाष्टफुड पसलहरु र खासगरी बसस्टेसन भएका कारणले गर्दा देखिएको रहेछ । यो हल्का चिसोमा मैले होटेल वरिपरिका कुनै पनि गल्लीमा हिँडन बाँकी राखिन । एउटा बाटोमा जहाँ एउटा छेउबाट म बिस्तारै हिँड्दै थिए हो त्यसैको अर्को छेउबाट फैजा दाँया बाँया कतै नहरी सिधा अगाडीतिर लम्किरहेकी थिई । पछि कुरा बुझियो कि उ सुपरमार्केटमा सपिंग गर्न गाकी रे । मैले पनि उसलाई बोलाईन ।

 

भाषाको कुरा गर्दा एउटा अनौठो घटना सम्झनामा आयो । आफु बसेकै होटेलमा भोलिपल्ट बिहान म बुफे ब्रेक फाष्ट खाँदै थिए । वेट्र्ेस आएर कफी पिउने हो भनेर सोधी । मैले चीया माँगे । हुन्छ भनेर गई तर चीया लामो समयसम्म आएन । उ पनि फर्केरै आईन । एउटा वेटर केटालाई बोलाएर भने । उ पनि अनौठो तालले हुन्छ भनेर गयो तर फेरी मतर्फ फर्केर आएन । वल्लो पल्लो टेबलतिर आउँदा पनि मतिर देखिएला भने जस्तो गरेर फर्किनथ्यो । फेरी अर्को वेटरलाई बोलाएर भनेँ । समस्यामा कुनै सुधार आएन । तीन जनाबाट पनि एक कप चिया नआएपछि मैले सोचेँ यो बिषयमा ज्यादा ध्यान दिनु वा आशा गर्नु राम्रो छैन बरु बिर्सेकै राम्रो भनेर म आफ्नो सिटबाट उठेर हिँडे । तैपनि मनले मानेन । चिया पिउने तलतल त मरेको थिएन । रेष्टुराबाट फर्कदा अर्डर डेष्कमा सिकायत गरे । अर्डर डेष्कमा बस्नेले पनि मेरो कुरो बुझेन मैले के मागेको थिएँ भनेर उ सोध्दै थियो । म भन्थे टी उ भन्थ्यो पी । मैले लेख भनेको त त्यो मोराले पी अर्थात पी ई ई पो लेख्यो । मैले उसलाई नमस्कार गरेर भने कि मलाई सिकायत गर्नु छैन । अनि म फटाफट लिफ्ट भएतिर लागे । उ मलाई अनौठो पाराले हेर्दै थियो केही दूख अनि केही जिज्ञासामिश्रित आँखाहरुले । सवाल आतिथ्यको कमजोरीको पनि होईन, सवाल गलत नियतको पनि होईन । जब कसैले बोलेको भाषा नै नबुझेपछि कसको के लाग्छ र । मैले होटेलको आफ्नै रुममा फर्केर एक कप चिया आफै बनाएर खाए ।

 

भोलिपल्टको साँझको कार्यक्रम अनुसार आफु बसेकै होटेलमा डिनर खाई सकेपछि सिधै ह्वांगपु नदीको कु्रज यात्रामा जाने थियो । डिनर साह्ै उत्कृष्ट थियो । चाईनिज डिसहरु सहितको बुफे डिनर कति राम्रो र मीठो थियो भनेर बताई सक्नु थिएन । अत्याधिक रुपमा सि फुडहरु राखिएको थियो । चिकेन मटन त खोज्नु पथ्र्यो । डिनर खाईसक्ने बित्तिकै हामी होटेलको लविमा जम्मा भैहाल्यौ । ह्वांगपु नदीको किनारासम्म बसमा लाने व्यवस्था गरिएको रहेछ । मलाई लाग्यो ह्वांगपु नदीको किनारा धेरै टाढा छ त्यसैले बसहरुको व्यवस्था गरिएको होला । बसहरु पनि निश्चित समयमा नै गुँडे । ह्वांगपु नदीको किनार त क्षणभरमै आईपुगी हाल्यो । बसमा पनि बस्न बेर न निक्लन बेर भन्या जस्तै पो भयो । ल ओर्ल ओर्ल भन्न थाली हाले आयोजकहरु । यति त हिडाएर लगेको भए पनि रमाईलो हुँने किन बस चढाउनु पथ्र्यौ होला भन्दै म र फैजा पनि बसबाट निक्लियौ । ह्वांगपु नदी त त्यही नदी रहेछ जुन म होटेलको मेरो कोठाबाट हर समय देख्थे । सहरको बिचभागमा बहिरहेको यो नदी साह्ै सून्दर देखिनथ्यो । यो नदीमा बिहानैदेखि नै थुप्रै डुंगा र पानीजहाजहरु सलबलाई रहेका देखिन्थे । हामीहरु कुजमा प्रवेस गर्यौ । बाहिर बेस्सरी हावा लागेको र चिसो पनि भएकोले हामी डेकभित्र नै बसिरहेका थियौ । यहाँ पनि पिउने कार्यक्रम शुरु भईहाल्यो । लानलानले म, फैजा अनि उसकै लागी तीन ग्लास जुस लिएर आई । उसलाई पहिले नै थाहा छ कि हामीहरु दारु पिउदैनौ भनेर । तर मलाई भने यतिखेर जुस पिउने मुड पनि थिएन । भर्खरै डिनर खाएर आएको मलाई अरु केही मुखमा हाल्न मन नै थिएन । हामीहरु कु्रजको माथिल्लो तलाको अगाडी भागमा थियौ । होचा सोफा जस्ता सिटहरु भएकाले लानलान बढो अपठेरो पाराले तेर्सो परेर बसेकी थिई । सायद उसले लगाएको त्यो छोटो स्कर्टका कारणले होला उ त्यसरी बसेकी । कु्रजभित्र क्षणभरमै गीत संगित सहितको रमाईलो माहोल शुरु भैहाल्यो । सबै पाहुनाहरु बिन्दास आनन्दी मनाईरहेका थिए ।

 

ह्वांगपु नदीलाई संघाईमा आमा नदी मानिने रहेछ । ह्वांगपु नदीलाई संघाईमा आमा नदी यस अर्थमा मानिने होला किनकि यो नदीले यहाँका जनताहरुको आर्थिक उन्नतीमा प्रत्यक्ष रुपमा नै योगदान दिईरहेको छ । ह्वांगपु नदी यहाँ खानेपानी, माछा, सिपिंग, बाढी नियन्त्रण र पर्यटकिय उत्पादनका क्षेत्रमा संघाईका जनताको भलाईमा प्रयोग भईरहेको रहेछ । ह्वांगपु ज्गबलनउग नदीमा हामी सवार कु्रजले केही समयपछि विस्तारै गती लियो । कु्रजले गति लिएसंगै पाहुनाहरु यताउता चलमलाउन थाले । कोही यो साईडमा त कोही उ साईडमा लाग्न थाले । सबैको एउटै उद्धेश्य हो कि कताबाट राम्रो द्धष्यको रसास्वादन गर्न सकिन्छ भनेर खोजि पस्नु । सायद फैजालाई फोटो उतार्नु पर्यो क्यारे, उ पनि कु्रजको अगाडीपटिृको बरण्डामा निक्लिई । त्यसपछि लानलान पनि उसको पछिपछि निक्लिई । बाहिर हावा चलिरहेकोले मलाई भने बाहिरतिर निक्लन मन लागेन । किनाराका द्धष्यहरु त भित्रैबाट पनि राम्रैसंग देखिईरहेकै थियो । उनीहरुले मलाई पनि बाहिर निक्लन कर गर्न थाले । तीनका करका कारणले म पनि कु्रजको अगाडी भागको बरण्डामा निक्लन बाध्य भए । मैले मेरो पुरानो सोनी क्यामेरा र सामसुंग ग्यालेक्सी थ्री मोबाईल दुबैबाट तस्विर उतार्न थाले । बाहिर निकै चिसो थियो । अँध्यारो पनि भैसकेको थियो । बेस्सरी हावा पनि चलिरहेको थियो । वरिपरीका अरु कु्रजहरु पनि एकै साथ चल्न थाले । नदीका दूई साईडका घरहरुबाट आएको बत्तिहरुका उज्यालोमा ह्वांगपु नदीको बाढी प्रष्टै देखिनथ्यो । छालहरु पनि जोड जोडले उर्लिरहेझै देखिइरहेको थियो । नदीका दुवै साईडका विशाल घरहरुमा रंगिन प्रकासहरु देखिन थाल्यो । यो लाईटिंग सायद साँझको एक निश्चित समयमा मात्र प्रदर्शन हुँने रहेछ त्यसैले सबै कु्रजहरु एकैसाथ चल्न थालेका रहेछन । साँझको यो अध्यारोमा किनाराका ठूला ठूला टावरहरुका एकैसाथ शुरु भएको लाईटिंगले ह्वांगपु नदी, र वरिपरिको सून्दरतालाई अझै राम्रोसंग प्रस्तुत गरिरहेको थियो । लानलानका अनुसार ह्वांगपु नदीको मूख्य उदगमस्थल सगरमाथाको हिँउ नै हो रे त्यसपछि थुप्रै अरु नदी खोलाहरु मिलेर संघाई आईपुग्दा ह्वांगपु नदी नामाकरण हुने रहेछ । कुरो सही हो होईन मैले अझै बुझ्न सकेको छैन । बुझेको कुराचाही के हो भने । ज्गबलनउग नदी थ्बलनतशभ नदीको एउटा शाखा हो ।

 

मलाई लानलानको माया लाग्यो । लानलान बिरामी छे र केहीदिन अघिमात्र एउटा अपरेसन गरिएपछि हस्पिटलबाट डिस्चार्ज भएकी र आजै पनि बिहानमात्र डाक्टर जचाएर आएकी भन्ने मलाई थाहा थियो । चीसो साँझ, बेस्सरी चलिरहेको बतास अनि उसको एक पिस कपडा । राम्री त थिई नै तर नीष्ठुरी चीसोको आक्रमणले उसको गाला र पुरा अनुहार नै रातो बनाईदिएको थियो । उ कुप्रिएर जाडोसंग लडिरहेकी छ भन्ने मलाई लागेको थियो । केटीहरु किन यसो गर्छन बुझ्नै गाहे । बिमारी भएको बेलामा त पुरा लुगा लगाउनु पथ्र्यो । त्यसरी एक पिस लुगामा हिड्न हुन्नथ्यो कि भन्ने मलाई लागेको थियो । तर जे होस हाम्रो सत्कारमा पनि उ त्यत्तिकै जुटेकी थिई । उ मिहेनती केटी हो । सायद त्यसैले होला त्यति कलिलै उमेरमा उ सिनियर मेनेजर बनिसकेकी छे । पत्याउनै पनि कति गाहे । झण्डै एक घण्टा लामो कु्रज यात्रा एउटा दूरीभित्र फन्का मारेपछि फेरी यसको उदगम स्थलमा नै आएर सकिएको थियो । यस्तो खाले साँझको लाईटिंगलाई पर्यटकिय उत्पादनका रुपमा प्रस्तुत गर्ने चीन मात्र होईन अरु देशहरु पनि छन । तर पनि ह्वांगपु नदीको कु्रज यात्रा मेरा लागी एउटा बेग्लै अनुभव सिद्ध भएको मैले महशुस गरेको छुँ । त्यसमाथी ह्वांगपु नदीका ती उर्लदा छालहरु जो मेरा लागी पूर्णरुपले अविस्मरणिय नै रहनेछन ।

 

ह्वांगपु नदीको कु्रज यात्राबाट फर्केपछि लानलान र उसका सहकर्मी साथीहरु हाम्रै होटेलको लबीमा बसेका थिए । तर उनीहरुको आजको रातको बास अर्कै होटेलमा हुँनेवाला थियो । उसले मलाई पहिले नै भनि सकेकी थिई कि उ र उसका केही सहकर्मी साथीहरु नजिकैको अर्कै होटेलमा बस्नेवाला छन । लानलानको अनुहारमा थकान झल्किरहेको थियो । त्यति खुसी देखिएकी थिईन । म होटेलको लविमा बसेर सामसुंग ग्यालेक्सी मोवाईलमा इन्टरनेट सर्फिंग गर्न थालिसकेको थिए । चाईनामा फेसबुक र टिवटर त आउँदै नआउने रहेछ । स्काइपमा हेर्यो चिनेका साथीहरु त्यति साहे देखिदैनथे । ईमेल चेक गर्दा गर्दा कहिले त वाक्क लागथ्यो । त्यसैले म बेलाबेलामा लानलानतिर पनि ध्यान पुर्याउँथे । म यदाकदा उसको अनुहारमा पुलुक्क आँखा दौडाउँथे । जसै आँखाहरु चार हुँन्थे जवाफमा उ मीठो मुस्कान फर्काउथी । मनमा पीरको भकारी बोकेरै भएपनि अनुहारमा त्यत्तिकै खुसीयाली पोतेकी थिई उसले । लानलानले उसको आई फोन हराईछ । उसको हिसाबमा उसको आईफोन कु्रजमा नै छुटेको थियो । उसले तत्कालै फर्केर गएर कु्रजमा पनि चेक गरिसकेकी रहिछ तर उसले त्यो आई फोन भेटिनछ । उ किन उदास छ भन्ने कुरा त भर्खर पो थाहा भयो । मलाई पनि उसको आई फोन हराएकोमा साह्ै नरमाईलो लाग्यो । हुँन त उसको पहिरन पनि त त्यस्तै थियो । बस्नुपर्यो कि तेर्सो पर्नु पर्ने नत्र भने अगाडी बस्नेले देख्न नहुँने ठाँउ देख्ला भन्ने डर । हातमा बोकेको ब्याग यति सानो थियो कि उसकै दूईवटा लिपिस्टिक हाल्यो कि भरिई हाल्ने । अब त्यो आई फोन कहाँ बसोस । हातैमा पनि नअट्ने, किनभने कु्रजमा पाहुँनाहरुका लागी पेय पदार्थ पनि उही त ओसारी रहेकी थिई ।  भर्खरै आँखाको अपरेसन गरेर कति दिन अस्पतालमा बसेर डिस्चार्ज भएकी, त्यसमाथि आजै बिहान पनि आफ्नो घर भएको ठाँउ हांगझाउबाट डाक्टर जाँच गरेर एक घण्टाको ट्र्ेन यात्रा गरेर संघाई आईपुगेकी उ पूर्ण रुपले स्वस्थ त थिईन त्यसमाथि आई फोन हराएको टेन्सन पनि उसैलाई थपियो ।

 

यतातिर म भने अघिदेखि नै जसै ह्वांगपु नदीको यात्राबाट फर्केर आएर होटेलको लबीमा बसेको थिए नेट सर्फिंग त बहाना मात्रै थियो तर मेरा मन मस्तिष्क भने ह्वांगपु नदीका वरिपरि नै घुमिरहेको थियो । त्यहाँका प्राकृतिक छटाहरुले मलाई उतैतिर तानी रहेका थिए । मलाई पानीदेखि डर लाग्छ । साउन महिनामा जन्मेका मान्छे पानीदेखि डराउँदैनन बरु पानीमा नै ज्यादा खेल्छन भनेर बडाहरुले भनेको सुनेको हो । तर मेरा सवालमा यो कुरा ठीक उल्टो हुँन पुग्यो । मलाई आजसम्म पनि स्विमिंग आउँदैन । साथीहरु अचम्म मान्छन । ह्वांगपु नदीमा बहिरहेको पानीलाई मैले कु्रजबाट धेरै बेर नियाली रहेको थिए । त्यसो त कु्रजको प्रेसरले पनि पानीमा छालहरु आईरहेको होला तर पनि ह्वांगपु नदीको छाल डरलाग्दो थियो । कु्रजको यति माथिबाट हेर्दा पनि उर्लिरहेको छाल डरलाग्दो देखिईरहेको थियो । तर जे होस यत्रो विशाल नदीलाई शहरको मध्यभागबाट व्यवस्थित रुपमा बगाउने केवल चाईना मात्र एउटा देश होईन बरु विश्वमा त्यस्ता थुप्रै अरु देशहरु पनि छन । धेरै सभ्यताका विकास नै यस्तै खाले विशाल नदीका छेउछाउमा नै भएका छन । सायद नदीको सही व्यवस्थापनले गर्दा नै होला ती विशाल नदीहरु ती शहरहरुको विकासमा बाधक नबनेर बरु सही भूमिकामा प्रयोग भएका छन । ती शहरका विकासका लागी मेरुदण्ड बनेका छन । त्यसपछि मैले सम्झे आफ्ना बाल्यकालका दिनहरु जसै हामी मनोहरा फाँटमा जानथ्यौ बडाहरु भन्थे कुनै जमानामा यो मनोहरा खोला उ त्यहाबाट बगथ्यो भनेर उनीहरु हाम्रा खेतबाट झण्डै एक किलोमिटर पछाडी देखाउथे जब कि त्यही खोला त्यतिखेर हामीभन्दा झण्डै एक किलोमिटर पर भएर बहिरहेको देखिनथ्यो । पछिल्ला केही बर्षहरु भरी मनोहरा खोलो हाम्रै खेतमाथि बगथ्यो । दूखलाग्दो कुरा के हो भने हामीले फाँटमा निधक्र्क भएर बहिरहेको मनोहरा खोलाले हरेक बर्ष त्यहाँका किसानका खेतीहरुमा पुर्याएको क्षतीलाई नजरअन्दाज गर्दै त्यसको व्यस्थापनमा कहिल्यै पनि ध्यान दिएनौ । मनोहरा खोलालाई उसको आफ्नै नक्सा अनुसारको बाटोबाट हिडाउँन सक्ने विकल्पहरुलाई प्रयोग गरेको भए मनोहरा खोला त्यस क्षेत्रकै विकासका लागी सहयोगी हुँन सकथ्यो । मनोहरा वरिपरिको फाँटले सिंचित हुँन पाएर किसानहरुको लागी बरदान बन्न सकथ्यो । तर जे होस मलाई यस्तो लाग्यो कि पानीमार्ग अर्थात जलमार्ग शहरी विकासका लागी निकै महत्वपूर्ण हुँन सक्दो रहेछ । हाम्रो दूभाग्र्य न त हामीसंग सामुन्द्रिक जलमार्ग छ न त दरिलो नदी नै । भएका नदीहरु पनि राजधानीबाट पर भए । न तीनको त्यहा उपयोग भयो न त राजधानीलाई नै सहयोग मिल्यो ।

संघाई पुगेको पर्सिपल्ट होटेलमा ब्रेकफास्ट खाईसकेपछि हामी पूर्व सूचना अनुसार बिहानको ९ बज्नु पहिले नै होटेलको लबीमा जम्मा भैसकेका थियौ । कार्यक्रम अनुसार हामीहरु संघाईको भेनिस भनिने झुजियाजिवो (Zhujiajiao) भन्ने ठाँउको भ्रमणको आधा दिनको टुरका लागी प्रस्थान गर्ने वाला थियौ । अझै केही पाहुनाहरु जम्मा भईसकेका थिएनन । आयोजक संस्थाका कर्मचारीहरु पाहुनाहरु बटुल्दै थिए । फैजा अझै आईपुगेकी थिईन । लानलान अघि नै आईसकेकी थिई । उसै त लानलान आजको पहिरनमा त झन उ अझै केटाकेटीहरुको पुतली जस्तै देखिएकी थिई । लानलानका ती साना साना आँखाहरु र बाटुलो गोलो अनुहारमा उ अझै धेरै राम्री देखिएकी थिई । आज उ साह्ै खुसी पनि देखिएकी थिई । थाहा छैन उ किन त्यति खुसी देखिएकी थिई आज । तर मलाई उसको आजको प्रस्तुतीले यस्तो लाग्यो कि उ उमेरको यस्तो गोरेटोबाट अघि बढिरहेकी छ कि जतिखेर हरेक कुराहरु केवल रमाईलाका लागीमात्रै हुन्छन, संसार केवल रमाईलाका लागी मात्रै छ, दूख र पीडाहरु भन्ने छँदै छैनन । हरेक भ्रमण, भेटघाट, खानापिना सबैभित्र बहार नै बहार । अहाँ कस्तो राम्रो समय । यदि भगवान प्रकट भएर के माग्छस मनुवा भनेर भन्छन भने म पनि त्यही समय माँग्थे जुन लानलानले जीईरहेकी थिई । म अलिकति ईष्र्यालु पो भएछुँ क्यारे । तर जे होस उसको उपस्थिती यो भ्रमणमा हाम्रा लागी निकै महत्वपूर्ण हुँने गर्छ । सूचना दिइए अनुसार हामी बसेको होटेलको पछाडी भागमा दूईवटा पर्यटक बसहरु अघि नै तैयार भैसकेका थिए । संघाई शहरदेखि पश्चिममा अवस्थित यो प्राचिन नगरी पुग्नका लागी करिबन पौने घण्टादेखि एक घण्टाको बसयात्रा गर्नु पर्ने बताईएको थियो । मेरा लागी यो यात्रा रमाईलो हुँनेमा कुनै संका नै थिएन किनभने अब मैले ग्रामिण बस्ती पनि देख्न पाउने अवसर थियो यहानेरी । मलाई कुनै पनि नयाँ मुलुकमा जाँदा त्यहाँको शहर भन्दा पनि ग्रामिण क्षेत्र भनौ वा शहरदेखि बाहिरको भागतिर जान मन लाग्छ । शहरदेखि बाहिरका मान्छेहरुसंग भेटघाट गर्न र त्यहाँको रहनसहन र सामाजिक परिबेशहरुलाई नजिकबाट आत्मसात गर्न मन लाग्छ । तर यी रहरहरु त्यति सजिलै पुरा हुँन सक्दैनन । जसमा भ्रमणको अबधि, र भाषा सधै बाधक भएर तेर्सिने गर्दछन । तर जे होस आजको यो अवसर मेरा लागी निकै महत्वपूर्ण छ । अनौठो यो कुरामा लागिरहेको थियो कि यो नगरीलाई किन संघाईको नै भेनिस भनियो तर किन चीनको भेनिस भनिएन । यस अर्थमा मैले बुझ्नु पर्छ कि चीनमा यस्ता अरु पनि थुप्रै भेनिसहरु हुँन सक्छन, सायद होलान पनि । यतिखेर सम्ममा फैजा पनि आईपुगि सकेकी थिई । उसले ब्रेकफाष्ट खान भ्याईनछ । आईमाईको मेकअपले टाईम खान्छ भनौ भने यो सिंगापुरियन केटी ओठमा एउटा लिपिष्टिकसम्म पनि लगाउन्न । फेसनमा समय लगाउँछे कि भनौ भने फेसनमा पनि कुनै तामझाम देखिदैन । अब यसको समय के मा खर्च हुँन्छ र समयमा उपस्थित हुँन सक्दिन यो त उही जानोस मेरो चासोको बिषय रहेन । हाम्रो यात्रा तोकिएको समयभन्दा आधा घण्टा पछि शुरु भयो र दुवै बसहरुले शहरको ट्रफिक जामलाई छिचोल्दै अगाडी बढ्न थाले । शहर छोडेपछि हाम्रा बसहरु कृषिजन्य भूमिहरुलाई पार गर्दै अगाडी बढ्न थाले । दुबैतिर हरिया रमाईला फाँटहरु र कही कही ठूला ठूला भवनहरु पनि देखिन्थे । बिहानीको कलिलो घाममा हाम्रो यो यात्रा साह्ै रमाईलो भैरहेको थियो । हातमा क्यामेरा रेडी गरेर राख्दा पनि बसको तीब्र गतीका कारणले चाहेको द्धष्यहरु क्यामेरामा कैद गर्न सम्भव भैरहेको थिएन । बिहानीको यो समयमा चिनियाँ हरियाली फाँटहरु अझै सून्दर देखिएको थियो । खुलेको आकास, घमाईलो बिहानी, र हरिया फाँटहरुको संयोग ठ्याक्कै मिलेर पुरा बाताबरणलाई नै उज्यालो र रमाईलो बनाईरहेको थियो । साथमा फैजा र मेरा बिचका जीवन जगतका कुराहरु पनि कम्ती रमाईला थिएनन । बसभित्र पाहुनाहरु बिभिन्न झुण्डहरुमा आआफ्ना गफहरुमा मस्त थिए । लानलान कहिले हामीसंग गफमा हुँन्थी त कहिले अरुसंग । यो चुलबुले केटी एकै ठाँउमा स्थिर भएर बस्न सकेकी थिईन । हाम्रा बसहरु भने कहिले राजमार्ग र कहिले शहरी सडकहरु हुँदै अगाडी बढिरहेका थिए । झण्डै एक घण्टाको गुडाई पछि हाम्रा बसहरु मूख्य सडकलाई छोडेर एउटा ठुलो र कलात्मक द्धारबाट एउटा सून्दर नगरीमा प्रवेस गर्यो । यस्तो लागथ्यो कि हामी हाम्रो लक्षमा आईपुगेका छौ । संघाईको किंगपु Qingpu जील्लामा अवस्थित झुजियाजिवो नगर यो घमाईलो बिहानीमा उज्यालो र रमाईलो देखिनथ्यो । झुजियाजिवोको शाब्दिक अर्थ चाही Zhu Family Settlement भन्ने रहेछ ।

नजिकका बस्तीहरुका लागी यो नगर प्राचिन स्वरुप र संरचनाकै हिसाबले पनि व्यापारिक थलो रहेछ जो कालान्तरमा पर्यटकिय आकर्षणको केन्द्र बिन्दु पनि बन्न पुग्यो । झण्डै साठीहजार जनताको बासस्थान रहेछ यो नगर । पर्यटक र स्थानिय बासिन्दाहरुको चहलपहल, चाईनिज मन्दिरहरुको आकर्षण र सून्दर घरहरुले शोभायमान देखिनथ्यो । जसै हामीहरु सडकलाई छोडेर पैदलै एउटा गल्लीभित्र प्रवेश गर्यौ, यो चाही अब हाम्रो काठमाण्डौको मखन गल्लीभन्दा फरक रहेनछ । फरक यत्ति हो कि झुजियाजिवो नगरीको गल्ली नितान्त सफा र उज्यालो थियो । गल्लीका दूवै साईडमा पसलहरु थिए । गल्लीहरुमा मान्छेहरुको आवत जावतले गर्दा भीडभाड नै थियो । पसलमा किनमेल गर्ने मान्छेहरु भने ज्यादै कम देखिन्थे । धेरैजसो पसलहरुमा चीनका आफ्नै प्रकारका सामानहरु बिक्रिमा राखेको देखिनथ्यो जो हाम्रा लागी बुझन अलि गार्है थियो । तर हाँसका मासुहरु सिंगै हाँसहरुलाई सुकुटी जस्तै बनाएर बेच्न राख्ने पसलहरु प्रसस्तै देखिन्थे । चाईनिज हस्तकलाका सामाग्रीका पसलहरु पनि उत्तिकै देखिनथे । हामीहरु गल्लीहरुलाई पार गर्दै अगाडी बढ्ने क्रममा एउटा खुल्ला ठाँउमा आईपुग्यौ जहाँ खोला हो या नाला हो या नहर भनौ देखियो र अगाडी एउटा ढुंगै ढुंगाको पुल देखियो । नहर या क्यानेलको पानी भने सफा देखिएको थिएन । नहरमा काठका मानवचालित ढुंगाहरु थुप्रै देखियो जसमा पर्यटकहरु सवार भएर त्यही नहरको यात्रामा निक्लन्थे । १७ सय बर्ष पुरानो मानिने यो नगर करिबन ३ वर्गकिलोमिटरमा फैलिएको छ रे । सुने अनुसार यस्ता नहरहरु खासगरी घर घर मा गएर गरिने व्यापारका लागी प्रयोग हुँने प्राचिन परम्परा हो रे । अर्थात नहरको प्रयोग गरेर सामान ओहोर दोहोर र डेलिभरी गर्ने सहज तरिका । अर्को अर्थमा भन्दा व्यापारजन्य सामानहरुको सहज यातायात । गल्ली नै गल्लीहरुको यो नगरका हरेक गल्लीहरु पर्यटकको सेवामा हाजिर देखिन्छन । चीया कफी देखि लिएर रेष्टुराहरुसम्म पनि रेक गल्लीहरुमा देख्न सकिन्छ ।

यो यात्राभर लानलान हाम्रै साथमा थिई । उसका अलावा गरुडा ईण्डोनेसियाका सुसी र उसको हाकिम र उनीहरुको एक स्थानिय चिनिया कर्मचारी पनि हाम्रै साथमा थिए । आयोजकका तर्फबाट अरु छुटृाछुटृै मान्छेहरुले अरु पाहुनाहरुलाई सहयोग गरिरहेका थिए । यात्रा रमाईलो थियो । लानलानले हामीहरुका लागी एउटा काठको बोट बुक गरी । हामीहरु मानवचालित डुंगामा नहरको यात्रामा निकल्यौ । माझी भनौ कि बोट ड्रईभर भनौ त्यो बुढो चाईनिजले शरिरका बलले हातले नै हाम्रो बोट खियाउन थाल्यो । हामीले सिंगै बोट रिजर्भ गरेका थियौ । बोट यात्रामा निक्लेको हाम्रो समूहमा म, फैजा, लानलान र गरुडाका ३ जना गरेर जम्मा ६ जनाको टोली थियो । नहर खासै ठूलो वा फिजारिएको होईन तर गहिराई कति छ भन्ने कुरा बुझ्ने अवसर भने मिलेन । दूई साईडमा विपरित दिसामा हिड्ने बोटहरु सजिलैसंग पार हुँन्थे । नहरको एक किनारामा लामो  बाटो र त्यो बाटोका पछाडी टम्म मिलेका झण्डै २ तले घरहरु लाईनबद्ध खडा थिए र तीनैमा विभिन्न खाले पसलहरु संचालित थिए भने नहरको अर्को साईडमा घरहरु नहरमा नै जोडिएका थिए । यस्तो देखिन्थे कि मानौ ति घरहरु नहरमा नै उभ्याईएका छन । तर कुनै कुनै ठाँउहरुमा भने नहरका दूबैतिर केवल घरहरु नै जोडिएका देखिन्थे । नवागन्तुकका हिसाबले आफु यो प्राचिन नगरीको कुन भेगमा छुँ भनेर अनुमान लगाउन गाहे पथ्र्यो । नहरको एउटा साईडमा बाक्लै बस्ती, बजार र गल्लीहरु छन भन्ने प्रष्ट बुझिनथ्यो । नहरका ठाँउ ठाँउमा यसका किनाराहरुलाई हरिया रुखहरुले सितलता प्रदान गरेको पनि देख्न सकिनथ्यो । नहरका दूई किनाराका बस्तीहरुलाई जोड्न ठाँउ ठाँउमा पूलहरु बनाईएका थिए । कतै काठका कतै ढुंगाका कतै मार्वलका ती पुलहरु कलात्मक ढंगले तैयार गरेको देखिनथ्यो जो स्वयंमा एतिहासिक धरोहर भएको बुझिनथ्यो । ती पुलहरुका पनि नामाकरण गरिएको देखियो । सुन्नमा आए अनुसार विभिन्न आकार प्रकार र बनौटका ती पुलहरुको संख्या ३६ छ रे । त्यसदेखि बाहेक ठाँउ ठाँउमा मन्दिरहरु पनि देखिन्थे । यात्राको एउटा ठाँउमा पुग्दा भने नहर फिजारिएर ठूलो ताल झै बनेको देखिनथ्यो र किनारामा केही ठूला घरहरु र ठूला मन्दिरहरु पनि देखिन्थे । फोटो खिच्ने क्रम पनि चलि नै रह्यो । झण्डै डेढ घण्टा लामो हाम्रो बोटयात्रा यात्रा शुरु गरेको स्थानमा आएर नै रोकियो । मिंग र किंग Ming and Qing  शासनकालदेखिका प्राचिन घर र धरोहरहरुले सुसज्जित नर्थ स्टेट या प्राचिन स्टेट केवल चाईनिजहरुको बासस्थान मात्र नभएर आज आएर पर्यटन व्यावसायका लागी बरदान पनि बनेको छ । मैले यो नगर घुम्दाका थुप्रै समय नेपालका केही प्राचिन नेवारवस्तीहरुको सम्झना गरे । सरसफाईलाई ध्यान दिएर यी नगरीलाई विकास गर्ने हो भने भक्तपुर, किर्तिपुर, बोडे, ठीमी, नकदेश, ठेचो, खोकना, बनेपा, धुलिखेल, पनौती जस्ता ठाँउहरुमा प्रसस्तै पर्यटकिय विकासका सम्भावनाहरु छन जसले त्यहाका जनता तथा देशकै आर्थिक स्तरमा बढावा लेराउने मात्र होईन देशको पर्यटकिय उत्पादनलाई अरु उचाई दिन सक्छ र प्राचिन बस्ती, स्मारक, मन्दिर, धारा, पोखरीहरुको संरक्षण र सम्बर्धनमा पनि सघाउ पुग्न सक्छ । मलाई यस्तो लाग्छ कि हामी त यस्तो समयमा जन्म लिईयो जुन बेलाका नेता जनता तथा प्रशासक सबै अरुले बनाईदिएको मात्र उपभोग गर्छन आफु मिहेनत गर्दैनन । श्रृजनाका कुराहरु त सधै ओझेल पर्ने गर्छन । सायद सधै यस्तै नरहला । कुनै न कुनै दिन नेतुत्व श्रृजनाप्रेमीहरुका हातमा पुग्नेछ जसले जनताका श्रृजनाका प्रयास र रहरहरुको मूल्य बुझेर जनतासंग नै मिलेर देश विकासको नेतृत्वको काम गर्नेछ । हामीलाई त्रिसुलीमा तेल बहनु पर्ने जरुरी पर्दैन बरु पर्यटन व्यावसायले नै हामीलाई सम्बृद्धतिर लाग्न सक्नेछ ।

हामीसंग लामो समय नभएकाले दूई घण्टामा नै यो यात्रा सक्नु पर्ने भएको थियो । अब हामी लन्च खाने तैयारीमा लाग्यौ । लानलानले नहरमा नै जोडिएको एउटा रेष्टुरा छनौट गरी । हामी माथिल्लो तलामा बस्यौ जहाँबाट बाहिर नहरको पल्लापटिृ अरु पर्यटकहरु आवत जावत गरेको प्रष्ट देख्न सकिनथ्यो । तल्लो तलामा केही ग्राहकहरु राउण्ड टेबुलमा बसेर खाना खाई रहेका थिए । खाना अर्डर गर्ने काम गरुडाको लोकल चाईनिज मित्रले गर्ने भयो । उसले खानाको बारेमा एक एक गरेर बताउन थाल्यो । सवाल सि फुडकै आउँछ । जे होस उसले खाना अर्डर गर्यो । ग्रीन टी बाट अध्याय शुरु भयो । के के आयो आयो खानाहरु । चिकेन पनि आयो डक पनि आयो प्राउन पनि आयो फिस फ्राई पनि आयो । आयो हरियो उसिनेको जस्तो साग । चपक्क परेको भात अहा कति मीठो । त्यसो त क्रायब्स अर्थात गंगटा पनि आयो । आफुलाई भने यी गंगटा, प्राउन केही पनि मन पर्दैन भन्दा अरु किन कसो भनेर हैरान पार्छन । अरुलाई अनौठो लाग्छ जब म यी कुराहरु खान्न भन्छु । मेरो भाग क्रयाब्स समेत लानलानले खाई । त्यो के को साग हो थाहा त छैन तर साह्ै मीठो थियो । हामीले खाएका हरेक खानाहरु उत्तिकै स्वादिष्ट थिए । यसो हेर्दा यो रेष्टुरा र यो क्षेत्रका सबै जसो रेष्टुराहरु पारिवारिक संचालनमा रहेको जस्तो देखिनथ्यो । काम गर्ने मान्छेहरु धेरै नभएका र सबै जसो काम पारिवारिक सदस्यहरुले मात्र गरेजस्तो लाग्यो मलाई । तर मैले सोधुँला भन्दा भन्दै बिर्सेछु । हामीले खाना खाएर निक्लदा हामीहरु तोकिएको समयभन्दा १ घण्टा ढीला भैसकेका थियौ । हामीलाई लाग्दै थियो कि अरु मान्छेहरु कि त हामीलाई छोडेर गैसके कि त हामीलाई लामो समयसम्म कुर्न परेको हुनाले क्रुद्ध भएका होलान । जे त होला भनेर हामीहरु अगाडी बढ्यौ । बसमा हामीलाई कुर्ने आयोजकहरुले मेरो दोहाको मोबाईलमा फोन गर्दा रहेछन तर त्यसैबेला मेरो दोहा मोबाईल पनि आउट अफ रोमिंग भाको रहेछ । उता लानलानको आई फोन त हिजो नै हराई सकेको थियो । अरु उनीहरुलाई हामीलाई सम्पर्क गर्न सक्ने नम्बर छदै थिएन । हाम्रो यो रमाईलो यात्रा अपरान्ह दूई बजेतिर सकियो । फेरी सुरु भयो शहरतिरको बस यात्रा । शहरको ट्राफिक जामलाई छिचोलेर होटल पुग्दा डेढ घण्टा बिति सकेको थियो ।

होटेलको लबीमा केही बेर आराम गरेपछि हामीहरु टेक्सीमा सिधै हाम्रो अपरान्हको मिटिंगस्थलतिर लाग्यौ । मिटिंगस्थल पुग्दा साँझ परिसकेको थियो । जेनी पहिले नै हाम्रो प्रतिक्षामा थिई । उसले पनि निकै लामो कुराई कुर्नु परेको थियो । त्यो विशालकाय भवनमा अवस्थित अलिपेको एउटा कार्यालय निकै रमाईलो देखिनथ्यो । चौथो तलामा रहेको उनीहरुको अफिस जानु पहिले नै लानलान र हामीहरु ग्राउण्ड फलोरमा अवस्थित सुपरमार्केटमा छिर्यौ जहाँ लानलान र फैजाले आफुहरुलाई एक एक कप कफी लिए । मैले कफि पिउन मन नगरेकाले मेरा लागी चाही माथि अफिसमा नै चिया बन्ने भयो । चीनमा त्यस प्रकारको काम गर्ने बाताबरण भएको अफिस हुँन सक्छ भनेर मैले कहिले पनि अनुमान गर्न सकिन होला । पुरा फ्लोरमा रहेका हरेक टेवलहरुलाई साना साना बारहरुले छुटृाईएको छ जहाँ एक कर्मचारीले अर्को कर्मचारीको अनुहार देख्न सक्दैन । यसले गर्दा कसैको काममा डिस्ट्रक्सनबाट हुँने गल्ती वा ढिलाई टरेर जान्छ । हरेक बारहरुमा साना हरिया बिरुवा सहितका साना साना गमलाहरु राखिएको छ । त्यसदेखि बाहेक हरेक कर्मचारीहरुले कसैले साना बाउलहरुमा पानी राखेर झिंगे माछाहरु राखेका छन, त कतै कुनै कुनै टेबुलमा साना साना माछाहरु सहितका आक्विरियमहरु पनि देखिन्छ । सबैका टेबुलहरुमा बिभिन्न प्रकारका खेलौनाहरु पनि देखिन्छ । छेवैका बोर्डहरुमा कर्मचारीका तिनीहरुले बिबिध क्षेत्रहरुमा आर्जन गरेका कामका फोटोहरु जहाँ कोही सामाजिक सेवामा लागेर पुरस्कृत भएको देखिन्छ भने कतै खेलकुदका क्षेत्रमा काम गरेर पुरस्कार थाप्दै गरेका फोटोहरु टाँसिएका छन । छेवैमा प्रवेस कक्षमा नै देखिन्छ हातै हातका छापहरु । मेरा प्रश्नका जवाफमा उनीहरुले बताए ३ बर्ष लगातार यस कम्पनीमा काम गरिसकेपछि त्यसरी हात वा हत्केला सहितको छाप लगाउन पाईदो रहेछ । पल्लापटिृ देखिनथ्यो खुला र ठूलो पेन्ट्र्ी र साथमा पाँच छ वटा फ्रिजहरु र त्यसकै दोब्बर भन्दा बढी संख्याहरुमा राखिएका थिए माईक्रोवेभ वोभेनहरु, अनि थुप्रै मेच टेवुलहरु जहाँ कर्मचारीहरुले आफ्नो खाजा खाने समयको पूर्ण उपयोग गर्न सक्थे ।

थुप्रै केटी कर्मचारीहरु अझै पनि अफिसमा बसेर काम गर्दै थिए । कोही पल्लो छेउमा म्युजिक रुममा पनि छन भन्ने सुनेका थियौ । हाम्रो भ्रमणले तीनीहरुको पनि ध्यान हामीहरु तर्फ खिचेको थियो भन्ने सहजै बुझ्न सकिनथ्यो । धेरै केटीहरु लानलान जस्तै राम्री पनि थिए । मैले तीनका टेबुलमा रहेका डलहरु मन पर्यो भनेको मलाई लानलानले व्यग्यांत्मक पारामा भनी तलाई डलहरु मन पर्यो होईन त? एक दूईवटा पठाईदिउ? उसको कुरा मैले राम्रोसंग बुझे । कसलाई आफ्ना अगाडी अरु केटीहरुको प्रसंशा गरेको मन पर्दो हो र । आखिर लानलान पनि त केटी नै हो उसलाई पनि त केवल उसकै तारिफ नै त मन पर्छ । म मनमनै आफै हाँसे अनि अलिकति हाँसो उसलाई पनि देखाए । उसका अनुहारमा यो क्षणमा भने उसका स्वभाविक खुसीहरु हराएको भान पथ्र्यो । त्यसैले सायद मेरा मुश्कानहरु पनि यतिखेर उसका लागी व्यंग्य हुन पुगे ।

हाम्रो मिटिंग संचालन हुने कोठा पनि आधुनिक ढंगको कलात्मक देखिनथ्यो । हेर्दा कुनै आधुनिक तरिकाको रेष्टुरा जस्तो देखिने त्यो कोठाका भित्तामा केही लेखिएको थियो अनि केही रेखा चित्रहरु पनि कोरिएको थियो । कोठाभित्र थुप्रै ठूला ठूला गमलाहरुमा हरिया बिरुवाहरु देखिनथ्यो । कोठाभित्र पस्ने बित्तिकै एउटा श्रृजनसिलताको जन्म होला जस्तो बाताबरण । मलाई उनीहरुको तरिका मन पर्यो । एउटा लददु निर्णयकर्ता पनि यो मिटिंग रुममा प्रवेश गरेपछि श्रृजनसिल होला जस्तो । हाम्रो छलफल सोचे भन्दा लामो समयसम्म रहेन । मिटिंग सकेर निक्लदा साँझ छिप्पिसकेको थियो । लानलानले मूख्य सडकसम्म आएर हामीलाई टेक्सीमा चढाएर हामीसंग बिदा भई । उसको आतिथ्यको पनि कुनै जवाफ नै छैन ।

अब हाम्रो आजको यो बाँकी साँझको संघाई शहरको यात्राको गाईड थिई जेनी फेंग । होटेलबाट चेक आउट भएर ब्यागेजलाई होटेलमा जिम्मा लगाएर बिहान होटेलबाट निक्लेपछि हामी फ्री भएका थियौ । उडान आधा रातमा मात्र हुनेवाला थियो । शहरदेखि पुडोंग विमानस्थलसम्मको टेक्सीयात्राका लागी १ घण्टा समय छुटृाए पछि बाँकी समय सबै हाम्रो नै थियो । झण्डै साँझको ६ बजेतिर मिटिंग सकिएपछि जेनी हाम्रो टुर लिडर भएकी थिई । जेनी फेंग हाम्री स्थानिय सहकर्मी साथी हो । उसले हामीलाई यो भ्रमणको अन्तिम डिनरको प्रस्ताब गरेकी थिई । तर फैजा र मेरो मनशाय भने हामीले नै उसलाई डिनर दिने भन्ने थियो । हामीले हाम्रो मनशाय भन्यो भने जेनी रिसाउनेछे भन्ने कुरा हामीलाई थाहा थियो तर कुनै पनि हालतमा हामी उसलाई डिनरको बिल तिर्न दिने वाला थिएनौ । हामी चुपचाप उसका पछि पछि लाग्यौ । उसले भनी अब हामी पुसीतिर जाने छौ । हाम्रो होटेल पुडोंगमा थियो र हाम्रा सबै कार्यक्रमहरु पुडोंग क्षेत्रमा नै सकिएको थियो । यस अर्थमा हामीहरु पहिलो पटक पुसी क्षेत्रतिर जानेवाला थियौ । पुडोंग र पुसी नामाकरण भने शहरको मध्यभागमा बहने ह्वांगपु नदीको नामबाट भएको रहेछ । ह्वांगपु नदीको पूर्वी भागमा अवस्थित क्षेत्रलाई पुडोंग र पश्चिम क्षेत्रलाई पूसी भनिदो रहेछ । सबैभन्दा रमाईलो कुरा के थियो भने पुडोंगबाट पुसीतिर जाँदा ह्वांगपु नदीको तल टनेलभित्र बनाईएको सडक हुँदै जानु पर्ने रहेछ । हामीले निकै लामो भाग त्यही टनेलभित्रको सडकबाट नै पार गर्यौ र पुसी क्षेत्रमा अवस्थित बजारतिर पुग्यौ । टेक्सीले हामीलाई मध्य बजारमा लगेर छोडिदियो । साँझको झिलिमिली र रमझममा बजारको भीडभाड हेर्न लायक थियो । खुल्ला सडक, बिजुली बत्तीको झिलिमिलि, विज्ञापनका होडिंग बोर्डहरुका चमक धमक । मानौ शहरको यो बजारलाई भर्खरै बैश चढेको थियो मानौ योवनले लठिृएकी यूवतीका लाजले राता भएका गालाहरु जस्तै । त्यो विशाल पेडेस्ट्र्यिन सडकको बिचबाट एउटा सानो रेलगाडी जस्तो पनि चल्दो रहेछ जसले बजारको ओल्लो छेउबाट पल्लो छेउसम्म यात्रुहरुलाई ओसारपसार गर्दो रहेछ । प्रति ट्र्पिको चाईनिज यान २ तिर्नु पर्दो रहेछ । तर मैले त्यो गाडीयात्राको खासै अर्थ भने बुझ्न सकिन । छेवैको एप्पलको विशाल स्टोरको त्यो ठूलो भीड त हेर्न लायक नै थियो । चाईनिज युवा युवतीहरु एप्पलको उत्पादनको जानकारी लिईरहेका थिए भने एप्पलका थुप्रै कर्मचारीहरु उनीहरुलाई बताईरहेका थिए । पेडेस्ट्र्ईिन रोडको ठाँउ ठाँउमा केही मान्छेहरु पियानोका धुनमा नाचिरहेका देखिन्थे । कोही पियानो बजाईरहेका थिए भने कोही त्यसैका धुनमा लठिृरहेका थिए । यीनीहरुमा बुढा बुढीहरु धेरै देखिन्थे । यसै बाटोको ठाँउ ठाँउमा कही कही त विभिन्न उमेर समूहका थुप्रै मान्छेहरु लाईनबद्ध भएन आधुनिक संगितमा नाँचिरहेको पनि देखिनथ्यो । कही कही मान्छेहरुका भीड के कारणले लागेको होला भनेर अनुमान लगाउन पनि गाह्ै पथ्र्यो । जे होस यो बजार क्षेत्रको रात्रीभ्रमण रमाईलो नै भयो । जेनीले एउटा राम्रो रेष्टुरामा लगेकी थिई । यसपाली पनि डिनर चाँही राम्रै खाईएको थियो । टन्न पेट भरेर शहर निक्लन हिडेकाले हामीहरु घुमाईमा बिन्दास रमाईरहेका थियौ । कतिखेर म एक्लै पछाडी पर्थे अनि जेनी र फैजा अगाडी हुँन्थे अनि कोही युवा आएर मेरो कानैमा आएर के के भन्थे के के प्रपोजल राख्थे । एउटाले कानैमा भन्यो भेरी नाईस मसाज बाई ब्युटिफुल गर्ल, कम एण्ड ईनज्वाय माई फ्रेण्ड । त्यसलाई पछि आँउछु भनेर भने । अलि पर अर्काेले भन्यो आर यु  लुकिंग फर गर्ल? कम विथ मि । मैले टाउको हल्लाएर नै अस्विकार गरे । रंगिचंगि बत्तिहरुले शहर झिलिमिली देखिनथ्यो । त्यही झिलीमिलीमा सायद मान्छेहरु सबै कुराहरु बिर्सिएर बिन्दास मस्तीमा लाग्दा हुँन । एउटी पोक्ची पोक्ची मोटी केटी आएर कानैमा भनी हवेर आर यु गोइंग मेन, कम विथ मी । अर्कीले भनी कम विथ मि । यो चाही पातली राम्री थिई तर उसको प्राकृतिक सौन्दर्यतालाई कृतिम श्रृगारले डसिरहेको झै भान हुन्थ्यो । यसलाई चाही मैले खुसुक्क भनिदिए 'आई अलरेडी हयाभ टु गर्लस' भनेर अगाडी हिडिरहेका जेनी र फैजालाई उनीहरुले थाहा नपाउने गरि देखाईदिए । त्यसले आफ्नो जीब्रो आफै टोकेर पाखा लागी । मलाई भने मेरै उत्ताउलोपनले आफैलाई हसायो । धन्न तिनीहरुले सुनेनन र पो ।

शहरिकरणसंगै विकास हुने यौन व्यापार कसैले चाहे पनि नचाहे पनि एउटा कटु यथार्थ हो जो रोक्न त्यति सजिलो छैन । सायद त्यसैले होला धेरै जसो देशमा रेडलाईट एरियाहरु खोलेर कानुनी रुपमा नै धन्दा गर्न दिईएको । कतै कतै जनताको स्वास्थयलाई ध्यान दिएर त्यस्ता देशहरुमा रेडलाईट एरियामा देहव्यापार गर्ने युवतीको नियमित रुपमा स्वास्थय परिक्षण गराउनु पर्ने व्यवस्था पनि गरेको देखियो । यो कुरा सिंगापुरको हो । धुम्रपान, मद्यपान र जुवातास जतिसुकै खराब भनेपनि यसको उपभोग गर्नेले त्यति सजिलै छाड्दैन । उसका लागी यही संसार हो । वेश्यागमन पनि स्त्रीलम्पट पुरुषहरुका लागी एउटा खराब लत नै हो । सडकको पल्लो छेउमा हिडिरहेकी एउटी योवनालाई कर्केर मर्केर वा सिधा नै भएपनि नहेर्नै पुरुषहरु बिरलै हुँन्छन । यदी कसैले नहेर्ने नै हो भने ती योवनाको त्यो सून्दरताको के महत्व रह्यो र । तर कसैले तीनै योवना हेर्ने बहानाका असभ्यता नै जाहेर गर्छ भने त्यो नितान्त गलत हो । नारीहरु कोमल ह्दयका मात्रै होईनन बरु प्रेमका मामलामा पुरुषहरु भन्दा एक कदम अगाडी नै हुँन्छन भन्ने मलाई लाग्छ । तीनका तीनै कोमल ह्दयका कारण मान्छेहरु अपरिचित नै भए पनि नारीहरुसंग हिमचिम बढाउन चाहन्छन । तर कुरो यो होईन यहाँ र प्रसंग नितान्त फरक छ । यहाँ आफ्नो देहको व्यापारको कुरा छ । यसको प्रेमसंग कुनै सरोकार छैन । योनलिप्त पुरुषहरुको लागी यो उत्तम अवसर हो या उनीहरुको चाहनाको प्राप्ती हो । तर कुनै पनि पत्नी वा प्रेमीका उसको पती वा प्रेमीले परस्त्री गमन गरेको कहिल्यै पनि मन पराउँदैनन । यो एउटा नितान्त सत्य तथ्य हो ।

 

जेनीले अघिदेखि फैजालाई भन्दै थिइ कि सपिंग गर तर फैजा भन्दै थिई कि हाम्रो साथमा एउटा लडका पनि छ भने म कसरी सपिंग गर्न सक्छु । तर म अचम्ममा परेको थिए कि फैजाको के त्यस्तो सपिंग थियो जो उ मेरो उपस्थितीमा गर्न सक्दिन थिई । एक पटक त मलाई उसको बालापन देखेर हाँसो पनि उठ्यो । तर त्यसो भन्दा भन्दै पनि उ एक दूईवटा पसलमा छिरिहाल्थी । करिबन हाम्रो यो बजारयात्रा २ घण्टा भन्दा बढी चल्यो । अण्डरग्राउण्डमा रहेको चीनको पुरातन बजारको पनि अवलोकन गर्यौ । त्यो एउटा छुटृै किसिमको अनुभव थियो । म भने त्यो अण्डरग्राउण्डमा हिँड्दा हिँड्दै नै थाकेको थिए । हाम्रो यात्रा सरकारी कार्यालयहरु हँुदै बजारको एउटा छेउमा आएर सकियो । हामीले जेनीलाई बिदा गरिदियौ र एउटा टेक्सी लिएर सिधा होटेलतिर हानियौ ।

 

यो समग्र भ्रमणले मलाई के सिकायो भने जनताहरुलाई कुनै राजनैतिक सिद्धान्तको दास बनाएर राख्नुभन्दा बहुसंख्यक तीनिहरुले के चाहेका छन त्यही दिनु देश तथा जनताका लागी उपयुक्त हुँदो रहेछ । चीन वास्तवमा मैले सोचेको र बुझेको चीन भन्दा निकै फरक रहेछ । विविध भाषा, सस्कृति, भौगोलिक संरचना, र सामाजिक विविधताका बाबजुद पनि आफ्नो देशलाई संसारको आर्थिक जगतमा एउटा दरिलो खेलाडीका रुपमा कायम राख्न सक्नु, आर्थिक प्रतिस्पर्धाका मार्फत देशको अर्थतन्त्रलाई अगाडी बढाउनु, परम्परागत सैलीबाट देशलाई आधुनिक शैलीतर्फ उन्मुख गराउनु निश्चय पनि चीनका नेताहरुको महान कार्य हो भन्ने मलाई लाग्यो । सरकारी कार्यालयहरुले त नेताका तस्विर भित्तामा राखेको धेरै देशमा देखेको थिए तर निजी व्यावसायीहरुले पनि राखेको चाही मैले यही मात्र देखे । मलाई यस्तो लाग्दैन कि तीनले ती तस्विर सरकारी निर्देशन अनुसार नै राखेको हुन बरु तीनीहरुले आफ्नो दिलैदेखि सम्मानका खातिर राखेका होलान । आज संसारका जत्रासुकै व्यापारिक थलोहरुमा, ठूला ठूला सपिंग मलहरुमा पनि मेड इन चाइना लेखिएका सामानहरु प्रसस्त देखिन्छ । निर्यात व्यापारमा चीनको योगदान महत्वपूर्णमात्र होइन बरु यही चीन हो जसले संसारभरका निम्न तथा मध्यम वर्गिय मान्छेहरुका लागी अनेकौ महत्वपूर्ण ईलेक्ट्रा्ेनिक सामानहरु उनीहरुको आर्थिक क्षमताभित्र पर्ने गरेर उत्पादन गरिदिएर उपभोग गर्न सम्भव बनाईदिएको छ । पाँच छ बर्ष अघिसम्म ल्यापटप, स्मार्टफोन, स्तरिय मोबाईलहरु, एल सि डि, एल ई डि जस्ता अत्याधुनिक प्रविधिका टेलिभिजनहरु संसारभरका निम्न तथा मध्यम वर्गिय मान्छेहरुका लागी केवल दिवास्वपन थियो तर आज हात हात र घर घरमा यस्ता सामानहरु सजिलै देख्न सकिन्छ । संघाई शहरको भौतिक विकास, र आसपासका बस्तीहरुको विकास, आधुनिकतातिर लम्किरहेको यहाँको रहनसहन सबैले चीनलाई युरोप अमेरिका भन्दा कम बनाएको रहेनछ । आज आर्थिक विकासका हरेक पक्षमा विश्वका हरेक देशहरुले चीनलाई एउटा सशक्त बजारका रुपमा लिएर आफ्नो उत्पादनलाई चिनिया बजार अनुकुल बनाई रहेका छन । आज हाम्रै देशमा पनि पर्यटन क्षेत्रको कुरा गर्दा चिनिया पर्यटकहरु प्राथमिकतामा आईपुग्छन । औपचारिक कार्यक्रममा आफ्ना प्रस्तुतीहरुमा कसै कसैले देखाएका तथ्यांक अनुसार आन्तरिक तथा बाह्य मुलुकहरुमा गएर बिदा मनाउने चिनियाहरुको संख्यामा अत्याधिक रुपमा वृद्धि भईरहेको छ । अब यस्तो लाग्छ कि चिनिया पर्यटकहरु केही बर्षहरुभित्रैमा धेरै देशहरुका लागी ती देशहरुको पर्यटन विकासमा मेरुदण्ड बन्न सक्नेछन ।

आधा रातमा एयरबस ३३० बिशालकाय जेट जहाजले संघाई एयरपोर्ट छोडेर आकाशमार्ग समाउँदा तलतिरको चिनिया धर्ती बिजुलीबत्तीको उज्यालोमा मस्त उग्राइरहेको जस्तो भान पथ्र्यो । तर मलाई भने कसो कसो ह्वागंपु नदीको छालहरु स्मरणपटल भरी छाउन थाल्यो । तल नदीमा छालहरु उर्लिरहेको थियो । माथी बेस्सरी बतास चलिरहेको थियो । डेकको अगाडीको बाहिरी भागको बरण्डाभरि हल्का अँध्यारो छाईरहेको थियो । बतासले जबर्जस्ती उडाईरहेका कपालहरुले उसका अनुहार ढाकिरहेका थिए । एक हातमा सानो ब्याग बोकेकी अर्को हातले कहिलेकाही बरण्डाको बार समातेर आफुलाई सम्हालीरहेकी थिई उ । कहिलेकाही डेकको गतीले यताउता हुँदा र उसले कपालहरुलाई पन्छाउँदा परतिरबाट उसको अनुहारमा बेलाबेलामा पर्ने प्रकाशले उसको गोरो बाटुलो अनुहारमा उसलाई तीनै ह्वागंपु नदीको छालहरुबाट उम्रिएकीे परी झै देखिनथ्यो । साच्चै पनि ह्वागंपु नदीका छालहरु उसकै सून्दरताका मुहानहरु भएको आभास हुन्थ्यो । तीनै छालहरुभित्र म पनि कतिखेर आकाशमा नै निद्रा देवीको शरणमा हराएछु ।

 

९ नोभेम्बर २०१२, शुक्रवार 

Comments

laxman

hajur ko (ह्वागंपु नदीका छालहरु ) read garda dhari ramaelo lagyo.. 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |