हालसालैका लेखहरु : लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ ) दशैँ ,(सुशील शाह)

सकस: ठूलो किताबको सानो चर्चा ,(दीपक जडित)


'
सकस' बजारमा निस्किएर चर्चा हुनासाथ पढ्ने धोको पलाएको थियो । त्यो धोको तर किताबको चर्चा देखे सुनेर मात्र भने पलाएको थिएन । 'अन्तर्मनको यात्रा'मा हरेक पाठकहरुले जस्तै मैले पनि जगदिश घिमिरेलाई अन्तरसम्मै पढेको भएर पलाएको धोको थियो । हुनपनि 'अन्तर्मनको यात्रा' जत्तिको जीवन ज्ञान भएको आख्यान मैले पढेको थिएन त्यस अघि र त्यसपछि पनि पढेको छैन भन्न लगभग सक्छु ।

सकस बजारमा आउने बित्तिकै जस्तो मेरो लागि एकजना साथीले किनिदिनु भएको थियो तर मसम्म आइपुग्न भने समय लाग्ने थियो र समय लगाएरै भएपनि आइछाड्यो । पुरा एक दर्जन किताबहरुका साथमा सकस हात लागेको दिन अरु सबलाई छाडेर सकस निकालेँ र हातमै एकपल्ट फरर्र पल्टाएँ । नयाँ किताब हररर ज्ञानमय वासनाका साथमा फरर्र पल्टाउँदा किताबबाट २ पातो फुत्रुक्क भुईंमा खस्यो । उठाएर हेरें । किताबको अघिल्तिरको समर्पण लेखिएको लेखकका पिताजीको तस्वीर भएको पेज रहेछ । र किताबको नाम लेखिएको अर्को यौटा पेज रहेछ । दुबै पेजहरु सायद बाइण्डिङ्गमा नपरेका रहेछन् ।

हाम्रोमा निस्किने किताबहरुमा यो खालको समस्या चर्को छ । कतिपय किताबहरुमा यसैगरि किताबको बिच बिचका पेजहरु छुट्टिएर बसेका हुन्छन् । कतिपयमा कुनै कुनै पेजहरु नै हुन्नन् । कटिङ्ग नमिलेर पढ्दै जाँदा पेजहरु छुट्याउनलाई चक्कु खोज्नुपर्ने त लगभग सबै किताबमा हुन्छ । मैले यौटा पातलो चक्कु नै राखेको छु कलमहरु राख्ने टोकरीमा । र कतिपय किताबहरु चैं पढ्न थाल्दा सारसौंदै हुन्छन् तर पढिसक्दा बिच बिचका पत्ताहरु छुट्टिएर पुराणका किताब जस्तो हुन्छन्

मलाई झट्ट सम्झना भयो, गोविन्द गिरी प्रेरणाले फेसबुकको ग्रुप उपन्यास कुनोमा "क्या बोर भो । सकस पढ्दै थिएँ पेज नं २३५ देखि २४२ सम्म पानै गायब । त्यसको ठाममा त २२७ देखि २३४ पेज दोहोरिएको रहेछ ।............" भनेर लेख्नुभएको थियो । मलाई अगाडिको दुई पाता फुत्रुक्क खस्दा मसँग भएको सकसमा पनि यस्तो समस्याहरु थप होलान् कि भन्ने पिरलो थियो तर घाटा पर्ने गरेर केहि रहेनछ । बरु मसँग भएको सकसमा पेज १३० पछि १३१ न आएर १२३ आयो । पेज १२३ देखि १३० सम्म चार पातो दोहोरिएर फेरि १३१ सकुशल आयो र अरु कुनै कैफियत रहेनछ ।

जब पढ्न थालें । सकसले एकाग्रताको डोरीमा बाँधेर राख्यो । पढ्न सुरु गरेको अवस्था र उपलब्ध फुर्सदले गर्दा मैले तीनवटा विश्राम लिएर चार पटकमा पढिसकें । पढ्दापढ्दै हाई आउने, अल्छि लाग्ने र पढ्नै छोडेर किताब बन्द गर्ने स्थिती आएन । सकसको सबलता एउटा त्यो पनि हो भन्ने लाग्छ मलाई । नत्र कतिपय धेरै महत्वपूर्ण, उपयोगि र राम्रा कुरा(किताब)हरु पनि लेखन शैलीले दिग्दार लगाउँछन् ।

फुटकर (कथाहरु) बाहेक 'अन्तर्मनको यात्रा'मा मात्र पुस्तकमा पढेको भएपनि जगदिश घिमिरे Trusted Author नै थिए । मनोयोगले सकस पढ्नुमा त्यसको मनोवैज्ञानिक असर पनि परेको हुनसक्छ मलाई । सकसभित्र शाह वंशको इतिहासको कुरा आएजतिमा म ज्यादातर रत्तिएँ । इतिहासका किताबहरुमा समेत नलेखिएका थुप्रै कुराहरु आएका छन् शाह वंशका । र किताबले शिर्षकको धर्म थाम्दै शाह वंशको राजमा जनताले के कसरी सकस पाए भन्ने पनि राम्ररी देखाइएको छ । 'अनि जीबाले भने' यो अलि एकोहोरो भएको भएपनि र कतिपय कुराहरु इतिहासको रिपोर्टिङ्ग जस्तै भएपनि साह्रै रुचिकर छन् कथानकमा आएका तथ्यगत इतिहासहरु । पछिल्ला माओवादी युद्धकालका पनि कतिपय घट्नाहरु रिपोर्टिङ्ग जस्तै शैलीमा छन् । घरी यसले र घरी उसले घट्ना वयान गरेको भएर कथानक लामो दुरी चल्ने गाडी जस्तो द्रुत गतिमा बगेको छ । परन्तु हरेक कालखण्डमा सर्वसाधारणले भोग्नुपरेको 'सकस' भने सकसले आँखा सामुन्ने देखिएको घट्ना जस्तै स्पस्ट उतारेको छ ।

पात्रहरुमा भने लेखक हावी भएको पाएँ । जीबा पात्र जस्ले पृथ्वीनारायण शाहको पालादेखिका इतिहासका कुराहरु निकालेका छन् । तिनै जीबामा समेत लेखक आफैं देखिँदा म पाठकलाई त्यस्तो नभैदिएको भए हुन्थ्यो भन्ने लाग्यो । अर्को मुख्य पात्र शरदमा पनि लेखक हावि भएका छन् मन्थली, रामेछापतिरको कुरा आउँदा । सबभन्दा ठुलो विस्मात त यत्रो कालखण्डको सिंगै देशको कथा व्याथा समेटिएको किताबले मन्थली, रामेछाप र जनकपुरकै घुमी घुमी फन्को लगाउनुमा पनि लाग्यो मलाई । सिन्धुली गढीको लडाईंको वृतान्त र रामेछाप, मन्थलीका कतिपय कुराहरु, जो अन्तर्मनको यात्रामा पढिसकिएको थियो, सकसमा नलेखिएको भए नि हुने भने जत्तिकै लाग्यो ।

अन्तर्मनको यात्रामा लेखकको रामेछाप, मन्थली प्रतिको प्रेम र जनकपुरसँगको लगाव पढिसकेको भएर होला । पटक पटक मन्थली र जनकपुर नदोहोरिएर कथाका मुख्य पात्रहरु अन्त पुगेका भए वा अन्तैका भएका भएपनि हुन्थ्यो जस्तो लागिरह्यो । जीबा रामेछापका थिए । स्वामी राजाले खेदाएका प्रजाहरु मध्ये मुख्य कर्मलाल रामेछाप नै गयो । शरद र कुमारी काठ्माण्डौबाट टक्टकिएर रामेछाप गए । रामेछापबाट खेदिएपछि जनकपुर गए । यसरी कथानकले फन्को मार्ने स्थानहरु उहि उहि हुन पुगेको छ । हुनत एकै लेखकलाई निरन्तर पढिरहँदा तिनै तिनै कुराहरु एकाध कृतिमा दोहोरिएको पाउनुलाई सामान्य कुरा नै लिइन्छ होला । तर नेपालकै केहि चलेका लेखकहरुले तिनै तिनै कुराहरुलाई हरेक किताबमा ल्याएर अघाउँजी पारिसकेका भएर हो कि अन्तर्मनको यात्रामा भएका महत्वपूर्ण कुराहरु सकसमा नदोहोर्याएको भए हुन्थ्यो जस्तो मलाई लागेको ।

राजनैतिक दृष्टिकोणबाट हेर्ने हो भने अझै पनि, सकसले कथानकमा उठाएदेखि विसाएसम्मको कालखण्ड भरि, सकसको स्थितीबाट मुक्त रहेर आनन्द महसुस गर्ने परिस्थिती बनिसकेको छैन तथापि जनजीवनमा आइपर्ने हरेक सकसहरुलाई सामना गर्न र यौटा सुनिश्चित उज्यालो भविश्यमा दृष्टिपात गर्नको लागी परेला उघार्न वाध्य छौं मुलुकभरीका हामी एक एक व्याक्तिहरु । यस्तोमा सकसको कथानकले मुख्य पात्र शरदलाई कथानकको अन्त्यमा तन्त्र फन्त्रको अधिनमा नगराएको भए हुन्थ्यो जस्तो पनि लाग्यो । किताबको अन्त्यमा शरदलाई जीबाले भनेको कुरा , 'धैर्य गर्, जतिसुकै कालो र घना भएपनि मेघ स्थायी हुँदैन । ढिलोछिटो बढारिन्छ । उज्यालो आउँछ आउँछ । ऐले म शान्तिलाई रक्तमुछेल देखिरहेको छु । तर सकस जति भए पनि भविश्य शान्तिकै हो ।' किताब पढुन्जेल पाठकको मगजमा पर्ने सकसलाई राहत दिने यो कुरा आउँदा शरद तन्त्र फन्त्र जस्तो आम मान्छेको जीवनमा अनुपयोगि र अनुशरण गर्न दुश्कर लाग्ने कुराको अधिन भैसकेको हुन्छ । त्यसैले शान्ति अनिश्चित भएको अवस्था जान्दाजान्दै पनि यो उज्यालो कुरा यसरी आउनुले पाठकलाई एकप्रकार अनिश्चिततामै छाडेको भान् हुन्छ । जस्ले गर्दा किताब पढिसक्ने पाठकलाई जीबाको उपरोक्त कुराले जति उर्जा दिनुपर्ने हो त्यति दिन सकेको छैन ।

यो ऐतिहासिक आख्यान 'सकस'को बथख्वाँइ गर्नै चाहनु हो भने पनि म त्यसको निमित्त योग्य पात्र कदापि होइन त्यसैले सकस पढ्दा महसुस गरेका थोरै कुराहरु थपक्क लेखें । यत्ति अधिकार म तुच्छ पाठकमा होला भन्ने सम्झेको छु । र सकसलाई नराम्रो छ भन्ने देखाउन लेखिएको भन्ने भ्रम नरहला भन्नेमा ढुक्क छु ।

सकसको राम्रा पक्षको वर्णन गर्नलाइ पनि म सायद योग्य नहुँला । र गर्नुपर्दा पनि मैले के वर्णन गर्न सकुँला? फेसबुकको उपन्यास कुनोमा 'सकस'माथि आएका हरएक समीक्षाहरु पढिरहेको छु र राम्रा कुरा लेख्नुपर्दा मैले तिनै कुराहरु नदोहोर्याई सुख छैन । अत: सकसकै पछाडीको खोलमा लेखिएको आख्यानकार नयनराज पाण्डेको टिप्पणी दोहोर्याउन चाहन्छु - ".......यसमा कहाली लाग्दो इतिहास र मूल्यक्षय हुँदै गएको आजको राजनीतिक यथार्थ अनि त्यसले भित्र्याइरहेको डरलाग्दो भयावहता जीवन्त कथानकमा रुपान्तरित भएको छ ।..........."

साहित्य लेखनमा हुनुपर्ने निर्भयता र निश्पक्षता भने सकसको माध्ययमले जगदिश घिमिरेबाट नेपाली साहित्यले अवश्य सिक्नेछ र सिक्नु पर्छ भन्ने ठान्छु म । अन्त्यमा, विना संकोच र बिना हिच्किचाहट म यो भन्न सक्छु कि नेपाली साहित्यमा ऐतिहासिक मूल्य राख्ने आख्यान 'सकस' पढ्न मात्र नभएर संग्रह गरेर राख्न समेत लायक उच्वकोटिको आख्यान हो


Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |