हालसालैका लेखहरु : लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ ) दशैँ ,(सुशील शाह)

नेपाली उपन्यासको इतिहास: अनुसन्धान कि टिपन टापन ?,(गोविन्द गिरी प्रेरणा)


सन् २०१२ मा भएको २० दिने नेपाल यात्राको क्रममा मैले रोजेका पुस्तकमध्ये एक नेपाली उपन्यासको इतिहास थियो । यो मेरा लागि सुखद आश्चर्य थियो । नेपाली साहित्यको विधागत इतिहास पाठक
, अध्येता, विद्यार्थी, जिज्ञासु सवैका लागि यो जरुरी थियो । वास्तवमा एकेडेमीले यस्तै पुस्तक प्रकाशन गर्ने हो, कथा, कविता, उपन्यास त जुनसुकै प्रकाशनले पनि छाप्छन् । विषय सूचि र लेखकीय, प्रकाशकीय वाहेक ४५७ पृष्ठको गहकिलो पुस्तक आफैंमा भव्य देखियो ।

तर मेरो उत्साह उमङ्गलाई पुस्तक सरसर्ती हेर्दै जाँदा त्यसका पानाहरुले लोप्पा लाइदिए । मेरा खुशीलाई क्षतविक्षत पारिदिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको तथा त्रिभुवन विश्व विद्यालयमा प्राध्यापन गर्ने साहित्यका डाक्टरको उपाधि धारण गरेका खगेन्द्रप्रसाद लुईंटेलको नेपाली साहित्यको इतिहासप्रति मेरो भावना किन यस्तो ?

पुस्तकको शुरुमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको रुपमा स्थापना भए देखि नै परम्परागत रुपमा औपचारिक कुलपतीको मन्तव्य राख्ने परम्परालाई निरन्तरता दिइएको छ ।

त्यसपछि उपकुलपतिको प्रकाशकीय मन्तव्य छ, गङ्गाप्रसाद उप्रेतीको । उहाँको मन्तव्यमा उल्लेख छः अनुसन्धाता विद्वान समालोचक डा. खगेन्द्रप्रसाद लुईंटेलले हाम्रो अनुरोध स्वीकार गरी यो श्रमसाध्य अनुसन्धान कार्यमा दुई वर्ष लगाएर अत्यन्त मिहिनेतकासाथ यो नेपाली उपन्यास विधाको इतिहासको लेखन कार्य गर्नु भएको छ

प्राज्ञ भाउपन्थीले आफ्नो मन्तव्यमा लेख्नु भएको छः यस ग्रन्थले नेपाली उपन्यास लेखनको सवै क्षेत्रलाई आफ्नो अध्ययन र अनुसन्धानमा सन्निहित गर्ने सराहनीय कार्य गरेको छ

प्रज्ञाप्रतिष्ठानका दुवै पदाधिकारीहरुको मन्तव्यले यो कृति गहन अनुसन्धानकासाथ तयार गरिएको ग्रन्थ हो भन्ने जनाउँदछ ।

तर प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरुले अनुसन्धानात्मक भनिएको कृतिका लेखकले आफ्नो भनाइको शिर्षक रखाईदेखि उपसंहार तथा निष्कर्षका अनुच्छेद हेर्दा तथा सन्दर्भ सामाग्रीको सूचि हेर्दा कुनै विद्वान अनुसन्धानकर्ताद्वारा तयार पारिएको कृति हो भन्नु भन्दा अनुसन्धानको नाममा टिपन टापन गरिएको सामाग्रीको थुप्रो हो भन्न सकिने मात्र देखियो ।

सर्वप्रथम लेखकले आफ्नो भनाइको शिर्षक राखेका छन् ग्रन्थवारे 'ग्रन्थकारको गथासो' । 'गथासो' शव्दले कोर्काली वा अवौद्धिकताको हरक दिन्छ । कुनै विद्वानको भनाई अथवा पुस्तकको आमुख कसरी गथासो हुनसक्छ ? उनको गथासो भित्र वास्तवमा वौद्धिक मन्थन भन्दा गथासो नै ज्यादा भेटिन्छन्, शायद यसैले उनले गथासो भनेका हुन् ।

उनका गथासोका केही नमूना हेरौं:

१) इतिहासमा समेटिएकाहरु आफूविना साहित्यको इतिहास नै नवन्ने ठानी फूरुक्क पर्छन् भने नसमेटिएकाहरु प्रत्यक्ष परोक्ष रुपमा इतिहास लेखकप्रति रुष्ट भै वुरुक्क उफ्रन्छन् ।

२) अहिले नेपालमा छापिएजति किताव किनेर पढ्ने त कुरै छोडौं निःशुल्क प्राप्त भएका पनि पढ्ने मान्छे हातका औंलामा गन्न पुग्नेगरी भेटिए काफी हुने परिस्थिति छ । यतिखेर उपन्यास प्रकाशन, विमोचन, अन्तरकृया एवम् अनेकखाले प्रचारप्रसारको लहर वढ्दो छ तर पठन घट्दो छ ।

३) उपन्यासको प्रकाशन मिति इस्वी सम्वत्मा लेख्दैमा ठूलै उपन्यासकार भइन्छ भन्ने मोहवाट यहाँका उपन्यासकार मुक्त हुनु जरुरी छ ।

४) यसमा कतिपय व्यक्ति र कृतिको नाम फरक पर्न सक्ने अनि एउटाको कृति अर्काको नाममा पर्नसक्ने सम्भावना पनि छ । अतः यसमा मेरो लेखिएन, उसको लेखियो, यस्तो भयो , उस्तो भयो आदि भनेर मलाई गाली गर्नेतर्फ लाग्नुभन्दा सकारात्मक सुझाउकासाथ विवरणमा भएका त्रुटी तथा छुट भएका र छुटाउनै नहुने सामग्रीसहितको विवरण उपलव्ध गराई आवश्यक सहयोग पु¥याउन म सम्वद्ध सवैसँग हार्दिक आग्रह गर्दछु ।

यी गथासोका नमूना अँशले लेखकले साँच्चै गथासो नै गरेका हुन् भन्ने प्रमाणित गर्दछन् ।

अनुसन्धान भनेको खोजी हो । खोजीका लागि विविध उपाय गरिन्छ, आवश्यकता अनुसार । स्थलगत भ्रमण, अन्तरवार्ता, पूर्व प्रकाशित कृति आदि अनुसन्धानका लागि आवश्यक उपाय हुन् । तर प्रस्तुत ग्रन्थका लागि लेखकले २४ कृतिहरु सन्दर्भ सामाग्रीको रुपमा उपयोग गरेको सन्दर्भ सूचिले वताउँदछ । जसमध्य ९ कृतिकारका १० कृति र लेखक स्वयम् कै १४ कृति रहेका छन् । यसवाट लेखकको सन्दर्भ सामग्रीको श्रोत न्यून रहेको र आफू र आफ्नो कृतिहरुमै अल्झेर कृति तयार भएको देखिन्छ । तर नेपाली उपन्यास र उपन्यास साहित्यसँग कुनै साइनो नभएका ३८ अँग्रेजी कृतिहरु सन्दर्भ सामाग्रीको रुपमा उपयोग गरेको सूचिले संकेत गर्दछ ।

त्यो भन्दा पनि आश्चर्य र हास्यास्पद पत्रपत्रिकाको सन्दर्भ सूचि हेर्दा देखिन्छ । १४ वटा सन्दर्भ पत्रपत्रिकाका लेखहरुमा १३ वटा आफ्नै लेख र १४ औं आफ्नै श्रीमतीको लेख रहेको सूचिले वताउँदछ । भने पछि यो कृति त डा. खगेन्द्रप्रसाद लुईंटेलले आफूले यसअघि लेखेका कृति र लेखहरुको सामाग्रीवाट अनुसन्धान जस्तो महारथ हासिल गरेका रहेछन् । योभन्दा अद्भूत साहित्यिक जगतको अनुसन्धान अरु के होला ?

एउटा सामान्य अनुसन्धानात्मक लेखका लागि पनि कति पुस्तक, पत्रपत्रिका र अन्य दस्तावेजहरु आवश्यकता पर्दछ भने नेपाली उपन्यासको इतिहास नाम दिएर यस्तो हचुवा, मनगढन्त , सन्दर्भ सामाग्रीको खास उपयोग नगरिएको कृति कसरी शोध ग्रन्थ भयो, कसरी अनुसन्धान भयो सोचनिय छ । उदाहरणको लागि प्रज्ञाप्रतिष्ठानले केही वर्षअघि उपन्यास साहित्यमा केही कार्यपत्रहरु लेखाएर गोष्ठी गरेको थियो । त्यसका कार्यपत्रहरु यस कृतिका सन्दर्भ सामाग्रीहरु हुन सक्दथे । एकेडेमीले नै नेपाली उपन्यासको सय वर्ष पुगेको उपलक्षमा गोष्ठी गरेको थियो र स्मारिका समेत प्रकाशन गरेको थियो । त्यो सन्दर्भ सामाग्री हुन सक्दथ्यो । मधुपर्क, गरिमा, प्रज्ञा,  समकालीन साहित्य , रचना, अभिव्यक्ति, वगर, जनमत लगायतका हाल प्रकाशन भैरहेका कतिपय साहित्यिक पत्रिका र नेपाली आधुनिक साहित्यको यौटा युग वोकेको रुपरेखा जस्ता पत्रिका सन्दर्भ सामाग्री हुन सक्दथे । नेपाली उपन्यासको विषयमा त्रिभुवन विश्व विद्यालयमा गरिएका एम. ए. वा पि. एच. डी.का शोधहरु सन्दर्भ सामाग्री हुन सक्दथे । यि त सामान्य जो कोहीले पनि सहज रुपले उपयोग गर्न सकिने पुस्तकालयमा पाइने सामाग्री हुन् । यस्ता सामान्य, सहज उपलव्ध हुनसक्ने सामाग्रीहरुको कुनै उपयोग नगरेर आफ्नै पुस्तक र आफैंले लेखेका केही लेखहरुको सन्दर्भ सामाग्रीले कसरी यो ग्रन्थ अनृसन्धान हुनसक्छ ? कसरी शोध हुनसक्छ ? अनि लेखकले आफ्नो गथासोमा गरेको यो गथासो दावी उपन्यासको विधा सिद्धान्त र नेपाली उपन्यासको इतिहासमा केन्द्रित रहेको प्रस्तुत शोध ग्रन्थवाट विभिन्न विश्वविद्यालयमा प्राध्यापन गर्नुहुने प्राध्यापकहरु, अध्ययन गर्ने विद्यार्थीहरु, उपन्यासकारहरु तथा स्वतन्त्र अध्येताहरु सवै लाभान्वित हुनुहुनेछ भन्ने कुराका साथै यसवाट नेपाली उपन्यासको पठनपाठनमा एकरुपता कायम गर्नमा समेत विशेष सहयोग पुग्नेछ भन्ने कुरामा म पूर्ण विश्वस्त छु अनुसार यो कृति पढेर कस्तो ज्ञान हासिल गर्ने हुन् अध्येताहरुले, यो पुस्तक पढेर विद्यार्थीले कति ज्ञान हासिल गरेर नयाँ पुस्ताको निर्माण हुने हो, यो वढो दुर्भाग्यपूर्ण सन्दर्भ हो ।

यसअघि पनि नेपाली उपन्यास विधा माथि कृतिहरु लेखिएका हुन् । इन्द्रवहादुर राइको नेपाली उपन्यासका आधारहरु, कृष्णचन्द्रसिंह प्रधानको नेपाली उपन्यास र उपन्यासकारहरु, राजेन्द्र सुवेदीको नेपाली उपन्यासः परम्परा र प्रवृत्ति तथा कृष्णहरि वराल र नेत्र एटमको उपन्यास सिद्धान्त र नेपाली उपन्यास । यि कृतिहरु मध्ये इन्द्रवहादुर राई र कृष्णचन्द्र सिंह प्रधानका कृतिहरु स्वतन्त्र कृतिहरु हुन् भने राजेन्द्र सुवेदी र कृष्णहरि वराल तथा नेत्र एटमका कृतिहरु पाठ्यक्रमका लागि सोद्देष्य लेखिएका हुन् । यो नेपाली उपन्यासको इतिहास पनि सुवेदी तथा वराल एवम् एटमका कृति निकट पाठ्यक्रमको अघोषित उद्देष्यकासाथ तयार पारेको वुझिन्छ । नत्र भने सिद्धान्त खण्डको ६६ पृष्ठको नेपाली उपन्यासको इतिहाससँग कुनै सरोकार नभएको खण्ड समावेश गर्नु पर्ने आवश्यकता थिएन । वरु इतिहासका लागि महत्वपूर्ण पक्षहरु समावेश गर्न सकिन्थ्यो ।

जस्तोः नेपाली उपन्यासको माध्यमिक काल खण्डमा नेपाली उपन्यासको विकासमा पत्र पत्रिकाको योगदानउप शिर्षकमा गोरखापत्र, उपन्यास तरङ्गिनी, सुन्दरी, चन्द्र आदि पत्रिकाले पु¥याएको योगदानको चर्चा गर्दै तिनमा प्रकाशित उपन्यासको उल्लेख गरिएको छ । यी विवरण यस अघि प्रकाशित विभिन्न ग्रन्थमा पनि उल्लेख थियो । तर त्यसपछिको काल खण्डमा पनि नेपाली पत्रिकामा उपन्यास प्रकाशित भएका छन् तर यो कृति टिपन टापन भएकोले त्यस्को कुनै चर्चा नहुनु आश्चर्यको विषय भएन । नत्र रुपरेखामा प्रकाशित ध्रुवचन्द्र गौतमको अन्त्यपछि, भाउपन्थीको आदि पुरुष, पारिजातको वैंसको मान्छे लगायतका कैयन् कृतिको चर्चा हुन सक्दथ्यो । त्यस्तै कान्तिपुर दैनिकले गोविन्द गिरी प्रेरणाको मात्र एक रात, इन्दिरा प्रसाईंको विश्वामित्र तथा सीता पाण्डेको अन्तरद्वन्दको प्रकाशन गरेको उल्लेख हुन सक्दथ्यो । त्यस्तै वेदना पत्रिकाले छापेको पारिजातको उसले रोजेको वाटो, वगरमा प्रकाशित नकुल सिलवालको तेश्रो पाइला, गरिमामा प्रकाशित भवानी भिक्षुको सुन्तलीलाई उल्लेख गर्न सकिन्थ्यो । यि त सरसर्ती सम्झेका केही पत्रिका र उपन्यास मात्र हुन् । यसको सूचि निकै लामो हुनसक्छ ।

यस कृतिमा कुन उपन्यास साहित्यिक महत्वको हो र कुन सामान्य मनोरञ्जनको लागि हो, त्यतिसम्म पनि भेद गरिएको छैन । उपन्यास सूचिमा वाल उपन्यासदेखि दीर्घवाहुका जासूसी उपन्यास, युधिर थापाका मनोरञ्जनका लागि लेखिएका उपन्यास, वालकृष्ण पोखरेलले वसन्तका नाममा लेखिएका सामान्य मनोरञ्जनका उपन्यास देखि दौलत विक्रम विष्ट, धच गोतामे, ध्रुवचन्द्र गौतम र पारिजात जस्तालाई एउटै कोटीमा राखेर ऐतिहासिक त्रुटी गरिएको छ । यसले उपन्यासको इतिहासलाई विगारेको छ ।

यो कृति अनुसन्धान वा शोधग्रन्थ होइन भन्ने यस पङ्तीकारको ठहर भएकाले यो पुस्तकमा परशु प्रधानको कहिल्यै नछापिएको रात जो पग्लन्छ उपन्यासको उल्लेख हुनुको औचित्य छैन । त्यस्तै ग्रन्थवारे ग्रन्थकारको गथासोमा थोपरिएका गथासाहरु र उपसंहार तथा निष्कर्ष खण्डमा लेखिएको यस्ता अनर्गल टिप्पणी पनि नेपाली उपन्यासको इतिहासको अङ्गमा नपरेको हुन्थ्यो भन्न पनि आवश्यक भएन, यथाः

नेपाली उपन्यासको चालु दशक वा वर्तमान समयमा लेखिएका कतिपय उपन्यासलाई विभिन्न सञ्चार माध्यमवाट अनेक ढङ्गवाट सनसनी मच्चाउने खालको विज्ञापन गरी अत्यधिक प्रचारप्रसार गरिएको पाइन्छ । झन् सञ्चार क्षेत्रमै कृयाशील व्यक्तिहरुवाट लेखिएका उपन्यासलाई त अति छिटो समयमै यति संस्करण र उति संस्करण छापियो, विक्यो इत्यादि भन्दै विज्ञापनको वर्षा नै गराई अतिशय चर्चापरिचर्चा गराएको पनि देखिन्छ । त्यस्ता कृतिवारे कतिपयले प्रायोजित ढङ्गवाट अतिशयोक्तिपूर्ण प्रशंसामूलक टीकाटिप्पणी गरिदिने र प्रायोजित ढङ्गवाटै कतिपय पुरस्कारसमेत दिने प्रचलन पाइन्छ ।

के प्रज्ञा प्रतिष्ठानले यस्ता अनर्गल टिप्पणीलाई अनुसन्धान भन्ने हो ? यहाँ गम्भिर प्रश्न खडा हुन्छ ।

वास्तवमा कुनै कृतिमाथि कुनै समीक्षकले कुनै टिप्पणी गर्नु , समकालिन साहित्यिक जगतका विसंगतिमाथि आफ्नो धारणा राख्नु सामान्य सन्दर्भ मान्न सकिएला, तर साहित्यको विधागत इतिहास लेख्ने जस्तो गम्भिर विषयमा यस्ता गैर जिम्मेवार र पूष्टि नहुने मनगढन्त पक्ष आउनु हुँदैन र एकेडेमीले प्रकाशनपूर्व यस्ता कुरामा ध्यान पु¥याउनै पर्दछ । २ वर्षको लगानी, एकेडेमीको परियोजनाको श्रोत साधनको दुरुपयोग हुनु हुन्न भन्ने हेतुले यो टिप्पणी गरिएको हो । आमूल पुनर्लेखन नगरी अध्येता, विद्वान र विद्यार्थी कसैका लागि पनि यो कृति कुनै हिसावले यो उपयुक्त छैन ।

 

 

 

(यसको छोटो अँश सौर्य दैनिकको ८ फरवरीको अँकमा प्रकाशित छ ।)

 

 

 

 

 

 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |