पत्र,(गोपालप्रसाद भण्डारी)
सुस्मिता र रजनी बन मित्र
लेख्छु यो अमल हार्दिक पत्र ।
लेख लेख अझ लेख न पत्र
पत्र हुन् असल मार्मिक सूत्र ।।१।।
पत्र पार कृतिरक्षक छत्र
पत्रले छुन सकून् अतिभित्र ।
पत्रमा प्रकृतिको भर चित्र
पत्रपुत्र नपरून् अलपत्र ।।२।।
पत्रमा कुशल हून् सब पात्र
पत्र चित्रण गरून् श्रुतिशास्त्र
पत्रका गुण बुझून् गुरु छात्र
पत्रका प्रबल हुन गति गात्र ।।३।।
यत्रतत्र भर पत्र र पत्र
पत्रका कथन पार विचित्र ।
पत्रचिन्तन नहून् रणअस्त्र
पत्र हून् गजबका कृतिवस्त्र ।।४।।
पत्र हून् सुखद काव्य शिरस्त्र
पत्रले अवनि पार निरस्त्र ।
पत्रमा सबल हून् मति मन्त्र
पत्र हून् प्रमुख माध्यम यन्त्र ।।५।।
लेख पत्र दिन शान्ति असीम
पत्रबाट गर काम तमाम ।
सम्झना गर महेश्वर राम
पत्रले गरिवको मुटु छाम ।।६।।
के छ तत्त्व गुरुबाट
सिकिन्छ
दानबाट उपकार गरिन्छ ।
रम्यपार पृथिवी सुख
हुन्छ
लेख पत्र अझ बुद्धि खनिन्छ ।।७।।
आदिदेव भज धर्म बढाऊ
यागमा सविधि कर्म गराऊ
।
मख्ख पार जनता गुन
लाऊ
पत्रमा कलम शीघ्र चलाऊ ।।८।।
भू समीर नभ आप र तेज
पञ्चतत्त्व बुझ सत्पथ रोज ।
ज्ञान अग्निमय ईश्वर खोज
पत्रबाट जग पार मनोज ।।९।।
पत्रबाट छर मञ्जुल कीर्ति
पत्र लेख हुन सक्तछ पिर्ती ।
पत्रबाट रचना गर पूर्ति
पत्रले दिन सकून् प्रिय अर्ती ।।१०।।
पत्रमा मन अनन्य लगाऊ
ईश्वरीभजन दिव्य बनाऊ ।
पत्रबाट हरिभक्ति जगाऊ
मारकाट भय युद्ध भगाऊ ।।११।।
पत्रमा सकल शक्ति लगायौ
नेहरुस्मृति सजीव बनायौ ।
पत्रबाट उपन्यास चिनायौ
पत्रले असल नाम कमायौ ।।१२।।
सान्दर्भिक शब्दार्थ
अनन्य - अडिग, आत्मनिष्ठ, विशिष्ट, अतुलनीय ।
अमल - स्वच्छ, सफा, शुद्ध ।
असीम - अगाध, अपार, प्रचुर ।
ईश्वरी - दुर्गा भवानी, देवी ।
गात्र - अङ्ग, जिउ, देह, शरीर ।
छत्र - छाता ।
जग - जगत्, विश्व, सन्सार ।
नभ - आकाश, व्योम, सगर ।
मञ्जुल - मञ्जु, मनोरम, सुन्दर ।
मति - ज्ञान, प्रज्ञा, बुद्धि, समझ ।
मनोज - मनमोहक, सुन्दर ।
याग - यज्ञ ।
रजनी - रात, रात्री, निशा ।
रण - युद्ध, लडाइँ, सङ्ग्राम ।
शिरस्त्र - टोपी, पगरी ।
श्रुति - वेद, सुनेर मिलेको ज्ञान ।
सुस्मिता - ज्यादा मुस्कुराइरहने स्त्री ।
समीर - पवन, वायु ।
आप - जल, पानी
भू - पृथ्वी, मही, धरा ।
स्वागता छन्द (रनभगुगु)