हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

जुम्लामा बालसाहित्यमा पहिलो प्रयास ,(विजयराज आचार्य)

कर्णाली अञ्चलको जुम्लामा पहिलो पटक बालसाहित्यको प्रवद्र्धनका लागि सार्थक प्रयास सुरु भएको छ । काठमाडौँ र पोखराबाट गएका १२ जना साहित्यकारहरुले स्थानीय साहित्यकार र पत्रकारहरुसँग नेपाली भाषाको विकासमा जुम्लाको ऐतिहासिक योगदानका, बालसाहित्यको महत्व र आवश्यकताबारे छलफल गरेपछि तीन दिनसम्म बालकथा लेखन कार्यशाला संचालन भएको थियो । कार्यशालामा पाँच विद्यालयका १६ जना विद्यार्थीले भाग लिएका थिए । कार्यशालाको अन्त्यमा सहभागी विद्यार्थीहरुले लेखेका कथाको प्रतियोगिता भएको थियो । सहभागी विद्यार्थीहरुका कथाको संग्रह पुस्तकको रुपमा प्रकाशित हुँदै छ ।

काठमाठौँ स्थित बालवाङ्मय तथा अनुसन्धान केन्द्र र सांग्रिला एसोसियसन जुम्लाको संयुक्त आयोजनामा कार्तिक ४ गतेदेखि ७ गतेसम्म जुम्ला जिल्लाको सदरमुकाम खलङ्गामा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । पहिलो दिनको कार्यक्रममा स्थानीय लोकगायक, कलाकार महाशंकर देवकोटा,  भाषाविध रमानन्द आचार्य, साहित्यकार हरिबाबु चौलागाईँले जुम्लामा प्रचलित नेपाली भाषाको परिचय र यसका विशेता तथा ऐतिहासिक महत्वका बारेमा बताउनु भएको थियो ।

दोस्रो दिन कार्तिक ५ गते बालकथा लेखन कार्यशाला शुरु गरिएको थियो । कार्यशालाको उद्घाटन जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बालसाहित्य सर्जक विजयराज आचार्यद्वारा लिखित छोरीको माया (बालकथा संग्रह) को पनि विमोचन गरिएको थियो । जुम्लाका विषयमा विविध पुस्तकका लेखक हरिबाबु चौलागाईँले पुस्तकको समीक्षा गर्नु भएको थियो ।

जुम्लाजस्तो विकट ठाउँमा आएर बालबालिकालाई कथा लेख्ने प्रशिक्षण दिएकोमा खुसी व्यक्त गर्दै वरिष्ठ लोक गायक महाशंकर देवकोटा, भाषाविध रमानन्द आचार्य, एल.डि.यो. हिम्मतबहादुर महत लगायतले सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका प्राज्ञ रामकृष्ण दुवाल, सांग्रिला एसोसियसनका आवसीय प्रतिनिधि कृष्ण गुरुङले पनि आआफ्ना मन्तव्य राख्नुभएको थियो ।

उद्घाटन कार्यक्रमको अन्त्यतिर काठमाडौँबाट बाह्रजना साहित्यकारको नेतृत्व गरेर जानुभएका बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष्य तथा बालसाहित्य सर्जक विनयकुमार कसजूले आफूले भाइबहिनीलाई कथा लेख्ने सूत्र सिकाउने र भाइबहिनीले जुम्लाकै परिवेशमा कथा लेख्नुहुनेछ भन्नुभएको थियो । सम्पूर्ण कार्यक्रमको लक्ष्य र उद्देश्यबारे बालवाङ्मय तथा अनुसन्धान केन्द्रका सचिव विजयराज आचार्यले प्रकाश पार्नुभएको थियो । उहाँले कार्यशालामा भाइबहिनीले लेखेका कथाहरूको एउटा संग्रह र काठमाडौँबाट जुम्ला र मुगु भ्रमणमा आएका साहित्यकारले लेख्नुभएका अनुसन्धानमुलक बाह्र जनाको बाह्रवटा रचना समेटेर अर्को गरी जम्मा दुइवटा पुस्तक तत्कालै प्रकाशन गरिने कुरा भन्नु भएको थियो ।

बालवाङ्मय तथा अनुसन्धान केन्द्र र सांग्रिला एसोसियसन जुम्लाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रमको सभापतित्व सांग्रिला फाउन्डेसनका अध्यक्ष जय श्रेष्ठले गर्नुभएको थियो ।

तीन दिनसम्म चलेको कार्यक्रममा बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष विनयकुमार कसजूले जुम्लाका भाइबहिनीहरूलाई कथा लेखन तालिम दिनुभएको थियो । कार्यशालामा प्राडा भवानी पाण्डे, अनन्त वाग्ले, विजयराज आचार्य, ललिता दोषी, मनोज श्रेष्ठ र अन्य साहित्यकारहरुले सघाउनु भएको थियो ।

अन्तिम दिन कार्तिक ७ गते कार्यशालाका सहभागी विद्यार्थीहरुले लेखेका कथा सुनाउने प्रतियोगिता भएको थियो । यसमा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना गरी छ जना सहभागीलाई पुरस्कार दिइएको थियो । सो अवसरमा कार्यशालाका सहभागी विद्यार्थीहरुमध्येबाट उनीहरुको सहमति र सल्लाहअनुसार डाँफे बालसाहित्य क्लब गठन गरिएको थियो । टंकप्रसाद चौलागाइँको अध्यक्षतामा गठन गरिएको उक्त क्लबका उपाध्यक्ष सिर्जना चौलागाइँ, सचिव साहित्यप्रसाद चौलागाइँ, सहसचिव ईश्वर खत्री, कोषाध्यक्ष दीपा उपाध्याय, सदस्यमा विरेन्द्र चौलागाइँ, नविनराज आचार्य, मिलन चौलागाई, रमेश रोकाय गरी नौ सदस्यको समिति गठन गरिएको थियो । बालकथा लेखन प्रशिक्षण कार्यक्रममा सहभागी सोह्रै जनालाई बालबालिका संस्थापक सदस्य बनेका थिए । क्लबको सल्लाकारमा महाशंकर देवकोटा, रमानन्द आचार्य, जय श्रेष्ठ, कान्तिका सिजवाल, महेश देवकोटा, प्रकाश खत्रीलाई चयन गरिएको थियो ।

महाशंकर देवकोटाको प्रमुख आतिथ्य र जय श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा बालकथा लेखन तालिमका प्रशिक्षक विनय कसजूले कार्यक्रम सफलता पूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभएको थियो ।

बालवाङ्मय तथा अनुसन्धान केन्द्रका सचिव विजयराज आचार्यले केन्द्रको ५ वर्ष भित्र देशका विभिन्न ठाउँमा ५०० जना बालबालिकालाई कथा लेखन तालिम दिने उद्देश्य रहेको बताउनु भएको थियो । उहाँले काठमाडौँमा १०० जनालाई प्रशिक्षण दिई कथा लेखाइसकेको जानकारी दिँदै काठमाडौँ बाहिर पहिलो पटकमै कर्णालीको जुम्लाका भाइबहिनीलाई प्रशिक्षण दिई कथा लेखाउनु पाएकोमा खुसी व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सांग्रिला एसोसियसनले काठमाडौँबाट गएका स्रष्टाहरूलाई ऊनीको झोला, स्याउको सुकुटी, सिमी र ओखर उपहार दिएको थियो ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |