विस वर्षपछिको नेपाल यात्रा-१,(बासु श्रेष्ठ)
सन् १९९४ मे ४ मा अमेरिका टेकेको झण्डै विसवर्षपछि नेपाल जाने अवसर जुट्यो । यसभन्दा पहिले खुट्टा नउचालेको त कहाँ हो र ? सन् १९९९ मा किनी सकेको टिकटपनि फर्काएर भेटिएको नयाँ कामको थालनीकोलागी भर्जिनीयाबाट पेन्सिलभेनिया गएँ । त्यहिँ परिवारहरु श्रीमति, छोरी र छोरा ग्रीनकार्डकासाथ आईपुगे । नेपाल जाने आधा कारण रोकियो । त्यसपछि २००६ मा आमा, भाई, बुहारी र भतिजी आईपुगे । फेरी नेपाल गई रहने कारण रहेन । अब कहिले जाने होला भन्ने मनशाय राख्दा राख्दै बुबा विरामी हुनुभएको खवर आयो । भाईहरुले मलाई 'हामी स्यहाछौँ, तँ आई रहनुपर्दैन' भने । गइएन । अचानक फेबु्रअरी २० को मध्यरातमा अत्याउने फोन आयो र बुबा वित्नुभएको खबर ल्यायो । रातभर सुतिएन । ज्वाई र छोरी फल्सचर्चबाट म बसेको ठाउँ उडव्रिज तुरुन्तै आईपुगे । म विचलित हुन थालेँ । उमेरले पाको भएपनि सबैको अगाडि म रुन थालेँ । उता भाईहरुले 'बुबाको शरीर तँ आउँछस् भने केहि नगरी राख्छौँ र तँलाई कुर्छौँ' भने । त्यै अनुसार म भोलिपल्ट नै जान तयार भएँ । ज्वाईँ जीवनले अनलाईनमा टिकट हेर्न थाले । मभने गहभरि आँसु लिएर कहिले श्रीमतिको त कहिले छोरी ज्वाईँको सान्त्वना र सहानुभूतिमा समय काट्न थालेँ । दिन वितेको पत्तै नपाई बेलुका छ बजे एयरपोर्टतर्फ लागियो र यो नै थियो मेरो अमेरिका टेकेपछिको पहिलो नेपालको यात्रा ।
सोह्रवर्षपछि नेपालकोलागी यात्रा गर्दैथिएँ त्योपनि शुभ कार्यकोलागी थिएन । मृत्युको काखमा सुतेका बाबुको चितामा दागबत्ति दिन जाँदै थिएँ । मेरो मनले आफैंलाई कति धिक्कार्दै थियो त्यो मैलाई अनुभव भईरहेको थियो । सरासर एयरपोर्टबाट आर्यघाट पुगेर बुबाको शरीरमा दागबत्ति दिँदा कहिल्यै नछुटेको भक्कानो छुटेको थियो । एकदिन सबैले यसरी नै जानु पर्छ र यो नियति हो भनेर जान्ने म ज्ञानी जति रोकेर साहसिलो बन्ने आँट गरेपनि बुबाको मुखमा आगो हाल्दा मलाई अत्यन्तै कठिन र असैह्य भएको थियो । आफन्तजन लगायत पूलमा बसेर हेर्ने रमितेहरुको भीडलाई वास्तै नगरी मेरो भक्कानो छुटिरहेको थियो । तर गर्नुपर्ने कर्म त रोकेर रोकिन्न रहेछ । हेर्दाहेर्दै बुबाको शरीर खरानी भयो र बागमतिमा खरानी बगाईयो । हिजोसम्म सारसउँदो हिँडिरहेको मान्छे आज कता हो कता । न बोलाउँदा सुन्ने, न खोज्दा भेटिने । आफ्नै हातले खरानीमा परिणत गरिसक्दापनि “बुबा” भनेर बोलाउँदा “है” भनिहाल्नुहुन्छ कि जस्तो लागीरहेको थियो । बागमतिमा बगेका बुबाको खरानीलाई अपत्यारिलो प्रकारले हेर्दाहेर्दै घाटबाट हिँड्ने बेला भैसकेको रहेछ । मलाई कुनै प्रक्रिया थाहा थिएन । अग्रज र अनुभविहरुले जे जे भने यन्त्रवत गर्दै गएको थिएँ । पशुपति घाटमा नै तेह्रदिनको किरिया सकेर सोह्रौँ दिनको दिन आफ्नै थातथलो अमेरिका फर्केको थिएँ । त्यसकारण यस यात्रालाई म नेपाल भ्रमणको नाम दिन चाहन्नँ र गणनापनि गर्दिनँ । यसबारे मेरो अलग्गै अनुभव र भोगाई रहेको छ जुन अलग्गै व्यक्त गर्नेछुँ ।
बुवाको तेह्रदिने किरिया सकेर फर्किएपछि रित्तिएको सँचिति विदा पुरा गर्न र अर्को पटककोलागी विदा सँचित गर्ने ध्याउन्नाले कतै गइएन । यथेष्ट विदा सँचित गर्ने अनि पारिवारिक कामहरु पुरा गर्न नेपाल यात्राको योजना बनाए मुताविक सन् २०१३ को अप्रैल २८ कादिन नेपाल यात्रा जुर्यो । योजना मुताविक श्रीमति तीनहप्ता अगाडि गैसकेकी थिईन् र म भने बल्ल नेपालको यात्रा थाल्दै थिएँ नितान्त नियोजित व्यक्तिगत र पारिवारिक कामकोलागी ।
नेपाल यात्राः
यस वासिँगटन क्षेत्रमा नेपालीहरुको सँख्यामा यति वृद्धि भएको छ कि एयरपोर्ट गयो भने एक न एकजना नेपाल जान लागेको भेटिन्छन् । तर म जाने त्यसदिन भने एयरपोर्टमा चेकईन गरुन्जेल नेपाल जाने चिनेजानेका सहयात्री कोहि भेटिएका थिएनन् । काउण्टरमा अरु केहि नेपाली हो जस्तो लागेको भएपनि अगाडि सरेर चिनाजान गर्ने मेरो आँटले रोकेको थियो । तिनीहरुसंग जहाजमा भेटघाट, चिनाजान र कुराकानी भै हाल्ला नि भन्नेमा म विश्वस्त थिएँ । नभए साथमा लगेका केहि पुस्तकहरु साथीको रुपमा छँदैथिए ।
तर डिपार्चर हलमा कुनै बखत राम्रै चिनजान रहेको तर हाल सम्पर्कमा नरहेका साथी अशोक भँडेल भेट भयो । लौ अब त साथी भेट भई हाल्यो नि, अजिँगरको आहारा दैवले जुराए झैँ । तर सीट भने आनका तान फरक रहेछ । मेरो अगाडी, उनको पछाडी | जे होस् चौध घण्टा लामो यात्रामा हामी आकाशमा भेटेर गफ गरौंला नि भनेर चित्त बुझाईयो । जहाजभित्र बस्ने क्रममा तोकिएको मेरो सिटमाथिको लगेज कम्पार्टमेण्टमा ठाउँ नभएकोले एयरहोस्टेसले मेरो ह्याण्ड ब्यागेज पछाडिको सिटतर्फ लगेर राखिन् । आफ्नो सामान त्यसरी छोड्न मन लागेन र तिनलाई पछ्याउँदै जाँदा ठ्याक्क अशोक बसेको सीटमाथिको कम्पार्टमेण्टमा राखिन् । त्यस सिटको लहरको झ्यालतर्फ अर्कै एकजना, विचकोमा अशोक र तेश्रो छेउको सिटमा चाहिं कोहि रहेनछ । एयर होस्टेसले अहिले यहिँ बस्दै गर्नुस, पछि मिलाउँला भनिन् । मैले 'भैगो म यहिँ बस्दा हुन्छ' भनेर सोधेँ र तिनले स्विकृती दिईन् । अब अशोक र मेरो गफ हुने क्रममा ति झ्यालतर्फका यात्रीपनि हामीसँग मिसिए किनभने तिनिपनि नेपाली नै रहेछन् । तिनको नाम विर्सेँ । टेक्ससबाट डिसी हुँदै नेपाल जान लागेका । अब के चाहियो र ? मैले बोकेको किताब त झिक्नै परेन ।
हामी तिनजनाको कुरा एउटै भएको देखेर एयर होस्टेसले जे मागेपनि तिनवटा ल्याईदिने गर्न थालिन् । स्न्याक्स बाँडने बेलामा मैले जे मागेको थिएँ त्यहि अशोक र ति भाईले मागेपछि र हामी मुख जोडेर कुरा गरेको देखेर होला शायद हामी तिनैजनाको कुरा मिल्छ भन्ठानिछन् । पछि त स्कच मागेपनि तिनवटा, भोक लाग्यो स्न्याक्स देउ भनेपनि तिनवटा, कोक मागेपनि तीनवटा आउन थालेपछि हाम्रो यात्रा अझ रमाईलो भयो । ति एयरहोस्टेसको हामीप्रतिको सेवा देखेर मैले जहाजमै तिनको बारेमा कम्प्लीमेण्ट्र्ी फाराम भरेर दिएको थिएँ । 'अर्को पटक डिसी आउँदा समय रहे मलाई थाहा दिनु, म डिसी घुमाईदिन्छु' भनेर आमन्त्रणपनि गरेँ ।
मैले जहाजको यात्रा धेरै पटक गरेको छुँ । तर यस्तो अनुभव भने पहिलो पटक गर्दै थिएँ । ति एयरहोस्टेसले हामी नै जहाजको सर्वेसर्वा यात्री भए झै महत्व दिएकी थिईन् जुन उनको पेशागत धर्म थियो । जतिबेलापनि ओठमा हाँसो लिएर उपस्थित हुने ति एयरहोस्टेस साँच्चिकै प्रोफेशनल थिइन् । महिनामा दुईवटा गन्तव्य खोल्दै जाने कतार एयरवेजलाई सफलता प्रदान गर्ने कारकहरुमध्ये शायद फिलिपिनो मूलकी तिनी पनि पक्कै एक हुन् ।
चौधघण्टाको उडान कतिखेर सकियो पत्तै भएन । कतारमा छ घण्टाको ट्रान्जिटमापनि हामी तिनैजना सँगै रह्यौँ तर काठमाण्डौँकोलागी प्लेन चढ्दाभने हामी छरपस्ट भयौँ । तर यो दूरी कम थियो, मात्र साढे चारघण्टाको । त्यसकारण अब मेरो साथी बन्यो राजेन्द्र थापाको उपन्यास खेलौना । तर किन हो मन तान्नै सकेन यसले । सेमी पोर्नको झझल्को दिने अनि हिन्दिको मस्तरामलाई पछार्न नसकेको उपन्यास लाग्न थाल्यो । कितावको बारेमा आशय बनाउन पुरै पढ्नुपर्छ भन्ने धारणाले जति पढ्न खोजेपनि पढ्न सकिएन र थन्क्याएर झ्यालबाट ३५ हजार फिटमुनीका दृश्य त कहिले बादलको दुई तहको विचमा उडेको आफ्नो जहाजमा बसेर कुन देशमाथि उडदै छ भन्ने फ्लाईट इन्फरमेसन स्क्रिनमा हेरेर समय विताउन थालेँ ।
हेर्दाहेर्दै जहाज नेपालको सीमाभित्र प्रवेश गर्यो। प...र पूर्वको आकाशमा सूर्यको लालीले सम्पूर्ण क्षितिज लालित्यपूर्ण देखिन्थ्यो । वास्तवमा क्षितिज निकै पर तर जहाजभन्दा तल देखिन्थ्यो । आफुभन्दा तल देखिएको त्यो क्षितिजसहितको मिर्मिरे बिहान निकै मनमोहक र आकर्षक थियो । दुई तहको बादलको विच देखिने त्यो लालित्यपूर्ण क्षितिजको वर्णन गर्ने शब्द मसँग छैन । यतिमात्र भन्न सक्छु त्यो अति मनमोहक र चित्ताकर्षक थियो । आईफोनको क्यामेरामा त्यो दृश्य कैद त गरेँ तर सोचे जस्तो आएन । के चाहिँ आयो भने सूर्यको आभाले भरिएको क्षितिज एउटा सानो रातो धर्सा जस्तोमात्र देखियो ।
जहाज जतिजति पूर्व लाग्दै थियो उतिउति मेरो मन चँचल हुँदै थियो । किनभने अब हिम श्रृँखलाहरुपनि देखिन थालेका थिए । सूर्योदयको पहिलो किरणमा चम्किएका ति हिमशिखरहरु कम लोभलाग्दा थिएनन् । मानौ कुनै हिमाल बादलभित्र लुकेका, कुनै बादलको पर्दा च्यातेर मेरो आगमनलाई नियालीरहेका, कुनै बादल पछाडी लाजले लुकेर मेरो आगमन हेरिरहेका भान पर्थ्यो । पैतिसहजार फिट तल विभिन्न रुख जँगल, नदी नालाहरु मानौ मेरो आगमनमा स्वागतार्थ या त दौडँदै छन् या त मतिर मास्तिर अभिवादनका हात हल्लाउँदै छन् । म भावुक भएँ र एउटा कविता जन्मियो ।
शायद सिमरा क्षेत्रबाट हुनुपर्छ जहाजले काठमाण्डौँतर्फ नाक फर्कायो । अबको
दशपन्ध्र मिनेटमात्र हो जहाजको यात्रा । त्यसपछि काठमाण्डौको दर्शन पाईन्छ ।
विभिन्न भीर पाखामाथि हुँदै जहाज उपत्यकामा प्रवेश गर्यो । पहाडी जँगलको शृंखला सकिने वित्तिकै उपत्यकाको घर महल जँगल देखिन थाले
। कतै सुईरो झैँ मास्तिर हान्निएका घरहरु, कतै तिनै घरको वरपर लिलिपुटका मानव झैँ देखिने बाउन्ने
लाग्ने घरहरु छरपष्ट थिए । के भीर, के पाखा, के मैदान, के खोला नदीको तीर, घरैघर, घरैघर । वीसवर्ष
अगाडि हरियो परियो र खुला मैदान छोडेर गएको मैले ति मैदान र खाली जग्गा जमीन अहिले
कँक्रिट जँगलमा परिणत भैसकेको अनुभव गरेँ । मेरो मनले मलाई सोध्यो यो विकास हो कि
विनास हो ? म निरुत्तर ।
(क्रमशः)