हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

कथा संग्रह 'आँपको रुख' बारे मेरा घोत्ल्याइँहरु,(शशांक लामा)


खसखस डट कमका संचालक
, सम्पादक र साहित्यकार बासु श्रेष्ठ मार्फत 'आँपको रुख' कथा संग्रहबारे जानकारी पाइयो| यस किताबका प्रकाशकपनि खसखस नै हो | हुन त कथा संग्रहका कथाकार दिपक जडित मेरा मन परेका फेसबुके मित्र हुन| देखभेट चाँहीँ भाको छैन| दिपकले फेसबुकमा गरेका अनेक पोस्टिङ्हरुमा मैले ल्याप्चे लगाउंदै आएको छु| संयोग भनुँ वा के भनुँ न्युयोर्कको एउटा साहित्यिक माहोलमा सहदेव पौडेल भाई मार्फत त्यो किताब हात पर्‍यो| न्युयोर्कमा कवि तुलसी दिवसको कविता बाचन एकल सांझ थियो | किताबबारे खसखस लागेको त धेरै भैसकेको थियो| बिरामी पिताजीलाइ अस्पतालमा कुर्दै, उँघ्दै,कुर्सिमा ओल्टे कोल्टे गर्दै थुप्रै दिन लगाएर 'आँपको रुख' पढें| तर भित्री मनले पढेको रहेन रहेछु भन्ने कुरा दोहोर्याएर पढेपछि बल्ल चाल पाएं| पुरा कथा संग्रह मन लगाएर पढेपछि यसबारे केही लेख्ने इच्छा जाग्यो| म समालोचोक, साहित्यिक बिश्लेषक, साहित्यकार केही पनि होइन, केवल साहित्यानुरागी र साहित्यको बिद्यार्थी हुँ| साहित्य बाहेक राजनीतिको कखरापनि जानेको व्यक्ति हुँ र कहिले काहीँ राजनीति सम्बन्धी बिचारोतेजक टिपोटहरु फेसबुक र अन्य बिधुतिय संचारमा सम्प्रेषण गर्छु| मेरा विरुद्ध बिगतका बाबुसाहेबहरु र नव बाबुसाहेबहरु हुल बाँधेर जाइ लाग्छन र गालीगलौजमा उत्रन्छन| म सभ्य र साहित्यिक भएर जवाव फर्काउन्छु-आँपको रुखको गन्थन गर्न लागेको त आफ्नै गन्थनतिर पो लागेछु|
कथाकार दिपकको कथा संग्रहबारे एकाध चर्चित साहित्यकार र अन्यले किताबबारे आफ्ना मन्तब्य, बिश्लेषण र घोत्ल्याइँहरु प्रस्तुत गर्नुभएका छन| केहीले किताब पढेर मन्तब्य लेखेका छन भने केहीले फरर पाना पल्टाएर झारा टराइ फर्मुले बिश्लेषण गरेको भान हुन्छ| नौलोपन नभएको, सिकारु, ठेटना जस्ता बिशेषण प्रयोग गरी आँपको रुखलाई फल्न नदिएको आभास पनि मैले पाएं| कस्तो नौलोपनको अपेक्षा गरेका होलान तिनले? कसैले नबुझ्ने भाषा पो प्रयोग गर्नु पर्थ्यो कि नौलोपन ल्याउनलाई! ती समालोचकहरुको हेर्ने आँखा पुरानिएको पो हो कि? ति समय नचिनुवा भएर पो गए कि ? कि तिनले आफ्नो साहित्यिक बरिष्ठतामा आँच आऊला भनेर दिपक (डी) को खुबिलाई खुम्च्याउन नचाहिँदा बिङ्गाले उनलाई थचार्न खोजेको पो हो कि? आफ्ना कथा संग्रहमा पात्रको रुपमा आँफैलाई उभ्भ्याएर, आँफैलाई चिरफार गरेर रिस, राग, माया, मोह, आरोह, अवरोह र मानवीय समवेदनाका जटिलतम भावाभिब्यक्तिलाई अति नै सरल जनजिब्रोमा ढालेर प्रस्तुत गर्नु नौलो नभएर के हो त? जीवनलाई लौकिक रुपमा नभै अलौकिक रुपमा बर्णन गरेको भए त्यो पो नौलोपन हुन्थ्यो कि? ठुलाले जे गर्‍यो र भन्यो त्यो सर्वसम्मत हुन्छ भन्ने पनि छैन| आँपको रुखलाई बेस्मारी हल्लाएर आँप झारी एउटा आँप खाएर सबै आँप त्यस्तै होला भनेर खुट्ट्याउने पनि हुन्छन| दिपकले हतोत्साही हुनुपर्ने म ठाउँ नै देख्दिन|

दिपकका कथाहरु जस्तो परिबेशमा लेखिए पनि तिनमा मानवीय मुल्यलाई उच्च रुपमा उठाइेएको छ| खासगरी नारीका जेलिएका मनस्थितिलाई सुक्ष्म रुपमा केलाइेएको | आफ्ना नारी पात्रहरुलाई उनी माया गर्छन्, आदर गर्छन् र जहिले पनि न्याय दिइरहन्छन र हल्का रुपमा तिनको पक्षमा वकालत गरेको पनि पाउंछौं| मानवीले मन पराएकी दिपक, अर्चलाले मनमा सजाएकी दिपक, मेलिसाको प्यारो डि!, डेजाले शुद्ध आँखा लगाएकी ड्यासिङ डि र बालसखी गंगाको मन परेको बेहुलो दिपु, समष्टिमा भन्दा उनका कथाहरु नारी प्रधान र नारी मै केन्द्रित छ्| शुरुदेखी अन्त्यसम्मै नारीमय छ| डिक बहादुरमै केन्द्रित भएको कथामा समेत सुनिता भाउज्युको प्रशस्त बयान छ| सशक्त पात्र मनेकी आमालाई कथाकारले त्यसरी मार्न हुँदैनथ्यो कि? जे होस् नारीका अन्तर्मनलाई यसरी केस्रा केस्रा पारेर केलाएर, कोरिबाटी गरेर पाठक सामु प्रस्तुत गर्नु उनको खुवी हो|

एकाध कथामा कुरितिको बिरोध गर्दा गर्दै संस्कारलाई थाम्न नसकी पात्रहरुलाई आत्महत्या गर्न लगाएर पुरानीयाँहरुलाई थुम्थुम्याउन खोजेको जस्तो पनि देखिन्छ, तर अन्त्यमा पछुताइेएको छ| दिपकका आगामी रचना मिठासयुक्त र सन्देशमुलक होस् भन्ने म चाहन्छु| 'तर डिक बहादुरको भगवान मर्यो', 'केतकी फूलको माला' 'थप्पडी' आदि कथाहरु सन्देशमुलक छन| सर्जकका स्रिजनाहरुले धेरथोर सन्देश बोकेकै हुनुपर्छ भन्ने मेरो मान्यता छ| सर्जकले समाजलाई सन्देश दिन्छु भनेर लेखेको हुंदैन| केवल आफ्ना मनका घोत्ल्याइंहरु पोखेका हुन्छन| तर सुन्दर मनले रचेका सुन्दर रचनाहरु आफसेआफ सकारात्मक सन्देश भएर निस्कन्छन्| कहिले गलत सन्देश पनि जान सक्छ| त्यसतर्फ सर्जक सचेत रहनुपर्छ|

यस कथा संग्रहको बिशेषता भनेकै कथाकार दिपक जडित आफ्नो न्वारनको नामै लिएर कथाहरुमा पात्र भएर आँफै उपस्थित छन| कतिपय घटनाक्रमहरु उनको स्विकारोक्ती हो कि झैँ लाग्छ| प्रेमी दिपक, शिक्षक दिपक, क्रान्तिकारी दिपक र हवाइमा बिन्दास पट तानी हिँडने डि! बहुआयमिक डि एकातिर झापाको गौरादहमा आफ्ना बालसखी गङ्गासंग भाँडाकुटी खेलेको संस्मरण बालसुलभ तोते बोलिमै गर्छन भने अर्कोतर्फ संयुक्त राज्य अमेरिकको हवाइमा मेलिसासंग बिन्दास बरालिएको वृतान्त दिन्छन-उनिहरुकै गाइखाने भाषामा! उनी केही लुकाउंदैन, जे जस्तो छ,त्यसरी नै प्रस्तुत गर्छन्| नेपाली कथामा अंग्रेजी सम्बाद भएकोमा केहीले गुनासो गरेको पनि देखियो| तर मेरो ठनाइमा पात्र बिदेशी भएकाले रोमन नेपालीमा लेख्नुभन्दा पनि सम्बन्धित भाषामै लेख्दा बढी मिठासयुक्त हुन्छ| त्यसमाथि पनि तरुनी तन्नेरिका अंग्रेजी पाल्सी कुराहरु नेपालीमा उतार्न मिल्दैन| दिपकको कथामा नौलोपन खोज्नेले यो नौलोपन किन नदेखेको होला ? अम्रिकाबासी अर्का कथाकार सुन्दर जोशी पनि युवायुवतीले बोल्ने नेपाङ्लिश आफ्ना कथाहरुमा ढुक्कै लेख्नुहुन्छ| पढन मज्जा लाग्छ| जिन्दगी जे छ त्यसलाई त्यसरी नै बर्णन गरिनु पर्छ,परिवेश हेरेर, सामाजिक मापदण्डमा टेकेर !!!

'
अप्रिल फुल' कथा पढेर त म दंगदास भएँ| मेचिपारिको जनजीवनको बर्णन लेघ्रो तानेर बोलिने उनिहरुकै भाषामा गरिएको छ| पारी बस्ने नेपालीको जीवनको भित्री अन्तर कुन्तर सम्मै कथाकार छिरेको भान हुन्छ| पात्रहरुको हावभावको अत्यन्तै सुक्ष्म बिश्लेषण छ| पात्रहरुको नाम पनि उतैकोलाई सुहाउने देउ कुमार र रेवती राखिएको छ: पात्रहरुको सम्बाद पनि उतैको लवजमा छ:
-"
ए देउ कुमार दाज्यु, खोइ लेउ लेउ तिम्रो मिठो खैनी खाउँ"
-"
ला हौ बैनी, मेरोमा त खैनी टाकटुक तुर्यो नि!"....
मेचीपारिका प्रवासी नेपालीहरु एकदमै बिनोद्प्रिय हुन्छन | जिन्दगीका उदासीहरुलाइ हांसो ठट्टामा घोलेर तिनले मज्जाले पिउन जान्दछन्| तिनले लेघ्रो तानेर नेपाली बोलेको गीत गाए झैँ लाग्छ, सुनिरहुँ जस्तो! मेची वारीकाले पनि मेचीपारिकाले जस्तै मीठो नेपाली बोल्न सिक्दा हुन्छ है! "कसैले बाटो सोध्दा " मलाई थाहा छैन बा"! नभनेर "मलाई थाहा छैन त " भन्न त्यति अप्ठ्यारो त छैन! होइन र ?

माथ्लो घरको ढिकि, मन बाढी हो बाढी मन होइन, अप्रिल फुल आदि लोक भाकामा कथिएका कथाहरु पढेर विश्व प्रसिद कथाकार आन्तोन चेखभ र हाम्रै नेपाली कथाकार गुरु प्रसाद् मैनालीलाई सम्झें| मैनालीको 'नासो' मन नपर्ने शायदै कोही होला| मैनालीपथमा दिपक हिँड्यो भनेर यदि कसैले भन्छ भने भन्दै गरोस| मैनालीको शैलीमा लेख्छु भन्दैमा जो कोहिले सक्ने पनि होइन र न रुसी चेखभको शैलीलाइ मात गर्ने त्यस्तो अंग्रेज लेखक नै निस्केको छ? चेखभेली र मैनाली शैली साहित्यमा सबभन्दा लोकप्रिय शैली हो| जनतालाई सन्देश दिँदा यही शैली सबभन्दा प्रभावकारी सिद्ध हुन्छ भन्ने मेरो निचोड् छ| साहित्य सिद्धान्त हुनु भएन, समाचार बन्नु भएन, रिपोर्टाज हुनु भएन र तथ्यांक भएर देखिनु भएन| शब्दहरुको भरपुर प्रयोगले पनि साहित्य हुने होइन| साहित्यबाट रस टप्कन पर्छ, मानिसका दैनन्दिन समस्याहरुसंग एकाकार हुनुपर्छ| साहित्यले जीवन बोल्नुपर्छ, साहित्यमा अलौकिकतालाई प्रश्रय दिइनु हुन्न| कथाकार दिपक जडित अरुलाई दिग्भ्रमित पार्ने अलौकिक साहित्यबाट टाढा रहेर हामीले बाँचेकै जिन्दगीको हाम्रै भाषामा बर्णन गर्छन्| उनका बर्णनहरुमा गुनासो छ, बेदना छ, आशा छ र जागरण पनि छ| अनी यि यावत भोगाइहरु कोठे गफमा मात्र सिमित नभै जनताकै घर आँगनमा गएर बहस चलाइएको छ,कारणहरु पत्ता लगाइएका छन | केही हदसम्म फैसला पनि गरिएको छ|

दिपकको 'आँपको रुख' बत्तिसै लक्षणले युक्त छ भनेर पनि भन्दिन र दोष खुट्ट्याउने ठाउँ पनि देख्दिन| प्रवासको ब्यस्त जीवनबाट केही समय लिएर दिपकले नेपाली साहित्यलाई दिएको देनलाई जश दिनुपर्छ, प्रसंशा गर्नुपर्छ र उनलाई माया गर्नुपर्छ| उनी डलरकै पछि कुद्दामात्र पनि त हुनेथ्यो, कथा लेख भनेर उनलाई कसैले उर्दी दिएका पनि थिएनन| त्यसैले यहाँनेर चाँहीँ देशप्रेम, राष्ट्रवाद र नेपालीपन देखिन्छ| कोठामा राष्ट्रिय झन्डा झुण्ड्याएर र ढाका टोपी लगाएर राष्ट्रवाद देखाउने एकथरी छन| दिपकको कथामा देखिएको मुलुकप्रतिको मायालाई त मैले बिश्लेषण नै गरेको छुइन| त्यो देशप्रेम देखावटी होहल्ला नगरिकन कथामा उनिएको छ|

यस कथा संग्रहको नाम 'आँपको रुख' नै किन हुन गयो? 'केतकिको फुल' वा 'माथ्लो घरको ढिकि' किन भएन ? कहीँ त्यो कथामा बर्णित घटनाक्रमहरु fiction नभएर उनकै जिन्दगीमा भएको र भोगेको स्विकारोक्ती पो हो कि? यो मेरो Wild Imagination हो| अन्त्यमा यो पनि भन्दिउँ कि मलाई मन पर्ने लेखक ताना शर्मा र खगेन्द्र संग्रौलाले नेपाली साहित्यमा बसाएको पुर्वेली भाषिक जगमा दिपक जडितले अर्को इंटा थपेका छन| खसखस डट कम् र दिपक जडितले नेपाली साहित्यिक फाँटमा आँपको रुख रोपेर गजब काम गरेका छन| त्यस रुखका आँपहरु असाध्यै गुलिया, रसिला, मीठा छन, चाख्न नबिर्सनु होला !!!!!!

 lama_sasang@yahoo.com

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |