हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

हमार घरमेँ कोहि ना कहि हाँ....,(बासु श्रेष्ठ)

बुवाको अमिने जागीरको पछिपछि लाग्ने क्रममा जनकपुरको धनुषा जिल्लाका विभिन्न गाउँ घुम्न पथ्र्याे । एउटा गाउँमा एक महिना बसेर त्यहाँको नापीको काम सकेर अर्को गाउँमा जानु पथ्र्याे । यस हिसाबले भर्खर बास बसेको घरमा घरेलु पोको पन्तुरा खोल्न नपाउँदै फेरी अर्को गाउँमा सर्न सामान पोको पार्न शुरु हुन्थ्यो । यसै क्रममा म जुन जुन गाउँमा पुग्थेँ त्यहि गाउँको स्कूलमा महिनाभर पढथेँ र अर्को महिनामा अर्को गाउँको स्कूल । यस हिसाबले मैलेजति धेरै स्कूल कसैले पढेको छैन होला र मैलेजति धेरै डेरा सर्ने काम कसैले गरेको छैन होला । जब वर्षा महिना लाग्थ्यो हामी जनकपुर सदरमुकाम आउँथ्यौँ र त्यहिँबाट वार्षिकी जाँच दिएर कक्षा उक्लिन्थेँ । र केहि महिनापछि फेरी गाउँ जाने त्यहि क्रम दोहोरिन्थ्यो ।

यसै क्रममा एउटा गाउँमा म झण्डै डुबेर मरेको सम्झना अझैपनि मेरो आँखा अगाडि झलझली आई रहन्छ । कुन गाउँ हो त्यो त सम्झना भएन । तर लगभग दश एघार वर्षको उमेरमा घटेको सो घटना भने अझै ताजै छ ।

जिवन प्राप्त गरेपछि त्यसको जस पक्कैपनि जन्मदिने आमाबाबुलाई जान्छ । तर कहिले काहिँ मानिसले दोश्रो जन्मपनि पाउँदो रहेछ । अर्थात कालको मुखबाट फर्कनु, अर्थात मृत्युलाई जितेर फर्कनु । यो फर्काई कहिले आफैँ हुने घटना स्वयँमा निर्भर गर्दछ भने कहिले कसैको सहाराबाट हुने गर्दछ । मेरो जिवनमा भने म कसैको सहाराबाट मृत्युको मुखबाट फर्किन पाएको छुँ । त्यसकारण त्यो दिन म कहिल्यै विर्सन सक्दिन ।

तराईका गाउँघरमा उडुस उपियाँ लाग्यो भने त्यसको निराकरणकोलागी विशेष गरी (खटिया) खाटलाई पोखरीमा केहि दिन या हप्तादिन लगेर छोडिदिने चलन छ । औषधि किनेर छर्ने औकात ति गरिव जनताहरुमा छैन । एक दिन मेरा त्यस गाउँले साथी जो मभन्दा जेठा नै थिएको घरबाटपनि एउटा खाट मजस्तै भुराहरु मिलेर झाँगल झुँगल पार्दै पोखरीमा डुबाउन लग्दै थिए । मपनि रमाईलो मान्दै उनिहरुकै पछि लागेँ । करिब दश मिनेटको हिँडाईपछि खाट पोखरीमा प्रवेश गर्याे र विस्तारै पोखरीको पानीमा तैरिन थाल्यो । तैरिएको खाटमा झुण्डिँदै सबैले दुई खुट्टा चाल्दै खाटलाई पोखरीको बिचमा लगे । पोखरीको मध्य भागमा एउटा ठुलो मोटो खाँबो गाडिएको हुन्छ । यस खाँबोको खास अर्थ र महत्व मैले आजसम्म नबुझेपनि यो खाँबोले पोखरीको मध्यभागको चिनारी दिन्छ भन्ने चाहिँ बुझेको छुँ । खाट त्यहि खम्बामा ठोकियो अनि सबैजना पौडँदै फर्कन थाले । मपनि आफुलाई पौडन आउँछ र फर्कन सक्छु भन्ने आत्मविश्वासकासाथ खाट समाउँदै उनिहरुसँगै पोखरीको बीचमा पुगेको थिएँ ।

अब उडुस लागेको त्यो काठको खटिया पोखरीको मध्य भागको पानीमा छोडेर एकएक गरेर सबै फर्किन थाले । कोहि उत्तानो परेर पौडि खेल्दै किनारतिर लागे । कोहि पानीमा डुबुल्कि मारेर फर्किए त कोहि आफुले जानेको अन्य कलाकारिताकासाथ । म आफुपनि सामान्य पौडि खेल्न जानेको भ्रम र आत्मविश्वासकासाथ खाटलाई हातले छोडेँ र फर्किएँ । तर जसै मैले खाट छोडेर फर्किएर हातखुट्टा के चालेको थिएँ म त पानी भित्र भित्र पो जान थालेँ । आफुलाई पौडि खेल्न नआएको तत्काल अनुभव गरेँ र सहाराकोलागी अगाडि गईरहेको कसैको खुट्टा समाउने प्रयास गरेँ । तर उसले मेरो हातबाट आफ्नो खुट्टा झट्कारेर पौडँदै अगाडि बढ्यो । मभने सुईँयययय तल जान थालेँ । आँखाले पानीभित्रको धमिलो र सूर्यको प्रकाश देख्थेँ । सास फेर्न नसकेर घुटुक्क पानी निलिन्थ्यो र पोखरीको पिँध पुग्न नपाउँदै पानीको चापले माथी फाल्थ्यो । चापले माथी फाल्ने क्रममा मेरो शरीरको झण्डै आधा अँग पानीको सतहभन्दा माथि हुन्थ्यो । त्यसैबेला मेरो आँखा खुल्थ्यो र केहि हेर्न देख्न समर्थ हुन्थे पनि । र आ.. भनेर चिच्याउँथे । यो क्रम पाँच छ पटक चलिरह्यो । आँखा खुलेको निमेषमा हेर्दा त सबै पोखरीको डिलमा पुगेर मलाई नै हेरि रहेका रहेछन् । मैले त्यसबेला 'अब भने म मरेँ' भन्ने निर्क्यौल गरेँ । मेरो पानीमा तल र माथि गर्ने क्रम चलि नै रहेको थियो । यस क्रममा मैले झण्डै आठ नौ घुटको पानी र यति नै पटक तलमाथी गरिसकेको थिएँ ।

अचानक कसैले मेरो कपाल समाएर तानेको अनुभव गरेँ । म अब तलमाथी गर्न छोडेँ । बरु तेर्सो हुँदै बग्न पो थालेँ । कपाल कसले समात्यो र कसले तान्यो भन्ने भन्दापनि पानीको घुट्को र पानीको चापले तलमाथि गर्न नपरेकोमा सञ्चो तुल्याएको अनुभव गरेँ । तर यतिन्जेल म पोखरीको डिलमा पुगीसकेको रहेछुँ । कसैले मलाई उत्तानो पारेर छाति थिचेर पानी ओकल्न लगाउन थालेपछिमात्र पिडाको अनुभव गरेँ । बल्ल पो रुन कराउन थालेछुँ । आत्तिएर, मृत्युको भयले हो वा घरमा बाआमाको गाली र चुटाई खानुपर्ला भन्ने त्रासले हो । जे होस् मैले केहि अँजुली पानी छादेपछि होस फर्र्किएको अनुभव भयो र सबैसाथीहरुलाई 'हमार घरमेँ कोहि ना कहि, हाँ..' (मेरो घरमा कसैले नभन्नु् है ) भनेर धम्कीको स्वरमा तर्साएँ । आफु भने भित्रभित्र कति तर्सिएको थिएँ त्यो आफैंलाई थाहा थियो ।

म उनिहरुलाई धम्क्याउन सफल हुनाको कारण चाहि म एक पहडिया अमिन सा'बको छोरा भएकोले थियो । हामी पहडिया त्योपनि सरकारी मानिसहरुको मान मनितो र महत्व असाध्य गर्दथे ति स्थानियवासीहरुले । उनिहरुले मानमनितो गरेपछि उसका छोराछारीहरुलेपनि गर्ने नै भए । हाम्रा बा आमालाई मानमनितो गरेपछि हामीले पनि मानमनितो पाउने नै भयौँ । यहि मानमनितोको फाईदा लिएर ति मधिसे समवयका भुरा साथीहरुलाई अपरोक्ष रुपमा धम्क्याएर मेरो घरमा नभन्न भनेको थिएँ ।

यो घटना मेरो मानसपटलमा अविस्मरयाणीय भएर टाँसिएको छ । म त्यस साथीप्रति श्रृणी छुँ जसले आँट गरेर मलाई पोखरीको विचबाट तानेर छेउ पुर्याए र मलाई जीवन दियो । वास्तवमा म आज उसैको अनुकम्पा र आँटको फलस्वरुप यो अस्तित्वमा छुँ । तर दुर्भाग्यवश न त्यस साथीको नाम सम्झन सक्छु न त्यस गाउँको नाम सम्झन सक्छु । मात्र के सम्झना छ भने मेरो त्यो जिवनदाता म भन्दा अलि भुकुल्ले र केहि अग्लो अनि गहुँगोरो थियो । उसलाई भेट्न सम्झनामा रहेको यो हुलिया त कुनै हालतमापनि काम लाग्ने छैन । तर यहि झिनो सम्झना मनमा साँचेर बाँचेको म बेला बेलामा मनमा आउने यस घटनालाई सम्झेँ भने यो जिन्दगी उसैको हो भन्दै नोष्टाल्जिक हुने गर्छु ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |