हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

रोल्पामा मोती जयन्ती भव्यताका साथ मनाइयो ,(खसखस सम्वाददाता )

खेमराज गाउँले, रोल्पा भदौ २०

१ सय १८ औं मोती जयन्ती आज लिबाङमा भव्यताका साथ मनाइएको छ । मूल समारोह समिति कृति लोकार्पण, खुल्ला गजल प्रतियोगिता एवं पुरस्कार विरतण कार्यक्रमको आयोजना गरी मोती जयन्ती मनाएको हो । रोल्पा उद्योग वाणिज्य संघको हलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि साहित्यकार नारायप्रसाद सुवेदी रहेका थिए । मूल समारोह समिति संयोजक गायत्री घर्तीमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस रोल्पाका उपसभापति इन्द्रबहादुर खत्री, प्रमुख जिल्ला अधिकारी यादव सुवेदी, नेपाल रेडक्रस सोसाइटी रोल्पाका नौलसिंह पुनमगर, जिविस रोल्पाका दीपक डिसी, प्रलेस केन्द्रीय पार्षद् गौरीकिरण डाँगी, प्रलेस रोल्पाका अध्यक्ष चन्द्र जिएम लगायतले मन्तव्य तथा रचना वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन केवी विरहीले गरेकी थिइन् । त्यस्तै कार्यक्रममा लोक आलोक, डी.बी. टुहुरो, खलसिं बुढामगर, धनराज विक, सुन्दरपुरुष अनुराग, विनोद डाँगी, कुमबहादुर पुन, व्योम जी अवतार, खबपु चञ्चल मगर, राजविक्रम राम्जाली मगर, चन्द्रा सुनार, गीता निर्दोषी, नारायण रेग्मी जिज्ञासु, रविन्द्र सुनार, दीलकुमारी केसी दिलु, कविपूर्ण स्टार, गाविन्द विक, सफल बुढामगर, इन्द्र प्रियशन लगायतले गजल वाचन गरेका थिए ।

तीन कृति लोकार्पणः

कार्यक्रममा २ वटा गजल र १ वटा बालगीत सङ्ग्रह गरी तीन वटा कृति लोकार्पण गरिएको थियो । कार्यक्रममा लोककुमार श्रेष्ठ (लोक आलोक) को हाम्रो मागबालगीत सङ्ग्रहको लोकार्पण प्रमुख अतिथि नारायण सुवेदीले गरे भने समीक्षा साहित्यकार बलबहादुर घर्तीमगरले गरे । त्यस्तै दीपेश सङ्कल्पको अधुरा ती सपनाहरुगजलसङ्ग्रहको लोकार्पण गौरीकिरण डाँगीले गरेका थिए भने समीक्षा कविता उपाध्याले गरेकी थिइन् । त्यस्तै डी.बी. मगर स्वेदको हिमालको ओतमुनिगजलसङ्ग्रहको लोकार्पण प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले गरे भने समीक्षा ओम पन्छीले गरेका थिए ।

दुई पुरस्कार वितरणः

यसैबीच कार्यक्रममा २ वटा पुरस्कार वितरण गरिएको छ । साहित्यकार गीता निर्दोषीद्वारा आफ्ना आमाबुवाको नाममा स्थापित सरुपाचित्र नारी प्रतिभा पुरस्कारगजलकार चाँदनी केसीलाई प्रदान गरिएको छ । जिल्लामा रहेर क्रियाशील एक जना नारी प्रतिभालाई हरेक वर्ष राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पामार्फत् यस पुरस्कार प्रदान गरिदै आएको छ ।

यस्तै साहित्यकार त्रय डी.बी. टुहुरो, इन्द्र यात्री र ओम पन्छीद्वारा स्थापित दीयो नवप्रतिभा पुरस्कारयसवर्ष गजलकार विराज पुनमगरलाई प्रदान गरिएको छ । वर्षभरिमा कृति प्रकाशन गर्नेहरुमध्ये सबैभन्दा कान्छो साहित्यकारलाई यस पुरस्कार ललित साहित्य परिषद्मार्फत् प्रदान गरिदै आएको छ । तिमी मात्र तिमीगजलसङ्ग्रह प्रकाशन गरेवापत् उनलाई यस पुरस्कार प्रदान गरिएको हो ।

खुला गजल प्रतियोगिता

कार्यक्रममा खुला गजल प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको थियो । प्रतियोगितामा खबपु चञ्चल मगर प्रथम, इन्द्र प्रियशन द्वितीय, सुन्दर पुरुष अनुराग तृतीय, बन्दना घर्तीमगर र राजविक्रम बुढामगर सान्त्वना भएका थिए । प्रतियोगितामा विजयीहरुलाई क्रमशः २ हजार, १५ सय, १ हजार र ५ सय नगद र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । 

कार्यक्रममा अघिल्लो वर्षमा रोल्पालीले प्रकाशन गरेका विभिन्न विधाका २३ वटा कृतिहरु प्रदर्शनी समेत गरिएको आयोजकले जनाएको छ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |